
सूचना संचार प्रविधिको विकासले संस्कृति हस्तान्तरणमा ठूलो भूमिका खेलेको छ । रोम राज्यमा २६९ ईशापूर्वमा घटेको घटना र त्यसलाई प्रेम दिवसको रुपमा मनाउने पश्चिमा संस्कृति आज हाम्रो घरको चुलासम्म आइपुगेको छ । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको बलिदान वा उनलाई दिएको मृत्युदण्डको दिनको सम्झनामा संसारभर आज प्रेम र प्रणय दिवसको रुपमा मनाउँछन् । कुनै पनि दिनलाई दिवसको रुपमा मनाउनुको अर्थ हुन्छ । त्यस दिनप्रति दुनियाँको ध्यान आकृष्ट गर्नु । केका लागि दिवस मनाएको हो, त्यसको महत्त्व विस्तारित गर्नु । दुनियाँमा अशान्ति, हिंसा, द्वन्द्व बढेका बेला, अविश्वास, एकांकीपनले मान्छेलाई आक्रान्त पारिरहेको छ । पारिवारिक, सामाजिक तथा सांस्कृतिक विखण्डन बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ । यस्तो समयमा प्रेम दिवसको विशेष महत्त्व बढोत्तरी हुनु स्वभाविक छ । किनकि जति अँध्यारो बढ्छ, उज्यालोको महत्त्व उत्ति नै महसुस हुन्छ ।
म क्याम्पस पढ्ने समय पहिलो वर्षको हिउँदको दिन थियो । एक दिन मुनामदन, रोमियो र जुलियट, अनि खोई कुन एउटा किताब र सात पेजको चिठी लिएर एकजना मेरो मिल्ने साथी म बस्ने कोठामा आइन् । खासमा त्यो चिठीहरू मेरो नामका थिए । साथी हुलाकी थिइन् । चिठी र किताब एकदम मजाले प्याक गरिएको थियो । बाहिर मेरो नाम, पठाउने साथीको नाम अनि ठूलाठूला अक्षरमा लेखिएको थियो – “ ह्याप्पी भ्यालेन्टाइन्स डे ।” हो, मैले पहिलोपल्ट यस दिवसबारे त्यही दिन सुनेको हुँ । जिन्दगीमा त्योभन्दा पहिले मैले यो शब्द कहिल्यै सुनेको थिइनँ । जमाना कति लाटो थियो, म नै लाटी थिएँ । सम्झन्छु, त्यो दिन फेब्रुअरी १४ थिएछ ।
चिठी र किताबका उपहार सबै फिर्ता भए । साथीले फिर्ता लान मानिन, मैले जबरजस्ती गरेँ । उनले पनि जबरजस्ती गरिन् । म रिसाएँ पनि । साथीले त्यो उपहार र चिठी कोठामै छोडेर गइन् । म पनि के कम, तिनकै कोठामा लगेर छोडिदिएँ । त्यसपछि क्याम्पसको क्लास नै चौपट भयो, नरमाइलो भयो । रमाइलो हुनुपर्ने नि हगि ?
