यस साहित्यपोस्टमा छापिएको मेरो लेख ‘विदेशका हामी दु:खी कि, स्वदेशका खगेन्द्र सङ्ग्रौला दुःखी ? को जवाफी लेख स्वरूप खगेन्द्र सङ्ग्रौलाले लेखेको सम्पादकलाई चिठी ‘कसैको आर्जित सुखमा म किन दु:खी होऊँ ?’ पढेँ । उही ‘सङ्ग्रौला स्टाइल’मा लेखिएको लेखमा मेरा कुराहरूको आफू-पायक टुप्पोटुप्पोमात्रै पड्काएर धेरैजसो गुह्य कुरालाई अछुत छोडिएको रहेछ । पछिल्लो कालमा ‘सङ्ग्रौला स्टाइल’को फ्यान नभएकाले पढ्न मन नलाग्दै नलाग्दै पनि आफ्नै नाममा लेखिएको ‘यम सहस्रनाम’ भएकाले पढेँ ।
चिठी भाकामा लेखिएको सङ्ग्रौलाको जवाफी लेखले सम्पादक ‘अस्विनीकुमार’लाई सम्बोधन गर्छ र त्यसमुनि चाहिँ ‘यम घिमिरे’का सहस्र नाम गाउँदै आफ्नो बालहठ प्रस्तुत गर्छ ।
हाम्रो जस्तो परम्परागत चिन्तन र त्यस चिन्तननिसृत आम जीवनशैली भएको ‘फ्युडल’ चरित्रको समाजमा कुनैपनि कर्ताको काम हेर्नु पहिले उसको ‘छाता जुत्ता’, उसको ‘जुँगाको रेखी’, ‘उसका बाउबाजेको इलम’ र उसले लाएको ‘कोट’ र फटाएको ‘भोटो’को गणना गरेरमात्र उसको कामलाई भाउ दिने कि घाउ दिने निदान गरिन्छ । सायद म मामुली यम घिमिरेलाई सम्बोधन गरेर लेख्न सङ्ग्रौलालाई यस्तै उस्तै कुराले छेक्यो होला र सम्पादकका नाममा चिठी लेखेर मेरो लेखको जबाफ फिराउनुपरेको होला ।
लेखक सङ्ग्रौलाज्यूलाई, यस लेखमा म उहाँले सिकाएको शैली र संस्कारमा उहाँको खास नाम इत्तर नाम राख्दै ‘खसौ’ ‘बुढा’, ‘बाजे’ ‘बड्डा’ वा मेरो शब्द शिल्पले भ्याउने अन्य शब्द र ‘ट्याग’हरू कथेर सम्बोधन र पुकार नगरी सम्मानपूर्वक कि ‘लेखक’ भन्छु कि त ससम्मान उहाँको परिचित नाम र थरले बोलाउँछु र यसै साहित्यपोस्टमा प्रकाशित सङ्ग्रौलाको जवाफीले चिठी उब्जाएका मेरा यहाँ उप्रान्तका उत्तर लेख्ता सोसल मिडियामा आउने सङ्ग्रौलाको लेखकीय र वैयक्तिक जीवनशैलीप्रति लक्षित भन्नु नभन्नुका आलोचना र मान्छेका छुल्याइँबाट म किञ्चित आग्रही पनि हुन्न । मेरो यो पुनः जवाफी लेख पढेर सङ्ग्रौलाले लेखपढमार्फत अनेक चेतना र परिवर्तनका विचार दृष्टिकोण प्रवाहित गरेर एउटा लामो कालखण्डमा नेपाली समाजलाई लाएको गुण र सेवालाई मैले नजरअन्दाज गरेको ठान्न जरुरी पनि छैन ।
सर्वप्रथम लेखक, साहित्यकार खगेन्द्र सङ्ग्रौलाप्रति मेरो मनमा कुनै पनि किसिमको अपरिवर्तनीय दुराग्रह छैन । सङ्ग्रौलाका अखबारी लेख र छापिएका पुस्तक पाएसम्म एकबेला सबै पढेको मान्छे हुँ म ।
म पनि पाँचथरे बाउबाजे, आमा-हजुरआमा, फुपू, माइजू आदिको सान्निध्य र लालनपालनमा जन्मे, हुर्केकाले पाँचथरे सङ्ग्रौलाले लेख्ने पूर्वेली भाषाशैलीको स्वाद र उनका लेखले चित्रण गर्ने पहाडी जीवनका भाँती र झाँकीहरू साच्ची प्रिय र मज्जा दिने लाग्यो मलाई पनि । हालसालका वर्षहरूमा चाहिँ उनका लेख खासै पढ्दिनँ । कारण, भन्नुपर्ने मुख्य कुरा दुईचार हरफका हुन्छन् तर सधैँको उही एकनासे शब्द र वाक्योक्ति शैलीमा तिनलाई पट्यारलाग्दो गरी तन्काउने उनको लेखकीय पाराले अमन हुन थालेर हो । हाम्री पाँचथरे मावली बजैले भन्नुहुन्थ्यो खास भन्नुपर्ने कुरालाई सात फन्का घुमाएर कुरा कथुरेर कहिले