शिव पञ्चाक्षरस्तोत्रमा ‘नमः शिवाय’ जसले यो पञ्चाक्षरको पूर्ण स्तोत्र शिवको सान्निध्यमा पाठ गर्छन्, तिनीहरू शिवको निवास पुग्छन् र आनन्दित हुनेछन् भनिएको छ 

 

पञ्चाक्षरमिदं पुण्यं यः पठेच्छिवसंनिधौ ।

शिवलोकमावाप्नोति शिवेन सह मोदते

पञ्चाक्षर ‘नमशिवाय’ मा न: नकाराय, म : मकराय, शि: शिकाराय, व: वकाराय र य: यकाराय स्तोत्र पाठ हुन्छ । यी स्त्रोत्रहरू निम्नानुसार छन्:

 

नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय ।

नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय

घाँटीमा नागराज माला, तेस्रो नेत्र रहेका, शरीरमा पवित्र भस्म लेपन गर्ने जो महान् ईश्वर हुन्, जो शाश्वत छन्, पूर्ण पवित्र छन् र चार वटै दिशाहरूलाई आफ्नो वस्त्रको रूपमा धारण गर्छन्, ‘न’ अक्षरधारी शिवलाई प्रणाम छ ।

 

मन्दाकिनीसलिलचन्दनचर्चिताय नन्दीश्वरप्रमथनाथमहेश्वराय ।

मन्दारपुष्पबहुपुष्पसुपूजिताय तस्मै मकाराय नमः शिवाय

मन्दाकिनी नदीको जलबाट पूजा हुने, चन्दनको लेप लगाइने, नन्दी र भूत–पिशाचहरूको स्वामी, जो महान् ईश्वर हुन्, मन्दार र अन्य फूलहरूबाट पुजिने, ‘म’ अक्षरधारी शिवलाई प्रणाम छ ।

 

शिवाय गौरीवदनाब्जबृंदा सूर्याय दक्षाध्वरनाशकाय ।

श्रीनीलकण्ठाय वृषध्वजाय तस्मै शिकाराय नमः शिवाय

जो सदा शुभ छन् र उदाउँदै गरेको सूर्य समान छन्, गौरीको अनुहारमा चमक ल्याउने र दक्षको यज्ञ भङ्ग गरी संहार गर्ने दिव्य रूप, जसको कण्ठ निलो छ र जोसँग नन्दी (साँढे) प्रतीकको रूपमा छ, ‘शि’ अक्षरधारी शिवलाई प्रणाम छ ।

 

वशिष्ठकुम्भोद्भवगौतमार्यमूनीन्द्र देवार्चिता शेखराय ।

चन्द्रार्कवैश्वानरलोचनाय तस्मै वकाराय नमः शिवाय

जो श्रेष्ठ र सबैभन्दा बढी सम्मानित सन्तहरू वशिष्ठ, अगस्त्य र गौतम अनि देवताहरूद्वारा समेत सुपूजित छन्, जो ब्रह्माण्डको मुकुट हुनुहुन्छ, जसले चन्द्र–सूर्य अनि अग्निलाई तीन चक्षुको रूपमा धारण गरेका छन्, ‘वा’ अक्षरधारी शिवलाई प्रणाम छ ।

 

यज्ञस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय ।

दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नमः शिवाय

जो यज्ञ स्वरूप छन् र जसको शिरमा जटा, हातमा त्रिशूल छ एवं जो शाश्वत छन्, दिव्य छन्, चमकिला छन् र चार दिशाहरू वस्त्रको रूपमा रहेका छन्, ‘य’ अक्षरधारी शिवलाई प्रणाम छ ।

