मानवतावाद हाम्रो समाजमा सदियौँदेखि सहजै चलिआएको छ । ऐँचोपैँचो, सरसहयोग, सापटी, क्षमा, दया या त सानालाई माया अनि ठूलालाई आदर गर्ने पद्धतिको बारेमा किताबमा नपढाईकन नै हामीलाई व्यवहारमा उतार्न सिकाइएको हो । मानवतावाद किताबमा लेखिएको नियम र बन्धन मात्रै होइन । यसलाई नैतिक आदर्शकै एउटा चेतनशील हाँगो हो भन्नुपर्छ ।

आज समाजवादको सिद्धान्तका कुरा गर्दा मानवतावादलाई समेत नियमले बाँधेर अपनाउन लाउनु परिरहेको छ । बाबुआमा पाल्ने छोराछोरीलाई राज्यले भत्ता दिन्छु भन्नु परिरहेको छ । पाल्न त पाल्ला तर सुखले पाल्छ कि पीडा दिएर पाल्छ भन्ने विषयलाई हेरिएको हुँदैन । यदि त्यसरी हेर्दै जाने हो भने दबाब दिएर ‘तिम्रो बाबुआमालाई पाल’ भन्दैमा बुवाआमाले सन्तानद्वारा दिइनुपर्ने माया पाउँदैनन् । फलतः पाल्ने र पालिने दुवैका मनमा घातक र नकारात्मक प्रभावको विकास हुन जान्छ ।

बलात्कारीलाई कारबाही गरेर सामाजिक न्यायको स्थापना गर्ने कानुनको दायरा बनाइरहँदा मानिसको अनैतिक विचारलाई कानुनको साङ्लोले बाँध्न सक्दैन । त्यसका लागि नैतिक ज्ञानको उपादेयता नै बढी शक्तिशाली हुन्छ । असत्य र अन्यायको ज्ञानलाई सिकाउन हाम्रो समाजले सिकाएको आदर्शवादको झिल्को त हुनैपर्छ । यसलाई पुरातनको पक्षमा आएको विचार होइन, समाज अनुकूल परिवर्तनको आवश्यकताको व्याख्या हो भनेर पनि बुझ्नु आवश्यक रहन्छ ।

यसको अर्थ उत्तरआधुनिक सोच र आदर्शवादभित्र पनि मानवताकै तहको नैतिक ज्ञान शक्तिशाली हुन्छ । बच्चालाई शिशिर वसन्तको कथाले जति दयालु र सोचमग्न बनाउँछ त्यति आजका आधुनिक र सामाजिक कथाले प्रभाव पार्न नसक्ला । यस मानेमा पौराणिक कथालाई उडन्ते, कपोलकल्पित भन्दा पनि बढी व्यावहारिक कोणबाट सिकाउन सकिएला । श्रवणकुमारका कथा पढाउन सकिएला । रावणले सीता हरेर लगे पनि उनको अस्मितालाई बिनाअनुमति लुट्दिन भनेको कुरा त स्पष्टै छ । नारीलाई वर चुन्न पाउने अधिकार भएको संस्कृतिलाई आज समाजले अपनाइरहेको छ । तथापि, सम्बन्ध विच्छेदको संस्कृति हाम्रो होइन त्यो परसंस्कृति हो । आज पारिवारिक सद्भाव जसरी खल्बलिएको देखिन्छ हिजो त्यस्तो थिएन । रामायणमा राम–सीताको प्रेम, महाकविको मुनामदनमा देखिने प्रेममा त्यो दोहोरो आत्मिक सम्बन्ध दर्बिलो देखिन्छ । त्यो स्तरमा हामी जिइरहेर खुशी भएका मान्छे हौँ । यसर्थ आधुनिक ज्ञान सिकाएर नैतिक आदर्शलाई बचाउने पद्धतिमा नेपालीपन जीवन्त हुन्छ ।

दार्शनिक मार्क्सले भनेकै साम्यवादमा समेत यदि मानवतावाद कमजोर भयो भने मानिस स्वार्थी हुन जान्छ । समाजका सबै नियमलाई यदि कानुनले नै बाँधेर चलाउन थाल्ने हो भने मानिसमा सबैभन्दा बढी खुशी दिलाउने मानवतावाद कमजोर हुन्छ । पश्चिमाका सिद्धान्त उनीहरूकै समाज र उनीहरूको दिमाग देखेर गरिएका व्याख्या हुन् । कतिपय सन्दर्भ मानव हुनुले सार्वभौम हुन्छन् । तथापि, पश्चिमाका सोच र दर्शनलाई हाम्रो समाजमा हुबहु लागू गर्न सक्दैन अनि हाम्रो सोचलाई पश्चिमाले अपनाउन गाह्रो हुन्छ । एउटा जातिले स्वीकार गरेको कार्य अर्कोका लागि अपाच्य पनि हुन सक्छ ।

