साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

को थिइन् अप्सरा उर्वशी ?

Chovar Blues Mobile Size

परिवर्तन प्रकृतिको नियम । मिलनपछि विछोड अनि विछोडपछि मिलन प्रकृतिको नियति हो । परिवर्तनको प्राकृतिक नियम प्रेममा पनि लागू हुन्छ । कुनै दिन पुरुरवाप्रति आशक्त भएकैले श्राप व्यहोरेकी उर्वशीको हृदयले एक दिन त्यसै पुरुरवाका लागि यस्ता कटुवचन ओकल्छ– हे पुरुरवा ! उषाले बिहानीको साथ छोडेजस्तै मैले पनि तिम्रो साथ छोडिसकेकी छु । जसरी गतिवान् वायु कसैको हुँदैन, त्यसै गरी म पनि अब तिम्रा लागि अप्राप्य छु ।
हे पुरुरवा ! ध्यान दिएर सुन । स्त्रीहरूसँगको मैत्री कहिल्यै स्थायी हुँदैन । स्त्रीहरूको मन हिंस्रक जनावरहरूको झैं निष्ठुर हुन्छ । मैले त चार वर्षसम्म तिमीसँग रात बिताएको छु । कम्तीमा दिनको एकपटक सम्भोगको आनन्द पनि लिएको छु । यी सबैबाट तृप्त भएरै तिमीबाट पर हुन खोज्दै छु ।
मानव मनको मीठो गरी पहिचान गर्न सक्षम छन् उर्वशीका यी शब्द । मनको तहमा बाँच्न थालिसकेपछि नित्य नवीनताको खोजी हुन स्वाभाविकै हो । सोही भाव उर्वशीका भनाइमार्फत प्रकट भएका छन् । कुरा यत्ति हो कि पुरुरवामा उर्वशीप्रतिको मोह अझै बाँकी थियो भने उर्वशीको मन पुरुरवाबाट अघाइसकेको थियो । कथामा यसपछाडिका अनेकौं कारण दिइए पनि मूलतः यसमा मानव मनोविज्ञानकै सार छ, परिवर्तनशीलताकै परिपाक छ अनि प्रेमको वियोगान्त नियतिकै प्रकटीकरण छ । सार त के हो भने संसारका हरेक कुरा असार छन्, जसबाट प्रेम अछुतो छैन ।
ऋग्वेद कालीन समयमै गाथा गाइएकी प्रसिद्ध अप्सरा हुन् उर्वशी । ऋग्वेदमा उर्वशीको एक संवादात्मक सूक्तिमा थुप्रै ऋचा छन् । उर्वशी शब्द ऋग्वेदमा थुप्रै पटक आएको छ । तीमध्ये केही स्थानमा उर्वशी शब्द व्यक्तिवाचक अर्थमा आएको छ । सातौ मण्डलमा यीबाट वशिष्ठ उत्पन्न भएको बताइएको छ भने दशौ मण्डलमा उर्वशी पुरुरवा संवाद छ ।

