…. बाँच्नुजस्तो ठूलो कुरा जीवनमा अरू केही रहेनछ । मैले कसैलाई मारिनँ त्यो मेरो भाग्य हो । मेरा साथीले दिएको दुर्भाग्य मेरो निमित्त साँच्ची नै दुर्भाग्य हो । सायद साहित्यिक क्षेत्रबाट सन्यास लिँदैछु , अब लेख्ने पनि छैन होला

कुमुदिनी, मैले पछि लेखिहालेँ भने पनि त्यसबेला तपाईंलाई सिकायत गर्ने कुनै मौका पनि दिने छैन होला, त्यस सुअवसरको प्रतीक्षारुपरेखाको पानामा नै गर्नुहोला

बहिनी, नेपाली साहित्यलाई तपाईँ जस्तो  पाठकको जागरुकताको आवश्यकता , यो भएन भने मजस्तो मानिसले बीचबीचमा बदमासी गर्ने सम्भावना हुन्छ। तपाईंजस्तो बहिनीको तिलक लगाएर मात्रै हामी सङ्ग्राममा उभिन सक्छौँ ।

…..

शङ्कर लामिछानेले आफ्नो लेखन कालको लगभग अन्त्यतिर गरेको  स्वीकारोक्तिबाट यो लेख सुरु हुँदैछ ।

यो लेख नलेखिएको भए पनि हुन्थ्यो । तर मान्छेको स्वभाव, हठ् ! को टेरोस् ?

बाँच्नु साँच्चै नै सफोकेटिङ छ, अझ नैराश्य बोकेर बाँच्नु । एक्लै एक्लै उदास उदास भएर हाँस्नु ।

जीवन पीडा हो । जन्म पीडाको सुरुवात । मृत्यु पीडाको अन्त्य । यो भनेर मान्छेले बाँच्न छाड्दैन। स्वभावले नै मान्छेमा अनेकन् आशा हुन्छन् । आशा: भोलि आजभन्दा सुन्दर हुनेछ । आशा: भोलि आजभन्दा बढी खुसी बोकेर पर्खिरहेको छ । आशा: भोलि त कुनै प्रेमिका मलाई अथाह प्रेमले अङ्गाल्न तयार भएर बसेकी छ । ‘भोलि’ पेन्डोराको बाक्सा पनि त होला ? कसलाई के थाहा ? भोलि र भोलिको अनिश्चितता !

युवराज पराजुली

मैले सबैभन्दा बढी पढेको तिमीलाई नै हो । प्रत्येक दिन, कम्तिमा एकपटक म तिमीलाई पढ्ने गर्छु, यदि पढिनँ भने पनि सुत्नेबेलामा  (अचेल निद्रा लाग्न पनि त एक घण्टा लाग्छ)  अडियोबुकमा तिमीलाई सुन्ने गर्छु । अनि एकछिन घोत्लिन्छु, आनन्दित हुन्छु, तरङ्गित हुन्छु । लाग्छ नेपाली साहित्य मरेको छैन । अनि एकछिन दुखी हुन्छु  । मेरो दुखी हुनुमा  तिम्रा निबन्धभित्रका घटनाको खासै हात छैन । कारण एउटै छ,  यस्तो लेखनलाई पनि  एकपटक समयले बिर्सिसकेको थियो, वास्तै गर्नै छाडेको थियो । साँच्चै नै नेपालीहरु चर्चा गर्दैनन् कटुता मात्र पोख्छन् ।

धन्यवाद भावक अभियानलाई ! तिम्रो परिचय मसँग गराइदिएकोमा । अब एकछिन फ्लास ब्याकमा जाम, त्यतिबेला म सायद पाँच/छ क्लासमा पढ्थेँ । केटाकेटी नै थिएँ (हुन त अहिले पनि केटाकेटी नै छु) । त्यतिखेर प्रायः सबै केटाकेटीको जस्तै  एउटा बानी थियो मेरो, स्कुल सुरू हुन नपाउँदै  नेपाली किताबमा भएका सबै कथा एक बसाइमै पढिसक्ने । त्यतिबेला खै कताबाट हो  एउटा नेपाली किताब हात पार्यो प्लस टु, ब्याचलर कुन लेभलको किताब थियो त्यो ?  थाहा छैन । त्यतिबेला त्यो किताबमा एउटा निबन्ध पढें ‘औपन्यासिक पात्र; जीवनको पृष्ठभूमिमा’ । त्यतिखेर निबन्ध भनेको ‘मेरो विद्यालय’ र ‘विद्यार्थी जीवनमा अनुशासनको महत्त्व’ वा यस्तै यस्तैबाहेक अरु खासै केही नपढेको, नसुनेको मेरो बालमस्तिस्कलाई  तिम्रो निबन्धले खल्बल्याएकै हो, धेरै नबुझे पनि क्या लेख्न सकेको यो? भएकै हो । सत्य बोल्नु पर्दा त्यतिबेला तिम्रोभन्दा बढी माया  भीमदर्शन रोकाकै लागेको  हो ‘..बाबु, जीवनमा कविता छरिएर बसेका छन्, देख्न सक्नु र टिप्न सक्नु मात्र पर्छ ।  लेख्ने फुर्सत कसलाई ? ’

