कुनै बेला ‘पशुपतिनाथले हाम्रो यात्रा सफल पारुन्’ वाक्यांश अधिकांश यात्रुवाहक सवारीको भित्री भागमा लेखिएको भेटिन्थे । आजसम्म पनि नेपालका सडकहरू भगवान् भरोसामा नै चलिरहेको आभास हुन्छ ।

महिलाहरूको चाड हरितालिका तीज हामीले धुमधामका साथ मनाइसकेका छौं । अरू ठूला चाडपर्वहरू नजिकिंदै गइरहेका छन् । हरेक वर्ष झैं यस वर्ष पनि मनसुनको प्रभाव रोकिने क्रममा छ, देश चाडपर्वमय बन्दै गइरहेको छ । व्यापार-व्यवसाय गर्नेहरू चाडपर्व लक्षित सरसामानको बन्दोवस्त मिलाउन कस्सिएका छन् ।

दशैंअघि ग्राहकवर्गको सहजताका लागि शहरका मुख्य मुख्य स्थानमा सुपथ मूल्यका पसलहरू पनि सञ्चालन गरिन्छन् । आवश्यक पर्ने मासुको व्यवस्थापनका लागि देशभित्रका विभिन्न स्थानबाट खसी, बोका, भेडा आदि र हिमाली भेगबाट च्याङ्ग्रा समेत आयात गरी शहर केन्द्रित गरिएको हुन्छ । जागिर र अन्य पेशामा हुनेहरू विदामा घर जाने र फर्कने दिनहरूको हिसाब गनिरहेका हुन्छन् । सर्वत्र चहलपहल र खुशीको माहौलसँगै क्रमिक रूपमा सामाजिक मनोभाव नै चाडपर्वमय बनिरहेको हुन्छ । विशेषगरी दशैंलाई लक्षित गरी विभिन्न रुटका बसहरूका लागि अग्रिम टिकट पनि खुलाइएको हुन्छ । परम्परा र संस्कृतिबमोजिम चाडपर्वहरूमा घरपरिवार एवं आफन्तजनसँगको भेटघाटका लागि मानिसहरू नियमित कामबाट निस्केर आआफ्ना गन्तव्यतर्फको यात्रामा दौडिइरहेका हुन्छन् । यसरी मनभरि योजना बनाउँदै चाडपर्व मनाउन गन्तव्यतर्फ लम्किएका सबै व्यक्तिहरू सुरक्षित तवरले घर पुग्छन् त ? एक गम्भीर प्रश्न खडा हुन्छ ।

कुनै पनि दुर्घटना कसैको इच्छाको विषय पक्कै होइनन्, तर पनि नचाहेका दुर्घटनाहरू हामीले बारम्बार भोगिरहनु परेको छ । यसै वर्षको मनसुन अवधिमा श्रृङ्खलाबद्ध रूपमा सडक दुर्घटनाहरू सामना गर्यौं । आषाढ अन्त्यतिर मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा ६५ जना यात्रुसहित दुईवटा बस त्रिशूली नदीमा खस्न पुगे, जसमध्ये तीनजना मात्रै पौडेर उम्कन सफल भए । त्यस्तै, तनहुँको आँबुखैरेनीमा भारतीय यात्रु सवार बस मर्स्याङ्दीमा खस्यो । ४३ जना भारतीय नागरिक सवार रहेको उक्त बस दुर्घटनामा २७ जनाको मृत्यु भयो । अन्य घाइते भए । लगत्तै सिन्धुलीको कुडुँलेमा ४ जना सवार रहेको कार सुनकोशीमा खस्यो, जसमध्ये ३ जना नदीमा बेपत्ता हुन पुगे ।