मानिसमा मानवतावादी सोचको विकास गराउने पुर्खाको देनलाई विरोध गर्नु पनि सङ्कुचित व्याख्या हो किनकि मानिसलाई खुशी र शान्तिको खाँचो छ । यो उसको प्रकृति हो र यो खुशी साम्यवादले दिने होइन । असली सुनलाई पनि आगोमा नपोलिई सुख छैन । ठेस लागेपछि लडिरहेर हुँदैन, उठ्न सिक्नुपर्छ । त्यो भावनात्मक पक्षलाई हाम्रो नेपाली समाजले पहिल्यै तय गरेको थियो ।

त्यसो हो भने हामीले व्याख्या गरेको पुँजीवादको अन्त्य अनि समाजवादको स्थापनासँगै साम्यवादसम्मको यात्रामा हामीले हिँड्न चाहेका हौँ त ? समाजवादी मान्यतामा उत्पादनको मूल्य समान भएकाले मानिसले श्रममा प्रतिस्पर्धा गर्दैन । पुँजी र उत्पादन तथा बजार व्यवस्थापन र व्यवहारमा मानवतावाद छुट्न जान्छ । अहिले समाजवादका कोणबाट बोल्नेहरू नै हजुरियावादबाट अछुतो लाग्दैनन् । यसलाई चाकडीवाद, चाप्लुसीवाद या जे भनौँ त्यो धेरै तहमा एक महासागरमा पोखिएको विष पैmलिए जसरी पैmलिएको छ । राजनीतिमा पदीय अपेक्षाको लडाइँ त नानीदेखि लागेको बानी हो । यो राजनीतिभित्रको फोहोरी पद्धतिको अनुसरण हो । अहिले त कता कता अराजक पुँजीवादको रन्को पनि चलेको छ । यो कुरा दार्शनिक मिसेल फुकोको दर्शनसँग मिल्न जान्छ । यसको अर्थ हरेक मानिसले व्यक्तिगत फाइदाका लागि सोच्न सिक्यो, पार्टीलाई सोच्यो, कुर्सी बचाउने र कुर्सी हत्याउने होडबाजीमा मग्न हुँदा देशको समुन्नतिलाई बिर्स्यो । अर्थात्, मान्छे निकै बाठो यसरी भयो किनभने कुरा देशको गर्ने अनि व्यवहार स्वार्थमा भुल्ने नै भयो ।

आधुनिक सत्ताका कुरा दार्शनिक मान्यता हुन् । मानिसको क्षमता, स्तर, प्रतिभालाई प्रश्रय दिइने संस्कृति चाहिँ हिजोको हो । संगठन वा राजनीतिक तहमा पहुँच बनाउन नचाहने र चाहेर पनि नसक्ने स्तरका मान्छे समाजमा आज त हिजोभन्दा नराम्ररी अपहेलित हुन्छन् र भइरहन्छन् । यो भुइँमान्छेको पीडा हो । नियम पनि त्यो भन्दा तल गएर बन्दैनन् तब त्यहाँ वर्चस्वको तह बन्छ । अधिकारका लागि बोल्नुपर्छ भन्ने ज्ञान नभएका मान्छेको आवाजलाई अरूले बोलिदिनुपर्छ तर त्यो त्यति सान्दर्भिक बन्न सक्दैन । यस्तो प्रवृत्तिलाई विस्तारवादको सूक्ष्म रूप अर्थात् राजनीतिक विस्तारवाद हो भन्न सकिन्छ । परिणामतः मान्छेले चाहे राम्रो काम गरेपछि सम्मानको अर्थमा होओस् या नराम्रो काम गरेर भए पनि पैसा र सानका लागि नै होओस् ः कुरा एकै कित्तामा लालची बनेर ठोक्किन्छ । फरक यत्ति हो राम्रो कामले मानिसको भलाइ हुन्छ । यसबाट कसैको हानी हुँदैन । यो खरायो र कछुवा दौडको कथाको अन्त्यमा हुने ‘जितै जितको सिद्धान्त’ मा आधारित हुन्छ । त्यसैले पूर्वीय दर्शनको निस्काम कर्म जति बलियो मार्क्सवादी मान्यता हुन सक्दैन ।

० ० ० ०

सांस्कृतिक अन्तर्विरोध

राजनीति र समाजको सम्बन्धलाई गाँस्नु जति आवश्यक छ त्यति नै संस्कृतिको सम्बन्धलाई पनि हेर्नु आवश्यक रहन्छ । संस्कृतिमा नयाँ र पुरानो पुस्ता र सोचको द्वन्द्व छ । संस्कृति र अर्थबिचको सम्बन्धमा घोत्लिएर मानिसले अर्थोपार्जनमा मानवतालाई भुल्दै छ । संस्कृतिलाई उत्पादन, उपभोग र प्रसारणले प्रभाव पार्छ भन्ने उत्तर मार्क्सवाद र नवमार्क्सवादले संस्कृतिमा स्वीकार र अस्वीकारको द्वन्द्व मच्चाएको छ । यो विचारको सङ्क्रमणमा वर्तमान समाज ग्रसित छ ।