भगवान् शिव चराचर जगत्का सृष्टि, स्थिति, प्रलयका कारण हुन् र श्री पशुपतिनाथ नै साक्षात् शिव मानिन्छन् । शिवतत्त्व, ब्रह्मतत्त्व र पशुपतितत्त्व एउटै हो । सबै आद्यःवाङ्गमयले श्री पशुपतिनाथलाई नै ब्रह्मतत्त्वको बोध गराउने अनादि, ज्ञानैकगम्य, निर्गुण, निराकार र सगुण साकारको स्वरूप मानेको छ । भगवान् श्री पशुपतिनाथको बारेमा ऋग्वेद १०.८५.४४ मा र शुक्ल यजुर्वेदको १६ औँ अध्यायमा भगवान् विभिन्न नाम, रूप एवं कर्मको व्याख्या गरिएको छ । भगवान् श्री पशुपतिनाथ पशुपति क्षेत्रमा नै साकार रूपमा विराजमान रहेकाले यो भूमि पावन क्षेत्र ज्ञानभूमि, तपोभूमि र मुक्तिद्वारको रूपमा रहेको विश्वास गरिन्छ ।

अज्ञानहरू सबैलाई पशु भनिन्छ, र पशुको अर्थ पासोमा बाँधिएको भन्ने अर्थ लाग्दछ । र, पशुलाई पासोबाट मुक्त गराई स्वतन्त्र गराउने परमात्मा नै सदाशिव मानिन्छन् । यस अर्थमा सम्पूर्ण पशुका पति, मालिक वा स्वामीको रूपमा पशुपति मानिन्छन् ।

भगवान् शिव सबै प्राणी र जीवको मुक्तिका पाँच रूप धारण गरेर श्री पशुपतिनाथको रूपमा अवतरण भएका हुन् । अथात् श्री पशुपतिनाथ पञ्चकृत्यका सम्पादक, परब्रह्म पञ्चरूप विभूषित, पञ्चतत्त्वका अधिष्ठान, पञ्चब्रह्मात्मक पञ्चमुखी ज्योतिर्लिङ्ग, पञ्चदेवीशक्ति सम्पन्न र पञ्चाक्षरका सान्निध्य हुन् । अर्थात्, पञ्चाक्षरस्त्रोत्रमा रहेको ‘नमशिवाय’ शिवको सान्निध्यमा पाठ गर्नाले तिनीहरू शिवलोकमा पुग्ने र आनन्दित हुनेछन् भनिएको छ, र त्यो सान्निध्य पशुपति क्षेत्र रहेको विश्वास छ ।

शिवमहापुराण, कोटिरुद्रसंहिता (अध्याय ११ र १९) मा भगवान् श्री पशुपतिनाथ प्रसिद्ध द्वादश ज्योतिर्लिङ्गमा हिमालय क्षेत्रमा रहेका केदारनाथको शिरोभाग मानिन्छन् । गोत्रहत्याको पापबाट  मुक्ति पाउन भगवान् शिवको दर्शनार्थ पाण्डवहरूलाई शिवले दर्शन नदिई भागेको र महिष रूप शिवको शिरोभाग श्री पशुपतिनाथको ज्योतिर्लिङ्गका रूपमा प्रकट भएको विश्वास गरिन्छ । यस अर्थमा श्री पशुपतिनाथ आदि लिङ्गमा महाभारत युद्ध समाप्तिपछि केदारनाथको शिरोभाग मिलेर महाज्योतिर्लिङ्ग भएको विश्वास गरिन्छ । भगवान् श्री पशुपतिनाथको ज्योतिर्लिङ्गलाई ज्योति रूप महालिङ्ग र श्री पशुपतिनाथलाई  भगवान् शिवको स्वयम्भू ज्योतिर्लिङ्गको प्राचीनतम ब्रह्मस्थान हो ।

श्री पशुपतिनाथ विश्वभरिका समस्त सनातनीहरूको शास्त्रीय विश्वास र आधुनिक आस्थाको धरोहरका रूपमा समेत रहेको छ । श्री पशुपतिनाथको सन्निकटमा रहको गुह्येश्वरी शक्तिपीठ र बागमती जलाधारसँग सम्बन्धित सबै सम्पदाहरू शैवशक्ति, सम्पदा एवं मान्यता र अभ्यासहरूको उत्पत्ति र विकास क्रमसँग प्रतिकात्मक सम्बन्ध राख्दछ । श्री पशुपतिनाथको सान्निध्यका सबै प्रतिकात्मक सम्बन्ध राख्ने सम्पदाहरूको अवस्थिति, मान्यता र अभ्यासहरूको उपादेयताको बारेमा अर्को अङ्कमा प्रस्तुत हुनेछ ।