सायद यस कथाको शीर्षक यही ठीक हुन्छ होला भन्ने मलाई लाग्यो। यो महाभारत युद्ध सकिइसके पछिको कथा हो । कथा निकै रोचक छ। किनकि कृष्णको काम र कर्तव्य देखेर धेरै मानिसमा शङ्का उपशङ्का उब्जिन्छ । धेरै मानिसहरुले त बुझ्दै बुझ्दैनन् । किनभने कृष्णको उपदेश एकखाले छ, जीवन अर्को खाले देखिन्छ। कृष्णको सारथि उद्धवको मनमा पनि यस्तै अनेक शङ्काहरु रहेकाले एकदिन उनले सोधे, “पाँच पाण्डवका त तपाईंको मित्र नै हो । तपाईंले सहयोग गर्नु भयो पनि तर साँचो मित्र के हो त ?”

कृष्णले भने, “साँचो मित्र त्यो हो, जसले आवश्यकता परेको बेला नबोलाइकन आफैँ बुझेर पनि सहयोग गर्दछन् ।”

उद्धवले फेरि सोधे, “त्यसो भए तपाईंले मित्रको जुन परिभाषा दिनुभयो, के त्यो व्यवहारमा ठ्याक्कै त्यही गर्नु पनि भयो त ?”

तपाईंले युधिष्ठिरलाई जुवा खेल्न नै किन दिनु भयो ? ल, त्यो दिनुभयो ठीक छ तर बाजी जिताउन पनि सक्नुहुन्थ्यो । त्यसो किन गर्नुभएन? ल त्यो पनि ठीक छ । जब सबै हारिसकेपछि आफ्ना भाइहरुलाई नै दाउमा लाउन किन दिनुभयो? ल त्यो पनि केही छैन । त्यसपछि दुर्योधनले पाण्डवहरुको भाग्य नै द्रोपदी भएको र उनलाई दाउमा लाउन उक्साउँदै जितेमा सम्पूर्ण हारेको फिर्ता दिने हुँदा पनि जिताइदिनु भएको भए पनि त हुन्थ्यो। तपाईंको के जान्थ्यो, हैन र ?

“तर तपाईंले त त्यो बेला मात्रै हस्तक्षेप गर्नुभयो, जब द्रोपदीको लुगा फुकाल्न थालियो । तपाईंले द्रोपदीलाई लुगा दिएर के द्रोपदीको इज्जत बच्यो त ? तपाईंले द्रोपदीको इज्जत बचाएको दाबा गर्नु त बेकार छ । के उनलाई कपालमा पक्रेर घिसारेर त्यत्रा मानिसहरु बसेको सभाहलमा निर्वस्त्र बनाउन ल्याउँदा द्रोपदीको इज्जत गएन र ? त्यतिखेर चाहिँ किन बचाउनुभएन ?

“जब सङ्कटको समयमै तपाईंले आफ्नो मान्छेको मद्दत गर्नु भएन भने तपाईंलाई पाण्डवका साँचो मित्र कसरी भन्न सकिन्छ ? भन्नुहोस् भगवान् ! तपाईंले किन मद्दत गर्नुभएन ? के यही धर्म हो ?”

यसपछि कृष्णले लामो श्वास फेरे र भने, “प्रिय उद्धव! यही सृष्टिको नियम हो कि विवेकवानले नै जित्दछ। त्यो समय दुर्योधनसँग विवेक थियो तर युधिष्ठिरसँग थिएन। त्यसैले युधिष्ठिरले हार्नु पर्‍यो। दुर्योधनसँग धनसम्पति त धेरै थियो जुवा खेल्नको लागि तर ऊ आफैँलाई पासा खेल्न आउँदैन थियो । त्यसैले उसले मामा सकुनिको साहारा लिए। यही विवेक हो। यहाँ युधिष्ठिरले पनि यही प्रकारले सोच्न सक्थे र आफ्नो तर्फबाट मलाई खेलाउन सक्थे।

यसो विचार गर त, शकुनि र म खेलेको भए बाजी कसले जित्थ्यो ? पासाको अङ्क शकुनीको स्वार्थअनुसार आउँथ्यो कि मेरो अनुसार ?