उर्वशी जन्म
एउटा प्रसंग छ, नरनारायण ऋषि बदरिकाश्रममा तपस्या गरिरहेका थिए । उनीहरूले इन्द्रपद लेलान् भन्ने डरका कारण इन्द्रले वसन्त, काम एवं मेनका, रम्भा, घृताची आदि १६ हजार पचास अप्सरालाई तपभंग गराउन पठाए । उनीहरूले तपस्यारत नरनारायणका अगाडि हावभाव, कटाक्षसहित कामुक अभिनय गर्न थाले । तर उनीहरूको त्यस्ता किसिमको कृत्यले नरनारायणलाई प्रभाव पारेन । बरु नरनारायणले इन्द्रको मनसुवा बुझे । अनि नारायणले आफ्नै तिघ्राबाट एउटी सुन्दरीको उत्पत्ति गरे । तिघ्राबाट उत्पन्न ती सुन्दरीका अगाडि अप्सराहरूको रूप छायामा प¥यो । उनीहरू लाज मानेर भागे । अप्सराहरूबाट यस्तो घटना सुनेपछि इन्द्र नरनारायणको शरणमा पुगे र माफी मागे । नरनारायणले ती सर्वश्रेष्ठ सुन्दरी इन्द्रलाई नै दिइपठाए जो इन्द्रलोककी उच्च स्थानप्राप्त अप्सराका रूपमा स्वर्गमा बस्न थालिन् ।
अर्को प्रसंग विष्णुपुराणमा छ, पुराणपुरुष विष्णुअवतार नरनारायण गन्धमादन पर्वतमा तपस्या गरिरहेका थिए, तपस्या भंग गराउनका लागि इन्द्रले मदनसेना पठाए । उनीहरूले गायन, नृत्य, संगीत आदि अनेकौं प्रकारले तपस्वी नारायणलाई मोहित बनाउने प्रयास गरे, तर सबै प्रयास बेकार गयो । नरनारयणले उनीहरूलाई अत्यन्त मधुर शब्दले आदरसहित सोधे, यहाँ तपाईंहरू के कति कारणले आउनुभएको हो ? यो सुनेपछि कामादिले लज्जित भएर मुन्टो निहुराए । यत्तिकैमा उनीहरूले देखे कि नारायणको तिघ्राबाट १६ हजार एकाउन्न अप्सरा उत्पन्न भए जसमध्ये उर्वशी सर्वश्रेष्ठ सुन्दरी थिइन् । संस्कृतमा तिघ्रालाई उरु भनिन्छ, नारायणको उरुबाट जन्म भएकाले यिनको नाम उर्वशी रह्यो । पद्मपुराणले यिनलाई कामदेवको उरुबाट उत्पन्न भएको भनेको छ ।
प्राचीन साहित्य एवं पुराणमा उर्वशीलाई सौन्दर्यको पर्यायकै रूपमा वर्णन गरिएको पाइन्छ । विशेष गरेर वेद तथा पुराणमा उर्वशी र पुरुरवाको प्रेमलाई अत्यन्त महत्वका साथ दर्शाइएको छ । संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो नाटक विक्रमोर्वशीयमा पुरुरवा र उर्वशीकै कथालाई आधार बनाएका छन् । आधुनिक नेपाली साहित्यमा सिद्धिचरण श्रेष्ठले उर्वशी र अर्जुनको प्रसंगलाई आधार बनाई उर्वशी खण्डकाव्य लेखेका छन् ।
ज्योतिषीय दृष्टिले उर्वशीको राशि वृश तथा राशि स्वामी शुक्र हुन् । यस दृष्टिले पनि स्वभावतः बाह्य आवरण दर्शनीय हुन्छ । शरीर सुपुष्ट एवं आकर्षक हुनाका साथै स्वाभिमान, स्वच्छन्दता एवं शीतलता पहिलो नजरमै दृष्टिगोचर हुन्छ । स्वभाव मेहेनती, लगनशील, सहयोगी, धैर्यशाली, आत्मकेन्द्री तथा आवेगी पनि हुन्छन् ।
उर्वशी वेदपुराणादि ग्रन्थमा वर्णित आर्यावर्तका विख्यात ऋषिद्वय अगस्त्य र वशिष्ठकी माताका रूपमा समेत चिनाइएकी छन् । उर्वशीलाई देखेर स्खलित भएका मित्रावरुणका वीर्य घडामा राखिएको र त्यसबाटै अगस्त्य र वशिष्ठ ऋषि जन्मिएको कथा पुराणमा वर्णित छन् । यो प्रसंगबाट उर्वशीप्रतिको सम्मान तथा उनको अवर्णनीय सौन्दर्यको विषयमा थाहा पाउन सकिन्छ ।
अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् ।
प्रेममा बिछोड हुन मानव जातिमा ज्ञानको प्रवेश भएपछि र प्रेममा पर्न थालेदेखि नै सुरु भएको कुरा हो । यस्ता अनेकौं प्रेमको साक्षी इतिहास छ । तिनैमध्ये एक प्रेमको उदाहरणका रूपमा पुराणहरूमा वर्णित पुरुरवा र उर्वशीको प्रेम पनि पर्छ । अलौकिक सौन्दर्यकी धनी अप्सरा उर्वशी तथा एक पूर्ण मानव पुरुरवाबीचको प्रेम कहानीले वेदपुराणहरूका पाना तरंगित छन्, अनुप्राणित छन् ।

 

