नेपाली साहित्यमा सार्वजनिक रूपमा खासै बहस नहुने विषय….

हरेक हप्ता अनलाइन कार्यक्रममा वार्ता गरिएका पाहुनाहरूको व्यक्तिगत विवरणलाई आधार मानेर यो कुरा लेख्दैछु ।

नेपाली साहित्यमा एकदमै थोरै मात्र त्यस्ता स्रष्टाहरू हुनुहुन्छ, जसको व्यक्तिगत विवरणको लिस्टमा पुरस्कार तथा सम्मानको सूची हुँदैन । लामो समयदेखि नेपाली साहित्यमा साधनारत र स्थापित लेखकहरूको व्यक्तिगत विवरणमा समेत पुरस्कारको सूची पाइँदैन । तर यस्ता स्रष्टाहरू एकदमै नगण्य मात्रामा हुनुहुन्छ । लिखित र अनलाइन गरेर २ सय ५० जनाभन्दा धेरै स्रष्टासँग वार्ता गरिएको आधारमा भन्ने हो भने ती स्रष्टाहरूको नाम लिन सकिन्छ, जसले पुरस्कार लिनुभएको/पाउनु भएको छैन, यस्ता स्रष्टा दुई-चार जना मात्र हुनुहुन्छ । बिल्कुलै नयाँ सर्जक भएका कारण नपाएको कुरा बेग्लै भइहाल्यो ।

त्यसरी उहाँहरूले पुरस्कार नपाउनुको/नलिनुको कारणहरू मध्ये मुख्य कारण के हो भने, पुरस्कारका लागि जसरी स्रष्टा स्वयमले निवेदन दिनुपर्ने चलन जुन छ, अथवा भनौँ “मेरो कृति अथवा मलाई पुरस्कार दिइयोस्” भनेर स्रष्टाले निवेदन अथवा कृति बुझाउनु पर्ने परिपाटी छ (अपवाद बाहेक), त्यो परिपाटी अथवा त्यो नियम उहाँहरूलाई बिल्कुल मन पर्दैन र उहाँहरूले पुरस्कारका लागि निवेदन दिने गर्नु भएको छैन ।

अब पुरस्कारका लागि निवेदन नै नदिएपछि, सम्बन्धित ठाउँमा कृति नै नबुझाएपछि पुरस्कार पाउने कुरा पनि आउँदैन । यसरी नेपाली साहित्यमा राम्रो योगदान हुँदा हुँदै पनि उहाँहरू पुरस्कारबाट वञ्चित हुँदै आउनु भएको छ । पुरस्कार दिने त्यो नियमलाई मन नपाएर पुरस्कारको लागि लाइनमा नबस्ने स्रष्टाहरू नेपाली साहित्यमा कति नै हुनुहुन्छ होला र ? नगण्य मात्रामा ।

भारतीय नेपाली साहित्यमा पनि केही स्रष्टाहरू हुनुहुन्छ, जसलाई पुरस्कारको यो चलन मन पर्दैन । केहीले भने त्यो नियम मन नपर्दा नपर्दै पनि निवेदन दिएर पुरस्कार थापेको रेकर्ड छ । प्रकाश सायमी जस्ता स्रष्टाहरू पनि हुनुहुन्छ, जसले “म पुरस्कार तथा सम्मान लिनेछैन” भनेर सार्वजनिक रूपमै घोषणा गरिदिनु भएको छ र एउटा सिर्जनशील व्यक्तिका लागि पुरस्कार र सम्मानले खासै अर्थ राख्दैन भन्ने गतिलो उदाहरण बन्नुभएको छ ।

अब, यदि सम्पूर्ण स्रष्टाहरूले पुरस्कारका लागि निवेदन दिने कार्य बन्द गर्ने हो भने, पुरस्कारका लागि स्थापना भएका ती संस्थाहरूले के गर्थे होलान् ? अथवा, पुरस्कारका लागि स्थापना भएका ती सम्पूर्ण संस्थाहरूले आफैँ कृतिहरू खोजेर, स्रष्टालाई आफैँले खोजेर पुरस्कार गर्ने चलन बसाउने हो भने कति राम्रो हुन्थ्यो होला ? यसको गरिमा अझै कति माथि पुग्थ्यो होला ? तर यही नियमलाई यसरी नै निरन्तरता दिँदै जाने हो भने भोलिका दिनमा केवल सम्मान र पुरस्कारकै लागि साहित्य सिर्जना नहोला भन्न सकिन्न ।

