“प्राणीहरूको शरीरमा चेतनतत्त्व भनौँ या क्षेत्रज्ञका रूपमा एउटै ‘परमात्मा’को अंश ‘आत्मा’ विद्यमान रहने भए तापनि प्रकृतिका तीन गुण (सत्व, रज अनि तम)हरूका कारण तिनका स्वभावहरूमा भने भिन्नता रहने गर्दछ । अनि तिनै विविधताका कारणले नै गर्दा तिनको पृथक् पृथक् व्यक्तित्वको निर्माण हुने हो ।”

यी विषयमा गीताका अघिल्ला अध्यायहरूमा नै चर्चा गरिइसकिएको छ ।

श्रीमद्भगवद्गीताको सोह्रौँ अध्यायमा भने प्राणीहरूमा रहने त्यस्ता स्वभावगत भिन्नताहरूको अझै विस्तृत व्याख्या गरिएको पाइन्छ ।

स्वभावजन्य प्रवृत्तिका आधारमा यो लोकमा दुई प्रकारका प्राणीहरू रहने श्रीकृष्णको भनाइ छ –

“द्वौ भूतसर्गौ लोकेऽस्मिन्दैव आसुर एव च ।
दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ मे शृणु ।।”भ.गी.१६(६)।।

प्राणीहरूका यस्ता प्रवृत्तिलाई दुई प्रकारमा वर्गीकरण गर्दै श्रीकृष्ण तिनलाई ‘दैवी’ एवं ‘आसुरी’ सम्पदा भनी नामाकरण गर्दछन् । दैवी गुण मोक्षदायी हुने अनि आसुरी गुण बन्धनकारी हुने तथ्य पनि उनी प्रष्ट्याउँदछन् ।

“दैवी सम्पद्विमोक्षाय निबन्धायासुरी मता ।
मा शुचः सम्पदं दैवीमभिजालोSसि पाण्डव ।।”भ.गी.१६(५)।।

के हुन् त दैवी सम्पदा या गुण ?

श्रीकृष्णले प्राणीहरूमा विद्यमान २६ प्रकारका सकारात्मक या शुभ गुणहरूलाई दैवी सम्पदाका रूपमा दर्साएका छन् । ।।भ.गी.१६(१–३)।। ।

ती २६ प्रवृत्तिहरू यसप्रकार छन् –

१. अभय अर्थात् निडरता

२. शुद्ध अन्तःकरण

३. इन्द्रियसुखप्रति अनाशक्त रही आत्मानन्दमा रमेको अर्थात् ज्ञानयोगमय अवस्थिति

४. दान

५. दम अर्थात् इन्द्रियसंयम

६. यज्ञमय अर्थात् प्राणीमात्रको कल्याणका लागि चिन्तनशील जीवन

७. स्वाध्याय अर्थात् आफ्नो अध्ययन या आत्मनिरीक्षण

८. तपमय साधना

९. आर्जवम् अर्थात् सरलता

१०. अहिंसा

११. सत्यवादिता

१२. अक्रोध

१३. अहङ्कार र स्वार्थको त्याग

१४. शान्ति

१५. अपैशुनम् अर्थात् “कसैको द्वेषपूर्ण निन्दा गर्ने प्रवृत्ति”को अभाव

१६. दया

१७. आकर्षक वस्तुहरूप्रति समेत अलोलुपता अर्थात् प्रलोभनको अभाव

१८. निन्दित कर्महरू गर्नमा लज्जा

१९. मृदुलता अथवा विनयशीलता

२०. मनको चञ्चलताको अभाव अर्थात् स्वभावमा स्थिरता

२१. तेज अर्थात् स्फूर्ति

२२. क्षमा

२३. धृति अथवा धैर्य

२४. शौचम् अर्थात् शुद्धता

२५. अद्रोह अर्थात् मनमा हिंसाको भाव नै उत्पन्न नहुने अवस्था

२६. आफ्नो बडप्पनको विषयमा अतिशयोक्तिपूर्ण विचार नराख्ने प्रवृत्ति ।

दैवी सम्पत्तिका रूपमा मानिएका उपरोक्त २६ सकारात्मक या शुभ गुणहरूका विपरीतका स्वभाव भने आफैँमा नै नकारात्मक, अशुभ या आसुरी स्वभाव भइ नै हाले तर श्रीकृष्णले अन्य विविध प्रवृत्तिहरूलाई पनि आसुरी सम्पत्तिका रूपमा व्याख्या गरेका छन् । ।।भ.गी.१६(४, ७–१८)।। ।

