एउटा भयानक सङ्क्रामक रोगको रूपमा समाजमा प्रत्यक्ष भएको एउटा ठुलो व्याधि हो – अन्धविश्वास । कुनै एउटा विषयमाथि परम्परागत रूपमा चलिआएको तर्कहीन, युक्तिहीन र विवेकशून्य विश्वास अथवा धार्मिक कट्टरताको चपेटमा परेर गरिएको अन्धसमर्थन हो – अन्धविश्वास । अंग्रेजीमा यसलाई ‘ब्लैंड फेइथ'(Blind faith) भनिन्छ । पुराना रूढीवादी विचार द्वारा प्रभावित भएर गरिने कार्य जसमा कारण अज्ञात हुन्छ, त्यहीनै हो अन्धविश्वास । अन्धविश्वासमा मानिसले अलौकिक शक्ति माथि विश्वास गर्दछ । अलौकिक प्रभावले गर्दा ब्रह्माण्डको वैज्ञानिक तत्त्व तथा प्राकृतिक कुनै पनि घटना-परिघटनाको वास्तविकतादेखि कयौं टाडा रहन्छ ।

अन्धविश्वासको प्रमुख कारण हो व्यक्तिको डर तथा स्वार्थ । आदिमावस्थामा मानिसले प्राकृतिक अनेक क्रिया वा घटनाबारे जान्दैनथ्ये । यही अज्ञानतावश सबैले सोच्दथ्ये कि यसको पछि कुनै अदृश्य शक्तिको हात छ । वर्षा, बिजुली, भूईंचालो, बिमारी, विपत्ति आदि अज्ञेय देव, भूत-प्रेत-पिशाचको प्रकोपको परिणाम हो भनेर मान्दथ्ये । ज्ञानको प्रकाश फैलिए पछि पनि यो विचार विलुप्त हुनुको सट्टा अझ फैलिंदै जान्छ । अर्को कुरा आदिमावस्थामा मान्छेको सोच-विचार, क्रिया क्षेत्र आदि सबै सीमित थ्यो र अन्धविश्वासको क्रम संख्या पनि कमै थियो । जसैजसै मान्छेको कर्म, भाव आदिको विस्तार हुन थाल्यो, त्यतिनै अन्धविश्वासको जालले संसारै ढाक्न थाल्छ । विज्ञान-प्रयुक्तिले पनि यसलाई पार लाउन सकेको छैन । विश्वास र अन्धविश्वासलाई राम्रो पर्यवेक्षण गर्नु हो भने विश्वास एउटा यस्तो भावना हो, जुन चाहिँ कुनै एउटा वस्तु वा कर्म माथि उत्पन्न भयो भने त्यो हतपत मेटिंदैन। यही यदि एउटाको वाहेक आम जनतामा फैलियो भने त्यो एउटा कट्टर विश्वासमा परिणत हुन समय लाग्दैन । यही कट्टर विश्वासले अर्को बीभत्स रूप लिन्छ । अन्धविश्वास जुनै पनि वस्तु अथवा कुरामा भयो भने त्यो सही हवस या गलत त्यसलाई हृदयबाटै मान्ने गर्छन् । कसैको मुखबाट निक्लेको कुरा यदि उस्तै प्रतिपन्न भए, जसरी त्यसलाई भनिएको थियो तब त्यो अति शीघ्र अन्धविश्वासमा बदलिने गर्छ ।

मानव प्रगतिको इतिहासबाट जान्न पाइन्छ कि प्रचलित अन्धविश्वास र धर्मीय गोडामीले गर्दा कुसंस्कार मुक्त अनेक व्यक्तिहरूले त्यसबेला पनि नाना प्रतिकुलताको सामना गरेर प्राणसम्म गुमाउनु परेको थियो । जस्तै हामीले ग्रीक दार्शनिक सक्रेटिस, यीशुख्रीष्ट, कपारनिकास आदिका उदाहरण लिन सक्छौं । हाम्रो गतानुगतिक जीवनको हरेक पाइलामा अन्धविश्वासै अन्धविश्वास छ । यात्राकालमा पछिबाट कसैले बोलायो या सोधी दियो भने, बिरालाले बाटो काट्यो भने, रित्तो गाग्रो देख्यो भने अशुभ हुने, काम नबन्ने यी सबै अन्धविश्वासनै हैन र ? त्यस्तै सोचेको ताकेको पूर्ण हुनलाई हातभरि ताविज-औंठी लगाउनु, केही कर्म नगरी फल प्राप्तिको लागि मन्दिर धाउनु, हप्तामा चारवटा ब्रत-उपवास राखेर आफ्नो तथा परिवारको कल्यानको सपना देख्नु, मङ्गलबार-शनिबारलाई खरोबार र बुधबारलाई ढिलोबार भन्नु, डिम्मा वा आलू खाएर बस्दा परीक्षामा आलू भेटिने कुरामा पनि कुनै सत्यता छैन ।

रिजु देवी
(असम)

