जापानमा शरद ऋतुको अन्तिम दिनहरू निकै सुन्दर र मोहक लाग्ने गर्छन् । पूरै जङ्गल नै कुनै कलाकारको जादूयी कलाजस्तो देखिन्छ । सडक किनार र पार्कहरू यति बेला राता पहेँला पातहरूले सुसज्जित छन् । यहाँको शरद ऋतु आफैमा एउटा सुन्दर पेन्टिङ हो, जसलाई एउटा कलाकारले बडो जतनले कोरेका छन् । अथवा शरद ऋतु आफैमा एउटा सुन्दर काव्यकृति हो, जसलाई लेखकले आफ्नो सारा काव्य चेतनाले एक एक पाना भरिदिएका छन् । अथवा भनूँ यो शरद ऋतु प्रकृति आफैले तयार गरेको एउटा सुन्दर पुस्तक हो, जसलाई प्रशान्त महासागरको चिसो हावाका लहरहरूले एक एक पाना पल्टाइरहेको छ । मोमिजीका राता र गिङ्गोका पहेँला पातहरूले हावाका एक एक स्पर्शहरूसँग समाहित हुँदै नाच्दै नाच्दै आफ्नो अन्तिम उत्सव मनाइरहेछन् । हेर्दा लाग्छ, प्रकृतिले आफ्ना अन्तिम रङ्गीन पहिरनहरू फुकाउँदैछ तर पनि आफ्नो विसर्जनमा कस्तो शान्त, कति मनोरम तरिकाले ।
जापानीहरू प्रकृतिसँगको सान्निध्य निकै रुचाउँछन् । वसन्त ऋतुको साकुरा पर्व होओस् या शरद ऋतुको मोमिजी उत्सव ! प्रकृतिलाई चुपचाप महसूस गर्ने र आह्लादित हुने उनीहरूको आदत छ । उनीहरू शरद ऋतुका पहेँलपुर पातहरू पनि छोएर बिगार्न चाहँदैनन् । बस् ! चुपचाप आँखाका क्यामराले खिचेका तस्वीहरू हृदयको ग्यालरीभरि सुरक्षित गर्छन् र गहिरो अर्थबोधमा लाग्छन् । यति बेला सडक किनाराहरू, पार्कहरू र सफारी जङ्गलहरू निकै भीडभाडयुक्त छन् । भीडभाड छ तर पनि निकै शान्त छ । भीडभाड छ तर पनि निकै अनुशासित छ । टोकियोका फराकिला पार्कहरू होऊन्, नागोयाका सिनित्त परेका सडक छेउछाउ होऊन् या क्योतोका पुराना दरबार र मन्दिरका बगैँचाका ढुङ्गाका कापमा ठडिएका मेपलहरू । सबै उस्तै छन् शान्त र मनोरम !
मान्छेहरू चुपचाप पुगिरहेका छन् र चुपचाप फर्किरहेका छन् । हृदयभरि एउटा अमिट तस्वीरको गहिरो छाप बोकेर मौनतामा हिंडिरहेका छन् विसर्जनको अन्तिम उत्सवको यात्री बनेर ।
प्रकृति आफैमा एउटा खुला विश्वविद्यालय हो । अझ शरद ऋतुका यी छटाहरू त झन् मानव अस्तित्वको अनुसन्धानमा पोखिएर लेखेको सुन्दर पुस्तक जस्तो देखिन्छ । मान्छेहरू प्रकृतिको यस परिवर्तनलाई आत्मसात् गरिरहेछन् । मोमिजी र गिङ्गोका राता पहेँला पातहरू हेर्दै मानिसले आफ्नै अस्तित्व सम्झिरहेछ । यी रङ फेरेर आफ्नो अन्तिम उत्सव मनाइरहेका पातहरूको कथा केवल रूखको या पात मात्रको कथा होइन । यो त मानव जीवनको अत्यन्त नजिकको कथा पनि हो । समयक्रमसँगै आफैलाई परिवर्तन गर्दै लैजाने, र आएको परिवर्तनलाई सहर्ष स्वीकार गर्ने चेतनाको कथा हो । अस्तित्वको रङ्गीन ऊर्जाबाट शुरू भएर समयका एक एक पदचापसँगै निखारिंदै निखारिंदै जाने र निष्क्रिय हुँदै विसर्जनको यात्रामा निस्कने यो अस्तित्वको कथा हो । जीवनको क्षणभङ्गुरतालाई उत्सवको रूपमा स्वीकार गर्न सिकाउने प्रेरणाको कथा हो ।
पात झर्नु केवल अन्त्य होइन, बरु माटोसँग मिलेर अर्को जीवनलाई पोषण दिने अर्को अभिभाराको थालनी हो । त्यसैले झर्नु, सकिनु कुनै अन्त्य होइन । बरु यो कुनै नयाँ यात्राको थालनी बिन्दु हो । जापानी सौन्दर्य शास्त्रमा यसलाई मुजो भनिन्छ, अर्थात् अनित्य ! बाँच्नु भनेको बदलिनु हो । किनभने मृत्युपछि त्यो सम्भव रहँदैन । बदलिनु भनेको अन्त्यलाई स्वीकार गर्नु हो । त्यसैले प्रकृतिको यो रङ्गीन उत्सव अस्तित्व चेतनाको सुन्दर उदाहरण हो ।
शरद ऋतुको अन्त्यपश्चात् जापानी भूमिहरू सेताम्यप्राय बन्छन् हिमपातले । हिउँले कठ्याङ्ग्रिनु अघि मनमा नयाँ जोश र ऊर्जाको राता र पहेँला रङहरूको सञ्चरण गरेको हुनुपर्छ प्रकृतिले । अथवा रङ्गीन दिनहरूबाट बिस्तारै कठ्याङ्ग्रिंदो जाडोलाई जोडेर परिवर्तनलाई आत्मसात् गराएको हुन सक्छ प्रकृतिले । मानव जीवन पनि त यस्तै र यिनै चक्रबाट परिचालित छ । यसरी नै परिवर्तित छ ।
खासगरी जापानी जङ्गल र उद्यानहरू जेन(ध्यान) का तत्वहरू हुन् । जेन बौद्ध दर्शनको एउटा रूप हो । जेन बौद्ध धर्मको रूप मात्र नभएर समग्रमा जापानीहरूको जीवन जिउने कला हो । बाँच्ने तरिका हो । जीवन र जगतप्रतिको दृष्टिकोण हो । जेनले प्रकृतिलाई आफ्नो गुरुको रूपमा स्वीकार गर्दछ । पात झरेका आवाज, पातमा हावाको स्पर्श, नदी बगेको ध्वनि, ढुङ्गा बालुवाका बगैंचा यी सबै ध्यानका माध्यम हुन् । त्यसैले शरद ऋतुका मनमोहक दृश्य जापानमा केवल रङ्गीन दृश्य मात्रै होइन । यो त ध्यानको माध्यम,मौनताको बिम्ब, अस्तित्व र आत्मबोधको प्रतीक बनेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