संस्कृतिले ज्ञानको अमूर्त पक्षलाई उजागर गरिरहेको हुन्छ । आजको पुस्ताले ज्ञान बिर्सेर विज्ञान मात्रै बोक्न चाहेको छ । सुन र गुनको मूल्यलाई जोख्ने दिमागी तराजुको अन्तरलाई बुझ्नुपर्छ । हिजोका विषयलाई केवल अन्धविश्वास र रूढिवादी संज्ञा दिन्छ तथापि कतिपय सन्दर्भ हिजोका समयमा राम्रो र उत्तम भनिएका कुरा आज असत्य लाग्नु समयको अन्तरालको स्वाभाविक र प्राकृतिक विषय पनि हुन् । आजका विद्यालय जाने, पढ्नै पर्ने, जान्ने र नजान्नेको तह निर्धारण हुने कुरा एकदिन रूढिवादी बन्न सक्छ । तर, आज यही कुरा नै सबैभन्दा उत्तम लागिरहेको छ र यसैलाई ध्रुवसत्य ठानिएको हुन्छ ।

आफूलाई आधुनिक र परिवर्तनकारी सम्झनेले एक साहित्य र कलाका दार्शनिक हिप्पोलाइट एडल्फ टेन (सन् १९२८–१८९३) को धारणालाई बोध गर्नु आवश्यक छ । उनका विचारमा जाति, क्षण र पर्यावरणले समाजलाई प्रभाव पार्छ । अर्थात्, आज हामीले अन्धविश्वास, अमानवीय भनिएका कुरा हिजो सामान्य ठानिए । त्यो जाति, क्षण र पर्यावरणको प्रभाव हो । आजको जाति, क्षण र पर्यावरणलाई हेर्दा नेपाली समाजमा चेतनाको जागरण भएको हुँदा हिजोका कुरा अन्धविश्वासी लागेका हुन् । भोलिको पुस्ताले आज हामीले अपनाएका विचार र सिद्धान्तलाई पनि थोत्रो भनेर अर्को नयाँपनको खोजी गर्ने छ ।

अब सोच्नुपर्ने विषय हो– कतै हामी सांस्कृतिक ज्ञानलाई, हाम्रा पुर्खाले विकास गरेका चेतनालाई, वर्षौँ खोज गरेर पत्ता लगाएका औषधि विज्ञानलाई, जीवनोपयोगी सन्देश र व्यवहार तथा जीवनशैलीलाई नै तोड्दै त छैनौँ ! हिजोको समाजमा भएका विकृतिलाई माझ्नुको साटो हामीले परिवर्तनको अर्थ संस्कृति बदल्नु हो भनिरहेका त छैनौँ ! अर्थात्, मार्क्सको विचार अनुरूप ‘भौतिक’ संस्कृतिमा हामी लिप्त छौँ कि त ! मार्क्सले धेरै हदमा भौतिक विज्ञानको कुरा गरिरहँदा, वर्गविहीन समाजको परिकल्पना गरिरहँदा हाम्रो नेपालको बहुसंस्कृतिको गरिमालाई कसरी अपनत्वको रूपमा लिने त ! उनकै धार (भौतिक संस्कृति र आत्मिक संस्कृति) बाट भन्दा हाम्रो संस्कृतिले भौतिक संस्कृतिभन्दा बढी आत्मिक संस्कृतिमा नै समृद्धि खोज्नु आवश्यक छ ।

समाजका अन्धविश्वास, छुवाछुत प्रथा, कुरीतिलाई मात्रै हटाउने हो भने भौतिक समृद्धिका एउटा मिहिनेतले नेपालीपनको समाजवाद स्वतः स्थापित हुने देखिन्छ । यसले आधुनिक मानवतावादलाई जन्माउँछ । विज्ञान र ज्ञानको आदर्श प्रयोग यसको मूल विशेषता हो । हिजोको आदर्श र आजको विज्ञानमा नै यो समाजको परिकल्पना सम्भव छ । जुन कुरामा हाम्रो नेपाली समाजले सुखी र खुशी हुने पद्धतिलाई पहिल्यैबाट अपनाउँदै आएको छ । यहाँ अत्याधुनिक विज्ञानको अभाव भएको भने पक्कै हो । हाम्रो संस्कृतिले भाइचारा, बन्धुत्वको बोध जे जसरी गरिरहेको छ त्यो भन्दा धेरै क्रूर पद्धतिमा पश्चिमी समाज विक्षिप्त देखिन्छ ।

परिणामतः मिसाइल युद्ध, परमाणु युद्ध, अनाहकमा हमला हुने, अपरिचितले स्वतन्त्र भएर सहज रूपमा हिँड्नै नसक्ने जस्ता खतरा मडराइरहेका हुन्छन् । हाम्रो समाज भौतिक रूपमा र चेतना स्तरमा कमजोर हुनु एउटा समस्या हो । हाम्रो समाजले यी सबै समस्याका लागि ‘मानवतावादी सोच’ लाई विकास गरेको छ अनि ‘बसुधैव कुटुम्बकम्’ भनेको छ । यसर्थ हामीले हाम्रै समाज अनुकूलको समाजवादलाई प्रश्रय दिनुपर्छ ।