शङ्कर लामिछाने

निबन्ध सकें, त्यो निबन्ध मलाई निबन्ध कम कथा बढी लाग्यो । अनि ? बिर्सिदिएँ तिमीलाई, रोकालाई, ‘मास्साब छाता लिनोस्’ भन्ने पाँच वर्षकी केटीलाई ।

लगभग दुई वर्षपछि फेरि अनौठो किसिमले मेरो साक्षात्कार तिमीसँग हुन पुग्यो । ल्यापटपमा कुनै फिल्म हेरिसिध्याएको थिएँ, अब कुन फिल्म हेर्ने भनेर सोच्दै थिएँ । मेरो आँखा एउटा फोल्डरमा पुग्यो, ‘एब्सट्रयाक्ट चिन्तन प्याज’ वास्तवमा पहिलोपटक त्यो शीर्षक पढ्दा हाँसो लागेकै हो  । क्या हावा शीर्षक भाकै हो । तैपनि उत्सुकता मेट्न त्यो फोल्डर खोलें र सुन्न थालें । त्यो पहिलोपटक सुन्दा महसुस भयो ‘को हो यार यो मान्छे? ’  यति खतरनाक लेख्ने ! नेपाली  साहित्य पनि यस्तो  दमदार रैछ । जब कि त्योबेला मैले नेपाली साहित्य पढेकै थिएन । (यो कुरा पनि अवगत गराऊ, खासै अहिले पनि पढेको छैन) अहिले आएर विगत सम्झँदा हाँसो उठिरहेछ । थाहा छ, केही वर्षपछि यदि  मैले यही लेख पढें भने पनि म आफैँ हाँस्ने छु । क्या झुर लेखेको रैछु भनेर । यदि झुर लेखें भनेर लेखकले लेख्न छाड्ने हो भने सायद नेपाली साहित्यमा  (खासगरी पछिल्लो समयमा) यति धेरै किताब छापिने थिएनन्  होला । खासमा मैले यो जे लेखिरहेछु । त्यो पनि त साहित्य होइन, यो त एउटा आत्मविडम्बना हो मेरो र मैले बाँचेको युगको ।

मलाई ‘शिरिषको फूल’ पढ्दा जति खुसी लाग्छ, त्यति नै पीडा कारण ‘शिरीषको फूल’कै कारण तिमीले जापानी उपन्यास ‘द सेटिङ सन’को अनुवाद गरेनौ । अभागी हामी!

पारिजातले भनेजस्तै यो शताब्दीको ट्युमर र हामी बढिरहेका यसका सेल । अझ, अहिले त मेटास्ट्यासिस पनि  यति बढी सक्यो कि पीडा झन् पछि  झन् असह्य छ। तर, को दिओस् हामीलाई मोरफिन ? को  दिओस् उन्मुक्ति ?

आज तिमीले धर्ती छाडेको यतिका वर्षपछि पनि  जीवनमा उस्तै अनेकन्, असङ्गत पीडाहरू छन्,  समस्याहरु छन् । जीवनको गुजुलट्याई झन् पछि झन

अफ्ठ्यारिदै छ। असलमा भन्नुपर्दा आजको युवालाई साहित्य पढ्ने फुर्सद नै  छैन,  यही निर फेरि अर्को  प्रश्न उठ्ला के आजको लेखकलाई साहित्य लेख्ने फुर्सद छ त ?

