नेपाल बौद्ध धर्मको केन्द्रबिन्दु हो । शाक्यमुनि गौतम बुद्धको जन्म भएको पवित्र भूमि पनि हो । परापूर्वकालदेखि नै यहाँ बौद्ध धर्मको विकास हुँदै आएको छ । मानिस चैत्य-स्तुपमा श्रद्धा पूर्वक जान्छन् । श्रद्धापूर्वक गएका मानिसको मनमा करूणा बाहेक अरू केही हुन्न । करूणामय भावमा आस्था राख्ने नेपाली समाजको, मूल्य र मान्यता भनेकै शान्तिपूर्वक रहन सक्नु हो ।
बौद्ध धर्मका दुई प्रमुख यानहरू महायान र हिनयानको उत्तिकै महत्त्व भएपनि नेपाली समाजमा महायानको स्थान विशिष्ट छ । महायान अन्तर्गत बज्रयानको स्थान अझ महत्त्वपूर्ण छ ।
बज्रयान दर्शन अनुसार सांसारिक भोग नगरीकन वास्तविक जीवनको अनुभव हुँदैन । वास्तविक भोग गरेर ज्ञानवान नभई वैराग्य उत्पत्ति हुँदैन । बौद्ध धर्मको बोधि चित्त पाउन सकिँदैन । सांसारिक भोग वैराग्य मार्गमा अवरोध नभएर आवश्यकता हो, अति मात्र हुनु भएन । जुनसुकै क्षेत्रमा पनि अतिले खती पुर्याउँछ नै । अतिको कारण मानिसले जीवनको अनुभव प्राप्त गर्न सक्दैन । जुनसुकै कुराको पनि एउटा सीमा हुन्छ तर मोहवश अतिको वशमा पर्दा— अशान्ति, आपसमा लडाइँ भएपछि ज्ञान प्राप्त हुँदैन । यसकारण, तथागतको शरणमा जाने व्यक्ति या वैराग्य चाहने व्यक्तिमा पहिलो शर्त हो सहनशील ।
बौद्ध धर्ममा बोधि चित्त प्राप्त नभएसम्म महासुखको अनुभूति गर्न सकिँदैन । महासुख नै शून्यता हो र यसको प्रतीक हो बज्र । बज्रयान धर्म अनुसार निर्वाणका मूल रूपमा तीन तत्त्व छन् । ती हुन्— शून्य, विज्ञान र महासुख । समष्टि रूपमा बज्रयान अन्तर्गत यो संसार शून्यबाहेक अरू केही होइन । विज्ञानको ज्ञानले मूल तात्त्विक कुरोलाई बोधि चित्तले बुझ्दा आउने आनन्द नै महासुख या सच्चिदानन्द, परमानन्द र वीरमानन्द यी तीन तत्त्वको मूलतत्त्व नै बज्रयान हो । बज्रयानको प्रादुर्भाव यसैबाट हुन गएको हो ।
बज्र भन्नाले अभेद्य, अच्छेद्य, अपरिवर्तनशील वस्तु हो । यो शून्यतामा लीन हुन सक्ने बज्रसत्व हो । बज्रयानसम्बन्धी रत्नमालामा परिभाषित गरिएअनुसार बज्र त्यो हो, जुन सदा स्थिर, सार्थक एवम् शुद्ध रहन्छ । यसकारण सत्य बज्र हो, व्यक्ति त अंग हो । अतः व्यक्तिको अधिष्ठान बज्र हो । अधिकार त्यहीँ छ । व्यक्ति बज्रप्रति अर्पित छ, यो कोरा कल्पनाको कुरो नभएर भक्तको धर्मप्रतिको विश्वास हो, यानि जो व्यक्ति धर्मप्रति समर्पित हुँदैन त्यो फगत व्यक्तिमात्र हुन्छ भक्त होइन । नैतिकताको सम्बन्ध कर्तव्यसँग जोडिएको हुन्छ, यो अध्यात्म दृष्टिले अधुरो जस्तो लाग्न सक्छ । व्यक्तिले अपेक्षा गर्न सक्छ, तब अधिकार व्यक्तिको नजिक हुन्छ, बज्र लक्ष्यप्राप्तिको