
पृष्ठभूमि
नेपाली साहित्य आजको अवस्थासम्म आइपुग्नमा नेपाल बाहिरका स्रष्टाहरूको उल्लेख्य भूमिका रहेको छ । समुद्रपारिको नेपाली साहित्यको इतिहास धेरै पुरानो छैन, तर नेपालबाहिरबाट नेपाली साहित्य सिर्जना गर्ने काम धेरै पहिलेदेखि भएको देखिन्छ । अझ उपलब्धिहरू पनि अत्यन्त उत्साहप्रद छन् ।
पछिल्लो समयमा नेपालबाहिर नेपाली साहित्य वाद, विचार र शैलीमा निकै फस्टाएको छ । पहिले नेपालबाहिर भन्नाले नेपाली विशेषतः बनारसलाई बुझिन्थ्यो । यतिखेर नेपालबाहिर भन्नाले दार्जिलिङ, सिक्किम, मणिपुर, असम, देहरादुन, हङ्कङ, अमेरिका, बेलायत, दुबई, इजरायल आदि लगायतका भूभागका साथै भुटान, बर्मा र नेपालीहरूको बसोबास रहेका अन्य मुलुकलाई पनि बुझिन्छ ।
सेनामा भर्ती भएर लाहुरे भई भारत, बेलायत आदि ठाउँमा जाने परिपाटि पुरानै भए पनि यसले अद्यावधि निरन्तरता पाइरहेको छ । अरूले भन्दा पनि बन्दुक समात्ने हातले फुर्सदमा कलम समातेर साहित्य सिर्जना गर्नु सराहनीय कार्य हो । ब्रिटिस गोर्खाली सैनिकहरू तथा भारतीय नेपाली सैनिक सेवामा रहेका व्यक्तिहरूबाट विभिन्न विधामा साहित्य सिर्जना गरी नेपाली साहित्यमा उल्लेख्य योगदान पुऱ्याएको देखिन्छ ।
नेपाली भाषी संसारको जुन कुनामा रहे पनि, जुन राष्ट्रियता धारण गरे पनि तिनको अभिव्यक्ति माध्यमका नाताले तिनीहरू नेपाली भाषा र साहित्यको विकासक्रमसँग जोडिएका छन् । त्यसैले जहाँ रहेर सिर्जना गरिएका भए पनि कृतिहरू नेपाली साहित्यका गहना हुन् ।

दीपक सुवेदी
अर्को उल्लेख्य पक्ष के हो भने ती कार्यले नेपाली भाषा साहित्यलाई नवीन ढङ्गले धनी बनाएको छ । ती स्रष्टाहरूले आफ्नो शिक्षा, संस्कार र सिप नेपालमै पाएर तिनीहरूको ‘विदेश कर्म’ले नयाँ कुराहरू सिकेका अनि सिकिरहेका छन् । अनि नेपालमा भित्र्याएका पनि छन् ।
पश्चिममा अहिले प्रविधिको साम्राज्य फैलिरहेको छ । फलतः हाम्रो सामाजिक संरचनामा पनि चेतनाको लहर समात्न परिवर्तनको तरलताबाट गुज्रिरहेको बेला देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक एवं वैचारिक लगायतका कुराहरूमा आमूल परिवर्तन आयो । देशका युवा युवतीहरू चेतनाको उज्यालो देखेपछि अवसरको खोजी गर्न ठुलो सङ्ख्यामा चलायमान भए । अन्ततः वैदेशिक रोजगारीको सिलसिलामा दैनिक लाखौँको सङ्ख्यामा नेपालीहरू बिदेसिन थाले ।
यसरी विदेश पुगेकाहरूलाई स्वदेशको मायाले, आफन्तको मायाले, गाउँघरको मायाले नसताउने त कुरै भएन । लेखक साहित्यकारहरू जति बिदेसिए उनीहरूले त लेख्ने नै भए । स्वदेशमा रहँदा साहित्य नलेख्ने पनि विदेशमा गएपछि अनेक प्रकारका औडाहले, मायाले अनि नोस्टलजिक अनुभूतिले साहित्य लेख्न थाले ।
डायस्पोराका कुरा
