नेपाली भाषामा चेली शब्द कसले सुरु गर्‍यो भन्ने विषय आर्ष परम्पराका काव्यमा डुबुल्की मार्नुपर्ने हुन्छ । नेपालीहरू जब विकसित हुँदै आए । सामाजिक सम्बन्ध र मर्यादाहरू कायम हुँदै आउँदा यसको जन्म भयो होला । हाम्रो नेपाली भाषा परम्परामा भने यो असाध्य प्यारो, मायालु कताकता भित्र हृदयमै शुभभाव उत्पन्न गराउने खालको छ । कैयौँ पुर्खादिेखि यही महानताको द्योतक बनिआएको यो शब्द दिदी, बहिनीलाई सम्बोधन गरिने आदर्श परम्पराको निरन्तरता हो ।

चेली माइतीको सम्बन्ध असाध्यै प्यारो हुन्छ । दाजुभाइको बरु अनेक द्वन्द्व प्रतिद्वन्द्व, मेलमिलाप हुँदै अघि बढ्छ तर चेली माइतीको सम्बन्धमा द्वन्द्व प्रतिद्वन्द्वको छनक पनि हुँदैन । आमा, बाबु र चेली जत्तिका प्रिय सम्बन्धका शब्द नेपाली भाषामा सायदै अरू होलान् । टाढा गएका चेलीलाई सम्झिएर कैयौँ काव्य सिर्जना भए । त्यस्तै टाढा भएका चेलीले माइती, माइतीघर र माइतीदेश सम्झिएर मनमुटु भक्कानु पारेका र बलिन्द्र धारा आँसु झारेका कैयौँ करुणकाव्य लेखिएका छन् ।

अहिले तीज आउन लागेको छ । कैयौं महिना, वर्षदेखि भेट नभएका चेली लिन माइती जाने र ल्याउने चेली माइती भेटघाट र सुखदुःख बाँडचुँड गर्ने हाम्रो प्यारो पर्व नजिकै आइरहेको छ । यसले कैयौँ चेलीको मन फुरुङ्ग हुँदैछ भने कैयौँ माइतीहरू उत्साहित भएका छन् । कुशेऔँशी, दर खाने दिन, हरितालिका व्रतको दिन, ऋषिपञ्चमी पूजाको दिन आउन कति बाँकी छ भनेर कैयौँ माइती र चेलीहरू हातका औँला भाँची भाँची गन्न थालेका छन् ।

यो छोटो लेख लेख्नुको कारण चाहिँ अस्ति विराटनगरका साहित्यकार हरिप्रसाद बरालसँगको कुराकानीले हुँडलेको मनको हुँडलो नै हो । उहाँले अर्कै विषयमा कुरा गर्न मेसेन्जरमा घण्टी बजाउनुभयो । कुरा गर्दै जाँदा विराटनगरका केही साहित्यकार नारीहरू “हामीलाई अबदेखि चेली नभन्नू” भन्न थाल्नुभएको छ भन्नुभयो । मैले उहाँलाई कारण सोधेँ । उहाँले शब्दकोशले अपमानित अर्थ लगाएकाले उहाँहरूको चित्त दुखेको कुरा बताउनुभयो ।

अब म तीन छक्क परेँ । यो पुर्खाको वरदान भएकाले शब्दकोशमा खोजेर हेरेको पनि रहेनछु । अब दुईचार वटा हेर्नुपर्‍यो भनेर पल्टाउन थालेँ ।

तिनमा यस्तो भेटियो :

१: नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको नेपाली वृहत् शब्दकोश प्रथम संस्करण २०४० पल्टाएँ । त्यसको पृष्ठ नं ४२५ मा चेली शब्दका अर्थमा : १ छोरी । २ शिष्य, छात्रा । ३ दिदी–बहिनी । ४ अह्राउपह्राउ मान्ने आइमाई । ५ फुपू वा फुपूकी छोरी । दिइएको पाइयो । त्यहीँ पुछारमा चेलीबेटीका अर्थ भने : १ छोरी र छोरी समानका अरू स्त्री : छोरीचेली । २ दिदी–बहिनी र अरू त्यस्तै आइमाई । ३ शिष्य र तिनै सरहका  अरू नारी । यति अर्थ दिइएको पाइयो ।

२: नेपाल रिसर्च एसोसिएट्स काठमडौंले प्रकाशन गरेको प्रशासकीय तथा कानूनी शब्दकोश २०४१ पल्टाएर हेरेँ । त्यसको पेज नं. १३६ मा चेला–चेली ( ना.)  disciple; offspring, चेली–बेटी, छोरा– छोरी आदि अर्थ दिइएको पाइयो ।

४ : भाभा पुस्तक भण्डार चाबेल,काठमाडौँले प्रकाशन गरेको नेपाली शब्दसागर, दोस्रो संस्करण २०५८ पल्टाएर हेरेँ । त्यसको पृष्ठ नं. ४५३ मा चेली शब्दका अर्थमा : शिष्य, छात्रा, छोरी, दिदी–बहिनी, अह्राउपह्राउ मान्ने आइमाई, फुपू वा फुपूकी छोरी पाइयो ।