“पुरस्कारका लागि लेख्नेहरू बेइमान हुन्,” मलाई याद भएसम्म साहित्यकार उमा सुवेदीले धेरै वर्षअघि एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भन्नुभएको वाक्य हो यो । यदि उहाँले भनेको हैन भने सच्याइदिनु होला । तर भनेको कुरा चाहिँ यही थियो । उहाँले भने जस्तै यस्ता बेइमानहरू कति छन् होला नेपाली साहित्यमा ? अथवा भोलिका दिनमा कति होलान् ? यकिनका साथ भन्न त सकिन्न । तर छैनन् भनेर ग्यारेन्टी पनि गर्न सकिन्न र भोलिका दिनमा नहोलान् भनेर विश्वास गर्ने आधार पनि छैन । किनभने हाम्रो पुरस्कारको परिपाटी नै यस्तै छ ।

साहित्यपोस्टको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना” का पाहुना, साहित्यकार डा. सञ्जीव उप्रेती, जो पाँच दशकदेखि नेपाली साहित्यमा अनवरत रूपमा लागिरहनु भएको छ, उहाँको व्यक्तिगत विवरणमा सम्मान र पुरस्कारको सूची नदेखेपछि मलाई यति लेख्न मन लागेको हो । यो बारेमा मैले उहाँलाई केही जिज्ञासा पनि राखेको थिएँ ।

उहाँले आफू पुरस्कारको विरोधी नभएको र यसमा आफ्नो तटस्थ धारणा रहेको बताउनु भयो । पुरस्कार प्रति त्यति रुचि नभएको र महत्त्वपूर्ण पनि नलाग्ने उल्लेख गर्नुभयो । त्यसकारण पनि हुनुपर्छ उहाँले पुरस्कारका लागि कहिल्यै आवेदन दिनु भएन । पुरस्कारको महत्त्व नदेख्नु अथवा यसप्रति कुनै मतलब नराखेर आफूलाई विशिष्ट व्यक्ति, महान् व्यक्ति ठान्ने उहाँको धेय पनि हैन । बस यति हो पुरस्कार उहाँको रुचिको विषयमा परेन । यसको विरोध गर्नु पर्छ भन्ने पक्षमा पनि उहाँ हुनुहुन्न ।

पुरस्कारले अधिकांश लेखकहरूलाई हौसला दिइरहेको छ भन्ने उहाँलाई लाग्छ । तर लेखक स्वयमले निवेदन दिएर अथवा आवेदन दिएर पुरस्कार लिने/दिने परिपाटी चाहिँ गलत भएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “लेखकले लेखनबाटै सन्तुष्टि लिएर अघि बढ्नु पर्छ । पुरस्कारकै लागि लेख्न थाल्ने हो भने उसको महत्त्व घट्नेछ । कुनै पुरस्कारको लागि आवेदन दिनुपर्छ, त्यो पुरस्कार पाउनको लागि जोड लगाइरहेका हुन्छन्, त्यसका लागि निकट सम्बन्धहरू खोजिरहेका हुन्छन्, सोर्सफोर्स लगाउने, त्यो खालको सिस्टमभित्र लेखकलाई पसाइन्छ भने त्यो गलत कुरा हो । त्यसले लेखकलाई लेखक हुन दिँदैन । त्यसले लेखकलाई नोकर बनाउँछ । चाटुकार बनाउँछ  । साथै  त्यसले लेखकलाई आफैँप्रति इमानदार हुन दिँदैन । लेखक आफैँप्रति इमानदार हुनुपर्छ । इमानदार नभई राम्रो सिर्जना गर्न सकिँदैन ।”