नथाक्ने कोही कोहीलाई ‘ललिते’ भनेर । सङ्ग्रौलाजीले लेख्ने यस्तै ललित्याइँले अघाइएछ क्यार, छुद्दे उठ्दैन अचेल । अर्को कारण ‘क्रान्ति’ र ‘प्रगतिशीलता’को आवरणमा जोसुकैलाई तथानाम मुख छाडेर लेख्ने उहाँको चाला ननिको लागेर पनि हो । त्यसमाथि भित्री दिउललाई भन्दा बाहिरी ‘सङ्ग्रौला ब्राण्ड’लाई महत्त्व दिएर छाप्न लालायित हुने छापाहरूले गर्दा नि आजकाल सङ्ग्रौलाका लेख झट्टै पढिहालूँ भनेर उहिलेजस्तो अघि सर्न खोज्दैन मन ।
सङ्ग्रौलाजीलाई म दुई फरक व्यक्तित्वले बुझ्छु । पहिलो प्रजातन्त्र र नागरिक हक र स्वतन्त्रता हरण गरिएको राजाकालीन नेपालदेखि आजपर्यन्त लेखपढ र आफ्नो विवेक-दृष्टिको हल्लामार्फत कार्ल मार्क्सको आधार सिद्धान्तवेष्ठित सोभियत र चिनियाँ सर्वहाराको जस्तो सत्ता यो शान्त, अल्प-संवृद्ध र सोझो देशमा यहाँ ल्याएर छाड्नुपर्छ भन्ने आन्दोलनलाई सघाउने, प्रचार गर्ने, फैलाउने, बहस र मन्थन चलाउने एक कर्ता । अर्को, केही कुरामा चित्त नबुझाउने गनगने, पिलन्धरे, आफूसँग पोयो नमिल्ने जति जम्मैलाई बाह्रैकाल आफ्नो छुद्रमति प्रकट गरेर खौरेको खौरेई गर्न तल्लीन लेखक र त्यस्तै विचार र वादले प्रेरित साथीसङ्गी खोजेर जुनसुकै सत्ताको एकनास विरोध गरिरहन सक्ने एक स्तम्भकार । उहाँ विषयक मेरा यी लेखका शृङ्खला उहाँको दोस्रो व्यक्तित्वप्रति समर्पित हुन् ।
लेखक सङ्ग्रौलाज्यूले जबाफमा लेख्नुभो मेरो यस अघिको लेख तपाईँको ‘ज्यान विदेशमा, मन नेपालमा’माथिको तुच्छ, आक्रोशित र उग्र कटाक्षयुक्त प्रतिक्रिया रहेछ ।’
राजनीतिज्ञ कमल थापालाई आफूले ‘कमले मण्डले’ भनेको कुरालाई सही हो भन्ने पोषण दिन उहाँले नै अति ‘क्षुब्ध’ र ‘प्रतिशोधी’ मनोगतिका साथ बालहठयुक्त तर्क राख्नुभएको छ जवाफी पत्रमा । तपाईँलाई पञ्चायतले व्यक्तिगतरूपले दुःख दियो तर तपाईँकै उमेरका आफ्नो सुतीखेती गरिखाने मेरा बालाई दुःख दिएन, प्रताडित गरेन । कारण तपाईँ देशको राजकाज व्यवस्था र शासकका विरुद्धमा बोल्न, लेख्न र मण्डलहरू गठन गर्न र चलाउन लाग्नुभो । को, कहाँ, किन शासक वा राजा हुन्छ, कहाँ कुन राजकाजको शासन व्यवस्था आउँछ, अडिन्छ र जान्छ, कसको जीवनमा त्त्यसको भोग आउँछ भन्ने कुरा नियमित आकस्मिकता होलान् सायद । कमल थापा आउँदैनथ्यो भने अर्को विमल पाँडे आउँथ्यो होला तर दुवैले छाम्ने भनेको तपाईँ र तपाईँजस्ताको करङ नै हुन्थ्यो त्योबेला । पञ्चायतको विरोध गर्नेलाई फूल दिएर स्वागत गर्दै नारायणहिटी लगेर विराजमान गराउने त कोही निक्लिने थिएन ।
मुख्य कुरा तपाईँ एउटा सार्वभौम देश नै चलाइरहेको शासक र व्यवस्था विरुद्ध कुहिनो जुधाउन जानुभएको त हो नि ? सत्ता, र गाथगादी ताक्ने वा त्यसको उल्टोमा बोल्न चल्न खाज्नेलाई संसारको कुन शासक र व्यवस्थाले सर्लक्क बोलाएर ‘कल्पन्ताम’ भनेर टपरीमा सिदा हात लाएजस्तो सुम्पेर हिँड्छ ? इतिहासमा कतै त्यस्तो भएको छ ? युरोपमा, अमेरिकामा, अफ्रिका र एसियामा कतै एउटा लिखुरे मास्टरले राजकाज र व्यवस्था विरुद्ध लेख्दै, चुम्लुङ गर्दै, मण्डल गठन गर्दै हिँड्यो भनेर शासक भागेको कुनै उदाहरण छ ?
