मैले पछिल्लो समय राम्ररी बुझेँ, विदेशमा कमसेकम गीतकारलाई यतिविधि अपमान नगरिँदो रहेछ । त्यहाँ पहिलो प्राथमिकता गीतकारलाई नै दिइँदोरहेछ । यो चेतना व्यापक रहेछ कि, ‘शब्दबिना कुनै गीत पूर्ण हुन सक्दैन ।’
===
बहाना बनाएर भन्नुपर्ने केही छैन । जे छ सिधासिधी भन्नु छ । मैले लेखेको पहिलो गीत रेकर्ड भएको झण्डै बीस वर्ष भयो । त्यसयता थोरबहुत गरेर लगातार नै गीतहरू रेकर्ड भइरहेका छन् । शुरुमा ‘गीत रेकर्ड भयो’ भन्ने सुन्दा टाउको ठूलो हुन्थ्यो, कान ठाडा हुन्थे । छातीमा गर्व भरिएर फराकिलो हुन्थ्यो । आफूले आफैँलाई समाजको अब्बल व्यक्ति घोषणा गर्न मन लाग्थ्यो । वर्ष थपिँदै जाँदा स्वभावैले गीतको सङ्ख्या पनि थपिँदै गए । नयाँ नयाँ सङ्गीतकार, गायकहरू जोडिँदै गए । केही गीत स्रोताले थोर बहुत मन पनि पराए, केही गुम्नाम भए । तर गीतहरूको सङ्ख्या थपिँदै गए पनि गीतकारको रूपमा उमङ्गको सङ्ख्या खासै बढेन । जुन जिज्ञासा थियो त्यो सकियो बरु जिम्मेवारी थपियो । यो अवधिसम्म केही गीत बाहेक प्रायः गीतले सन्तुष्ट पारेनन् । कुनै गीतमा आफूले सोचेजस्तो सङ्गीत भएन, ठीकै छ आफैँसँग सम्झौता गर्नुपर्छ । कुनैमा सङ्गीत संयोजन त कुनैमा गायकी । कुनै कुनैमा त सबैथोक राम्रो भएर पनि मिक्सिङ÷मास्टरिङ झुर भएका उदाहरण पनि छन् । जुन गीतमा सबैथोक राम्रो भएका छन्, ती पनि अपेक्षा गरेजस्तो स्रोतासँग घुलमिल हुन सकेनन् ।
भारतकी महान् गायिका लता मङ्गेस्करले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो “मुम्बैमा मेरो हालत एकदमै खराब थियो । म चलचित्रमा अभिनय गर्ने काम त पाउँथेँ तर त्यो मलाई पटक्कै मन पर्दैन थियो । गीत गाउन कुनै निर्माताले दिँदैन थिए । त्यो बेलामा मेरा गुरु गुलाम हैदरले ‘मजबुर’ चलचित्रमा मलाई पहिलो चोटी अवसर दिँदै भन्नुभएको थियो ‘तिमीले गीतको बोल कहिल्यै नबिर्सिनु, गाउनुपूर्व शब्द राम्रो अध्ययन गर्नु, शब्द र सङ्गीतका सर्जकहरूलाई आदरपूर्वक सम्झिनु, एक–एक शब्द स्पष्ट र निर्धक्क उच्चारण गर्नु र सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीलाई गीतका शब्दको अर्थ, भाव र मर्म राम्रोसँग थाहा हुनुपर्छ ।’ मैले मेरा गुरुको यो भनाइलाई मन्त्र बनाएँ ।”
नेपालका अग्रज कवि तथा गीतकार श्रवण मुकारुङले गत पुसको पहिलो सातातिर फेसबुकमा एउटा स्टाटस लेख्नुभएको थियो, ‘नेपाली गीत÷सङ्गीतमा अहिले भइरहेको ‘रेला’ यति रहेछ । गीतकारलाई सङ्गीतको सामान्य वर्णमाला थाहा नहुनु, सङ्गीतकारलाई साहित्यको ‘स’ थाहा नहुनु । गायक गायिका ‘गोपिकृष्ण कहू’ हुनु । मिडिया विचरोको त आफ्नै धन्दा र दुःख छँदैछ । स्रोता त झन् सुन्ने बेलामा ताली पड्काउने भइहाले । जय नेपाल !’
