हिजो साथीसँग खाजा खान भनेर एउटा क्याफेमा पस्यौँ । हामी बसेको नजिकैको टेबुलमा घेरा लाएर बसेका बहादुरहरू खानपानको साथमा गफ उडाइरहेका थिए । टेबलमा केही थान ल्यापटप पनि खुल्लै थिए ।

“फलाना हिरोका पालामा दिनमै दर्जन केटी फेर्दा पनि केही हुँदैनथ्यो, कस्तो जमाना आयो यार ! दुईचार जना अफेयर नबनाउँदै हत्कडी लाउनुपर्ने ? फलाना हिरोले त गाडी चलाउँदै जाँदा बाटोमा हिँड्दै गरेकी राम्री केटी देख्यो भने पनि लिफ्ट दिएर लाने, फिल्ममा खेलाउँछु भनेर प्रलोभनमा पार्ने, पहिला आफू खेलाउने अनि कत्तिलाई त फिल्ममा पनि खेलाउने ………. हा हा हा हा ……… कति केटी त मैले मिलाइदिएको छु यार ….. प्रायः चौधदेखि बीस वर्षभित्रका नै छिट्टै फकाउन सकिने त्यो बेला पनि ।” एउटाको यस्तो गफ सकिन नपाउँदै अर्को हौसिएर गफ थप्थ्यो “फलानो निर्देशकले त सधैँ हिराको औँठी लाउने अनि त्यही औँठी फुकाएर केटीलाई लाइदिने अनि कोठा लिएर राख्ने । त्यसपछि केही समय खेलाएपछि औँठी फुकालेर लिने अनि अर्कोलाई लगेर लाइदिने अनि फेरि कोठा लिएर राख्ने । हिराको औँठी पाएपछि केटीहरू पनि दङ्ग । त्यसले पनि पन्ध्रदेखि बीस वर्षभन्दा माथिकासम्म पुगेन यार । खोइ त त्योबेला नाबालिग भन्ने कुरै उठ्दैनथ्यो । अहिले जमाना खराब आयो यार, दुईचार जना नहुँदै हतकडी …… हा हा हा हा …… । यी महिला अधिकारकर्मी भनाउँदाहरूले कानुन यसरी बिगारे कि, उनीहरूकै दबाबमा बनेको कानुनले सहमतीमा भएको सम्बन्धलाई समेत बलात्कार भन्न थाले । यस्तो कानुन परिमार्जन भएन भने धेरै पुरुष फस्ने डर बढ्दै गइराखेको छ ।”

ती बहादुरहरूको छलफलको विषय उठान् अनि प्रस्तुति शैलीले मेरो कन्पारो तात्न थाल्यो । सवाल जवाफ गरौँ भने ती परिचित थिएनन् त्यसैले असजिलो भयो। खाजा समयमा समेत ल्यापटमा, काम गरिरहेको देख्दा कुनै जिम्मेवार पदमा कार्यरत लाग्छ अनि उनीहरूको बाहिरी ड्रेसअपले पनि त्यही भन्छ । तर सुट पाइन्ट र पर्फ्युमले ढाकेका असली रूप उनीहरूका अभिव्यक्तिले दिइरहेका थिए । यी त यही समाजका प्रतीनिधि भलाद्मी आवरण हुन् भन्ने लागिरहेको थियो ।

खाजा खाएर हामी बाहिर निस्कीयौँ । लामो समयपछि भेट भएकी मित्रसँग धेरैबेर कफी गफमा आल्हादित हुने हाम्रो रहर बहादुरहरूको चर्को गफले तुहाइदियो । बाहिर निस्केर साथीले भनी, “कस्तो छाती भारिएर आयो साथी । तिमी त लेख्छौ, लेख न । किन चुप बसेको ? यसरी घरघरमा, टोलटोलमा तातिरहेको बहसमा बोल न । बोल्न सहास राख्ने मान्छेको आवाज समयमा निकालेन भने न्याय मर्छ साथी । तिम्रो लेखाइले कतै न कतै नैतिक दबाब दिन टेवा पुग्छ । लेख प्लिज … । भोलिको कुनै मिडियामा तिम्रो आलेख आउुनपर्छ है, अरू म जान्दिनँ ।”

