श्रीमान सम्पादकज्यू,

धर्म शब्दको मर्म, अभिप्राय थोरै वाक्यले बुझाउन सक्तैन । मेरा लागि यो ‘डायस्पोरा’ पनि त्यस्तै भएको छ । नयाँ लुगा पुरानै हेङ्गरमा झुन्डाउनुको अर्थ हो नयाँ उपलब्ध नहुनु । मैले योभन्दा बढी सम्झन सकिनँ । म यहाँ मनु ब्राजाकीलाई नमन गर्छु ।

नमन छ, अभिवादन छ, सम्मान छ ती महान् व्यक्तिहरूलाई पनि जसले डायस्पोराको योजना सोचे, यसलाई परिधिबद्ध वा सीमाङ्कन गरे । फेरि बडो यत्नपूर्वक स्थापित गर्ने यत्न गरे । परिणाम स्वरूप डायस्पोरा शीर्षकमा उच्चशिक्षाले अभ्यास पनि थाल्यो ।

एकपटक मैले मगुरालि, ताशे मगुरालि (शेता मगुरालि) जस्ता शब्द सुन्नासाथ टिप्पणी गर्दै भनेको थिएँ, मित्र नाम चाहिन्छ, सङ्गठन चाहिन्छ, अस्तित्वको रक्षा (पहिचान) हुनुपर्छ । यो स्वागतयोग्य कुरा हो । तर अनुरोध छ: राम्रा, सुन्दर, सार्थक, शब्दले सङ्गठन चिनाऊ । पछि त्यो वेग कता गयो थाहा भएन । त्यसपछि त आदिवासी जनजाति भन्ने नयाँ जाति पो देखा परेछ । तर ‘आदिवासी जनजाति’ भन्ने शब्दावलीले यस माटोका कतिपय श्रेष्ठ, शक्तिशाली, इतिहास बोकेका मानव वर्गलाई पनि जनजाति बनाएछ । एक–दुई दिन म पूरै विचलित भएँ । उसले आफैँ जनजाति हुन खोजेको हो या कसैले जनजाति बनाइदिएर कुनै उद्देश्य पूर्ति गर्न खोजेको हो ? अब प्रश्न किन ? उसले नाम दियो, यसले स्वीकार गर्यो । एउटै डालोमा कागती, सुन्तला, भोगटे, नास्पाती, ज्यामिर, अनार हाल्दा के बिग्रन्छ ? सबैलाई एउटै कोटीको ठाने हुन्न ? तेरो सोच नै गलत हो । ठिक, त्यस्तै मलाई चित्त बुझेन । विदेशको भूमिमा पुगेर लेखेका सबै रचना डायस्पोरा हुँदैनन् । डायस्पोराका सिद्धान्तकारले जुन सीमा–सर्त बाँधेका छन् त्यस बाहिरको रचनालाई के भन्ने ? यो प्रश्न अनुत्तरित नै छ – के नगर्दा डायस्पोरिक हुन्छ र  के गर्दा डायस्पोरिक हुँदैन ?

स्थूल रूपमा ती रचना डायस्पोराका भनेर लिइएका छन् जुन मूल देशको गन्ध–राग टिपेर लेखिएका छन् । टाढा पुगेर आफ्नो देशको सुवास सञ्चित गर्नु बिलकुल स्वागत योग्य कुरा हो । त्यस्ता रचना र तिनका स्रष्टा आदरणीय छन् । यसतर्फका योजनाकार, अभियन्ता, सिद्धान्तकार र स्रष्टा सबै धन्यवादका पात्र छन् । धन्यवाद पनि पुगोस् ।

तर प्रश्न छ, डायस्पोराको सीमा र सर्त बाहिरका साहित्यिक रचना पनि छन्, तिनका पहिचान के ? के भन्ने त्यस्ता कृतिलाई ? विदेशको माटोमा, यस्ता केही मनोज्ञ रचना पनि छन् जसमा नेपालको वासना बिल्कुल आउँदैन । डायस्पोराका आचार्यहरूले यस्ता रचनामाथि दृष्टि घुमाएका छैन । शायद आयोजनाभित्र पर्दैन । समय, औचित्य र द्रव्यले थेगेन किन ? त्यसैले आफ्नो जन्मभूमि-मूलभूमिको अधिमूल्यन हुनु आवश्यक छ, अवमूल्यन हुनुहुँदैन ।

डायस्पोरा–आचार्यहरूका नजरमा यदि यी काव्यसङ्ग्रह पुगेका हुन्थे भने त्यहाँ गैर डायस्पोराका रचना पनि देख्ने थिए । उचित छ, जुन योजनाका लागि विज्ञलाई आह्वान गरिएको हो । त्यसैभित्र उसले केन्द्रित हुनुपर्ने थियो होला । निर्दिष्ट योजना पूरा गर्नु स्वाभाविक हो । फेरि ‘अमेरिकाको गैर डायस्पोरिक साहित्य’को अध्ययन योजना खोलियो भने त्यसभित्र नेपालको सुवास नआउने रचना गृहीत होलान् । आशा गरौँ । त्यस बेला हामी ‘अमेरिकी नेपाली साहित्य’ भनेर नाम दिने छौँ ।

