साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

के हाे मिनिमलिजम ? काे हुन् मिनिमलिस्ट ?

मिनिमलिजम एक अङ्ग्रेजी शब्द हो । जब कोही मिनिमलिजमलाई अपनाउँछ, ऊ एक मिनिमलिस्ट बन्छ ।

मिनिमलिजमलाई एक दर्शनका रूपमा लिन सकिन्छ । कोही “मिनिमलिस्ट” भएमा, त्यसले जीवनलाई सरल राख्ने उसको रुचि बुझाउँछ । जीवनलाई सरल राखेर न्यूनतम ढङ्गमा जीवन यापन गर्नु नै “मिनिमलिजम” हो । जीवनका कतिपय भौतिक वस्तु त्यागेर “मिनिमलिस्ट” बन्न सकिन्छ । यसको कला मानिसको जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोडिएको पाइन्छ । यस काइदाका जीवन अपनाउने निक्कै कम व्यक्ति हुन्छन् । अहिलेको २१औँ शताब्दीमा विज्ञान र प्रविधिमा भएको परस्पर विकासले मानिसलाई भौतिक सुविधा र आनन्दमा जकडेको कुरा छर्लङ्ग छ । मानिस प्रविधि र भौतिक सुविधाविना अपुरो छ,अधुरोजस्तै छ । मानिस सुखभोग गर्न पूर्ण रूपमा भौतिक वस्तुसँग जोडिएको पाइन्छ । माकुराको जालोसरि बुनिएको यस भौतिक दुनियाँमा मानिस किराजसरी फसेको छ । मानिसलाई त्यसबाट उम्किन निकै नै गाह्रो परेको देखिन्छ । यस्तो परिस्थितिमा मानिस भौतिक सुखलाई कम गर्दै मिनिमलिजम सिद्धान्त अपनाउन त्यति इच्छुक देखिँदैन ।

bahulako diary small and inside post
युवराज घलेभाइ (सिक्किम)

यस सिद्धान्तले के भन्छ ?

यसले पूर्ण रूपमा भौतिक र प्राविधिक सुखबाट वञ्चित गराउने कुरा गर्दैन । यसले मात्र जीवनमा आफूलाई अल्झाउने अनावश्यक तत्त्वबाट वञ्चित रहन प्रेरित गर्छ । जीवनबाट आफूलाई विचलित गराउने चिजहरू हटाउने र आफ्नो जीवनलाई महत्त्वपूर्ण कुरामा मात्र केन्द्रित गराउन प्रेरणा दिन्छ यस सिद्धान्तले ।

यस व्यावहारिक दर्शनका अनुयायी “जोसुवा बेकर” आफ्नो किताब “सिम्पिलफाई” – सिम्प्लिफाई ( Simlify ) – लेख्छन्, उनी आफ्नो छिमेकीका केही वाक्यबाट ‘मिनिमलिजमतर्फ’ – आकर्षित भएका हुन् । बिदाको समयमा घरको ग्यारेज सफा गरिरहेका उनको परिवार थकित अवस्थामा देखेर उनका छिमेकीले भनेको एक वाक्य छ “द मोर स्टफ यू, द मोर स्टफ वन्स यू”- The more stuff you own, the more yours stuff owns you. यो वाक्य उनको दिमागमा यसरी गढ्यो कि उनको मन, मस्तिष्क र आत्मा समेत यो कुराले अति प्रभावित भयो । यो एक वाक्यले उनको सम्पूर्ण जीवनको गति परिवर्तन गरिदियो । उनले यो कुराको चर्चा उनकी पत्नीसँग पनि गरे । त्यसपछि उनले “मिनिमलिजमको विषयमा अनुसन्धान गर्न थाले ।” उनले त्यस विषयमा जति पढ्न थाले त्यस कुरालाई त्यति नै बढी चाहन थाले । “त्यसपछि एक मिनिमलिस्टको जन्म भयो” ,उनी आफ्नो किताबमा लेख्छन् । साँच्चै नै मिनिमलिजम के हो भनेर बुझ्न प्रमुखतः पहिले आफ्नो मनलाई विश्वस्त पार्नुपर्छ । आफ्नो मन विश्वस्त भएपश्चात् मन परिवर्तनदेखि कम डराउँछ । आफ्नो दैनिक जीवनशैलीभन्दा निकै नै फरक र सुरुवातमा कठिन हुन्छ । मिनिमलिस्ट जीवनशैली । सरल जीवन जिउनका खातिर मिनिमलिस्ट बन्ने गन्तव्यको पहिलो चरण नै परिवर्तन सहज गर्नु हो । जीवनमा आएको परिवर्तनलाई सरलरूपमा स्विकारे “मिनिमलिस्ट” बन्ने लक्ष्य केही सहज भएर जान्छ ।

