
‘गुणस्तर महत्त्वपूर्ण कि सङ्ख्या महत्त्वपूर्ण ?’ – यो प्रश्न कसैले सोध्यो भने अधिकांशको उत्तर एउटै हुन्छ – गुणस्तर । यो कुरा साहित्यमा मात्र हैन अन्य विषयमा पनि लागू हुन्छ । साहित्यमा यो बहस चलेको धेरै भइसकेको छ । यस्ता बहसहरू हिजो पनि थिए, आज पनि छन् र भोलि पनि हुनेछन् । तर यसको उत्तर भने त्यति सजिलो छैन । किनभने कुन दृष्टिकोणबाट त्यो प्रश्नलाई हेरिन्छ भन्नेमा यसको उत्तर निर्भर गर्छ ।
अब लागौं साहित्यको विषयमा, त्यसमा पनि नेपाली साहित्यको विषयमा । संसारका अन्य साहित्यभन्दा नेपाली साहित्य अलि कान्छो र धेरै नै पछाडि छ । अहिले प्रविधिको पहुँच र सूचनाको सर्वव्यापकताले गर्दा धेरैभन्दा धेरै लेखकहरूले नेपाली भाषामा लेख्न थालेका छन् जुन अत्यन्तै खुशीको कुरा हो । प्रविधिले पुस्तक लेखनलाई सजिलो मात्र बनाएको छैन लेखकहरूलाई उनीहरूका पाठकसम्म पुग्न पनि सघाएको छ। कति लेखकहरूको लागि त यो आय आर्जनको विषय पनि बनेको छ । त्यसले गर्दा धेरैभन्दा धेरै लेखकहरू यसप्रति दिन प्रतिदिन आकर्षित भइरहेका छन्, तर विविध कारणवश नेपाली पुस्तकको खुम्चिँदै गएको बजारले गर्दा पुस्तक प्रकाशन बढ्नुको साटो झन् घट्ने क्रममा छ । यो नेपाली भाषा र साहित्यको दीर्घकालीन विकासको लागि दुर्भाग्यको कुरा हो ।
‘एउटा लेखकले किन लेख्छ ?’, गहिराइमा गएर सोच्ने हो भने त्यसको उत्तर एउटा मात्र हुन्छ – लेखकले आफूलाई खुशी बनाउनको लागि लेख्छ । लेख्ने मात्र हैन, मानिस जे काम गर्छ त्यो सबै उसले खुशी हुनको लागि नै गर्छ । यो संसारको अकाट्य नियम हो । कसैलाई धनले खुशी दिन्छ, कसैलाई नामले, कसैलाई शक्तिले, कसैलाई प्रेमले त कसैलाई पीडाले समेत खुशी दिन्छ । हामी जे गर्छौं खुशीको लागि नै गर्छौँ । खुशी हुने कुरा कुनै भेटिएन भने हामी कम दुःख हुने कृयाकलाप गर्छौँ । अर्थात् त्यो पनि सापेक्ष रूपमा हेर्दा खुशी दिने कुरा नै भयो । यो त अलि दार्शनिक कुरा भयो, तर त्यही दर्शनको आधारमा टेकेरभन्दा हरेक लेखकले आफूखुशी हुनका लागि लेख्छ । कसैले आफ्नो रचना कसैले पढिदेओस् भन्ने चाहनाले लेख्छ, कसैले नाम र प्रसिद्धिका लागि लेख्छ, कसैले मनको बह पोखेर हलुको हुन लेख्छ, कसैले पैसाको लागि लेख्छ त कसैलाई लेख्दा मात्र पनि खुशी लाग्ने हुनाले लेख्छ । तर जसले जुन आशा राखेर लेखेको भए पनि लेखनले जहिले पनि भाषा र साहित्यमा योगदान पुर्याएको हुन्छ । नेपाली भाषामा लेखेपछि स्वतः नेपाली भाषा र साहित्यमा योगदान हुने नै भयो ।