डायस्पोरा (Diaspora) ग्रिक भाषाबाट आएको शब्द हो dia र मिलेर speiro बनेको । शाब्दिक तहमा dia को अर्थ कुनै ठाउँबाट बाहिर (Through over) अनि speiro को अर्थ प्रक्षेपण अथवा छरिने छर्ने, हुत्याउने, पठाउने काम भन्ने हुन्छ (भट्टराई, २०६६; ८३) । अथवा ग्रिसेली ‘डाया’ र ‘स्पिरो’ को संयोगबाट निष्पन्न प्रस्तुत शब्दमा ‘डाया’को अर्थ देखि, देखिनबाट आदि हो । ‘स्पिरो’ को अर्थ छरिने हुन्छ । एक ठाउँबाट सरेर टाढा गई यता र उता छरिएर बस्नुलाई डायस्पोरा भनिन्छ । यो देशीय (नेशनल), देशान्तर्गत वा अन्तर्देशीय (इन्ट्रानेसनल) नाम भएर चिनिएको छ (गौतम, २०६४; २८०) ।
तर यसलाई आप्रवासी आदि शब्दले चिनाउने प्रयास गरिए पनि यसको खासै अर्थ छैन किनभने डायस्पोराले दिने स्थान, संस्कृति, आत्मीयताबाट विच्छिन्न अवस्थामा हुने सन्त्रास, पीडा र परिचय सङ्कटको तात्पर्यलाई अरू शब्दले वहन गर्न सक्तैनन् । आप्रवासी भन्दा डायस्पोरा शब्दमा क्षेत्रको विस्तृतता र चिन्तन एवं चिन्ताको जटिलता आएको हुन्छ । त्यसैले यहाँ डायस्पोरा शब्दकै प्रयोग गरिएको छ (एटम, २०६७ – २९) ।
डायस्पोरा शब्दले प्राचीन बेबिलोनलाई सम्झाउँछ । बेबिलोन जहाँ ईसापूर्व ४००० मा ह्याङगिङ् गार्डेन बनेको थियो– बेबिलोनको बगैँचा, संसारका महान् सप्तआश्चर्यमा एक । मेसोपोटामियाको दक्षिणतिर टिग्रिस र युफ्रिटिस नदीको किनारमा अवस्थित बेबिलोननियामा त्यसबेला प्यालेस्टाइन भूमि पनि समावेश थियो । त्यही यहुदीहरूलाई ईसापूर्व ५८६ देखि ५३८ सम्म बन्दी बनाइएको थियो । चालिस वर्षपछि बल्ल उनीहरू मुक्त भए, तर त्यसपछि उनीहरूमध्ये कतिचाहिँ आफ्नो जन्मभूमि छोडेर अन्यत्र भागे, चारैतिर छरिए । समय बित्दै जाँदा ठूलो सङ्ख्यामा यहुदीहरू अलेबज्यान्ड्रिया, दक्षिणी युरोप तथा एसिया माइनरमा बसोबास गर्न थाले ।
सन् ७० मा रोमेलीद्वारा लडाइँमा हराएर केही यहुदीहरूलाई रोममा ल्याइयो र त्यसपछि मातृभूमिबाट धपाइएपछि यहुदीहरू अन्य धर्मावलम्बी राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत आदि देशहरूमा निर्वासित जीवन बिताउन थालेका थिए । खास उत्पति भूमिबाट यहुदीहरूको भिन्न स्थानमा भएको त्यही निर्वासनलाई डायस्पोरा भनिएको हो (एटम, २०६७- ३०) । अथवा यसरी सर्वत्र छरिएका यहुदीहरूलाई उसबेला डायस्पोरा भनियो । ग्रीक भाषाबाट आएको डायस्पोरा शब्दको आज पनि कोषीय अर्थ त्यही छ – यसले भन्छ प्यालेस्टाइन छोडेर अन्यत्र छरिएका यहुदीहरू । बीसौँ शताब्दीको अन्त्यदेखि डायास्पोरा शब्दको यो पुरानो अर्थ बदलियो र यसको अर्थविस्तार भएको छ (भट्टराई, २०६४- ११७) । सङ्क्षेपमा गृहभूमिबाट विस्थापित भई अन्यत्र बास बनाएको मुनष्य समुदाय डायस्पोरा हो । डायस्पोराका तीन अर्थ प्रचलित छन् (गौतम, २०६४- २८०) –
(क) अन्यत्र गई बसोबास गर्ने मानिसहरू वा मानिसको समुदाय
(ख) त्यस्ता मान्छेको बस्ती वा बसोबास र
(ग) त्यसरी बसेका मान्छेको अवस्था तथा अनुभव ।