हिजो पञ्चायत भोग्नु नेपाल र नेपालीको एउटा नियमित आकस्मिकताको एउटा नियति हो र त्यो गएर आजको तन्त्र आउनु अर्को नियमित आकस्मिकता । जोरी खोज्नेलाई हिजो एउटा राजकाजको व्यवस्था पञ्चायतले दुःख दियो भनेर आफूले हाकेताकेको स्वर्ण व्यवस्था आउँदा आज तिनलाई ‘वरिष्ठ लेखक’को हैसियत कमाएको मान्छेले व्यक्तिगत इबी बोकेर खुलेआम दुर्मुखा गर्नु, नाम काढ्नु, नाम राख्नु ‘कमले मण्डले’ भन्नु ‘क्षुब्ध’ चरित्र देखाउनु होइन ? त्यस्तो गर्छुगर्छु भनेर जिद्दी गर्नु बालहठ होइन ?
पञ्चायत गएर बहुदल आएको दिन म किशोर भइसकेको थिएँ । मैले भोगेको प्रजातन्त्र नै ३० वर्षको भइसक्यो । पञ्चायतविरुद्ध लडेको तपाईँको संस्कार र चित्तचाहिँ उही पञ्चायत शैलीकै देखिन्छ तपाईँका तर्क पढ्दा । पञ्चायत ढलेको खुसीयालीमा स्व.गिरिजाप्रसाद कोइरालाले भनेका थिए “यो जित पञ्चहरूको पनि जित हो” भनेर । सबैले खुब विरोध गरे उनको यो भनाइको त्योबेला । तपाईँ खगेन्द्र सङ्ग्रौलाले जिउँदो हुँदासम्म रातोदिन खण्ड खोइरो खनेका गिरिजाप्रसाद कोइराला तपाईँ ‘कथित’ प्रजातन्त्रवादी ‘नागरिक हक अधिकारवादी’ भन्दा कोटीकोटी गुना उन्नत प्रजातन्त्रवादी र समावेशी सोच र चिन्तनका रहेछन् आज उनको त्यो वाणी सम्झिँदा ।
अस्ति भर्खर ‘प्रजातन्त्रमा’ भएका बेला प्रचण्डहरूले व्यवस्था विरुद्ध जाँदा शेरबहादुर देउवाहरूले टाउकाको दाम राखेर झोलामा ल्याऊ भनेको होइन ? त्योबेला त्यस्तो विचार र आन्दोलनमा लाग्नेलाई मारेको, यातना दिएको जेलनेल गरेको हो । आज साम्य भएको छ । अब हिजो प्रचण्डको आन्दोलनमा लाग्ने र भोग्ने जति सबैले त्यो बेलाको शासक कुनै शेरबहादुर कटुवालहरूलाई आज ‘शेरे शेरे, कट्टुभित्र छेरे’ भन्दै हिँड्दा हुन्छ तपाईँको चित्त र तर्कको अनुसरण गरेर ? माओवादी युद्ध चल्दै गर्दा हिजो राजकाजमा हात भएका र त्यो युद्ध र त्यसमा लाग्नेको विपक्षमा काम गरेका हिजोका शासक कुनै माधवकुमार शर्मालाई प्रचण्ड आन्दोलनका हिमायती सबैले आज ‘माधे, पिशाचे’ भनेर लेखे बोले भयो ? तपाईँ समाज, संस्कार र संस्कृतिलाई सभ्य, शान्त र सौम्य बनाउन लेख्ने पैरवी गर्ने मान्छेले सोच्ने यस्तै हो त ? योभन्दा राम्रो त म हैसियत नभएकाले नै पनि सोचिसकेँ त !
सार्वजनिक व्यक्तित्व भएर अर्को सार्वजनिक व्यक्तित्व कमल थापालाई तपाईँले अशिष्ट पाराले मुख छोड्नुभो भनेर मैले लेखेकोमा ‘जे भनेँ ठिक भनेँ’ भन्ने जिराहा तर्क गर्दै तपाईँले लेख्नुभो ‘…तर परिबन्दले अभिव्यक्तिको शिष्टता र मर्यादाको बहानामा उनीद्वारा मण्डले प्रवृत्तिको प्रतिरक्षा गरिएको आभास हुनु मेरालागि किमार्थ प्रीतिकर होइन…’
मैले कमल थापाको राजनीतिक आदर्शको प्रतिरक्षा गर्दै खगेन्द्र सङ्ग्रौलामाथि खनिएको भन्ने तपाईँको यो ‘छुल्याइँ’लाई मैले कति नि उदेक र अनौठो मानिनँ । मैले कमल थापाको प्रसङ्ग टिपेको भएर तपाईँबाट यो (कु)तर्क आउला नै भन्ने ठानेको थिएँ ।
मलाई कोही राजनीतिज्ञ कुनै ‘प्रवृत्ति’को होस् वा नहोस् सँग के सरोकार भयो र ? कमल थापाहरू राजनीतिक हिसाबले मानव दुनियाँमा चलेको र हाम्रो दुनियाँमा पनि सदियौँ शासन गरेको र मात्र १५ वर्षअघिसम्म जीवित र शक्तिशाली रहेको ‘मोनर्की’ प्रणालीमा विश्वास गर्छन् र त्यो पुनः आइदिए हुन्थ्यो भन्छन् । कसैले सपना साँध्न पाउने व्यवस्था नै लोकतन्त्र हो । कसैले सपना देखेकै भरमा, त्यो सपना प्रचार गरेकै भरमा तिनलाई सार्वजनिक ढङ्गले दुर्नाम गर्नु, बाल्यावस्थाको बाख्रा गोठालेकालीन चरित्र प्रकट गर्दै नाम राख्नु, अशिष्ट र अपमानजन्य व्यवहार गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।