त्यस्तै गीतकार तथा गजलकार सविन एकतारेले फेसबुकमा लेख्नुभएको थियो ‘ब्रो गीत खतरा हुनुपर्छ । पोएटिक शब्द होइन के सिम्पल ! अनि मल्टिपल लेयर्स अफ स्टोरी टेलिङ हुनुपर्छ । सुन्दै टप्प कानले टिप्ने हुनुपर्छ । अनि कसैले नलेखेको युनिक पनि हुनुपर्छ । सुन्दा आनन्द लाग्ने अनि मिनिङफुल पनि हुनुपर्छ ।
कविकी जान लेगा रे क्या ?’
लता मङ्गेस्करको भनाइले गायकहरूमा हुनुपर्ने साधना, धीरता र चेतनाको स्तर प्रस्तुत् गर्दछ भने श्रवण मुकारुङ र सविन एकतारेको भनाइले नेपाली सङ्गीतको हालको हबिगत स्पष्ट पार्दछ । नेपालमा केही सङ्गीतकार र केही केही गायकबाहेक लगभग अधिकांशलाई गीतको भाव, मर्म, अर्थ, रस केही पनि थाहा छैन । गायकहरूले पहिला नै गीतको शब्द र सङ्गीत सुनेर फिल गर्नु पर्दैन यहाँ । सिधै स्टुडियो जाने हो, सङ्गीतकारबाट त्यहीँ सुन्ने हो, गाउने हो । ‘मेरो रेट…..’ भन्ने हो, पैसा समाउने हो, गीतको सङ्ख्या हिसाब गर्ने हो । उसलाई ‘मैले कसले लेखेको गीत गाएँ’ भन्नेसम्म पनि थाहा हुँदैन । पछि सार्वजनिक भएपछि फेसबुकमा लिङ्क राख्दै लेख्छ ‘मेरो नयाँ गीत’ ।
मेरो अनुभव छ, नेपालका एक दुई जनाबाहे सबै गायकले ‘गीतकार को हो ? मैले गाउन लागेको गीत कसको हो ?’ भनेर सोध्दैनन् । मैले त व्यक्तिगत अनुभव यतिसम्म पनि गरेको छु कि, मैले लेखेका गीत गाएर एक दुईजना (उहाँहरूको नाम लिन चाहन्नँ, उहाँहरूले यो लेख पढ्नुभयो भने ‘म म’ भन्नु होला) ले राष्ट्रिय स्तरका पुरस्कार जित्नु पनि भयो । उहाँहरूले ती गीतहरू सङ्गीतकार मार्फत लिनुभएको थियो । तर ती गायकहरूले प्रतिस्पर्धामा जानु अगाडि ‘म तपाईंको गीत फलाना प्रतिस्पर्धामा गाउँदैछु’ भनेर भन्नुभएन र प्रतिस्पर्धा जितिसकेपछि पनि ‘मैले तपाईंको गीत गाएर पुरस्कृत भएँ, तपाईँलाई धन्यवाद’ भनेर न कुनै दिन फोन गर्नुभयो, न फेसबुकका कुनै स्टाटसमा राख्नुभयो । न अन्य कुनै माध्यमबाट त्यो आचरण देखाउनु भयो । न कहीँ भेटेर खुशी नै व्यक्त गर्नुभयो । यो एउटा यस्तो उदाहरण हो नेपालका गीतकारहरूमाथि भइरहेको अपमानको, त्यसको कुनै हिसाब नै छैन । अलि गम्भीर भएर सोच्दा नाजुक छ अवस्था । तर पनि आमाहरू सृष्टिको निरन्तरता सम्झिएर बच्चा जन्माइरहेछन्, हुर्काइरहेछन् ।
