प्रवासमा भविष्य बनाउन पुग्नुपर्ने स्थल एयरपोर्ट
रमाइलो पलको लागि रमणीय स्थल हो रिसोर्ट
दुख, पिडा, आँसु र हाँसो जीवनको कथा न हो
भविष्य उजिल्याउने धारिलो हतियार पासपोर्ट !!!
प्रेम संग्रौलाको पासपोर्ट कुन रङको छ । मलाई थाहा छैन । हरियो छ कि ? खैरो छ कि ? या रातो पो छ कि ? मलाई थाहा छैन । तर मलाई थाहा छ कवि प्रेम संग्रौलाको कवितासंग्रह ‘पासपोर्ट’ को रङ रातो छ । चित्रमा यात्रीहरू लाम लागेर पासपोर्ट लिएर जहाज चढ्न आतुर देखिन्छन् ।
भनौं कवितासंग्रहको आकर्षक आवरणले पासपोर्टको महत्त्व र उपादेयताको बारेमा प्रष्ट देखिन्छ ।
भनिन्छ “पुस्तकको आवरण हेरेर त्यो पुस्तक माथि निर्णय गर्न सकिंदैन” A book can not be judged by their cover.” तर यो भनाइ सबै पुस्तक माथि लागू हुँदैन । केही अपवाद हुन्छन् । त्यो अपवाद यस पुस्तकमा लागु हुन्छ ।
यस पुस्तकको आवरण र शीर्षकले कविता बोल्छ । कविताका व्यथा बोल्छन् र पीडाका कथा लेख्छन् ।
केही वर्षअघि थियो आम नेपालीले पासपोर्ट शब्द सुनेकै थिएनन् । कसैले सुनेको भए पनि प्राप्त गर्नु ठूलो तिकडम लाउनु पर्थ्यो । धेरैका लागि आकाशको फल आँखा तरी मर भने झैं थियो । तर आज समयले कोल्टे फेरेको छ । देशको विषम परिस्थितिले आम युवा युवती रोजी रोटीको लागि देश बाहिर जान बाध्य भएको अवस्था छ । दिनहुँ हजारौंको संख्यामा पासपोर्ट बोकेर देश बाहिरिनेको लावालस्कर देखिन्छन् विमानस्थलमा ! हो त्यही समग्रमा आम देशवासीको कथा-व्यथा कवि प्रेम संग्रौलाको कविताले व्यक्त गरेको छ भन्दा फरक पर्दैन ।
पासपोर्ट कविताले यस कविता संग्रहको प्रतिनिधित्व गरेको छ । त्यसैले यस कविता संग्रहको नामकरण गरिएको छ ‘पासपोर्ट’ । कवि संग्रौला सँगको सम्बन्ध बिस्तारको बारेमा केही चर्चा गर्नु यहाँ मनासिब नै ठहर्ला ! हुन त संग्रौलालाई मैले प्रत्यक्षत भेट्न भन्दा अगाडि नै हाम्रो सम्पर्क भएको हो । सन् १९९९ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मुख पत्र ‘अन्तर्दृष्टि’ पत्रिकाको लागि रचनाको अनुरोध त्यस संस्थाको अध्यक्ष भएको नाताले मैले बोस्टनबाट नै गरेको सम्झना छ । शायद साहित्यकार कृष्ण प्रधान मार्फत प्रेम जी सँगको सम्बन्ध विस्तार भएको हुनुपर्छ ।
सन् १९९९ मा अन्तर्दृष्टिको वर्ष ७ अङ्क ३ फागुन २०५६ सालमा नेपालको साहित्यिक पत्रकार संघको सहकार्यमा ‘अन्तर्दृष्टि’ नेपालबाट प्रकाशनमा आएको थियो । सो पत्रिकामा वहाँको ‘सपना साकार’ निबन्ध प्रकाशन भएको थियो । कवि गोपाल प्रसाद रिमालको ‘आमाको सपना’ मा आधारित रहेर लेखिएको सो निबन्ध तत्कालीन देश काल परिस्थितिको सरल, सहज र मीठो तरिकाले व्यंग्य पस्किनु भएको छ ।
(‘अन्तर्दृष्टि’ पत्रिकाको दोश्रो संयुक्तांक क्यानाडाबाट अनेसासको पूर्व अध्यक्ष किरण ढुङ्गानाद्वारा ‘दियालो’ पत्रिका प्रकाशित भएको थियो ।
मेरो सम्झनामा आएसम्म नेपाली भाषा र साहित्यलाई संवर्द्धन गर्ने अभिप्रायले अमेरिका बाहिर अन्य देशमा प्रकाशित नेपाली भाषाको पत्रिका सँगको सहकार्यमा ‘अन्तर्दृष्टि’लाई संयुक्तांक प्रकाशन गरिएको यी नै दुई होला !)
