विश्वमा परम्परागत हिन्दू–वैदिक शिक्षाको लामो इतिहास छ । खासगरी नेपालमा हिन्दू–वैदिक शिक्षाअन्तर्गत गुरुकुल प्रणालीका शिक्षा सीमित मात्रामा प्रचलित थिए । बौद्ध धर्म–दर्शनको प्रारम्भ भएपछि विहार, गुम्बा र बौद्ध शिक्षा केन्द्रहरू पनि प्रचलनमा आए ।
नेपालको एकीकरण पूर्व र पछि पनि शिक्षालाई राज्यले महत्त्व दिएको देखिँदैन । त्यसबेला धार्मिक सङ्घसंस्था, गुठी, व्यक्तिगत दानबाट शिक्षाका लागि खर्चको प्रबन्ध हुन्थ्यो । नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षापछि वि.सं. १९१० मा दरबारस्कुलको स्थापनासँगै यहाँ अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको हो । नेपालमा उच्चशिक्षाको औपचारिक सुरुआत भने वि.सं १९७५ मा त्रिभुवनचन्द्र कलेज (त्रिचन्द्र कलेज)को स्थापनाबाट भएको देखिन्छ ।
नेपालमा वि.सं.२००७ सालभन्दा पहिले आम जनसमुदायलाई शिक्षाको अवसरबाट वञ्चित राखिएको थियो ।वि.सं.२००७ सालको शैक्षिक तथ्याङ्क अनुसार नेपालको साक्षरता करिब २ प्रतिशत मात्र थियो भने (प्राथमिक) पाठशालाहरू ३२१, माध्यमिक स्कुलहरू ११ र उच्च शिक्षाअन्तर्गत एउटामात्र कलेज सञ्चालित थियो ।
हाल नेपालमा कुल ३५ हजार ६ सय १ विद्यालयमध्ये २९ हजार ३५ अर्थात् ८१.५५ प्रतिशत हिस्सा ओगटेका सार्वजनिक विद्यालयको अवस्था दर्दनाक छ । शिक्षकको योग्यता, भौतिक संरचना, अभिभावकको निगरानी, विद्यार्थीको मेहनत, समुदायको अपनत्व, शिक्षकको पेसाधर्मितालगायतका मापदण्डबाट सार्वजनिक विद्यालयको गुणस्तर मापन आवश्यक छ । समग्रमा निष्कर्ष निकाल्दा परिणाम शून्य हुने विगतको गल्ती अब दोहोरिन दिनुहुँदैन । दुईथरि जनशक्ति उत्पादन हुने पद्धति बेठिक हुने बहस निरन्तर चल्दै छ । सार्वजनिक र निजीबीचको त्यो खाडल छँदै छ । हाल आएर सार्वजनिक विद्यालयभित्रै दुईथरि (एकथरी अङ्ग्रेजी र अर्काथरि नेपाली माध्यमका) जनशक्ति उत्पादन हुँदा जटिलता थपिएको छ । एउटै परिसरभित्र पैसा तिर्ने विद्यार्थी र नतिर्ने विद्यार्थीले पढ्ने कक्षाको स्तर, ड्रेस, ल्याब, पुस्तकालय र अन्य सुविधामा भारी भिन्नता देखिँदा पैसा तिर्न नसक्ने विद्यार्थीमा कस्तो मनोविज्ञान विकसित होला ?
अङ्ग्रेजी माध्यममा शिक्षा दिएको बाहनामा सामुदायिक विद्यालयले विद्यार्थीसँग शुल्क, चन्दा वा सहयोग लिनु के उचित हो ? यसरी पैसा लिँदा संविधानप्रदत्त निःशुल्क माध्यमिक शिक्षाको मर्म कसरी बाँच्छ ? यसका दूरगामी असर केलाउन आवश्यक छ । तसर्थ, प्रश्नबाट भागेर होइन,कोरा सैद्धान्तिक गफ छाँटेर होइन, बरु वस्तुवादी भएर चिन्तन र छलफल गर्नु आवश्यक छ ।
विक्रमसंवत् २०७५ सालको एसइइमा ४,५९,२७५ विद्यार्थीले भाग लिएका थिए । यसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको सङ्ख्या ३ लाख २५ हजार ३३० (७१ प्रतिशत) थियो भने निजी विद्यालयबाट १ लाख ३३ हजार ९४५ (२९ प्रतिशत) विद्यार्थी थिए ।
सबैभन्दा माथिल्लो जिपिए समूह ३.६० देखी ४.०० ल्याएका १७ हजार ५८० मध्ये सामुदायिक र निजी विद्यालयमा क्रमशः १६ र ८४ प्रतिशत छन् । जिपिए समूह ३.२० देखि ३.६० ल्याउने ५१ हजार १३७ मध्ये सामुदायिक विद्यालयमा २२ र निजी विद्यालयमा ७८ प्रतिशत छन् ।
यस्तै सबैभन्दा कम जिपिए समूहमा ०.८० देखी १.२० ल्याएका जम्मा ४ हजार ४२९ विद्यार्थीमध्ये सामुदायिक विद्यालयमा ९७ र निजी विद्यालयमा ३ प्रतिशत छ । त्यस्तै पुच्छरभन्दा अलिक माथितिरको जिपिए १.२० देखि १.६० भन्दा कम समूहमा पर्ने ४३ हजार ८४१ विद्यार्थीमध्ये ९७ र ३ प्रतिशत क्रमशः सामुदायिक र निजी विद्यालयका छन् । जिपिए समूह १.६० देखि २.०० ल्याउने जम्मा ९५ हजार ३०७ विद्यार्थीमध्ये सामुदायिक र निजी विद्यालयका क्रमशः ५ र ९५ प्रतिशत रहेको छ । जिपिए समूह २.०० देखि २.४० ल्याउने ९८ हजार २०७ मध्ये ८९ प्रतिशत सामुदायिक विद्यालयका र ११ प्रतिशत निजी विद्यालयका छन् ।
सामुदायिक विद्यालय तथा त्यसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या संस्थागत विद्यालयभन्दा निकै बढी छ । २०७४को तथ्याङ्क अनुसार नेपालमा सामुदायिक विद्यालयको सङ्ख्या २९ हजार ३५ छ भने संस्थागत विद्यालयको सङ्ख्या ६ हजार ५ सय ६२ रहेको छ । त्यसै गरी सामुदायिक विद्यालयको शिक्षक सङ्ख्या २ लाख ३८ हजार २ सय ७ छ भने संस्थागत विद्यालयको शिक्षक सङ्ख्या ८७ हजार १५ रहेको छ । यसरी नै सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या ३३ लाख १२ हजार ६२ छ भने संस्थागत विद्यालयको विद्यार्थी सङ्ख्या ६ लाख ५७ हजार ९ सय ५४ रहेको छ । समग्रमा हेर्दा बालविकास देखि कक्षा १२ सम्ममा ५० हजार निजी र सामुदायिक विद्यालयमा लगभग ८५ लाख बालाबालिकहरू अध्ययनरत र झन्डै तीनलाख पचासहजार शिक्षकहरू कार्यरत छन्।
सरकारले आर्थिक वर्ष २०७६/७७को बजेटमा शिक्षा तथा विज्ञान प्रविधिको क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १० दशमलब ६८ प्रतिशत हो ।
शिक्षाको आधार समय सापेक्ष, सृजनशील तथा योग्यतम नागरिक उत्पादन गर्नु हो । बहुआयामिक व्यक्तित्व निर्माण गरी समाज, संस्कृति, राष्ट्र र मानव सभ्यताको संबर्धन तथा संरक्षण गर्नु हो । प्रेमिल, सद्गुणी, सृजनशील, अहिंसक, मेधावी, अनुसन्धाता, कलात्मक, स्वस्थ, सबल, दूरद्रष्टा तथा सर्वगुण सम्पन्न व्यक्तिको निर्माण नहुन्जेलसम्म समाज विकसित र राष्ट्र बलियो हुन सक्तैन । यसर्थ विद्यालय पाठ्यक्रमको निर्माण तथा परिकल्पना गर्दा उपर्युक्त बुँदाबारे गहन छलफल हुनु नितान्त आवश्यक छ ।
संसारभन्दा उत्तम जीवन हुन्छ, जीवनको आधार मन, मनको आधार चेतना तथा चेतनाको आधार परमात्मा हुन्छ । अतः शिक्षाको आधारभूत केन्द्र भनेको दैविक गुणले सम्पन्न व्यक्तित्व निर्माण गर्नु हो । कङ्करलाई शङ्कर र शिलालाई शिव बनाउनु हो । पदार्थलाई परमात्म बोधतिर उत्प्रेरित गर्नु हो । जब कि आजको हाम्रो शिक्षाले एउटा भ्रष्ट, चोर, अयोग्य, असभ्य र एकाङ्गी
मानवमात्र निर्माण गर्न सकेको कुरा वर्तमान अवस्थाबाट प्रमाणित हुन्छ । अर्थ र सत्ताका अगाडि आज मानव जीवनको मूल्य नगण्य हुन लागेको देखिन्छ । बरु नरसंहार गरेर भए पनि सत्तामा पुग्नेलाई महान् ठानिन्छ । सर्वत्र पूजा र सम्मान गरेको पाइन्छ । यही नै आजको शिक्षाको मौलिकता र परम उद्देश्य हो भन्ने कुरा प्रमाणित भैरहेको छ ।
वास्तवमा लक्ष्य नै पदार्थदेखि पदार्थतिरको हो । कुर्सी पनि पदार्थ र पैसा पनि पदार्थ; पदार्थले पदार्थलाई पाएर सामूहिक विनाशबाहेकका अरू कुनै उपलब्धि हासिल गर्न सक्तैन । यसकारण शिक्षामा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ तर पदार्थवादीको दृष्टिकोण नै सङ्कुचित र क्षुद्र हुने भएको र सत्ता पनि त्यस्तै घटिया व्यक्तिको वरिपरि घुम्ने गरेकाले नौलो विचारले फस्ट्याउने मौका नै पाउँदैन । हुन त समय-समयमा नयाँ विचार सम्प्रेषण गर्ने व्यक्ति नभएको होइन । माटो सुहाउँदो पाठ्यक्रमका लागि कुरा नभएको होइन तर विदेशीको इसारामा नाच्ने सरकारी तन्त्रबाट आशा होइन निराशामात्र हात लागेको देखिन्छ । आफूलाई बुद्धिजीवी र प्राज्ञको श्रेणीमा सुशोभित राख्नेले देश र संस्कृतिप्रति कतिको इमानदारी देखाएका हुन् भन्ने विषय पनि हाम्रो सामु छँदैछ ।