नरमाइलो हुने कारण त्यही चिठी भयो । चिठी, चिठीमा भनिएका कुरा स्वीकार्नु त परको कुरा, म त बोल्न नै छोडिदिएँ चिठी पठाउने साथीसँग । त्यसअगाडि हामी कक्षामा बहुत रमाइलो गर्थ्यौं । खाली पिरियडमा हाजिरी जवाफ, अन्ताक्षरी खेल्थ्यौँ । केटीपट्टिबाट म नेतृत्व लिन्थेँ । केटापट्टि उनले नेतृत्व लिन्थे । बाटोमा पनि भेट भएका बेला ग्रुपमा गफ हाँक्दै हिड्थ्यौँ । त्यसपछि ती सब कुरा बन्द भयो । यतिसम्म भयो कि क्याम्पसको पढाई छुटिसक्दा पनि हाम्रो बोलचाल भएन । साथी त बोल्न धेरै खोजेका हुन्, निकै मरिहत्ते गरेका हुन् तर मैले त्यो वातावरण नै दिइनँ । साथीले वार्षिक परीक्षामा क्याम्पस टप गरे । मलाई व्याक लाग्यो तर पनि म बोलिनँ । क्याम्पस सकियो र पनि म बोलिनँ । त्यसपछि त झन् फोन फेसबुक केही थिएन । भेट हुने, सम्वाद हुने सम्भावना नै भएन । केही वर्षअघि हामी छुटेको लगभग बीस वर्षपछि फेसबुकमा खोजेर फ्रेन्ड रिक्वेस्ट पठाएँ । अँग्रेजी मा.वि. स्थायी शिक्षक रहेछन् । उनले एसेप्ट गरेर फेरि ब्लक गरे ।
जीवनमा यस्ता क्षणहरू अरु पनि धेरै आए तर ती भ्यालेन्टाइन्स डेको दिनका थिएनन् । हरेक मान्छेको जीवनमा यस खाले क्षणहरू धेरैपटक आएको हुन्छ । कसले कसरी त्यस्ता क्षणको सामना गर्छ भन्ने त्यही व्यक्तिमा भर पर्ने कुरा हो । एकपटक एक महिनाको तालिम लिन पश्चिम गएको थिएँ । तालिममा केटाकेटीको ठूलै समूह थियो । एकजना उपाध्याय बाहुन साथी मप्रति त्यत्तिकै फिदा भई निस्के । सामान्य बोलचाल मात्रै भएको हो । अलि डिस्टर्व नै गर्न थालेपछि उनीसँग पनि म बोल्न नै छोडेँ । तालिम अवधिभर हाम्रो बोलचाल भएन । उनले तनाबमै तालिम सके, मैले पनि । म कति स्थलगत अध्ययनमा सरिक नै भइनँ । तालिम सकिएपछि सबै साथीसँग गाडी चढेँ । उनी रुँदै थिए । म अझै नबोली हिडेँ ।
अहिले आफ्नै जीवनलाई फर्केर हेर्छु । यो कथा सुन्दा म आफू निष्ठुरी जस्तो लाग्छ तर गुनासो गर्ने ठाउँ भेट्दिनँ । साथीहरुको प्रस्ताव किन स्वीकारिनँ भनेर पछुतो पनि लाग्दैन । किनकि मलाई केही गरुँ भन्ने चाहना थियो तर उहाँहरुको हृदयमा पुगेको असरप्रति भने क्षमाप्रार्थी छु तर उहाँहरूको आँशुले मलाई पिरोल्दैन । अहिले पनि मलाई पिरोल्छ मेरा आफ्ना सपनाहरूले । ती सपनाहरुका लागि हिजो पनि धेरै संघर्ष गरेँ र आज पनि संघर्ष जारी छ । मैले उहाँहरूलाई धोका दिएको होइन, अस्वीकार गरेको हो । उहाँहरुको प्रेम प्रस्ताव अस्वीकार गरेको हो । मेरो अहिले त्यस्तो गर्ने चाहना छैन भनेर भनेको हुँ तर पत्याएजस्तो लागेन । मलाई मुखले भन्न अरु पनि आउँथ्यो तर म जे भन्थेँ त्यो साथीहरूका लागि साह्रै अप्रिय हुन्थ्यो । त्यही भएर नबोलेर टारी