‘बालसाहित्य’ शब्दको व्युत्पत्ति हेर्दा यसमा ‘बाल’ तथा ‘साहित्य’ गरी दुई भिन्नाभिन्नै अर्थबोध गराउने तत्सम शब्दको प्रयोग भएको छ । ‘बालकको साहित्य’ भन्ने पदावलीमा तत्पुरुष समास भई बालसाहित्य शब्दको निर्माण भएको हो । बाल या बालक भन्नाले सामान्यतया युवावस्था सुरु नहुँदै सोह्र वर्षमुनिको अवस्थामा रहेका बालबालिका भन्ने बुझिन्छ । उमेर अनुसारको वर्गीकरण गर्दा पाँच वर्षसम्मकालाई शिशु, त्यसपछि बाह्र वर्षसम्मकालाई बालक र सोह्र वर्षमुनिकालाई किशोर भन्ने प्रचलन छ । आखिर वर्र्गीकरण जेजस्तो रूपमा गरिए पनि ‘बाल’ या ‘बालक’ भन्नाले यी तीनवटै अवस्था भन्ने बुझ्नुपर्दछ । साहित्य भन्नाले मानिसको सिर्जनशील प्रतिभाद्वारा लेखिने वाङ्मयको एक विशिष्ट विधालाई जनाउँछ । यसरी हेर्दा ‘बालसाहित्य’ भन्नाले ‘बालकको साहित्य’ भन्ने बुुझिन आउँछ । अर्को शब्दमा भन्नुपर्दा बालबालिका स्वयम्ले कलमका माध्यमले आफ्नो प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले लेखन शैली बढाउन एवं बालबालिकाका लागि प्रौढले बालकै भनेर लेखेको साहित्य नै बालसाहित्य भन्ने बुझिन्छ । समग्रमा भन्दा बालबालिकाले मनोरञ्जन प्राप्त गर्ने उद्देश्यले पढ्ने र बुझ्ने रोचक एवं मनोवैज्ञानिक साहित्य बालसाहित्य हो । यसरी हेर्दा बालसाहित्य बालबालिका तथा प्रौढ साहित्यकारहरू दुवैले लेख्ने गरेको पाइएको छ तर यस लेखमा प्रौढ साहित्यकारद्वारा सिर्जित साहित्यलाई नै केन्द्रमा राखी पाठ्यसामग्रीका रूपमा हुने त्यसको उपयोगिताका बारेमा चर्चा गरिन्छ ।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा मात्र नभई नेपाली साहित्यमा पनि बालसाहित्यको प्रवेश पाठ्यसामग्रीका माध्यमबाट हुन सकेको हो । बालसाहित्यसँग सम्बन्धित सामग्रीहरू बाल मनोविज्ञान तथा बालरुचि अनुकूलतामा आधारित हुन्छन् । बालसाहित्यका लागि जस्तै पाठ्यसामग्रीका लागि पनि यी विशेषताहरूको अनिवार्यता रहन्छ । बालसाहित्यको रोचक प्रयोग भएकै कारणले बाल पाठ्यसामग्री पनि बाल उमेर समूहका विद्यार्थीहरूका लागि रोचक, स्तरीय र पठनीय बन्न पुग्छन् । तसर्थ विद्यालयमा पढाइने सामग्री रुचिपूर्ण, स्तरीय र बालमनोवैज्ञानिक होस् भन्नाका लागि पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोग गराइनु निकै आवश्यक हुन्छ । बालबालिकामा यसरी प्राप्त हुने शिक्षामा मनोरञ्जक खुराक मात्र होइन नैतिक सन्देश पनि घुसेको हुन्छ र यसबाट बालबालिकाले पाठ्यपुस्तकीय शिक्षा तथा बालसाहित्यको रसास्वादनसमेत एकैचोटि प्राप्त गर्न सक्दछन् ।

रमेशचन्द्र घिमिरे

वर्तमान शिक्षा प्रणाली धेरै हदसम्म बाल मनोवैज्ञानिक भएकाले अहिलेका पाठ्यसामग्रीमा बालसाहित्यलाई पनि राम्रै स्थान दिइएको भान हुन्छ तर प्राचीन कालको शैक्षिक प्रणालीमा यस कुराको अभाव थियो । “शिक्षा नै धर्म हो र धर्म नै शिक्षा हो” भन्ने मान्यता बोकेको त्यस युगमा व्यावहारिक ज्ञानप्राप्तिका लागि भन्दा पनि धर्मप्राप्तिका लागि शिक्षा आर्जन गरिन्थ्यो । ‘धावन्ती खेती, सेवन्ती राजा र घोकन्ती विद्या’ लाई महत्त्व दिइने हुँदा त्यतिखेरको शिक्षा घोकन्ते विद्यामा आधारित हुन्थ्यो । गुरुकुलीय परम्पराअनुसार धर्म गुरुले नै अध्यापन गराउने र संस्कृतका जटिल व्याकरणलाई नै पाठ्यपुस्तकका रूपमा उपयोगमा ल्याइने हुँदा तत्कालीन प्राथमिक तहका उमेर–समूहका बालपाठकहरूले व्यवहारोपयोगी र बाल मनोविज्ञानमा आधारित शिक्षा ग्रहण गर्न सकेका थिएनन् । निश्चित पाठ्यक्रम तथा पाठ्यपुस्तकको अभाव रहनु र पाठ्यसामग्रीका रूपमा कौमुदी व्याकरण लगायत रुद्री, चण्डी आदि घोक्न लगाइनुले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता ग्रहण गर्न पाउने मौका पनि प्राप्त हुँदैनथ्यो । बुझेर भन्दा पनि नबुझी–नबुझी पढ्नुपर्दथ्यो । वास्तवमा बालबालिका वा प्राथमिक तहका उमेर समूहका लागि त्यस्तो शिक्षा बोझका रूपमा रहन जान्थ्यो अनि मनोविज्ञानका हिसाबले पनि प्रतिकूल देखिन्थ्यो । नेपालको सन्दर्भमा यस परिपाटीको अन्त्य गर्दै बालसाहित्य र बाल पाठ्यपुस्तकको मिश्रित थालनी गर्ने काम बझाङ्गे राजा जय पृथ्वीबहादुर सिंहको उदयसँगै वि.सं. १९५८ बाट भएको हो ।