यसरी यस सन्दर्भमा डायस्पोरा भनेको कुनै खास राष्ट्र वा संस्कृतिका मानिसहरू अन्य राष्ट्र वा संस्कृतिमा फिँजिएर, फैलिएर वा छरिएर रहनु भन्ने हुन्छ (लुइँटेल, २०६४) ।
डायस्पोराजीवीहरू गृहभूमिबाट धेरै टाढा हुन्छन् । जति टाढा भयो उति स्वदेशको सम्झना बढ्दछ । एकातिर उनीहरू आतिथेय देशको परिवेशमा हुन्छन्, अर्कोतिर गृहभूमिको संस्कृतिले तानिएका हुन्छन् । फलतः मिश्रित संस्कृतिले, आचार व्यवहारको खिचडीले भूमिका लिन्छ । गहृभूमिका कथा, उपकथा, इतिहास, पुराण, दर्शन, विचार, उखानटुक्का, साहित्य, कला, संस्कृति, आदिले डायस्पोराजीवीलाई एकातिर घच्घच्याइरहन्छन् भने अर्कातिर आतिथेय भूभागले उनीहरूलाई आफ्नो संस्कृतिमा रङ्गाउन खोजिरहेको हुन्छ । उनीहरूको भाषा पनि खिचडी (क्रियोल) जस्तो हुन्छ र त्यसको प्रभाव उनीहरूको जीवनमा प्रशस्त पर्दछ । उनका बोलीचाली र लेखाइ खिचडी शैलीमा हुन्छन् । गृहभूमिका साहित्यिक, सांस्कृतिक उत्सवहरू नयाँ ढङ्गमा मनाउन थालिन्छन् । जतिजति समय बित्दै जान्छ, त्यतित्यति नयाँ ढङ्गको विकास हुँदै जान्छ (गौतम, २०६४- २८०) । त्यसमा यी सातवटा विशेषता हुन्छन् (सुवेदी, २०६६- २७२-
(क) नयाँ घर अजिब लाग्नु
(ख) पुरानो घरको यादले सताउनु
(ग) द्वैधचेतना र अनिश्चिततामा बाँधिनु
(घ) मातृभूमिमा फर्किने चाह, विस्थापित भएको ठाउँको पुनः प्राप्तिको चाहना
(ङ) अपेक्ष्या नयाँ ठाउँमा स्थायी काम र मूल थलो द्वैधचेतनका निरन्तरता
(च) नयाँ राष्ट्रमा बसेपनि मूल राष्ट्रबाट अस्त हुन नचाहनुको पीडा र
(छ) परदेशी समुदाय
सन् १९९९ मा लन्डन विश्वविद्यालयका नेपाली विभाग प्रमुख प्रोफेसर डा. मइकल हटले लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ र प्रा.डा. गोविन्दराज भट्टराईको ‘मुग्लान’लाई आधारभूमि बनाउँदै नेपाली साहित्यमा पनि डायस्पोरिक नेपाली साहित्य भन्ने शब्दको प्रयोग गरेका थिए ।
‘देशबाहिरबाट लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भनिन्छ ।’ भन्ने कुरा आम मान्छेले सतही रूपमा बुझे । अनि यही बुझाइ र आफूले लेखेको साहित्य डायस्पोरिक साहित्य पनि भने । जसले गर्दा दिनानुदिन डायस्पोरिक साहित्यको चर्चा बढ्दै गयो । तर वास्तवमा डायस्पोरिक साहित्य भनेको के हो त ? भन्ने विषयमा धेरैले गहिराइमा पुगेर बुझ्न खोजेनन् । बरु डायस्पोरिक साहित्यकार भनिनमा गर्व गर्न थाले ।
परदेशीका कुरा:
अर्थ
परदेशी भन्ने शब्दको कोषीय अर्थ परदेशमा बस्ने, अर्काको देशमा रहने, प्रवासमा रहने छ । त्यसैले परदेशी शब्दको अर्थ आफ्नो गाउँघर वा घर र देश छाडेर केही समयका लागि अन्यत्र गएका मान्छे हुन् भन्ने हुन्छ ।
एक ठाउँबाट अर्को ठाउँमा बसाईं सरेर जानेहरूलाई प्रयोग गरिने शब्दहरू हुन्– परदेशी, पराइ, प्रवासी, आप्रवासी, यायावर आदि । अङ्ग्रेजीमा migrants, immigrants, emigrants, refugees जस्ता शब्दहरू प्रचलनमा छन् । वास्तवमा आफ्नो बसोवासको स्थान छाडेर बाहिर जानेहरू प्रवासी migrants हुन् ।