आशा मात्रै हो । बज्रमा विश्वास यसकारण गर्दछ— सम्पूर्ण समस्याको समाधान बज्रमा छ, व्यक्तिमा समर्पणको भावना नभएमा बज्रप्रतिको विश्वास धूमिल बन्न जान्छ । सोझो कुरा हो बज्रप्रति पूर्ण विश्वास गरेमा व्यक्ति भक्तमा परिणत हुन्छ यो राम्रो कुरा पनि हो, नत्र भने उसको मनमा बज्रको अनादर गरेको हुँदा मनमा डर रहिरहन्छ । संक्षेपमा स्थिर, सार्थक र शुद्धको ज्ञान बज्रसँग छ, यसकारण भक्त विश्वास गर्छ, शुभको कामनाले ।
बज्र स्वयम् आगोको ज्वाला हो, बोधिज्ञान हो, कसैले यसलाई छुन सक्दैन । यस संसारको सृष्टिको मूल आधार यस प्रक्रियालाई मानिन्छ । बुद्धले आफ्नो जीवनकालमा तीनपटक धर्मचक्र प्रवर्तन गरेका थिए । धर्म स्वयं अमूर्त हो, भक्तको विश्वास र समर्पणको भावनाले मूर्त रूपमा रहेको हो बज्र । यसलाई मूर्त रूप बनाउने काम गरेको हो बुद्धद्वारा प्रवर्तन गरिएको धर्मचक्रले ।
बुद्धत्व प्राप्त गरिसकेपछिको आषाढ पूर्णिमाका दिन ऋषिपतन मृगदावनमा पञ्चवर्गीय भिक्षुहरू कोण्डन्य, वप्प, भद्दीय, महानाम र अस्सजीलाई पहिलो धर्मचक्र प्रवर्तन गरेर श्रावकयानको अभ्यास गराउनुभयो । दोस्रो बाह्रौँ वर्षावास कालमा राजगृह नगरको गृहकुट पर्वतमा रहेका शिष्यहरूलाई महायान अर्थात् बोधिसत्व चर्या र पारमिता चर्या गरी बुद्धत्व लाभ गर्ने शिक्षाको धर्मचक्र प्रवर्तन गर्नुभयो । त्यसपछि पुनः बाह्रौँ वर्षाकालमा दक्षिण भारतको गुन्तुर जिल्लाको धान्यकटक पर्वतमा विराजमान हुँदा विशिष्ट प्रकारका शिष्यहरूलाई बज्रयान अभ्यास अन्तर्गत मन्त्र, तन्त्र, योग, प्रणायाम आदिको अभ्यास गराई बोधिसत्व चर्यापूर्ण गरी बुद्धत्व प्राप्त हुन सक्ने शिक्षा उपदेश तेस्रो धर्मचक्र प्रवर्तन गर्नुभयो । अनि सोही समयदेखि बज्रयान अभ्यास हुँदै आएको हो । यो अभ्यास अब विशिष्ट प्रकारका शिष्यमा मात्र सीमित नरहेर आजको समयमा अभिन्न अंग बन्न गएको छ । अशान्तबाट शान्त बन्न चाहनेको पहिलो रोजाइमा बज्रयानी ध्यान, साधना छ अचेल । व्यक्ति बज्रयानप्रतिको विश्वाससँगै योग साधनामा रमाउने गरेका छन् ।
धान्यकटक पर्वतमा गरिएको तेस्रो धर्मचक्र प्रवर्तनबाट महायान र बज्रयानको विकास हुन गएको मान्न सकिन्छ । पाँचौं शताब्दीतिर जम्बुद्वीपको उत्तरतर्फबाट महायानको विकास हुँदै दक्षिणतिर मन्त्रयानको विकास हुन गएको थियो तर तन्त्रको नीति र पालन विधि गुह्य छ । एउटा तहसम्म पुगेको साधकले यसको अभ्यास गर्न पाउँछ ।
पाँचौं शताब्दीतिर गुह्यसमाजतन्त्र लेखियो, जुन बज्रयानको प्रमुख ग्रन्थको रूपमा चिनिन्छ । गुह्यसमाजतन्त्रभित्र बौद्धतन्त्रयानीहरूले माध्यमिकहरूको शून्यतावादलाई साध्य र विज्ञानवादी योगाचारीहरूको योग साधनालाई पनि अङ्गीकार गरेकोले बज्रयानको विकास हुन पुग्यो ।
