झ्यालैबाट देखेँ झ्याम्म परेको ठूलो रुख । ब्रह्मयाणी माविको नजिकै गाडी टक्क रोकियो । फुत्त झरेँ गाडीबाट । भुइँभरि छरिएका छन् साना साना राता फलहरू । निमेषभर आकाशतिर दृष्टि फर्काउँछु । अहो ! बाक्लो पातका चमर हल्लाउँदै रहेछन् घना वटवृक्ष । हाम्रो स्वागतमा प्रतीक्षारत लाग्छ मण्डनदेउपुरको पवित्रभूमि । नजिकै स्थानीयहरू उपस्थित भइसक्नुभएको छ हाम्रो स्वागतमा । आँखै अगाडिको विशाल बरको हाँगाबाट सङ्गीतको सुरम्य नाद सुन्दैछु । दगुरेका मेरा कदमहरू अगाडितिर बढ्न मानेनन् अनि मोडिए बोधीवृक्षतिर। चुम्बकीय शक्तिले मलाई तानेर लग्यो बरको फेदमा । 

जीवन सङ्गीत सुन्दैछु हरेक पातहरूबाट । मधुरिँदै छु शान्तिको धूनमा । थचक्क गएर बसेकी छु बरको फेदमा । पद्मासन लगाउन खोज्छु, बिछुकी बनिदिन्छन् ट्रेकिङ जुत्ता । बरको हाँगाबाट अनेकौँ लहरा निस्किएर झुमिरहेका छन् आनन्दमा । म पनि उसैगरी झुम्दैछु । 

अचानक मेरो मन चसक्क हुन्छ । मनको चौतारीमा तर्कहरू लाप्पा खेल्न थाल्छन् । सम्भावनाको पृथ्वी लिएर लहराइरहेका लहराहरू भुँइमा गाडिनु अगाडि नै किन चटक्क काटिएका होलान् ? मेरो मन दाँज्न थाल्छ सम्भावनाका अनेकौँ हाँगा लिएर हिँडेका मानवरूपी लहरासँग । मन भत्भती पोल्छ । पुनः सोच्छु यी काटिएका हाँगाहरूले काटिनुअघि यदि जमिन छोए भने ! यी लहरा मात्र हुने थिएनन् विशाल जरामा परिवर्तित हुने थिए । पूर्ण रूपले आफ्नो सामर्थ्य देखाउन पाए यिनहरूले पनि यसरी बीचैबाट काटिएर झुन्डिनुपर्ने थिएन । शायद लहराहरूको सम्भावना अथाह भएपछि नै काटिन्छन् । थामिनसक्नु भएरै छिनालिन्छन् । म हरेक लहरामा देख्छु आजका अहिल्या, तारा, कुन्ती, मन्दोदरी र द्रौपदी । काटिएका सबै लहराहरू छुट्टै आकार प्रकारमा मस्त भएर नाचेको देख्दा आँखाहरू सुटुक्क पुछ्न थाल्छु, हिम्मत बढेर आउँछ । बीचैबाट यसरी काटिएका विशाल जराहरू पनि नवीन आशमा पुनः माटोतिरै हेरेर रमाएको देख्दा दीर्ध श्वास तान्दै बलियो हुन्छु ।

सम्झिन्छु जीवन जिउने कला । फेरि पनि काटिने निश्चित छ तर पनि आफ्नो धर्म छोडेका छैनन् यी हाँगाहरूले । छेउ छेउमा तिनै हाँगाहरू जरा भएर धर्तीमा आफ्नो अस्तित्व जोगाउँदै छन् । कसैले काट्न सक्ने अवस्था छैन । आँखामा भ्रान्तिको दृश्य झलमलाउँछ । कहिले लाग्छ यी जराहरू अनेकौँ नाग नागिन भएर आकाशतिर आफ्नो पुच्छर फर्काएर आराधना गर्दैछन्, दीर्घमुक्तिको । 