गीतसङ्गीतको काम गर्ने नेपालकै सबैभन्दा पुरानो संस्था हो रेडियो नेपाल । यो संस्थाको त झन् गीतकारहरूलाई हेर्ने दृष्टिकोण मैले कल्पना गरेभन्दा पनि तल पाएँ । हरेक वर्ष रेडियो नेपालले देशव्यापी रूपमा गीत प्रतियोगिता गराउँछ । सयौँ जनाको प्रतिस्पर्धाबाट २० जनाको सर्टलिष्ट निकाल्छ । त्यहाँ गायक मात्रै प्रतिस्पर्धामा हुँदैनन्, गायकले गाउने गीत कसै न कसैले लेखेको हुन्छ । कसै न कसैले धून बनाएकै हुन्छ र नै त्यो गीत त्यहाँ गायकले प्रस्तुत गर्न पाएको हुन्छ । केही वर्षदेखि मैले सिर्जना गरेका गीत पनि रेडियो नेपालमा प्रतिस्पर्धीका रूपमा पुगिरहेका छन् र विजेता पनि बनिसकेका छन् । तर रेडियो नेपालमा नातिकाजीदेखि टीका भण्डारीसम्म सङ्गीत फाँटका निर्देशक भइसक्दा पनि ‘गीतकारलाई एउटा प्रमाणपत्रसम्म त दिनुपर्छ’ भन्ने चेतना पलाएन । मलाई लाग्छ, नेपालमा गीतकारहरूका लागि योभन्दा ठूलो दुर्भाग्य अरु केही हुन सक्दैन ।
बाहिरबाट हेर्दा नेपालमा सङ्गीत उद्योग राम्रो फष्टाएको देखिन्छ । सङ्गीत उद्योगमा मासिक करोडौँ रुपैँयाको कारोबार भइरहेको छ । तर त्यति ठूलो कारोबार मध्ये गीतकारका हातमा कति रुपैँयाँ पुगेको छ । यसबारेमा कसले सोचेको छ ? मेरो त यसैबारेमा पनि एउटा नमीठो अनुभूति छ । झण्डै पच्चीस वर्ष अगाडि नै चर्चित हुनु भएका एकजना भेट्रान गायकसँग लगभग दुई वर्ष अगाडि काम गर्ने अवसर जुरेको थियो मेरो । मबाट उहाँले चित्त बुझेको शब्द लानुभयो । सङ्गीकारले धून बनाउनुभयो, सङ्गीत संयोजन गर्नुभयो । गीत गाइयो, म्युजिक भिडियो बन्यो, गीत सार्वजनिक भयो । मेरो हातदेखि गीत गइसकेपछि सार्वजनिक भइन्जेलसम्म गीतसँग सम्बन्धित हरेक क्रियाकलाप उहाँले मलाई जानकारी गराइरहनुभयो । मैले सोचेँ ‘उहाँ नेपालको भेट्रान गायक हो, नेपालका सबै गीतकार, सङ्गीतकारसँग काम गरिसक्नुभएको छ । कति राम्रो व्यवहार गरिरहनुभएको छ । यतिको विनम्र गायकले गीतकारहरूको मर्म आफैँ बुझेर उपयुक्त पारिश्रमिक दिनुहुनेछ ।’
गीत सार्वजनिक भएको लगभग पन्ध्र दिनपछि उहाँले फोन गर्नुभयो । फोनमा लामो गफ भयो, नेपाली गीतसङ्गीतका विकृति र प्रगतिका कुरा भए । देशको राजनैतिक निराशाका कुरा भए । गीत युट्युबमा औसत नै चलिरहेको थियो । उहाँले मेरो गीत लेख्ने क्षमताको तारिफ गर्नुभयो । मलाई लागेको थियो ‘उहाँले मलाई लेखकस्वका बारेमा कुरा गर्न सम्पर्क गर्नुभएको हो ।’ तर उहाँले भन्नुभयो “यो गीतको लागि खुब मिहिनेत गरियो । गीत पनि राम्रो भयो । गीतसँग जोडिएका सबैलाई राम्रो पैसा दिएकाले उनीहरूले पनि राम्रो काम गरेका छन् । तपाईंलाई मात्रै हो पैसा नदिएको भनेको ।” त्यसपछि त म उहाँसँग पारिश्रमिक माग्ने हैसियतको पनि रहिनँ, के को उहाँले आफैँ बुझेर पैसा दिनु । गीत सार्वजनिक भइसकेको छ ।
