नेपालबाट फर्केको चार हप्ता नै नबित्दै बाल्कनका चार देशह घुम्न पर्ने बाध्यात्मक अवस्था आयो । ‘नाइँ’ भन्न सकिएन, जसो–तसो मिलाइयो । यसअघि कुनै देशमा जान पर्दा त्यहाँको विविध जानकारी लिने गरिन्थ्यो । यसपटक भने गाइडसहितको टुर प्याकेज भएको कारण ग्याटविकसम्म पुग्ने र विशेष चार्टर्ड जहाज समात्ने योजनामा मात्र सीमित भइयो ।

त्यसो त मलाई अलि अगाडि देखि नै म्यासेडोनिया र मोन्टेनेग्रो पुग्नुपर्छ जस्तो लागेको थियो । त्यहाँका दुई जनासँग मेरो राम्रो परिचय भएको कारण एक पटक जसरी भए पनि जाने भनी आएको थिएँ । त्यसको माथिसँगै अल्बेनिया र कोसोभो पनि घुम्ने अवसर मिल्यो ।

एक सय अस्सी जना यात्रु बोकिएको विशेष विमान म्यानचेस्टरबाट ग्याटविक हुँदै स्कोप्जे पुग्ने पहिलो दिनको यात्रा तालिका थियो । एअरपोर्टबाट बाहिर निस्कने बित्तिकै स्वागतका लागि बसेका गाइडहरूले चार वटा बसमा हामीलाई भाग लगाए । त्यहाँबाट सीधै बासस्थानमा पुर्याए । यही छोटो यात्रामा हामी म्यासेडोनियाको राजधानी पुगेको जानकारी टर्किश गाइडले गराए । तर उनले “माफ गर्नु होला” भन्दै ‘उत्तरी म्यासेडोनिया’ बारे भोलि सुनाइदिने बाचा गरे ।

 

कतै एउटै नामका दुई देश भए जस्तो लाग्थ्यो । तर मैले फेसबुकमा १ सय ९५ वटा देशकै परिचय पोस्ट गरिसकेकोले जानकारी मसँग थियो ।

नोभेम्बर २२ मा गएर २९ मा फर्कने भएकाले हाम्रो पूरै छ दिनमा करीब १३ सय किलोमिटर बस यात्रा भयो । सात रातमा तीन देशका छ वटा होटलमा बास बसियो । खोइ किन हो, अल्बेनियामा भने हामीलाई बास बसाएनन् । राजधानी तिरानामा केही घण्टा घुमाएर हिँडाए ।

दोस्रो रात कोसोभो, तेस्रो र चौथो रात मोन्टेनेग्रोका दुई शहर, पाँचौँ र छैटौँ रात म्यासेडोनियाको एउटै होटल, अनि अन्तिम रात राजधानी स्कोप्जेको मुख्य चोक–नजिकै बसाए । यस छ दिनको यात्रामा यस क्षेत्रबारे प्राप्त जानकारीले धेरै ज्ञान थपियो—ठ्याक्कै विद्यार्थी जीवनको शैक्षिक भ्रमण जस्तै ।

पैंतीस वर्षदेखि यही पेशामा लागेका हाम्रा गाइडको प्रस्तुत गर्ने शैली पनि बेजोड थियो । त्यति धेरै दिन सँगै बसेको पत्तै पाइएन । यो नै हाम्रो पहिलो गाइडसहितको यात्रा थियो । अन्य सजिलोका हिसाबले ठीकै हो, तर बिहान धेरै छिटो उठ्नुपर्ने र निश्चित समयमा हिँड्नै पर्ने भएकाले अलि गाह्रो पनि हुन्थ्यो । तर आफ्नो मात्र समूह बनाइयो भने निकै रमाइलो होला जस्तो अड्कल काटें ।

‘बाल्कन’ भन्ने शब्द पुरानो टर्किश भाषाबाट आएको मानिन्छ । यसको अर्थ पहाड, पहाडी भू–भाग वा घना जंगलले ढाकिएको कठिन भू–प्रदेश भन्ने हुन्छ । बुल्गेरियामा अवस्थित बाल्कन पर्वतशृङ्खा (स्टारा प्लानिना) लाई ओटोमन शासनकालमा यही नाम दिइएको थियो । पछि यही शब्द विस्तार हुँदै दक्षिण–पूर्वी युरोपको ठूलो क्षेत्रलाई जनाउने नाम बन्यो । त्यसैले आज बाल्कन भौगोलिक क्षेत्रको परिचय भए पनि यसको मूल अर्थ पहाडको देश वा दुर्गम पहाडी क्षेत्र भन्ने नै हो ।

बाल्कन क्षेत्रको इतिहास अत्यन्त पुरानो र जटिल छ । प्राचीन समयमा यो क्षेत्र थ्रेसियन, इलिरियन र डेसियन आदिवासी समूहहरूको वासस्थान थियो । पछि म्यासेडोनियाली साम्राज्य (अलेक्जान्डर द ग्रेट/सिकन्दर) हुँदै रोमन साम्राज्य र पछि बाइजेन्टाइन साम्राज्यले झन्डै पाँच शताब्दी शासन गरे ।

