आध्यात्मिक गुरु ओशोको जन्म भारतको मध्यप्रदेश स्थित कुचवाडामा ११ डिसेम्बर सन् १९३१ मा भएको थियो। बाल्यकालदेखि नै शान्त र गम्भीर स्वभावका ओशो दर्शनशास्त्रमा रुचि राख्दथे। केही समय जबलपुर विश्वविद्यालयमा लेक्चरर भएर काम गरे । बिस्तारै अध्यात्म र दर्शनमा उनको ज्ञान बढ्दै गयो । त्यसपश्चात अलग-अलग धर्म र विचारधारामा प्रवचन दिन थाले । सन् १९८१ देखि १९८५ सम्म अमेरिकामा बसे । त्यहाँ रहँदा उनले रजनीशल्याण्ड अलग्गै एउटा सहर बनाउने कुराले निकै विवादित भए र अन्त्यमा फर्केर भारत आए।

उनी नेपालमा बस्न चाहन्थे तर तत्काल श्री ५ को सरकारले अनुमति दिएन । उनले दिएको हजारौँ मिनेटको अडियो प्रवचनलाई लगभग सात सयवटा किताबाकारको रुप दिइएको छ। अर्को रोचक कुरा, उनले आफ्नो जीवनकालमा एक लाख पचास हजार किताब पढेको कुरा गरिन्छ। उनको मृत्यु १९ जनवरी सन १९९० मा भएको थियो। उनको मृत्युलाई रहस्यमय मानिन्छ। उनकी आमाले ओशोको स्वाभाविक मृत्यु नभै हत्या भएको बताउने गर्थिन् । आउनुस्, उनै विश्वको माथिङ्गल हल्लाउने एक दार्शनिक, विचारक र आध्यात्मिक गुरूका अनमोल विचारहरूमा विचरण गरौँ।

 

ओशोका बीस सूत्र, जसले तपाईँको जिन्दगी परिवर्तन गरिदिन सक्छः

१. जोसँग जति कम ज्ञान हुन्छ, ऊ त्यति नै आफ्नो ज्ञान प्रति हठी हुन्छ ।

२. जीवनलाई हरेक सम्भावित तरिकाबाट महसुस गर – असल- खराब, मीठो-तीतो, उज्यालो-अँध्यारो, जीवनको हरेक द्वेतभावलाई अनुभव गर । अनुभवसँग नडराऊ किनभने तिमी जति अनुभवी बन्छौ, त्यति नै परिपक्व बन्छौ ।

३. प्रेममा दोस्रो व्यक्ति महत्त्वपूर्ण हुन्छ भने वासनामा तिमी मात्र महत्त्वपूर्ण हुन्छौ ।

४. सत्य बाहिर अवस्थित कुरा होइन जसलाई खोज्न परोस्, सत्य त भित्रै अवस्थित हुन्छ जसलाई अनुभव मात्र गर्न सकिन्छ ।

५. मित्रता सबैभन्दा शुद्ध प्रेम हो । प्रेमको सबैभन्दा उच्चतम स्वरुप हो, जहाँ कुनै माग हुँदैन । कुनै शर्त हुन्न । त्यहाँ त मात्र दिनुको आनन्द हुन्छ ।

६. यो संसारमा प्रत्येक व्यक्ति कुनै खास नियति लिएर आएको हुन्छ । उसलाई केही पूर्ण गर्नु छ । केही सन्देश दिनु छ । तिमी यहाँ कुनै दुर्घटनाले आएका होइनौँ । तिमी यो अस्तित्वमा हुनुको केही अर्थ छ । तिमी यो जगत्मा हुनुको कुनै उद्देश्य छ । जसलाई ब्रह्माण्डले तिमीद्वारा पूरा गर्न चाहन्छ ।

७. यदि तिमी कुनै फूललाई माया गर्छौ भने त्यसलाई नटिप । किनकि तिमीले फूललाई टिप्यौ भने फूल मर्नेछ । जसलाई तिमीले माया गर्छौ, त्यसलाई फूल्न देऊ । प्रेम कसैप्रति आधिपत्य होइन । प्रेम सराहना हो ।

८. यो संसारमा सबैभन्दा बढी डर अरुले के भन्ला भन्ने कुरा सोचेर लाग्छ । जसै तिमी भीडसँग डराउन छोडने छौ, तिमी भेडा हुनुपर्दैन । सिंह बन्नेछौ । तिम्रो हृदयबाट गडगडाहटको अवाज आउने छ । मुक्तिको गडगडाहट ।

९. जीवनले हामीलाई अचेतनातर्फ डोर्‍याउँदै लगेको हुन्छ । जबसम्म तिमी सचेत हुन्नौ, जागरुक हुन्नौ । त्यसले एउटा पाङ्ग्राले झैँ आफैँलाई डोर्‍याइरहन्छ ।

१०. कहिले पनि बन्ने कोसिस नगर । हुनु र बन्नु यी शब्दको बीचमा तिम्रो पूरै जीवन समेटिएको छ । हुनु प्रबोधन हो, जागरण हो । बन्नु अज्ञानता हो ।

११. दुनियाँमा लाखौँ मान्छे दुःखी छन् किनभने उनीहरु प्रेम प्राप्त गर्न चाहन्छ्न् । तर उनीहरुलाई प्रेम दिन आउँदैन । प्रेम एकालापको रुपमा हुन सक्दैन । प्रेम दुई व्यक्ति बीचको संवाद हो । एउटा लयले भरिएको संवाद ।

१३. केही बन्ने विचारलाई त्याग किनभने तिमी पहिल्यै एक महान् कृति हौ । तिमी योभन्दा सर्वोच्च बन्न सक्दैनौ । तिमीले यही कुरा बुझ्नु छ, यही जान्नु छ र यही अनुभव गर्नु छ ।

१४. साहस अज्ञातसँगको प्रेम सम्बन्ध हो ।

१५. आरामपूर्ण र सुविधाजनक जिन्दगी वास्तविक जीवन होइन । जति धेरै आरामपूर्ण, त्यति धेरै कम जीवन्त । सबैभन्दा आरामपूर्ण जीवन चिहानमा मात्र हुन्छ ।

१६. मस्तिष्कबाट बाहिर निक्ल अनि मनमा प्रवेश गर । कम सोच, महसुस धेरै गर ।

१७. जसरी अँध्यारो प्रकाशको अनुपस्थितिमा जन्मिन्छ, त्यसरी नै अहंकार जागरुकताको अभावमा जीवित रहन्छ ।

१८. प्रेम लक्ष्य हो, जीवन एक यात्रा ।

१९. प्रश्न यो होइन कि मृत्युपश्चात् जीवनको अस्तित्व छ कि छैन । प्रश्न त यो हो, कि के तिमी मृत्युपूर्व जीवित छौ ?

२०. यदि कसैलाई नोक्सान पुर्‍याउनु छ भने मात्र शक्तिको आवश्यकता पर्दछ नत्र प्रेम पर्याप्त छ, करुणा पर्याप्त छ ।

(ओशोका विभिन्न प्रवचन र कृतिहरुबाट संकलन गरिएको सामग्री ।)

संकलक : जनक कार्की