मलाई लामो समय उहाँको त्यो कुराले बिझाइरह्यो । ‘उहाँले मलाई गीत मागेर लगेपछि हो सङ्गीतकारले सङ्गीत गरेको, सङ्गीतकारले पैसा पाए, सङ्गीत भइसकेपछि एरेन्जरले एरेन्ज गरे, तिनले पनि पैसा पाए । एरेन्ज भइसकेपछि ढोलक बजाउने, तबला बजाउने, बाँसुरी, गितार, सारङ्गी बजाउने सबैले पैसा पाए । स्टुडियोले पनि काम गरेको पैसा लिए । भिडियोमा अभिनय गर्नेहरूले पैसा लिए, कलाकारको श्रृङ्गार गरिदिनेले, क्यामरा चलाउनेले, कोरसले, निर्देशकले सबैले पैसा लिए । जब कि ती सबैले काम पाउनुको एउटै कारण हो मैले गीत लेखेर दिनु । तर उहाँले सजिलै भनिदिनुभयो, “भाइ तपाईंलाई मात्रै हो पैसा नदिएको, अरु सबैलाई राम्रो पेमेन्ट गरेको हुँ ।” यो पीडा मेरो मात्रै होइन, अधिकांश नेपाली गीतकारहरूको होला, मलाई लाग्छ ।
मैले पछिल्लो समय राम्ररी बुझेँ, विदेशमा कमसेकम गीतकारलाई यतिविधि अपमान नगरिँदो रहेछ । त्यहाँ पहिलो प्राथमिकता गीतकारलाई नै दिइँदोरहेछ । यो चेतना व्यापक रहेछ कि, ‘शब्दबिना कुनै गीत पूर्ण हुन सक्दैन ।’ नेपालमा दुर्भाग्य के पनि छ भने पढेलेखेका गायक सङ्गीतकारहरूमै समस्या छ । वरिष्ठ गीतकार शिवशङ्कर थापा भन्नुहुन्छ, “मैले गीत लेखेर एक पैसा पनि पाएको छैन तर मैले लेखेका गीत गाएर केही गायकहरूले काठमाडौँमा घर किने ।” उहाँका अनुसार, यतिसम्म कि थुप्रै कार्यक्रममा जाँदा विदेशतिर लेखकका लागि छुट्टै पैसा दिएको हुँदोरहेछ तर त्यो पैसा गायकले नै जिम्मा लिने र लेखकलाई जानकारी नै नगराउने हुँदोरहेछ ।
गत फागुनमा कर्मा ब्याण्डले नेपालको पूर्वी टुर गर्यो । त्यो बेलामा वरिष्ठ गीतकार आचार्य प्रभाले फेसबुकमा “बिडम्बना गीतकार हुनुको” भनेर एउटा स्टाटस राख्नुभयो । कर्मा ब्याण्ड स्थापना हुँदै गर्दा नै उहाँका गीत लोकप्रिय भएका थिए ।
“….मेरा मित्र स्व. सुरज श्रेष्ठजीले कर्मा ब्याण्डका गायक सुरेन्द्रमान सिंहलाई ‘वहाँ गीतकार आचार्य प्रभा’ भन्दै परिचय गराएको बेला सुरेन्द्र भाइले मेरो डायरीबाट (अहिले कर्मा ब्याण्डका चलेको मध्येको गीत ‘यानी माया’ अर्थात् ‘खुकुरीलाई अचानो त बन्चरोलाई मुढा’ ।) त्यो बेला सायद कर्मा ब्याण्ड भर्खर स्थापना गरिएको थियो । अहिले ३० औं वर्षपछि कर्मा ब्याण्ड आफ्नै गाउँघरमा आउँदै रहेछ । अहिले विज्ञापनमा बेला बेला मेरो शब्दको गीत पनि बजेको सुन्छु । कता कता खुशी पनि लाग्छ । कता कता दुःख पनि ।”