दुर्घटनामा सानो सङ्ख्यामा हुने घाइते र मृत्यु लगायतका क्षतिको विवरणहरू न्यूज कभरेजमा रहे तापनि त्यति धेरै चर्चामा रहने गरेको पाइँदैन । भदौ दोस्रो साता महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बस नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउने भन्ने स्थानमा डिभाईडरमा ठक्कर खाई दुर्घटनामा पर्यो । १७ जना यात्रु घाइते हुन पुगे । त्यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर खण्डमा ६ वटा सवारी साधनहरू क्रमशः एकको पछाडि अर्कोले ठक्कर दिए । यसै साता तनहुँको आँबुखैरेनीस्थित खहरे खोल्सामा बस खस्दा ११ जना घाइते भए । त्यस्तै, सहरी क्षेत्रका सडकलाई पनि सुरक्षित अनुभूत गर्न सकिएको छैन । भक्तपुरको गठ्ठाघरमा भएको ट्रक र स्कुटर दुर्घटनामा स्कुटर चालकले ज्यान गुमाउन पुगेका थिए । गठ्ठाघरको दुर्घटनास्थललाई हेर्दा आमभीडले हरेक दुर्घटनास्थललाई थप चुनौतीमा परिणत गरिदिने यथार्थतालाई समेत झल्काएको छ । दुई पाङ्ग्रे सवारी दुर्घटनामा हुने घाइते र मृतकका सम्बन्धमा देशभरको तथ्याङ्क भयावह रहेको देखिन्छ ।

राजमार्गमा निरन्तर सवारीसाधनहरू तछाडमछाड गरी दौडिरहेका छन् तर सुरक्षित यात्राको महसूस गर्न सकिएको छैन । पीडादायक दुर्घटनाहरू सधैं सामाजिक चिन्ताको विषय रहेको छ । सामूहिक सहकार्यको जगमा राजमार्गलाई सुरक्षित महसूस गराउन सक्नु पर्ने हो तर राजमार्गमा समस्याहरू आइपरेका बखत समाधानका लागि सामान्यतः सुरक्षा निकायहरू नै अग्रपंक्तिमा परिचालन हुन्छन् । राजमार्गको सुरक्षाका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेका अन्य निकायहरू पनि छन् जसले समयमै नीतिगत र संरचनागत सुधार गरी सडक दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । राजमार्ग सुरक्षाका लागि केन्द्रमा बन्ने योजनाले राजमार्गका ससाना इकाईहरूलाई सम्बोधन गर्न सक्नुपर्छ । राजमार्गको सुरक्षामा अग्रपंक्तिमा खटाइएका राजमार्गमा अवस्थित सुरक्षा युनिटहरूलाई ड्युटी धान्न पुग्ने गरी साधनश्रोतको उपलब्धता छ कि छैन भन्ने पनि चासो दिएर बुझिदिनुपर्ने हुन्छ । राजमार्ग सुरक्षामा खटाइएका सुरक्षा इकाईहरूले मागीखोजी गरेर साधनश्रोत जुटाउनु पर्ने अवस्था आएमा छरितो उद्धार र सुरक्षात्मक परिचालन प्रभावकारी हुन सक्दैन ।

उदाहरण स्वरूप टर्चलाईट, खुर्पा, डोरी र स्ट्रेचर जस्ता केही सामाग्रीहरूलाई हेरौं । रातको समयमा राजमार्गमा हुने कुनै सवारी दुर्घटनाको उद्धारमा खटिइगएका सुरक्षाकर्मीहरूसँग उच्च क्षमताको टर्चलाईटले खोजी गरेमा झाडी बुट्यानले नदेखिएका घाइते देखिन सक्छन् । डोरी र स्ट्रेचरको सहायताले नदी किनारको कान्लामुनिदेखि सडकमाथिसम्म ल्याई चाँडोभन्दा चाँडो अस्पताल पठाए घाइतेहरूको जिउज्यान जोगिन सक्छ । हेर्दा सामान्य लाग्ने यस्ता केही सामग्रीहरू सुरक्षा इकाईहरुलाई उपलब्ध गराउनुभनेको दुर्घटनाका बखत दुई चार जना बढीको जिउज्यान जोगिनु पनि हो । कतिपय इकाईहरूले समयमै उद्धार सामग्री पाएका छैनन् भने यसले उद्धार कार्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । भौगोलिक बनावट अनुसार समथर क्षेत्रका सडक र पहाडी क्षेत्रका सडकहरूमा उद्धारकर्ताका लागि सवारीसाधन लगायतका अन्य इक्युपमेन्टहरूको आवश्यकता फरक-फरक हुन सक्छ ।