दिएँ । मलाई पनि एकजना साथी असाध्यै मन पर्थ्यो । हाम्रो समयमा केटीहरूले पनि प्रस्ताव गर्ने, चिठी पठाउन सुरु गर्ने चलन थियो रे ! हामी स्कुल पढ्दा हाम्रो साथीहरूको बीच त्यस्तै एउटा नरमाइलो घटना पनि घटेको थियो । एकजनाले कुटाई पनि खाएका थिए तर मैले त्यसो गरिनँ । मलाई मनपर्छ भन्दैमा अर्को जनाले मन पराउने कुरा हुँदैनथ्यो । मैले चाहँदैमा अर्कोले पनि चाहनु पर्छ भन्ने पनि होइन । त्यो कथा त्यहीँ सकियो । सानैदेखि प्रेम सम्बन्धका बारे मेरो आफ्नै धारणा थियो । आजको दिनसम्म पनि त्यही धारणा छ । कसैको लागि मरिहत्ते गरिहालुँ, रोइहालुँ भन्ने कहिल्यै लागेन । कुनै सम्बन्ध स्थायी छैनन् जस्तो लाग्थ्यो । शास्त्रमा पढेजस्तो, फिल्म, कथा, उपन्यास, काव्यमा व्याख्या गरेजस्तो प्रेम वास्तविकतामा हुँदैन लाग्थ्यो । कसैसँग नाम जोडिनु भनेको सामानमा ट्रेडमार्क लागेजस्तो हो । असफल भएमा शीर उठाएर बाँच्न गाह्रो हुन्छ लाग्थ्यो । यो मेरो भ्रम पनि हुन सक्छ । आजको दिनसम्म पनि यही चलिरहेछ ।
प्रेमका बारे जे देखियो मेरो त्यो धारणा मिलेजस्तो लाग्छ । त्यस्ता कति प्रेम छिनभरमा घृणामा परिणत भएका दृष्टान्त आँखै अगाडि छ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएर बिहे बन्धनमा बाँधिएकाहरू एकअर्कालाई मार्न पनि तयार भएका उदाहरणहरू देखिन्छन् । हाम्रो एउटा गलत धारणा छ प्रेम गरेपछि बिहे गर्नैपर्छ । अनि बिहे गछौँ, बिहेपछिका अनेक विकार र समस्याहरू कञ्चन खोलामा ढल मिसाएजस्तो मिसाउँछौँ र प्रेमलाई अपवित्र बनाउँछौँ । अनेक असहमति, अहं, स्वार्थ मिसाएर टुक्राटुक्रा, धुजाधुजा बनाउँछौँ । वास्तवमा पाउनुमा भन्दा नपाउनुमा चोखो र अमर छ प्रेम । प्रेमप्रति हाम्रा अनेक आशाहरू हुन्छन् । ती आशा र अपेक्षा पूरा होस् भन्ने चाहन्छौँ । प्रेममा अनेक बन्धन र तगाराहरू लगाउने प्रयास गछौँ । ती बन्धन तोडिए धोका भएको ठान्छौँ । प्रेमलाई घृणामा परिणत गर्छौँ । ओशो भन्छन् –“प्रेम स्वतन्त्रतामा हुन्छ तर बिहे एक बन्धन हो ।” हामी सोच्छौँ –“मन परेको मान्छे पाउनु नै प्रेम प्राप्त गर्नु हो ।” प्रेम के पाउनै पर्छ ? नपाएमा घृणा गर्छौँ भने के त्यो प्रेम हुन्छ त ? जुनसुकै अवस्थामा पनि प्रेम गरिरहन सक्नु पो वास्तविक प्रेम हो ।
उपन्यास लेख्ने क्रममा मैले धेरै मान्छेसँग उहाँहरूको प्रेम अनुभव सोधेँ । हरेकसँग एउटा एउटा कथा हुँदोरहेछ । हरेकले एकएक मान्छेलाई मनमा राखेका हुँदा रहेछन् । हरेकसँग आदर्श प्रेमको चाहना हुँदोरहेछ । हरेकमा एक सोलमेटको चाहना हुँदोरहेछ ।