विद्यार्थीले पढ्ने शिक्षा सरल, सरस, सुबोध्य र सम्प्रेष्य हुनुका साथै बाल मनोविज्ञानमा पनि आधारित हुनुपर्दछ । त्यसो त वर्तमान पाठ्यपुस्तकलाई बाल मनोवैज्ञानिक बनाउने प्रयास गरिएको छ र पनि चर्चा गरिएका पाठ्यसामग्रीहरूलाई विद्यार्थीहरूले रहरले भन्दा पनि करले पढ्नुपर्ने स्थिति देखिन्छ । पाठ्यपुस्तकको घेरा नाघेर पढ्न पाइएको सामग्री उनीहरूका लागि जति रोचक हुन्छ, पाठ्यपुस्तकमै रहेका सामग्री त्यति रुचिकर नहुन सक्छन् । पाठ्यपुस्तकको पढाइ परीक्षामुखी हुन्छ भने बाह्य पुस्तकको पढाइ स्वतन्त्र र ऐच्छिक हुन्छ । पाठ्यपुस्तकको पढाइ विद्यार्थीका लागि बाध्य भएर पढिने पढाइ हो । त्यसैले विद्यार्थीहरूका लागि मनोरञ्जनात्मक पढाइको आवश्यकता परेको हुन्छ । आफ्नो विद्यालयको गहन अध्ययन र गृहकार्यका बोझले जब विद्यार्थी थाक्छ तब उसलाई अलिकति स्वच्छ मनोरञ्जनको आवश्यकता पर्दछ । यही आवश्यकता पूर्तिका लागि विद्यार्थीहरूले मनोरञ्जनमूलक पाठ्येतर बालसाहित्यिक सामग्रीहरूको खोजी गर्दै पढ्न थाल्दछन् । यस्ता पाठ्यसामग्रीहरूमा प्रत्यक्ष रूपमा मनोरञ्जन दिन खोजिए पनि अप्रत्यक्ष रूपमा नैतिक सन्देशको सम्प्रेषण गरिएको हुन्छ र यिनले विद्यार्थीलाई बराल्ने वा गलत बाटामा लैजाने काम गरेनन् भने त्यस्ता खाले पाठ्यसामग्रीहरू बालपाठकहरूका लागि निकै उपयोगी र पठनीय हुन जान्छन् । अर्को कुरा पाठ्यपुस्तकको एकोहोरो रटाइले मात्र पढाइमा पूर्णता हुँदैन र शिक्षार्थीका लागि रुचि अनुकूल पनि हुन सक्दैन । यसो हुनाले उनीहरूलाई बाल मनोविज्ञान र बालरुचि अनुकूलतामा आधारित मनोरञ्जक शिक्षाको आवश्यकता परेको हो । भाषाको मनोरञ्जनात्मक सिकाइमा विद्यार्थीहरू बढी रमाउँछन् । मनोरञ्जनका लागि पढ्दा पढाइमा गति बढ्नुका साथै बोधक्षमताको विकास हुन्छ । पाठ्यपुस्तकका पाठमा मात्र सीमित गर्दा उनीहरू दिक्क मान्न सक्छन् । पाठ्यपुस्तकका पूरक सामग्रीका रूपमा नयाँ र नौला सामग्री उपयोग गर्दा उनीहरूको भाषा सिकाइको आयाम पनि फराकिलो हुन पाउँछ । बदलिँदो वर्तमान परिवेशमा ज्ञान–विज्ञानका कुराहरूसँग साक्षात्कार गराउनुका साथै मनोरञ्जक सामग्रीहरू प्रदान गरी उनीहरूको पढाइको विकास गराउनका लागि बालसाहित्य निकै आवश्यक रहेको छ । खेल–खेलमै आनन्द लिँदै अनुभव, ज्ञान र सूचनालाई आत्मसात् गरी व्यक्तित्व निर्माण र भाषिक सीपको विकास गर्न विद्यार्थी जीवनमा बालसाहित्यको विशेष भूमिका रहने हुँदा शिक्षक र अभिभावकहरूद्वारा आफ्ना विद्यार्थी एवं बालबालिकाहरूका लागि राम्रो बालसाहित्यको चयन गर्नुपर्ने कुरामा बालसाहित्यका अध्येता एवं समीक्षक चूडामणि बन्धुले जोड दिनुभएको छ । बालसाहित्यको अध्ययनले बोधक्षमताको विकास गराउनुका साथै शब्दभण्डारको समेत विकास गराउँछ ।

बालसाहित्यका विभिन्न विधाहरूलाई सस्वर पढाइका लागि उपयोगमा ल्याउन सकिन्छ । बालसाहित्यका विभिन्न विधाहरूमध्ये बालकविता, बालकथा, बालनाटक, बालगजल, बालउपन्यास, बालोपयोगी जीवनी आदि पर्दछन् । बालकविता पढेर शिक्षार्थीहरूलाई लयबोधको थप अभ्यास गराउन सकिन्छ भने बालनाटकका संवादबाट कथ्य भाषाका नजिक पुगेर उपयुक्त गति, यतिका साथ हाउभाउ मिलाएर, चिन्हको ख्याल गरेर र भावअनुसार पढ्ने अभ्यास गराउन सकिन्छ । त्यस्तै गरेर सस्वर वाचन र द्रुत पठनका लागि विद्यार्थीहरू बालकथा विधामा रमाउँछन् ।

पाठ्यपुस्तकमा विभिन्न विधाका पाठहरू सीमित हुन्छन् । तिनको थप र विविध ढङ्गले अभ्यास गराउन बालसाहित्यको उपयोग गर्नु आवश्यक देखिन्छ । बालसाहित्यको उपयोगका लागि मुना, सुनकेस्रा, बालक, कोपिला, बालउदय, जूनकीरी जस्ता बालपत्रिकाहरू तथा पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित बाल सन्दर्भ सामग्रीहरू विद्यार्थीलाई पढ्न लगाउनु राम्रो हुन्छ । यसबाट बालबालिकाहरूमा नैतिक चेतना, सामाजिक मूल्य मान्यता तथा मानवीय संवेदनाको विस्तार गर्नमा बालसाहित्यको विशेष भूमिका रहन्छ । आफूले पढिरहेको पाठ्यपुस्तकबाट मात्र पठनबोधको अभ्यास गराउँदा विद्यार्थीहरूमा कुनै जिज्ञासा र उत्सुकता रहँदैन । बालसाहित्यको उपयोगले विद्यार्थीहरूमा जिज्ञासा र उत्सुकता सञ्चार गराउँछ र उक्त साहित्य राम्ररी पढ्न उनीहरू हौसिन्छन् । रुचिपूर्ण नयाँ विषयवस्तु दिएर पठनबोधको अभ्यास गराउँदा उनीहरू जिज्ञासु त हुन्छन् नै साथै अभ्यासमा विविधता ल्याउन पनि सजिलो हुन्छ । अनि विद्यार्थीहरूमा पुस्तकालय गई आफूलाई मन पर्ने सामग्री खोजतलास गरी आफै पढ्ने बानीको विकास पनि हुँदै जान्छ । बन्दाबन्दीको समयपछाडि बालबालिकाहरू विद्यालय वा सार्वजनिक पुस्तकालयमा गएर बालसन्दर्भ सामग्री पढ्नबाट बञ्चित रहेका छन् । यसका लागि अनलाइन पत्रिकाले पनि बालबालिकाका लागि बालबालिका आफैले पढेर रमाउन पाउने खालको सामग्रीलाई स्थान दिनुपर्ने हुन्छ । त्यसो हुँदा बालबालिकाहरूप्रति पनि न्याय पुगेको देखिन्छ । कतिपय अनलाइन पत्रिकाले बालबाालिकाले आफैले पढ्न पाउने स्तरीय बालसामग्रीहरूलाई पनि समेटेको त पाइन्छ तर केही विशुद्ध साहित्यिक अनलाइन पत्रिकाले भने यसमा त्यति विचार पुर्याउन नसकेको हो कि भन्ने भान हुन्छ ।

पाठ्यसामग्रीका रूपमा बालसाहित्यको अध्ययनलाई उपयोगमा ल्याउनुपर्ने कुरामा बालसाहित्यका स्रष्टा, अध्येता एवं लमजुङे साहित्यकारद्वय गोविन्दबहादुर कुँवर र विजयराज न्यौपानेको टिप्पणी यस्तो रहेको छ — “बालबालिकालाई स्वस्थ मनोरञ्जन प्रदान गर्न, पढाइमा अभिरुचि जागृत गराउन बालशिक्षाको सन्दर्भमा बालसाहित्यको प्रयोग हुनुपर्छ । मीठामीठा बालगीत, बालकविता, बालकथा, बालउपन्यास, बालनाटक, आदि पढेर स्वस्थ मनोरञ्जनका साथै आनन्दको अनुभूति गर्न सक्दछन् र पढाइमा जागृत हुन्छन् । पढाइमा अभिरुचि जाग्नाले उनीहरू अध्ययनशील, लगनशील बन्न पुग्दछन् । यस्तो अध्ययनशीलता र लगनशीलताबाट उनीहरूको पढाइको स्तर पनि उठ्न सक्दछ र उनीहरूको सर्वाङ्गीण व्यक्तित्वको विकास सम्भव हुन्छ ।” बच्चाभित्र रहेको घोकन्तेबाहेकको प्रतिभा उजागर हुन सक्ने बालसाहित्यिक सामग्रीलाई नै विद्यार्थीको वास्तविक पाठ्यसामग्रीका रूपमा लिनुपर्ने धारणा शिवालय मा.वि. कास्कीका प्रधानाध्यापक एवं साहित्यकार रुपिन्द्र प्रभावी जोशीको रहेको छ । साहित्यिक पत्रपत्रिका र पाठ्यसामग्रीको सम्पादनमा समेत अनुभव सँगाल्नुभएको कवि रुपिन्द्रको मान्यता के छ भने बालसाहित्य त सन्दर्भ सामग्री मात्र होइन, पाठ्यक्रमअन्तर्गतकै पाठ्यसामग्री हुनुपर्छ । जसरी स्थानीय विषयको पढाइ हुन्छ, वा भनौंँ विश्व विद्यालयीय तहमा कुनै साहित्यकारका पुस्तकहरू वा कुनै सिङ्गो साहित्यिक किताबको अध्ययन गर्ने व्यवस्था भए जस्तै ।

