विषय प्रवेश

नेपाललाई दक्षिण एशियाको सबैभन्दा पुरानो व्यवस्थित राज्य मानिने भएकाले नेपालीहरूको बसाइँसराइ प्राचीन समयदेखि नै शुरू भएको देखिन्छ । राजा–महाराजाका विवाह, कारीगर, सैनिक सेवा, खेतीपाती,  निर्माण कार्य तथा व्यापारका कारण नेपालीहरू भूटान, भारत, तिब्बत, सिक्किम हुँदै विश्वका विभिन्न मुलुकमा फैलन पुगेका छन् ।

भूटानमा नेपालीहरूको आगमन सन् १६२० मा चाँदीको स्तुपा बनाउन बोलाइएका नेपाली कारिगरबाट शुरू भएको मानिन्छ । त्यसपछि १९औँ शताब्दीको अन्त्यतिर दक्षिण भुटानमा खेतीका लागि नेपालीहरूको आगमन हुन थाल्यो । यसरी नेपाली भाषीहरूको बसोबास भुटानमा बढ्दै गएपछि नेपाली भाषी भूटानीलाई ‘ल्होत्साम्पा’ भनियो। सन् १९६० तिर नेपाली भाषीहरूको संख्या उल्लेखनीय बन्नासाथ भुटानमा नेपाली साहित्यको विकास प्रारम्भ भयो ।

सन् १९६२ मा ‘कुनसेल’ पत्रिकाले नेपाली भाषीका लागि नेपाली भाषामा समाचार छाप्न थालेपछि नेपाली साहित्यिक गतिविधि बिस्तारै गति लिंदै जान थाल्यो । त्यसको प्रभावमा भूटान सरकारले १९७० मा गौरीशंकर उपाध्यायको सम्पादनमा ‘ड्रुकलोसल पत्रिकाको प्रकाशन शुरू गर्यो, जसले नेपाली साहित्य लेखनलाई प्रोत्साहित गर्दै गयो ।उपाध्यायलाई भूटानमा नेपाली साहित्य लेख्ने प्रथम व्यक्तित्व मानिन्छ । यसरी भूल्यता देखेर सन् १९८४ मा ‘ड्रुकलोसल’ पत्रिका बन्द गरियो र विद्यालयका सबै नेपाली विषयहरू हटाइए । नेपाली पुस्तक, पाठ्यक्रम र पुस्तकालयमा रहेका सामग्रीहरू नष्ट गरिए, अनि नेपाली भाषा बोल्नसम्म पनि निषेध गरियो ।

यसै दमनका कारण हजारौँ नेपाली भाषीहरू देशनिकाला भई शरणार्थी बन्न पुगे । देशबाट विस्थापित भइसकेपछि पनि भूटानी नेपालीहरूले नेपाली भाषा र  साहित्यलाई बचाइराखे भने नेपाली पठन र लेखन पनि रोकिएन । १९९३ मा ‘नेपाली भाषा परिषद्, भुटान’ र २००६ मा ‘नेपाली साहित्य परिषद्, भुटान’ गठन भई शरणार्थी शिविरहरूमा भाषा र साहित्यलाई जोगाउने काम गरियो। यी संस्थाहरूले कक्षा सञ्चालनदेखि साहित्यकार, कलाकार र समाजसेवीहरू उत्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । छोटो अवधिमै आप्रवासबाट नै धेरै भूटानी नेपाली लेखकका कृतिहरू प्रकाशित हुनुले उनीहरूको नेपाली भाषा र साहित्यप्रतिको गहिरो आस्था देखाउँछ । यस्तै परिपेक्षमा अमेरिकाको ह्रिसबर्गलाई कर्मथलो बनाएका भूटानी नेपाली लेखक जे.एन. दाहालको ‘प्रहेलिका’ उपन्यास प्रकाशित भएको छ ।