सातौं शताब्दीदेखि विभिन्न स्लाभिक जातिहरू बाल्कन क्षेत्रमा प्रवेश गरी बसोबास गर्न थाले, जसबाट सर्ब, क्रोएट, बुल्गेरियन जस्ता प्रमुख समुदायहरूको आधार तयार भयो । त्यसपछि चौधौं शताब्दीदेखि ओटोमन (टर्किस) साम्राज्यले बाल्कनको ठूलो भाग आफ्नो नियन्त्रणमा लिएपछि यहाँको धर्म, संस्कृति, भाषा र प्रशासनमा गहिरो परिवर्तन आयो ।

उन्नाइसौं र बीसौं शताब्दीमा राष्ट्रियतावाद तीव्र बन्दै जाँदा धेरै बाल्कन मुलुकहरूले ओटोमन शासनविरुद्ध विद्रोह गरी क्रमशः स्वतन्त्रता हासिल गरे, र १९१२–१३ का बाल्कन युद्धले त यस क्षेत्रको राजनीतिक नक्सा नै झनै फेरियो ।

पहिलो विश्वयुद्धपछि सन् १९१८ मा सर्ब, क्रोएट र स्लोभेनहरूको संयुक्त राज्य बनेको थियो, जसलाई पछि युगोस्लाभिया नाम दिइयो । दोस्रो विश्वयुद्धपछि जोसिप ब्रोज टिटोको नेतृत्वमा समाजवादी संघीय गणतन्त्र युगोस्लाभिया स्थापना भई छ वटा गणतन्त्र सर्बिया, क्रोएशिया, स्लोभेनिया, बोस्निया–हर्जेगोभिना, मण्टेनेग्रो र म्यासेडोनिया र सर्बियाभित्र दुई स्वायत्त प्रान्त कोसोभो र भोयभोदिन समेटिएको संघीय संरचना तयार भयो ।

टिटोको नेतृत्वमा १९४५ देखि १९८० सम्म युगोस्लाभिया अपेक्षाकृत स्थिर रह्यो, तर उनको मृत्युपछि आर्थिक संकट, राजनीतिक प्रतिस्पर्धा र जातीय तनाव तीव्र हुँदै गयो ।

स्लोबोडन मिलोसेभिचले १९८० दशकको अन्त्यतिर ‘सर्ब राष्ट्रियता’लाई अघि बढाउँदै ‘विस्तारित सर्बिया’को अवधारणालाई अगाडि सारे, जसले युगोस्लाभियाको संघीय राज्यमा गहिरो विवाद र तनाव सिर्जना गर्‍यो । उनका नीतिहरू र राजनीतिक भूमिकाका कारण विशेष गरी क्रोएशिया र बोस्निया–हर्जेगोभिनामा १९९० र २००० दशकमा बाल्कन युद्ध र जातीय हिंसा भड्कियो  ।

सन् २००० तिर सर्बियाको राजधानी बेलग्रेडमा बढ्दो असन्तुष्टिको कारण उनको शासन धराशायी भयो र उनलाई अन्तर्राष्ट्रिय अदालत (ICTY) समक्ष  युद्ध अपराध र मानवअधिकार उल्लङ्घनका आरोपमा सुनुवाइको लागि सुपुर्दगी  गरियो । यद्यपि उनी २००६ मा जेलमै निधन भए, तर उनका राजनीतिक र ऐतिहासिक प्रभाव बाल्कन र युगोस्लाभियाको विघटन प्रक्रियामा आज पनि जिम्मेदार मानिन्छ ।

युगोस्लाभियाको विघटन लामो र जटिल प्रक्रिया थियो । १९८० मा जोसिप ब्रोज टिटोको मृत्युपछि संघीय स्थिरता भंग हुन थाल्यो र राष्ट्रहरूबीच आर्थिक संकट र राजनीतिक असन्तुष्टि बढ्न थाल्यो । १९८९–१९९० मा राष्ट्रवादी भावना विशेष गरी सर्बिया र क्रोएशियामा तीव्र भयो, र सर्ब नेताहरूले राष्ट्रियतावादलाई अघि बढाए ।

सन् १९९१ मा स्लोभेनिया र क्रोएशियाले स्वतन्त्रता घोषणा गरे । स्लोभेनियामा दशकभरि चलेको तनावपछि १० दिने छोटो युद्ध भयो, भने क्रोएशियामा युगोस्लाभियाली फेडरल सेना र सर्ब समर्थित शक्तिबीच व्यापक संघर्ष शुरू भयो ।

सन् १९९२ मा बोस्निया–हर्जेगोभिनाले स्वतन्त्रता घोषणा गरेपछि जातीय द्वन्द्व चर्किँदै गए र भीषण युद्ध भड्कियो । सन् १९९५ मा डेयटन सम्झौता भएपछि युद्ध अन्त्य भए तापनि हजारौँको ज्यान गयो र लाखौँ मानिस विस्थापित हुनुपर्‍यो ।