बज्रयान महायान सम्प्रदायभित्र तन्त्रयानको माध्यमले उपम्प्रिदायको रूपमा विकसित हुन पुग्यो । यही बज्रयान तन्त्रयानमा केन्द्रित हुन गई चार तह— क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तर योगतन्त्रमा विभाजित हुन पुग्यो । प्रारम्भको यान (मार्ग) बिस्तारै बिस्तारै अनावश्यक जस्तो लाग्नुको कारण त्यसमा रहेको कठोर अनुशासन बढ्नुले केही नयाँ अनि खुकुलोपनको चाहना पनि हो ।
बज्रयान भक्ति प्रधान विचार हो ।
यो भक्तिप्रधान विचार भएकोले बुद्धमूर्ति बनाउन थालियो । गृहस्थी भएर पनि बुद्धभक्तिद्वारा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने भावनाले यसमा केही मानिस अभिप्रेरित हुन पुगे ।
नेपालको तराई भूमि लुम्बिनीमा बुद्ध जन्मेकाले बौद्ध धर्मको केन्द्रस्थल पनि हो यो । त्यसमाथि नेपाल उपत्यका सृष्टिदेखि नै बौद्ध धर्मसँग सम्बन्धित छ । स्वयम्भू पुराण अनुसार नेपालमा पहिलोपल्ट महामञ्जुश्री आएर नागहरूको वास भएको दहमा चन्द्रहास खड्गले काटी पानीलाई विस्थापित गरेर मनुष्य बस्न योग्य बनाए । साथै धर्माकरलाई राजा बनाइ नेपाल मण्डलको स्थापना गरे । हिन्दु कथनमा श्रीकृष्ण जोडिएको छ, नेपाल मण्डलको स्थापना बारेको प्रश्न विज्ञानसम्मत इतिहास लेखनमा आएको छैन । मात्र धार्मिक मान्यतामा देखिएको छ र अनुसन्धानको पाटो समाप्त पारेको छ ।
नेपाल मण्डलको स्थापनापछि यस पुण्यभूमिमा स्वयम्भू धर्मधातु ज्योतिरूप उत्पत्ति भएपछि प्रवेश गर्ने विभिन्न बुद्धमा दीपङ्कर, विपस्वी, विश्वभू, क्रकुछन्द, शिखी, कनकमुनि, काश्यप आदि हुन् । यस्तै यहाँ ध्यानी पञ्चबुद्धहरू वैरोचन, अक्ष्योभ, रत्नसम्भव, अभिताभ र अमोघसिद्धि परिकल्पना गरियो ।
लुम्बिनी कपिलवस्तुमा जन्मेका शाक्यमुनि सिद्धार्थ गौतम बुद्ध भएपछि नेपालमा बौद्ध धर्मको महिमा निकै बढ्न थाल्यो । नेपाल मण्डलभित्र बौद्ध धर्मको महत्त्व बढदै गएको अवस्थामा बङ्गाल गौड देशका प्रतापी राजा प्रचण्डदेव काश्यप बुद्धको धर्म देशनाबाट प्रभावित भई नेपाल मण्डल आइ मञ्जुदेवाचार्यको शिष्य गुणाकराचार्यबाट भिक्षुत्व ग्रहण गरी आचार्याभिषेक प्राप्त गरे । त्यस पश्चात् शान्तिकराचार्य बनेपछि स्वयम्भू महाचैत्यको प्रतिस्थापन भई शान्तिपुरमा आगमको पनि स्थापना हुन गयो । यसरी नेपालमा बज्रयानको संंस्कार अन्तर्गत बौद्ध धर्मको विकास हुन पुग्यो । अहिलेसम्म यो परम्परा गुह्यसमाजतन्त्रको आधारमा चल्दै आएको छ । बज्रयानको संस्कार गृहस्थ अनुकूल छ— यसमा भक्त–भक्तिनी पति–पत्नीबन्न सक्छन् । सन्तान हुन्छ, तिनीहरू आमा–बुवा हुन्छन् । दुवैले आपसमा कामको क्षेत्र बाँडेर, एउटा घरमा अर्को बाहिर मिलिजुलीकन व्यवहार धान्ने गरेका छन् । बज्रयानमा आस्था राख्नेले धर्मबाट प्रेरणा प्राप्त गरेर श्रमको महत्त्व बुझेर जीवन उपयोगी बनाउँछन् ।