नेत्र बन्द गरेर म पनि स्मरण गर्दछु परम आदरणीय गुरुलाई, 

‘बंदउँ गुरु पद कंज कृपा सिन्धु नररूप हरि

 मयामोह तम पुंज जासु वचन रवि करनिकर ( श्रीरामचरितमानस ।।५।।’ 

आहा ! बडो लोमहर्षक छ बरको संरचना । लाग्छ मभित्र पनि कति होलान् काटिएका यस्ता जराहरू । अनेकौँ जराहरू धारण गरेर म पनि झुन्डिएकी छु यसै गरी । श्वासको मालामा लयबद्ध भएकी छु । कानमा साथी शोभाको आवाज पर्छ, “ए अनिता ! उठ हिँड्ने बेला भयो । स्थानीयहरूको कुरा सुनौँ ।” आँखा खुल्न अझ मान्दैनन् । करैले आँखा मिच्दै उठेर अगाडि बढ्छु । रुबी सत्याल पनि म नजिकै आँखा बन्द गरेर बस्नुभएको रहेछ । हामी सबैजना जर्याकजुरुक्क उठ्यौँ ।

स्थानीयहरू भन्दै हुनुहुन्छ यो विशाल बरको कथा । यो ठाउँको इतिहास “उबेला काठमाडौँ जाने आउने क्रममा यही बरको चौतारीमा यात्रीहरू आरामको श्वास फेर्थे । भोटसँगको युद्धमा जान यही बाटो प्रयोग गर्थे । अहिले पनि छलफल गर्नुपर्दा यहीँ भेला हुन्छौँ । यहीँ बसेर कुनै विषयमा विचार विमर्शका गर्छौँ । अरू पनि थिए बाटामा छहारी दिने यस्ता रुखहरू…। अरनिको राजमार्ग नखुल्दा यही बाटो भोटसम्म पुग्थ्यो । स्वस्थानी कथामा वर्णित ब्रम्हपुर पनि यहीँ पर्दछ । नवराज राजाको राज्य यही भूमिमा थियो भन्ने जनविश्वास रहेको छ । जङ्गबहादुर भोट जाँदा यही बाटो भएर गएका थिए रे …।” हामी उभिएको ठाउँ गैरी बिसाउना देउपुर मुख्य देउपुर मानिँदो रहेछ । तीन देउपुर र चार मण्डनको इतिहास बोकेर बसेको मन्डन देउपुरमा हामी अहिले रमाउँदै छौँ । 

शनिबारको समय भएर होला स्थानीय बुद्धिजीवि, शिक्षक, दाजुभाइहरूको बाक्लो उपस्थिति छ । जानकारी पनि प्रयाप्त छ आफ्नो गाउँठाउँको । इतिहास मुखाग्र छ तर घरको कामले थिचिए होला देख्दिनँ दिदीबहिनीहरूको उपस्थिति । मेरा आँखाले खोज्छन् दिदीबहिनीलाई पनि । फाट्टफुट्ट देखिएका आमाहरू पनि नजिक आउन दकस मानेको आभास हुन्छ । 

खसहरूको बाहुल्यता बढी भएको देख्दैछु । डोटेल, ढकाल, दुलाल, न्यौपाने थरका स्थानीयहरू अगाडि आएर बोल्दै हुनुहुन्छ, “अरू बाटो नखुल्दासम्म यो बाटो निकै प्रचलित थियो ।” हामीसँग आफ्नो ठाउँको इतिहास साझा गर्दा उहाँहरूको मुहारमा गर्वको सूर्य उदाएको थियो ।

हामी बाटैबाटो अगाडि लाग्यौँ । ब्रम्हायाणी माविको प्राङ्गणमा उभिएका छौँ । विद्यालय परिसरमा स्थानीय बुद्धिजीविहरू उपस्थित हुनुभएको छ । सोही विद्यालयमा हाम्रो स्वागत भयो । नजिकै डोटेल गाउँ घुम्ने योजनासाथ हामी जयराम डोटेलको अगुवाइमा डोटेल गाउँ पुग्यौँ । 