सम्बन्धित पोस्टहरु

मिनिमलिस्ट बन्ने यही शैली चाहिँ एकदम ठिक हो भन्ने नै हुँदैन । तपाईँको गन्तव्य अरूभन्दा फरक हुन्छ, त्यसैले ‘मिनिमलिस्ट’ बन्ने शैली पनि फरक नै हुन सक्छ ।

मिनिमलिस्ट भन्नाले कम भनेर बुझ्दा गलत नहोला तर ‘कम’ यस अर्थमा नचाहिँदोभन्दा थोरै र अपुगभन्दा अलि बढी । जीवनका हरेक स्रोतलाई चाहेअनुरूप सीमित राखी जीवनयापन गर्नु नै मिनिमलिस्टको लक्ष्य हो ।

मिनिमलिस्ट जीवनशैली अपनाउनुको फाइदा

यस जीवनशैली अपनाउनुका धेरै फाइदा छन् । प्रमुखतः खर्चकटौती र पैसाको बचत नै पर्छ । यस जीवनशैलीमा नचाहिँदो कुरामा खर्च धेरै हुँदैन जसले बचतलाई बढावा दिन्छ र आर्थिक उन्नतितर्फ उन्मुख गराउँछ । अर्को फाइदा, जीवनको यस धारमा बगिरहँदा तनावले पनि त्यति दुःख दिन पाउँदैन । अनावश्यक वस्तुहरूको बोझ घटाई जीवनलाई तनावमुक्त बनाउन मिनिमलिजमका व्यावहारिक सूत्रहरू अति उपयोगी हुन्छन् । साथै मिनिमलिजमले आफ्नो दैनिकीमा स्वतन्त्रताको पनि अभिवृद्धि गराउँछ । चाहिँदोभन्दा बढी भौतिक वस्तुहरूसँगको बन्धनलाई तोड्न समेत यसले सहयोग गर्छ । यसले जीवनमा तनाव, दु:ख र झमेलाको फिल्टरको जस्तो काम पनि गर्छ । सँगसँगै यसले वातावरणलाई समेत संरक्षण गर्छ । जति थोरै सामग्री हामी किन्छौँ र उपयोग गर्छौँ, त्यति नै हाम्रो वातावरणमा क्षति हुन्छ । मिनिमलिस्ट जीवनशैलीले हाम्रो जीवनलाई उत्पादनशील समेत बनाउँछ । थोरै सामाग्री उपभोग गर्दा आफ्नो रुचि लागेको क्रियाकलाप बढी समय दिन सकिन्छ । यसले केही हदसम्म समयको समेत बचत हुन्छ ।