आजको युवा चलाउनसम्म मोबाइल चलाउँछ, दिनभर फेसबुकमा अनलाई बस्छ तर कसैलाई म्यासेज गर्दैन । कसैले ईन्स्टाग्रामको स्टोरीमा रिप्लाई गरे लाइकसम्म गरिदियो भने  भाग्य । मानौं केकसो छ सोध्नु पनि पाप हो। ईन्टरनेटले जोड्ला भनेको मानिस आज एक्लिएको छ। निरास छ। दुखी छ।  कठै हाम्रो डुम्ड जेनरेसन !  आजको युवा ‘हुनु’मा भन्दा पनि ‘देखिनु’मा व्यस्त छ । फेसबुकमा राम्रो देखिनुमा ‘ट्वीटरमा’मा ईन्टेलाएकचुअल देखिनुमा । यदि मोबाइल र देखाउटीपनको दौडमा झुक्किएर कतैबाट फुर्सद मिल्यो भने आजको युवा साहित्य पढ्न थाल्छ। अनि यस्ता तमाम युवाहरू मध्ये एउटा म पनि हुँ, अनि अहिले यो पढिरहेको मेरो मित्र तपाईं पनि होइन र?

प्रेम ?अनि यी  सबबाट उन्मुक्ति?

प्रेम त्यही क्षणभरको आवेग जहाँ युगौँ युगको इभोलुसन अड्किएको छ, पोखिएको छ, निरीह बनेको छ।

के प्रेम सम्पूर्णतामा मात्र हुन्छ?  कि सम्पूर्णता अड्किएको हुन्छ त्यो क्षणको पनि क्षणमा?

यी प्रश्नहरूको उत्तर खोई ?

छैन ।

अनुभूतिहरूले कहिल्यै जवाफ दिँदैनन् । प्रश्न मात्र उमारिदिन्छन् । कति निरीह छ मान्छे। आफ्नै अनुभूतिहरूबाट!

न बुझ्न सक्छ, न बताउन । हाम्रो वरदान र श्राप सायद यही नै हो । कामुलाई आजको सिसिफस सोध्दो हो ‘ लेखक-दार्शनिक महोदय तपाईले मलाई कसरी खुसी देख्नु भो। तपाईंलाई त्यस्तो इम्याजिन गर्ने अधिकार कसले दियो ?’

हिजो आज, जेम्स जोएस नपढ्दा पनि त तिम्रै माया लाग्ला! के थाहा?

दुनिया किसी के प्यार में जन्नत से कम नहीं

एक दिलरुबा है दिल में जो हूरों से कम नहीं

संसारमा भन्न बाँकी  काति कुरा छन् ! र, संसारमा भन्न बाँकी  नै के रह्यो र ? ती लेखक, कलाकार जसले भनिसकेका छन् सबै कुरा जीवनका बारे, प्रेमका बारे, पीडाका बारे। कलात्मक शैलीमा ।  बेजोड ढङ्गले!  जो आज जिउँदा छैनन् । मरी सके। आफैंलाई मारीसके । तिनका विचार अनुभव पढ्न, महसुस गर्न, आत्मासात् गर्न फुर्सद नै कसलाई ? हामी त व्यस्त छौँ, भिडाउन आफ्नै कुरा अरूलाई ।

जीवनको गुजुल्ट्याइ, उफ !  सही नसक्नु छ । भाषा शब्दहरु जो हिजो पनि असमर्थ थिए भावनालाई व्यक्त गर्न। आज पनि उत्ति नै निरीह छन् । त्यो अनुभूतिको तीव्रता जो तिमीले महसुस गर्यौ । बेलामौकामा जुन म पनि महसुस गर्छु , तिनलाई के शब्दले क्तव्य गर्न सक्थे?

मलाई पनि त मन नपर्ने भाषा हुन् जसले भावानालाई क्तव्य गर्नै सक्दैनन्।

रस्टिनले भनेजस्तै के मान्छेको कन्सिएयसनेस्  साँच्चै इभोलुसनको भूल हो?  गल्ती हो?  यो सब कन्सिएयसनेस् मात्र  थाहा पाउन कि हामी कति निरीह छौँ । यी सब कुरा जो म महसुस गर्छु । तिनको केही अर्थ छैन? भो म मान्न तयार छैन यी कुरा । र, पलपल  मानी पनि रहेको  छु। सायद, म पनि विश्वासको गोधूलि संसारमा छु। मेरा निम्ति सत्यको एउटै परिभाषा छैन । सत्य र असत्य पग्लिएर एउटा धूमिल दृश्य बनाएका छन् । त्यो हेर्छु । दुई  निरपेक्ष आँखाले ।चिन्दिन कसैलाई पनि, बुझ्दिन केही पनि  । संसार यस्तै छ। अथाह छ। बुझ्न चाहँदा चाहँदै जीवन  सकिन्छ । केही नबुझेरै। र, मानव मस्तिष्कको सौन्दर्य बुझ्नुमा भन्दा पनि  बुझ्ने प्रयत्नमा पो छ कि ?