कसको कुन राजनीतिक कार्यक्रम र व्यवस्था बिक्छ र कसको सुक्छ भन्ने कुरा समकालीन समाजको नागरिक शिक्षादीक्षा, विश्व राजनीतिप्रतिको सुझबुझ, राजनीतिक साक्षरता र विश्वासमा भर पर्छ । फराकिलो गरी भन्दा आजको नागरिक सर्वोच्चताको युगमा शासन प्रणाली भनेको आफू बसेको स्थानीय समाज र देश अथवा आफ्नो ठाउँलाई कसरी र कोबाट रेखदेख गराउने, थिति व्यवस्था बनाउने र आफूलाई सुविस्ता तुल्याउने भन्ने कुरा हो । एउटा राजनीतिक आस्था र कार्यक्रम बोक्ने प्रचण्डको जयजयकारमा लिट्टी कसेर लाग्नु र अर्को फरक विचार र कार्यक्रम बोक्ने कमल थापाको सत्तोसरापमा बर्बराइरहनु अर्थ न बर्थको लट्टेझाँक्री रागमात्रै हो एउटा प्रज्ञाले चल्छु भन्ने मान्छेका लागि । साँघुरो चित्तवृत्त र बन्द-बाकसी बुद्धि विशालमात्रै हुन् यस्ता कुरा । प्रजातन्त्रको मुक्त चेतना बोक्नेलाई गर्न नसुहाउने कुरा हुन् यी ।
हाम्रा तथाकथित ‘प्रगतिशील’ कित्ताधारी लेखक, साहित्यकारहरूले उनीहरूको विचार, पारा, शैली, चिन्तन, ढङ्ग, भाँतीमा अलिकति प्रश्न गरिदियो कसैले भने, अलिअकति सुकिलोमुकिलो जीवनशैलीका कुरालाई पनि ठाउँ दिएर कसैले लेखिदियो भने आफ्नो सत्तामा आएको हुङ्कार सम्झिन्छन् त्यसलाई । मेक्सिम गोर्कीले चित्रण गरेको पात्र र परिवेश मानव समाजको एउटा यथार्थ हो तर जम्मै त्यहीमात्रै होइन है भन्न कसैले खोज्यो भने तिनलाई निस्तेज पार्न, वदनाम गर्न र आफ्नो ‘अनिमल फार्म’ चलाई राख्न यिनले जो कसैलाई ‘मण्डलेपन’ ‘मण्डलेचरित्र’ को बिल्ला भिराइदिन्छन् । लेखक, गीतकार, साहित्यकार कालीप्रसाद रिजाललाई त्यसै गरे यो जमातले । उनलाई छुवाछुत विरोधी भन्ने ‘प्रगतिशील’हरूले ‘मण्डले’ भनेर हौवा फिँजाए र पञ्चायतको जिम्वालले निमुखाको पानी काढेझैँ रिजालको पानी काढ्न खोजे । यिनै जमातले खोज्छन् ‘खोइ देवकोटाको ‘यात्री’ कविता र ‘शाकुन्तल’मा महान् सर्वहारा क्रान्तिको विगुल फ़ुकिएको ?’ भनेर । जमिनदार मासेर साम्यवाद नल्याउने साहित्य लेख्ने पनि महाकवि ? राष्ट्रकवि ? भनेर स्याउमा सुन्तलाको गुण खोज्दै यो पुगेन र त्यो पुगेन भन्दै मान्छेको मानमर्दन गर्नुपर्छ उहाँहरूलाई । सङ्ग्रौलाजीलाई प्रश्न गर्ने मलाई उहाँले ‘सर्वज्ञाता’ अरूलाई धुलो देख्ने, अज्ञानी पशु देख्ने ‘अभिमानी’ अनेक भनेर फतुर लाउनुभएको छ र लौन नि मलाई मात्रै होइन तिमीहरू सबैलाई सत्यानास हुने गरी भन्यो, बितायो भन्दै गुहार माग्नुभएको छ । मलाई तपाईँलाई जस्तो ताकीताकी कसैलाई भन्नका लागि मात्र भन्नु छैन । प्रवृत्ति र पारामा गरौँ न बहस आउनुहोस् ।
राजा भएको देशमा वा भर्खरभर्खर राजा गएको देशमा कसैले राजतन्त्रप्रति विश्वास र ढल्काइलिनु के अचम्म भयो र ? माधव नेपालले राजा भएको देशको राजनीतिज्ञको रूपमा कहिले यसअघि नगरेको, नसोचेको तर पदीय कर्तव्य र लोकलाजका लागि दाम फालेर समारोहमा सरिक हुँदा उनको अन्धाधुन्द कति हुर्मत लियो यो ढोँगी ‘प्रगतिशील’ साहित्य र चिन्तनले दीक्षित गरेको युग र परिवेशले । दरबार हत्याकाण्डको सत्यतथ्य र मदन भण्डारीको मृत्यु रहस्यका कुरा राज्यका सबै स्रोत र शक्ति हातमा भएकाले त भन्न र पता लाउन सक्ने बात नभएको बेला नाइँ भन्न नि नसक्ने मनैले ‘हस्’ भन्न नि नसक्ने पदीय दायित्व र परिबन्दमा परेका र निमित्त उभ्याइन बाध्य भएका तारानाथ रानाभाट एक्लैले दरवार हत्याकाण्डको पहेली लुकाएको र लोकलाई ढाँटेको जस्तो गरेर ‘प्रगतिशील’हरूले र उनको दीक्षाबाट सुपोषित अन्य ‘अप्रगतिशील’हरूले लेखेर र बोलेर रानाभाटको उछितोमात्रै काढेनन् उनको लामो त्याग र सङ्घर्षको राजनीतिक जीवन नै ‘मण्डले’ करार गरेर सकिदिए ।
हामी जम्मै जन्मे हुर्केको समाज र पाएको, देखासिकी गरेको संस्कार र संस्कृति सबैको उही हो, जरा एउटै हो । समाज र संस्कृतिका उत्पादन मान्छेका व्यवहार र प्रवृत्तिको मूल मियो समकालीन समाजमा सबैको उही नै हुन्छ । आफू हिलामा उम्रेर, हिलाकै मलजल पाएर, हुर्केर ठूलो हुने, जीवनभर कसै न कसै ‘हिलो चरित्र’ छोड्न नसक्ने तर अरूलाई मात्रै सर्वकाल ‘हिले’ भनिरहन पाइन्छ? यस्ता ढोँगी बौद्धिक सत्ताको चाहिँ समीक्षा हुनु पर्दैन ?
