श्रीमद्भगवद्गीताको पन्ध्रौँ अध्याय अर्थात् ‘पुरुषोत्तम योग’लाई यस ग्रन्थको एक महत्त्वपूर्ण अध्यायका रूपमा नै चित्रण गरिएको छ । श्रीकृष्णले यसमा “विश्वको सृष्टिक्रम, स्थूल (देह) एवं सूक्ष्म शरीर (इन्द्रिय एवं अन्तःकरण)बीचको भेद, आत्मा एवं परमात्मा ईश्वरबीचको तादात्म्य, ‘क्षर’ शरीर एवं ‘अक्षर’ आत्माको अधिष्ठाताका रूपमा रहेका ‘पुरुषोत्तम ईश्वर’को चराचर विश्वसँगको सम्बन्ध” आदिका बारेमा अर्जुनलाई बताएको पाइन्छ ।

अर्को शब्दमा भन्नुपर्दा यस अध्यायमा निम्न चार महत्त्वपूर्ण आध्यात्मिक जिज्ञासा(प्रश्नहरू)को निरूपण भएको पाइन्छ –

१. ईश्वरद्वारा सृष्टि भएको ‘विश्व’ कस्तो छ ?

२. ‘म’ अर्थात् ‘आत्मा’ के हो ?

३. ‘ईश्वर’ अर्थात् ‘पुरुषोत्तम’ को हुन् ?

४. ‘म’, मेरो ‘विश्व’ अनि ‘ईश्वर’सँगको सम्बन्ध कसरी बनेको छ ?

यस अध्यायको पहिलो श्लोकले नै उपरोक्तमध्येको प्रथम प्रश्नको समाधान दिन्छ ।

र्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम् ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्” ।।भ.गी.१५(१)।।

अर्थात्, ऊर्ध्व (माथि) मूल अनि अधो (तल) शाखा (हाँगाबिँगा) भएको हाम्रो विश्व अथवा संसारको सृष्टिचक्र छ । जरामाथि अनि हाँगाबिँगा तल भएको पीपल (अश्वत्थ वृक्ष) को रूखको रूपमा कल्पना गरिएको यो संसारवृक्षमा सृष्टिकर्ता परमात्मा माथिपट्टि रहेको जरामा रहन्छन् अनि हाँगाबिँगाका रूपमा समस्त जगत् तलतिर फैलिएको हुन्छ । यस वृक्षलाई पुष्ट पार्ने शक्तिको श्रोत वेदरूपी पातहरूमा बन्दछन् । त्यो वेदरूपी ज्ञान पातहरूमा फैलिएको अनि जरामाथि हाँगाबिँगा तल भएको नश्वर जगत्‌लाई जान्ने व्यक्ति नै वास्तविक ज्ञानी व्यक्ति हो भनी श्रीकृष्णले उद्घोष गरेका छन् ।

हुन पनि हो, जुनसुकै वंशावलीमा पनि वंशवृक्ष बनाउँदा मूलपुरुष माथि जरामा अनि उनका सन्ततिहरूलाई तल तल हाँगाबिँगाहरूमा देखाउने चलन अद्यापि छँदैछ । अतः यो जगत्‌को चित्रात्मक व्याख्या गर्दा श्रीकृष्णले सृष्टिकर्ता ईश्वरलाई मूल जराका रूपमा माथि अनि हामी उनका सन्ततिहरूलाई हाँगाबिँगाका रूपमा दर्साउनु स्वाभाविक नै देखिन्छ ।

योगानन्दले भने यो संसारवृक्ष हामी आफूभित्र नै रहेको, उर्ध्वमूल हाम्रो मस्तिष्क अनि शाखा हाँगाबिँगाहरू त्यस मस्तिष्कबाट आउने नशाहरू (जुन शरीरभरि नै फैलिएर रहेका छन्) भनेर पनि व्याख्या गरेका छन् । उनी यो अश्वत्थवृक्षमा संस्काररूपी वासनाका हाँगाबिँगाहरू फैलन गएको भनी पनि मान्दछन् । यो वृक्ष हामीभित्र नै छ । जति जति वासना बढ्दै जान्छ, यी हाँगाबिँगा अधोगामी भएर फैलिएर हामीलाई मूलजरा परमेश्वरबाट टाढा टाढा पुऱ्याउने गर्दछन् भनी शङ्कराचार्यले समेत उल्लेख गरेका छन् । वासनारूपी उपजराहरू अनि शब्दस्पर्शादि विषय वासनारूपी अङ्कुर, पालुवाहरू जति जति झाँगिन्छन् त्यति त्यति संसाररूपी भ्रमजालमा हामी भासिन पुग्दछौँ ।