झुरुप्प भएर बसेको गाउँ । वि. सं.  १६०० तिर डोटीबाट ज्यान जोगाउन आएका डोटेलीहरूको बासस्थान रहेछ । त्यसबेला सिंजा खस राज्य शक्तिशाली राज्य थियो । जब सिंजा राज्य विघटन भयो तत् पश्चात् डोटी राज्य शक्तिशाली बन्यो । राजनीतिक झमेला, आन्तरिक कलहले जहिले पनि नागरिकहरूलाई पीडा नै दिन्छ । डोटी राज्यमा पुरोहित थिए खतिवडाहरू । राज्य पक्षमा समर्थन गर्ने खतिवडाहरू सत्ता परिवर्तन हुनासाथ डोटी छोडेर ज्यान जोगाउन पोखरातिर आए । पोखरामा आएका केही डोटेलीहरूमध्ये देवहरि डोटेली काठमाडौं आएछन् । सो समय जङ्गबहादुर पूर्ण रूपमा शक्तिशाली भइसकेका थिए । कोतपर्वमा देवहरि डोटेल बाजेले जङ्गबहादुरलाई मान्छे काट्दै गरेको पनि देखेका रहेछन् । उनलाई पनि डरले खाइसकेको थियो रे ! तर डोटेलबाजे बाठा रहेछन् । देवहरि बाजेले जङ्गबहादुरलाई असाध्यै मनपर्ने फल भुइँकटहर काटेर सफा थालमा खान दिएछन् । जङ्गबहादुरले पनि कपाकप खाएछन् आफूलाई मन पर्ने प्रिय फल । उनी दङ्ग परेछन् डोटेल बाजेको त्यो व्यवहारबाट । पक्कै पनि जङ्गबहादुको घाँटी कक्रक्क भएर सुकेको थियो होला मान्छे काट्दा काट्दै । पछि डोटेलबाबाट प्रसन्न भएका जङ्गबहादुरले भनेछन् , “तँ बाहुनबाट म असाध्यै खुशी भएँ । भन तँ के चाहन्छस् ?” तब डोटेल बाजेले देउपुरमा गएर बस्न पाउँ भनेछन् । जङ्गबहादुरले तथास्तु भनेछन् । डोटेलबाले फेरि जङ्गबहादुरलाई अर्को बिन्ती चढाएछन् , “सरकार म पशुपति गुठीको आयस्ता खान्न । मलाई देउपुरमै गुठी बक्सियोस् ।” त्यो कुरा पनि हुन्छ भनेर बलभद्रेश्वर महादेवको थान स्थापना गरी गुठी पनि निर्माण गरिएको इतिहास सुन्न पाउँदा हामी पदयात्रीहरू झुम्मिएका छौँ । यसरी डोटेलहरूले देउपुरमा बिर्ता पाएका रहेछन् । यो ठाउँमा बस्ने अनुमति मागेका रहेछन् ।

 हामी हिँड्दै छौँ । तिनै डोटेलबाजेले जोडेको डोटेल गाउँ । पुराना माटाका घरहरू देखिए । झ्यालहरू भने निकै कलात्मक देखिएका छन् । काष्ठकलाको निकै सुन्दर नमुना देख्दैछु । सार्वजनिक धार नजिकै पनि घरहरू निकै कलात्मक तवरले निर्माण गरिएका छन् । 

एउटा घरको कलात्मक झ्यालको फोटो खिच्न खोज्दै थिएँ, एउटा बिरालो त्यही झ्यालमा घाम ताप्दै गरेको रहेछ । बिरालोले मलाई चिनेको जसरी म्याऊँ गरेर बोलाएको झैँ लाग्छ । फोटो पनि खिचिहालेँ । अचम्म ! मैले फोटो खिच्दा त्यो बिरालोले पोज दिँदै थियो । हामी हाँस्दै मोबाइलमा बिरालोको फोटो बन्द गरेर अगाडि बढ्यौँ । 