सङ्ग्रौला थापालाई ‘कमले मण्डले’ र ‘बाँदर’ भन्नुलाई नोम चोम्स्कीले अमेरिकी राष्ट्रपतिलाई ‘इन्सेन’, ‘क्रेजी’ ‘क्रिमिनल’ भनेकोसँग दाँज्दै उस्तै हो भन्ने तर्क गर्छन् तर त्यो होइन । उनले कुनै राजनीतिज्ञलाई विगत वा वर्तमानको व्यवहार-प्रतिशोध स्वरूप व्यक्तिगत ढङ्गले गाली गलौज गर्नु र नोम चोम्स्कीले अमेरिकी राष्ट्रपतिलाई उसका राजनीतिक काम, बोली र त्यसको परिणामप्रति असहमत हुँदै त्यसरी आलोचना गर्नु फरक कुरा हो । त्यसमाथि अङ्ग्रेजीभाषी उत्तर अमेरिकी समाजमा कसैलाई सामान्य बोलीचालीमा ‘क्रेजी’ ‘इन्सेन’ भन्नु मामुली कुरा हो । डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेट्न गएको एउटा ऱ्यापर कलाकारले बातचितका क्रममा हरेक जसो शब्दमा ‘एफ वर्ड’ लाएर कुरा गऱ्यो जुन यहाँको संस्कारमा सामान्य मानिन्छ । सङ्ग्रौलाको जस्तो तर्क गर्ने हो भने त ‘डोनाल्ड ट्रम्पसँग बोल्दा बातैपिच्छे ‘माचिस’ भन्न हुने हाम्रा नेतालाई मैले भन्न नहुने भन्ने नि आउला ।
त्यसमाथि यो आपसी लेखालेखका शृङ्खला सुरु भए यता नै तपाईँ खगेन्द्र सङ्ग्रौलाले सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको नाम बिगारेर आफ्नो सनातनी बान्द्रे वृत्ति देखाउँदै ‘चोले’ भनेर ट्विटरमा लेख्नुभो । मलाई त अचम्मै लाग्छ यतिको नाम र प्रसिद्धि कमाएको मान्छेले सार्वजनिक पदमा बहाल मान्छे तोकेर विशुद्ध व्यक्तिलक्षित दुर्वाणी गरेको देख्ता र त्यसलाई पत्रकारिता गर्ने कसैले पनि चुँक्क बोलेर लेखेर आपत्ति नजनाएको देख्ता ।
सङ्ग्रौला विदेशमा बस्ने नेपालीलाई दुःखीको तक्मा भिराउँदै लेख्छन् “…त्यसैले आफू जन्मी–हुर्केको देश र संस्कृतिको न्यास्रो मान्दै बिरानो देशमा बेचैनीसाथ बाँकी जीवन बिताउन ती अभिशप्त छन्…”
आफ्नो ‘प्रगतिशील’ कित्ताको धर्मढोँग निभाउँदै लेखक सङ्ग्रौला मलाई यसरी तास्छन् जबाफमा – ‘श्री यम घिमिरेले विदेशमा गरिखाने नेपालीहरूको भौतिक सम्पन्नता र सुखको बडो रङ्गीन र रुमानी चित्र खिचेका छन् । म सविनय निवेदन गरूँ— प्रवासी जीवनको यो पक्षसँग म परिचित छैन । कारण विदेशमा उच्च स्तरीय ज्ञान र सीप आर्जन गरी कमाउ कर्ममा प्रवृत्त भएर भौतिक मोजमस्ती गर्ने अवसर पाएका नेपालीहरू म चिन्दिनँ । यो मेरो पहुँचको सीमा हो । म त केवल विदेशमा सुखम्–दुःखम् गरिखाने सामान्य जनलाई मात्र चिन्छु, जसको मानसिक दशाको मैले चर्चा गरेको छु ।’
हो तपाईँ मुखका ‘प्रगतिशील’हरू लेखक राजव अमेरिका बस्न जाँदा एक मेलो लेख नै कथेर दनक हानेर उनको मन भाँच्ने र आफ्ना चाहिँ छोराछोरी नै उतै अमेरिका छन्, बोलाका छन्, गएर आइयो आदि भनेर धमासको प्रचार गर्ने, अनि कुइरेले भिसा दिएन भनेर सत्तोसराप गरेर अखबारका पाना रङ्गाउने कोटीका मान्छे हुनुहुन्छ । हामी लाटासिधाले बुझिभ्याउन सकिन्नँ तपाईँहरूको प्रगतिशीलताको यस्तो अगम्य ‘डाइनामिक्स’ ।