प्रेम एक आदर्श हो । त्यो आदर्श प्रेममय जीवन थोरैको हुन्छ तर धेरैको हुँदैन । मान्छेले त्यही आदर्श प्रेमको कल्पना गर्छ तर त्यस्तो प्राप्त गर्न सक्दैन अनि विक्षिप्त बन्छ । प्रेम एउटा जिम्मेवारी पनि हो । त्यो जिम्मेवारी देखाउन नजानेर पनि असफल छन् कति । अरुबाट मात्र आदर्श प्रेमको आशा राख्ने आफूले गर्न नजानेर पनि पीडित छन् कोही । प्रेम एक भूमिका पनि हो । एउटा व्यवहार पनि हो । व्यवहारिक भूमिका राम्ररी निभाउन नसक्दा कतिपय प्रेमिल जोडीहरू दुर्घटित हुन्छन् । प्रेम गर्ने कुरा र देखाउने कुरा हो । शब्दमा भन्ने र सुन्ने कुरा होइन । प्रेमका लागि कुनै कारण हुँदैन भनेर ओशोले भनेका छन् तर हामीले प्रेममा स्वार्थ मिसाएका छौँ । हरेक प्रेममा हाम्रो एउटा कुनै न कुनै स्वार्थ छ । ऊबाट केही पाउने अभिलाषा छ । त्यो अभिलाषा पूरा भइन्जेल हामी प्रेम गर्छौँ । अभिलाषा पूरा भएन भने घृणा गर्छौँ । आजको हाम्रो प्रेम कहाँ छ ? विकासानन्दले भनेका छन् –“प्रेममा कर्ता हुँदैन ।” हामी प्रेमबाट प्रतिफल प्राप्ति हुने आशा राख्छौँ । प्रतिफल प्राप्त नभए घृणा गर्छौँ । दुनियाँलाई प्रेम सिकाउने, अहिंसाको पाठ सिकाउने बुद्धले प्रेमलाई दुःखको कारण हो भनेका छन् । प्रेमले भय र शोक उत्पन्न गराउँछ भनेका छन् ।
कतिले भन्छन् प्रेम स्त्री र पुरुष बीचको एक सम्बन्धमा मात्र सीमित राख्नु हुँदैन तर दुनियाँले प्रेमलाई त्यही रुपमा हेर्छ, जहाँ एक केटा हुन्छ अर्को केटी अनि उनीहरूबीच मायाँ बस्छ र प्रेम सुरु हुन्छ । हामीले पनि त्यही बुझ्यौँ तर प्रेम अनन्त छ । यसको कुनै सीमा छैन । प्रेमशून्य प्राणी छ भने एउटा जीव समूह छ त्यो हो, रेप्टाइल । अन्य जुनसुकै जीवजनावरमा पनि प्रेमको अनुभूति गर्ने गुण रहेको हुन्छ । अरु प्राणीभन्दा मान्छे प्रेमको कुराले पनि फरक छ । ऊ दुनियाँमा आफूलाई मन परेका सजीव निर्जिव सबै कुरालाई माया गर्न सक्छ । कुनै जनावरलाई यति मन पराउँछ । यति माया गरेर पाल्छ । अनि त्यसैलाई मारेर मासु खान्छ । यति स्वाङ् पनि पार्छ कि मार्ने बेलामा आँशु पनि झार्छ । कति महिनासम्म मायाले कुरा पनि गरिरहन्छ । अन्य चिजविजहरू मन परुन्जेल यति माया गरेर जतनले राख्छ । मन नपरेपछि, फ्याँक्छ, बेच्छ, साट्छ, जे पनि गर्छ । यो स्वभाव मानिसमा जो छ, यसको प्रभाव कुनै न कुनै दिन व्यवहारमा देखाउन किञ्चित लाज मान्दैन, त्यो प्रेमको सम्बन्धमा किन नहोस् ।