५ : नेपाली शब्दभण्डार २०६४ पल्टाएर हेरेँ । त्यसको पेज नं. ३३८ मा चेली शब्दका अर्थ : छात्रा ; शिष्य ; आफूसँग पढिरहेकी विद्यार्थी, छोरी, पुत्री, बहिनी, भाञ्जी पाइयो ।

६ : वि.बर्क र एस.जे. ले सम्पादन गर्नुभएको , बेलार्मिन भाषा–संस्थान दार्जिलिङले प्रकाशन गरेको सही शब्द सन् १९९४ को पेज नं. १६९ मा चेलीका पर्यायवाची शब्दहरू : अलका, कन्या, किशोरी, कुमारी, केटी, छोरी, ठिटी, बालिका, लडकी आदि पाइयो ।

७ : नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा नेपाली बृहत् शब्दकोशमा १.अह्राउपह्राउ मान्ने आइमाई । २.छोरी ३.दिदीबहिनी ४. फुपू वा फुपूकी छोरी ५.शिष्य,छात्रा आदि दिइएको पाइयो ।

८ : चूडामणि गौतमले सम्पादन गर्नुभएको, गौतम विद्यालय नेपाली शब्दकोश २०८१ को पेज नं. २७० मा चेली शब्दका अर्थ १ छोरी, २ शिष्य, छात्रा, ३ दिदीबहिनी, ४ अह्राउपह्राउ मान्ने आइमाई । ५ फुपू वा फुपूकी छोरी आदि दिइएको पाइयो  भने सोही पेजमा चेलीबेटीका अर्थ : १ छोरी वा छोरी समानका अरू स्त्री, छोरीचेली । २ दिदीबहिनी र अरू त्यस्तै आइमाई । ३ शिष्य र तिनै सरहका अरू नारी । दिइएको पाइयो ।

९ : महानन्द सापकोटाले लेख्नुभएको नेपाली शब्द परिचय (अनुक्रमणिका सहितको छपाई २०३७) पल्टाएर नहेरी मनले मानेन । त्यसको पेज नं. १७० मा चेलीबेटी (ने.ना.) (चेट+विट) छोरी, वैनी, भाञ्जी आदि । नारीवर्ग । भनेर अर्थ दिइएको पाइयो ।

यति मात्र हेरेपछि बगली कोश ,बालचन्द्र शर्मा, कर्कप्याट्रिक, एटन, टर्नबुललगायत अरू कोश वा व्याकरणकारतिर पसिन । किनभने मलाई एकातिर चेली शब्दको प्रियता पुर्खाको हियोको वरदानका लागि यति भए पुग्यो भने अर्कातिर विराटनगरका नारीले थालेको यसको बहिस्कारले मेरा मनमस्तिष्कमा घनले ठोकेको ठोक्यै गर्‍यो ।

अब अलिकति चेली शब्दको विमर्श गरौँ ।

नेपालीका समकालीन भाषाहरू हिन्दी, उर्दू आदि जस्तामा पनि चेली शब्द पाइन्छ । ती भाषामा यस शब्दको प्रयोग र अन्य भाषामा डुलेर यसलाई पर्गेल्ने काममा छरिनु आवश्यक छँदै छैन किनभने महानन्द सापकोटाको नेपाली भाषाको नेपाली शब्द परिचयले यसलाई नेपाली नाम शब्द भनेर नेपाली भाषीकै बोली–व्यवहारको उपज भएको प्रमाणित गरेको छ । अन्य कोशकारहरू पनि धेरै यसमा सहमत छन् ।

नेपाली परम्परामा बोलिंदै आएको ‘चेली’ सम्बन्धसूचक शब्द हो । नेपाली सामाजिक भाषामा माइतीको विपरीतार्थ शब्द दिदीबहिनी वा सोसरहका नारी नै हो । हाम्रा पितापुर्खाले हामीलाई हस्तान्तरण गरेको अर्थ यही हो । यो अर्थोपकर्ष भएको कुरा अहिले पनि नेपाली भाषाका प्रयोक्तालाई थाहा छैन ।

त्योभन्दा पर वा तलमाथि हुँदै होइन । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठानका शब्दकोशहरू, वसन्तकुमार शर्मा नेपालको शब्दकोश, चूडामणि गौतमको शब्दकोशमा कसरी अह्राउपह्राउ मान्ने आइमाई भनेर चेलीको अर्थ दिइयो ? भनेर नेपाली भाषाका महर्षिहरूलाई सोध्नै पर्ने भयो ।

अहिले आएर लेख्य परम्परा र संरचनामा अनेक विवाद भैरहेका छन् । अर्थत्वमा यस शब्दको कसरी अधोगति भयो बडो अचम्मको कुरा छ । शब्दकोश निर्माताले शब्दका अर्थ उत्पादन गर्नेतिर लाग्ने कि वक्ताले ग्रहण गरेका अर्थको प्रविष्टि गर्ने भन्ने कुरामा यहाँ चुकेको देखियो । यस अर्थले नेपाली नारीवर्ग मर्माहत बनाएको पाइन्छ । पुर्खाले सामाजिक,पारिवारिक सम्बन्धका लागि आर्जेको त्यस्तो प्रिय शब्दलाई झारेको देखेर उहाँहरू मर्माहत हुनु अस्वाभाविक पनि होइन ।