यस्तो कार्य स्वेच्छाले, दवावमा परेर, आन्तरिक वा वाह्य जुनसुकै तवरमा पनि हुनसक्छ । त्यसरी बाहिर गएकाहरू मध्ये सदाका लागि जानेहरू emigrants र अस्थायी रूपमा गएकाहरू immigrants अन्तरगत पर्दछन् ।अनि, जो करकाप, दवाव वा वाध्यताले बाहिरिएका हुन्छन् तिनीहरू शरणार्थी refugees हुन् ।
यिनै प्रवासीहरूको समूहलाई यायावर (diaspora) भनेर बुझ्न सकिन्छ । अहिले नेपाली परदेशीहरूको डायस्पोरा निकै ठूलो भएको छ र त्यो डायस्पोराले दुःख, सुख, आशा, निराशाको आफ्नै कथा व्यथा बोकेको छ, इतिहास बनाएको छ । जुन कुरा सुन्नुपर्छ, सुनाउनुपर्छ । ओरालोतिर मात्रै बग्ने पानीको स्वाभावझैँ मानिस पनि सहरतिर मात्रै सर्न खोज्दछ । तर सहर सोचेजस्तो नहुन पनि सक्छ ।
परिभाषा
संयुक्त राष्ट्र सङ्घका अनुसार– ‘जुन मानिस आफू बसोवास गरिआएको स्थानबाट विभिन्न कारणले गर्दा अन्ताराष्ट्रिय सिमानाबाहिर वा भित्र बसाइँ सर्दछ ।’ भने त्यो नै प्रवासी हो । यसरी सर्नुपर्ने कारणहरू आर्थिक (काम, माम र दामका लागि), सामाजिक (धार्मिक, आस्था वा विश्वास), राजनैतिक (द्वन्द्व, राजनैतिक आस्था, प्रतिशोध र पूर्वाग्रह) र प्राकृतिक (भुकम्प, बाढिपहिरो, सुख्खा खडेरी) जे पनि हुन सक्छन् । आस्थाका आधारमा दवावमा परेर गरिने प्रवासलाई शरणार्थी (Refugee) भन्ने गरिन्छ– बाहिर जाने नेपालीहरूमा यी सबै बिशेषता भेटन सकिन्छ ।
पछिल्लो समयमा नेपाली साहित्यमा स्वदेश फर्कने गरी गएकालाई व्यक्तिलाई परदेशी र साहित्यलाई परदेशी साहित्य भनिन्छ र भनिनुपर्ने भन्दै भारतीय भूमिबाट परदेशी साहित्यको अवधारण लिएर मूलत अभियन्तात्रयको रूपमा समकालीन साहित्यमा सुरेन्द्र लिम्ब ‘परदेशी’, भीम ‘बिरही’ राई र बुद्धि तेम्बे ‘माइला’ नेपाली परदेशी साहित्यको बहस लिएर देखापरेकाछन् ।
विज्ञान र प्रविधिका विदेशी शब्दहरू नेपालीमा प्रशस्त भित्रिएका छन् र भित्रिँदै पनि छन् । विकास र परिवर्तनका अद्यतन अभिप्राय बुझाउने सामाजिक, राजनीतिक, आर्थिक एवं बौद्घिक क्षेत्रका बाह्य शब्दहरूलाई पनि हामीले निम्त्याएका छौँ (गौतम, २०६४ – २७९) ।
खास किसिमका भाव, मनोभाव एवं विचारहरूलाई बुझाउन हामीलाई कतिपय विदेशी शब्द चाहिएको छ । कैयौँ आगन्तुक शब्दहरूको आवश्यकता हामीलाई छ, अन्य भाषाबाट कैयौँ शब्द हामीले लिनैपर्ने बाध्यता छ, कैयौँ शब्द एवं अभिव्यक्तिहरू भने फेसनको रूपमा चल्दैछन् (गौतम, २०६४ – २८१) ।
आधुनिक नेपाली भाषा साहित्यको वर्तमान परिवेशमा एकातिर परदेशी शब्द निकै विरानो बन्दै र ओझेल पर्दै गएको अवस्था छ । डायस्पोरा, प्रवासी, आप्रवासी, परादेशीय, देशपारीय, परासांस्कृतिक, पारदेशीय आदि शब्दहरूलाई समानार्थीका रूपमा देखाएर विदेशबाट लेखिँदैमा सिर्जनाहरू डायास्पोरिक साहित्य हुँदैछन् ।