सीमित साधनस्रोतका बावजुत हरेक जिल्लाले राजमार्ग सुरक्षासहितका चाडपर्व लक्षित सुरक्षा योजनाहरू तयार पारी परिचालित भएका हुन्छन् । समाजमा आइपर्नसक्ने विभिन्न प्रकृतिका चुनौतीहरूलाई व्यवस्थापन गर्दै समाजलाई सुरक्षित बनाउन समस्त सुरक्षा निकायहरूको उत्तिकै अहम् भूमिका रहेको हुन्छ । राजमार्ग क्षेत्रले सामना गरेका ठुल्ठूला सडक दुर्घटनाहरूमा तत्कालै उद्धार कार्यमा गर्नुपर्ने हुन्छ । पहिरो लगायत अन्य कारणले मुख्य राजमार्गहरूमा हुनसक्ने अवरोध छिटोभन्दा छिटो पन्छाई सडक सञ्चालनमा ल्याउनुपर्ने अवस्थाहरू हुन्छन् । यस्तो अवस्थामा नेपाली सेनाको सक्रियता सधैं प्रशंसनीय रहने गरेको छ । राजमार्ग सुरक्षा लगायत समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीका हरेक ससाना इकाईहरू निरन्तर अहोरात्र परिचालित छन् ।

राजमार्ग सुरक्षामा ट्राफिक प्रहरीको चेकजाँच अर्को महत्त्वपूर्ण सुरक्षात्मक कडी हो । सवारी चालकले आफ्ना कागजपत्र ट्राफिक प्रहरीलाई सहज किसिमले देखाउन सक्नुपर्छ । राजमार्गको यात्रा सुरक्षित हुनका लागि ट्राफिक प्रहरीलाई हरेक सवारी चालकले आफ्नो कागजातहरू देखाएर सहयोग गर्नुपर्दछ । तर केहीले ट्राफिक प्रहरीको चेकपोइन्ट छलेर हिंड्न खोजेको पनि पाइन्छ । उदाहरण हेरौं, २०८० पौष २६ गते राति दाङको भालुवाङमा यात्रुवाहक बसले प्रहरी चेकिङ्ग छल्न खोज्दा राप्तिमा खसेर १२ जनाको मृत्यु भयो । अन्य कयौं घाइते हुन पुगेका थिए । सडकमा ट्राफिक प्रहरी नै नचाहिने र प्रविधिले व्यवस्थापन गर्न सकिने भनी सडक सुरक्षाका विषयमा विभिन्न हलुका तर्क गर्नेहरू पनि भेटिन्छन् तर हाम्रो देशको सन्दर्भमा कसैलाई लहडी मुड चलेको भरमा व्यक्त गरिएका अभिव्यक्तिले मात्र राजमार्गलाई सुरक्षित बनाउन भने पक्कै सहयोग गर्दैन ।

राजमार्ग सुरक्षा र सडक दुर्घटनाका बखत तत्कालै गरिने उद्धार कार्यहरूमा सशस्त्र प्रहरी बल नेपालको भूमिका अझ सशक्त रहेको पाइन्छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयले हरेक किसिमका उद्धारकर्तालाई अभ्यासमा खरो उतार्दै विपद् उद्धार क्षेत्रमा आफूलाई राष्ट्रकै गहनाको रूपमा एक अब्बल शिक्षालय सावित गर्न सफल भएको छ । आवश्यक संख्यामा गोताखोरहरूको दक्ष जनशक्ति उत्पादन गर्ने साथै जलबाट उत्पन्न प्रकोप बढी हुने र सडक दुर्घटनाको जोखिम उच्च हुने स्थानमा उद्धार कार्यका लागि बेस खडा गरी दक्ष जनशक्ति तैनाथ राख्ने योजनालाई सशस्त्र प्रहरी बल नेपालले अभियानकै रूपमा अघि बढाइरहेको छ । व्यवस्थित र सुरक्षित राजमार्गका लागि राष्ट्रिय सडक सुरक्षा परिषद्सँग नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सहकार्यको योजनासहित समझदारीपत्रमा गत वर्ष नै हस्ताक्षर सम्पन्न गरिसकेका छन् ।