एउटा भिखारीलाई दस रूपियाँ दिन मन कुँडिएर आउँछ तर, मूर्तिका अघि गएर सौ सौ रूपियाँ चढाउँछौँ । किन भन्दा,धेरै फल प्राप्त गर्न,पुण्य कमाउन । भौतिक जीवनका अतिवृष्टि, अनावृष्टि, बज्रपात, अग्निकाण्ड आदिसँग पनि पाप-पुण्यको कुनै सम्पर्क छैन । असलमा यी सबै प्राकृतिक घटनाहरू मान्छेकै अमानवता, अबोधताको कारणले नै भएको देखिन्छ । परिवेश प्रदुषण जनित प्राकृतिक घटनाहरूको कारण पनि मानिस नै हो । यसको निम्ति समूह प्रार्थना, कीर्तन-यज्ञादिले कुनै सुफल दिने छैन । मानिसले जस्तो कर्म गर्छ, उस्तै फल प्राप्त गर्छ यही संसारमा । मन्दिरमा गएर धैरे दान गर्दा धेरै फल प्राप्त गर्ने यो एउटा मिथ्या हो । त्यसरी नै देउ-भूत, पिशाच, डाइनी(बोक्सी)आदिको पनि कुनै अस्तित्व हुँदैन । यो एउटा विकारग्रस्त मनको उपज हो । मनोवैज्ञानिकको अनुसार । आजको दिनमा कसैलाई डाइनी सजाएर उसलाई अमानवीय अत्याचार गरी मार्ने एउटा साधारण घटना बनिसकेको छ । यस्ता किसिमका घटनामा नारी-पुरूष दुवै भुक्तेको देखिन्छ । यही डाइनी जस्तो घोर अन्धविश्वास माथि प्रकाश पार्नकै निम्ति यो लेखको उद्देश्य रहेको छ र केही कुरा प्रकाश पार्ने ध्येय गरिएको छ ।
विशेष गरि जनजाति तथा आदिवासी समुदाय जस्तो पछौटे वर्गहरूमा डाइनी अन्धविश्वासले पूर्ण रूपमा जरा गाडेको देखिन्छ ।

अहिले बिस्तारै यस्तै समाजका एक-दुईजना शिक्षित पुरूष-महिलाहरूले उक्त विषयमा गम्भीर अनुसन्धान गरी भन्न बाध्य भएका छन कि डाइनी भन्ने केही हुँदैन । यो एउटा भ्रम हो । यो स्वार्थ सिद्ध गर्ने मान्छेहरूको कु-मनसाय मात्र हो । किनकि ‘श्रमिक’ नाम गरेको एउटा असमीया पत्रिकामा (सम्पादक-शोभित कुमार छेत्री, २०१७,नभेम्बर संख्या) आदिवासी सम्प्रदायकी एउटी चेली रीता गोवालाले “डाइनी हत्यार उपर त एटि समु अवलोकन” अर्थात् ‘डाइनी हत्या माथि एउटा संक्षिप्त अवलोकन’ नामक एउटा लेख लेखेकी छन;जसमा भनेकी छन कि डाइनी भन्ने मानिसको भ्रान्त धारणा मात्र हो । यो एउटा जानीबुझी सृष्टि गरिएको कुरीति हो । जहाँ स्वार्थ फेनि फुलाएर बसेको छ । मान्छे मान्छेलाई डस्न डाइनी बनेर । रीता गोवालाले सानैछँदा प्रत्यक्ष गरेको घटना उक्त लेखमा यस प्रकार वर्णन गरेकी छन्- (मान्छेको मनबाट डाइनीको जहरिलो प्रकोप मेटाउन गोवालाको यो लेखले निक्कै प्रभाव पार्न सक्छ भनेर सोचेर लेखमा उठान गरियो।)

आज मलाई सानाको एउटा घटना याद आउँदैछ । जुन घटना चाहिँ आज पनि मेरो मन-मस्तिष्कमा सजीव भइरहेको छ । एकदिन म स्कूलबाट आएर हात-गोडा धोएर भान्सा खान बसेकी मात्र थिएँ, त्यतिबेलै चियाबगानको लाइनमा साह्रो साह्रो कराएको, हल्लाह मच्चाएको सुनें । म दगुर्दै तघारो नजिक पुगें । मैले देखें एकहुल मान्छे हातमा दाउ-कटारी, कत्ति, भाला, डण्ठा-मुङ्ग्रा लिएर हाम्रै लाइनको एउटा घर-परिवारलाई वरिपरिबाट घेरेर नराम्रा नराम्रा गाली-गलौज गर्दैछन् । एकछिन पछि फेरि घरको मुखिया र अन्य सदस्यहरूलाई बाहिर निकालि साह्रो साह्रो गरी कुट्न-पिट्न थाल्छन् । मैले केही बुझ्न नसकेर जस-तस्लाई सोध्न थालें । तर कसैले मलाई सठिक उत्तर दिएनन् । सबैले सोचे होला म सानै छु के बुझ्दछु भनेर ! एकछिन पछि लगत्तै त्यो घरका सबैजनालाई लछार-पछार पार्दै लगेको देखियो । त्यतिबेला ती मान्छेहरूलाई देख्दा हिंस्र पशु झैं लाग्दथ्यो । कोही कसैको कुरा सुन्ने स्थितिमा थिएनन् । यस्तो देखेर म डरले कूईंक्क परें । सबैतिर केवल हो-हल्लाहा! त्यतिकै ती मान्छेहरूले त्यो घरका सदस्यहरूलाई चियाबगानको अफिस पुर्याए । त्यहाँ पनि दुई फैद भए । एकातिर हिंस्रकको फैद अर्को तिर निर्दोषजनहरूको समर्थकको फैद । दुई पक्षको घमासान लडाइँ लाग्नै आँटेको बेला अफिसका मैनेजर र तीन-चारजना सचेत व्यक्तिहरूको हस्तक्षेपमा कुनै हत्याकाण्ड नभैकन त्यो लडाइँ रोकियो । तर तीन-चार दिनसम्म चिया बगानमा उत्तेजना विराज गरिरह्यो । पीडितहरूको चिकित्सा चल्यो । तर पनि उनीहरूलाई समाजले काडेरै छोड्यो ।