कर्मा ब्याण्डले आचार्य प्रभाका गीत गायो, चर्चित भयो । देश विदेश भ्रमण गर्यो । कर्मा ब्याण्ड भन्नेबित्तिकै आचार्य प्रभाका गीत स्रोताले सम्झिन्छन् । तर गीत कसले लेखेको हो कसैलाई थाहा छैन । त्यही कर्मा ब्याण्डले दमकका स्रोता दर्शकबाट टिकेटको पैसा असुलेर धुलो उडाउँदै ‘यानी माया…’ खुकुरीलाई अचानो त’ गीत गाउँदा, न त गीतकारको नाम सुनाइयो न आचार्य प्रभा कहाँ हुनुहुन्छ, कर्मा ब्याण्डलाई थाहा थियो । लेखक जीवितै हुँदा त हालत यस्तो छ, लेखक मरिसकेपछि गीतकारको कति अपमान हुँदो हो । सम्झेर ल्याउँदा पनि अत्यास लाग्छ । अनि बाघको छालामा किन यतिसम्म स्यालको रजाइँ भएको होला ?
नेपाली गायक गायिकाहरूलाई विदेशमा कार्यक्रमका लागि बोलाउने भनेको त्यहाँ रहेका नेपालीहरूले नै हो । तर दुःखको कुरा चैँ, विदेशमा बसे पनि नेपालीहरू बसेका ठाउँका लागि मात्रै सचेत हुँदारहेछन् । नेपालीहरूको सवालमा उनीहरू नेपाली मानसिकतामै हुँदारहेछन् । विदेशमा भएका सबैलाई थाहा छ । त्यहाँ कुनै पनि कार्यक्रम भयो भने आयोजकले पहिला नै गायकसँग उसले गाउने गीतको नामावली मागेको हुन्छ । ती गीतहरूका गीतकार तथा सङ्गीतकारहरूको सूची तयार गरिन्छ । र कार्यक्रममा आयोजकले दिने पैसा हिसाब गरेर प्रायःजसो तीस प्रतिशत गीतकारलाई, तीस प्रतिशत सङ्गीतकारलाई र चालीस प्रतिशत त्यहाँ प्रस्तुति दिने गायकलाई दिइँदोरहेछ । लाइभ म्युजिसियनहरूको छुट्टै हिसाब गरिँदो रहेछ । ब्याण्डको कार्यक्रम हो भने ब्याण्ड मेनेजरले पारिश्रमिक हिसाब गर्दोरहेछ । तर ब्याण्डले प्रस्तुति दिने गीत पनि ब्याण्डको सदस्यभन्दा बाहिरको व्यक्तिले लेखेको रहेछ भने दामासाहीमा हिसाब गरेर आयोजकले उसकै खातामा पठाउँदोरहेछ ।
नेपालीहरू विदेशमा बसे, त्यहाँको रहनसहन सिके । विभिन्न कार्यक्रमको आयोजना गरे, गायक गायिकाहरूका लागि पैसाको खोलो बगाए तर सर्जकहरूलाई पनि बचाउनुपर्छ भन्ने संस्कार सिकेनन् । उनीहरूले कार्यक्रममा दिनुपर्ने सबै पारिश्रमिक गायकगायिकालाई नै दिए । गीतकार र सङ्गीतकारको नामावली तयार पारेर उनीहरूलाई त्यो रकम पठाउने काम गरेनन् । केहीले त्यो संस्कार पालन गर्न नखोजेका पनि होइनन् । उनीहरूले हिसाब गरेर गायककै हातमा त्यो रकम पठाइ पनि दिए तर इमान्दारिताकासाथ भन्नुपर्छ, हाम्रो देशका गायकहरू यति साह्रो बिग्रिहालेका छैनन्, ताकि आफ्नो हातमा परेको रकम गीतकार र सङ्गीतकारका हातसम्म पुर्याउन् ।