हामी हिँड्दै छौँ, सेतो माटो फसफस झर्दै गरेको उकालोसँग अचानक ठोक्कियौँ । जयराम सर, शिवराम सापकोटा र जयराम डोटेल सरहरूको सल्लाहमा जङ्गल हुँदै माथि उक्लियौँ । जङ्गलमा हामीले भजन गाउँदै हिँड्दा त्यहाँका रुख बिरुवाहरू पनि सँगसँगै भजन गाउँदै छन् भन्ने भाव उत्पन्न भएको छ । 

हामी अब ब्रह्मयानी देवीको काखमा बसेका छौँ । उत्तरतिर सेता हिमालहरू मुस्कुराइरहेको देखिन्छ । मन्दिरको इतिहास पनि बडो रोचक रहेछ । हामी स्थानीयबाट सुन्दैछौँ ब्रह्मायणी देवीको मौलिक कथा । परापूर्वकालमा यहाँ देवी पुरिएकी थिइन् रे । त्यही देवी पुरिएकी हुनाले यस ठाउँलाई देवीपुर भनिन्थ्यो अरे । पछि पछि देवीपुर भन्दा भन्दै अपभ्रंस भएर अहिले देउपुर भन्न थालिएको जानकारी प्राप्त भयो । 

“ढकालकी छोरीको दुलाल केटोसँग बिहे भएको रहेछ । ढकालकी छोरी गर्भवती थिइन् । यो मन्दिर भएको ठाउँमा उनी गुन्द्रीमा आराम गर्दै गर्दा कसैले जमिनबाट घोचेको जस्तो आभास भएछ । बारम्बार जमिनबाट केही कुराले घोच्दै गरेपछि गुन्द्री हटाएर खन्दा त जमिनमुनि देवीको यही मूर्ति भेटियो । खन्दा थोरै काटिएकाले हेर्नुस् न मूर्ति अहिले पनि कटिएकै छ ।”  स्थानीय बा हामीलाई आफ्नो ठाउँको इतिहास सुनाउन पाउँदा बडो प्रसन्न मुद्रामा हुनुहुन्छ । बज्राचार्यहरू यहाँका मूल पुजारी रहेछन् । निखर नीलो आकाशमा सेता बादल बडो विमुधकारी देखिएको छ । अझ सल्लोको रूख सुसाउँदा अलौकिक ऊर्जा संप्रेषित गर्दैछ सम्पूर्ण वातावरणमा । नजिकै एउटा पित्तलको बडो सुन्दर मूर्ति पुजारी बाका श्रीमतीले हामीलाई देखाउँदै भन्नुभयो, “यो मूर्ति बेलायत पुगेर पुनः नेपाल फर्किएको हो नि !‘ छक्क परेँ मूर्ति कसरी बेलायत पुगेर फर्किएछ त ! कि हाम्रा मूर्तिहरूको पनि पासपोर्ट बनाएर उपचारका लागि  बेलायतसम्म लगियो । झलक्क सम्झिएँ ईल्या भट्टराईको मिसर । १३३ वर्षपछि रामसेस द्वितीयको मम्मीलाई (मृत शरीर) इजिप्टबाट पेरिस लगिएको अचम्मको कुरा । म गम खाँदै थिएँ । पुजारीबाले पो भनेँ, “यो मूर्ति चोरेर बेलायत पुर्याइएको थियो । पछि छानबिन हुँदा फेला पारेर पुनः यहीँ ल्याएर राखिएको हो ।” ताल्चा मारेर राखेको मूर्ति हेर्दा बुद्धको जस्तो पनि लाग्यो । देवी ताराको जस्तो पनि लाग्यो। सोचेँ पक्कै यहाँ देवीको प्रताप रहेछ।

