राजाहरूमा श्रेष्ठ, प्रतीपतनय राजा शान्तनु देवराजतुल्य तेजस्वी एवम् परम पराक्रमी पुरुष थिए । तिनी एकान्त वनमा एक्लै विचरण गर्न, हिंस्रक पशुहरूको आखेट गर्न अनि पुण्यसलिला गङ्गाको तट–सन्निकट विचरण गर्न सारै मन पराउँथे ।
एक दिन उनी त्यस्तै मनमौजी विहार गर्दै गङ्गाको रमणीय तटमा परिभ्रमण गर्दै थिए । त्यसै वेला अनायास उनले एउटी परमसुन्दरी नारीलाई देखे । तेजस्विनी, दिव्यरूपा, अनवद्याङ्गी, कमलोदर–कान्तिशालिनी अनि मनमोहिनी परमरमणी थिइन् तिनी । उनको रूप–सम्पदा देखेर शान्तनुको शरीरमा रोमाञ्च भयो । आहा कति राम्री दिव्याङ्गना, उनको मन तिनीमाथि लवलीन भयो । उता ती नारी पनि राजा शान्तनुमाथि किञ्चित् झुकेका नजर लगाएपछि स्वयं रोमाञ्चिता बनिन् । मुग्धभावले बारबार हेर्न लागिन्, उनको मन ती भव्य पुरुषलाई जति हेरे पनि तृप्त हुनै मान्दैनथ्यो ।
अनि, राजा शान्तनुले धीरगतिले उनका सान्निध्यमा पुगेर भने :
हे सुन्दरी ! तिमी देवी, दानवी, गन्धर्वी, अप्सरा, यक्षी, नागकन्या अथवा मानवी को हौ ? जो भए पनि दिव्य सौन्दर्यवती हे वराङ्गने, म तिमीसँग अन्तर्हृदयले प्रणयपूर्वक याचना गर्दछु– तिमी मेरी पत्नी बन ।
तिनी सरिद्वरा गङ्गा थिइन् । उनलाई सबै पूर्ववृत्तान्त स्मृतिपटमा झल्कियो । राजा महाभिषको आफूमाथि परेको कामुक दृष्टि, ब्रह्माजीको शाप, पृथ्वीलोकमा ओर्लिनुपर्ने नियति–निर्देश, अष्टावसुलाई दिएको वचन, राजा प्रतीपद्वारा आफूसँग राखिएको पुत्रवधू बन्ने प्रस्ताव अनि आÇनो स्वीकारोक्ति– सबै सबै याद आयो । उनले राजा शान्तनुको अझ समीपमा आएर भनिन् :
हे राजन्, मलाई हजुरको प्रस्ताव मन्जूर छ, म हजुरकी महारानी अवश्य बनूँली अनि हजुरकै अधीनमा रहूँली । एतदर्थ मेरा पनि केही साधारण शर्त छन् : मैले राम्रो नराम्रो जे काम गरे पनि हजुरले मलाई रोकिबक्सने छैन अनि मलाई कुनै सवाल जवाफ गरिबक्सने छैन र कहिल्यै मेरा निम्ति अप्रिय वचन बोलिबक्सने छैन । यदि यी शर्त मेरा निम्ति हजुरले स्वीकार गरिबक्सन्छ भने– म हजुरकी पत्नी बन्न सहर्ष मन्जूर गर्दछु । तर यति याद राखिबक्सियोस्– यीमध्ये कुनै एउटा शर्तमात्र पनि भङ्ग भएका खण्डमा, म हमेशाका लागि हजुरलाई छोडेर जानेछु ।
ती दिव्य रमणीको प्रणयानुरागमा लवलीन बनेका राजा शान्तनुले तत्कालै तथास्तु भनेर उनका सबै शर्त सहजभावले स्वीकार गरे र उनलाई सप्रणय रथमा राखेर प्रसन्नतासाथ राजधानीतिर प्रस्थान गरे । उनलाई आफ्ना पिता प्रतीपले दिएको आदेश स्मृतिपटमा यथारूप झल्झलाकार भयो । उनले ती रमणीलाई कहिल्यै कुनै प्रश्न गरेनन्, उनलाई कुनै काम गर्न रोकेनन् अनि उनका कुनै गतिविधिमाथि पनि कहिल्यै प्रश्न उठाएनन् ।
ती दिव्य नारी गङ्गाको सान्निध्यमा महाराज शान्तनु अत्यन्त आनन्दित र परमसन्तुष्ट रहन्थे । कमनीय कान्ति भएकी मनोमोहनी रमणी गङ्गा आफ्ना कामभावविदग्ध हाव–भाव र सम्भोगचातुरीले शान्तनुलाई सदा आनन्दित तुल्याउँथिन् । ती दिव्य नारीका साथ कामानन्दमा आमग्न भएर विविध प्रकृतिमनोरम परिवेशमा विचरण र विहरण गरेर राजा शान्तनुले कति पल, कति घडी, कति दिन, कति सप्ताह, कति महीना र कति वर्षहरू व्यतीत गरे त्यसको केही अत्तोपत्तै रहेन । स्वच्छन्द–रमण गर्दै गङ्गाले गर्भधारण गर्दथिन् र यथासमय सुन्दर पुत्रलाई जन्म दिन्थिन् । यसरी गङ्गाले शान्तनुबाट आठ तेजस्वी पुत्र जन्माइन् । अत्यन्तै अनौठो कुराचाहिं के थियो भने : उनी आफ्नो पुत्र जन्मनासाथ त्यो नवजात शिशुलाई लिएर चूपचाप घरबाट निस्कन्थिन् र सरासर गङ्गातटमा पुग्दथिन् अनि उसलाई सस्नेह गङ्गाप्रवाहमा बहाउँदै भन्थिन् :
मैले तिमीलाई शापमुक्त तुल्याएँ, तिमी प्रसन्न होऊ !
