पारिजातको निधन भएको अढाई दशक नाघिसक्दा पनि जन्म मितिलाई लिएर अलमल, विवाद र विरोधाभास कायमै छ । यद्यपि उनकाे जन्मकाे आधिकारिक तथ्य उजागर भैसकेको छ । प्रमाणित जन्म मिति प्रकाशनमा आइसकेको छ । तर त्यसको प्रचार कम भएर हो कि प्रामाणिक तथ्यमाथि अध्येताहरुले गम्भीरतापूर्वक ध्यान नदिएर हो, उनको जन्म मितिमा अझै एकरुपता आउन सकेको छैन ।

गोविन्द गिरी प्रेरणा

त्रिभुवन विश्वविद्यालयका अध्यापक कृष्णप्रसाद घिमिरे तथा कृष्णहरि बरालले दार्जीलिङकी प्रख्यात साहित्यकार विन्दा सुब्बाको सहयोगमा पारिजात भर्ना भएको नेपाली गर्ल्स हाईस्कूलमा गई त्यस स्कूलमा रहेको प्रामाणिक मिति ल्याएर प्रकाशित गरिसकेपछि त्यस तथ्य मान्नुको विकल्प रहँदैन । यो तथ्यलाई उनको जन्म कुण्डली वा चिनाटिपले मात्र विस्थापित गर्न सक्छ । तर त्यसको सम्भावना अत्यन्तै कम देखिन्छ । त्यसैले सो स्कूलमा दर्ता भएको मिति १३ मार्च, १९३४ नै उनको आधिकारिक जन्म मिति हो । अर्थात् ३० फागुन १९९४ ।

न्वारानमा उनकाे नाम छेकुडोल्मा राखे लामाहरुले । उनको बोलाउने नाम तथा औपचारिक नाम विष्णुकुमारी वाइवा रह्यो । काठमाडौं आएर साहित्यमा पदार्पण गरेपछि उनले आफ्नो नाम पारिजात आफैँ राखिन् ।

उनका तीन कविता वि.सं २०१३ सालमा धरतीमा प्रकाशित भएपछि उनको प्रकाशन यात्राको आरम्भ भयो । उनको पहिलो प्रकाशित उपन्यास “शिरिषको फूल” हो भने पहिलो प्रकाशित कथासङ्ग्रह “आदिम देश” हो ।

पारिजातले आफ्नो जीवनकालमा कविता, कथा, उपन्यास, निबन्ध, नाटक, आत्मकथा, गीतलगायत विविध विधामा कलम चलाइन् । मूलतः उनको लेखनको उर्वरकाल बीस र तीसको दशक रह्यो ।

उनका प्रकाशित कृतिहरु यस प्रकार रहेका छन्:

कविता:

१, आकाँक्षा

२, पारिजातका कविता

३, वैंशालु वर्तमान

पन्यास :

१, शिरिषको फूल

२, महत्ताहीन

३, बैंसको मान्छे

४,तोरीबारी बाटा र सपनाहरु

५, अन्तरमूखी

६, उसले रोजेको बाटो

७, पर्खालभित्र र बाहिर

८, अनिदि पहाडसँगै

९, परिभाषित

कथासङग्रह:

१, आदिम देश

२, सडक र प्रतिभा

३, साल्गीको बलात्कृत आँसु

४, वधशाला जाँदा आउँदा

५, पारिजातका कथा (सम्पादक. पूर्ण ईन्फादा)

कथोपन्यास:

१, वोनी

आत्मकथात्मक संस्मरण

१, धूपि सल्ला र लालीगुँरासको फेदमा

२, एउटा चित्रमय शुरुवात

३, अध्ययन र संघर्ष

गीति एल्बम

१, स्वर श्रध्दान्जली

बाल साहित्य:

१, जुठी दमिनी

नाटक

१, पारिजातका नाटक (सं.कृष्णप्रसाद घिमिरे)

यी कृतिहरुमा “शिरिषको फूल”को पहिलो संस्करणको प्रकाशकमा पारिजातको नाम उल्लेख भए पनि चमत्कारी भूमिका लेखेका शंकर लामिछानेले आफ्नै खर्चमा प्रकाशन गरिदिएका थिए । मदन पुरस्कारको ढोकासम्म पनि उनैले पुर्याईदिएका थिए । वि.स. २०२२ सालको मदन पुरस्कार यो उपन्यासले पाएको थियो ।

“महत्ताहीन” उपन्यास राल्फाकालमा लेखिएको उपन्यास हो । यसलाई राल्फाली उपन्यास मानिन्छ ।

“तोरीबारी, बाटा र सपनाहरु” तथा “अन्तर्मुखी” पारिजातले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको विद्वत्वृत्तिअन्तरगत लेखिएर प्रतिष्ठानले प्रकाशन गरेको हो ।

“बैँसको मान्छे” पहिलोपल्ट रुपरेखा पत्रिकामा प्रकाशित भएको थियो र पछि पुस्तकाकारमा प्रकाशित भएको हो । “उसले रोजेको बाटो” पनि “वेदना” पत्रिकामा प्रकाशित भएको हो, तर यसले भने कहिल्यै सग्लो छुट्टै पुस्तकको रुपमा प्रकाशित हुने अवसर पाएन ।

पारिजातको आत्मसंस्मरण ” अध्ययन र संघर्ष”, “बैँसालु वर्तमान”, पारिजातका नाटक” तथा “पारिजातका प्रतिनिधि कथाहरु” एवम् गीति एल्बम “स्वर श्रद्धान्जली” उनको निधनपश्चात् प्रकाशित भएका हुन् । यीमध्ये अध्ययन र सङ्घर्ष पारिजातले लेखेर प्रकाशित हुन बाँकी कृति हो । पारिजातकाे नाटक कृष्णप्रसाद घिमिरेले तथा “पारिजातका प्रतिनिधि कथाहरु” पूर्ण इन्फादाले सम्पादन गरेका हुन् । “स्वर संवेदनालाई” अस्मिता पत्रिकाकी सम्पादक तथा गायिका सुसन मास्केले पारिजातका गीति रचनाहरुलाई गाएर उनीप्रति श्रद्धा व्यक्त गरेकी हुन् ।

पारिजातको “शिरिषको फूल” अङ्ग्रेजी, असमीया, फ्रेञ्च, जर्मनी लगायतका भाषामा अनुदित भएका छन् । यो कृति अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयमा एक सालका लागि पाठ्यक्रममा पनि रह्यो ।

पारिजातको निधन वि.सं २०५० साल वैशाख ५ गते बिहान वीर अस्पतालमा भयो । उनी आजीवन अविवाहित रहिन् र उनलाई उनकी बहिनी सुकन्या वाइवाले आजीवन साथ र सहयोग दिइन् ।