डा. रेणुका सोलु

साथीले आदेशको शैलीमा आग्रह गरी । घरमा आइपुगेर लेख्न बसेँ । शब्दहरू घृणा मिसिएर वान्ता हुन थाले । तीतो कलबिख जति बाहिरै ओकलेर अलि मत्थर भएपछि कलमको माध्यमबाट कपीको पन्नामा पोखेँ । प्रसङ्ग लुकाउने कुरै रहेन – वर्तमान समय कलाकारिता क्षेत्रमा विवादित बनिरहेको बलात्कारसँग जोडिएका विषयले नै बजार तातेको समय हो, यो । यो कुनै व्यक्तिसँगको कुरामात्र रहेन । यहाँ कलाक्षेत्रको कुरा, नाबालिग र प्रौढको कुरा, लिङ्ग समुदायका कुरा, सम्पन्नता र विपन्नताका कुरा, यस्ता धेरै खाले कुरा जोडिएका छन् । यस्ता केसमा को दोषी छन् त्यो निर्णय घोषणा गर्ने अख्तियारी म होइन । सम्मानित निकायले यसको छिनाफानो न्यायको पक्षमा गरोस् भन्ने कामना गर्न र यसैका लागि नैतिक दबाब दिनचाहिँ एउटा सचेत नागरिकको हैसियतले पनि मलाई अधिकार छ । यो मेरो मानवीय धर्म पनि हो भन्ने लाग्छ ।

मेरा बाहिरी आँखाले हेरिरहँदा कलाकार भनेका यस राष्ट्रका हिरा नै लाग्थे तर अहिले छातीमा हात राखेर भित्री आँखाले हेर्ने अनि आत्माले बोल्ने समय हो । आवरणमा बहकिएर अभिव्यक्ति पस्किने समय होइन । अत्यन्तै संवेदनशील समय र परिस्थिति हामीसामु उभिएको छ । जसलाई न्यायको औजार प्रयोग गरेर सम्याउन नैतिक दबाबको खाँचो छ ।

यतिबेला म कला क्षेत्रमा स्थापित भएका र हुन प्रयास गरिरहेका कलाकारका राम्रा अनि खराब दुवै पाटो उधिन्न खोज्दैछु जो मेरो आत्माले निर्देश गरिरहेको छ । केही कलाकार असाध्यै राम्रा समाजसेवी, हरेक दर्शक श्रोताको मन मुटुमा बस्न सामर्थ्य राख्न सक्ने, राष्ट्रका गहनाका रूपमा आफ्नो परिचय बनाउन सफल जस्ता विषय राम्रा पक्ष हुन् । मलाई खराब लागेको पक्ष चाहिँ बुँदागत रूपमा राख्छु ।

अहिले मिडियामा, सामाजिक सञ्जालमा सार्वजनिक भएका खबर यदि सत्य हुन् भने पुरुष कलाकार जो समाजमा अत्यन्तै सम्मानित छन् उनीहरूले देखाएका केही कारोबार नियाल्दा खराब पक्ष भनेकोः

१८ वर्षमुनिका किशोरीहरूलाई कानुनले नाबालिग मान्छ र यस उमेरका नाबालिगसँग भएको सहमतिलाई प्रलोभनमा पारिएको भन्ने अर्थ लाग्छ अनि सहमतिमा नै भएको यौन सम्बन्ध पनि बलात्कार हुन्छ । त्यसैले आफू बलात्कारीको दर्जामा पर्न हुने कि नहुने भन्ने ज्ञान कलकारमा मात्र होइन, हरेक नागरिकमा हुनै पर्छ ।

– आफ्नो कला तथा प्रतिभाका कारण आमनेपालीले हृदय आसनमा आसनग्रहण गराइरहेका सम्मानित भावनालाई बुझ्नुपर्ने,