आसुरी गुणहरू यसप्रकार छन् –

१. दम्भ अर्थात् आफूलाई यथार्थभन्दा भिन्न रूपमा दर्साउने प्रवृत्ति

२. दर्प अर्थात् धनसम्पत्ति, परिवार, यौवन, मान, पदप्रतिष्ठाको धाक

३. क्रोध

४. पारुष्य अर्थात् कठोर बोली

५. धृष्टता

६. अज्ञान

७. कर्तव्य कर्ममा निवृत्ति

८. निषिद्ध कर्ममा प्रवृत्ति

९. ईश्वरप्रति अविश्वास

१०. भौतिकवादी धारणा अर्थात् “जीवनको कारण मैथुनजन्य संयोग मात्र हो” भन्ने विश्वास

११. आफ्नै नाशप्रति प्रवृत्ति भएको

१२. अल्पबुद्धि

१३. असहिष्णुपन अथवा उग्रकर्मी

१४. इच्छावशात् मात्र कार्य गर्ने

१५. मोह

१६. विषयभोगलाई मात्र परमलक्ष्य सम्झिने

१७. सतही दृष्टिकोण मात्र भएको

१८. आशापाशमा जकडिएर अन्यायपूर्ण धनसङ्ग्रहमा प्रयत्नशील

१९. अहङ्कारी

यस्ता आसुरी प्रवृत्तिमा रम्ने व्यक्तिहरूले कदापि ईश्वरलाई पाउन नसक्ने, बरु तिनले अधम गति अनि आसुरी योनिलाई मात्र प्राप्त गर्न सक्ने तथ्य अभिव्यक्त गर्दछन् श्रीकृष्ण –

“आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि ।

 मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्” ।।भ.गी.१६(२०)।।

त्यसैले यो आसुरी प्रवृत्तिबाट मुक्त रहने मार्ग दर्शाउनकै लागि श्रीकृष्ण भन्दछन् ः

“त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।

 कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत्” ।।भ.गी.१६(२१)।।

अर्थात्, काम, क्रोध र लोभ, यी तीन मार्गले मानिसलाई आसुरी प्रवृत्तितिर धकेलेर आत्मनाश अर्थात् नारकीय जीवन बिताउन विवश गराउँदछन् । अतः यी तीनै मार्गको त्याग गर्नुपर्दछ भन्ने श्रीकृष्णको स्पष्ट उद्घोष छ ।

हुन पनि हो, कुनै पनि विषयलाई सुखको साधन मानेर त्यसको ‘कामना’मा लीन व्यक्तिमा त्यो वस्तु प्राप्त नहुँदा ‘क्रोध’ उत्पन्न हुन्छ । अनि केही गरी त्यो वस्तु प्राप्त भई नै हाल्यो भने त्यसको बढोत्तरी या स्थायीपनका लागि उसमा ‘लोभ’ उत्पन्न हुन जान्छ । अतः एकअर्कासँग अन्तस्सम्बन्धित अवस्थामा रहेका यी तीनवटै मार्गले शुभ गर्दैनन् किनकि यी तीनै मार्ग आसुरी प्रवृत्तितर्फ उन्मुख छन् ।

त्यसैले यी तीन मार्गमा कहिल्यै नहिँड्ने व्यक्तिले नै श्रेय अर्थात् कल्याणमय जीवन बिताउन पाउँदछ ।

यसरी श्रीमद्भगवद्गीताको सोह्रौँ अध्यायमा श्रीकृष्णले प्राणीहरूमा रहन सक्ने दैवी एवं आसुरी दुई प्रकारका गुणहरूको विस्तृत व्याख्या गरी अर्जुनको माध्यमद्वारा सम्पूर्ण मानवजातिलाई आफूभित्रका आसुरी प्रवृत्तिलाई परास्त गरेर दैवी अर्थात् श्रेयमार्गको अनुसरण गर्नका लागि आह्वान गरेका छन् ।

सह—प्राध्यापक, मानसिक रोग विभाग

धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय