मेरा मानसपटलमा धेरै कुराहरू आइरहन्छन् अचेल । किन यस्तो भइरहेछ ? म कुरो बुझ्दिनँ । शब्द शब्दले मेरा अघिल्तिर आएर आफ्नो परिचय खोजिरहेझैँ लाग्छ । भाषाको विद्यार्थी भएका नाताले पनि म तिनीहरूको चाहनामा उदास बनेर पीठ फर्काउन पनि सक्दिनँ ।

यस्तैमा मेरो मनले आज अध्यात्म सोच्यो । किन सोच्यो भन्नुहोला । सोच्ने मनलाई छेकथुन गर्न कसले पो सकेको छ र आजसम्म ! के हो अध्यात्म ? शब्दको आवरण परिचय त छ मसित तर मेरो मनले मसित खोजेको आवरणको परिचय होइन भन्ने कुरामा म विश्वस्त छु ।

प्रथमत: म विस्तारै शब्द फुकाल्छु पेचकसले पेचकिला फुकालेर वस्तुलाई टुक्राटुक्रामा छुट्याएजस्तो । नफुकाली म कसरी शब्दको अन्तर्यमा पसूँ ? मेरो जानकारीले भन्छ – आत्म शब्दमा अघि उपसर्ग जोल्ठिएर बनेको हो अध्यात्म । उपसर्ग जसको आफ्नो अर्थ छैन तर अर्थ प्रभावित पार्न सक्ने तागत छ । ‘छैन’, ‘होइन’ भनूँ भने छ र हो पनि, ‘छ’ भनूँ भने के छ के छ छुट्याउनै मुश्किल छ । मलाई यो उपसर्ग पनि आजकल अस्तित्वहीन अस्तित्वजस्तो लाग्न थालेको छ । बाँकी रह्यो ‘आत्म’ शब्दको कुरा । पक्कै यो आत्मासित नै सम्बन्धित छ । यो आत्मालाई कसैले मन पनि भनिदिएका छन् । मैले बुझेको छैन ‘आत्मा’ भनेको मन हो कि होइन भन्ने कुरा । यो अमूर्त मनबारे म कसरी धारणा बनाऊँ ? आत्माको पर्याय मन हो कि होइन होला ? म गम्छु । उतिवेला व्याकरणका गुरुले कक्षामा पढाएको सम्झन्छु – “बाबु हो, पर्याय हो भनी ठानिएका शब्द कहिल्यै पूर्ण पर्याय भने होइनन् है, नझुक्किनू ।” अनि म यही गुरुवाक्यमा टेकेर धारणा बनाउँछु – प्रयोग गर्नेहरूबाट आत्मा र मन पर्यायका रूपमा प्रयोग गरिएको भए पनि पूर्ण पर्याय भने हुन सक्दैनन् । पक्कै पनि आत्मा र मनका बीचमा केही न केही कमी त छ ।

मैले सुनेको छु – यो अध्यात्म भनेको आत्मज्ञान हो, आत्मा र परमात्माको गुण एवम् तिनको पारस्परिक सम्बन्धबारे गरिने चिन्तन हो । कतिपयले त तत्त्वज्ञान पनि भनेका छन् । तत्त्वज्ञान भनेको भित्री ज्ञान हो रे । म सोचमग्न हुन्छु – ज्ञान पनि भित्री र बाहिरी हुन्छ र ? बरु मैले कता कता जानकारी र ज्ञान भनेको पो सुनेको थिएँ । यी दुईको फरक पनि छुट्याउँछु – सतह र गहिराइ । हो, जानकारी सतही हुन्छ र ज्ञान गहिरो । के बाहिरी ज्ञान जानकारी स्वरूपको परत मात्र हो त ? यदि त्यसो हो भने भित्री ज्ञान भनेको विषयको गुढ रहश्य भनिएको हुनुपर्छ । म मेरो ‘गुढ रहश्य’लाई तत्त्वज्ञान शब्दसँग लगेर टुपुक्क टाँस्छु । कताकता यी दुईको साम्यभाव झल्याकझुलुक देखापर्छ ।

मेरा अगाडि एउटा यामानको प्रश्न आएर तेर्सिन्छ – के अध्यात्म भनेको धर्म हो ? मेरो जानकारीले त मलाई अध्यात्मको अर्थ धर्म नै हो पनि भनिदिन्छ तर मभित्रको छिपछिपे ज्ञानले मलाई सचेत तुल्याउँदै भन्छ – तेरो जानकारी तँलाई बिल्कुल असत्य र भ्रामक कुरा सिकाउँदै छ, बचेर हिँड् । म सतर्क बन्छु र अनुमान लगाउँछु – मन्दिर जानु अनि चिसो ढुङ्गा पुज्नु किमार्थ आध्यात्मिक बन्नु हुँदै होइन ।

अध्यात्ममा आत्मज्ञान आकाशको अनन्तः गहिराइमा नीलिमा हुनुजस्तै एकाकार छ रे । अधिकांश बौद्धिक लठुवाहरू आत्मज्ञान भनेकै बुझ्दा रहेनछन् । धेरैमा आत्मज्ञानको भ्रान्ति हुँदो रहेछ – बिल्कुल बौद्धिक भ्रान्ति । भनौँ आवरणको झल्याकझुलुक । भ्रान्तिलाई ज्ञान सम्झेर रमाउनेप्रति दया लाग्छ । जब मेरो यो निबन्ध प्रकाशनको आकारमा आउला तब ती लठुवाहरूले पढेर मप्रति नै दयाभाव देखाउँदै निष्कर्ष निकाल्लान् र भन्लान् – ‘यति पनि जानेनस् । हुनसक्छ – तेरो बुझ्ने नसा नै खुकुलो छ । केही पनि त छैन आत्मज्ञान बुझ्न र अध्यात्म चिन्न । सजिलो कुरामा यति धेरै किन उफ्राउफ्री ?’

म कैलेकाहीँ सोच्छु – म को हुँ ? मेरो गन्तव्य कता हो ? कतै म आफ्नो गन्तव्य भुलेर अन्तै अन्तै भौँतारिरहेको विरतयात्री त होइन ? यस्तो प्रश्न मनमा उठ्नुलाई अध्यात्मबोधतिरको प्रस्थानबिन्दु पनि भन्दा रहेछन् जानिफकारहरू । अर्को कुरा पूर्ण अध्यात्मबोधले त मान्छेलाई योगी बनाउँछ रे । म दुबै कान च्याप्प समात्छु र भन्छु – भो बाबा, म कदापि बोक्रे योगी बन्न चाहन्न जो अध्यात्मबोधको लालसामा लुँडिएर योगी बन्न नसकी जोगी बनिरहेछन् । म जोगी र योगीमा आकाश जमीनको फरक देख्छु ।

म को हुँ ? आवरण ज्ञानीहरूले मलाई भन्छन् – तँ आँखा होस्, तँ कान होस्, तँ हात होस्, तँ जिउ होस् यस्तैयस्तै । दृश्यमा त मैले अनि तपाईंले देख्ने म फगत् यति मात्र हो – हात, खुट्टा, आँखा, नाक, मुख, कान, पेट, टाउको आदि आदिको एउटा मानवाकृति पिण्ड । के ‘म’ भनेको यही आकृत पिण्ड हो ? पार्थिव आकार मात्र हुँ त म ? शंकालु बन्छु – मेरो अस्तित्व त यति मात्र हुन नपर्ने । यही ‘शंका निवारण चेत’ अध्यात्म खोज हो भने म पनि आध्यात्मिक चेतनाको गम्भीर जिज्ञासु हुँ ।

अध्यात्मलाई बुझ्नेहरू भन्दा रहेछन् – यो आत्माको खोजी हो, जीवनको अर्थ र उद्देश्यतिर तान्ने चुम्बक हो, आनन्दसित सम्बन्धित यात्रा हो । म आँखा चिम्लिएर आत्मा सम्झिन खोज्छु तर मेरो बोक्रे ध्यानले आत्माको सिङपुच्छर केही पनि फेला पार्न सक्दैन । आत्मा हातजस्तो भए, आँखाजस्तो भए, टाउकोजस्तो भए सायद फेला पार्ने थिएँ तर यसको निराकार स्वरूपले मलाई मात्र होइन धेरैलाई अल्मल्याएको र जिल्याएको छ । आत्मा यस्तो हुन्छ र उस्तो हुन्छ भन्दै हिँड्ने अज्ञानीहरू त भौतिक संसारमा अगणित छन् । ती आत्मालाई आफैँले देखेजस्तो, भोगेजस्तो, बुझेजस्तो र छोएजस्तो कुरा पनि गर्छन् । धेरै मानिसहरू फसेका छन् यस्ता अज्ञानीका जालमा तर यो आत्मा पनि आफैँले नबुझी अरूबाट जबर्जस्ती लादिएर बुझिने कुरा होइन कि भन्ने लागिरहेछ – आत्मा खोज्दै गर्दा मैले बुझेको यत्ति शंकापूर्ण बुझाइ हो । आत्मालाई बुझेपछि आनन्दित होइन्छ रे तर कस्तो आनन्द ? भौतिक सुखसुविधाबाट पनि त आनन्द भेटिन्छ नि ! त्यो आनन्द भौतिक आनन्दजस्तै होला कि फरक ? मेरो मन एकतमासले बटारिइरहेछ । आत्मबोधपछि प्राप्त हुने आनन्द सांसारिक आनन्दभन्दा निकै परको पनि त हुनसक्छ । कल्पनाहरूले निरुत्तर प्रश्न गरिरहेछन् मसित । लाग्छ – मेरा अघिल्तिर मेरै मेधावी चेलो जिज्ञासा थापेर बसिरहेछ । म जानकारीको बुझेँभुझेँमा बडबडाउने ज्ञानशून्य गुरुजस्तो वाल्ल पर्छु ।

मैले सुनेको – आकारवान् ईश्वरको कल्पना पनि बाइह्यात कुरा हो रे । मान्छेले त्यो निराकार ईश्वरलाई आआफ्नै अनुहारसँग टाँसेर आफूजस्तै बनायो पनि भन्दा रहेछन् । आत्मा ईश्वरको अधीनमा छ भन्ने पनि सुनियो । यस्तो धारणा राख्नेहरू अद्वैतवादी अष्टावक्रको ‘अज्ञानी’ एकै शब्दले थला परेका रहेछन् । तर म यस्तो कुरो कत्ति पनि बुझ्दिनँ । न त म नबुझेको र नजानेको कुरालाई लिएर अष्टावक्रको धारणाको समर्थनमा साक्षी बक्ने बकम्फुसे प्रयासमा छु न त मलाई उनका विरोधमा मूर्दावादको नारा लगाउने नै मन छ ।

के हो अध्यात्म ? नालीबेली नियाल्दा मैले पाएँ – द्वैतवादी र अद्वैतवादीको घमासान लडाइँ । द्वैतवादी भन्दो रहेछ – ईश्वर र मानिस भिन्न छ, परमात्मा र आत्मा भिन्न छ, ईश्वर र सृष्टि अलग हो, आत्मा ईश्वरकै उपज हो आदिआदि । अद्वैतवादी भन्दो रहेछ – कहाँ यस्तो हुनु, कुरा अर्कै छ । आत्मा नै व्रह्म हो र यो भन्दा भिन्न कुनै ईश्वर छैन । देख्नुभो त यो द्वैत र अद्वैतको तमासा ! अद्वैतको परिभाषामा म नै आत्मा हुँ र यही आत्मा नै सबैको परमात्मा हो ।

मलाई बोक्रे ज्ञानीहरूले अध्यात्म बुझाउन खोजे तर मैले यसको अन्तर्य भेउ पाउन सकिनँ । मैले उचित गुरुतुल्य गुरु पनि पाइनँ जोसँग चित्रवत् व्याख्या गर्ने शीप होस् । सबैको तर्क छामछाम र छुमछुमकै परिणाम मात्र हो मेरा लागि – अन्धाहरूको हात्ती छमाइ । हिजोका ऋषिहरू जो आफैँ चिन्तनको गाम्भीर्य थिए तिनलाई आज यो खोस्टे दुनियाँमा खोजेर कहाँ पो पाइएला र ? तर म मेरो सतही चिन्तनकै अडेसा लाएर भन्दै छु – डुबुल्की नलगाई पौडिन जानिँदैन, म यतिखेर अध्यात्ममा छामछाम छुमछुमकै निष्कर्षमा रुमलिँदो छु ।