यी शब्दहरूको शाब्दिक अर्थ जे जस्तो भए तापनि अन्ताराष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्ब ‘परदेशी’ भन्छन्– ‘वैचारिक विनिर्माणको पूर्वार्धतिर करिब आजभन्दा दुई दशकअगाडिदेखि हामीले हाम्रो परदेशी अवस्थाको बारेमा केही भिन्न मत लिएर काम गरी रहेका छौँ (सुवेदी, २०७६ – १८) ।’
परदेशी साहित्यका अर्का अभियन्ता भीम ‘बिरही’ राई भन्छन्– ‘हामीलाई लाग्यो स्वदेश बाहिरबाट लेखिएका सबै साहित्य डायस्पोरिक साहित्य त हुन सक्तैन र हामी डायस्पोरा पनि होइनौँ । हामी त केही दिनका लागि रोजगारीको सिलसिलामा बाहिर गएका परदेशी मात्रै हौँ (सुवेदी, २०७६ – १९) ।’
परदेशी एउटा अवस्था हो । जो अस्थायी हुन्छ । साहित्यको सवालमा कुरा गर्ने हो भने अहिलेसम्म नेपाल बाहिरबाट लेखिएका नेपाली साहित्य अभियन्ताहरूको बुझाइमा एक प्रतिशत पनि डायस्पोरिक साहित्य छैनन् । हुन सक्छ ०.१ प्रतिशत डायस्पोरिक नेपाली साहित्य लेखिएको होला भन्दै सुरेन्द्रले थपे– ‘जति लेखिएका छन् ती साहित्यिक सिर्जनाहरूलाई बरु परदेशी भन्न बढी सान्दर्भिक होला ।’
परदेशी साहित्यका अर्का अभियन्ता बुद्धि तेम्बे ‘माइला’ भन्छन्– ‘यसरी हेर्दा पनि हाम्रो बुझाइमा त नेपालबाहिर रहेका लाखौँ नेपालीहरूमध्ये दुई प्रतिशत पनि डायस्पोरा छैनन् । बाँकी ९८ प्रतिशत त सबै परदेशी नै हुन् जो केही समयपछि स्वदेश फर्कन्छन् (सुवेदी, २०७६ – १९) ।’
अभियन्ताहरू भन्छन्– ‘डायस्पोरिक साहित्य सिर्जना हुन कमसेकम तीन पुस्ता समय लाग्छ । जबसम्म सिर्जनामा भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक लगायतका कुराहरूमा मिश्रण आउँदैन तबसम्म त्यो सिर्जना डायस्पोरिक हुँदैन । हाम्रो भाषाले, हाम्रो सिर्जनाले त यो अनेपालीको साहित्यिक सिर्जना हो भन्ने भान गराउँछ भन्ने हामीलाई लाग्दैन ।’
केही समयका लागि आफ्नो घर परिवार छाडेर अन्यत्र अथवा संसारको कुनै पनि ठाउँमा गएको मान्छेलाई परदेशी भनिन्छ । घरपरिवार धनसम्पत्ति स्वदेशमा छाडेर संसारको जुनसुकै ठाउँमा जतिसुकै लामो समयसम्म बसेर जतिसुकै धन सम्पति जोडे पनि त्यो देशको नागरिकता नै लिए तापनि आफ्नो देशको नागरिकता त्यागेको छैन भने उसलाई परदेशी भनिन्छ र समग्रमा नफर्कने गरी गएकालाई डायस्पोरा र फर्कने गरी गएकालाई परदेशी भनिन्छ ।
बहस
अभियन्ताहरूले ‘अन्ताराष्ट्रिय परदेशी साहित्यिक समूह’ नामक संस्थाको रूपमा गठन गरेर विगत दश वर्षदेखि ‘परदेशी विम्बहरू’ नामक साहित्यिक प्रकाशन समेत गरिरहेका छन् । यसबिचमा उनीहरूले ‘नेपाली’ शब्दले ‘नेपालमा बस्ने नेपाली नागरिक, नेपालमा बनेको’ भन्दा बृहद् अर्थ बोक्न सक्छ कि सक्तैन ? दौरा सुरुवाल टोपी र खुकुरी आदि नेपालको पहिचान हो कि नेपाली जातिको पहिचान हो ? आदि विषयहरूमा गम्भीर बहसहरू समेत चलाइरहेकाछन् ।