तपाईँको ‘तँलाई दुःखी पो भनेको छु त गरीब भनेको छु ?’ भन्ने टाइपको जबाफ : “… कारण विदेशमा उच्च स्तरीय ज्ञान र सीप आर्जन गरी कमाउ कर्ममा प्रवृत्त भएर भौतिक मोजमस्ती गर्ने अवसर पाएका नेपालीहरू म चिन्दिनँ…” पाएँ ।
‘उच्चस्तरीय ज्ञान र सीप आर्जन गरी कमाउ कर्ममा प्रवृत भएर भैतिक मोजमस्ती गर्ने’लाई चिन्नु हुन्न तपाईँ ? हुन त ‘कमाउ कर्ममा प्रवृत भएर भैतिक मोजमस्ती गर्ने’ भन्नु नै तपाईँको ढोंगी चरित्रबाट उब्जेको भाषा हो । नेपालमा कसैले ‘भौतिक मोजमस्ती’ गऱ्यो भने त्यो आम मान्छेको वर्गवैरी बन्छ भलै उसले इमानको कमाइले गरेको नहोस् । कारण तपाईँहरू जस्ताले लेख्ने पढ्ने र प्रचार गर्ने भाषाको स्कुलिङको ज्यादा प्रभाव परेर हो आम मानिसमा । इमानजुवान नबिगारीकन अलिअलि गरिखाएका मान्छे देख्यो कि आफ्नो ‘वर्गवैरी’ ठानिहाल्ने, भ्रष्टाचारी, माफिया, दलाल, सामन्ती आदि ‘ट्याग’ लाएर सबैलाई एउटै डालोमा हाल्न तम्सी हाल्ने ‘प्रगतिवादी’ न पर्नुभो तपाईँ पनि । कसैको चोरी नगरी परिश्रमले कमाएर कसैले गरेकै भए ‘भौतिक मोजमस्ती’ गर्नु किन नहुने मान्छेले ? अनि यस्तो कसैले गरेको भए ती मान्छेसँग बाह्रहात परै किन बस्नुपर्ने तपाईँले? किन त्यस्ता मान्छेसँग तपाईँको पहुँच नबनेको ? कुखुराका साँप्रा र देशी विदेशी मदिरामा मस्ती त तपाईँले नि पक्कै गर्नुभएकै होला त ? योचाहिँ भौतिक मस्ती होइन र ? संवृद्धि भन्या के हो त ? सर्वहाराले चिताएको पुग्यो भने पनि गर्ने त भौतिक मोजमस्ती नै होइन ? सबैका घर, कार, शिक्षा, स्वास्थ्य,दौलत, भ्रमण, पुग्दो ब्रान्डी यही होइन प्रगतिवादी लक्ष्य पनि ?
विदेशमा सुखसयलमा बसेकालाई म चिन्दिन, मेरो पहुँच छैन भन्नुमा तपाईंको कर्मकाण्डीय मार्क्सवाद र प्रगतिवाद प्रष्टै झल्किन्छ। तपाईं हिन्दु सनातनका कर्मकाण्ड र पुरेत्याइँको खोइलो उतारेर कहिले थाक्नुहुन्न। तर, अलिअलि पैसा कमाएका र थोरै भौतिक आर्जनमा माथि उक्लेकालाई यसरी दुत्कार्नु, छोइछिटो गर्न खोज्नु कुनै जनै नलाउने, गायत्री नजप्ने, हुटेलमा खानेले छोएको नखाने, त्यसका भातभान्सामै नजाने भन्ने कुनै कट्टरपन्थी हिन्दु वैष्णवमार्गीले भनेजस्तै कर्मकाण्डीय चाला होइन ? पुरेतले, पण्डितले जात जान्छ संगत गरे, छोएको खाए भनेजस्तै ‘प्रगतिशील कर्मकाण्ड’ होइन यो ? प्रगतिशील साहित्यकार हुनु भनेको ‘मकै भुटेर छाक टार्ने छुपडपट्टीका भोकानाङ्गा मान्छे खोजेर तीनको दिनदसामा भरमार भावना उरालेर घाम छँदा कविता वाचन गर्ने अनि बेलुका भएपछि भट्टी पसेर भक्कुर तन्दुरी चिकेन र मदिरा उदरस्थ गर्ने खेति मात्रै हो ? अनि तिनै मकै भुटेर छाक टार्ने भोकानाङ्गा मान्छे दिन, काल सप्रेर दु:खभुक्तले साथ दिएर अलिक हुनेखाने भएर नजरमा परे भने तिनैलाई नै ‘वर्गवैरी’ देखेर कविता लेख्ने, तिनका छेउमै नजाने, भौतिक मोजमस्तीमा लिप्त वर्ग देख्ने इलमलाई नै प्रगतिवाद भन्छन् कि क्या हो ?