जसले पुरस्कार दिने ठेक्का लिएर बसेको छ, उसले तपाईंले नेपाली साहित्यमा के के र कति योगदान पुर्‍याउनु भएको छ भन्ने कुराको जानकारी समेत हुँदैन र मैले नेपाली साहित्यमा यति योगदान पुर्‍याइसकें, मलाई पुरस्कार दे भनेर माग्नु कति जायज कुरा हो ? माग्नेलाई पनि लाज लाग्नु पर्ने हो हुन त । बेलाबेला फेसबुकतिर “मेरोमा त कसैले लाइक कमेन्ट नै गर्दैनन्” भनेर गुनासो गरेको पनि भेटिन्छ । यसरी फेसबुकमा लाइक कमेन्ट माग्नु र पुरस्कार माग्नुमा कति नै फरक होला र ? मलाई त झन्डै उस्तै नै लाग्न थालेको छ अचेल ।

सम्मान  र पुरस्कारको परिपाटी आफैँमा नराम्रो हो भन्ने पक्षमा म पनि छैन । जस-जसले पुरस्कार र सम्मान दिँदै आउनु भएको छ, उहाँहरूलाई सलाम छ । कुनै पनि सम्मान र पुरस्कारले हरेक सर्जकलाई हौसला दिन्छ,  प्रेरणा दिन्छ, ऊर्जा दिन्छ, थप जाँगर पलाएर आउँछ, त्यसमा शङ्का छैन । तर पुरस्कार र सम्मानका कारणले सर्जकको लेखन क्षमता र गुणस्तर वृद्धि हुन्छ भन्ने कुरामा भने विश्वास लाग्न छोडेको छ  । केही समालोचकहरू पनि यस कुरामा सहमत छन् । उहाँहरूको बुझाइ छ  – पुरस्कार र सम्मानले सर्जकलाई बिगार्ने काम गर्छ । त्यसमा धेरै हदसम्म सहमत छु । यहाँ  बिगार्छ भन्नुको अर्थ लेखक आफ्नो लेखनमा गम्भीर हुँदैन र पुरस्कारको भारीले थिचिएर गमक्क परेर बस्छ भन्न खोजिएको हो ।

हुन त त्यस्तो विधि सम्मान र पुरस्कार पाएको अनुभव त मसँग छैन । तर अरूको अनुभवबाट पनि यति कुरा त भन्न सकिने भइएको छ । सधैँ आफ्नै अनुभवबाट मात्रै सिकिन्छ भन्ने  पनि छैन । कहिलेकाहीँ त अरूको अनुभवले पनि ठूलो काम गरिरहेको हुँदो रहेछ ।

युएईमा हुने प्राय: साहित्यिक कार्यक्रममा रचना वाचन गरे बापत प्रशंसा-पत्र दिने चलन छ । मैले पनि थुप्रै पटक त्यो पाएको छु । तर त्यो पाएर मैले त्यसैको ऊर्जाले अर्को खतरा कविता लेखेको रेकर्ड मसँग छैन । रुमका साथीहरूलाई देखाएर उनीहरूभन्दा म विशेष छु भनेर अहंकार गर्न र फोटो खिचेर फेसबुकमा राखेर बधाई खान बाहेक त्यो प्रशंसा-पत्रको अर्को उद्देश्य मैले देख्न छोडेको छु । पुरस्कार र सम्मानले म अरूभन्दा विशेष छु, विशेष हो भन्ने भ्रम मात्रै निर्माण गर्ने रहेछ । लेखनका हिसाबले अरूभन्दा विशेष हुनु त राम्रै कुरा हो । तर अरूसँग मागेर पाएको पुरस्कारका कारण आफूलाई विशेष ठान्नु चाहिँ पक्कै पनि उचित नहोला ।

यदि पुरस्कारले साँच्चै नै लेखकको लेखन क्षमता वृद्धि गर्थ्यो भने एक पटक मदन पुरस्कार पाएको लेखकको अर्को कृति आउँदा त्योभन्दा राम्रो भएर आउनु पर्ने होइन र ? आएको छ त ? पक्कै पनि छैन । किनभने नेपाली साहित्यमा सत्यमोहन जोशीबाहेक दोहोर्‍याएर मदन पुरस्कार पाउने अर्को को छ ? कोही पनि छैन ।  त्यसो भए पुरस्कार पाउने अथवा पाएका कृति मात्र राम्रो, अरू नराम्रो भन्ने हो त ? मलाई त्यस्तो लाग्दैन । तर पुरस्कारको मापदण्डले त्यही भन्छ ।

