नेपाल प्रज्ञा-प्रतिष्ठानबाट हालसालै The Voice of Nepal (An Anthology of Nepali Poems) नामको आधुनिक नेपाली कविताहरूको (अङ्ग्रेजी भाषामा अनुदित) सँगालो प्रकाशनमा आएको छ । उक्त सँगालोमा धरणीधर कोइरालादेखि शशी थापासम्मका गरी १०२ जना कविका कविताहरू सङ्कलित छन् ।

यस सँगालोमा वि.सं. १९८८ वैशाखदेखि औपचारिक कविता यात्रा सुरु गरेका नेपाली स्वच्छन्दतावादी धारा (१९९१-२००४) का स्थापित त्रिमूर्ति (लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र युद्धप्रसाद मिश्र) मध्येका एक तथा २००४ सालपछि नेपाली प्रगतिवादी साहित्यका स्थापित मूर्धन्य कवि युद्धप्रसाद मिश्रलाई पूर्ण रूपमा निषेध/बहिष्कार गरिएको देखियो ।

युद्धप्रसाद मिश्रका कविताहरू सुरुदेखि नै सामन्तवादी राजनीति र संस्कतिका विरुद्ध आगोको ज्वाला नै ओकल्ने प्रकृतिका थिए । उनले १९८६ तिर रचना गरेको ‘अहिंसा प्रार्थना’मा राणा शासकहरूको हिंसावादी प्रवृत्तिको आलोचना गरेको भनेर मिश्रकै अगाडि श्री ३ महाराज भीम समशेरले उक्त काव्य च्यातेर आगोमा जलाइदिएका थिए ।

प्राडा. पशुपति नाथ तिमल्सिना

युद्धप्रसाद मिश्र समग्ररूपमा सामन्तवादी संस्कृति र त्यस राजनीतिको केन्द्रीय नायक राजा, राजतन्त्रको नै समूल रूपमा अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्दथे र त्यसै अनुरूपका कविता, कथा आदि लेख्थे । यसै भावनाअनुरूप लेखिएको उनको ‘अमर कथा’ कथासङ्ग्रह वि.स. २०१५ मा र वि.स. २०३८ सालमा ‘बाढी’ कवितासङ्ग्रह सरकारले प्रेसबाटै जफत गरेको थियो ।

पञ्चायती व्यवस्था लागू भएपछि उनका काव्यकृतिहरू नेपालमा पढ्न पनि प्रतिबन्धित नै गरिएको र पाठ्य सामग्रीबाट हटाइएको थियो । नेपाली भाषा प्रकाशिनी समितिले वि.सं. १९९८ देेखि एसएलसी र आइए तहका पाठ्यक्रम पाठ्यपुस्तकका रूपमा तयार गरिएका ‘नेपाली पद्य सङ्ग्रह’ भाग १ र २ का पुस्तकमा प्रकाशित मिश्रका कविताहरू पञ्चायती व्यवस्था लागु भएपछि स्थापित साझा प्रकाशनले प्रकाशन गर्न थालेको ‘साझा कविता’ भाग १ र २ का कतिपय संस्करणहरूबाट उनका कविता र परिचय हटाउने कार्य गरेको थियो । यस्तै कार्य नेपाल प्रज्ञा-प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयले पनि पञ्चायती कालभरि गरेको देखिन्छ ।

नेपालको लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा मिश्रको भूमिका काव्यिक र भौतिक क्रियाशीलताका कारण पनि अतुलनीय रूपमा रहेको छ । युद्धप्रसाद मिश्रले सामन्तवादविरोधी कविता सिर्जनाका साथै वि.स. २००४ साल वैशाख ८ मा वीरगन्जमा लेखक, कलाकार तथा बुद्धिजीवीहरूले गरेको राणा शासकका विरुद्धको आन्दोलन तथा वि.स. २०४६ चैत्र ३ गते निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध मुखमा कालोपट्टी बाँधेर गरिएको आन्दोलनमा अग्रपङ्क्ति रही नेतृत्वदायी भूमिका निर्वाह गर्ने कार्य गरेका थिए । यसै कारणले पनि नेपाली साहित्यका क्षेत्रमा मिश्रलाई स्वच्छतावादी/प्रगतिवादी दुबै धाराका स्थापित साहित्यकाहरू तथा प्रजातन्त्रवादी एवं मार्क्सवादी राजनैतिक पार्टीका व्यक्तित्वहरूले समेत अति आदरभावका लिने गर्दछन्।