आफ्नो घरमा चाहिँदो ठिक्क मात्र सामानहरू हुँदा घरमा छुट्टै किसिमको आकर्षण कायम हुन्छ । मिनिमलिस्ट बन्नुका यस्ता अन्य कैयौँ लाभहरू छन् I मिनिमलिस्ट बन्न कतिको कठिन छ ? जोसुवा बेकरलाई नै एक अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफमा उनले भनेका थिए – “मिनिमलिस्ट बन्न सुरुवातमा मलाई निकै कठिन लागेको थियो र म अझै पनि मिनिमलिस्ट बन्ने प्रक्रियामै छु । यो एक लामो चरणको प्रक्रिया हो । आजको भोलि कोही पनि मिनिमलिस्ट बन्न सक्दैन । मिनिमलिजम भौतिक चिजहरूसँग मात्र सम्बन्धित छैन, यो प्रक्रिया भावनात्मक पनि छ ।” अर्को प्रश्न, भौतिक प्रविधिहरूले मिनिमलिजममा कत्तिको सहयोग पुऱ्याउँछन् । या प्रविधि हानिकारक छ ? – को जबाफमा उनले यसो भनेका छन् – “दुवै हामी अहिले यस्तो समयमा छौँ जहाँ प्रविधिले हाम्रो जीवन सीमित गरिदिएको छ, धेरै कुराहरूलाई प्रविधिले प्रतिस्थापना गरिदिएको छ । यसले समयको बचत त गर्ने भयो साथै प्रयोगमा आउने विभिन्न भौतिक वस्तुहरूबाट पनि छुटकारा दिलाउँछ । उदाहरणका लागि मोबाइल फोन अहिले विश्वविख्यात प्रविधि हो । यसको प्रयोगले हाम्रो जीवनमा प्रयोग हुने अन्य वस्तु जस्तै टेलिफोन, क्यालकुलेटर, घडी, क्यामेरा आदिबाट हामीलाई मुक्ति दिएको छ । यति हुँदाहुँदै पनि कुनै समयमा प्रविधि जीवनलाई बोझ समेत बन्न सक्छ । कुल मिलाएर मेरो विचारमा प्रविधि हानिकारकभन्दा फाइदाकारी नै बढी देखिन्छ ।”

साथै अर्को मुख्य प्रश्न, यदि म मिनिमलिस्ट सिद्धान्त अपनाउन चाहन्छु भने मैले कसरी सुरुवात गर्ने ? – को जवाफमा उनी भन्छन्, “ सुरुमा तपाईँले मिनिमलिजमका बारेमा अध्ययन गर्नुपर्छ । तत्पश्चात् मिनिमलिजम मेरा लागि किन उचित छ भनी विश्वस्त हुनुपर्छ । सुरुवात सानो गर्नुपर्छ, सुरुवात आफ्नो दराजबाट गर्नू अनि एउटा कोठा अनि अन्य कोठाहरू । बिस्तारै तपाईँलाई खुल्ला र स्वतन्त्रताको अनुभूति हुँदै जान्छ ।

मिनिमलिजमको सिद्धान्तमा एउटा भनाइ प्रख्यात छ – “लेस इज मोर”- ( Less is more ) हुन पनि, जब विवरण थोरै हुन्छ तब कल्पनाशक्तिका लागि ठाउँ धेरै हुन्छ साथै थोरै तत्त्व हुनका लागि धेरै समय र रचनात्मकताको आवश्यकता हुन्छ । यसरी मिनिमलिजमलाई समावेश गरेर हामीले आफ्नो जीवनमा चिरस्थायी सुख र खुसी ल्याउन सक्छौँ । हामीले जीवनमा चाहेका कुरा पनि त तिनै होइनन् र ? हामी सबै खुसी हुन चाहन्छौँ । मिनिमलिस्टले भौतिक वस्तुहरूबाट खुसी नखोजी, आफैँबाट खुसी पाइरहेका हुन्छन् । मिनिमलिजमबाट मैले पनि धेरै कुरा सिक्ने र अनुभव गर्ने मौका पाएँ । आजको क्षणमा बाँच्ने, समयको सही सदुपयोग गर्ने, आफ्नो रुचिलाई अपनाउने, वास्तविक स्वतन्त्रताको अनुभव गर्ने, आफूलाई मात्र भन्दा अन्य कुराहरूलाई पनि योगदान दिने,नचाहिँदो कुराहरूबाट छुटकारा पाउने । साथै जीवनको अर्थपूर्ण उद्देश्यको खोजी गर्ने जस्ता महत्त्वपूर्ण ज्ञान मिनिमलिजमद्वारा मैले प्राप्त गर्ने मौका पाएँ । अब पालो तपाईँहरूको । मिनिमलिजमलाई आफ्नो औजार बनाउनुहोस्, आफ्नो जीवनको गति र जीवन जिउने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नुहोस् । मिनिमलिजमले जीवनमा ल्याएको परिवर्तन आफ्ना साथीभाइहरूसँग बाँड्नुहोस् र अरूको जीवनमा पनि केही राम्रा परिवर्तनका लागि योगदान पुऱ्याउनुहोस् ।

प्रतिक्रिया
Loading...