म सन् २००० सालमा बोस्टन बाट वासिङ्टन डिसी स्थान्तरण भएँ । प्रेम जी सँगको त्यहि सम्बन्ध सेतुको कारण भर्जिनिया राज्यको आर्लिंगटन शहर स्थित डेनियल स्ट्रिटमा बसाइँ सराइ भयो । बस्दै जाँदा त्यहीं अवस्थित अपार्टमेन्टमा रहनु हुने नेपालीहरू सँगको सहकार्यमा हामीले एउटा ‘छिमेकी गाउँ’ निर्माण गर्यौँ । अमेरिकामा रहेर पनि भाषा, साहित्य, कला र संस्कृतिको दिगो विकास र सम्वृद्धिको लागि समर्पित सो संस्थाले सन् २००० देखि सन् २००८ सम्म हरेक नेपाली संस्कृति र परम्परालाई जस्तै परिस्थितिमा पनि कार्यक्रमहरू सम्पन्न गरेको तथ्य सबैलाई विदित नै छ । छिमेकी गाउँ स्थापनामा कवि तथा समाजसेवी प्रेम संग्रौला सँगको सहकार्य अविस्मरणीय नै रहनेछ !
अमेरिकामा स्थापित पहिलो नेपाली संस्था ‘अमेरिका नेपाल सोसाइटी’मा सन् २००३ देखि २००६ साल सम्म सहकार्य गरेको पनि मधुर सम्झना रहिआएको छ । सो समयमा वासिङ्टन मेट्रो डिसी क्षेत्रमा बसोबास गरिरहनु भएका नेपालीहरूको टेलिफोन डिरेक्टरीको प्रकाशन र ‘आवाज’ पत्रिकाको तिन अंक सम्मको प्रकाशन लगायत बर्सेनि दशैंतिहार मेलाको आयोजना हाम्रो एउटा ठूलो सफलता हो भन्ने मलाई लाग्दछ ।
वासिङ्टन डिसी क्षेत्रमा रहेको विभिन्न सामाजिक संघसंस्थासँग सक्रिय आबद्धता रहेको कवि प्रेम संग्रौला पछिल्लो समयमा निकै वर्षसम्म सञ्चालनमा आएको ‘डिसी कोठे कविता गोष्ठी’को एक सक्रिय सदस्य रहेको पनि म यहाँ सम्झन चाहन्छु । साथै वहाँको ‘सुकी धुपी’ कवितासंग्रह पनि प्रकाशन भएको छ ।
आउनुस् अब कविता सम्बन्धमा छोटो चर्चा गरौँ !
कविता के हो ?
कविता – मनको सुन्दर अभिव्यक्ति हो
कविता कल्पना र संवेगको भाषा हो
कविता भावनाको बौद्धिक कोमलता हो
वास्तवमा कविता जीवनको आलोचना जस्तै पनि हो !
कविता सबैले लेख्न सक्ने विषय पनि हो तर सबैले लेख्न नसक्ने कार्य पनि कविता नै हो ! प्रसिद्ध दार्शनिक प्लेटोले भनेका छन् “ Every man is a poet when he is in love.” तर मेरो विचारमा “Every human are a poet when they are in love.”
माया, प्रेम र यौन प्रति के महिला के पुरुष दुवै नै उत्तिकै आकर्षित हुन्छन होइन र ?