००००

विषयगत सन्दर्भ

उपन्यास साहित्य मानव जीवनको जटिलता, सामाजिक संरचना र व्यक्तिगत संवेदनालाई जीवन्त रूपमा चित्रण गर्ने शक्तिशाली माध्यम हो । कथा, पात्र, समाज र समयलाई एकैसाथ समेटेर व्यक्तिको भित्री संसार र सामाजिक अवस्था दुवै उजागर गर्न सकिने भएकाले यसलाई ‘समाजको दर्पण’ पनि भनिन्छ । यही सन्दर्भमा, जे.एन. दाहालको ‘प्रहेलिका’ (साङ्ग्रिला बुक्स, २०८०) विशेष महत्वको नेपाली उपन्यास हो ।  ४१ खण्ड र २ सय ३२ पृष्ठमा फैलिएको यस उपन्यासमा आप्रवासी नेपाली महिलाको जीवन–संघर्ष, अन्तर्देशीय  विवाह, दाम्पत्य जीवनमा  यौनिकताको संवेदनशील विषयलाई प्रमुखताका साथ प्रस्तुत गरेको छ ।

विश्व साहित्यमा अयौनिक विषयमा आधारित आख्यान साहित्यको अध्ययन गर्दा  १८९५ को ‘जुड द अब्स्क्योर’ उपन्यासमा थोमस हार्डीको चरित्र सु ब्राइडहेडलाई यौनप्रति सक्रिय घृणाको कारणले गर्दा समालोचकहरू अयौनिक र अलैङ्गिक चरित्र मान्छन् । तर विशेष गरी खुला रूपमा मानवीय यौनेच्छाका बारेमा २१ औं शताब्दीदेखि मात्र  धेरै खुला रूपमा अलैङ्गिक लेखकहरू देखा पर्न थाले, जसले स्पष्ट रूपमा समकालीन कथामा अलैङ्गिकको रूपमा पहिचान गर्ने पात्रहरूको सिर्जना गरेर लेख्न थाले । यी लेखकहरू प्रायः अलैङ्गिक संसारमा मार्ग खोज्ने  (नेभिगेट गर्ने) अनुभवमा केन्द्रित हुन्छन् ।

अमेरिकाकी उपन्यासकार  सीनन म्याकगुइरले आफ्नो “एभ्री हार्ट अ डोरवे ” (२०१६)  उपन्यासमा मुख्य पात्रलाई  एक अलैङ्गिक पात्रका रूपमा प्रस्तुत गरेकी छिन् ।  ह्युगो र नेबुला पुरस्कार विजेता  सीननले यस उपन्यासमा  नायिका न्यान्सी प्रामाणिक रूपमा अलैङ्गिक छिन् भन्ने उनको कथाव्यथा देखाइएको छ ।

००००

प्रहेलिकाभित्र यौनिकता अलैङ्गिक

‘प्रहेलिका’ उपन्यासले नेपाली समाजमा यौनिकता जस्तो संवेदनशील र दुर्लभ विषयलाई केन्द्रीय रूपमा प्रस्तुत गरेको छ । यसले नेपाली समाजमा यौनिकता, र व्यक्तिगत स्वतन्त्रताबारे नयाँ विमर्श ल्याएको छ । कथा विशेष गरी मनोविज्ञानमा रुचि राख्ने पाठकका निम्ति निकै रोचक र आकर्षक बनेको छ ।  कथाले आप्रवासी जीवन शैलीमा हुर्किएको असन्तुलित दाम्पत्य वातावरणको  आधार लिएको छ । उपन्यासमा दुई नारीले  आफ्नो पहिचानको अस्तित्व पहिल्याउन र सुरक्षित, सम्मानित र स्वतन्त्रता जीवन बाँच्न चाहने इच्छा आकांक्षाका कथा प्रस्तुतिमा विभिन्न अवरोधका मोडहरू देखाइएको छ । मान्छेको इच्छा आफूले चाहे अनुसार नचलेपछि मन मिलेका व्यक्ति पनि तगारो बन्ने गर्छन् भन्ने मानवीय चेतनाको स्वरूप प्रस्तुत गरेको छ ।

