जीवनका चक्रहरूबारे पत्रपत्रिकाहरूमा अनेक लेख लेखिरहने डिल्ली अम्माईंको नवीनतम कृति हो – ‘निरपेक्ष अस्तित्वको खोज’ । उक्त पुस्तक हात पर्‍यो । मलाई शीर्षक कै कताकता गह्रुङ्गो जस्तो लाग्यो । यी भारी शब्दहरूमा कति खुशी र कति बेचैनी छन् ? कति चाखलाग्दा छन् ? मैले तीन/चार विषम कविता यत्तिकै पढेँ । आजको वैश्विक युगमा यो त नेपाली चेतनाको नयाँ भर्सन जस्तो पो लाग्यो । अनि म पूरै संग्रह पढ्न तम्सिएँ, र परख गर्न लागेँ ।

कवि अम्माईंको कवितासंग्रह ‘निरपेक्ष अस्तित्वको खोज’ केवल शब्दहरूको सौन्दर्य संकलन होइन, विचारको यात्रा हो । यो संग्रह पढ्दा लाग्छ- कविताले यहाँ भावनाभन्दा बढी अस्तित्वको अर्थबारे प्रश्नहरू उठाउँछ, खोज गर्छ । कविले जीवन-दर्शन, र विस्थापनका अनुभवहरूलाई एउटा गहिरो दार्शनिक दृष्टिबाट नियालेका छन्, जसले प्रवासी नेपाली कवितामा एक नयाँ विमर्श थपेको छ ।

कविताहरूमा कवि अम्माईं निरन्तर प्रश्न गर्छन्- जीवन र जगतको अस्तित्व के हो ? घर, समाज, प्रवास र जगतको बीचमा ‘म’ को स्थान कहाँ छ ? यी प्रश्नहरूलाई कविले न त अमूर्त भाषामा, न त बौद्धिक भारीपनमा, बरु दैनिक जीवनका प्रतीक र प्रवासमा श्रमको गन्ध मिसाएर प्रस्तुत गरेका छन् ।

“बालक कालका साथीहरू गाउँतिर छैनन्
दुःख काट्ने करौंती किन्न
कोही खाडीका भेडीगोठमा छन्
कोही युरोप अमेरिकाका चुलाहरूमा ।”

यी पंक्तिहरूमा विदेशी भूमिमा काम गर्ने पात्र कवि स्वयं प्रवास-पीडाका एक विभक्त अंश भएर पोखिएका छन् । उनी आफै माटो र ‘स्व’सँगको सम्बन्ध पुनः परिभाषित गर्न बाध्य छन् । प्रवासमा उनी शारीरिक रूपमा मात्र होइन, आत्माले पनि परिश्रम गर्छन् । अम्माईंको दृष्टिमा यो पीडा केवल आर्थिक वा भावनात्मक दुःख मात्र होइन, यो त स्व-चेतनाको पुनर्जन्म हो ।

वास्तवमा कविले पीडालाई नकार्दैनन्, बरु त्यसलाई ज्ञानको रूपमा स्वीकार गर्छन् । यही स्वीकृति नै उनको कविताको मूल दार्शनिक स्वर हो । उनका प्रत्येक अनुभव, चाहे त्यो परदेशको धुलो होस् वा श्रमको पसिनाको मूल्य माग्ने सवाल ! अस्तित्वको खोज हो । अस्तित्वको बोध हो ।

दार्शनिक स्वरको सन्दर्भमा उनका कविताहरूमा मार्क्सवादी चेतना, बुद्धत्वका बिम्बहरू र मानवतावादी दर्शनबीचको सन्तुलन पाइन्छ । उनको जीवन दर्शनको एक टुक्रा-

“ऊर्जाको समर्पणमा समुद्र बन !
समयको विरोधाभासमा पृथ्वी बन !
पदार्थमा गति र द्वन्द्व बन !
र अन्त्यमा,
ज्ञानको विशालतामा बुद्ध बन !”

यो पंक्ति प्राचीन ग्रीक दार्शनिक प्रोटागोरसको ‘सबै वस्तु, मूल्य, र सत्यको मापन मानव स्वयं हो’ भन्ने कथनको मानवतावादी घोषणा हो भने अर्कोतर्फ सत्यहरूको पूर्ण बोध हुन नै ‘बुद्धत्व प्राप्ति’ हो भन्ने पूर्वीय बोधिचित्त सिद्धान्तको बोधिसत्त्व रूपान्तर हो । कविले मानवता र श्रमलाई विचारको केन्द्र बनाएका छन्, जसले दर्शनलाई जमीन र मानवसँग जोडिदिन्छ ।