जसरी पाठकको स्तर हुन्छ त्यसरी नै कविताको पनि स्तर हुन्छ । कविले कविताको बारेमा प्रकाश पारिरहनु पर्दैन । त्यो आफैमा मर्मशील हुन्छ । तर जे लेख्दा पनि कविता हुन्छ भन्ने सोचाइ राख्नु त्यो एक युटोपिया वा भनौँ भ्रम मात्र हो ।
कवि हुनु भनेको -अँध्यारो कोठामा प्रकाश पुर्याउन बिजुलीको नाङ्गो तार छुनु हो ।
असार्थक जीवन बिताएर मृत्यु पछि सार्थक हुनु हो
व्यक्ति बाट सदाको लागि समष्टिमा समर्पित हुनु हो ।
अनि कवि भविष्यद्रष्टा पनि हुन् र कवि रवि बन्नु पनि हो !
मेरो विचारमा कविता शाश्वत हुनुपर्छ । क्षणिक हुनुहुँदैन ! कविताले जीवनको सम्पूर्णता समेटिएको हुनु पर्छ ! ‘कविता लेखन एउटा आविष्कार पनि हो । कहीं कतै नलेखिएको र नभनिएको एउटा संरचना तयार पार्नु पनि हो । यस अर्थमा कविता लेखन धेरै महत्त्वपूर्ण कुरा हो । युद्ध, हिंसा, पिडा, व्यथा अनि यातनाको विरोधी स्वर पनि कविता हो !!!
अभाव, रिक्तता र तिक्तताको जड नै आवेग र संवेगको मिश्रण हो जसले हुङ्कार र आक्रोशको ज्वाला कविता मार्फत पोखिन्छन् । कविताको उत्पत्ति आदिम कालमा मान्छेको उत्पत्ति सँगै भएको मानिन्छ । १३९ पेजको पासपोर्ट कविता संग्रह पैरवी बुक हाउस प्रा, लि. ले प्रकाशन गरेको हो भने यस कविता संग्रहको भूमिका मदन पुरस्कार प्राप्त साहित्यकार कृष्ण धरावासी जी ले लेख्नु भएको छ । विभिन्न शिर्षकका ५५ वटा कविता समावेश छन् यस कविता संग्रहभित्र ।
पासपोर्ट कविताले आजको हाम्रो देशको वर्तमान बोल्छ । विविध कारणले देशमा भै रहेको बेथिति, बेरोजगार, अनियमितता हरेक असन्तुष्टिको कारण उलेख्य युवा जमात देश बाहिरिनेको कथा र व्यथा बोलेको छ । कविताले देशको वर्तमान परिस्थिति बोल्छ । त्यसैले त कवि भन्छन् पासपोर्ट भनेको नै देश हो ।
धेरै वटा कविताहरूको पुच्छारमा कविता सिर्जनाको सन्दर्भ राखेर पाठकलाई कविता बुझ्न अति सजिलो पारिदिएको छ । पासपोर्ट कविता संग्रहमा सङ्ग्रहित कवितामा प्रशस्त रूपमा आफ्नो मातृभूमिको विविध अवस्थाको बारेमा चासो र चिन्ता प्रकट गरिएको पाउँछौं । यसबाट प्रष्ट हुन्छ कि कवि समयचेत भएको मान्नु पर्छ । प्रेम जीको अधिकांश कवितामा पीडा छ, व्यथा छ, निराशा छ अनि आक्रोस ! वहाँका कविताहरूमा प्रकृति, स्वतन्त्रता, माया र प्रेमका प्रसङ्गहरू पनि बाक्लै भेटिन्छन् । कवि प्रेम संग्रौला एक सरल र संवेद्य भाषा शैलीका कवि हुन् भन्दा फरक नपर्ला । वहाँका कविता संवेदनशील र सुबोध्य रूपमा हामीले पढिरहेका पनि छौं । र यो संग्रहमा पनि यो कायम नै छ !
अर्को अर्थमा भन्ने हो भने वहाँका कवितामा इमान्दारिता, स्वाधीनता र समानताको भाव र समयचेत प्रष्ट र यथेष्ट रूपमा पाइन्छ । त्यसरी नै वहाँका कवितामा माया, प्रेम, प्रकृति अनि असमानता र बेथितिका कथा व्यथा समेटिएको पाउँछौं !!!