‘प्रहेलिका’ कथा मुख्यतः दुई नेपाली महिलाका जीवन वरिपरि घुमेको छ ।

अनुष्का – नेपालबाट अमेरिका पुगेर विदेशी नागरिक मायल्ससँग विवाह बन्धनमा बाँधिन्छिन् । उनको दाम्पत्य जीवन भावनात्मक दूरी, यौनिक असमर्थता र सांस्कृतिक भिन्नताबाट प्रभावित हुन्छ । अनुष्काको यौनिकता अलैङ्गिक प्रकृतिको भएको कारण मायल्ससँगको सम्बन्धमा निरन्तर तनाव र असमञ्जस्य उत्पन्न हुन्छ । मायल्स दमित यौन असन्तुष्टिले ग्रस्त भएकोले उसले इच्छाभरिको यौन तृप्ति गर्न नसकेको देखिन्छ । अनुष्काको व्यक्तिगत पहिचान, स्वतन्त्रता र आत्म–सम्मान खोज्ने यात्रा उपन्यासको केन्द्र हो ।

मिसेज शर्मा (रेणु) – अमेरिका बसोबास गर्ने अर्की नेपाली महिला पात्र हुन् । उनको वैवाहिक जीवन पनि कठिनाइपूर्ण छ । यु.टी.आई. र अन्य स्वास्थ्य समस्याले यौनिक जीवनमा बाधा पुर्‍याउँछ, र श्रीमान् मिस्टर ब्राउनले उनको पीडा बुझ्न सक्दैनन् । यसले अन्तरजातीय विवाहमा देखा पर्ने संरचनागत र व्यक्तिगत द्वन्द्वलाई उजागर गरेको छ ।

उपन्यासको कथावस्तुले दुई नेपाली मूलकी महिलाको गोरो छालासँग रहेको दाम्पत्य जीवनको उतारचढावलाई देखाएको छ । एकातिर अनुष्का विदेशमा आएपछि विदेशीकै मायामा संसार खोज्दै एकजना आइरिस मुलुकका २८ वर्षीय केटा मायल्ससँग विवाह बन्धनमा बाँधिन पुग्छिन् भने अर्कोतिर  मिसेज रेणु शर्मा ६० वर्षीय मिस्टर ट्रोए  ब्राउनसँग विवाह बन्धनमा बाँधिएर उसको छोरी ग्रेसको आमा बनिसकेकी हुन्छे । यही पाँच पत्रहरूका बीचको घटनालाई समेटेर यसको कथावस्तु बुनिएको छ । उसका अतिरिक्त उपन्यासलाई गति प्रदान गर्न मानवेतर पात्रहरूमा आईरिस बारमा भेटिएका ग्रेसन, ह्याकर आर.एच., मिया, ओस्कर, बार गर्ल स्टेसिया, नेपाल अनाथलयकी मीरा दिदी, आदि रहेका छन् भने अमानवेतर पात्रमा डियर क्रसिङ्ग, आईरिस बार, पुस्तक, किन्डल, घर, पार्क, मुर्दा घर, ग्यास स्टेसन, भिडियो गेम, चर्च, प्राइड हेरिटेजआदि आएका छन् ।

यस उपन्यासले अन्तरसांस्कृतिक विवाहमा उत्पन्न मानसिक, सामाजिक र यौनिक द्वन्द्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसले नेपाली समाजमा संवेदनशील विषय यौनिकता, महिला स्वतन्त्रता र सामाजिक अपेक्षासँगको टकरावमा नयाँ विमर्श ल्याएको छ । ‘प्रहेलिका’ एउटा मनोवैज्ञानिक र सामाजिक यथार्थमा आधारित उपन्यास हो । अनुष्काको यौनिकता (अलैङ्गिकता) र मायल्सको लगातार यौनेच्छा बीचको अन्तरले दुवैलाई मानसिक र भावनात्मक रूपले चुनौती दिन्छ । मिसेज शर्माको जीवनमा स्वास्थ्य समस्या र पति–पत्नी बीचको असहमति पनि मानसिक तनाव र आन्तरिक द्वन्द्व उत्पन्न गर्छ ।

