यतिबेला त विकासको डोजर गाउँ-गाउँ पुगेको छ । गाउँका भीर, पहरा, खेतबारी नभनी सडकको नाममा डोजरको आतङ्क गाउँले खपेको करिब डेढ दशक भइसक्याे । डोजरसँगै काम चलाऊ सडक गाउँ पुग्यो । सडकसँगै सहरसँगको गाउँको दूरी घट्यो । किनमेल र व्यापारमा गाउँ पनि अभ्यस्त हुन थाल्यो । त्यही सडकसँगै सहरतिर सुनिने विकृतिहरु पनि गाउँ आइपुगे । र सबैभन्दा धेरै त सडकले गाउँलाई अल्छी बनायो । सडकसँगै सबैथोक “रेडिमेड” आउन थाले । चामल, तेल, मसला, खाजा सबै रेडिमेड । ढिकी, जाँतो, ओखल, कोल (तोरि पेल्ने), मकै भुट्ने हाँडी इत्यादी ठाँडो भइगए । योसँगै गाउँको आफ्नोपन पनि हराउँदै जान थाल्यो । मकै पिन्दा/पिस्दा आमा-दिदीहरुले गाउने सँगिनी, सिलोकहरु हराए । ढिकीको ढिकिल्च्याँक, ढिकिल्च्याँक आवाज बन्द भयो । सबैभन्दा ठूलो कुरा त गाउँको मौलिक सिपहरु हराउँदै जान थाले । मान्छेहरु पैसामा निर्भर हुन थाले । उत्पादनप्रतिको लगाव क्रमशः हराउँदै जान थाल्यो । सहरिया रहनसहनले गाउँलेहरु आफ्नो खेत खलिहानमा रमाउन छोडे । उब्जाऊ खेतबारी छोडेर परदेश लाग्न थाले । विस्तारै गाउँमा भएको परिवार सहरतिर सार्न थाले । यतिखेर गाउँ, साँच्चै बिरक्त लाग्दो देखिन्छ । बलियो बाङ्गो मान्छे जति परदेश । आफ्नै घुर्यानसम्म जङ्गल आइपुगेको छ । आँगन नै परदेश बन्दै गरेको वृद्धवृद्धाहरु मात्रै गाउँ पर्खिरहेका भेटिन्छन् ।
दिलिप बान्तावा (दक्षिण काेरिया)
यो चित्रमय अनुभूतिले मलाई २२/२५ वर्ष अघितिरको याद दिलाइरहेको छ । त्यतिखेरको नजिकको ठूलो बजार हाम्रो लागि सुनसरीको चतरा थियो । हामी प्रत्येक हिउँदयाममा सुन्तला बोकेर चतरा झर्थ्यौँ । आइतबार सुन्तला टिपेर ढाकरमा भारी मिलाउने । सुन्तलासँगै बाटोमा बास बस्दा ओड्ने-ओच्छ्याउने लुगा, खानपिनका लागि सामल-तुमल, दाल-तरकारी, नुन-भुटुन र पकाउने भाँडाकुँडा सबै भारीमा छाँद्नुपर्थ्यो । अनि सोमबार बिहान यात्रा सुरु हुन्थ्यो, ढाकरवालाहरुको “क्याराभान” । त्यो समयमा सुन्तला बोक्ने ढाकरेहरुको ताँतीले बाटो एकलौटी बनाउँथ्यो । बुधबार साँझ चतरास्थित बयरवन बजारमा पुगेर बिहिबार बिहानको हटियामा बनियाँहरुलाई सुन्तला बेच्नुपर्थ्यो । सोही हटियामा आवश्यक किनमेल गरेर फेरि उसैगरी त्यो क्याराभान अक्करको बाटो हुँदै गाउँ फर्किन्थ्यो । बाटोमा बास बस्ने निश्चित ठाउँहरु हुन्थे । कतै स-साना डिही वा छाप्रोहरु हुन्थे । तिनमा अलि तगडा हिँड्न सक्नेहरु अघि पुगेर