विगतमा भएका सडक दुर्घटनाहरू र त्यस सम्बन्धमा तयार पारिएका प्रतिवेदनहरूको अध्ययन गर्ने हो भने दुर्घटना न्यूनीकरणमा काम गर्नुपर्ने निकायहरूका बारेमा थप जानकारी पाउन सकिन्छ । विस्तृत रूपमा अध्ययन गरी तयार पारिएका विभिन्न दुर्घटनासम्बन्धी प्रतिवेदनको कार्यान्वयन गर्न सकिंदैन भने प्रतिवेदन मात्र बनाउनुको कुनै अर्थ रहँदैन । छानविन समितिले लापरवाही गरेको ठहर गरी औंल्याइएका निकायहरूले तत्कालै आआफ्ना कमीकमजोरी सुधार गर्न जरुरी रहन्छ । सुधारोन्मुख नदेखिएका निकायहरूलाई सचेत गराउनु पर्ने जिम्मेवारी राज्यको पनि रहन्छ ।

हाल सिमलताल प्रतिवेदनका आधारमा सम्बन्धित निकायहरूलाई बुदाँगत रूपमा सुधारका काम गर्न निर्देशनसहित पत्राचार हुनु राजमार्ग सुधारको क्षेत्रमा सकारात्मक संकेत पक्कै हो । यद्यपि यातायात व्यवसायी र विज्ञहरूले यसलाई सतही भनी आलोचना गर्ने गरेको पनि पाइएको छ । अर्कोतर्फ, हवाई क्षेत्रलाई सुरक्षित बनाउन पर्यटन तथा नागरिक उड्ययन मन्त्रीले यसपटक विगतका सम्पूर्ण हवाई दुर्घटनासम्बन्धी तयार पारिएका प्रतिवेदनहरूको अध्ययन गराई कार्यान्वयनमा लैजाने नीति लिनुले अबका प्रतिवेदनहरू कार्यान्वयनतर्फ अघि बढ्नेछन् भन्ने नीतिगत आधारलाई टेवा पुराएको छ ।

हालै सम्मानित सर्वोच्च अदालतद्वारा यातायात समितिहरूको नविकरण गर्ने वा नगर्ने बारेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अधिकार हुने ठहर गरेको छ । यसले यातायात व्यवसायीलाई लेन अनुशासन र सडक नियमको पालना गराउनमा जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवार बनाएको देखिन्छ । यसपालिको दशैंलाई दुर्घटनारहित बनाउनुपर्नेमा गृहमन्त्रीज्यूको जोड रहेको र चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको निर्देशन समेत रहेको हुँदा राजमार्गको सुरक्षामा स्वयम् मन्त्रीज्यूहरूको चासो प्रशंसनीय छ । तर सरोकारवाला पक्षलाई मन्त्रालयमा बोलाएर गरिएको अन्तरक्रिया र सो पश्चातको निर्देशनले मात्र सडक सुरक्षित भएको मान्न सकिने अवस्था रहँदैन । सिमलताल दुर्घटनाको छानविन समितिले तयार पारेको प्रतिवेदनलाई आधार मान्दा साविक अवस्थामा नेपालका राजमार्गहरू सुरक्षित मान्न सकिने अवस्था देखिएको छैन । दुर्घटना वा घटना हुँदाका बखतमा मात्र क्षणिक माहोल मत्थर बनाउने गरी काम गरेको जस्तो देखाउने परिपार्टीले सडक दुर्घटना न्यूनीकरणको सवालमा जनतालाई सुरक्षित महसूस गराउन सकिंदैन ।

अब ढिलो गर्नुहुन्न । राजमार्गका समस्याहरूलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन योग्य र दीगो किसिमको नीति बनाइनु पर्दछ । नेपालले अन्तर्राष्ट्रिय सडक सुरक्षा कार्ययोजनालाई अनुमोदन गरिसकेको अवस्थामा राष्ट्रिय रणनीतिक योजना निर्माणमा सुस्तता देखाउनु हुँदैन । सडक दुर्घटनाको जोखिमपूर्ण अवस्थाले पर्यटन क्षेत्रलाई समेत पार्न सक्ने असरका बारेमा सदैव चनाखो रहन जरुरी हुन्छ । सडक दुर्घटनालाई शून्यमा झार्न नसकिए तापनि न्यूनीकरणतर्फ लाग्ने कार्यमा भने अब ढिला गर्नु हुँदैन । तत्कालै सुधारका कदमहरू चाल्न सकेमा मात्र अन्तर्राष्ट्रिय जगतमा हाम्रा राजमार्गहरू सुरक्षित रहेको सन्देश दिन सकिने अवस्था रहन्छ ।

(पौडेल सशस्त्र प्रहरी बल नेपालका पूर्व डिएसपी हुन् ।)