उनीहरू भारतीय कर्मभूमिबाट बहस गरिरहेछन्– ‘यदि नेपाली भन्ने शब्दको अर्थमा योभन्दा लचकता हुन सक्तैन भने भारतका नेपाली, बर्माका नेपाली, भुटानका नेपाली, थाइल्यान्डका नेपाली, मलेसियाका नेपाली जो सदियौँदेखि त्यहीँका नागरिक भएर बसेका छन्, उनीहरूलाई नेपाली भनेर सम्बोधन गर्न मिल्छ ? यदि दौरा सुरुवाल टोपी र खुकुरीले नेपालको पहिचान बोक्छ भने नेपाल बाहिरका नेपालीहरूले यसलाई आफ्नो ठानेर माया गर्नु के अर्थपूर्ण हुन्छ ?’
जुन अर्थ डायास्पोरा शब्दले बोकेको हुन्दैन तर परदेशी शब्द उपरोक्त शब्दहरूमध्ये सबैभन्दा बढी जनमानसमा भिजेको तर बिरानो शब्द पनि हो । किनकि उहिले न त डायस्पोरा शब्दको प्रयोग थियो न प्रवासी, न आप्रवासी, न देशपारीय आदि । उसैबेला परदेश/परदेशी शब्दको प्रयोग हुन्थ्यो । परदेशी त्यो सम्बन्धित देशको नागरिक हो । आफ्नो देशको जनसङ्ख्याको नियमावलीमा उसको नाम हुन्छ । ऊ एक दिन आफ्नो देश फर्केर आउँछ ।
परदेशी को हुन् त ? डायस्पोरा कसलाई भन्ने ? यसको मापदण्ड के छ ? डायस्पोरा र परदेशीका बिचमा के भिन्नता रहने त ? यो अहिलेसम्म एउटा अनुत्तरित प्रश्न छ । परदेशी साहित्य समुहका अध्यक्ष सुरेन्द्र लिम्बुले एक भेटमा भनेका थिए– “परदेशी तिनीहरू हुन् जो नेपालका नागरिक हुन् तर अनिश्चित समयका लागि व्यक्ति वा सपरिवार अन्य मुलुकमा गएर बसोबास गरेका छन् । कसैले जग्गा जमिन जोडेर उतै घर समेत बनाइसकेका छन् त कसैकसैले रासन कार्ड, भोटर कार्ड तथा परिचयपत्र पनि पाइसकेका छन् । नेपालभित्र उनीहरूको थातथलो छ । एक दिन भविष्यमा फर्किन्छन् भन्ने निश्चित भएकाहरूलाई प्रवासी/परदेशी भनिनुपर्छ, त्यसैले हामी डायास्पोरा होइनौँ, हामी परदेशी हौँ । हाम्रा सिर्जना परदेशी हुन् ।”
डायस्पोरा शब्दको पुरानो शाब्दिक अर्थ लामो समयसम्म प्यालेस्टइन राज्यमा बन्दी भई मुक्त हुँदा अन्यत्र भागाभाग भएका यहुदीहरूलाई ग्रिसेली भाषामा डायस्पोरा भनिए तापनि अहिले यसको अर्थ फराकिलो हुँदै गएको भनिएको छ । अहिले डायस्पोरा शब्दले आफ्नो देशबाट स्वेच्छाले या विभिन्न कारणले अर्को देशमा गएर बसोबास गर्ने समुदाय र तिनीहरूसँग सम्बन्धित संस्कार, संस्कृति साथै राष्ट्रियता समेतलाई बुझाउने गर्दछ भनि व्याख्या गरिन्छ ।
असम साहित्य सभाको कार्यक्रममा जाँदा भीम राई भन्दै थिए—“हामी भागेर पनि आएका होइनौँ । हामीमा भविष्यको अनिश्चतता पनि छैन । घरबार र स्वदेशप्रति दुःखको पीडा पनि छैन । हामीमा भाषाको क्रेवलपना पनि छैन । हामी र हाम्रा सन्ततिले राम्ररी शुद्घसँग आफ्नो भाषा बोल्न र लेख्न सक्छौँ । केही समयपछि हामी देश फर्कन्छौँ । नेपालमा भाषाका विद्वान्हरूले भाषाका अनेक नियम परिवर्तन गरेर विवाद खडा गरेजस्तै यसमा पनि अनेक अर्थ जोडेर हामीलाई डायस्पोरा बनाइँदै छ । देशबाट टाढा पार्न खोजिँदै छ । यो नेपाली भाषा र साहित्यका लागि राम्रो होइन । यसमा हाम्रो पनि इच्छा र अधिकार हुनुपर्छ । हामी कसरी डायस्पोरा भयौँ ?”