बसिसक्थे । कमजोर र हिँड्न नसक्नेहरु बाहिरै कतै रुखको फेदतिर ढुङ्गा पन्छाएर ओच्छ्यान मिलाउनुपर्थ्यो । त्यतै चुला बालेर खाना पकाई खानुपर्थ्यो । त्यो यात्राको आधाजसो बाटो अरुण नदी र सप्तकोशीको तिरैतिर पर्दथ्यो/पर्छ । त्यस समयदेखि अहिलेसम्म कैयौँपटक पार गरियो अरुण, तमोर र दुधकोशीको सङ्गम त्रिवेणीको त्यो भङ्गालो, टाङ्केरामाथिको सुक्खा पहिरो । तर यतिबेला नेपालको राजनैतिक गर्मीको तापमान अझ उच्च बनाउन मद्दत गरिरहेको खुवालुङ् त्यही क्षेत्रमा पर्छ भन्ने कुरा त्यतिबेला त्यही खुवालुङ्सँग सभ्यता गाँसिएका ती किराँती ढाकरेहरुलाई सायदै थाहा थियो होला ।
किराँत सभ्यतामा मुन्धुम जीवन पद्धती हो । जतिबेला राज्य, नियम कानुन, संहिता इत्यादिको अभ्यास भएको थिएन, त्यतिबेला मुन्धुमअनुसार समाज सञ्चालन हुन्थ्यो भन्ने विश्वास गरिन्छ । युग पुस्ता बित्दै जाँदा यो सभ्यतामा अनेकौँ इतिहास र प्रसङ्गहरु जोडिँदै थपिँदै आए । किराँत सभ्यताको सबैभन्दा पछिल्लो विन्दु खुवालुङ्लाई मान्ने गरिन्छ ।
मुन्धुममा वर्णन गरिएअनुसार नियामाबाट सुरु भएको किराँत सभ्यता योँला, ठारु बाजी हुँदै खुवालुङ् आइपुगेपछि त्यहाँबाट छुट्टाछुट्टै नदीको बहाव पच्छ्याउँदै किराँतीहरु पूर्वी पहाडतर्फ फैलिएका हुन् भन्ने वर्णन गरिएको भेटिन्छ । अध्येता भोगिराज चाम्लिङ्का अनुसार मुन्धुममा वर्णित नियामा भनेको वर्तमान चीनको ह्वाङ्हो नदी आसपासमा सुरु भएको सभ्यता हो । चाम्लिङ्का अनुसार ह्वाङ्हो नदी क्षेत्रबाट किराँतहरु बसाइँ सर्दै सिन्धुघाटीको सभ्यता भनेर चिनिने हडप्पा र मोहन्जोदाडोमा आइपुगेका हुन् । त्यही ठाउँलाई मुन्धुममा योँला भनिएको हो । त्यसपछि किराँतहरु ठारु बाजी अर्थात् थारुहरुको थलो नेपालको तराई क्षेत्रमा प्रवेश गरे जहाँ आजभन्दा २ हजार ६ सय वर्षअघि शाक्य वंशको राज्य अस्तित्वमा थियो । अर्थात् गौतम बुद्धको वंशज शाक्यहरुको शाशनकालमा किराँतहरु सो क्षेत्रमा आइपुगेको दावी अध्येता चाम्लिङ्को छ । सो ठाउँबाट नदीको प्रवाह पच्छ्याउने क्रममा उनीहरु सप्तकोशीको किनारैकिनार आउने क्रममा खुवालुङ् आइपुगे । सो ठाउँ अत्यन्तै जटिल र अप्ठ्यारो थियो । अनेक पूजापाठ गरेर मात्रै सो ठाउँ पार गर्न सके । कोही अरुण नदी पच्छ्याएर गए, कोही तमोर, कोही दुधकोशी र सुनकोशी । त्यसरी नदीको प्रवाह पच्छ्याउँदै जानेहरु अहिलेका राई, लिम्बू, सुनुवार, कोईच इत्यादी हुन् भन्ने व्याख्या गरिन्छ । त्यस कारण खुवालुङ् किराँत सभ्यताको सबैभन्दा नजिकको जोर्नी विन्दु हो भन्न सकिन्छ ।
तीनवटा नदीहरुको सङ्गमनिर सप्तकोशीको मध्यभागमा रहेको यो ढुङ्गगाे यतिखेर साँच्चै धेरैको चासोको विषय बनेको छ ।
मुन्धुममा वर्णन गरिएको सो खुवालुङ् अहिलेको अरुण, तमोर र दुधकोशीको सङ्गमस्थलमा रहेको विश्वास गरिएको छ । मुन्धुमको वर्णन, किराँत जातिहरुको अनेकौँ साँस्कृतिक मान्यता र विश्वासहरुले समेत यस दावीलाई स्थापित गर्दछ । तीनवटा नदीहरुको सङ्गमनिर सप्तकोशीको मध्यभागमा रहेको यो ढुङ्गगाे यतिखेर साँच्चै धेरैको चासोको विषय बनेको छ । चाहेर नचाहेर पनि यसका बारे बुझ्न जरुरी भएर आएको छ ।
नेपालको आधुनिक इतिहास हेर्दा नेपालको भौगोलिक एकीकरणअघि पूर्वमा ओल्लो किराँत, माझ किराँत र पल्लो किराँत राज्यहरु थिए । जहाँ किरात सभ्यताअन्तर्गतका राई लिम्बुहरुको आ-आफ्नै राज्य थियो । र ती राज्यमा अवश्य उनीहरुको सभ्यता, संस्कृती, कला र भाषाको वर्चश्व थियो । र तिनीहरु मुन्धुमको वर्णनअनुसार सञ्चालित थिए । तर एकीकरणको नाममा गोर्खाली राजाले उनीहरूको भूमि मात्रै हडपेनन्, तिनको कला, संस्कृती, भाषा, समाज विज्ञान इत्यादिमाथि बलात् दमन सँगै सिङ्गो किराँत सभ्यतालाई नै निषेध गरिदिए । फलतः यो क्षेत्रका राई, लिम्बूलगायतका आदिवासी जनजातिहरुलाई कथित राज्यको नियमको नाममा आफ्ना मौलिकताहरुबाट अलग्याइयो । तिनले लामो समयसम्म सार्वजनिक अभ्यास गर्न पाएनन् । त्यो अवधिमा यो सभ्यताका कैयौँ महत्त्वपूर्ण सम्पदा, भाषा, मान्यता, संस्कृतिहरु लोप भइसकेका छन् । विस्मृतिको गड्तिरमा पुगेका छन् । केही केही संस्कृतिहरु भने जब्बर बनेर बस्न सके, निरन्तरता पाए र ती आजपर्यन्त पनि जीवित छन् । तिनै जीवित संस्कृती र मान्यताहरूमै खुवालुङ् पनि पर्दछ ।
किराँत संस्कारमा धामी वा नाक्छोङ्हरूले मुन्धुम फलाक्दा हरेक ठाउँमा खुवालुङ् भेट्नै पर्दछ । खुवालुङ्को वर्णन गर्नै पर्दछ । अर्थात् खुवालुङ्विनाकाे मुन्धुम अपुरो रहन्छ । अरुण नदी वारिपरिका राईहरु सदियौँदेखि बर्सेनी अरुण नदीको पूजा गर्दै आइरहेका छन् । र त्यो पूजा गर्नु भनेकै खुवालुङ्को पूजा गर्नु हो ।