यो सामाग्री तयार गर्दैगर्दा पनि “राष्ट्रिय युवा सेवा कोष” ले “युवावर्ष मोती पुरस्कार २०८१” का लागि आवेदन माग गरेको पत्र फेसबुकतिर देखेको थिएँ । कोषले राष्ट्रिय विभूति समेत रहेका युवाकवि मोतीराम भट्टको सम्झनामा १७ देखि ४० वर्षसम्मका युवा साहित्यकारहरू मध्येबाट कहिले एक जना, त कहिले दुई जनालाई सो पुरस्कार दिँदै आएको छ । विशेष गरी अरू सर्जकहरूको लागि काम गर्ने सर्जकलाई यो पुरस्कार दिइँदै आएको छ । “दिइँदै आएको छ” भन्दा पनि “माग्दै आइएको छ” भन्दा ठिक होला ।

किनभने यो पुरस्कार पाउनको लागि “पुरस्कारका लागि म किन योग्य छु ?” भनेर बढीमा दुई पेज लामो आफ्नो र आफ्नो साहित्यिक गतिविधिका बारेमा आफैँले लेखेर बुझाउनु पर्ने हुन्छ । मैले मेरो बारेमा आफैँले लेखेर, आफ्नो बयान आफैँले गरेर, आफूले आफैँलाई तारिफ गरेर, आफूले आफ्नो बारेमा बढाइचढाइ गरेर पुरस्कार दे भनेर माग्नु पर्ने कस्तो चलन बसायौँ हामीले ?  त्यति मात्रै हैन, आफूलाई चिन्ने दुई जना व्यक्तिको सामान्य विवरण पनि पठाउनु पर्ने नियम राखिएको छ । मलाई फलानो-फलानोले चिन्छन्, त्यसकारण मलाई पुरस्कार दे भनेर पुरस्कारको दाबी गर्नुपर्ने । लाजमर्दो कुरा हैन ?

कोषलाई प्राप्त यस्तै यस्तै निवेदनका आधारमा उसलाई उपयुक्त लागेको सर्जकको नाममा पुरस्कार घोषणा गर्दछ । नेपाली साहित्यमा कस-कसले, कहाँ-कहाँ बसेर, कसरी-कसरी, कस्तो-कस्तो योगदान पुर्‍याइरहेका छन् भन्ने कुरा थाहा हुँदैन भने “राष्ट्रिय युवा सेवा कोष” मोतीभवनमा बसेर के गरिरहेको छ ? यसरी निवेदन माग गरेर पुरस्कार बाँड्नु भन्दा आफैँले खोज अनुसन्धान गरेर पुरस्कार दिन सकिँदैन ? कि त्यति खोज्ने, त्यति अनुसन्धान गर्ने जाँगर कोषसँग छैन ? यो कुरा मोतीरामले थाहा पाए के भन्लान् ?

आखिर पुरस्कारको दोकान थापेर सर्जकहरूलाई कहिलेसम्म लोभ्याइरहने ? केटाकेटीलाई चकलेट देखाएर लोभ्याए जस्तो सर्जकलाई पुरस्कारले लोभ्याउने काम भइरहेको छ वर्षौंदेखि । यस्तै यस्तै पुरस्कार र सम्मानले गर्दा नै हुन पर्छ, सिर्जनशील भनेर समाजले मान्दै आएको सर्जकहरू पनि लोभी हुँदै गएका छन् । अहंकारी हुँदै गएका छन् । घमन्डी हुँदै गएका छन् । सर्जक भनेको त विनयशीलताको प्रतीक होइन र ? त्यो कति छ हामीमा ?