फस्ट स्टेप्स् मन्टेसरी, बालकोट भक्तपुरका संस्थापक–प्रिन्सिपल एवं बालसाहित्य र कलाका अनुरागी सुरज राजथलाका अनुसार बालशिक्षाको प्रारम्भिक अवस्थादेखि नै विद्यालयका क्रियाकलापहरू हेर्ने हो भने बालसाहित्यको प्रयोग सन्दर्भ सामग्रीका रूपमा मात्र भएको पाइन्छ । साना नानीहरूको विद्यालय प्रारम्भिक शिक्षा सुरु भएसँगै अङ्गे्रजी तथा नेपाली बालगीत Twinkle twinkle twinle little star, Johny, Johny Yes Papa, ‘कुखरी काँ’, ‘घामपानी घामपानी स्यालको बिहे’, ‘दसैँ आयो’ जस्ता बालगीत, बालकविता, बालकथा भनेर सुनाइन्छ । यी क्रियाकलापहरूले पढाइमा अभिरुचि जागृत गराउन मद्दत गर्दछ तर पाठ्यसामग्रीका रूपमा बालसाहित्यको प्रयोग गर्न भने कन्जुस्याइँ गरेको देखिन्छ । बालबालिकालाई मनोरञ्जन प्रदान गर्न मात्र नभई पढाइमा अभिरुचि जागृत गराउन बालशिक्षाको सन्दर्भमा बालसाहित्यको प्रयोग आवश्यक छ । बालशिक्षामा बालसाहित्यको उपयोग नहुनु, भएकै भए तापनि अङ्ग्रेजी बालसाहित्य जुन सहज प्राप्त हुन्छ ती मात्रै प्रयोग भएको पाइन्छ । सचित्र बालोपयोगी र मौलिक पाठ्यसामग्रीले स्वस्थ मनोरञ्जन दिनुका साथै पढाइमा अभिरुचि जागृत गराउने र शिक्षण सिकाइमा लगनशीलता जागृत गराउँछ । पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोगले बालबालिकाको सिकाइ उपलब्धिको स्तर बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा समेत सहयोग मिल्नेछ भन्ने धारणा सुरज राजथलाको रहेको छ ।
पोखरेली स्रष्टा, प्राध्यापक एवं कुशल छन्दकविता वाचक शिव त्रिपाठी पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोगिताका सम्बन्धमा यसो भन्नुहुन्छः “बालसाहित्यका सामग्रीहरू बालबालिकाका लागि निकै रोचक हुन्छन् र उनीहरूले सजिलै ग्रहण गर्न सक्छन् । अझ गीत र कविताका पाठहरू त कक्षामा गायनका माध्यमबाट सिकाउँदा कक्षाको वातावरण नै फरक हुन्छ । यिनीहरूलाई बालबालिकाले कक्षाबाहिर पनि गाउन वा सुनाउन सक्छन् । यस्ता सामग्री सजिलै स्मृतिमा रहन्छन् या त कण्ठस्थ हुन्छन् जसले गर्दा पछि पछिसम्म पनि बालबालिकाहरूले यिनीहरूलाई बिभिन्न ठाउँ वा परिस्थितिमा सजिलै उपयोग गर्न सक्दछन् ।”

बालसाहित्य लेखन, अनुवाद र प्रशिक्षणमा लामो अनुभव सँगाल्दै आउनुभएका पूर्व शिक्षक एवं बालसाहित्यकार उद्धवप्रसाद प्याकुरेलको यस सम्बन्धमा यस्तो धारणा रहेको छः “औपचारिक शिक्षाको उद्देश्य बालबालिकाहरूको चौतर्फी विकास गर्न सहयोग पु¥याई स्वयम् व्यक्ति, उसको घर परिवार, समाज र राष्ट्रका निमित्त अनुशासित, सक्षम नागरिक उत्पादन गर्नु हो । जसका निमित्त सिकाइ उपलब्धिसहितको शैक्षिक योजना पाठयक्रम निर्माण भएको हुन्छ । बालबालिकाहरूलाई पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुका सिकाइ उपलब्धि हासिल गराउन पाठ्यपुस्तक तयार गरिएको हुन्छ जुन पाठ्यपुस्तको प्रयोग एउटा आंशिक विधि र सामग्री हो तर पूर्ण होइन । पाठ्यक्रमका सिकाइ उपलब्धि हासिल गराउने पहिलो र महत्त्वपूर्ण पक्ष भनेको पठनसिप विकास हो । जसका लागि बालसाहित्य सन्दर्भ सामग्री महत्त्वपूर्ण हुन्छ जुन सामग्री बालबालिकाको रुचि, स्तर र क्षमताअनुरूप हुनुपर्दछ ।”