अतः असङ्ग एवं वैराग्यरूपी अस्त्रले यो संसारवृक्षलाई काटेर मूल जरा परमेश्वरको नजिक पुग्न सकिन्छ भनी त्यसपछिका श्लोकहरूमा व्याख्या गरिएको छ । त्यसका लागि श्रद्धापूर्वक गरिएको प्रार्थनाले नै पनि यी सांसारिक मोहजालबाट त्राण गरी परमात्मासँगको मिलन सम्भव गराउन सक्दछ । त्यसरी परमपद प्राप्त गरिसकेका व्यक्तिहरू पुनः संसारमा फर्केर आउनु पर्दैन भनी भगवान् श्रीकृष्ण ठोकुवा नै गर्दछन् यो अध्यायमा ।

त्यो परमधामलाई सूर्य, चन्द्र एवं अग्निको प्रकाश आवश्यक छैन, चैतन्यको प्रकाशले नै प्रकाशित छ त्यो दिव्यलोक भनी व्याख्या गर्दछन् श्रीकृष्ण । फेरि त्यो चैतन्यको प्रकाश लिएर पाँच ज्ञानेन्द्रियहरूद्वारा विषयसेवन गर्ने, मनद्वारा भावना अभिव्यक्त हुने, अनि बुद्धिद्वारा विचार बोध गर्न सक्ने जीवको प्रकाशक आत्मतत्त्व उनकै नै अंश भएको कुरामा पनि जोड दिन्छन् । जडअवस्थमा रहने ‘स्थूल शरीर’ (देह) अनि पाँच इन्द्रिय, मन एवं बुद्धि (अन्तःकरण) सहितको ‘सूक्ष्म शरीर’मा चेतना भरिएपछि बन्ने जीव ईश्वरकै नै अंश हो । देहरूपी जड शरीरको ईश्वर जीव (आत्मा) नै हो जसले शरीर छोडेर जाँदा सूक्ष्म शरीरका अवशेष (इन्द्रियं एवं मन) लाई पनि सँगै लिएर अर्को शरीरमा प्रवेश गर्ने गर्दछ, यसरी पुनर्जन्म सार्थक हुने गर्दछ तर आत्मा अनि सृष्टिकर्ता परमात्मा परमेश्वरलाई वेदरूपी ज्ञानद्वारा साक्षात्कार गरी परमपद प्राप्त गरिसकेको व्यक्तिले भने पुनः जन्म लिई रहनु पर्दैन । ज्ञानचक्षुले आत्मा चिनिसकेको व्यक्ति मुक्त नै हुन्छ । ध्यानद्वारा चित्तशुद्धि अनि आत्मानात्माविवेक हुन पुगेपछि आत्मदर्शन गर्ने व्यक्तिले संसारसागर तर्न अनि विषयवृक्षलाई काटेर परमपद प्राप्त गर्न सफलता पाउँछ, अरूले सक्दैनन् ।

अझै परमात्माको व्याख्या गर्ने क्रममा श्रीकृष्णले आफू नै सर्वप्रकाशक चैतन्यको प्रकाश अनि सर्वपोषक जीवन तत्त्व, समस्त जीवितहरूको शरीरको उष्णता अनि सबैको हृदयमा आत्मस्वरूपमा रहेको चेतना हुँ भनी उल्लेख गर्दछन् । त्यो परमात्मा सूर्य, चन्द्र, अग्नि आदिको प्रकाशको श्रोत, पृथ्वीमा प्राणीको धारणा गर्ने उर्वराशक्ति, रसस्वरूप औषधिको पोषणदाता चन्द्रमा अनि शरीरभित्र रहेको अन्नपाचन गर्ने वैश्वानर अग्नि (जठराग्नि) का रूपमा सर्वव्यापक अनि सर्वत्र विद्यमान भएको तथ्यतर्पm पनि श्रीकृष्णले सबैलाई आकृष्ट गराएका छन् ।

अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।
प्राणपानसमायुक्तः पचाम्यन्नं चतुर्विधम्” ।। भ.गी.१५(१४)।।