पुरस्कार र सम्मानमा गुटबन्दीले कसरी काम गर्छ भन्ने एउटा सानो उदाहरण पेश गर्न मन लाग्यो । त्यो कुरा यहाँ उल्लेख गर्दा यो आलेख अझै सान्दर्भिक होला भन्ने लागेर मात्रै त्यो कुरा भन्दैछु । यसलाई गुनासो पोखेको रूपमा नबुझिदिनु होला ।

केही वर्ष पहिले धरानमा आयोजित एक साहित्यिक कार्यक्रममा फेसबुक मार्फत अनलाइन कार्यक्रम चलाउने प्रस्तोताहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको थियो । त्यसमा नेपालसहित अन्य देशमा बसेर फेसबुकमा साहित्यिक कार्यक्रम चलाउने थुप्रै सञ्चालकहरूको नाम थियो । तर त्यसमा मेरो नाम थिएन ।  त्यति बेला युएईमा जम्मा दुई जनाले अनलाइन कार्यक्रम चलाउँथ्यौँ, एउटा म र अर्को श्रीभवानी नेपाल । त्यो सम्मानित हुने सूचीमा भवानीको नाम थियो । तर मेरो थिएन ।

त्यहाँसम्म पनि ठिकै थियो । त्यति बेला म “सगरमाथा साहित्य प्रतिष्ठान युएई” को फेसबुक पेजमार्फत कार्यक्रम चलाउँथेँ । त्यही संस्थाको पेजबाट कार्यक्रम चलाउने सुमित्रा सुमी (नुवाकोट), उहाँको नाम पनि सम्मानित सूचीमा थियो । तर त्यही संस्थाको पेजबाट कार्यक्रम चलाउने मेरो भने नाम थिएन । युएईमा श्रीभवानीलाई देख्नेले मलाई किन देखेन ? सगरमाथाको सुमित्रा सुमीलाई देख्नेले मलाई किन देखेन ? मलाई यो कुराले चाहिँ बेसी सकस बनायो ।

सम्मानको लिस्टमा मेरो नाम नहुनुले भन्दा पनि म चाहिँ किन र कसरी छुटेँ त  भन्ने जिज्ञासा चाहिँ महत्त्वपूर्ण रह्यो र त्यसको खोज गर्न थालेँ । नभन्दै के पत्ता लाग्यो भने त्यो सूची तयार पार्ने जिम्मा आयोजक समितिले जसलाई दिएको थियो, त्यो व्यक्तिलाई म बिल्कुल मन पर्दिन रैछु । मैले त उसलाई केही गरेको जस्तो त लाग्दैन थियो । तर उसले चाहिँ मलाई आफ्नो दुश्मन नै ठानेको रैछ । त्यति मात्रै हैन मैले चलाउने कार्यक्रमको बारेमा नकारात्मक कुराहरू पनि गर्दै हिँड्ने गरेको पनि थाहा पाएँ । त्यसकारण उसले जानी जानी मेरो नाम त्यो सूचीमा नराखेको रैछ । यो कुरा थाहा पाएपछि म मुसुक्क हाँसे र आफ्नो कामलाई निरन्तरता दिइरहेँ ।

अब तपाईं आफैँ अनुमान लाउन सक्नु हुनेछ जाबो एउटा सम्मान पत्रको लागि त यस्तो राजनीति गरिन्छ/हुन्छ भने, ठूला भनिएका पुरस्कार र सम्मानहरूको हालत के होला ? नेपाली साहित्यमा दिइने पुरस्कार र सम्मानहरू निष्पक्ष ढङ्गले दिइन्छ भन्ने कुरामा तपाईं विश्वास गर्न सक्नु हुन्छ ? मलाई चाहिँ विश्वास लाग्न छोडेको छ ।

निष्पक्षताकै कुरा गरिरहँदा यसैमा एउटा कुरा जोड्न मन लाग्यो । कहिलेकाहीँ के हुन्छ भने एउटा प्रतिष्ठान अथवा गुठीले सर्वोत्कृष्ट ठानेर पुरस्कार दिएको कृति, अर्को संस्थाले दिने पुरस्कारको उत्कृष्ट कृतिहरूको सूचीमा समेत पर्दैन । यस्तो अवस्थामा ती प्रतिष्ठानहरूको कृति छनौट प्रक्रियामा हामीले शङ्का गर्ने कि नगर्ने ? भन्ने सवाल आफैँमा अनुत्तरित छ । त्यसका धेरै उदाहरण त म पेश गर्न सक्दिनँ । एउटा उदाहरण चाहिँ दिन चाहन्छु ।

२०७९ सालको पद्मश्री पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास “मनु” लाई दिइएको छ । त्यही मनु सोही वर्षको मदन पुरस्कारको उत्कृष्ट कृतिहरूको सूचीमा समेत परेको छैन । एउटाले सर्वोत्कृष्ट ठानेको कृति अर्कोले उत्कृष्टहरूको सूचीमा समेत राख्दैन । किन ? यसको जवाफ न मसँग छ, न त तपाईंसँग छ । गुरुका कुरा गुरु नै जानुन् ।

त्यसैगरी २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास “ऐंठन” लाई प्रदान गरिएको छ । त्यही ऐंठन सोही वर्षको पद्मश्री पुरस्कारको उत्कृष्ट कृतिहरूको सूचीमा मात्रै पर्न सफल भएको छ, पुरस्कार पाएको छैन । मदन पुरस्कार गुठीले सर्वोत्कृष्ट ठानेको कृति पद्मश्री पुरस्कारलाई किन कमसल लाग्यो ? यसको पनि जवाफ मसँग छैन ।

त्यस्तै कविडाँडा साहित्य समाज चितवनले हरेक वर्ष प्रदान गर्दै आएका पुरस्कारहरू मध्ये एक लाख २५ हजार रुपैयाँ राशिको “उत्कृष्ट आख्यान पुरस्कार -२०७९”  देवीप्रसाद सुवेदीको उपन्यास “मनु” लाई दिएको छ । तर त्यहाँ पनि विवेक ओझाको उपन्यास “ऐंठन” उत्कृष्ट सूचीमा मात्रै सीमित रह्यो । कविडाँडाको सो आख्यान पुरस्कार, नेपाली साहित्यको सबभन्दा ठुलो राशिको आख्यान पुरस्कार हो ।

यसरी एउटै कृतिलाई हेर्ने दृष्टिकोण पुरस्कार दिने संस्थैपिच्छे किन फरक पर्छ ? यदि हरेक सिर्जनालाई हेर्ने दृष्टिकोण फरक हुन्छ, त्यसलाई मूल्याङ्कन गर्ने तरिका फरक हुन्छ भने पुरस्कारको नाममा एउटालाई बुई चढाएर अरू कृति र सर्जकलाई होच्याउने काम किन भइरहेको छ ?

कविडाँडा साहित्य समाजको कुरा आइरहँदा त्यसका संस्थापक अध्यक्ष तथा  साहित्यकार एल बी क्षेत्रीको कुरा जोड्न मन लाग्यो । एउटा अन्तर्वार्तामा उहाँले नेपाली साहित्यमा पुरस्कारहरू लेनदेन हुन्छ भनेर आरोप लाउनु भएको थियो । यही कुरा अरूले भनेको भए मलाई उति साह्रो चासोको विषय बन्दैन थियो होला । तर उहाँले यसो भन्दा ठूलो अर्थ राख्छ, किनभने उहाँ आफैँले पनि वर्षैपिच्छे थुप्रै पुरस्कारहरू दिँदै आइरहनु भएको छ । जसले पुरस्कार दिन्छ, उसैले त्यसको निष्पक्षता माथि  आरोप लाउँछ भने हामीले शङ्का गर्नु स्वाभाविक बन्छ ।

त्यसैले उहाँको त्यही भनाइलाई समातेर मैले साहित्यपोस्टको अनलाइन वार्तामा सोधेँ, “तपाईं आफैँ पुरस्कार दिनु हन्छ, फेरि तपाईं आफैँ पुरस्कारमा लेनदेन हुन्छ भन्नुहुन्छ । यस्तो अवस्थामा हामीले तपाईंमाथि चाहिँ शङ्का गर्ने कि नगर्ने ?”

“नगर्ने ! किनभने हामी लेनदेन गर्दैनौँ ।” भनेर उहाँले निर्धक्कका साथ जवाफ दिनुभयो । त्यसका साथै आफूले निष्पक्ष ढङ्गले पुरस्कार दिँदै आएको दाबी पनि गर्नु भयो र भोलिका दिनमा पनि यसलाई कायमै राख्ने उहाँले विश्वास दिलाउनु भएको थियो ।

साहित्यपोस्टकै अनलाइन वार्तामा कवि चन्द्र घिमिरेसँग पनि वार्ता गर्ने मौका मिलेको थियो । उहाँ अहिले अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त हुनु भएको छ । उहाँको व्यक्तिगत विवरणमा पनि सम्मान र पुरस्कारको सूची थिएन । व्यक्तिगत विवरण पठाउँदै गर्दा उहाँले, “कुनै पुरस्कार तथा सम्मान हालसम्म प्राप्त नगरेको र पाउने आशा र अपेक्षा पनि नराखेको । नेपालमा पुरस्कार एक प्रकारले खरिद बिक्रीमा लिने दिने गरिन्छ । अतः यसतर्फ रुचि र लालसा दुवै नरहेको ।” भनेर पठाउनु भएको थियो ।

त्यो कुराले मलाई हिट गर्‍यो र मैले पुरस्कारको विषयमा केही बहस गर्ने उद्देश्यले केही जिज्ञासा राखेँ । जसमा उहाँले दिएको केही जवाफ यस्तो छ, “पुरस्कारले यदि लेखकहरूको गरिमा बढाउने क्षमता राख्यो भने, त्यसले लेखकहरूलाई थप लेखनमा लाग्नको लागि, थप उचाइका रचनाहरू ल्याउनको लागि त्यसले ऊर्जा भर्ने काम गर्दछ । तर हाम्रोमा अधिकांश पुरस्कारहरू कि त लेनदेनमा आधारित हुने,  कि त जीवनको उत्तरार्धमा उसलाई एकपछि अर्को पुरस्कार दिँदै गइरहेका हुन्छौँ । उसको ऊर्जावान् समय बितिसकेको हुन्छ । लेखनको अवधि बितिसकेको हुन्छ । र हामी यस्तो बेलामा उसलाई पुरस्कार दिन थाल्छौँ कि त्यो पुरस्कारबाट उसले साहित्य सिर्जनामा थप भूमिका खेल्न सक्थ्यो, त्यो समय गुज्रिसकेको हुन्छ । त्यसैगरी लेनदेनको सन्दर्भमा को बाट कसलाई पुरस्कार दिँदा आफ्नो गुटलाई उठाउन सकिन्छ, आफ्नो उप-गुटलाई उठाउन सकिन्छ र आफ्नो टिमलाई उठाउन सकिन्छ ।

भनेपछि मलाई अर्कोले कन्याउने, मैले अर्कोलाई कन्याउने । यसरी हाम्रोमा लेखनबाट भन्दा पनि एक अर्कालाई बोकेर, सघाएर, उसलाई पुरस्कार दिलाएर हामीले साहित्यकारहरूको जुन साइज उठाउने प्रयास गरिरहेका छौँ, त्यसले अलिक गम्भीर प्रश्नहरू गर्ने ठाउँ छोडिदिएको छ । त्यसले गर्दा पुरस्कारका गरिमा घट्दै गइरहेका छन् । अहिले कतिपय साहित्यकारहरूले पुरस्कार पाउनुमा भन्दा पनि नपाउनुमा गर्व गर्न थाल्ने  अवस्था पनि आउन थालेको छ । यो अवस्था चाहिँ अलिक दुखद हो ।”

अर्को कुरा पुरस्कारका लागि आवेदन दिने चलन उहाँलाई पनि मन पर्दैन । जसले गर्दा साढे चार दशकको आफ्नो लेखन यात्रामा उहाँले कहिल्यै पनि पुरस्कारका लागि निवेदन दिनु भएन ।