ताराकुञ्ज बोर्डिङ स्कुल, पोखरामा शिक्षण पेशामा समेत आबद्ध बालसाहित्यकार एवं पोखरा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरू’ पाठ्यसामग्रीका रूपमा बालसाहित्यलाई उपयोगमा ल्याउन सकिने कुरामा जोड दिँदै भन्नुहुन्छः “हामी हाम्रो बाल्यकालमा पनि हाम्रा अभिभावकबाट कथा, कविता सुन्दै हुर्किएका हौँ । पाठ्यपुस्तकमा पनि राम्राराम्रा कथा कविता पढेर आयौँ । त्यसैले हरेक पुस्ताका बालबालिकालाई बालसाहित्य अत्यन्त उपयोगी हुन्छ । बालसाहित्यले बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै कौतुहलता र जिज्ञासा बढाउँछ ।” बालसाहित्यतर्फ बालचित्रपुस्तकका लेखक एवं बाल संरक्षण शिक्षाका क्षेत्रमा गैरसरकारी संस्थामा कार्यरत र लामो समयसम्म शिक्षण पेशामा आबद्ध युवा साहित्यकार विश्वविनोद आफनो बाल्यकाल सम्झँदै पाठ्यसामग्रीका रूपमाा बालसाहित्यको उपयोगिताका सम्बन्धमा आफ्नो रमाइलो अनुभवा यसरी बताउनु ह्ुन्छः “तारा बाजी लै लै, भँगेरा र भँगेरी जस्ता जिभ्रोमा झुन्डिने कविताको कारण किताब नछोए पनि छोऊँ–छोऊँ हुन्थ्यो हाम्रो पालामा । ‘सानो छ खेत सानो छ बारी…’ भन्ने कविताबाट किसानको कर्ममा विश्वास गर्ने वातावरण बनाएको थियो । राष्ट्रप्रेम, नैतिक शिक्षा, अनुशासनलाई सहजै मस्तिष्कसँग पु¥याउन बालकविताले काम गरेको पाइन्छ भने लोककथा, नीतिकथा र बालकथाले बालबालिकामा असल व्यबहार सिकाउन निकै महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । बालबालिकालाई कल्पनाशील र सृृजनशील बनाउन बालसाहित्य नै प्रमुख माध्यम हो । यसले बालबालिकालाई अभिव्यक्त गर्ने कलाको पनि विकास गराउँदछ । बालसाहित्यले भाषा, संस्कृतिको जगेर्ना गर्न र उत्थान गर्न मद्दत पु¥याउँछ तर यस्ता बालसाहित्य रोमाञ्चयुक्त, कौतुहलता र उत्सुकता भर्न सक्ने खालको हु्नुपर्दछ । विदेशमा पाठ्यपुस्तकको अलावा थप सन्दर्भ सामग्रीको रूपमा पनि बालसाहित्यका अन्य पुस्तक पढ्न दिने चलन छ, यसै गरी हाम्रो पठन संस्कृतिको बिकासमा पनि बालसाहित्यको महत्त्वपूर्ण भूमिका रहन्छ । आफ्ना अभिभावक बजारमा जाँदा नयाँ खानेकुराको सट्टा पुस्तक किनिदिने परम्परा बसाउन पनि बालसाहित्यको उपयोग आवश्यक छ तर जम्माजम्मी ५ हजारको हाराहारीमा छापिएका बालकथा र त्यति नै हाराहारीका बालकविताको गुणस्तरमा बढाउन पनि लाग्नु पर्ने देखिन्छ ।”

विद्यालय तहका पाठ्यपुस्तकका लेखक तथा सम्पादक एवं भद्रकाली माध्यमिक विद्यालय, पोखराका शिक्षक लोकचन्द्र खनाल पाठ्यसामग्रीका रूपमा बालसाहित्य अत्यन्त उपयोगी हुन्छ भन्दै बालसाहित्यले बालबालिकालाई प्रभावकारी रूपमा साहित्यिक रचनाका माध्यमबाट विषयवस्तुको दिगो धारणा बनाउन मद्दत गर्दछ; यसले बालबालिकामा साहित्यको आस्वादन लिने बानी विकास गर्दछ र बालबालिकामा कल्पनाशील तथा तार्किक क्षमताको विकास गराउँछ भन्ने धारणा राख्नुहुन्छ । बालोपयोगी सन्दर्भ सामग्रीले विभिन्न सन्दर्भका प्रशस्त शब्दभण्डार क्षमताको विकास गराउँछ । भाषाशैली रोचक तथा प्रभावकारी बनाएर विद्यार्थीलाई परीक्षामा सोधिएका प्रश्नका सटिक र सान्दर्भिक उत्तर लेख्न बालबालिकालाई बालसाहित्यको अध्ययनले मद्दत गर्दछ । यसो हुनाले पाठ्यसामग्रीका रूपमा बालसाहित्य ज्यादै उपयोगी हुन्छ भन्ने विचार समेत शिक्षक लोकचन्द्र खनालको रहेको छ । विद्यालय तहकै पाठ्यपुस्तकका लेखक तथा सम्पादक एवं गोरखा क्याम्पसका उप–प्राध्यापक महेन्द्र न्यौपाने पाठ्यसामग्रीका रुपमा बालसाहित्यको उपयोगिताका सम्बन्धमा यस्तो धारणा राख्नुहुन्छः “बालबालिकाको रुचि, स्तर, उमेर र मनोविज्ञानलाई मध्यनजर गरी रचना गरिएका बालसाहित्यले बालबालिकालाई पाठ्यपुस्तकको सीमित दायराबाट मुक्त गरी विविध विषयप्रति उत्सुकता जगाउने, ज्ञानको दायरा र सिर्जनशीलतालाई बढाउने तथा उनीहरूभित्रको असीमित जिज्ञासाको समाधान गर्दछन् । सुकोमल एवं सुललित भाषा, रोचक शैली र कौतुहलताका कारण बालसाहित्यले बालमस्तिष्कलाई आकर्षित गरी स्वस्थ मनोरञ्जनका साथै व्यावहारिक शिक्षा दिने भएकाले बालसाहित्य महत्त्वपूर्ण पाठ्यसामग्री ठहर्दछन् ।”

सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जकी शिक्षिका एवं बालकथाकार ललिता शर्मा पनि पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोग गर्न रमाउनुहुन्छ । उहाँका अनुसार पाठ्यसामग्री विद्यार्थीको रुचि, उमेर र स्तरअनुसारको हुन जरुरी छ । साना उमेरका नानीहरूलाई कक्षामा टिकाइराख्नु चानचुने कुरो होइन । पाठ्यपुस्तकमा समावेश गरिएका पाठ्यसामग्रीहरू उपयुक्त र सान्दर्भिक हुँदाहुँदै पनि पूर्णचाहिँ हुन सकेका छैनन् साना नानीहरू धेरै खोजी गर्ने स्वभावका हुन्छन्।् । थोरै कुरामा उनीहरू रमाउँदैनन् । पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोगिताका सन्दर्भमा शिक्षिका शर्माले सामान्यतया पाठ्यपुस्तकमा इतिहास, भूगोल, कला, साहित्य, सिप, संस्कार, संस्कृति, आर्थिक, सामाजिक मूल्य–मान्यता परम्परा, जनजीवन, पहिरन आदिका बारेमा सम्भावित विधाहरू कथा, कविता, निबन्ध, प्रबन्ध, संवाद आदिद्वारा विद्यार्थीहरूलाई ज्ञान सिप दिन खोजिएको हुन्छ तर विद्यार्थीहरू पाठ्यपुस्तकमा भएका पाठ्यसामग्रीबाट सन्तुष्ट हुन र तृप्त हुन सकेका छैनन् भन्दै सचित्र र बालोपयोगी सन्दर्भ सामग्री आवश्यक पर्ने धारणा राख्नुहुन्छ । पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोगिताका सम्बन्धमा श्री शक्ति माध्यमिक विद्यालय, गोरखाका शिक्षक, प्रशिक्षक एवं कवि सुरेन्द्र देवकोटा बालसाहित्यको पठनले बालबालिकामा अन्तर्निहित कल्पनात्मक सिर्जनशीलतालाई उजागर गर्न मद्दत गर्छ भन्दै बालसाहित्य बालमनोविज्ञानमा आधारित भएर लेखिने हुँदा बालकहरूले बाल साहित्यिक कृति पठनबाट भाषागत विकास सँगसँगै बालबालिकाको बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्छ र पाठ्यपुस्तकले कोरेको बाटोलाई साहित्यिक पाठ्यसामग्रीले मजबुत र सिर्जनात्मक बनाउँछ भन्ने धारणा राख्नुहुन्छ ।

यस सम्बन्धमा बालकविता र प्रौढकविताका नवोदित लेखक दिक्तेल, खोटाङका स्रष्टा प्रकाश आचार्य ‘भावुक’ को विचार यस्तो छः “बालबालिका परिवार, समाज र राष्ट्रका निर्माण हुँदै गरेका वर्तमान र भविष्य हुन् । बालउमेर सिक्ने उमेर हो । अतः शैशव अवस्थादेखि किशोर अवस्थासम्म उनीहरूको सिक्ने क्षमताअनुसार बालसाहित्यलगायत उनीहरूलाई अन्य पाठ्यसामग्रीको उपयोग गराउनुुपर्दछ । खासगरी बालसाहित्यको उपयोग उनीहरूलाई सिर्जनात्मक बनाउने, नयाँ ज्ञान दिने, सिकाइलाई थप प्रोत्साहित गर्ने, मनोरञ्जन प्रदान गर्ने, सकारात्मक मार्गमा लैजान उत्प्रेरित गर्ने, कर्तव्य र दायित्वको बोध गराउने, राष्ट्रप्रेमको भावना जगाउने साथै अनुशासनलगायत संस्कृतिको विकास गराउने गरी गर्नुपर्दछ । अझ स्पष्ट रूपमा भन्नुपर्दा पाठ्यसामग्रीका रूपमा प्रयोग हुने बालसाहित्यको उपयोग यसरी होस् कि जसको कारण बालबालिकामा सुषुप्त रूपमा रहेका सबै प्रकारका प्रतिभाहरूको प्रष्फुटन हुन सकोस् र उनीहरूले आफ्नो पहिचानको आधार निर्माण गर्न सकून् । अर्कोतर्फ बालसाहित्यलाई सिकाइको साधन र साध्य दुबै रूपमा प्रयोग गर्दै भाषाका विविध पक्ष र अन्य विषयको सिकाइमा समेत उपयोग गर्न सकिन्छ ।”

