मैले सुनेको छु… एक रात यस्तो भयो– थाकेर चुर भएको एक पुरुष घर फर्कियो । थाकेको थियो, भोक–प्यासले चुर थियो । ओछ्यानमा थचक्क बस्यो । उसले पत्नीलाई भन्यो, ‘जाऊ, पानी लिएर आऊ । मलाई ज्यादै प्यास लागेको छ ।’

पत्नीले पानी लिएर आई । तर उसको पुरुष यति थाकेको थियो कि ऊ उभिनै सकेन । हल्का ढल्कियो । ढल्कनेबित्तिकै उसलाई निद्रा लाग्यो । उसकी पत्नी रातभरि पानीको गिलास हातमा लिएर ओछ्यानछेउ उभिई नै रही । उठाऊँ ? उसलाई उठाऊँ नलागेको होइन । उसलाई त्यो उचित लागेन । उसको निद्रा खल्बलिन्छ । उसो भए सुतूँ ? थाहा छैन कुन बेला यिनको निद्रा पुग्ने हो र पानी माग्ने हुन् ! प्यासै त सुतेका थिए ! आफ्ना प्रियतम् प्यासै सुतेका होऊन् र ब्युँझिएका बेला पानी दिन नपाइयोस्, यो हुन सक्तैन । कुन बेला पानी भन्लान् ! त्यसैले ऊ रातभरि गिलास लिएर उभिइरही ।

एकाबिहानै पतिको आँखा खुल्यो । गिलास लिएर पत्नी उभिइरहेकी छे । पति छक्क पर्‍यो र भन्यो, ‘पागल, तँ सुतेकी भए हुन्थ्यो नि !’

पत्नीले भनी, ‘यो त सम्भव छैन । तपाईंलाई प्यास लागेको थियो । तपाईं जुनसुकै बेला उठ्न सक्नुहुन्थ्यो !’

‘उसो भए तैँले उठाएकी भए पनि त हुन्थ्यो नि !’

‘त्यो पनि मैले सकिनँ किनभने तपाईं थाकेर आउनुभएको थियो । निद्रा लागेको थियो । त्यसैले तपाईं निदाउनुहोस् बरु म गिलास लिएरै उभिन्छु । जब तपाईंको निद्रा खुल्नेछ, पानी पिउनु होला । निद्रा खुलेन भने पनि केही छैन । एक रात जाग्राम बस्दा मेरो के बिग्रन्छ ?’

यो कुरा सारा गाउँभरि फैलियो । सम्राटले गाउँकी त्यो पत्नीलाई बोलाएर धेरै हिरा जवाहरात दिँदै भन्यो, ‘मैले यस्तो प्रेमको धारा मेरो यो राजधानीमा बगेको थाहा थिएन । थोरै मात्र बगेको छ भने पनि हामी अझै मरेका छैनौँ । हाम्रो संस्कृतिको प्राण ज्यूँदै छ, अझै स्पन्दित छ ।’

छिमेकी महिलाले यो थाहा पाएपछि ईर्ष्याले खग्रास भई । उसले सोची, ‘यस्तो पनि कुरा हुन्छ कहीँ ? रातभर हातमा गिलास लिएर उभिनु र यसका लागि लाखौँ मूल्यको हिरा जवाहरात दिनु ! यो कुन चैँ खास कुरा हो र ?’

उसले आफ्नो पतिलाई भनी, ‘सुन्नुस्त, आज तपाईं थाकेर चुर भएर आउनू है । आउनेबित्तिकै ओछ्यानमा बस्नू । पानी माग्नू । म पानी लिएर आउँछु । तर तपाईं थपक्क सुत्नू । म चाहिँ रातभरि नै पानी लिएर बस्छु । जब तपाईंको आँखा खुल्छ, तपाईंले मलाई किन रातभरि पानी लिएर उभिएकी भनी हप्काउनू । मलाई उठाएकी भए हुन्थ्यो भन्नू । त्यसपछि म भन्छु, म हजुरलाई कसरी उठाउन सक्थेँ ? हजुर त थाकेर चूर भएर आउनु भएको थियो । अनि फेरि तपाईंले भन्नू, उस भए सुतेकी भए हुन्थ्यो नि ! जवाफमा म भन्छु, म कसरी सुतूँ ? हजुरलाई प्यास लागेको थियो । र, यी कुरा यति ठूलो स्वरमा गर्नुपर्छ कि सारा छिमेकीलाई थाहा होस् । उनीहरूले सुन्ने गरी नै हाम्रा कुरा हुनुपर्छ । किनभने यो त हदै भयो, एक रात उभिँदै हिरा जवाहरात पाइँदो रहेछ… कसलाई थाहा हुन्छ, कोही उभिएको थियो या थिएन, कोही राति सुत्यो कि सुतेन, झपक्क भयो कि भएन । अनि बिहान हुनेबित्तिकै हल्ला मच्चायो । सम्राटबाट पुरस्कार थाप्यो । कति मज्जा !’

नभन्दै भोलिपल्ट पति कामबाट थाकेर साँझ घर फर्कियो । फर्कनै पर्‍यो, पत्नीको आदेश जो थियो ! थाकेर नै फर्कनू भनिएको थियो, त्यसैले ऊ थाकेर फर्कियो । आउनेबित्तिकै थकानले ऊ ओछ्यान छेउमा बस्यो र पत्नीलाई भन्यो, ‘प्यास लागेको छ ।’

उसकी पत्नीले पानी लिएर आई । त्यतिञ्जेल उसलाई पानी पर्खने धैर्य पनि थिएन । ऊ ओछ्यानमा ढल्कियो । उसलाई यति प्यास लागेको थियो कि निद्रै लागेन तर पनि पत्नीले भनेकी थिई, ऊ बाध्यताले ढल्किरह्यो । जब कुनै पत्नीले भन्छे, मान्नु त पर्‍यो ! फेरि लाखौँको हिरा जवाहरातका कुराले उसको मन लोभ्यायो पनि !