अमेरिकी नेपाली कविता (गैर डायस्पोरिक नेपाली साहित्य, अमेरिकी खण्ड यु.एस.ए.)लाई हेर्न प्रारम्भिक चरणका यी तीन काव्यसङ्ग्रहबाट सहयोग लिन सकिन्छ ।

सेतु अमेरिकी नेपाली कविता (सन् २००५/ वि.सं.२०६२),यसमा २७ कविका ५४ कविता सङ्ग्रहित छन् ।)

भूमिका : प्रोफेसर कृष्ण गौतम, त्रिवि

सम्पादक : हरिराज भट्टराई

प्रकाशन : सेतु प्रकाशन, सं.रा. अमेरिका

पृष्ठसंख्या: १४०

उत्तर अमेरिकाका नेपाली कवि र कविता (सन् २००९/ वि.सं. २०६६)

भूमिका : डा. खगेन्द्रप्रसाद लुइँटेल

प्रधान सम्पादक : डा. तारानाथ शर्मा

५० कविका कविता सङ्ग्रहित

प्रकाशन : उत्तर अमेरिकाका नेपाली कवि र कविता सङ्ग्रह प्रकाशन समिति अमेरिका-क्यानडा

पृष्ठसंख्या: १५१

वासिङ्टन डी.सी.का कवि र कविता (सन् २०१९ / वि.सं.२०७७), ५७ कविका कविताको सँगालो

प्रधान सम्पादक : सुदीपभद्र खनाल

प्रकाशक : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डी.सी. मेट्रो कमिटी

पृष्ठसंख्या: १२०

यो १५ वर्षको अवधिमा कयौँ सङ्ग्रह निस्किए । त्यसपछि पनि निस्कँदै रहे । यो अनवरत चल्दै रहने कुरा हो । सृजन र प्रकाशनको शृङ्खला उत्साहजनक छ । यो गौरवको विषय हो ।

डायस्पोराका व्याख्याता वा आचार्यहरूले सुधी मोदनाथ प्रश्रितका विचार पनि बुझेकै होलान्, मनु ब्राजाकीको मान्यतामाथि मन्थन गरेकै होलान् । छुटेको भए फेरि पनि गर्लान् । प्रो. अरुण गुप्तो र प्रो. अभि सुवेदीका विचार मनन योग्य होलान् कि !

म मतमतान्तरलाई महत्त्व दिन्छु । यसले सबल बनाउँछ । मन्थन गर्नुपर्छ, परिणाम सुन्दर ल्याउँछ । आशय यति मात्र हो गैर डायस्पोरिक रचनाले स्थान पाउनुपर्छ– उपेक्षित हुनुहुँदैन । त्यहाँ कुनै वस्तु छ तर देखेन भने आँखाको दोष हो, वस्तुको होइन ।

र आँखो दिनु उचित होइन । आँखा नहुनेले के दिनु ? अनुरोध मात्र हो– यदि अमेरिकी नेपाली साहित्यले नेपाली वाङ्मयमा उपयोग हुने विधि–प्रविधि उपयोग गर्यो भने के गर्ने ?  अलङ्करण–उपकरण पनि प्रयोगमा आउलान् कि ! कसरी पढ्ने ? अब त मापदण्ड आउनुपर्छ कि ? कि अझै पर्खनु ? कि माथिमाथि बिस्कुन चलाउने हो कि ? संवाद चलोस् न !

हो, स्रष्टा र पाठकले लाभ लिन पाउनुपर्छ । एकरसताबाट विरक्त भएकालाई नौलो रस पनि स्वादु नै लाग्ला नि ! साहित्य संसदले अन्यतम विषयमा प्रवेश दियो भने भावुक–दर्शक र नारदकुल पनि रमाउला कि ! म जान्दछु तर्कको औजार सबैतिर सफल हुँदैन । कचौराले दूध थाम्छ भने दूधले कचौरालाई किन नथाम्ने ? यदि यस्तो तर्क आयो भने दूधको मात्रा बढाउनै पर्छ ।

तर्क र इतिहासको प्रमाण बारे अदालतले बोल्नै पर्छ । पर्खौं, हेरौँ ।

याे  विषयमा बहस हाेस् । नयाँ कुरा आओस् भनेर राखेका हाैँ ।

= = =

सम्पादकीय नोट –  साहित्यपोस्टमा यसभन्दा पहिले सिफारिस स्तम्भअन्तर्गत मनु ब्राजाकीको ‘यहुदीहरूले फ्याँकेको थोत्रो बोरा- डायस्पोरा !’

लेख  https://sahityapost.com/sifarish/113118/  प्रकाशित छ । डायस्पोरा, यो शब्दको प्रयोग आज-भोलि नेपाली साहित्यमा धेरैको चासो र चर्चा वा विवादको विषय बनेको छ । यस विषयमा साहित्यपोस्ट नेपाली भाषा साहित्यका अध्येताहरूका विचारलाई क्रमशः स्थान दिँदै जानेछ ।

= = =

https://ekantipur.com/koseli/2013/06/07/297775.html

प्रकाशित : जेष्ठ २५, २०७०