लामो समयसम्म विद्यालय सञ्चालन र नेतृत्वको अनुभव सँगाल्नुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान प्राज्ञ सभासद् र हाल गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति एवं साहित्यकार सूर्यबहादुर खड्का ‘बिखर्ची’ आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार भएकाले उनीहरूका लाािग सकारात्मक सन्देश दिने खालका विविध विधाका र बालरुचिअनुकूलका रोचक, प्रेरणादायी र ज्ञानवद्र्धक पाठ्यसामग्रीको अध्ययनको आवश्यकता औँल्याउनुहुन्छ । यस्ता सामग्रीहरू पाठ्यपुस्तकबाट मात्रै प्राप्त गर्न नसकिने हुँदा बालोपयोगी सन्दर्भ सामग्रीहरूलाई उपयोगमा ल्याउनुपर्छ भन्दै उनीहरूलाई सिर्जनामुखी बनाउनका लागि बालबालिकाको स्तर र आवश्यकता सुहाउँदो सामग्री चयन गरिनु राम्रो ह्ुन्छ भन्ने धारणा साहित्यकार बिखर्चीको रहेको छ । यी सामग्रीले अग्रजको सम्मान, राष्ट्रप्रतिको बफादारिता, संस्कृतिको संरक्षण, भूगोलको पहिचान, इतिहासको मार्गदर्शन एवं कला र साहित्यको जगेर्नातिर समेत प्रेरित गर्नुपर्दछ भन्ने उहाँको विचार रहेको छ । ईशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, लमजुङका शिक्षक ईश्वर अधिकारी पाठ्यसामग्रीका रूपमा साङ्गीतिक खुराकसहितको बालसाहित्य प्रयोग गर्न हौस्याउनुहुन्छ । आफैमा समेत साङ्गीतिक प्रतिभा भएका शिक्षक अधिकारीले बालसाहित्यकारले लेखेका गीत–कविता एवं पाठ्यपुस्तक र सन्दर्भ पुस्तकमा भएका सामग्रीलाई बालप्रतिभाको उपयोग गरेर थुप्रै श्रव्यदृश्य सामग्रीसमेत तयार पारिसक्नुभएको छ ।
विद्यालयमा अध्यापनका क्रममा पाठ्यपुस्तकलाई जस्तै बालसाहित्यिक सन्दर्भ सामग्रीलाई समेत महत्त्व दिने कल्याण मा.वि. बाङ्ग्रे लमजुङका शिक्षक, गजलकार एवं बाल साहित्यानुरागी रमेश लामिछाने ‘अविरल’ को धारणाचाहिँ यस्तो रहेको छः “पाठ्यसामग्रीले सिकाइलाई लक्षित उद्देश्यमा पु¥याउन मुख्य खुराकका रूपमा कार्य गरिरहेको हुन्छ । अझ बाल सिकाइका सन्दर्भमा बालसाहित्यलाई पाठ्य सामग्री बनाउने हो भने त्यसले त उक्त खुराकलाई झन् रसिलो, स्वादिलो र सन्तुलित रूपमा प्रस्तुत गर्दछ । बालकेन्द्रित शिक्षण सिकाइका निम्ति सिकारुमा यथेष्ट रूपमा जिज्ञासा पैदा गरी विषयवस्तु र सिकारुबिच भावनात्मक सम्बन्ध जोड्दै समय बितेको पत्तो नै नहुने किसिमले सिकाउनु पर्ने कुरा सहजै सिकाउनका लागि बाल साहित्यलाई पाठ्य सामग्रीका रूपमा उपयोग गर्न सकिन्छ ।”

पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोगका सम्बन्धमा प्रि प्राइमरी स्कुल सञ्चालक तथा टिचर्स ट्रेनर एवं बालटेली कार्यक्रमकी कुशल प्रस्तोता सविता बस्नेत दानीका विचारमा बालबालिकालाई सिधै तिमी यस्तो गर उस्तो नगर भन्दा उनीहरूले एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् तर त्यही कुरालाई हामीले कथा, कविता तथा गीतको रूपमा पढाउँदा सिकाउँदाखेरि बाल मस्तिष्कले छिटो टिप्छ । राम्रो छन्द मिलाएर वाचन गरिएको कविता तथा गीतबाट हामीले सिकाउँदा उनीहरूले त्यो कुरा बारबार गुनगुनाइरहन्छन् । त्यसैले गर्दा उनीहरू छिटो सिक्छन् । उनीहरूलाई घोकाउन जरुरत नै हँुदैन । त्यस्तै कुनै पनि नीतिका कुरा यसै पाठको रूपमा पढाउनु भन्दा त्यसलाई पात्रहरू सृजना गरेर भूमिका बाँधेर रमाइलो पाराले कथाको रूपमा प्रस्तुत गर्दा बढी प्रभावकारी हुने गर्दछ भन्दै पाठ्यसामग्रीको रूपमा प्रयोग गरिने शब्द तथा बिम्बहरू बालबालिकाहरूले सजिलैसँग बुझ्न सक्ने र दोहोरो अर्थ नलाग्ने खालको साथै बालबालिकाहरूको उमेर अनुसारको हुनु जरुरत हुन्छ भन्ने विचार राख्नुहुन्छ ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित नेपाली विषयका पाठ्यपुस्तकका लेखक एवम् सम्पादक, थुप्रै बालसाहित्यिक कृतिका रचनाकार तथा नेपाली पुलिस स्कुल काभ्रेका शिक्षक हरिहर तिमिल्सिना बालबालिकालाई राम्रा साहित्य अध्ययन गर्ने मौका प्रदान गर्ने हो भने उनीहरूको जीवन सुखमय हुन्छ भन्ने विचार व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार पठन संस्कृतिको विकास भएका मुलुकमा सानै उमेरदेखि बालबालिकालाई सुहाउँदा साहित्यिक पुस्तक पढ्ने वातावरण सिर्जना गरिन्छ, हाम्रो मुलुकमा पनि यसको सुरुवात हुन थालेको छ, साहित्यको अध्ययन गर्नु भनेको दिमागलाई खुराक प्रदान गर्नु हो, हामीलाई असल दिमाग भएका नागरिकको खाँचो छ । त्यसैले पनि पाठ्य सामग्रीका रुपमा बिभिन्न खाले साहित्यिक रचना पढाउनु जरुरी छ । यस बारेमा प्रस्ट पार्दै कवि हरिहर तिमिल्सिना यसो भन्नुहुन्छः “प्रकृति ज्ञानको सबै भन्दा ठुलो स्रोत हो । त्यसपछि ज्ञानको अर्को स्रोतका रूपमा पुस्तकलाई लिन सकिन्छ । पुस्तक पनि बिभिन्न किसिमका हुन्छन् । तीमध्ये जीवनमा साहित्यिक पुस्तकको ठुलो महत्व छ, शारीरिक विकासका लागि विभिन्न खालका खानाको आवश्यकता भएजस्तै मानसिक विकासका लागि पनि बिभिन्न खाले साहित्यिक पुस्तकको खाँचो हुन्छ तसर्थ घरपरिवार र विद्यालयमा पुस्तक पढ्ने वातावरणको सिर्जना गर्नु आजको सबैभन्दा ठुलो आवश्यकता हो ।”