विदेशमा त्यसरी छुट्याउने पारिश्रमिकलाई पनि रोयल्टी भन्दोरहेछ । नेपालमा पनि रोयल्टी समाज छ । त्यसका अध्यक्ष सुरेश अधिकारी आफैँ गीतकार, सङ्गीतकार हुनुहुन्छ । उहाँ आफैँले पनि थुप्रै देशहरूको भ्रमण गरिसक्नुभएको छ । हरेक देशमा एनआरएनए छ । विदेशमा हुने कुनै पनि कार्यक्रममा कतै न कतै एनआरएनए जोडिएकै हुन्छ । रोयल्टी समाजले एनआरएनएसँग यसबारेमा गहन अध्ययन र छलफल गरेर सम्झौता गर्नसक्छ । नेपालमा गीतकार सङ्घ पनि छ । त्यसले के काम गर्छ आजसम्म थाहा छैन । त्यसका अध्यक्ष हाल वसन्त बी थापा हुनुहन्छ । उहाँहरूले गीतकारहरूबाट सदस्यता शुल्क लिने मात्रै काम गर्नुहुन्छ कि गीतकारहरूको लेखकस्वलाई वृद्धि गर्ने बारेमा पनि योजना बनाउनु भएको छ, थाहा छैन । यी सबै प्रश्नको उत्तर उहाँहरूले यदि यो आलेख पढ्नु भयो भने दिनुहुने छ नै, आशा गरौँ । तर यो आलेख ज–जसले पढ्नुपर्ने हो उहाँहरूमा यति लामो आलेख पढेर सक्ने धीरता छ जस्तो चैँ मलाई लाग्दैन । गायक–गायिकाहरूले त झन् यो पढ्ने सहास गर्नु नै हुने छैन ।
पछिल्लो समय अमेरिकामा भएका एक दुईवटा कार्यक्रमबाट भने मैले रोयल्टी पाएको छु । ती कार्यक्रम आयोजना गर्ने आयोजकहरूमध्ये केहीसँग मेरो राम्रो चिनाजाना थियो । उहाँहरूसँग गफ पनि भइरहेको थियो । अमेरिकामा अमेरिकनहरूले स्टेजमा गाउँदा आयोजकले दिनुपर्ने पारिश्रमिक विभाजनका बारेमा हामीले धेरैपल्ट गफ गरेका थियौँ । उहाँहरूले पनि त्यसरी नै कार्यक्रममा प्रस्तुत हुने गीतहरूको सूची गायकसँग अगाडि नै माग्नुभयो । उहाँहरूले लेखक र सङ्गीतकारहरूको नाम पनि त्यसबाट उतार्नुभयो । त्यहाँ प्रस्तुत हुनेमध्ये दुईवटा गीत मैले लेखेका पनि परेका रहेछन् । उहाँहरूले हिसाब गरेर दामासाहीमा पारिश्रमिक विभाजन गर्नुभयो । मैले पनि दुईवटा गीतको पैसा पाएँ । हुन त पछिल्लो समय म नेपालमै पनि सशुल्क गीत लेखिरहेको छु । तर गजबको कुरा चैँ त्यहाँबाट नेपालमा आउँदा डलरमा आउने भएकाले थोरै आए पनि नेपालमै गीत लेखेर पाउनेभन्दा दुईतीन गुणा धेरै आयो । त्यो पैसाले मेरो आर्थिक भार सधैँलाई नटारे पनि, मैले पनि गीत लेखेर पैसा पाएको अनुभूति गरेँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 