त्यो दुष्कर्मको मूल जरोसम्म पुग्नलाई म आतूरी भै रहेकी थिएँ, तब नै मलाई असल कुरो थाहा लाग्यो । घटनाको अघिल्लो दिन हाम्रो अगाडिको लाइनमा बस्ने एउटा केटाको मृत्यु भएको रहेछ । बेज (ओझा) को अनुसार त्यो केटो बिमारले हैन डाइनी प्रकोपले मरेको हो । डाइनीको भन्दा त तीनै हाम्रो लाइनका मान्छे । कुरो सुनेर म अकाशबाट झरे झैं भएँ । यो कसरी हुन सक्छ ? हामी सँधै उहाँलाई अनि उहाँकी पत्नीलाई बडीबा र बडीआमा भन्ने गर्छौं । उहाँका छोरा-छोरीलाई दादा-दिदी अनि भाइ-बहिनी भनेर बोलाउने गर्छौं । तब कसरी उनीहरू डाइनी हुन सक्छन् ? आखिरमा यो डाइनी भनेको चाहिँ के हो ? मेरो सानो मस्तिष्कले त्यो कुराको अर्थ बुझ्न गाह्रो मानी रहेको थियो ।

दिनहरू बित्दै गए । एकदिन डाइनी भनेर चिनाइएका व्यक्तिले त्यही लाइनमा बिहे भएकी छोरी र छोरा-बुहारीलाई त्यतै छोडेर अरू छोरा-छोरी र आफ्नी परिवारलाई लिएर मध्यप्रदेशको विलासपुर फर्केर जान्छन् । मसँग खेल्ने मेरा साथी मबाट छुटिएको देख्दा मलाई औधी दु:ख लाग्दछ । मेरा आमा-बाबा जसरी नै उनीहरू पनि बिहान सात बजे बेल बज्दैखेरि काममा निस्केर जान्थे । पुरै दिन घाम-पानी सहेर, जुका-मच्छरको टोकाइ सहेर, थाकेर-गलेर बेलुकी घर आई पुग्दथ्ये । कति कष्टकर थियो जीवन । यदि उनीहरू त्यस्तो ऐश्वरिक अथवा आसुरिक शक्तिसम्पन्न हुन्थ्ये भने आफ्नो इच्छानुसारको आराम पूर्ण जीवन बिताउन सक्ने थिए । किन यसरी दुई गाँसको निम्ति पसिना बगाउनु पर्थ्यो र ! अनि कसरी विश्वास गर्नु…..।

अलिक वर्षपछि मेरो स्वास्थ्यजनित कारणवश म चियाबगानकै चिकित्सालयमा गएकी थिएँ । त्यहाँ गएपछि मलाई नर्सको मुखबाट थाहा लाग्यो कि त्यो केटो कुनै डाइनीले गर्दा मरेको हैन, त्यसलाई टि.बि.(टिउबार किउलसिस्) भएको थियो । नियमानुसार दबाइ नखाएर र नखाने जिनिसहरू मनपरि खानाले गर्दा उसको मृत्यु भएको थियो । त्यसका परिवारवर्गले डाक्टरलाई विश्वास नगरेर धामी-धनन्तरी, ओझा आदिलाई विश्वासमा लिने भएर त्यो परिणाम भोग्नु परेको हो । अब यो कुरा क-कसलाई सम्झाएर-बुझाएर सक्नु र ! कुरा कहाँबाट शुरू भएर कहाँ समाप्त भएको रहेछ ।

सन २०१५ मा आफ्ना बाबा-आमासँग विलासपुर फर्केर गएकी मेरी साथी आफ्ना श्रीमानसँग नानीहरूलाई लिएर, दाजु-भाउजु घर घुम्न आएकी थिइन् । तब हाम्रो घरमा पनि घुम्न आउँदा उनले असल कुरो भनेर आफ्नो दुखेसो पोख्छिन् । उनका बाबालाई डाइनी सजाउने त्यो लालची ओझाको घर उतै बिलासपुरमै बाबाको घर छेउमा रहेछ । त्योबेला उसको र उनका बाबाको बीचमा भूमि विवाद चलिरहेको रहेछ । त्यसैको प्रतिशोध लिनको निम्ति कसैले थाहै नपाइकन त्यस ओझाले उनीहरू माथि झुठो आरोप लगाएर मान्छेलाई उचालेको रहेछ । कुरो सुनेर म छक्कै परें । कसरी मान्छे यति निकृष्ट हुन सकेको । आँसु झार्दै उनले यो पनि भनिन् कि अझ पनि त यहाँका समाजले मेरा दाजु-दिदीहरूलाई डाइनी नै ठानिरहेका होलान् ।