– कतिपय स्थापित नायकहरू जो मुलुकी अपराध संहिता २०७४ ले १८ वर्षमुनिका किशोरीसँग सहमतिमै गरिएको सहवासलाई पनि बलात्कार मान्छ भन्दै बलात्कृत नानीहरूको भीडमा बलात्कारीलाई कडा सजायको माग गर्दै म ‘तिमीहरूको साथमा छु” भनेर पटक पटक भाषण गर्ने अनि व्यवहारमा आफैँले यस्तो हर्कत गर्दा ती नानीहरूको मनमा कति ठेस पुग्दो हो र मेरो स्टाटस कता पुग्छ भन्ने हेक्का राख्नुपर्ने,

– कला क्षेत्र भनेको अपवित्र क्षेत्र हो, यतातिर छोरीहरूलाई पस्न दिनु हुँदैन भन्ने सामाजिक चुनौतीलाई चिर्दै यो क्षेत्र भनेको अत्यन्तै सम्मानित क्षेत्र हो भनेर देखाउन नैतिक जिम्मेवार हुनुपर्ने र प्रमाणित गरेर देखाउनु पर्नेमा यसरी गैह्र जिम्मेवार हुन नहुने,

– यदि किशोरीहरू गलत मार्ग समात्न खोजे भने पनि सही मार्गनिर्देश गर्नुपर्ने र अभिभावकत्व भूमिका निर्वाह गरेर क्यारिअर ओरिन्टेड हुन काउन्सिलिङ्ग गर्नुपर्ने । किनकि किशोरीहरूको तुलनामा यो क्षेत्रका प्रौढ कलाकार, स्थापित एवम् जिम्मेवार व्यक्तित्व हुन् उनीहरूले गैर जिम्मेवार बन्न मिल्दैन,

– एक स्थापित कलाकारका लागि वा समाजले सम्मान गरिएका मान्छेका लागि किशोरीहरूसँगको सम्बन्ध कानुनी रूपमा मात्र नभएर नैतिक रूपमा पनि गलत हो भन्ने ध्यान दिनुपर्ने,

– नाम चलेको कलाकार (लिडर) ले ललाइफकाई गरेर प्रेमको प्रलोभनमा पारेर साथै अन्य प्रलोभनमा पारेर राखिएको सम्बन्धले सिङ्गो कलाकारिता क्षेत्रलाई नै तहसनहस गरी क्षति पुर्याउन सक्ने खतराको पूर्वानुमान गर्न सक्नुपर्ने,

– उमेर अनुसारको यौन आवश्यकता हुनु नौलो कुरा भएन । तर यस्तो सम्बन्ध राख्दा विचारको तह, निर्णय क्षमताको तह समान हुनुपर्छ र पशुवत विधि अपनाएर सङ्ख्या थप्ने कामभन्दा पनि समान अस्तित्व निर्माण भएकासँग त्यो पनि सकेसम्म दुवैजना मिलेर जीवन निर्वाह हुनेगरी राख्दा अपमानको हत्कडी आइलाग्दैन भन्ने बोध हुनुपर्ने,

– अहिले सामान्यदेखि सम्पन्न परिवारका, साधारणदेखि शिक्षित तथा प्राज्ञिक परिवारका युवायुवतीहरू समेतको बढ्दो आकर्षण कला क्षेत्रमा भइरहेको बेला, ती युवायुवतीको रहरलाई अभिभावकले छेक्न खोज्दा कतिले निस्सासिएर सुसाइड गर्लान् अनि त्यसको दोष आफैँलाई आउँदा, पश्चातापले कति पोल्दो हो भन्ने हेक्का राख्नुपर्ने,

– हुर्कँदै गरेका नवप्रतिभाहरूलाई जोगाएर अघि बढाउने दायित्व लिनुपर्नै जिम्मेवार नायकहरू नै यो मुलुकका फिल्मीशैलीका खलनायक बनिरहँदा त्यसको दुरगामी असर कला क्षेत्रमा मात्र होइन सिङ्गो राष्ट्रमा पर्छ भन्ने हेक्का राख्नुपर्ने । सेलिब्रेटी भइसकेका व्यक्तिको नामले देशको इज्जत बढाउँछ बदनामले देशकै बदनाम गराउँछ भन्ने चेत मर्न दिन नहुने ।

