नेपाली साहित्यमा राजनीतिक व्यक्तित्व र साहित्यिक पाटो वर्तमान समयमा गहन, अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय  नेपाली साहित्यको डायस्पाेरामा झनै बहसको विषय भैरहेका छन् ।

हाम्रो नेपाली साहित्य र बिपी कोइरालाको राजनीतिक व्यक्तित्वलाई एकै ठाउँमा राखेर हेर्ने हो भने उनका कृतित्वको अनेक आयाममा १९ जना विद्वान्हरूले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय भन्दा बढी अनुसन्धाताहरूले शोध गरिसकेको तथ्य पाइन्छ । साहित्यलाई राजनीतिभन्दा माथिको उच्चतम विषय मान्ने बिपीको लेखनशैली, भाषिक प्रयोग, वाक्य गठन एवं रचना समकालीन साहित्यकारको तुलनामा पृथक् छ । साहित्यकार बिपीको स्पष्ट सन्देश छ– समाज इच्छाभन्दा व्यक्ति इच्छा ठूलो हो । त्यसकारण व्यक्तिका दमित भावना, इच्छा एवं मनोद्वेगलाई स्वतन्त्रतापूर्वक आत्मनिर्णय गर्न दिनुपर्छ । अनुहार एउटै भए पनि राजनीति र साहित्य दुई फरक विधामा उल्लेख्य योगदान पुर्‍याएका राजनीतिक कर्मी र साहित्यकार नेपालको अहिलेको परिवेशमा अपवादहरू मात्र छन्।

नेपालमा मात्र होइन, विश्वमै राजनीतिकर्मीहरूले साहित्यलाई प्राथमिकतामा राखेको पाइन्छ । बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल लेखक, कलाकार र इतिहासकर्मी थिए। साहित्यतर्फको नोबेल पुरस्कारसमेत प्राप्त गरेका उनको योगदानको बारेमा साहित्यको पाठ्यक्रममा प्रशस्त चर्चा हुँदै आएको छ। त्यस्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले लेखेको ‘ड्रिम्स फ्रम माइ फादर’ सबैभन्दा धेरै बिक्री (बेस्ट सेलर) हुने पुस्तकको सूचीमा पर्छ । यसरी हेर्दा बितेको एक दशकसम्म राष्ट्रिय  र अन्तर्राष्ट्रिय स्तरमा साहित्यले राजनीतिलाई र नवप्रवेसीहरुलाइ गाइड गरिरहेको पाइन्छ ।

मलाई लाग्छ – साहित्य र राजनीति दुवै एक सिक्काको दुई पाटा हुन् । तर साहित्य अगाडिको भाग हो । किनभने विश्व मान्यतामा स्थापित विचारमा राजनीति र अध्ययनपछि मात्रा साहित्य हुने हुँदा  हर कोहीले साहित्यलाई कोट्याउने सामर्थ्य राख्दैन । साहित्य लेख्नेहरूले साहित्यमार्फत् आफ्नो भावना र जीवन भोगाइ लेख्छन् पोख्छन् भने समाजदेखि जीवन–जगत्सम्मलाई हेर्ने दृष्टिकोणलाई राजनीतिले सन्तुलन गरेको हुन्छ। त्यसैले “राजनीति र साहित्य” छुट्टै हो जस्तो मलाई लाग्दैन ।

पछिल्लो मेरो पुस्ताका राजनीति गर्नेहरूले साहित्य लेखेको पाइँदैन । यदि लेखिहाले भनेपनि आफू आबद्ध पार्टीको अधिक राजनीतिक गन्धले साहित्य पोतिएको हुन्छ, लेखिएको हुँदैन । लेख्नु भनेको जीवनपर्यन्त बाँच्नु हो ।

आजका राजनीतिकर्मीहरूले लेख्ने विषय भनेको  राजनीति र समाजको व्यवस्थासँग गाँसिएको र राजनीतिक मुद्दासँग जोडिएको विषयवस्तुलाई व्यक्तिगत धारण निर्माण गर्नु हो । नेपाली भाषा र साहित्यमा धेरै दक्खल राख्नेहरूले लेखिएका उठान गरेका विषय भने बृहत्तर समेटिएको र  भुइँमान्छेहरूको दैनिकी सँग सरोकार राख्ने हुन्छ । ‘उनीहरूको भावमा समाजका मनोभाव समेटिन्छन् । चराले   गीत गाउँछ, झरनाले संगीत भर्छ, हावाले सुसेल्छ अनि रुखहरूले नाच्नछन् । यसरी लेखकले मनको आँखाले देखेर शरीरले स्पर्श गर्दै चराचर जीव र जगतसँग विचरण गरी साउती गर्दै  लेखिएको  स्वछन्द  लेख नै साहित्य हो । जसले राजनीति कर्मीलाई इमानदार भएर सेवा गर्न प्रेरित गर्दै देशलाई उज्यालोतर्फ डोर्‍याउँछ ।’

➡️आजको राजनीतिले नेपाली भाषा, साहित्यलाई बिगारेको हो ?

साहित्यकार तथा राजनीतिक चिन्तक स्वर्गीय प्रदीप गिरीले लेखेका छन्, “नेताहरूका कृति पढ्दा तिनले साहित्य साधना गरेर होइन, मनको तरङ्ग पोख्न, रहरमा लेखेका छन् ।” यसले के बुझिन्छ  भने वर्तमानमा नेताहरूले रहरमा लेखिएको साहित्यले नेपाली  साहित्यलाई कुरुप बनाउने बाटोतर्फ लागिरहेको छ भन्ने बुझाउँदछ ।

हिजो २००७ सालदेखि २०१७ सालसम्म नेपाली साहित्यमा प्रगतिशील र प्रजातान्त्रिक धार वा दृष्टिकोणबारे छलफल हुन्थ्यो । प्रगतिशील साहित्यलाई तत्कालीन नेपाली कम्युनिस्ट पार्टीका समर्थक, लेखक, कवि र कलाकारहरूले अङ्गीकार गर्थे । उदाहरणको रूपमा हामीले जनवादी गायक भनेर चिनिने जीवन शर्मालाई लिन सकिन्छ । भने प्रजातान्त्रिक धारको साहित्यका पक्षपातीहरू मूलतः नेपाली काङ्ग्रेसका विचारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अङ्गीकार गर्ने लेखक कवि र कलाकारहरू हुन्थे । राजनैतिक पार्टीका नेताहरू र लेखक, कवि, कलाकार वा साहित्यकारहरू राजनीतिक, सामाजिक र प्राज्ञिक प्राणीहरू थिए । तर आज हिजोको जस्तो राजनैतिक पार्टीका नेताहरू छैनन् ।

आजका नेताहरूले साहित्य नै बुझ्दैनन् भन्दा अतिशयोक्ति नहोला  । किनभने उनीहरूले साहित्य पढेकै छैनन् । पढे त केवल पाठ्यसामग्री पढे । जुन कामकाजीको लागि मात्र छ । अझ भनौं सर्टिफिकेट बोक्नैको लागि छ । जब सर्टिफिकेटधारी राजनीतिकर्मीले साहित्यलाई पछ्याउँछ तब साहित्यमा  ग्रहण लाग्छ । अर्थात् साहित्य नै नपढी, साहित्यको स्वध्यायन  नगरी लेखिने र गरिने साहित्यिक यात्राले साहित्यलाई कालो घेरान्मुख साहित्यमा रूपान्तरण गर्छ ।