तर यसलाई छोडिदिऔँ उसले मलाई खेलमा सामेल गराएन, ठीक छ तर युधिष्ठिरले विवेकहीन भएर अर्को पनि गल्ती यो गरे कि उसले मसँग यस्तो प्रार्थना गरे, जसअनुसार म तबसम्म सभाकक्षमा नआऊँ जबसम्म उसले मलाई बोलाउँदैन। किनकि आफ्नो दुर्भाग्यले भनौँ, उनी मसँग लुकेर जुवा खेल्न चाहन्थे । जुवा खेलिरहेको कुरा उनी मसँग लुकाउन चाहन्थे । यस प्रकार उनले आफ्नो प्रार्थनाले मलाई बाँधिदिए । मलाई सभाकक्षमा आउने अनुमति नै दिएनन् ।

तर पनि म गएर सभाकक्ष बाहिर बसेर पर्खिनैरहेँ ताकि कसैले मलाई बोलाओस् । भीम, अर्जुन, नकुल, सहदेव कसै न कसैले बोलाओस् । तर कसैले बोलाएनन् । बरु आफ्नो भाग्य र दुर्योधनलाई दोष दिइरहे ।

जब दुस्सासनले द्रोपदीलाई घिसारेर सभाहल लग्यो, द्रोपदी आफ्नै बलमा जुधिरहिन् तर पनि मलाई बोलाइनन् । उनको बुद्धि त्यो बेला मात्रै पलायो, जब दुस्सासनले उनको कपडा उतार्न थाल्यो र उनले सबै छाडेर मलाई पुकार्न थालिन् । अनि मात्र उनको इज्जत बचाउने अवसर मैले पाएँ र म तुरुन्तै पुगिहालेँ । यस अवस्थामा मेरो के गल्ती भयो र भन त ?

यसपछि उद्धवले भने, “तपाईंको वचन अवश्य प्रभावित गर्ने खालको छ तर म अझै पूरा सन्तुष्ट भइनँ किनभने यसको अर्थ तपाईं त्यो बेला मात्रै आउनु हुन्छ, जब बोलाइन्छ। के सङ्कटले घेरिएको भक्तलाई मद्दत गर्न स्वतः आफैँ जानेर आउन सकिँदैन ?”

यसपछि कृष्णले जे भने कृपया ध्यान दिएर पढ्नु होला। मैले भावानुवाद लेख्नुको तात्पर्य पनि यत्तिका लागि मात्र हो ।

कृष्णले भने, “हे उद्धव, यस सृष्टिमा हरेकको जीवन उसको स्वयंको कर्मफलको आधारमा सञ्चालित हुन्छ। न म यसलाई चलाउँछु, न म यसलाई कुनै हस्तक्षेप नै गर्छु। म केवल एक साक्षी हो। म सधैँ तिमीहरुको नजिक रहेर जे भइरहेछ, त्यो हेरिरहन्छु। यही नै ईश्वरको धर्म हो ।

“ओहो! यसको मतलब त..,” उद्धवले भन्नथाले, “के तपाईं हाम्रो नजिक रहेर पनि हाम्रो सबै दुष्कर्महरु हेरिरहनु हुन्छ ? निरीक्षण गरिरहनु हुन्छ ? हामी पापमाथि पाप गरिरहन्छौँ तर तपाईं साक्षी बनेर हेरिरहनुहुन्छ ? तपाईं के यही चाहनु हुन्छ कि हामी भुलमाथि भुल गरिरहुँ, पापको डोरी बाँधिरहुँ र त्यसको फल भोगिरहुँ ?”

“उद्धव, तिमी शब्दको गहिराईमा बुझ कि मैले के भनिरहेकोछु,” कृष्णले अझ स्पष्ट पारे, “जब म हरपल तिम्रो नजिक रहेर साक्षीको रुपमा हेरिरहेको छु भन्ने महसुस गर्छौ, त्यसबेला पनि तिमी के पाप नै गरिरहन्छौ ? गलत र नराम्रो नै गरिरहन्छौ ? तिमी निश्चय नै कुनै नराम्रो गर्दैनौ । तर जब तिमी दुनियाँदारीमा डुबेर मबाट लुकेर जे पनि गर्न सक्छु भन्ने ठान्न थाल्यौ भने चाहिँ तिमी समस्यामा पर्छौ।”

“धर्मराज युधिष्ठिरको अज्ञान पनि यही थियो- उनले मसँग लुकेर, मलाई थाहै नदिई जुवा खेल्न सक्छु भन्ने सोचे । उनले त्यसबेला उनका प्रत्येक गतिविधिमा हरपल म साक्षीको रूपमा हुन्छु भन्ने सोच्न भ्याएको भए खेलको रुप नै अर्कै हुँदैन थियो र ?”