यसर्थ मातृभूमि त्यागेर अन्यत्र गई छोटो समय वा अस्थायी बसोबास गर्नेलाई नभएर लामो समय वा स्थायी बसोबास गर्नेलाई मात्र डायास्पोरा मान्नुपर्ने हुन्छ ।
डायस्पोरा शब्दको मूल जड बसाइँ सराइसँग हुने हुनाले आफ्नै देशमा घरथर सम्पूर्ण परिवार छाडेर केही समयका लागि कुनै कारणले अन्यत्र गएकाहरूलाई डायस्पोरा भन्न मिल्छ ? सरदर बोलचालको भाषामा पनि सदियौँदेखि तिनीहरूलाई परदेशीनै भनिँदै आएको बुझिन्छ । आज उत्तरआधुनिकता तर्फ बढिरहेको नेपाली भाषा साहित्यमा अनेक शब्दको अर्थ र परिभाषामा आमूल परिवर्तनहरू हुन थालेका छन् । अहिले डायस्पोरा शब्दलाई पनि नेपाली शब्दकोषमा समावेश गर्न सकेमा त धेरै कुराहरूको बाधा फुकुवा हुन पनि सक्छ । अहिलेसम्मको परिभाषा र शब्दार्थलाई हेर्दा पनि केही समयका लागि गाउँघर या घरदेश छाडेर अन्यत्र गएकाहरूलाई डायस्पोराभन्दा परदेशीनै भन्नु उपयुक्त र सान्दर्भिक देखिन आउँछ ।
हुन त अहिले अस्थायी रूपमा देशबाहिर रहेकाहरू पनि आफूलाई डायस्पोरा स्थापित गर्नमा प्रयत्नशील देखिन्छन् । यो सान्दर्भिक जस्तो लाग्दैन । वर्तमान नेपाली भाषा साहित्यका शब्दार्थलाई मुख्य आधार बनाउँदा पनि वास्तविक डायस्पोरा त तिनीहरू हुन् जसले आफ्नो मूल थलो वा देशको नागरिकता त्याग गरी सधैँका लागि अन्य मुलुकमा गएर बसोवास गरेका छन् । त्यो नयाँ मुलुकमा त्यो नयाँ समुदायले त्यहाँका रैथाने वासिन्दाहरूसँग गर्नुपरिरहेको भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक प्रयत्न नै डायस्पोरिक विषयवस्तु हो ।
अहिले डायस्पोरा शब्दको बृहत् परिभाषाले तीनवटा वर्गमा समेटेर परिभाषा गर्दछ भनिए तापनि यी अलग अलग प्रकृतिका संरचनाहरूको सायद नेपालमा कतै चर्चा देखिएको छैन । अहिले विश्वसाहित्यले आफ्नो मुलुकका तर देश बाहिर रहेका समुदायको अध्यायन गर्न डायस्पोरा शब्दलाई स्विकारेको भए तापनि समूहगत वर्गीकरणबिनाको अभिलेख स्पष्ट हुन सम्भव देखिँदैन ।
परदेशी शब्दको जस्तो अल्पायु डायस्पोराको हुन सक्तैन । आजको परदेशी भोलिको स्वदेशी हुन सक्छ तर आजको डायस्पोरा भोलिको स्वदेशी हुन सक्तैन । तसर्थ डायस्पोराको अध्यायनमा वर्गीकरणका साथै परदेशी तथा प्रवासी जस्ता नेपाली शब्दहरूको पनि संरक्षण र सम्बर्धनमा ध्यान दिनु जरुरी देखिन्छ ।
केही दिनका लागि विदेश गई उतै बसेर वा यता फर्केर लेखिएका साहित्यलाई के भन्ने ? वास्तविक डायस्पोरा को हुन् त ? यसका लागि विदेश गएको कति समय हुनुपर्ने ? भाषाका दृष्टिबाट प्रचलित जुनसुकै भाषामा पनि उताका वा यताका वा दुवैतिरका विषयवस्तुमा केन्द्रित रही आफ्नो देश, जाति धर्म, संस्कृति, अवस्था आदिबारे लेखिएका रचना पनि डायस्पोरिक हुन्छन् त ? यसको निश्चित मापदण्ड कस्तो रहने (लुइँटेल, २०६४) ?