मान्छेले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि के गर्दा रहेनछन् त ! कसरी यत्राजना मान्छेले त्यो अधर्मीको चाल बुझ्न नसकेका ? रिमोट आफ्नो हातमा राखेर उनीहरू सबैलाई कठपुतली सजाएर नचायो, स्वार्थ सिद्ध गर्यो अनि फेरि उनीहरूकै भगवान् बन्यो । जबकि सबैको अपराधी नै त्यही पाखण्डी थियो । ऊ अति सजिलै बाँचेर गयो । रीता गोवाला भन्छिन्-कतिपय धूर्त, चलाख मान्छेले अशिक्षित, अकडा, सहज-सरल मान्छेहरूको बीच आफूलाई ईश्वरीय गुण सम्पन्न हुँ भनेर प्रतिष्ठा गर्न खोज्दछन् र आफ्नो कुप्रवृत्तिको परिपूर्तिको लागि कुनै एकजना निर्दोष व्यक्तिलाई अपाय-अमंगल, बिमार आदिको कारण उही नै हो भनेर त्यसलाई डाइनी तुल्याएर त्यो निरीह प्राणीमाथि अरूलाई आक्रमण गर्न उक्साइ दिन्छन् । अनि मान्छे उसैका कुरामा विश्वास गरी निरपराध मान्छेलाई नरक यन्त्रणा दिएर हत्या गर्दछन् । यसको अन्तरालमा त्यही व्यक्तिको स्वार्थ लुकेको छ । सम्पत्तिको हस्तक्षेप,व्यक्तिगत आखेज,शत्रुता,भूमि विवाद,राजनैतिक कूटकोशल अन्धविश्वासको मुख्य कारण हो । यही कुरो बुझ्नलाई मान्छेलाई गाह्रो भई रहेको छ । उनी भन्दछिन- निरक्षरता नै हो यसको मुख्य कारण । सु-परिकल्पित शिक्षाले मात्र सबैको आँखाबाट यो डाइनीको पर्दा हटाउन सकिन्छ ।

अन्धविश्वासले विश्वको कुना कुनामा धेरै कुप्रभाव पारिसकेको छ । उन्नतिको लिस्नो चढ्न सक्षम पश्चिमे राष्ट्रहरू पनि अन्धविश्वासको मामिलामा पछि परिरहेका छैनन् । कसरी हो भनेदेखि – अमेरिकनहरूले आफ्नो टोपी (हैट) कहिल्यै ओच्छ्यान्मा राख्दैनन् । किन भने सूर्य किरणबाट बच्नको निम्ति लगाइएको यस टोपीमा आत्मा पसेको हुन्छ । यदि त्यो सुत्ने ओच्छ्यान्मा राखेको छ भने, त्यहाँ सुत्ने मान्छेलाई नराम्रो सपना आउँछ र सताउँछ । ईंलेण्डमा घरको फोहोर कसिङ्गर घरको मुख्य द्वारबाट निकालियो भने त्यो घरको सुख-समृद्धि सबै जान्छ । सेनेगलमा यात्रा विषयक कुनै पनि कुरा अर्कालाई भनिँदैन कतै उसको शैतानी नजरले सबै सर्वनास पार्छ भनेर । घरभित्र फिरफिरे बजाएदेखि त्यो घरको मान्छेको आर्थिक हानि हुन्छ र घरभित्र यस्तो चिज बजायो भने घरका देवी-देउता रुष्ट हुन्छन् भन्ने विश्वास रूसीहरूले गर्दछन् । त्यस्तै किसिमको विश्वास गोर्खा/नेपाली समाजमा पनि देखिन्छ । विधुवाहरूलाई देख्दा अपशकुन हुने, बाँझी महिलाले छुँदा फल प्राप्त नहुने , रजस्वला हुँदा पाप लाग्ने जस्ता निरर्थक र अवाञ्छित विश्वासहरूले मान्छेको मनमा घर गरिसकेको छ । मासिक धर्म हुँदा अशुद्ध मानी छाउ-छपडीमा राखिने प्रथा नेपाली/गोर्खा समाजमै विराजमान छ । यसै क्रममा कतिजनाको मृत्यु पनि हुन्छ । त्यसरी नै छुवाछुत कुप्रथाको कारण कतिलाई कुटरै मारिएको पनि देखिन्छ । यी सबै अन्धविश्वासका नमुना हुन् । यस्तो किसिमको अन्धविश्वास सुदुरपश्चिम नेपालको अनुन्नत ठाउँमा धेरै भएको देखिन्छ ।