उर्वशी र पुरुरवाको प्रेम
चन्द्रपुत्र बुध र सूर्यपुत्र वैवस्वत मनुकी पुत्री इलाका पुत्र पुरुरवा अथाह शक्ति एवं शौर्यले सम्पन्न थिए । उनी आवश्यक पर्दा स्वर्गमा गएर देवतालाई पनि सहायता गर्थे । दैत्यलाई स्वर्गबाट भगाउँथे । बुधपुत्र पुरुरवाको जवानीप्रदत्त सुन्दरता कुनै देवताभन्दा कम थिएन । चोलाले मानव भए पनि देवपुरुषका यावत् गुण उनमा विद्यमान थिए ।
एउटा प्रसंग छ, एक दिन धर्म, अर्थ र काम तीन पुरुषार्थले पुरुरवाको परीक्षा लिने विचार गरे । उनीहरू मानव रूप धारण गरेर पुरुरवासमक्ष आए । पुरुरवाले तीनैजनालाई सम्मानपूर्वक उपहार प्रदान गरे । अर्थ र कामलाई दिएका उपहार धर्मलाई दिएभन्दा आधा थियो । आफूहरूलाई धर्मभन्दा कम महत्व दिएको देखेर अर्थ र काम रुष्ट भए । अर्थले पुरुरवालाई दरिद्र हुने श्राप दियो भने कामले स्त्रीवियोगको पीडा सहनु पर्ने श्राप दियो । धर्मले चाहिँ पुरुरवालाई लामो समयसम्म पृथ्वीको शासन गर्ने र उत्तराधिकारीहरूको निरन्तरता भइरहने वरदान दिए । यही कुराले पुरुरवाको भावी जीवन निर्देशित रह्यो ।
एकपटकको कुरा हो, पुरुरवाको सहयोगले युद्ध जितेपछि देवराज इन्द्रले पुरुरवाको सम्मानमा एक नृत्य कार्यक्रमको आयोजना गरे । नाचमा प्रमुख नायिका थिइन् उर्वशी । जसको सौन्दर्यको प्रशंसामा सारा देवलोक खनिन्थ्यो ।
नाचको क्रममा संयोगले उर्वशी र पुरुरवाको आँखा जुध्यो । सुन्दर अनि सुगठित शरीर, आकर्षक वक्षस्थल, मनोहारि कम्मर, सुपुष्ट नितम्ब एवं कठोर स्तन । नृत्यको तालसँगै नाचिरहेका अप्सराको अंगप्रत्यंगमा मोहक जादू थियो । उनको हेराइमा पुरुष मन भुतुक्कै हुन्थ्यो !
आँखा जुधेपछि दुवैमा प्रेमको अंकुर फुट्यो । दुवै आलिङ्गनको प्यासले पीडित भए । नाचको समाप्तिपछि पुरुरवाले संकोचका कारणले त्यो प्यासलाई व्यक्त गर्न सकेनन् भने उर्वशीले स्त्रीसुलभ लज्जाका कारण मुख खोल्न सकिनन् । मनको कुरा मनमै रहेपछि तड्पिरहेको मन बोकेर पुरुरवा मत्र्यलोक फर्किए भने उर्वशी स्वर्गमै रहिन् ।
पुरुरवालाई भेट हुन्छ कि भनी उर्वशी मत्र्यलोकको भ्रमणमा निस्कन्थिन् । त्यस्तै एउटा भ्रमणमा मौका पारेर केशी दानवले उर्वशीलाई अपहरण गर्यो । उर्वशी रुनकराउन थालिन् । त्यो पुकार पुरुरवाले सुने । उनले केशीसँग युद्ध गरी उर्वशीलाई मुक्त गरे । केशीबाट फुत्केकी उर्वशी स्वर्ग त फर्किन् तर तिनको मन मत्र्यलोकमै छुट्यो । उनीहरूको मिलन हुन सकिरहेको थिएन ।
एक दिन स्वर्गमा नाट्यमुनि भरतले लक्ष्मीनारायणको नाटक खेलाउँदै थिए । नायिका थिइन् उर्वशी । एउटा संवादमा नारायणलाई ‘पुरुषोत्तम’ भनेर सम्बोधन गर्नुपर्ने थियो । उर्वशीले पुरुषोत्तम शब्द बोल्दा मुखबाट ‘पुरुरवा’ फुत्कियो । नारायणको नाम लिनुपर्ने ठाउँमा मरणशील मनुष्यको नाम लिएको देख्दा नाट्यमुनि भरत औधी रिसाए । ऋषिले तत्काल उर्वशीलाई मनुष्य भएर मत्र्यलोकमा भ्रमण गर्ने श्राप दिए । उर्वशीका लागि यो श्राप ‘के खोज्छस् काना आँखो’ भनेझै भयो । उता इन्द्र उर्वशीलाई गुमाउन चाहँदैनथे । त्यसैले इन्द्रले उर्वशीको श्राप घटाइदिए ।
मत्र्यलोकमा आएकी उर्वशीको पुरुरवासँग भेट भयो । जब आफ्ना अगाडि उर्वशीलाई पुरुरवाले देखे । दुवैको नमरेको प्यास जागृत भयो । एकअर्कामा मन्त्रमुग्ध भए । पुरुरवाले उर्वशीसमक्ष विवाहको प्रस्ताव राखे । उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन् तर मत्र्यलोकमा केही दिन बस्दैमा उनलाई स्वर्गको सुखसयलको याद आउन थालिसकेको थियो । उनी अन्यमनस्क थिइन् । तसर्थ उनले पुरुरवाका अगाडि दुई शर्त राखिन् । उर्वशीको प्रेम सशर्त रह्यो ।