यसपछि पत्नीले सोची, बाँकी दृश्य त बिहानीका लागि चाहिन्छ । अब रातभरि उभिएर बेकारमा किन समय नष्ट गर्ने ? यसको के अर्थ छ र ? अनि फेरि कसलाई पो म उभिएको वा सुतेको थाहा हुन्छ र ? गिलास एकातिर राखेर ऊ पनि सुतिदिई ।

बिहान उठेर उसले ठूलो स्वरमा कुरा गरी ताकि उसका छिमेकीले थाहा पाऊन् । कुरा एक कान दुई कान मैदान भयो । उसलाई पनि सम्राटको दरबारबाट बोलावट आयो । ऊ ज्यादै प्रशन्न भई । तर जब दरबारमा पुगी, ऊ छक्क परी । सम्राटले उसको स्वागतका लागि कोर्रा राखेको थियो । त्यही कोर्रा उसमाथि बर्साइयो । ऊ चिच्याउन थाली, ‘यो कस्तो अन्याय हो ? एउटीलाई चाहिँ हिरा जवाहरात अनि मलाई चाहिँ कोर्रा ? मैले पनि त त्यही गरेकी थिएँ !’

सम्राटले भन्यो, ‘तैँले गरिस् त्यही तर तँबाट भएको चाहिँ होइन । हुनुको मूल्य छ, गर्नुको कुनै मूल्य छैन । जीवनमा दिनदिनै गरिन्छ । यदि हृदयमा स्पन्दन छैन भने तिमीले गर्न त सक्छौ तर त्यो गर्नुको के अर्थ ?’

सारा मन्दिर, मस्जिद, चर्च, गुरुद्वाराले ‘गर्न’ सिकाउँछन् । धर्म कर्मकाण्ड हो । त्यहाँ ‘हुनु’ घट्दैन । गीता पढिन्छ, त्यहाँ गर्ने काम भइरहेको छ, त्यहाँ गीता भइरहेको छैन । तिमीले सुनेका छौँ, गीता पढ्नेहरू पापबाट मुक्त भएका छन्, मोक्ष प्राप्त गरेका छन् । तिमीले सोच्यौ, म पनि मुक्त हुन्छु । त्यसैले पनि तिमीले पढ्न थाल्यौ । तर तिम्रो पढ्नु त्यो अर्की पत्नीको जस्तो काम भयो । तिमीले परमात्मालाई धोका दिन सक्तैनौ । साधारण सम्राटलाई त तिमीले छल्न सक्तैनौ । यस्तो घटना दिनदिनै घट्दैन भन्ने उसले पनि बुझ्यो । र, छेउमै, छिमेकमै घट्यो ! त्यहीँको त्यहीँ घट्यो, ठीक त्यस्तै घटना घट्यो ! यो त पक्कै नाटक मञ्चित भयो ।

जीवन दोहोरिदैन । हरेक भक्तले परमात्माको प्रार्थना आफ्नो ढंगले गरेको छ, अरु कसैको शैली, ढंगले होइन । हरेक प्रेमीले प्रेम आफ्नो तरिकाले गरेको छ । कुनै मजनू र सिरी तथा फरिहाद, तिनको किताब अगाडि राखेर र तिनका पन्ना पढेर कण्ठस्थ गरेर प्रेम गरेको हुँदैन ।

कुनै जीवन नाटक होइन । कुनै प्रम्प्टर उसका पछिल्तिर उभिएको छैन र उसले भनिरहेको होस्, अगाडि हिँडिराख, अब यहाँ उभिऊ । अब यसो भन । जीवन त जीवन हो । तिमीले त्यसलाई पुनरुक्त गरेर खराब गर्छौ । तिमीले गीतालाई हजारौँ पटक पढ, तर जसरी अर्जुनले सोधेका थिए, ठीक त्यस्तै जिज्ञासा भएन भने, त्यस्तै प्राणपणले उठेको मुमुक्षा हुने छैन । त्यही मुमुक्षाले कृष्णको कथन सरल भयो, अर्जुनले बुझ्न सम्भव भयो, त्यही स्तरको बुझाई तिमीमा घट्न सक्तैन ।

जगत्मा दोहोर्‍याउन सकिँदैन । प्रत्येक घटना अनौठो छ । त्यसैले सबै रिचुअल, सबै कर्मकाण्ड धोका हो, पाखण्ड हो । तिमीले बिर्सेर पनि कसैको नक्कल नगर्नू किनभने त्यहीँ धोका आउँछ र प्रामाणिकता हराउँछ ।

प्रामाणिकका लागि मुक्ति छ, पाखण्डका लागि मुक्ति छैन । तिमीले लाखौँ पटक टाउको भित्तामा हान र भन, मैले त ठीक त्यस्तै गरेको थिएँ, मैले पनि ठीक अक्षरशः पालना गरेको थिएँ नियमहरू पनि मिलाएको थिएँ र पनि यो अन्याय किन ? अक्षरशः पालनाको प्रश्न होइन यो । याे त हृदयको स्वरको प्रश्न हो ।