जातिभेद,आध्यात्मिकताको क्षेत्रमा विद्वान् पेरियार रामासामी भन्दछन् कि बाहिरी देश जस्तै इंग्लैंडमा ब्राह्मण,शुद्र अथवा अछूत कोही हुँदैनन्,रूसमा कुनै वर्णाश्रम धर्म छैन । अमेरिकामा मान्छेहरू ब्रह्माको मुख, नाभि वा खुट्टाबाट जन्मिँदैनन् । जर्मानीमा भगवान्ले खाना/दुध पिउँदैनन् । त्यसैगरी फ्रान्समा भगवान्ले १२ लाखको गहना लगाउँदैनन् । यी देशका मान्छेहरू विद्वान र बुद्धिमान छन् । उनीहरूको आत्मसम्मानको साथसाथै आफ्नो ध्यान देश तथा सुरक्षा माथि छ । हाम्रो देशमा चाहिँ धर्मको नाममा बर्बरता र हठधर्मको किन आवश्यक ?

जहाँ पनि अन्धविश्वासको कुरा आउँछ, धेरै मात्रामा नारीहरू नै पीडित भएको देखिन्छ । प्राप्त तत्थानुसार बिहारको कटिहार जिल्लामा २०२१ सनमा एउटी बुढी महिलालाई (दुधिया देवी) खेतमा काम गर्न जाँदा डाइनी सजाएर हत्या गरिन्छ । लोहरदगामा पनि एउटी महिलालाई कुटेरै हत्या गरिन्छ । त्यस उपरान्त पनि अरू ४२जनाको हत्या भइ सकेको छ । अर्थात् एनसीआरबीको अनुसार वर्ष २०००-२०१६ सम्ममा देशमा २,५०० जनाको हत्या भइसकेको छ । झारखंड, विहार, राँची जस्ता ठाउँमा धेरै मात्रामा अन्धविश्वासको प्रकोप बढेको छ । २००१-२०१४ सम्म झारखंडमा ४६४ जना महिलाको हत्या गरिन्छ । त्यसपछि २०२० सम्म झारखंडमा अरू २०७ जनाको डाइनी सन्देहमा हत्या गरेको तथ्य पाइन्छ । राँचीमा २०१५ सनमा अन्य चार महिलालगायत जसीता टप्पोलाई (५०) अथक निर्यातनका साथ हत्या गरिन्छ । यसरी नै २०१५ देखि २०२१को अक्टोबरसम्म २२५ जनालाई डाइनीको प्रलेप लगाएर हत्या गरेको तथ्य पाइन्छ । राष्ट्रिय अपराध रिकाँर्ड ब्युरो (एनसीआरबी) को अनुसार डाइनी हत्याको मामिलामा झारखंड र मध्यप्रदेश बराबरी अर्थात् प्रथम नम्बरमा छ । तर समाजिक कार्यकर्ताहरूको अनुसार डाइनी हत्याको संख्या अझ धेरै हुनु पर्ने हो जुन चाहिँ एनसीआरबीको तथ्यमा निम्न मात्रामा देखाइएको छ । झारखंडमा सरकारी स्कूलका ६,७ र ८ कक्षाका पाठ्यपुस्तकमा डाइनी, जादु-टोना एवं कुसंस्कार विषयक पाठ अन्तर्भुक्त गरेर यस समाज सुधार गर्ने प्रयत्न गरिएको तथ्य छ ।

असममा त झनै डाइनी हत्याको प्रकोप दिनदिनै बढेको देखिन्छ । असममा डाइनी अधिनियमको अनुसार २०१९-२०२० सम्म डाइनीका ९७८, ८४१ मामिला दर्ज भएका छन् । प्राप्त तथ्यानुसार २००१-२०११ सम्म जम्मा १६६ जना व्यक्तिको डाइनीको आरोपमा हत्या भइसकेको छ जस्मा ६६ वटी महिला हुन भनेर तोकिएको छ । त्यसैगरी इन्डिया टुडे, जुन २०१२ अनुसार शोणितपुर जिलाको मोनाबारी चिया बगानबाट चारवटा मृत शरीर माटोमा गाडिएको अवस्थामा उद्धार गरिएको हो । त्यस भित्र विनोद गौर (४६), उनकी पत्नी करिश्मा गौर (३६), छोरी नाइना (२५) र सम्पर्कीय मंघे गौर (२४) भनेर चिनिएका हुन् । टिकु उराव नामक अपराधी पक्राउ परेपछि उसले सबै कुरा खुलस्त गर्दछ । सुरात मोडी भन्ने मान्छेले चिया बगानमा काम गर्ने सबैलाई विनोद गौरका परिवार डाइनी हुन् र अब यहाँ सबैलाई यिनीहरूले बिमारी फैलाई दिन्छन् भनेर उचाली सकेपछि सबै उत्तेजित हुन्छन् र अन्तमा गौरका परिवारको हत्या गरिन्छ। २००२ देखि २०१३ सम्म १३० जना निर्दोषको डाइनी आरोपमा हत्या गरिन्छ । जहाँ धेरै मात्रामा अशिक्षित, दरिद्र, अनुन्नत मान्छेहरू छन, अन्धविश्वासले त्यतै प्रचण्ड रूप धारण गरेको देखिन्छ । त्यसैगरी विश्वनाथ जिल्लाको बाघमारी चिया बगानको बस्ती अञ्चलमा पियार सामात नाम गरेकी एउटी बुहारीले आफ्नै सासू आमालाई डाइनी भनी आफ्नो लोग्ने हत्याकारी ठहराएर सासूलाई नाना यातनाकासाथ धारिलो छुराले प्रहार गरेर हत्या गर्न खोजेको खबर छ । जबकि लोग्नेको मृत्यु अत्यधिक मद्यपानले भएको थियो ।