हामीले सगरमाथा, बुद्ध, देउराली र चौतारी, घाँस, दाउरा र रनवनका कुरा गर्दा, टाढा छुटेका आफ्ना माइत, मावलका कुरा निकाल्दा र विगतःस्पर्शी अनेक जीवनभोग र परिवेशका कुरा सम्झेर आफ्नो मातृभूमिको, मानव जीवनमा गहिरो र गाढा गरी विकास भएका जल, जङ्गल र जमिनका रैथानेपनको याद गर्दा ‘देश गुमाएका दुःखी’ भनेर पर्चा गर्नु किन जरुरी छ ? यस्तो कुरा आफ्नै देशबाट आफ्नै देशको अलिक पर डाँडापारि सरेर गइयो भने नि हुन्छ ।
एउटा सम्झना टिप्छु सुनाउन यहाँ ।
पाँचथर पहाडबाट हाम्रा बाका दाजुभाइ, काका बडाउ र बाका दौँतरी गाउँलेहरू मधेश झापा झर्दा हाम्रामा निस्किन्थे । कति त बालाई भेट्नै भनेर आउँथे, हर्पेको हर्पेको घिउ, कुम्ले झोलामा कागती, मगमग बास्ना आउने पाकेका पहाडी अम्बा, ठुलो भटमास, सुन्तला आदि कोसेली बोकेर । हाम्रो मधेश र बाको जन्मथलो पाँचथरबिचको दूरी पैदलमा जम्मजम्मी मात्र एक दिन र आधाको । अञ्चल एउटै, माथिबाट बगेर आउने खोलाले ल्याउने पानी एउटै, उघ्रेका दिन मधेशबाट पनि देखिने माथिको हिमाल एउटै । अर्थात् स्वदेशबाट स्वदेशभित्रै ! तैपनि हाम्रा बा यसरी आफ्नो जन्म-हुर्काइ गरेर जीवनका पच्चिसौँ वसन्त बिताएको ठाउँबाट आएका आफ्ना बन्धुबान्धव र इष्टमित्र आउँदा वा आउने भनेपछि अनुहारमा छुट्टै कान्ति र आभा बालेर रमाउनुहुन्थ्यो । दिल फुकाएर, धोको मेटेर राति अबेरसम्म गन्थन गरेर बस्थे । हिउँदका रातमा तताउन बालेको आगो अगेनामा निभेर खरानी पचिसक्दा पनि बातचित सक्तैनथे । म सानो डुहुरे केटो नि आँखाले थामुन्जेल बाहरूका गन्थन सुनेर बस्थेँ ।
गफका बान्की यस्ता हुन्थे: “हुचिल खोलाको मूल सुक्यो कि बग्दै छ ? तित्यानी खेत रोप्दैछौ अझै ? सिरसिरेको पँधेरो त अब सुक्यो होला ? पर्धान(प्रधानपञ्च) मऱ्यो अरे ? कैले ? गहते पाखाका टाँकीले नै अब त पुग्दो भयो होला नि घाँस ? माझखेतमा आउने कुलो रोक्यो रे गुमानेले ? किन पड्किएको अरे त खसेत्रो ?”
अर्थात्, मान्छेको जातले आफ्नोपनको न्यानो र रैथानेत्वको माया जहाँ गए नि भुल्दैन, जहाँ बस्यो त्यहाँको रैथानेत्वलाई ग्रहण र आर्जन नि गर्छ । हाम्रा बा आफ्नो पहाडको जन्मथलो छोडेर हिँडेपनि मधेशमा खुसी हुनुहुन्छ । सन्तान जन्माउने, घर-जेथा जोड्ने सबै काम गर्नुभयो । तीन दिन तीन रात हिँडेर खाली खुट्टै आई धरानबाट नुन बोकेर चलाएको गुजारा विपरीत पैदल छोडेर दुई पाङ्ग्रे साइकलको यन्त्र सवार गरेर हिँडडुल गर्न थाल्नुभो । थाप्लामा बोझ बोक्नुको साटो बयलगाडामा भार बोक्न बोकाउन थाल्नुभो । कालो दालमात्रै खाएको मान्छेले मुसुरो दालमा पनि आफ्नो जिब्रो दाउनुभो । मूलको चिसो पानी मात्रै खाएको मुखले टुबेलको गन्हाउने पानीमा पनि आफूलाई रत्याउनुभो तर जन्मथलो पाँचथरको अतिशयोक्ति न्यास्रोको भावुकताले मर्माहत भएर आफ्नो सुतीखेती गरेर खान नै छोडेर अभिशप्त जीवन बाँच्नु परेको विलापमा हातगोडा तानेर सक्किनु भएन न त कुनै इमानको लेखक आएर ‘धिक्कारको जिन्दगी तेरो जिन्दगी’ भनेर नै खुइल्यायो बालाई ।
हामी पनि हाम्रा बाजस्तै खुसी छौँ यता । गरी खाएका छौँ । यताको राम्राराम्रा र उता काम लाग्ने अनुभव र तौर तरिका हेरेर नेपालमा यो भएन त्यो भएन भनेर ‘सकारात्मक सोच’ले अनुभव साट्न नि छोड्दैनौँ र जतिसुकै पुगिसरी आए पनि वा दुःख पाए पनि ‘नेपाली हौँ’ भन्न छोड्दैनौँ ।