इतिहास बनाउने कुरा सामान्य होइन, मानिसले जीवनपर्यन्त सङ्घर्ष, लगानी र त्याग गरेका थोरै मानिसले मात्र जीवनको निष्कलङ्कित इतिहास बनाउन सक्छन्, जुन इतिहास नेपाली साहित्यका पुराना पुस्ताका साहित्यकारहरूमध्ये युद्धप्रसाद मिश्रले मात्र बनाउन सकेका थिए ।

नेपाली साहित्यका क्षेत्रमा आजीवन सामन्ती राज्यसत्ताको विरुद्ध आवाज उठाएर नेपाली समाजमा गणतान्त्रिक चेतना जगाउने कवि हुन् युद्धप्रसाद मिश्र । आजीवन सामन्ती राज्यसत्ताको उत्पीडन सहेका मिश्रलाई मृत्युपछि पनि नेपालको वर्तमान गणतान्त्रिक राज्यसत्ताले अपमानित, तिरस्कृत गर्दै उनको निष्कलङ्कित इतिहास नै नामोनिसान नरहने गरी मेट्ने प्रयत्न गरेको छ । र, राज्यसत्ताबाट गरिने यस्तो कार्य अपराधपूर्ण, बदनियतपूर्ण छ र निन्दनीय पनि छ ।

मैले नेपाल प्रज्ञा-प्रतिष्ठान सामन्ती चिन्तनबाट अहिले पनि मुक्त हुन सकेको छैन भन्ने कुरा बारम्बार उठाउँदै आएको छु । यस सम्बन्धमा मैले “फरक मान्यताका दुई शिविर प्रलेस र नेराप्र” (गोकुलदीप, २०६१) र “प्रज्ञा-प्रतिष्ठान अग्रगामी चेतनाको केन्द्र बन्न सक्ला ?” (समाधान, २०६३श्रावण २७) भन्ने लेखहरूबाट प्रज्ञाप्रतिष्ठानका सामन्तवादी चिन्तन र व्यवहारका बारेमा आलोचना गरेको थिएँ ।

त्यसै गरी २०७६ भाद्र १४ गते प्रज्ञा भवनमा आयोजित प्रज्ञा-प्रतिष्ठानका प्रायः सबैजसो पदाधिकारी तथा प्राज्ञहरूलगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको विचारगोष्ठीमा मैले “प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण” विषयक गोष्ठीपत्र प्रस्तुत गर्ने क्रममा ‘व्यक्ति परिवर्तन भए पनि प्रज्ञा-प्रतिष्ठानमा परम्परागत रूपमा चल्दै आएको सामन्ती चिन्तन, संस्कार र व्यवहारमा कुनै परविर्तन नआएको’ धारणा किटानीका साथ व्यक्त गरेको थिएँ । मैले व्यक्त गरेको उक्त धारणालाई अहिले प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको अङ्ग्रेजी संस्करणको आधुनिक नेपाली कविता सङ्ग्रहले पुष्टि गरिदिएको छ ।

आजीवन सामन्ती राज्यसत्ताद्वारा पीडित भएर पनि सामन्तवाद र त्यसको केन्द्रीय नायक राजा र समग्र रूपमा राजतन्त्रलाई समूल रूपमा समाप्त गर्नुपर्दछ भन्दै गणतन्त्रको पक्षमा सशक्त आवाज उठाउने जनकवि युद्धप्रसाद मिश्रलालाई पूर्णरूपमा निषेध गरेर नेपाल प्रज्ञा-प्रतिष्ठान (राज्यसत्ता) द्वारा नेपाली समाजमा के सन्देश दिन खोजेको हो ?

अहिले नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकका माध्यमबाट मिश्रलाई निषेध गर्ने जुन संकीर्णतावादी कार्य भएको छ, त्यो निन्दनीय छ । बहिष्करणीय छ ।