आज नेपालीहरू संसारभरि फैलिएर रहेका छन् । अबको नेपाली साहित्यको बजार भनेको नेपाल मात्र हैन, पूरै गोलार्ध हो । पाठकहरू पनि पहिलेभन्दा धेरै शिक्षित भइसकेका छन् । यसरी हेर्दा नेपाली पुस्तकको व्यापार बढ्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । मसँग आधिकारिक तथ्याङ्क त छैन तर नेपाल, भारत र अन्य नेपाली भाषी बसोबास गरेका देशबाट नेपाली भाषामा हरेक वर्ष पाठ्यपुस्तकका बाहेक साहित्यमा गनिने पुस्तकहरू (खासगरी आख्यान र गैर-आख्यान) गरी लगभग एक हजार जति छापिन्छन् । संसारभर फैलिएका लगभग तीन करोड नेपाली भाषीहरूको लागि वर्षमा एक हजार प्रति मात्र पुस्तक छापिनु दयनीय स्थिति हो । ती एक हजार प्रति पुस्तकमध्ये आधाभन्दा बढी गुमनाम नै हुन्छन् भने बाँकी रहेका आधाबाट बीस पच्चीस प्रतिशत पुस्तकहरू मात्र पाठक र समालोचकको आँखामा पर्छन् । अनि ती मध्येमा बढीमा बीसदेखि पच्चीस पुस्तकहरू गुणस्तरीय पुस्तक भनेर चिनिन्छन् ।
यसरी हेर्दा वर्षमा दुई तीन दर्जन जति पनि ‘गुण्स्तरीय’ पुस्तक निकाल्न नसक्ने हाम्रो नेपाली साहित्यमा गुणस्तरको खडेरी नै छ भन्दा कुनै अत्युक्ति नहोला । तर त्यसो भन्दैमा हामीले गुणस्तरमा मात्र ध्यान दिएर वर्षमा सय पचास पुस्तक मात्र निकाल्ने त ? के गुणस्तरहीन लेख्नेहरूलाई लेख्न दुरुत्साहन गर्ने त ? त्यसो गर्नु अवश्य मूर्खता हुनेछ ।
हामीले देखिहाल्यौँ, लगभग एक हजार पुस्तकबाट हामीले बढीमा पचासदेखि सय जति पुस्तक मात्र राम्रो पाउँछौं । यदि वर्षमा दुई हजार पुस्तक प्रकाशनमा आए भने कति राम्रा पुस्तक पाउँछौ होला ? त्यो सङ्ख्या गणितीय सूत्रमा पक्कै जाँदैन । दुई हजार पुस्तक प्रकाशन गर्दा राम्रा पुस्तक बीस पच्चीस पनि नहुन सक्छन्, तर बढेर दुई सयको सङ्ख्यामा पनि पुग्न सक्छन् । सामान्य सम्भावनाको नियमले हेर्दा पनि सय नपुगे पनि कम्तीका एक सय पचास त राम्रा पुस्तक आउलान् भन्ने अनुमान लगाउन सकिन्छ । त्यसरी हेर्दा सङ्ख्या वृद्धि हुँदा गुणस्तरीय पुस्तकको सङ्ख्या पनि वृद्धि हुने सम्भावना बढ्न जान्छ । तर गुणस्तरको पछि लागेर गुणस्तरहीन पुस्तकलाई दुरुत्साहन गर्ने हो भने हाम्रा गुणस्तरीय पुस्तकको सङ्ख्या झन् घट्न जान्छ ।
सङ्ख्या र गुणस्तरको सम्बन्धमा अमेरिकाको एउटा विश्वविद्यालयमा एक जना प्राध्यापकले आफ्ना विद्यार्थीमाथि एउटा प्रयोग गरेका थिए । उनी फोटोग्राफीका प्राध्यापक थिए । आफ्नो प्रयोगको लागि उनले आफ्ना विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरे । एउटा समूहका विद्यार्थीहरूको काम एक सेमेस्टरमा एक सयवटा फोटो खिच्नु थियो भने अर्को समूहका विद्यार्थीको काम भने एक सेमेस्टरमा एउटा मात्र फोटो खिच्नु