तर प्रेम मान्छेको जीवनमा अपरिहार्य कुरा हो । प्रेमले हरेक प्राणीको जीवन रङ्गीन बनाएको हुन्छ । खुशीको एउटा प्रमुख स्रोत नै प्रेम हो तर प्रेम पनि खुशीमा नै फुल्ने चिज हो । आजका धर्मशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, राजनीति प्रेमको परिभाषा विना अधुरो छन् । वास्तविक प्रेम र प्रेमील जोडी नभेटिने होइन । प्रेमको लागि राजगद्दी समेत त्यागेका उदाहरण पनि प्रशस्तै भेटिन्छन् । बेलायतका राजकुमार ह्यारी वर्तमान समयका एक उदाहरण हुन् । बेलायतमा राजपरिवार तथा त्यहाँका मिडियादेखि जनतासम्मले बेलायतकी पूर्व युवराज्ञी मेघन मर्केललाई बेलायती राजपरिवारमा नसुहाएको भने । उनलाई गरेको उपेक्षा र अपमानको कारण ह्यारीले ९ जनवरी २०२० मा शाही खान्दान त्यागेर श्रीमती मर्केलसँगै क्यानाडा बस्ने र साधारण जीवन जिउने घोषणा गरे । उनले यो घोषणामा भनेका कुराहरू बहुत मर्मस्पर्शी छन् । उनले मर्केललाई त्यागेनन् । मर्केलको मायाका लागि शाही खान्दान त्यागे । यो इतिहासकै एक उदाहरणीय घटना हो । प्रेम अन्धो हुन्छ त्यसै भनिएको होइन । भारतका मुगल सम्राट शाहजाहँले मुमताज महलका नाममा ताजमहल बनाए । राजकाजलाई ख्याल नगरी मुमताजको मायामा विक्षिप्त बनेर ताजमहल बनाउन लागिपरे । अनि आफ्नै छोरा औरंगजेबद्वारा बन्दी बनाइए । बन्दी जीवन ताजमहल हेरेर बिताउने इच्छा व्यक्त गरे । ताजमहल हेरेर मुमताजलाई सम्झेर प्राणत्याग गरे । यी उदाहरण मात्र हुन् । माया प्रेमका लागि दुनियाँमा अनौठा अनौठा घटनाहरू घटेको पाइन्छ ।
खासमा प्रेम दिवस मनाउनु नराम्रो कुरा होइन तर यसलाई फेसनको रुपमा मनाउनु नराम्रो हो । आजको दिन जोडी बनाउनै पर्छ, कोही मान्छेलाई प्रेमसम्बन्धमा बाँध्नै पर्छ भन्ने जुन जबरजस्त मनोविज्ञान नयाँ पुस्तामा देखिएको छ, त्यो गलत छ । मानव जीवनमा हरेक दिन, हरेक समय प्रेममय हुन जरुरी छ । हतारमा सम्बन्धमा बसेर फुर्सदमा पछुताउनु भन्दा एकपटक सम्बन्धमा बस्नु पूर्व दसचोटी सोच्नु जरुरी छ । अमेरिकाको एक सर्वेक्षणले हरेक तीनजनामा एकजनाले आफ्नो सम्बन्धलाई छलिरहेका हुन्छन् भन्ने तथ्याङ्क दियो । यो यिनैले गर्छन् जो मन नपरे पनि रहरले, हतारले, करले आदि कारणबाट सम्बन्धमा बसेका हुन्छन् । उनीहरू आफ्नो सम्बन्धमा असन्तुष्ट छन् । त्यसैले प्रेम सम्बन्धमा बस्नुपूर्व आफ्नो लक्ष्य, उद्देश्य र चाहनाहरु भूल्नु हुँदैन । यस अनुसारको सहकर्मीको बानी, स्वभाव, आचरण, उनको जीवनका लक्ष्य, उद्देश्य, व्यवहार मिल्छन् मिल्दैनन् हेर्नु राम्रो हुन्छ । प्रेम गर्न चाहनेले प्रेम गर्न जान्नु पनि पर्छ । रिस, ईर्ष्या, घमण्ड प्रेमका शत्रु हुन् । प्रेमले सम्मान चाहन्छ । सम्मानमा नै प्रेम फस्टाउँछ । हामीले मन पराएको एक व्यक्ति नै त्यस्तो निर्विकल्प व्यक्ति होइन । आज नभएर के भो, भोलि कोही तपाईँको लागि रातो गुलाब लिएर अवश्य आउने छ । प्रेमले निराशा होइन, जीवनमा आशा जगाउनु पर्छ । सबैमा प्रेम दिवसको शुभकामना !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