२०२१ सनमा त्यस्तै अन्धविश्वासको बलि चढछिन रङापारा १नम्बर गेरुवाजुलि कि लक्षेश्वरी दैमारी नाम गरेकी महिला । चारवटा सन्तानकी आमा लक्षेश्वरी दैमारी एउटी विधवा महिला थिइन् । उनलाई पनि घरदेखि अलिक पर जंघलमा लगेर हत्या गरेपछि मृत शरीर उद्धार गरिन्छ । विगत अठार वर्षमा डाइनी सन्दर्भमा असममा मृत्यु हुन्छ १६१ जनाको र यस विषयमा मामिला दर्ज हुन्छन् १३३ वटा । असमको सत्रवटा जिल्लामा डाइनी हत्याको संख्या प्राप्त हुन्छ यस प्रकार– कोक्राझार जिल्लामा मृत्यु संख्या ८५, चिराङ जिल्लामा २८, गोवालपारा जिल्लामा १७, तिनसुखिया र उदालगढी जिल्लामा १५, नगाउँ जिल्लामा १० , शोणितपुर जिल्लामा ८, कार्बी आङलङ जिल्लामा छ: जनाको हत्या हुन्छ । असमको यो भयानक परिस्थितिलाई देखेर २०१५ सनको अगष्ट महिनामा राष्ट्रपति रामनाथ कोविन्द द्वारा “असम डाइनी अपराध ऐन” पारित हुन्छ र पनि दुर्भाग्यको कुरा डाइनी हत्या दिन-प्रतिदिन बढी रहेको छ । यस ऐन अनुसार कुनै पनि अन्धविश्वासजनित अपराधलाई दण्ड दिनुको साथै बेल प्राप्तिबाट पनि बर्खास्त गरिने छ । कसैलाई पनि डाइनी भनेर दोषारोपण गरे ऐनबाट दण्डित हुने छ । डाइनी सम्बन्धित अपराधमा जडित व्यक्तिलाई ७ वर्षसम्मको कैद र ५ लाखको भुक्तान भर्नु पर्ने हुनेछ । कुनै प्राकृतिक दुर्योग, बिमारादि भएर अथवा कुनै कारणवश कसैको मृत्यु भएमा, त्यस मृत्युको दोष चाहिँ अर्कालाई नै थोपार्यो भने त्यसको लागि तीन वर्षको सजा हुने छ । आवश्यक परेमा यस घटनाको उचित विचारको निम्ति उच्चअदालतको अधीनमा विशेष अदालतको पनि व्यवस्था गरिने छ ।

२०१३ सनमा असमका राजीव कलिता नाम गरेका एकजना अधिवक्ताले राज्यमा भइ रहेको डाइनी हत्याको विरोधमा गुवाहाटी उच्च न्यायालयमा सामाजिक स्वार्थ जडित एउटा प्रस्ताव दाखिल गर्दछन् । त्यसरी नै डा: दिव्यज्योति शइकीयाले पनि डाइनीको नाममा निर्यातित धेरै मान्छेहरूलाई नयाँ जीवन प्रदान गरेर उनीहरूको कर्म संस्थापनको लागि पनि पदक्षेप लिएका छन् । असमलगायत देशका कयौं राज्यहरूमा अन्धविश्वास विरोधी संग्राम, सजागता सभामा अंश ग्रहण गरी जनतालाई यस अभियानबारे सजग गराउनुका साथै आफ्नो छुट्टै पहिचान बनाउन शइकीया सफल भएका छन् भने अर्कातिर डाइनी हत्याको विरूद्धमा सरकारको दैलो खटखटाई सरकारलाई यस विषयमा ठोस कार्य गर्नलाई बाध्य गरेका छन् । तर, विस्मय र परितापको कुरा, आजसम्म जसरी ऐन कार्यकरी हुन पर्दथ्यो, त्यस किसिमले भएको देखिँदैन । दुई दशकदेखि अन्धविश्वास, डाइनी हत्या तथा समाज विरूद्ध कामको निर्मूलनमा डटिरहेर, अविराम संग्राम चलाई रहेका डा० शइकीयाले आफ्नो कामको स्वीकृति स्वरूप प्राप्त गरेका छन्, निकैवटा राष्ट्रीय पुरस्कार । गणतन्त्र दिवसको उपलक्ष्यमा इण्डिया स्टार बुक अफ रेकर्डले उनलाई “इण्डिया स्टार रिपब्लिक एवार्ड” ले सम्मानित गरेको छ । उनको यो यात्रा निरन्तर चलिरहोस् ।