चेली शब्द सामाजिक सम्बन्ध सूचक भएकाले यो परिवार, समाज र अरआफन्तमा बडो प्रिय छ । त्यसरी नै प्रयोग हुन्छ । शिक्षाको विकाससँगै शिष्य वा छात्राको अर्थमा पनि नेपालीमा प्रयोग व्यापक भएको छ । गुरुचेला परम्परासँगै यस क्षेत्रमा आएको यो शब्द गुरुचेलीका रूपमा एकदमै प्रिय छ । नेपालीमा यो शब्द औपचारिक कार्यक्रममा नारीलाई सम्बोधन गर्न र मञ्च, सभासमारोहमा सम्बोधन गर्न उपयुक्त हुँदैन र त्यसरी पुर्खाबाट हामीलाई दिएको पनि होइन । त्यस्ता स्थान र अवसरमा पुरुष वर्गलाई चेला भनेर सम्बोधन गरिंदैन ।

यसबारे नेपालको संसदमा पनि महिला सांसदहरूद्वारा प्रश्न उठाउँदै यसले सम्बोधन नगर्न आग्रह गरिसक्नुभएको छ किनभने त्यहाँ पुरुष सांसदलाई न त चेला भनिन्छ न त महिला सांसदद्वारा माइती नै भनिन्छ । यसले यो निश्चित सामाजिक सम्बन्ध सूचक शब्द हो भन्ने कुरा अझ पुष्टि गर्छ । तीज र तिहारजस्ता चेलीमाइतीका पर्व हाम्रा गौरव हुन्, सांस्कृतिक धरोहर हुन् । यिनका नाम हाम्रा पुर्खाले राखेर हामीलाई हस्तान्तरण गरेका हुन् । तिनैलाई हामीले अँगाल्दै सँगाल्दै आएर भावी पुस्ताका लागि हस्तान्तरण गर्नु छ । त्यसो हुन सकेन भने हाम्रो पहिचान गुम्छ । भाषाको सही अर्थ भएन भने त्यसले हाम्रा सामाजिक व्यवस्थाहरूमा खलल पुग्छ । सांस्कृतिक गौरवको अवमूल्यन हुन्छ ।

हामीले आफ्ना पुर्खाका वाणीका उपज नेपाली शब्द (हे.नेपाली शब्द परिचय पेज १७०) का अर्थ खोज्न हिन्दी, उर्दू, बङ्गाली वा अरू कुनै भाषाको सहारा लिनु भनेको अपनत्व गुमाउनु हो । आफैँलाई विश्वास नगर्नु हो । नेपाली शब्दको अर्थ ता नेपालीकै वक्ताले व्यवहारबाट निकालेका हुन्छन् र त्यो नै यथार्थ हुन्छ । भाषा वैज्ञानिक, वैयाकरण वा कोशकारले ता ती व्यवहृत अर्थलाई यथास्थान र क्रममा प्रविष्टि गरेर दस्तावेजीकरण गर्ने हो ।

यस सन्दर्भमा चेली शब्दको अर्थ अह्राउपह्राउ मान्ने आइमाई कहाँबाट आयो त ? अवश्य पनि कतैबाट आयात गरेर थपक्क राखियो । कुनै नेपालीले कुनै नेपाली नारीलाई यस्तो गर चेली, उस्तो गर चेली भन्छ भने त्यो बहिनीको अर्थमा भनेको हो । त्यसै आधारमा त्यस्तो तल्लो स्तरको अर्थ निकाल्न मिल्दैन । त्यसो हो भने त चेला शब्दको अर्थ पनि अह्राउपह्राउ मान्ने पुरुष भन्नुपर्‍यो नि । त्यसो ता भनिंदैन ।

नेपाली भाषामा चेली शब्दको अर्थ त्यति अपकर्ष हुनैसक्तैन । त्यसकारण यस शब्दलाई उच्च सम्मानका साथ चलिआएको सामाजिक सम्बन्धको उच्च मर्यादाका रूपमा लिएर बचाऔं, प्रयोग गरौं । बरु ती शब्दको गलत अर्थ दिने शब्दकोशका गलत जतिलाई बहिष्कार गरौं, मूल शब्दलाई होइन ।

कतिपय प्रयोगगत त्रुटिले पनि नारी वर्गमा असन्तुष्टि आएका छन् भने प्रयोगमा सचेतता ल्याऔं । यस्तो प्रिय सम्बन्ध सूचक शब्दलाई पुर्खाले दिएको वरदानका रूपमै प्रयोग गरेर बचाऔं । निश्चित सम्बन्धका आधारमा नारीवर्गलाई सम्मानका साथ सम्बोधन गर्ने शब्द हो यो । बरु यस शब्दलाई नै बहिष्कार होइन मर्यादित प्रयोगका लागि नारीवर्गको अभियान चलोस्  ।