पुरस्कारकै कुरा गर्दा साहित्यपोस्टकै अनलाइन वार्तामा कवि/सञ्चारकर्मी डा. नवराज लम्सालले भनेको कुरा याद आयो । २०७८ सालको मदन पुरस्कार घोषणा भएकै भोलिपल्ट उहाँसँग अनलाइन वार्ता गर्ने अवसर मिलेको थियो । त्यही मौकामा पुरस्कार सम्बन्धमा केही कुराकानी गरेको थिएँ र त्यसमा उहाँले राखेको भनाइ मध्ये केही यहाँ राख्न चाहन्छु ।

नेपाली साहित्यमा दिइने पुरस्कारहरूलाई उहाँले दुई भागमा विभाजन गर्नुभएको थियो । “कसैलाई पुरस्कारको भारी बोकाइदिएर पुरस्कार दाताको नाम स्थापित र अमर बनाउन पनि केही पुरस्कार स्थापना भएका छन् । त्यस्ता पुरस्कार पाउनेलाई भन्दा दिनेलाई बेसी लाभ हुन जान्छ । तर नेपाली साहित्यका धेरैजसो पुरस्कारहरू स्रष्टालाई स्थापित गर्ने खालका छन् । यस्ता पुरस्कारले विशुद्ध रूपमा स्रष्टालाई माथि उठाउने काम गर्छन् ।”

तर नेपाली साहित्यमा  मदन पुरस्कार बाहेक अर्को कुन पुरस्कार छ ?  जुन पाइसकेपछि एउटा स्रष्टा स्थापित होस् । थोरबहुत पद्मश्री पुरस्कारलाई मान्न सकिएला, साझा पुरस्कार र अन्य केही यस्तै पुरस्कारलाई मान्न सकिएला । भारतीय नेपाली साहित्यको हकमा दिल्लीबाट प्रदान गरिने सरकारी पुरस्कार “साहित्य अकादमी” लाई लिन सकिन्छ । ती पुरस्कारले पनि स्रष्टालाई स्थापित गर्ने भनेको नामको हिसाबले मात्र हो । लेखन क्षमतामा त त्यसले खासै फरक पार्दैन भन्ने कुरा माथि पनि आइसक्यो । त्यसदेखि बाहेकका पुरस्कारहरू त डा. लम्सालले भनेजस्तै पुरस्कार दातालाई अमर बनाउने खालका मात्रै छैनन् र ?

०० ०० ०० ००

अन्त्यमा,

तपाईंहरू साँच्चै नै आफूलाई नेपाली साहित्यको विकास र सर्जकको सम्मानका लागि स्थापना भएको हो भन्ने ठान्नुहुन्छ भने, पुरस्कारका लागि सर्जक स्वयमले निवेदन दिने परिपाटी बन्द गरिदिनुस् र अर्को कुनै वैज्ञानिक तरिकाले त्यसलाई दिने व्यवस्था गर्नुहोस् । यसै लेखमार्फत विनम्र आग्रह गर्दछु ।

हैन भने पुरस्कार स्थापना गरेर सर्जकबाट निवेदन माग गर्नु भनेको चाहिँ, चकलेटको दोकान खोलेर “ए ! केटाकेटी हो ! चकलेट खाने भए आओ !” भनेर बोलाए जस्तै हो । अधिकांश केटाकेटीहरू त चकलेटको लोभले जान्छन् पनि । तर अपवादमा यस्ता केही केटाकेटी पनि हुन्छन् जो त्यो चकलेटको लोभमा पर्दैनन् ।

यता नेपाली साहित्यमा पनि यही भइरहेको छ । अपवाद बाहेक हरेक स्रष्टाहरू पुरस्कारको लोभमा निवेदन बोकेर लाइनमा उभिइरहन्छन् हरेक वर्ष । पुरस्कार आफैँमा राम्रो कुरा हो, बस यसलाई दिने तरिका बद्लिनु जरुरी छ । समग्रमा मेरो आशय यति हो ।

साथै माथि उल्लेखित व्यक्ति र संस्थाप्रति व्यक्तिगत रूपमा मेरो कुनै दुश्मनी, रिस राग, कुनै दुराशय नभएको पनि जानकारी गराउन चाहन्छु । धन्यवाद । जय साहित्य ।