हो, यतिबेला त्यही खुवालुङ्को चर्चाको ग्राफ निक्कै माथि पुगेको छ । प्रधानमन्त्रीको एउटा अभिव्यक्तिका कारण यसले देशव्यापी चर्चा कमायो । किराँत समुदायकै धेरै मान्छेलाई यसको बारेमा थाहा थिएन र सायद सुनेका पनि थिएनन् कि ! किनभने हामीले हाम्रो संस्कृतिहरुलाई भुल्दै गइरहेको समय हो यो । हामी आयातित र बाहिरिया संस्कृतिमा झुमिरहेको समय हो यो । घरमा बनाइने अर्गानिक रक्सीको विरोध गर्ने सेमिनार सकेर तारे होटल रेष्टुरेन्टहरुमा आयातित र ब्राण्डेड रक्सीका साथ रात बिताइरहेको समय हो यो । हामीलाई यसो गर्नमा गर्व गर्न सिकाइएको छ । हाम्रा पुर्खाहरुले सभ्यतासंँगै जोगाएर ल्याइदिएका हाम्रा अमूल्य निधिहरुलाई लत्याएर आधुनिकताको नाममा साँस्कृतिक उपनिवेश भित्र्याइरहेका छौँ हामी । हाम्रो समयको निक्कै कुरुप चित्र हो यो । त्यस कारण पनि खुवालुङ् र खुवालुङ् जस्ता सम्पदाहरु सम्बन्धित समुदायसँग नै अपरिचित रहनु अनौठो नहोला ।
तर किन राज्य सधैँ आफूतिर सोझिने औँलालाई दुश्मन मात्रै सम्झन्छ ? त्यो औँलाले उसलाई बाटो देखाइरहेको पनि त हुनसक्छ !
तर योपटक त्यसो भएन । यो संसारभरि नै सामाजिक न्याय र समानताका आन्दोलनहरु चलिरहेको समय पनि हो । सँगै राज्यसत्ताले निर्मम ढङ्गले हरेक ठाउँका मौलिकताहरूमाथि खुनी प्रहार गरिरहेको समय पनि हो । यी दुईको द्वन्द्वको छिटा नेपालमा पनि देखिएकै हुन् । लामो समय एकवंशीय, एक धर्म, एक जाति समूहको अधीनमा राज्यसत्ता कायम रह्यो र तीबाहेककाहरु विशेषगरी, सिमान्तकृत समुदायहरु जसलाई ठुलाठालुले Cast Hierarchy का आधारमा आफूभन्दा निँचो बनाए । तिनका सबै आफ्ना चिजहरुलाई नष्ट गरिदिए। कला, संस्कृति, सीप, भाषा इत्यादी । अलिली बँचेकालाई अवैधानिक घोषणा गरिदिए । तर राज्यसत्ताको त्यो कालो सुरुङ्ग एक दिन भत्कियो र सबैले आ-आफ्ना चिजहरु सम्हाल्ने स्थिति बन्यो । तर निक्कै पर छुटिसकेका थिए धेरै कुराहरु । तैपनि अलिली, अलिली गर्दै सिलासाङ्लो पार्दै थिचिएर बस्नुपरेका ती समुदायहरु बौरिने क्रम जारी छ । त्यहीक्रममा कहिले खोकना जाग्नुपरेको छ त कहिले बालाजु बाइपास । कहिले मुक्त कमैयाहरु कराउनुपरेको छ त कहिले बादीहरुका आवाजहरु सुनाउनु परिरहेको छ ।
यतिखेर कमसेकम आफ्ना कुरा सुनाउन त पाइएको छ भन्नेमै चित्त बुझाउने स्थिति पनि छैन । साँस्कृतिक तथा सामाजिक न्यायको आन्दोलन त जरुवा पानी जस्तै हो । यसले निरन्तर खबरदारी र रखवारी गरिरहनुपर्ने रहेछ । न्यायका खातिर मोर्चालाई अझ बलियो बनाउनै पर्ने रहेछ । सायद यो आन्दोलनले राज्यलाई अझ मजबुत नै बनाउँदो होला, तर किन राज्य सधैँ आफूतिर सोझिने औँलालाई दुश्मन मात्रै सम्झन्छ ? त्यो औँलाले उसलाई बाटो देखाइरहेको पनि त हुनसक्छ !