वर्तमान नेपाली भाषा साहित्यमा नेपाल बाहिरबाट भएका सम्पूर्ण नेपाली साहित्यिक गतिविधिलाई र त्यसभित्र रहेका भिन्न भिन्न वर्ग र प्रकृतिका विषय वस्तुको सुक्ष्म अध्यायन भएन भने ती अध्यायनहरूले समकालीनताको सवालमा अस्तित्ववादी समयको अनेक अध्यायहरूलाई समात्न भ्याउने छैनन् । जसले गर्दा तिनीहरूको अस्तित्व हराएर जाने सम्भावनामात्र होइन त्यसमाथि हुने शोध र खोजका विभिन्न परिणामहरू पनि खिचडी बन्ने सम्भावना प्रवल हुन जान्छ ।
तसर्थ नेपाली जो काम र नामको सिलसिलामा केही समयदेखि कतारमा छन् । मलेसियामा छन् । साउदीमा छन् । कोरियामा छन् । अमेरिका र हङ्कङ आदि देशहरूमा छन् । ती नेपाली पनि परदेशी वा डायस्पोरा के हुन सक्छन् ? मात्रा निर्धारण गर्न त्यति सजिलो चाहिँ छैन तर पनि वहस गर्न र सिमाना कोर्न अब आवश्यक हुँदै गइरहेको छ ।
======
सन्दर्भसूची
एटम, नेत्र, “नेपाली डायस्पोरा र यमपुरीको महल”, नेपाली डायस्पोरा र अन्य समालोचना (२०६७), पृ.२९ ।
गौतम, कृष्ण, “नेपाली साहित्य सीमाको पुनः रेखाङ्कन -अमेरिकी नेपाली कविता”, उत्तर आधुनिक जिज्ञासा (२०६४), पृ.२८० ।
भट्टराई, डा.गोविन्दराज, “हाम्रो साहित्यको आत्मा आफ्नै अतीत हुनुपर्छ र शरीर उत्तरआधुनिक विश्वसंस्कृति”, स्रष्टा र डिजिटल वार्ता (२०६६) पृ.८३ ।
……………..“सिर्जना र मूल्याङ्कनको नयाँ क्षेत्र डायासपोरा”, उत्तरआधुनिक विमर्श (२०६४), पृ. ११७ ।
लुइँटेल, डा. खगेन्द्रप्रसाद, “नेपाली साहित्यमा डायस्पोराको योगदान”, अन्ताराष्ट्रिय नेपाली साहित्य समाज, अमेरीकाद्वारा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र, २०६४ असोज २७ ।
सुवेदी, होमनाथ, “डायास्पोराका लेखकले आ आफ्नो नयाँ थलोको जनजीवनको प्रतिविम्व, त्यसले स्वतः डायास्पोरिक साहित्यको पथप्रदर्शन गर्दछ, “स्रस्टा र डिजिटल वार्ता (२०६६), पृ. २७२ ।
सुवेदी, दीपक, नेपाली डायस्पोरा र अन्य सिर्जना (२०७६) मञ्जरी प्रकशन – काठमाण्डौ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