उर्वशीले स्वर्गबाट आउँदा भेडाका पाठाहरू सँगै ल्याएकी थिइन् । पहिलो शर्तस्वरूप पाठाको रक्षाको जिम्मेवारी लिनुपर्ने बताइन् र भनिन्– ‘जुन दिन यसको रक्षा गर्न सक्नुहुन्न त्यो दिन म छोडेर जान्छु ।’ पुरुरवाजस्तो शक्तिशालीलाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन । तुरुन्तै सहमति जनाइहाले ।
उर्वशीले दोस्रो शर्त अघि सारिन्– ‘तपाईलाई सहवासको अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस् । जुन दिन मैले तपार्ईलाई सम्भोगका समयबाहेक नांगो देख्छु त्यो दिन हाम्रो सम्बन्ध टुंगिनेछ ।’ यो शर्तमा पनि पुरुरवाले मञ्जुरी जनाए ।
विवाह भयो । दुवै एकअर्कामा हराएर यौवनको रसपान गर्नमा मग्न रहन थाले । सन्तान पनि जन्माए ।
उता स्वर्गमा इन्द्रलाई उर्वशीविनाको नृत्य फिक्का लाग्न थाल्यो । उनी उर्वशीलाई स्वर्गमा कसरी ल्याउने भनेर मात्र सोच्न थाले । उर्वशीको सम्झौताका विषयमा इन्द्र पनि जानकार थिए, तसर्थ उनले उर्वशीले राखेका शर्तबाट फाइदा उठाउने सोच बनाए ।
एकदिन मध्यरातको समय । पुरुरवा र उर्वशी यौनक्रीडामा लिप्त थिए । चुम्बकमा फलाम टाँसिएजसरी उनीहरूको शरीर जोडिएको थियो । ओठमा ओठ, स्तनमा छाती, योनीमा लिंग अनि तिघ्रामा तिघ्रा जोडिएको थियो । कामदेवको वेगले दुवैलाई छोपेको थियो । शरीरका अंगप्रत्यंगबाट रस निसृत भइरहेका थिए । उनीहरू सम्भोगको अलौकिक रसास्वादनमा लिप्त थिए ।
अचानक भेडाका पाठाको आवाजले यौनक्रीडामा अवरोध ग¥यो । मरुभूमिमा प्यासले तड्पिएका समयमा थोरै पानी पिउँदा अझ बढी प्यास बढेझैँ त्यो आवाजले कामप्यास झन् बढ्यो । पुरुरवालाई अँगालोमा कस्दै उर्वशीले पाठाको संरक्षण गर्न आग्रह गरिन् । पुरुरवालाई यस्तो बेलामा छुट्टिन गारो भइरहेको थियो । पुरुरवा छुट्टिन नमानेपछि उर्वशीले धकेलिन् र पुरुरवालाई आफूबाट अलग गराइन् । मन नमान्दानमान्दै अलग भएका पुरुरवा झटपट पाठा बचाउन नांगै दौडिए ।
तत्क्षण आकाशमा बिजुली चम्कियो । पुरुरवाको नग्न शरीर उर्वशीले देखिन् ।
उनको प्रतिज्ञा समाप्त भयो । उनी अन्तरध्यान भइन् र स्वर्ग गइन् ।
उर्वशीको वियोगमा पुरुरवा विक्षिप्त बने । जहाँ पनि उर्वशीको खोजीमा रहन थाले । पागलजस्तै भएर हिँड्न लागे । उता स्वर्गसुधामा भुलेकी उर्वशी गर्भवती थिइन् । उनलाई आफ्नो प्रियतमको माया लाग्यो र भेट्नको लागि पृथ्वीमा आइन् । पुरुरवाले प्रिया, अब छोडेर नजाऊ भनेर उर्वशीसँग अनुनयविनय गरे । उर्वशीले गर्भको सन्तान दिनका लागि मात्र आफू धर्तीमा आउने वाचा गरिन् । एक पटकको दर्शनका लागि पनि पुरुरवा एक वर्षसम्म उर्वशीलाई कुरिरहे ।
समयको कुनै कालखण्डका प्रेमविषयक यस्ता कथा आज पनि उत्तिकै सान्दर्भिक किन लाग्छन् ? समयले ल्याएको परिवर्तनमा उत्निखेरको समाज आज पनि किन बौरन खोज्छ यस्ता कथामार्फत ? किन त भन्दा आज पनि उसैगरी प्रेम पलाइरहेकै छ, पुरुरवाले उर्वशीलाई फकाउने, सम्झाउने, भावनाको दोहन गर्ने, परस्परको समस्या हल गर्नेजस्ता उपाय आज पनि भइरहेकै छ अनि आजका मानवमा पनि अनुरागको धर्मले उतिबेलाझैं आफ्नो धर्म छाडेको छैन ।

प्रतिक्रिया
Loading...