उपर्युक्त श्लोकको वैज्ञानिकता कति छ ? शरीरभित्रको अग्नि (रगतमा बहने प्राणवायु अक्सिजन)ले अन्न पाचन गर्ने शक्ति प्रदान गर्दछ भन्ने तथ्य वैज्ञानिक रूपमा नै अहिले स्थापित भइसकेको छ । त्यो अग्नि रसायन (इनजाइम) का रूपमा पनि रहन्छ । पाचन प्रक्रियामा ग्रहण (इनजेसन) गर्ने ‘प्राण’ अनि बिसर्जन(एक्स्क्रेसन) गर्ने ‘अपान’ दुवैको उल्लेख्य भूमिका रहने अनि चार प्रकारका अन्न (भक्ष्य, भोज्य, चोष्टा, लेह्य, अर्थात् क्रमशः चपाउने, पिउने, चुस्ने, चाट्ने) को पाचन त्यही वैश्वानर अग्निरूपी ईश्वरले गर्ने भन्ने यो भनाइमा सार्थकता रहेको कारणले नै होला खानुअघि वैश्वानर श्रीकृष्णको प्रार्थना गर्न यो अध्याय पाठ गर्ने चलन चलेको । अझ श्रीकृष्ण आफू सबै प्राणीहरूको हृदयमा रहेर स्मृति, ज्ञान, विस्मृति सबै गराउने तथा वेदहरूमा जान्न योग्य अनि वेदका ज्ञाता ईश्वरका रूपमा रहेको तथ्यमा जोड दिँदै जान्छन् ।

त्यसपछि उनले ‘क्षर’रूपी नश्वर जगत् अनि ‘अक्षर’रूपी आत्माका रूपमा दुई पुरुषहरूको यस लोकमा अस्तित्व रहेको तथ्यलाई दर्साउँदै आफूले यस अघिका अध्यायमा भनेका क्षेत्र (शरीर) अनि त्यस क्षेत्रका ज्ञाता क्षेत्रज्ञ (आत्मा) को उपाधिहरूलाई अझै व्याख्या गर्ने जमर्को गरेका छन् । मन र बुद्धि एवं इन्द्रियहरू धारण गर्ने शरीर परिवर्तनशील छ अतः यो ‘क्षर’ हो अनि त्यसका ज्ञाता आत्मा अव्यय, अविकारी, अविनाशी छ, अतः त्यो ‘अक्षर’ हो । श्रीकृष्ण भन्दछन्-

द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।
क्षरः सर्वाणि भूतानि कूटस्थोऽक्षर उच्यते” ।। भ.गी.१५(१६)।।

तर, उनी अझै अगाडि भन्दछन् कि “यी दुवै पुरुष, ‘क्षर’ जगत् अनि ‘अक्षर’ आत्मा तत्त्वहरूमा विद्यमान तर भिन्न अस्तित्वधारी निरूपाधिक ब्रह्मतत्त्व” नै ‘पुरुषोत्तम’ हो । त्यो ‘पुरुषोत्तम’ आफू नै भएको घोषणा गर्दछन् श्रीकृष्ण ।

यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः ।
अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः” ।। भ.गी.१५(१८)।।

त्यो पुरुषोत्तमलाई जानेपछि अरू जान्नु पर्ने केही पनि छैन भन्दै श्रीकृष्ण यस अध्यायको बीट मार्न पुग्दछन् ।

यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम् ।
स सर्वविद्भजति मां सर्वभावेन भारत” ।। भ.गी.१५(१९)।।

अर्थात्, यही पुरुषोत्तमरूपी ‘म’लाई जान्ने व्यक्ति नै सर्वज्ञ ज्ञानी हो । उसले नै परमपद प्राप्त गर्दछ । ऊ नै यस संसारचक्रबाट मुक्त हुन पुग्दछ ।

यसरी पुरुषोत्तम योगको माध्यमद्वारा “यो जगत्‌को सृष्टिप्रक्रिया, शरीर, इन्द्रिय, मन, बुद्धिको समष्ट रूप, जीव एवं आत्माबीचको सम्बन्ध, शरीरको नश्वरता, आत्माको अमरता, अनि पुरुषोत्तम ईश्वरको सर्वव्यापकता” जस्ता गहनतम विषयहरूलाई, अझ भनौँ सम्पूर्ण वेदको सारतत्त्वलाई जम्मा बीस श्लोकमा बताउने श्रीकृष्णको यो प्रयास स्तुत्य अनि वन्दनीय छ ।