खुवालुङ् यतिबेला सामाजिक न्यायको त्यही आन्दोलनको अग्रभागमा छ । खुवालुङ्लाई चोट पुर्याउनु भनेको सम्बन्धित समुदायको आस्थामाथि बम प्रहार गर्नु बराबर हो भन्ने कुरा त अब सबैले बुझिसकेका छन् । तर यहाँनेर प्रश्न उठिरहेको छ, के मुन्धुमको खुवालुङ् र अहिले दावी गरिएको खुवालुङ् एउटै हो त ? यसमा पनि दुईथरी मतहरु देखिएका छन् । हो र होइन । तर मुन्धुम र साझा मतले भन्छ, खुवालुङ्को अवस्थित त्यही ठाउँमा हो जसलाई यतिखेर चर्चा गरिँदैछ ।
“खुवालुङ् पानीभित्र निक्कै तल छ” एकातर्फको तर्क छ । “धेरै पहिले पानीभित्र थियो । नदीको बहाव र कटानले अहिले केही भाग पानीमाथि देखिएको हो ।” अर्को तर्कले भन्छ । तर त्यो देखिएको ढुङ्गालाई भर्खर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि वा सप्तकोशीमा जलयातायातको सुरुवात गरेपछि मात्रै खुवालुङ् हो भनिएको होइन । निक्कै पहिलादेखि नै खुवालुङ् बचाउनुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने हिसाबले निक्कै बहसहरु चल्दैआएका थिए। त्यसैले अर्को कोणबाट “विकास विरोधीहरुले गरेको स्टन्ट” भन्ने ओँठे प्रतिक्रिया दिनेहरुले खुवालुङ्लाई नछोई पनि त्यहाँ थुप्रै सुन्दर विकल्पहरु भएको कुरा बुझ्न जरुरी छ ।
मान्छेको सबैभन्दा ठूलो कुरा आस्था हो । यदि हामीले आस्था राख्यौँ भने मान्छेले बनाएको मन्दिरमा भगवान् बस्छन्, मान्छेले बनाएको मस्जिदमा अल्लाहको उपस्थिति रहन्छ वा मान्छेले बनाएको चर्चमा प्रार्थना गर्दा जिससले सुन्छन् । तर आस्था छैन भने ती केवल भौतिक वस्तु हुन्, केवल भौतिक चिजले बनेका भवन हुन् । त्यसबाहेक केही होइनन् ।
किराँतीहरु प्रकृतिको पूजा गर्दछन् । खोला, नदी, वन जङ्गल, विभिन्न जनावरहरुप्रति सम्मान व्यक्त गर्दछन् । आगोलाई तीन चुलाले व्यवस्थापन गरेर पूजा गर्दछन् । तीन चुला उनीहरुको आस्थामा सबैभन्दा शक्तिशाली हुन् । तीन चुला अर्थात् तीन वटा ढुङ्गा । कतै बाटोमा लडिबसेका वा बेवास्ताका साथ बसेका ती ढुङ्गा जब तीन चुलामा आइपुग्छन्, तिनै ढुङ्गा पुज्य र सम्मानित हुन्छन् । किनभने त्यहाँ आस्था छ । त्यसपछि तीन चुलाका ती ढुङ्गालाई भत्काउन वा साटफेर गर्न मिल्दैन । त्यस कारण यतिबेला सिङ्गो किरात समुदायले खुवालुङ् भनेर जहाँ आफ्नो आस्थाको पुञ्ज बनाएका छन् त्यसैमाथि क्रेन चलाउने हो भने त्यसले एउटा ढुङ्गा मात्रै तोड्दैन । त्यो ढुङ्गाप्रतिको आस्थामाथि घोर दमन हुनेछ । दमन भएपछि प्रतिरोध स्वभाविक हो । प्रतिरोधको नतिजा न त कसैले अनुमान गर्न सक्छ न त कसैले चाहँदैमा प्रतिरोधको त्यो ज्वाला निभ्न नै सक्दछ । प्रतिरोधले धेरै चिजहरू उलटपुलट गरिदिन सक्छ ।