समग्रमा भन्दा भाषा सिकाइलाई रुचिपूर्ण तथा सहज बनाउन, मनोरञ्जन प्रदान गर्न, शब्दभण्डार र बोध क्षमताको विकास गराउन, पठनकार्यप्रति अभिरुचि जागृत गर्न, ज्ञानविज्ञानका कुरासँग साक्षात्कार गराउन बालसाहित्यका विभिन्न विधासँग परिचित गराउन, द्रुत पठनको अभ्यास गराउन, नैतिकवान् र चरित्रवान् बनाउन, समयको सही उपयोग गर्न, भविष्यमा राम्रो स्रष्टा बन्ने आधारस्तम्भ निर्माण गर्न तथा स्वाध्ययनको बानी बसाल्न समेत पाठ्यसामग्रीका रूपमा बालसाहित्यको उपयोग गराउनु निकै आवश्यक देखिन्छ ।

सन्दर्भ सामग्री–
१. कृष्णप्रसाद पराजुली, भाषाको माया, (काठमाडौँः रत्न पुस्तक भण्डार, २०४४)
२. खगेन्द्रप्रसाद लुइटेल र अरु (सम्पा.), नेपाली कवि र कविता, (काठमाडौँः विभु ऋभु प्रकाशन, २०५७)
३. भानुभक्त पोखरेल, सिद्धान्त र साहित्य, (विराटनगरः श्याम पुस्तक भण्डार, २०४०)
४ टङकप्रसाद न्यौपाने, साहित्यको रूपरेखा, (काठमाडौँः साझा प्रकाशन, दोस्रो संस्करण, २०४९)
५. अच्युतशरण अर्याल, नेपाली बालसाहित्यको रूपरेखा, (स्याङ्जाः डिल्लीप्रसाद अर्याल, २०४५)
६. नौलो सुनगाभा द्वैमासिक, बेसीशहर लमजुङ (पौष–माघ,२०६३)
७. प्रमोद प्रधान, नेपाली बालसाहित्यको इतिहास, (काठमाडौँः विवेक सिर्जनशील प्रकाशन प्रा.लि. तेस्रो सस्करण, २०६९)
८. जनकप्रसाद हुमागाईं, नेपाली बालसाहित्य, (काठमाडौँः सुनकोसी साहित्य प्रतिष्ठान, २०५६)
९. सीता कटवाल, नेपाली बालकविताको अध्ययन, (अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, २०५०)
१०. विनयकुमार कसजू (सम्पा.), प्रज्ञा बालसाहित्य विवेचना, (काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान, २०७४)
११. डा. ध्ुवकुमार घिमिरे,बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य, (काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान, २०७४)
१२. रमेशचन्द्र घिमिरे, भुर्र चरी, (अप्रकाशित स्नातकोत्तर सिर्जनापत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, २०५८)
१३. ईशानेश्वर क्याम्पस स्मारिका, भोर्लेटार लमजुङ (२०७५)
१४. गोविन्दबहादुर कुँवर र विजयराज न्यौपाने, “बालशिक्षाको विकासमा बालसाहित्यको प्रयोग किन र कसरी ?” (राष्ट्रिय बालसाहित्य गोष्ठी, लमजुङमा प्रस्तुत कार्यपत्र, २०५८, वैशाख)
१५. चूडामणि बन्धु, “विद्यालयमा बालसाहित्य” (राष्ट्रिय बालसाहित्य गोष्ठी, लमजुङमा प्रस्तुत कार्यपत्र, २०५८, वैशाख)
१६. सम्बन्धित टिप्पणीकारहरू

क्याम्पस प्रमुख, ईशानेश्वर क्याम्पस

भोर्लेटार, लमजुङ