– यदि यी माथिका कुनै काम नगरेको हो भने मिडियाद्वारा विभिन्न अभियन्तामार्फत नाटक मञ्चन नगराई कानुनको तराजुमा बसेर आफ्नो नीर्भिक अभिव्यक्ति दिन सहास गर्नुपर्ने,

मलाई लाग्छ, घर, परिवार, समाज हुँदै सिङ्गो राष्ट्र नै यो मामलामा दोषी छ । घरपरिवारमा छोरीलाई नैतिक शिक्षा घोकाइन्छ, इज्जतको नाममा बुर्का ओडाइन्छ र डर अनि त्रासको मानसिकताले भरेर हुकाईन्छ जो चुनौतीसँग भिड्ने होइन भाग्ने मनस्थितिमा बाँच्न बाध्य बनाइन्छ । त्यही घरपरिवारमा छोरालाई उद्दण्ड हुन छुट दिइन्छ । छोराले जे खाए पनि जता गए पनि, जे गरे पनि मर्दको पदवी लगाइन्छ । छोरालाई नैतिकवान, चरित्रवान, परिवारमैत्री बनाउने कि बलात्कारी बन्न छुट् दिने अझै गहिरिएर सोचिएको अवस्था छैन । बलात्कार पुरुषले गर्ने अनि बलात्कृत महिलालाई दोषी देखिरहने एक आँखे छ यो समाज । एउटै थालमा सगैँ खाएको खानाले महिला मात्रै जुठी कहिलिन्छे पुरुषलाई चोखै सुनपानी छर्किन्छ यही समाज । कतिपय पुरुषहरू यस्तो सोध्छन् कि छोरीहरूको योनी भनेको उनीहरूकै लागि बनेको हो; जतिबेला जसरी उपभोग गर्दा नि छुट छ । त्यसैगरी कतिपय भद्र भलादमीहरू छोरीहरूका छोटा लुगालाई दोष दिन्छन् । यहाँ लुगा छोटा हुन् या दृष्टि छोटा हुन् बुझ्न जरुरी छ । पुरुषले कट्टुमात्रै लगाएर हिँड्दा पनि महिला कामुक भएर ढलेको थाहा छैन । आफैँ जोगिएर हिड्नुपर्छ नि, पुरुषको अगाडि परेपछि कसले बाँकी राख्छ ? भन्नेहरू पनि लावालस्कर छन् । कि आफ्नो अगाडि आएजति सबै खने राक्षस हुनसक्छ कोही ? कि खान हुने र नहुने थाहा पाउनुपर्छ ? आगोको अगाडि घिउ परेपछि त्यस्तै हो भन्ने पनि छरपस्ट सुनिन्छ । के पुरुष आगो भएर सृष्टि खरानी बनाउन नै जन्म भएको हो त ? सिजृना बचाउने उसको कर्तव्य हो कि होइन । ऊ जिम्मेवार अनि जवाफदेही बन्नु पर्छ कि पर्दैन ? यो विषयमा यसरी महिललाई मात्रै दोषी देखाउने चलनले गर्दा आफू पीडामा पर्दासम्म पनि नीर्भिक भएर बोल्न सक्दैनन्, अझै छोरीहरू र छोरीका अभिभावक । किशोरी उमेरमा हर्मोनको उतारचढाव हुने कारण त्यसबेला मन चञ्चल हुने, विपरीत लिङ्गीसँग आकर्षित हुने, नयाँ नयाँ सपना देख्ने अनि यस्तो बेला अभिभावक साथीको रूपमा व्यवहार गर्दिनुको साटो गाली, कुटपीट गरिदिनाले पनि नानीहरू गलत सङ्गतमा पुग्छन भन्ने हेक्का राख्नुपर्नेमा । यसो हुन सकेको छैन । अझै बरु पशुपतिमा छोडेको साँढेजस्तै हुँकारमा, अहंकारी रहन्छ बलात्कारी मर्द । त्यसैगरी कानुनको कार्यान्वयन पक्षमा सत्ता र शक्तिको चरम दुरुपयोग गरेर बलात्कारीलाई बचाउने कार्यमा परोक्ष सहयोग गरिरहन्छ सरोकार पक्ष । यसर्थ धेरै तह र तप्कामा हामी दोषी छौँ ।