उनका कवितामा भाषा सादा छन्, तर अर्थ गहिरो ! कविले बिम्बहरूमा दैनिकी र दार्शनिकता मिसाएका छन् । यी सबै बिम्बहरूले कवितालाई यथार्थ र चिन्तनको मिलनबिन्दुमा उभ्याउँछन् ।

‘निरपेक्ष अस्तित्वको खोज’ अन्ततः दर्शनको त्यो स्वर हो, जसले भन्छ —

“ईश्वरको सृजना मैले गरेको हुँ,
प्रकृतिबाहेक ब्रह्माण्डमा ईश्वर छैन ।”

यस अर्थमा यो संग्रह केवल प्रवासी नेपालीको कथा होइन, मानव अस्तित्वको गहिरो बोध हो । जसले नेपाली कवितालाई प्रवासी पीडा भावनाको तहबाट उठाएर चिन्तनको स्तरमा पुर्‍याएको छ ।

संग्रहका कविताहरूमा मोटामोटी रूपमा तीन प्रकारका भावानात्मक अभिव्यक्ति पाइन्छन् ।

पहिलो खण्डका कविताहरूमा दार्शनिक गहिराइ प्रष्ट अनुभूत हुन्छ । कवि ठान्छन् – उनले आफ्नो सोचको मूलाधार शून्यलाई मानेका छन् । अनि दैनन्दिनी सत्यहरूको पूर्ण बोध हुन नै ‘बुद्धत्व प्राप्ति’ हो ।

“पीडा नभएको युग नहुने रहेछ
संयम नभएको सत्ता हुने रहेनछ…

सृष्टि भन्नु पनि समय रहेछ
प्रलय भन्नु पनि समय नै रहेछ ।”

यी पंक्तिहरूले कविको दृष्टिकोण प्रकट गर्छन् । जीवनको अर्थ केवल बाँच्नु होइन, यसको मर्म बुझ्नु हो । उनका कवितामा अस्तित्ववाद, श्रमवाद र मानवीय करुणाको त्रिवेणी मिसिएको छ ।

दोस्रो खण्ड प्रवासमा बाँचिरहेका नेपालीहरूको डायस्पोरिक पीडातिर मोडिन्छ । कविताहरूमा विदेशी भूमिमा नेपाली पहिचानको संघर्ष, बिर्सिनु र सम्झिनुको द्वन्द्व, र मातृभूमिप्रतिको गहिरो भावनात्मक सम्बन्ध उजागर हुन्छ ।

‘प्रवासी पीडा’, ‘कतारले निलेका बन्धुहरू’, ‘आमा म फर्कूँ कि ?’

यी यी कविताका शीर्षकहरूमा केवल व्यक्तिगत दुःख होइन, समग्र प्रवासी वर्गको सामूहिक संवेदना बोल्छ । माथि पनि कवितांशसहित यसको चर्चा भैसकेको छ ।

तेस्रो खण्ड कामदार वर्गको स्वर हो, उनी मजदूरहरूलाई आफ्नो मूल्य माग्न उकास्छन् । कविले श्रमलाई केवल आर्थिक अनिवार्यता होइन, नैतिक गौरवको प्रतीकका रूपमा चित्रित गरेका छन् ।

“उत्पीडनको जुवाभित्र जोतिएकाहरू अब जाग !
बाटोको मूल्य माग !
माटोको मूल्य माग !”

यी पंक्तिहरूले कविता र वर्ग चेतनाको सम्बन्ध पुनः परिभाषित गर्छन् ।

भाषागत रूपमा कवि सरल र सुगम्य तर प्रभावशाली छन् । प्रशस्त प्रतीक र बिम्बहरूको प्रयोगले दर्शनको दृष्टि र नेपाली श्रमिकको यथार्थलाई जिउँदो बनाएका छन् । संरचनात्मक रूपमा पनि कविताहरू सन्तुलित छन् । कतिपयमा लय र पुनरावृत्तिले लोकभाका झल्काउँछ भने कतिपयमा स्वगत जस्तो एकालापको आत्मस्वर पनि सुनिन्छ ।

समग्रमा, ‘निरपेक्ष अस्तित्वको खोज’ साधारण कवितासंग्रह होइन, यो श्रम, पीडा र पहिचानको दार्शनिक दस्तावेज हो । संग्रहमा ६१ वटा कविता छन् । यी कविताहरू मार्फत कवि अनाथ अंकल अर्थात् डिल्ली अम्माईं साधनाको मूल बाटोमा आइपुगेका छन् ।

हिंडेर कहिले सकिन्छ र ? कवि डा. नवराज लम्सालले भने झैं- हिंड्न त अझै बाँकी छ तर उनको बाटो दर्शन हो भन्ने प्रष्ट छ ।