नेपालका इमानदार र देशभक्त प्राज्ञहरूले नेपाली संस्कृति र हिमाली सभ्यता जोगाउन एकपटक भारतमा अवशेषको रूपमा विद्यमान आधुनिक गुरुकुलीय शिक्षण पद्धतिमा सरकारको ध्यानाकर्षण गराउनै पर्ने बाध्यता देखिन्छ । ध्यान पुगोस् ! जुनबेला नेपाल आधुनिकतामा प्रवेश गरेको थिएन त्यसबेला हामी स्वर्णयुगमा थियौँ । लिच्छविकालको शैक्षिक, भौतिक र सांस्कृतिक अवस्था आजको भन्दा सयौँगुना उन्नत रहेको तथ्यले आजका हाम्रा विज्ञहरूको मूढतामाथि प्रश्नचिह्न खडा गरिरहेको छ । आखिर हामीले देश र जनतालाई के दियौँ त! न त आफू इमानदार हुन पाइयो, न नागरिकलाई सृजनशील र आनन्दित जीवन जिउने कला सिकाउन सकियो! अङ्ग्रेज़ी शिक्षाले उदण्डता र भ्रष्टाचारी प्रवृत्तिलाई नैतिकता र सफल व्यक्तित्वको प्रमाण भनी सिद्ध गरी प्रचार-प्रसार गराउन सफल भएको मात्रै पाइन्छ । समाज र मानवतालाई अधोगतितिर धकेल्ने, नोकरीको चक्करमा पारी भयानक पराधिनताको खाल्डोमा पुर्याउने उद्देश्यले नियोजित वैदेशिक शैक्षिक योजना कुनै पनि हालतमा हाम्रा सभ्यताका लागि ग्राह्य नहुने अवस्था देखिन्छ । उसले पैसा दिएको प्रलोभनमा परी आफ्नो आत्मालाई बेच्न र नष्ट पार्न तम्सनु बुद्धिमत्ता होइन मूढता हो ।
शिक्षा नै राष्ट्रको आत्मा हो, पशुत्वबाट देवत्वतिर हुर्काउने माध्यम हो, भने विद्यालय यस्तो महान् कार्यलाई सफल पार्ने संस्था हो । लाखौँ वर्ष पुरानो धर्म र सभ्यतालाई लत्याएर भर्खरको अवोध सभ्यतालाई अङ्गिकार गरी आफूलाई महान् ठान्नुलाई नै मूढता भनिन्छ ।
हामी सनातनीहरूको शिक्षणपद्धति विश्वमा सर्वोत्तम र अनुकरणीय थियो । गुरुकुलमा पूर्णतः आवासीय शिक्षण पद्धतिबाट प्राज्ञहरूको कठोर अनुभव र सिद्ध ज्ञानद्वारा २४ औँ घण्टा सान्निध्यमा राखेर नैतिकता, आध्यात्मिकता, न्याय, जो (विद्या)को श्रेणीमा पर्दछ सिकाइन्थ्यो, भने गणित, रसायनशास्त्र, विज्ञान (शिक्षा)अन्तर्गतका १८ वटा विषय र ६४ प्रकारका कलाहरू सिकाइन्थ्यो । आज एउटा कलामा पनि निपुण गर्न शिक्षकहरू भ्याउदैनन् । खोक्रो उद्देश्य र खोक्रो पाठ्यक्रमले खोक्रो मानवको निर्माणमात्रै गर्ने भएकाले समझदारी देखाउने समय आएको अनुभव गर्दछु । आजभन्दा २०० वर्ष पहिला लाखौँ गुरुकुल रहेको र त्यो ग्रामीणस्तरबाट नै सञ्चालित रहेको तथ्य लोर्ड मैकालेको प्रतिवेदनबाट प्रमाणित हुन्छ । १००% सक्षारता रहेको र नागरिक पूर्णतः स्वावलम्बी रहेको तथ्यसमेत प्रमाणित भैसकेको छ । यसरी हेर्दा अब पुनः हामी स्थानीय निकायको मातहतमा शिक्षासम्बन्धि अधिकांश अधिकार हस्तान्तरण गरिसकेको अवस्थामा यस गुरुकुलीय पद्धतिलाई आधुनिकताको आधारमा संशोधन गरेर प्रयोगमा ल्याउन उचित समय रहेको देखिन्छ ।
मानव, समाज, राष्ट्र र विश्वको निर्माता शिक्षक भएकाले उसको जीवन साधक र तपस्वी जस्तो नै हुनुपर्छ । सबै प्रकारको नशालु पदार्थ सेवनबाट मुक्त हुनुपर्छ । उसको व्यक्तित्व र जीवनशैलीबाट अरूले सजिलैसँग प्रेरणा लिन सक्नुपर्छ । बालबालिकाको शिक्षण र उज्ज्वल भविष्यसम्बन्धि सम्पूर्ण जिम्मेवारी शिक्षकको काँधमा हुनुपर्छ । एक जोडी (अभिभावक ) शिक्षकको जिम्मामा २५-३५ जना बालबालिकाको सम्पूर्ण जिम्मेवारी अर्थात् (भोजन, शिक्षण, आवाश लगायत दैनिक उपभोगका लागि सम्पूर्ण आवश्यक सामग्रीको परिपूर्ति) हुने गरी व्यवस्था मिलाउनु पर्छ ।
शिक्षण, सिकाइ, उपलब्धि र जीवनोपयोगी सम्पूर्ण कलाको जिम्मेवारी उक्त अभिभावक शिक्षकले पूर्ण जिम्मेवारीका साथ निर्वहन गर्नुपर्ने हुन्छ । प्रत्येक त्रैमासिक परीक्षामा १००% सफलता र प्रत्येक विषयमा ६०% अङ्क प्राप्त गर्नुपर्ने बाध्यता रहनेछ । यो कक्षा एकदेखि दश कक्षासम्मका लागि अनिवार्य प्रक्रिया रहने गरी व्यवस्था सृजना गर्नुपर्दछ । यस्तो प्रक्रियामा एकातिर शिक्षक आफ्नो जिम्मेवारीबाट भाग्न सक्तैन भने अर्कातिर अभिभावकको योग्यता-अयोग्यता तथा पारिवारिक अस्तव्यस्तता र विकृतिले शिक्षाको राष्ट्रिय उद्देश्यपूर्तिमा कुनै प्रकारको बाधा-अवरोध वा द्विविधाजनक वातावरण सिर्जना हुन सक्तैन । सरकारको काममात्र समय-समयमा मुल्याङ्कन र प्रोत्साहन गर्ने रहन्छ । गाउँभरिका बालबालिका उक्त आवासीय गुरुकुलमा अध्ययन गर्ने र जीवनलाई योग्यतम बनाउन १०वर्ष त्यहाँ बिताउनु पर्ने भएकाले उसका अभिभावकहरू स्वाभाविक रूपमा विशेष रुचि देखाउन थाल्छन् । यसरी जिम्मेवारी नलिने अथवा गैरजिम्मेवार व्यवहार देखाउने शिक्षकलाई शिक्षण पेशाबाट मुक्ति दिई योग्यतमको छनौट गर्नुपर्दछ ।
कुनै पनि प्रकारको आन्दोलन, हडताल र बिद्रोही क्रियाकलापलाई उक्त क्षेत्रबाट टाढा राख्नुपर्छ । नीतिसँग प्रीतिको, स्वार्थसँग परमार्थको, मेधासँग श्रमको, वाह्य स्वच्छतासँग अन्तःशुद्धिको तथा कलासँग विद्याको सामञ्जस्य नभएकाले मानवोचित शील र संस्कारबाट वञ्चित आधुनिक समाज शापित सिद्ध हुन लागेको हो । यसकारण अबको आधुनिक युगमा माथिका यी प्रक्रिया कम खर्चिलो र अत्यधिक उत्पादन मूलक सावित हुनेछ ।
शिक्षकलाई साधारण ठान्नुहुन्न, सृजन र प्रलय उसको काखमा खेल्ने गर्दछ । आचार्य चाणक्यले एउटा साधारण ग्रामीण बालकलाई यस्तो शिक्षा र संस्कार दिए, जो पछि गएर विश्वविजेता सिकन्दरलाई टक्कर दिने चक्रवर्ती सम्राट् चन्द्रगुप्त मौर्यको रूपमा अखण्ड भारतको निर्माणकर्ता विश्वविख्यात सम्राट् भए । यस्ता अनेकौँ उदाहरण इतिहासमा उल्लिखित पाइन्छन् । मूल कुरो के हो भने, शिक्षकको जीवन र शिक्षाको निकै ठुलो प्रभाव विद्यार्थीहरूको जीवनमा पर्ने गर्दछ । शिक्षकले आफ्नो आजीविका चलाउने हेतुले शिक्षण पेशा अपनाएको र कक्षाकोठामा पुस्तक पढाएर कर्तव्य पूरा भएको कुरा सोच्न मिल्दैन ।