पर्ने तर त्यसको गुणस्तर उच्चकोटीको हुनुपर्ने थियो । त्यसकै आधारमा उनीहरूले त्यो सेमेस्टरको अङ्क प्राप्त गर्थे । छ महिनापछि दुवै समूहका विद्यार्थीहरूले आफूले खिचेका तस्बीरहरू प्राध्यापकलाई बुझाए । अचम्म के भयो भने एउटा मात्र गुणस्तरीय फोटो खिच्ने विद्यार्थीको समूहले खिचेका तस्बीरहरूभन्दा एक सयवटा तस्बीर खिच्ने समूहका धेरै तस्बीरहरू उच्चकोटीका निस्किए । किन त्यस्तो भएको थियो भने एउटा मात्र तस्बीर बुझाउनुपर्ने समूहका विद्यार्थीहरूले केही तस्बीरहरू खिचे अनि तिनैमध्येबाट राम्रो तस्बीर निकालेर त्यसलाई पूर्णता दिनेतर्फ लागे । एक सयवटा तस्बीर बुझाउनुपर्ने समूहका विद्यार्थीले तस्बीर खिच्दै जाँदा त्यसबाट अनुभव सँगाल्दै गए र उनीहरूले खिचेका तस्बीरहरू एकपछि अर्को झन् राम्रा हुँदै गयो, र अन्त्यमा उनीहरूका तस्बीरहरू एउटा मात्र ‘पूर्ण’ तस्बीर बुझाउने समूहकोभन्दा राम्रा निस्क्यो ।
यो कुरा साहित्यमा ठ्याक्कै लागू नहुन सक्ला तर दुवै विधा सिर्जनात्मक विधा भएकाले यो अनुसन्धानको नतिजा साहित्यमा पनि त्यत्तिकै सान्दर्भिक हुन्छ । त्यसै पनि ‘अभ्यासले पूर्णता दिन्छ’ भन्ने कुरा अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि अपवाद हुन सक्दैन । कतिपय लेखकहरू निकै सिर्जनशील पनि हुन सक्छन् । उनीहरूको पहिलो रचना नै उत्कृष्ट हुन सक्छ तर त्यस्ता प्रतिभा विरलै पाइन्छन् । अधिकांश लेखकहरू समयको कसीमा घोटिँदै आफ्ना रचनाहरूलाई परिमार्जन गर्दै, अनुभव सँगाल्दै अगाडि बढेर एकपछि अर्को रचना राम्रो बनाउँदै जाने हो । त्यसैले गुणस्तरीय पुस्तक निकाल्न लेखकलाई मेहेनत लाग्छ, समय लाग्छ ।
सामान्य दिमागले सोच्दा पनि यदि सङ्ख्या नै नहुने हो भने गुणस्तरको कुरा पनि आउँदैन । प्रकृतिको नियम पनि यस्तै छ, एउटै प्रजातिका सृष्टि पनि कुनै अत्यन्तै राम्रो हुन्छ कुनै अत्यन्तै नराम्रो । मानिसहरू पनि कुनै विलक्षण प्रतिभाका हुन्छन् कुनै सुस्त मनस्थितिका । हामीले सबै मानिस विलक्षण प्रतिभाका खोज्यौं भने त्यहाँ पनि हामीले फेरि दाँज्न शुरु गर्ने छौँ- कुनचाहिँ ती सबैभन्दा नराम्रो भनेर । त्यहाँ पनि हामीले कसैलाई गुणस्तरहीन घोषित गर्ने नै छौँ । त्यसैले यो प्रश्नको उत्तर निकै कठीन छ । धरतीका सबैजसो कुरा सापेक्ष भए जस्तै यो प्रश्न पनि सापेक्ष नै छ । त्यसैले लेखिएका पुस्तकहरूमा कुनै पुस्तक गुणस्तरीय हुन्छन् अनि कुनै पुस्तक गुणस्तरहीन हुन सक्छन्, जुन सामान्य कुरो हो ।
गुणस्तरको कुरा गर्दा सबभन्दा टड्कारो प्रश्न हो – कसरी गुणस्तरको मापन गर्ने ? केलाई गुणस्तर भन्ने ?
कसैले पुस्तकले उठाएको विषयलाई गुणस्तर मान्ला, कसैले लेखकको लेखन शैलीलाई गुणस्तर मान्ला, कसैले पुस्तक बिक्रीको सङ्ख्याको आधारमा गुणस्तर राम्रो या नराम्रो भन्ला अनि कसैले भने समीक्षकहरूको समीक्षालाई गुणस्तरको मापनको आधार मान्ला । त्यसैले हरेक पाठकका, हरेक समीक्षकका गुणस्तरका मापदण्ड पनि फरक फरक हुन सक्छन् । कतिपय पाठकहरूलाई पुस्तकले उठाएको विषय राम्रो हुँदाहुँदै पनि लेखनशैली खारिएको छैन भने पुस्तक गुणस्तरहीन लाग्न सक्छ । त्यस्तै, सामान्य विषयमा लेखेको पुस्तक पनि यदि लेखकको लेखनशैली राम्रो छ भने गुणस्तरीय लाग्न सक्छ ।
पहिलेका साहित्यकारहरूले लेखेका पुस्तक अहिले हामीलाई अहिले सुन्दर लाग्छन् । तर साँच्चै भन्ने हो भने अहिलेको ‘गुणस्तर’को कसीमा राखेर हेर्दा तीमध्ये धेरै पुस्तकहरू निकै फिका पनि हुन सक्छन् । मलाई पहिले स्कूल पढ्दा निकै गुणस्तरीय लागेका पुस्तकहरू आज पढ्दा निकै सामान्य लाग्छन् । त्यसैले गुणस्तर भनेको आजले मात्र निर्धारण गर्ने कुरा हैन । आफ्नो समयमा निकै गुणस्तरहीन लागेका पुस्तक केही वर्षपछि निकै स्तरीय पनि हुन सक्छन् । त्यसैले एकै नजरमा कसैको गुणस्तरको निर्धारण गरिहाल्नु पनि ठीक हुँदैन । अहिले सामान्य लाग्ने ती पुस्तकहरू वर्षौंपछि अमूल्य लाग्न सक्छन् । पुस्तकहरू तत्कालीन समाजका ऐना हुन् । त्यो समाजको आर्थिक, सामाजिक, धार्मिक, बौद्धिक, सांस्कृतिक सबै आयामहरू पुस्तकहरूमा समेटिएका हुन्छन् । त्यसैले अहिले कमसल नै देखिए पनि ती पुस्तकहरू हाम्रा अमूल्य निधि हुन् ।
गुणस्तरहीन पुस्तकहरू पाठकहरूबाट तिरस्कृत भैहाल्छन् । कोही लेखक साँच्चै नै यो क्षेत्रमा गम्भीर भएर लाग्छ भने उसले आफ्नो लेखन परिष्कृत गर्दै लान्छ । उसलाई पुस्तकको गुणस्तरको आधारमा दुरुत्साहन गर्नु ठीक होइन । जति धेरै पुस्तकहरू छापिन्छन् त्यति धेरै गुणस्तरीय पुस्तक आउने सम्भावना रहन्छ । जति धेरै लेखक साहित्यमा उदाउँछन् त्यति धेरै विविध विषय, विधा र शैलीका पुस्तक आउँछन् । त्यसैले हाम्रो भाषा र साहित्यलाई जीवन्त राख्ने हो भने हामीले गुणस्तरमा मात्र अन्धो भएर लाग्ने हैन, हामीले नयाँ पुराना सबै लेखकहरूलाई बढीभन्दा बढी कृतिहरू प्रकाशन गर्न प्रोत्साहन र सहयोग गर्नुपर्छ, धेरैभन्दा धेरै लेखकहरू जन्माउनको लागि योगदान गर्नुपर्छ ।
लेखन भाषाको सेवा हो । नेपाली भएर जन्मेपछि आफ्नो भाषाको सक्दो सेवा गर्नु एउटा नागरिकको दायित्व पनि हो । आशा गरौं, धेरैभन्दा धैरै लेखक नेपाली भाषामा आबद्ध होऊन् र धेरैभन्दा धेरै पुस्तकहरू प्रकाशनमा आउन् । यसो भएमा सङ्ख्यासँगै गुणस्तर पनि माथि उठ्दै जानेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