सन् १९९८–१९९९ मा कोसोभोमा संघर्ष तीव्र बन्दै गएपछि NATO ले हस्तक्षेप गर्‍यो, जसपछि कोसोभो अन्तर्राष्ट्रिय प्रशासनअन्तर्गत गयो ।

सन् २००३ मा युगोस्लाभियाको नाम परिवर्तन भएर ‘सर्बिया र मण्टेनेग्रो’ राखियो । अन्ततः सन् २००६ मा मण्टेनेग्रोले स्वतन्त्रता घोषणा गरेसँगै सर्बिया एकल राष्ट्र बन्यो । सन् २००८ मा कोसोभोले पनि स्वतन्त्रता घोषणा गर्‍यो, यद्यपि यसको अन्तर्राष्ट्रिय मान्यता अझै पूर्ण रूपमा प्राप्त भएको छैन ।

यसरी आर्थिक संकट, जातीय विवाद र राष्ट्रवादका कारण युगोस्लाभिया क्रमशः विघटन हुँदै स्लोभेनिया, क्रोएशिया, बोस्निया–हर्जेगोभिना, मण्टेनेग्रो, म्यासेडोनिया, सर्बिया र कोसोभो जस्ता स्वतन्त्र राष्ट्रहरूमा परिणत भए ।

ग्रीसको उत्तरी भागमा पनि म्यासेडोनिया नामको क्षेत्र छ । यसलाई प्राचीन म्यासेडोनियाको केन्द्र मानिन्छ । जहाँ अलेक्जान्डर द ग्रेट (सिकन्दर) र फिलिप द्वितीयको साम्राज्य थियो । आधुनिक ग्रीसमा यो प्रशासनिक रूपमा उत्तर ग्रीसको हिस्सा हो र त्यहा थेस्सालोनिकी, काभाला, फ्लोरिना, भेरिया जस्ता प्रमुख शहरहरू छन् ।  त्यसैले ग्रीसको प्राचीन इतिहास, सांस्कृतिक धरोहर र सम्भावित भूमिमा भ्रम सिर्जना हुन सक्छ भनेर नाम परिवर्तन नगरी म्यासेडोनियालाई NATO र EU सदस्यता प्रक्रियामा अघि बढ्न अनुमति दिएको थिएन । अन्ततः म्यासेडोनिया र ग्रीसबीच सन् २०१९ मा प्रेस्पा सम्झौता भए अनुसार देशको आधिकारिक नाम ‘उत्तर म्यासेडोनिया गणराज्य’ राखियो । यसले उत्तर म्यासेडोनियाको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्‍यो । दुई देशबीच शान्ति कायम गर्‍यो । ३ मार्च २०२० मा देशले आधिकारिक रूपमा NATO सदस्यता प्राप्त गर्‍यो । सम्भवतः छिट्टै युरोपेली संघमा प्रवेश हुने अवसर पनि प्राप्त हुनेछ  ।

यी चार राष्ट्रको यात्रा गर्दा महसूस हुने सबैभन्दा ठूलो कुरा के हो भने सन् १९९० बाट २००८ बीचको अवधिमा युगोस्लाभियाको विघटनपछि जन्मिएका यी अधिकांश राष्ट्रहरू अहिले पुनर्निर्माण, पहिचान स्थापना र आर्थिक उन्नतिमा जोडिएका छन् । उत्तर म्यासेडोनियाले NATO सदस्यता पाइसकेको छ, कोसोभोले अन्तर्राष्ट्रिय मान्यता विस्तार गर्दैछ, अलबानिया र मोन्टेनेग्रो दुवै युरोपेली संघ प्रवेश प्रक्रियामा छन् । यी राष्ट्रहरू आज पर्यटन, व्यापार, ऊर्जा, सांस्कृतिक उद्योग र अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ सम्भावना बनाउँदैछन् । युद्धको घाउलाई मलहम लगाउँदै पुनः विश्व राजनीतिमा फरक ढंगले उपस्थित हुने कोशिश गरिरहेका छन् ।

छोरी–ज्वाइँले आफ्नो वर्षगाँठ मनाउन केही समय अगाडि यो होलिडे बुक गरेका रहेछन् । कामको सिलसिलामा छोरी केही समयदेखि हरेक वर्ष अफ्रिकाका फरक–फरक देशमा जाँदै आएकी थिइन् । यस वर्ष त्यस्तो ठेगान नभएकाले उनले यस्तो योजना बनाएका रहेछन् । तर अन्तिममा उनीहरू उता जानै पर्ने भएकाले हामीलाई योअवसर मिलेको हो । शायद नकिनेको चिट्ठा परेको भन्ने यस्तैलाई होला ।

त्यहाँ भेटिएका नेपालीहरू, नेपाल पुगेका विदेशीहरूबारेको जानकारीसहित अन्य विषय समेटेर क्रमशः लेखहरू आउनेछन् ।