नेपालमा किराँतकालमा पनि बौद्ध धर्मको विकास हुन गएको पाइन्छ । किराँती राजा स्थुङको पालामा मगध सम्राट् अशोकले नेपालको भ्रमण गरी ललितपुरमा चारवटा विशाल स्तूपहरू स्थापना गर्न लगाइ आफ्नी छोरी चारूमतिको विवाह नेपालका राजकुमार देवपालसँग गराए । चाबहिललाई देवपतन नगरको नामाकरण गरी धन्दो चैत्यको निर्माण गर्न लगाए । धर्म प्रचार गर्न स्वतन्त्रता हुन्छ, जहाँ स्पर्धा हुन्छ त्यहाँ शोषणको सम्भावनाले इच्छा जन्माउँछ तर धर्मले समाजमा शान्ति स्थापना गर्न सघाउँछ । परिवारको एवं राज्यको स्वार्थभन्दा माथि उठेका सम्राट अशोकबाट मानव समाज र धर्मको क्षति भएन । उनीबाट समष्टि–रूपमा धर्मले, मानव समाज घाटामा नभएको कारण नै हामीले सम्मानपूर्वक सम्झिरहेका छौँ ।
धन्दो चैत्यको निर्माणबाट प्रभावित भइ यहाँ गुँ विहार, बही चैत्य, स्तूप मन्दिर आदिको धमाधम स्थापना हुन गयो । साँखुको गुँ विहार र बज्रयोगिनी मूर्ति बज्रयान परम्परा अनुसार निर्माण भएको हो ।
अंशुवर्माको (शासनकाल नेपाल संवत् ५३४, वि.सं. ६७१) गोकर्णको चैत्यमा बज्रयान शब्द उल्लेख भएको पाइन्छ ।
राजा वृषदेव बौद्ध धर्ममा निकै आस्था राख्ने भएकाले उनलाई सुगत पक्षपाती भनी शिलालेखमा उल्लेख गरिएको छ । काठमाडौंको ध्वाका बहालमा पाइएको पद्यपाणि लोकश्वर लिच्छविकालीन सातौँ शताब्दीको चैत्यका रूपमा मानिएको छ । प्राप्त प्राचीन मूर्त सम्पदा मानिएको मात्र हो, बज्रयानीको आफ्नोपनको पवित्र बौद्ध मन्त्र ‘ये धर्मा हेतु प्रभा’ उल्लेख छ अनि त आस्था पनि छ । नेपालको धारणा अनुसार यस्ता प्राचीन मूर्त सम्पदा संरक्षण गरिनुपर्छ भन्ने रहेको छ तर व्यवहारमा खरो रूपमा पाइएको छैन ।
पूर्वमध्यकालमा पनि नेपालमण्डलमा बौद्ध महायान–बज्रयान स्वर्णयुगको रूपमा रह्यो । यो समयमा नेपालको बाटो भइ अनेकन भारतीय बौद्ध विशिष्ट विद्वानहरू अतिश, श्रीज्ञान, वागिश्वरकीर्ति, वाणरत्न नेपाल आइ तिब्बत प्रस्थान गरेका थिए ।
यस्तै तिब्बतका गुरु धर्मस्वामी, मार्पाजस्ता पण्डित नेपाल आउने गर्थे । नालन्दा र विक्रमशिला विश्वविद्यालयका बौद्ध विद्वानहरू मुसलमानको आक्रमणबाट बच्न नेपाल आइ उनीहरूले यहाँ बज्रयान, तन्त्रयानको प्रचार–प्रसार गरे । यसले पनि नेपालमा बज्रयानको महत्त्व बढ्न गयो । त्यसो भएको हुँदा नेपाली परम्परामा बाँचेको बज्रयान धेरै स्वच्छ र पवित्र छ, तिब्बत र भारतको प्रभावबाट मुक्त र यहीको संस्कृति संस्कारको परिणाम भएकोले धेरै स्वच्छ र सुन्दर अनि विपुल पनि छ ।