असम मात्र नभएर पुरै देशमा डाइनी हत्या एउटा ज्वलन्त समस्या बनिसकेको कुरा थाहा भई सकेको छ । असममा धेरै जाति-जनगोष्ठीको बसोवास हुनाले गर्दा यहाँ अशिक्षित, दरिद्रहरूमा अन्धविश्वासले नराम्रो प्रभाव पारेको छ । एउटी सशक्त महिला वीरूबाला राभाले असमबाट डाइनी अन्धविश्वास र कुसंस्कार हटाउनको निम्ति अथक परिश्रम गरेकी छन् । गोवालपारा जिल्लाको अति भित्री ठाकुरबिला गाउँकी निवासी भए तापनि उनी समग्र असमकी अमूल्य सम्पदा हुन् । जहाँ जहाँ डाइनी हत्या, अन्ध-संस्कारले उग्र रूप धारण गरेको छ, त्यहाँ उनी पुगेकै छन् । उनले अहिलेसम्म ३५ वटी महिलाको ज्यान बचाएकी छन् । सन २००० देखि डाइनी हत्याको विरूद्धमा उनले सक्रिय भूमिका खेलेकी हुन् । २०११ सनमा वीरूबालाले डाइनी हत्याको विरूद्धमा “मिशन वीरूबाला” शुरू गरेकी हुन् र २०१२ सनको अक्टोबर महिनामा यसलाई राज्यिक अभियानको रूपमा स्वीकृति प्रदान गरिन्छ । उनको निरालस्य परिश्रम र त्यागको मूल्यांकन गरी २०१७ सनमा असमका प्राक्तन मुख्यमंत्री सर्वानन्द सोनोवालले उनलाई “सती साधनी बँटा” (पुरस्कार) प्रदान गर्दछन् । त्यसरी नै २०२१ सनमा भारत सरकार द्वारा पनि उनी “पद्मश्री” पुरस्कार प्राप्त गर्न सफल हुन्छिन। २००५ सनमा “प्रजेक्ट थाउजेंड उइमेन” को मनोनयनमा शान्तिको “नोवल पुरस्कार” को निम्ति मनोनित प्रथम असमीया महिला हुने योग्यता प्राप्त गरेकी हुन वीरूबालाले । उनको यो त्याग र तपस्यालाई कोटि कोटि नमन छ।

समाजबाट अन्धविश्वास-कुसंस्कारलाई आदि देखि अन्तैसम्म मास्नलाई धेरैले अटुट प्रयास गरे तापनि समाजमा डाइनी हत्याको भयङ्कर प्रकोप एकदमै बढी रहेको देखिन्छ । पर्याप्त शिक्षाको अभावले मान्छेको मनलाई कुसंस्कारको विषैलो वाष्पले विवेक-शुन्य पारिसकेको छ । समाज-संगठन, प्रत्येक शिक्षित वर्गले सोच्नु पर्ने कुरा हो यो । आखिरमा के, कसो गर्दा चाहिँ समाज-देशबाट ,मानिसको मन-मस्तिष्कबाट डाइनीको कलंकित अध्यायलाई मेटाउन सकिन्छ त्यसबारे पनि हामीले चिन्तन-मनन गर्नै पर्छ । डाइनी हत्या, कुसंस्कारादि रोध गर्नका लागि कतिपय विशेष निम्नलिखित नीतिहरू अवलम्बन गरेदेखि केही सफलताको मुख अवश्य पनि देख्न सकिन्छ।

१. जनसाधारणबीच सजागता वृद्धि । ग्रामीण तथा अनुन्नत क्षेत्रहरूमा गएर परिकल्पना सहित निकैपल्ट डकुमेन्ट्री अथवा नाटकहरू खेलेदेखि मान्छेहरूमा सजागता वृद्धि हुने छ। ग्रामाञ्लमा शिक्षालाई प्रमुख राखि,चिकित्सा, यातायत, पानीको साथै बिजुलीको पनि सुलभ सुविधा हुन पर्दछ। धेरै ठाउँमा विशेष गरि शिक्षा र चिकित्साको सुविधा नभएकोले गर्दा धेरै लामो बिमारी हुनुको फलस्वरूप रोगीहरू अन्धविश्वासको चपेटमा पर्दछन् र धामी-धनन्तरीमा आस्था राख्ने गर्दछ। यस गहिरो विषय माथि सरकारले विशेष ध्यान दिनु पर्दछ। गाउँ-बस्थी ठाउँमा यातायत, पानी र बिजुलीको पर्याप्त सुविधा नभएकोले गर्दा धेरै चिकित्सकहरू त्यहाँ पुग्दैनन् र समस्या बढी रहन्छ ।

२. ग्रामाञ्ल अथवा पछौटे जनजाति ठाउँहरूमा नाटक खेल्दा, शैक्षिक र वैज्ञानिक तहका नाटक खेल्न पर्दछ । जहाँ भूत-प्रेत, डाइनी-बोक्सी जस्ता कुसंस्कारपूर्ण स्वरूपको अस्तित्वै नबचोस र उनीहरूको मनमा ज्ञानोदय हवस् ।

३.जहाँ डाइनी हत्याकाण्ड जस्तो बर्बरता हुन्छ, त्यहाँ पुलिस तथा ऐन व्यवस्था कडाभन्दा कडा हुन पर्दछ ।

४.डाइनी अन्धविश्वाससँग लड्ने एवं अन्धविश्वास हटाउनमा जुटने व्यक्तिहरूलाई सरकार तथा समाज संगठकहरूले पुरस्कार प्रदान गर्ने नियम पालन गर्नु पर्छ । यसले उनीहरूको उत्साह बढ्दछ ।

५.डाइनी हत्या जस्तो घोर अपराधका अपराधीलाई केवल बेलरहित (जामिन विहीन) अपराध तोकेर केवल छ सात महिनासम्म लकापमा थुन्दै समस्याको समाधान हुँदैन । सरकारले यसको निम्ति ठोस कदम उठाउनु पर्दछ ।

६. केवल ऐन व्यवस्था द्वारा मात्र पनि अपराध हटने हैन । पुलिसको दक्षता, सभा-समिति, साक्षर समाज, मिडिया, पत्र-पत्रिकादिको पनि मुख्य भूमिका रहेको हुन्छ । “तँ रोए जस्तै गर म कुटे जस्तै गर्छु” जस्तो कर्मले कुनै पनि समस्या समाधान हुँदैन । ऐन व्यवस्था समाज-देशको उन्नयनको निम्ति हुन पर्दछ । केवल समाजलाई सन्तुष्ट पार्न माथि माथि काम गरे जस्तो गरेर हैन, अन्तर्निहित समस्याहरूलाई केलाएर हेर्नु पर्दछ ।

७.डाइनी अपराधमा धेरै जसो महिलाहरूनै पिडीत भएको तथ्य छ र गाउँ, अस्पताल, स्कूल-कलेज र अन्य जरुरी ठाउँहरूमा महिला प्रकोष्ठ हेल्प लाइन नम्बर ठुल्ठुला गरिलेखेको हुन पर्दछ ।

८.महिलामाथि भएका जुनै पनि अपराधलाई प्राथमिक दर्जा दिनु पर्दछ ।

९.महिला हित सम्बन्धी कार्य गर्ने पुलिस र एनजिओको बीचमा निकट सम्पर्क रहन आवश्यक छ।

१०. महिला अत्याचार र अन्धविश्वासजनित कुनै पनि कार्यहरूमा काम गर्ने पुलिस कर्मीहरू विशेष रूपले प्रशिक्षण प्राप्त हुन पर्दछ ।

११.ओझा, तान्त्रिक, धामी-धनन्तरीहरूलाई कसी लगाउन ऐन-व्यवस्था तत्पर रहनु पर्दछ।

१२. डाइनी भन्ने केही हुँदैन । यो स्वार्थ लोभीहरूको कुरचना हो, यस प्रकारको वार्ता वैज्ञानिक तरिकाले प्रस्तुत गरेर र साथै जनगणलाई सजग गर्नका निम्ति यस विषयक पाठ विद्यालयमा अन्तर्भुक्त गर्नु पर्दछ।

१७. लेखक-साहित्यिकहरूले यस किसिमको अन्धविश्वासको संहारको निम्ति लेखादिहरू बराबरी लेखिरहनु पर्छ ।

१४. महिलामाथि नै अत्यधिक अत्याचार, हत्या, शोषण भएको खण्डमा पुलिस स्टेशनहरूमा पुलिस प्रकोष्ठ र पृथक रूपमा महिला पुलिस स्टेशन आवश्यकता अनुसार हुन पर्दछ । कुनै पनि घटनामाथि सम्झौता नगरेर अपराधीलाई छिटो भन्दा छिटो दण्ड दिनु पर्दछ ।

डाइनी हत्या समाजको एउटा ठुलो व्याधि हो । विज्ञान र प्रयुक्तिको जय-जय अवस्थामा देशमा भइरहेका यस्ता घटनाक्रमहरूले देशको गरिमालाई साँच्चै नै ठेस पुर्याएको छ । यसलाई समाजबाट निर्मूल गर्न सबैको उति नै दायवद्धता छ । आज अर्को जातमा अर्को पुरूष-महिलालाई डाइनी सजाइएको छ भोलि क-कस्लाई यस्तो विपदा आई पर्ने हो कसले भन्न सक्ने हो र ? यसैले समस्त वौद्धिक महलले पनि यस सन्दर्भमा बिस्तार रूपमा चिन्ता गर्ने बेला आएको छ । शिक्षा यस्तो एउटा अस्त्र हो जसको ज्ञानोदिप्त प्रकाशले मात्र समस्त स्वार्थ लोभी, डाइनीका भण्ड तपस्वीहरूको अन्धो विवेकलाई जागृत गरी समाज तथा देशमा सु-संस्कृतिको मानचित्र टलक्क टल्काउने हो । जति अनग्रसर समाज र जातमा शिक्षा बिस्तार हुन्छ,त्यतिनै डाइनीको कालरूप समाजबाट हराउने छ । नत्र यतिकै कति निर्दोष जीवनको अकालै परी समाप्ति हुने हो त्यसको कुनै लेखा-जोखा छैन ।