भौतिक विद्यासँगै बालबालिकाको चरित्र-निर्माण, आदर्श-निर्माण र कर्तव्यनिष्ठ महामानवको निर्माणहेतु शिक्षा दिनुपर्ने हुन्छ । यसका लागि आदर्श, आत्मनिष्ठ, कर्तव्यपरायण र सुसंस्कारी चरित्रले सुसज्जित शिक्षकको आवस्यकता पर्दछ । यसरी नेपाल र नेपालीको उज्ज्वल भविष्य सँगै सुसंस्कारी नयाँ पुस्ता निर्माण गर्ने यी महान् शिक्षकहरूले राष्ट्रसेवामात्र होइन महामानव निर्माण गर्ने महानायकको रूपमा समाजमा पुनः पूजनीय हुनेछन् ।
आजको आधुनिक शिक्षाको परिणाम स्वरूप प्राणी जगत् र प्राकृतिक सम्पदा नष्ट-प्रायः हुन लागेको छ । एकातिर युरोप र अमेरिकी देशहरूमा विक्षिप्त चरम सीमामा पुगेको छ भने अर्कातिर एसियाली मुलुकहरूमा बेरोजगारीले महामारीको रूप लिन थालेको देखिन्छ । यी सबै समस्याहरू एकाङ्गी जनशक्ति निर्माण गर्ने क्षुद्र शिक्षा नीतिको परिणाम हो ।
व्यक्ति तथा वस्तुमा विकृति र त्यसको विलोपन आजको यान्त्रिक युगको सहज पहिचान हो । कृषियोग्य भूमि, बीज, अन्न, वन, ग्राम, पर्वत, नदी, झरना, सागर, शिक्षण संस्थान, तीर्थ, आश्रम, पृथ्वी, अग्नि-सूर्य-चन्द्र-विद्युत्, पवन तथा प्रतिभालाई प्रगतिको नाममा अन्धाधुन्ध दोहन गरी विषाक्त बनाउनु आधुनिक दिशाहीन व्यापारतन्त्र र शासनतन्त्रको व्यसन नै बनिसकेको छ ।
विषयलोलुपता तथा बहिर्मुखीको पराकाष्ठा; महायान्त्रिक युगको उपहार नै दुःखमय र अशान्त जीवन हो । नीति, धर्म र अध्यात्मविहीनको शिक्षणपद्धति तथा जीवन-यापनको विद्या, व्यक्ति र समाजका लागि भीषण अभिशाप हुने गर्दछ । जसको प्रत्यक्ष प्रमाण वर्तमानमा संयुक्त परिवारको विलोप, सनातन कुलधर्म, कुलाचार, कुलवधू, कुलपुरुष, कुलदेवी, कुलदेवता, कुलगुरु, आदिका द्रुत गतिले विलोप आत्महत्या रूपी भीषण सन्ताप नै त हो!
कम समयमा कम सहयोगीद्वारा कम परिश्रमले अत्यधिक उपलब्धि र त्यसको उपयोग तथा उपभोगले सुख-शान्तिको मान्यता महायान्त्रिक युगको मापदण्ड हो । उक्त लक्ष्यप्राप्ति हेतु भयानक रूपमा पशु हत्या, व्यग्रता, विस्मृति, बिमारी, बेरोजगारी, तथा विश्वयुद्धको विभीषिका प्रतिक्षण परिलक्षित हुँदैछ । आधुनिक शिक्षाले प्राणी, जगत् र प्रकृति सबैलाई अधोगतितिर धकेल्दै सामूहिक आत्मघातको बाटो समात्न लागेको हो । दुई-दुईवटा विश्वयुद्धमा करोडौँ नरसंहार र निर्दयतापूर्वक गरिने पशु हिंशाबाट उत्पन्न महाकारुणिक कम्पनले निम्त्याएको भीषण महामारी मानवताको विकास नभई महाविनाशको प्रतीक हो । अतः शिक्षाको समूल ढाँचालाई नै परिमार्जन गरी गुरुकुलीय पद्धतिमाथि गहन विचार गर्नुपर्ने देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।