आफूलाई नपरेसम्म अरूका लागि हामी बोल्दैनौ । अत्यन्तै भद्र भलाद्मी भएर बस्छौं । समानताका पक्षमा वकालत गरेर नथाक्ने, हिंसाको विरुद्धमा परिचय सार्वजनिक गर्न मन पराउने कतिपय सामाजिक अभियन्ताहरूनै कहिलेकाहीँ खै केके मा बिक्छौँ र बहकिन्छौँ । योभन्दा दुर्भाग्य केही हुँदैन । गल्ती गरेपछि आफ्नै छोरा होस् या छोरी नै किन नहोस् दण्ड सजायको कठघरामा उभ्याउनुपर्दछ ।

समग्रमा भन्नुपर्दा यस्ता घटनाले यो राष्ट्रको कलाक्षेत्रमा नराम्रो भुइँचालो ल्याएको छ । उदयीमान छोरी कलाकारहरूको लक्ष्य घाँटीमा नै ऐँठन परेको छ । गला अवरुद्ध भएका छन् । मुटुको धड्कन छिटोछिटो चल्न थालेको छ । सपनाहरू सिसा झैँ चर्किन थालेका छन् । अभिभावक डराएर कति छोरीलाई घरभित्र थुन्न कस्सिनेछन् र कति छोरीलाई रहरको हत्यासँगै आत्महत्याजस्तो गलत बाटो समाउन, हतारमा निर्णय गर्लान् भने खतरा बढेको छ । यस्तो विषम परिस्थितिमा हामी अभिभावकले सन्तानको संवेदनालाई बुझेर थप उत्साही बनाउनुपर्दछ, हतोत्साही बनाउन हुन्न । हरेक छोरीहरूलाई म भन्न चाहन्छु “तिमीहरू आत्तिनु पर्दैन, नडग्मगाई आफ्नो कलाप्रतिभाको सक्दो सदुपयोग गर । कलाकार भनेका राष्ट्रका गहना हुन् । राज्यको सम्पत्ति हुन् । कसैले मिस युज गर्न खोज्यो भने सामना गर्न नीर्भिक उभिनू । साथमा तर्कको तरवार र विचारको राँको बोकेर अग्रपङ्क्तिमा उभिने तागत बोकेका हामी आमाहरू जिउँदैछौँ । यो समय फलानो हिरो र फलानो निर्देशकको जमाना होइन महाशयहरूले पनि कान खोलेर सुन्नुहोस् ।

अन्त्यमा, किशोरावस्थामा आफ्ना सन्तानका सबैभन्दा नजिकका साथी बन्न हरेक अभिभावकले प्रयत्न गरौँ । यो उमेरमा हर्मोन उतारचढाव हुने हुँदा मन चञ्चल हुन्छ र अनेकौँ गतिविधि गर्न तम्सिन्छ । ती मनका कौतुहल, सपना, जिज्ञासा अभिभावकले सुनिदिएनौँ र गाली मात्रै गरिरह्यौँ भने लुकीलुकी मन मिल्ने साथी खोज्न थाल्छन् र गलत साथको हातमा पर्न सक्छन् । यही संवेदनशील उमेरको फाइदा लुट्न अनेकौँ प्रलोभनका जालो फाल्न सक्छन् दानवीय हृदय भएकाहरू अनि प्रेमजालभित्र थुनेर शारीरिक मानसिक दुवै तरिकाले बलात्कारको शीकार बनाउँछन् । किशोरी शिक्षामा यौनशिक्षाको अपरिहार्यताबारे सरोकार पक्ष सचेत हुन अबेर भइसक्यो ।