तर, पछि नेपालमा बौद्ध धमृको विनाश गर्न अनेकन प्रयास पनि भयो । ने.सं. ४३०, वि.सं. ५६७ तिर बङ्गालका सुल्तान समसुद्दिनले नेपाल मण्डलमा आक्रमणगरि बौद्ध ग्रन्थ जलाउने, चैत्य, स्तूप र मन्दिरहरू भत्काउने काम गरे । यस्तै अवस्थामा शंकराचार्य नेपाल मण्डलमा आइ साँखुको बज्रयोगिनीस्थित चैत्यलाई बिगार्ने काम पनि भयो । यसरी प्रहार झेलेर भएपनि नेपालमा बज्रयान बज्रसमान अड्न सक्यो । यसकारण नेपाल मण्डलको बज्रयानी समाज सम्पन्न नभए पनि धेरै सन्तुष्ट छ ।
शंकराचार्यले यहाँका बौद्ध भिक्षुहरूलाई अनेकन दुःख दिइ बौद्ध ग्रन्थहरू जलाए । मध्यकालमा जयस्थिति मल्लको शासनकालमा पनि बौद्ध धर्मलाई आघात पार्ने काम भयो । हिन्दु वर्ण व्यवस्थालाई जोड दिइ बौद्धहरूलाई पनि सोही व्यवस्थाअन्तर्गत राख्दा बज्रयानअन्तर्गत जीवनशैली व्यतीत गर्ने परम्परा समाजबाट बिस्तारै लोप हुँदै गयो । बौद्ध विहार, चैत्य निर्माणमा पनि धक्का लाग्न पुग्यो । विगतको इतिहास अहिले विचार्दा जयस्थिति मल्लको जातिगत सुधारलाई इतिहासकारले जतिसुकै तारिफ गरेपनि बौद्ध धर्मलाई त कमजोर बनाएर सिध्याउन चालेको सुनियोजित षडयन्त्र हो भन्न सकिन्छ, त्यो कार्य सार्थक र श्रेष्ठ भनेर भन्नु भूल हुनेछ ।
तर, यस्तो परिस्थितिमा पनि यहाँका बौद्ध नेवारहरूले आफ्नो धर्म, संस्कार अन्तर्गत बौद्ध क्रियाकर्म, संस्कृतिलाई नछाडी आजसम्म पनि निरन्तरता दिँदै यसको संरक्षण गर्दै आएका छन् । नेपालका बज्रयानी धर्म मान्नेहरू समय–समयमा व्रत बस्ने, गुँला चाडपाठ गर्ने गर्छन् । धर्म शब्द जीर्ण र पुरातन बन्न गएको जस्तो लाग्छ तर पनि यो शब्द अहिले अझ प्रष्टसँग सुनिन थालेको छ र प्रतिष्ठा पाउँदै पनि छ । धर्म अनुशासन हो— व्यक्तिलाई सही आचरण गर्न सिकाउने, परिवारको बोध गराउने र पति–पत्नीको सम्बन्धमा पवित्रताको भाव बढाउने ।
वैशाख पूर्णिमा र अन्य चाडबाडहरू बौद्ध परम्परा अनुसार मनाइन्छ । बौद्ध कर्मकाण्ड अन्तर्गत पूजापाठ, क्रियाकर्म बौद्ध बज्रयानी पुरोहित बज्राचार्य गुरुजुबाट गराइन्छ ।
नेपालमा बौद्ध धर्म र संस्कृतिको आफ्नै विशेषता छ । बौद्ध धर्ममा बज्रयान धर्मको पनि विशिष्ट स्थान छ । समय र परिस्थितिले गर्दा वर्तमान समयमा बौद्ध देवदेवी, पूजा विधि, बाजागाजा र विविध संस्कृति लोप हुन नदिन समस्त बौद्धहरू सचेत भइ लाग्न अति आवश्यक छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