हामी सब हराएका छौँ । विशाल ब्राह्मणमा। प्रश्नहरू हिजो पनि उही थिए । आज पनि उही छन् । केवल उत्तर छैनन् । कहिल्यै नहोलान् पनि । के यो सम्भव छैन र एक भन्दा बढी सत्य  होस् ?  हामीले सोचेको सत्य भन्दा धेरै टाढा, धेरै फरक  । संसार विचित्र पात्रहरूले भरिएको छ। फेलिनीका पात्र जस्तै । ईश्वर जवाफहीन छ। बर्गम्यानको सिनेमा जस्तै । अँ बर्गम्यान । स्वीडेन। आत्महत्या । त्यो बेलाको हाइएस्ट सुसाइड रेट । त्यो ठीटी र उसको जवाफ ‘ जीवनमा ध्येयहीन भएर बाँच्न कसलाई मन पर्छ ? ‘

दजाई सम्झन्छु

पोहोर साल केही भएन

परार साल केही भएन

र सायद केही नभएको पनि युग भइसक्यो ।

तिमीले धेरै नलेखेर हामीले धेरै गुमाएका छौँ । हुनत तिमीले लेखेकोबाटै पनि हामीले के कति प्राप्त गर्न  सक्यौँ र ? यस्ता प्रश्नहरू बेलाबेलामा मेरो मनमा ओर्लिरहन्छन् अनि ती प्रश्नको समाधान खोई?

म सधै जसो अनुत्तरित नै भइरहन्छु । मगजमा  जवाफको साटो, अझ नयाँ सवालहरू थुपारिदिन्छु।

लेख्न के बसेको थिएँ लेखें के? एक्काइसौं शताब्दीको विचलित आत्माले (कमसेकम मैले) दिनखोजेको ट्रीब्युट यो भएन । तर अब अरू कुनै उपाय पनि त रहेन। मैले चढाउन खोजेको यो सम्मानमा साहित्य छछैन, थाछैन। तर, यत्ति कुरा भने मलाई  था छ कि यसमा तिमी प्रतिको अटुट प्रेम छ,  नेपाली साहित्य सुन्नेबित्तिकै नाक खुम्च्याउनेहरूले कम्तीमा एक पटक  तिमीलाई पढून् भन्ने चाहना छ, देशीविदेशी भाषाहरूमा तिम्रा किताब उल्था हुन भन्ने आशा छ। अनि छ एउटा  विश्वास तिम्रा शब्दप्रति, साहित्यप्रति  अनि ‘मैले लेखेको यो आजको लागि होइन पच्चीस पचास वर्षपछिका लागि हो’  भन्ने दुरदृष्टिप्रति !

तिमीले भनेझैं धेरैले कति राम्रो भनेर गए र तिनका भनाइ पनि टिकेनन् । सबै समयको गर्भमा साधारणपनामा परिणत भए। तिमीले भन्न चाहेका वा भन्न नचाहेका कुरा पनि कालान्तरमा  साधारण भै त्यही साधारणपनामा  बदलेलान्/नबदलेलान्। तर त्यो दिन आउन पनि त हजार वर्ष बाँकी नै छ। अनि हजार वर्षपछि धर्मका, राजनीतिका,विश्वासका, राष्ट्रका परिधिविहीन पृथ्वीमा तिमी जन्मनै बाँकी छ ।

एक हजार वर्षपछि जब सम्पूर्ण सत्यका परिभाषा बिलाउनेछन् । दुनियाँ बिलाउने छ। म बिलाएको  हुनेछ। त्यही बिलिन भएर हामीले भेट्नु नै छ। र अन्त्यमा, आज तिम्रो जन्मदिन ह्याप्पी बर्थडे शङ्कर । ह्याभ अ ग्रेट व्यान !

-उही तिमीलाई लाइब्रेरीको धुलोमा बेरिएर हेरिरहने इच्छुक आँखा ।