तपाईँको अर्को कथनी:
‘… र, तल लेखक, सम्पादक, पाठक र शब्दानुरागी जिज्ञासु सकल जन धुलीकणतुल्य महामूर्खझैँ देखिन्छन् । यो हेराइ र यो देखाइमा यम महोदयको अहमत्याइँमा (megalomania)को आकार हुनुसम्म विराट् गोचर हुन्छ…। मेरा विचार र सिर्जना छाप्ने, पढ्ने वा प्रवाहित गर्ने व्यक्ति र माध्यमहरू…यम सर यी सकल जनलाई बलात् एकै डालोमा कोचेर विवेकहीन, संवेदनाहीन, स्वाभिमानहीन बुख्याँचाका रूपमा चित्रण गर्छन्…। यस्तो लाग्छ मानौँ यमश्री मानवीय संवेदना, विवेक र ज्ञानको चरम चुलीमा खडा भई तल अज्ञानताको फेदीमा धुलीकणहरूलाई हेर्छन्…।’
कुनै पनि कुराको गुण/दोष केलाउने, विमति राख्ने काम त्यस कुरा र कामप्रति जोडिएकाहरूलाई अतिरञ्जित विद्वान् वा मूर्ख, महामूर्ख ठान्ने काम होइन । तपाईँले मलाई यस्तो आरोप लाउनुलाई पनि मैले सामान्य रूपमा लिएको छु । मानव इतिहासका सबै काल र खण्डमा कसैको सत्ता र स्वार्थमा, काम र प्रवृत्तिमा भजन गाउन्जेल मात्रै मान्छेले, शासकले, भलाद्मीले निको मान्ने हो । तत्तत् कुरामा प्रश्न उठाउनेबित्तिकै, आलोचनात्मक हुनेबित्तिकै आफूले सकेको बोली र वाण प्रहार गरेर सकुन्जेलसम्म लिट्टी कसेर आफ्नो बचाउ र उसको खौराइमा लागि नै रहने हो सबैले । व्यक्तिले पनि र व्यवस्थाले पनि । आफ्नो आलोचना गर्नेलाई तपाईँले भैरुङ्गपाती लाइदिनुहुन्थ्यो होला भन्ने मैले आशा नै नगरेको भएर तपाईँले मलाई अनेक शब्द लाएर भनेका ‘अहमत्याइँ (megalomania)’ आदि कुराले केही फरक परेन ।
‘अहमत्याइँ’ नभएको साधारणतः मान्छे नै हुँदैन अथवा कसमा के छ भन्ने कुरा देख्ने, बुझ्ने र ट्याग दिनेमा पनि भर पर्ने भयो । जस्तै, रिस सामान्यत: सबैमा हुने संवेग हो । रिस देखाउने मान्छेलाई कसैले ‘क्रोधी’ भन्ला, कसैले ‘भङ्गजाहा‘ देख्ला, कसैले ‘दुर्वासा’ नाम देला, कसैले ‘बौलाहा’ भन्ला । तपाईँले दिएको ‘अहमत्याइँ’को ट्याग पनि यस्तै एउटा सिफारिस हो जुन आफ्नो आलोचना गर्ने जोसुकैलाई जोसुकैले पनि दिनसक्छ । अहमत्याइँ’को साटो तपाईँसँग ‘बुद्धत्व’ हुन्थ्यो भने यम घिमिरेले लेखेका कुराको जबाफमा मलाई यति धेरै नकारात्मक ‘ट्याग’ र उपमा दिएर जबाफी वर्षा हुँदैनथ्यो होला वा हुन्थ्यो भने पनि फरक भाषा र शैलीमा हुन्थ्यो होला ।
तपाईँको अर्को निष्कर्ष- “… अन्त्यमा, छाँटले निकै लामो समयदेखि सञ्चित मउपरको आक्रोश, क्रोध र घृणा एकै झमटमा व्यक्त गर्न पाउँदा यम घिमिरे महोदयका चित्तको पीडादायी ताप पोखिएर निजलाई चैनको अनुभूति भएको हुनुपर्छ…।
मलाई किन दीर्घसञ्चित क्रोध हुनु तपाईँप्रति ?
खगेन्द्र सङ्ग्रौलाले समाजको चिरफार गर्न र लेख्न नछोडून् तर कसैलाई पनि आफ्नो स्थापित ब्राण्डको अनुचित प्रयोग गरेर लेख्नका लागि लेखेर अपमान गर्ने, हियाउने, खुइल्याउने, विभक्त गर्ने, भ्रम पर्चा गर्ने, सुझ न बुझ जेमा पनि हात हालेर किर्ते कुरा नफैलाऊन् भन्ने मात्रै इरादा हो मेरो ।
वरिष्ठ लेखक कहलिएर सामाजिक सञ्जालमा मनोमानी पाराले व्यक्तिलक्षित दुर्मुखा भाषा निरन्तर बोलेको देखेर सुध्रिनुपर्ने ठाउँ त इन्द्रेको बाउ चन्द्रेको पनि हुन्छ भन्ने लागेर मैले बिरालाको घाँटीमा घण्टी बाँध्ने चेष्टा गरेको मात्रै हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