यसै गरी उनले एक, दुई, तीन गर्दै आफ्ना सात सन्तानलाई गङ्गाप्रवाहमा बहाइदिइन् । पत्नीको यो व्यवहार शान्तनुलाई पटक्कै मन पर्दैनथ्यो । तर तिनले राखेको शर्त र आफूले दिएको वचन सम्झेर उनी एक शब्द पनि बोल्दैनथे । उनलाई केही बोल्नुअघि डर लागिहाल्थ्यो : यिनी मलाई चटक्कै छोडेर गैहाल्छिन्– भन्ने ।
तर, जब उनले आफ्नो आठौं सन्तानलाई पनि गङ्गाको जलप्रवाहमा बहाउन लागिन् अनि राजा शान्तनुलाई असह्य भयो । उनले आफूलाई रोक्नै सकेनन्, जे होला होला भनेर, मसक्क आँट गरेर, मुटु गाँठो पारेर, काँप्दै गरेको करुण स्वरमा गङ्गालाई रोक्दै भने :
हे प्रिये ! जनि गर, यस बालकको वध नगर, तिमी को हौ ? किन यसरी पुत्रघातिनी बन्छ्यौ ? कृपया यस्तो पापकर्म नगर ।
गङ्गाले शान्तभावले भनिन् :
हे पुत्रको इच्छा गर्ने राजन्, ठीक छ, म यस छोरोलाई बगाउँदिन । तर, अब मेरो तपाईंसँग बस्ने समयावधि पूरा भयो, यस वारे पहिले नै शर्त राखिएकै थियो । त्यो शर्त आज हजुरले तोड्नुभएको छ ।
त्यसो भए सुन्नुहोस् : म महर्षि जह्नुकी पुत्री जाह्नवी हुँ । म स्वर्गबाट यस धराधाममा ओर्लिएकी महर्षिसेविता गङ्गा हुँ । देवताहरूको कार्यसिद्ध्यर्थ म यस धरतीमा जन्म लिएर आजसम्म हजुरसँग बसेकी हुँ । यी हजुरका परमतेजस्वी आठ पुत्र भनेका महाभाग अष्टावसु हुन् । मुनिहोमधेनु नन्दिनीलाई चोरी गरेको अपराधमा महर्षि वसिष्ठजीको शापले यिनले मानवको जुनि लिनुपरेको थियो । जो गङ्गाप्रवाहमा बहेर शापमुक्त बनिसके । हजुरबाहेक यस जगत्मा यिनका जनक हुन योग्य कुनै पुरुष थिएनन् अनि मजस्ती अर्की मानवी पनि यहाँ कोई थिइनन्, जसले यिनलाई गर्भमा धारण गर्न सकून् । यी अष्टावसुकी जननी हुनकै निम्ति म यस धरामा मानवी बनेर आएँ, अनि हजुरले यिनका पिता बनेर अक्षय लोकमाथि विजय प्राप्त गर्नुभएको छ । अब मेरो काम सकियो । म जान्छु । हजुरको कल्याण होस् । अष्टावसुमध्ये कान्छा द्यु ले गाई चोरेको हुँदा वसिष्ठ ऋषिको शापले तिनले लामो समयसम्म यस मत्र्यलोकमा निवास गर्नुपरेको हो । तिनै अहिले हाम्रा पुत्र बनेर आएका छन् ।
यो हाम्रो पुत्र समस्त अष्टावसुको दिव्य अंश लिएर जन्मिएको छ । यो महापराक्रमी हुनेछ । अनि यसले हजुरका कुलको गौरव बढाउनेछ । यो मेरो पुत्रलाई हजुरले गंगादत्त नाम दिनुहोला र यसको बढिया ढंगले पालन पोषण गर्नुहोला । हे राजन्, कालान्तरमा यो गंगादत्त र देवव्रतका नामले लोकविख्यात बन्नेछ । यो मेरो बालक आफ्ना उत्तम गुणहरूले हजुरभन्दा पनि प्रख्यात हुनेछ । यो अहिले शिशु अवस्थामा छ । ठूलो भएपछि यो स्वयं हजुरका छेउमा आउनेछ । अनि हजुरले जब जब मलाई बोलाउनुहुनेछ म हजुरका सामू अवश्य प्रकट हुनेछु ।
यति भनिसकेर ती शान्तनुपत्नी बन्न पुगेकी सरिद्वरा गङ्गा– उता आफ्नो नवजात शिशुलाई लिएर त्यसै गङ्गको जलप्रवाहमा अन्तर्हित भइन् र आफ्नो दिव्यलोकमा गइन्, यता राजा शान्तनु पनि विवशतावश अत्यन्त शोकसन्तप्त–मन तथैव शिथिल–तन बनेर आफ्नो नगरतिर फर्किए ।
कालान्तरमा त्यसै बालकको नाम रह्यो– देवव्रत । उनलाई गाङ्गेय भनेर पनि सम्बोधन गरियो । उनले गरेको अटल प्रतिज्ञाका कारण उनलाई भीष्मपितामह भनेर समस्त लोकले चिन्यो ।
वास्तवमा यस समग्र महाभारत महाख्यानका केन्द्रीय पुरुष पनि तिनै भीष्मपितामह हुन् ।
……..
महाभारतको आदिपर्वमा आधृत,
२०८१ साल असौज ४ गते शुक्रवार,
ॐ अक्षरालय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।