यसै संग्रहभित्रको ‘यादमा’ शीर्षकको कविताको केही अंश
“जब निस्किएँ काममा घरबाट
देखें, क्षितिजमा तैरिरहेको दुई जुवा घाम
हो, यही बेला मलाई मेरो घरको छायाको याद आयो ।
स्कुल जाने समयको
घाम र छायाले बनाएको
चलायमान रेखाको याद आयो ।
आफूले आफ्नै नाडीमा कृत्रिम
घडीको सम्झना आयो
मलाई मेरो स्कुलको याद आयो ।”
यस कविताको टुक्राले हामी सबैलाई एकपटक भावुक अवश्य बनाउँछ नै । यो कविताले आफ्नो बाल्यकाल सम्झाउँछ । आफू जन्मेको घर, आँगन परिवार सबै सबै याद दिलाउँछ । ठेट नेपाली शब्दको प्रयोग र गाउँले परिवेश समेटिएको यो कविता एउटा झर्रो कविता हो भन्ने मेरो ठम्याई छ । अनि सम्झना आउँछ गुन्द्रुकको अचार सँगै मकै र भटमास खाएको ।
म मेरो माटोको सम्झनामा बाँचिरहेको छु अनि यादहरूको संसारमा लफ्रक्कै भिजेको महसूस गर्दैछु यति खेर म ।
‘भित्ताको कथा’ कविताबाट केही अंश
“कथै कथाहरूको खातबाट
खै म कुन कथा सुनाऊँ
व्यथैव्यथाको लेउ लागेको यस भित्तोबाट
खै म कुन गीत गाऊँ”
———-
मेरो तेश्रो आँखा छैन भन्ने भ्रममा
मेरै अगाडि मेरै आडमा
अबलाको बलात्कार गर्छ
अनि बाहिर निस्केर भित्तोको आड लिएर
महिला मुक्ति र स्वतन्त्रताको भाषण ठोक्छ ।
के मात्रै गरेन मान्छेले मेरो आडमा
कोत पर्व आफ्नै अगाडि गर्यो
मैले हेरिरहें मान्छेको कर्तुत र रगतको खोलो
ग्यास च्याम्बरको योजना मेरै चौघेरोमा भयो
लाखौँ लाख मान्छेको जीवनलीला सकिएको
मैले टुलुटुलु हेरिरहें
भो ! अति भयो
म सक्तिन सहन अब
म मेरो स्वतन्त्रताको बाटो खोजिरहेछु !!!
धेरै शक्तिशाली कविता ! मुक्ति र स्वतन्त्रताको मसाल उठाउने कविता लाई कम आँक्न सकिन्न ।
मलाई यो कविताले सम्झना दिलायो दिवंगत वरिष्ठ कवि श्रद्धेय बासु शशीको कविता ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ भन्ने कविता ।
“यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ
( हुन् त सब थोक सबभन्दा बढ्ता चाहिने युग पनि यही हो)
पर्खाल, लोग्नेमान्छे जस्तो पर्खाल,
टाउको लगेर ठोक्न पनि हुने पर्खाल ।”
यस संग्रहको ‘पासपोर्ट’ शीर्षकको कविता यस संग्रहको प्रतिनिधि कविता हो भन्दा फरक नपर्ला । यसर्थ मलाई असाध्य मन परेको यो कविताको केही अंश –
भोको पेट भर्नलाई
प्रवासी भएर बाच्नुको नाम पासपोर्ट हो
स्वदेश र आफन्तको मायामा पिल्सिएर
गह भरि आँसु भए पनि
अर्काको अगाडी हाँस्नुको नाम पासपोर्ट हो
लाहुरे, बहादुर, कान्छा भनेर
मानपदवी सहित डाक्नुको नाम पासपोर्ट हो
चौबिसै घण्टा ड्युटी गरे पनि
थाक्तै नथाक्नुको नाम पासपोर्ट हो !!!
पासपोर्टले देखाएको हैसियतको दयनीय व्यंग्यात्मक सटिक यथार्थ चित्रण ! त्यसैले त कवि प्रेम संग्रौला भन्छन् – पासपोर्ट भनेकै देश हो ।
अन्तमा मित्र कवि प्रेम संग्रौला जीलाई यस कवितासंग्रह मार्फत साहित्यिक सफलताको शुभकामना सहित बधाई पनि भन्न चाहन्छु !!!
धन्यवाद !!
भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