हामी अब तपेश्वर मा. वि. तिर ओरालिएका छौँ । विद्यालयको प्राङ्गणमा पुग्ने बित्तिकै थाहा भयो भोकले आन्द्रा बटारिएको कुरा । हामीलाई सोही स्कुलमा बिहानको खानाको व्यवस्था छ । काउली खाँदा खाँदा वाक्क भएको मुख अर्ज्ञानिक काउलीको बास्नाले बडो अधीर भएर रसाएको छ । साँच्चै भोक मीठो कि भोजन ? भोक उत्पात लागेको छ बास्ना पनि उल्कै मीठो लागेको छ । आजको खाना त्यसैले विशेष मीठो हुनेछ । भोक र भोजन दुवैको उपस्थिति छ । केहीबेर स्रष्टाहरू खानामा नै एकोहोरो भएका छौँ  । सबैको ओठ मुख सुकिसकेको छ ।

खानापछि विद्यालयको खुल्ला चौरमा हामी गोलाकार भएर बस्यौँ । प्रधानाध्यापक सुरेन्द्र पौडेल र वडा नम्बर ५ का अध्यक्ष हर्क घिसिङले आत्मीय स्वागत गर्नुभयो । स्रष्टाहरूको परिचय गङ्गा भेटवाल सरले निकै प्रभावकारी रूपमा राख्नुभयो । पदयात्राको उद्देश्य डाक्टर बालकृष्ण सर र शीतल गिरी सरले बडो सटिक ढङ्गले प्रस्तुत गर्नुभयो । स्थानीय स्रष्टाहरूले मीठा मीठा कविताहरू वाचन पनि गर्नुभयो । अब घडीले पनि हामीलाई सचेत गर्दैछ, आज त उज्यालैमा फिर्नु छ काठमाडौँ ।

अध्यक्षज्यूले हामीलाई निमन्त्रणा पनि दिनुभयो “घिसिङ गाउँमा सम्पन्न हुँदै गरेको वैवाहिक समारोहमा उपस्थित हुने र स्थानीय गाउँ हेरेर जाने” हामी गाडीमा उक्लियौँ । नजिकै तपेश्वर महादेव र फड्केश्वर महादेवको दर्शन गर्दै हामी हिँड्यौँ घिसिङ गाउँतिर । बारीको पाटामा धमाधम भोज पाक्दै छ । देखिँदै छ माथिबाट कोही कपाकप खाँदैछन् भोजका स्वादिला भेराइटी । कोही उत्साहले लाइनमा उभिएका छन् । परपरसम्म देखिन्छ मोटर बाटोको लागि कोतरेका नाङ्गा पाखाहरू । 

भोज पाक्दै गरेको ठाउँभन्दा केही तल गयौँ । बेहुला बेहुली भएको ठाउँमा गएर केहीबेर रीतिरिवाजलाई बुझ्ने कोसिस गर्यौँ । बेहुला बेहुलीलाई सेतो अक्षता निधारभरि लगाइएको छ । भुइँभरि खानेकुरा चढाएको धेरैवटा बोता देखिएका छन् । देख्छु दुई जोडीहरूलाई । पछि पो थाहा भयो । बेहुला बेहुलीका साथीहरू पो दुईतिर बसेका रहेछन् । अचम्म लाग्यो, उनीहरूलाई पनि बेहुला बेहुलीपछि टीका लगाएर दक्षिणा पनि दिने चलन पो रहेछ । पक्क परेर छक्क पर्दै थिएँ । हामी हिँड्ने बेला भइसकेछ । हामी गाडी राखेको ठाउँतिर उक्लियौँ ।

गाडीमै आएर जयराम डोटेल सर र पुष्पराम सापकोटा सरले हामीलाई आत्मीय व्यवहारका साथ शुभयात्रामा हातहरू जोड्दा हामी निकै भावुक भयौँ । मण्डन देउपुरलाई हृदयमा सजाएर हामी काठमाडौँलाई अङ्गाल्न फर्कियौँ  … ।