होटलको फ्रन्ट डेक्समा काम गर्ने क्रममा इको ल्याब कम्पनीमा काम गर्ने केटा मायल्स सामान डेलिभरी गर्न आउने जाने भएपछि दुवैका बीच सम्बन्ध गाँसिएर विवाहमा बाँधिन पुग्छन् । तर विवाह गरेको केही समयपछि अनुष्काको यौनप्रतिको रुचि घट्दै जान थाल्छ । यौनप्रति कुनै  इच्छा नहुँदा मायल्सले गरेको यौनिक व्यवहार पनि मन पराउन छोड्छे । मायल्सलाई भिडियो गेम खेल्ने, बारमा जाने, बियर र सिगार पिउने र यौन चाहना मात्र मन पर्छ । ऊ जतिखेर पनि अनुष्काको शरीरसँग खेल्न लालायित हुन्छ । तर अनुष्कामा देखिएको अलैङ्गिक लक्षणले उनमा यौन आकर्षण अनुभव हुँदैन अर्थात उनमा यौनप्रतिको चाहना नै हराउँदै जान थाल्छ  । अनुष्का  प्रकृतिप्रेमी छिन् । उनलाई पुस्तक पढ्न मन पर्छ । उनी  अध्ययनशील छिन् र किन्डलमा पुस्तक पढ्छे । तर मायल्सको यौन चाहना पूरा गर्न असमर्थ भएपछि दाम्पत्य जीवनमा दरार पर्दै जान थाल्छ । बाउआमा बारे अनभिज्ञ अनाथालयमा हुर्केकी अनुष्काको शरीर अमेरिकामा भए पनि मनमा सधैँ नेपालको अनाथालय, मीरा दिदी र त्यहाँका सदस्यहरूको वरीपरी डुलिरहन्छ ।

कथाको अर्को पाटामा मिसेज शर्माको जीवन शैलीमा उनको श्रीमान मिष्टर ब्राउनलाई पनि एक कामुक पतिका रूपमा चित्रण गरिएको छ । उनी आफूलाई वैवाहिक बलात्कारको शिकार हुँदै आएकी नारीका रूपमा देख्न थाल्छिन् । अनि आफ्नो सम्बन्धलाई अघि लान सक्दिनन् । अनुष्का र रेणु दुवै सँगै काम गर्ने र नेपाली भएकोले एकआर्काका बीच मानवीय सम्बन्ध गाँसिन पुग्छ । दुवैले विदेशी गोरासँग विवाह गरेको र दुवैको असफल दाम्पत्य जीवनको कथा साटासाट गरेर एकअर्कालाई ढाडस दिंदै आएका हुन्छन् । यी दुईका बीच खलपात्रका रूपमा मिसेज शर्माकी अमेरिकामै जन्मिएकी छोरी ग्रेस देखा पर्छिन् । आफ्नो आमा मिसेज शर्मालाई बिगार्ने काम अनुष्काको संगतबाट भएको दोषरोपण गर्दै आमाले घर छोडेर जानु पनि अनुष्काले गर्दा हो भन्ने सोच पालेर अनुष्कालाई हदैसम्मको घृणा गर्दै  छाडा भएर हिंड्ने महिलाको आरोप लगाउँदै अनुष्काको गाडीमा तोडफोड गर्न समेत पछि पर्दिनन् । उनी एक स्वार्थी पात्रको रूपमा उपस्थित भएर आमाको पीडा बुझ्न सक्दिनन् भने बाउबाट   आमा यौनहिंसाको शिकार भएर डरलाग्दो भुमरीमा परेको देख्दिनन् । आमाबुवालाई निर्वस्त्र देखेकी छोरीले महिला भएर पनि न त आमाको पीडा देख्छिन् न त आमाप्रति बाउको दानवीय व्यवहार ।

उपन्यासमा दुई पुरुष वा दुई स्त्रीका बीच हुने आन्तरिक सम्बन्धका विभिन्न पाटाहरूलाई केलाएर देखाउँदै अनुष्कामा देखिएको फरक यौनेच्छाले उनलाई दाम्पत्यभन्दा फरक बाटोमा पुर्‍याइदिन्छ । शान्तिको खोजीमा भौंतारिएकी अनुष्का त्यहाँको लोकल एलजीबीटीक्युको एक मात्र संस्था प्राइड हेरिटेजमा पुग्छे । त्यहाँ पुगेपछि उसले आफूमा शान्तिको  आभास गर्न थाल्छिन् ।

महिलावादी दृष्टिकोणबाट कथा बुनिएको प्रहेलिका उपन्यासले महिलाको अवस्थाको बारे नेपाल र अमेरिकामा उनीहरूप्रति गरिने व्यवहार उस्तै रहेको देखाउन खोजेको छ । आफ्नो अधिकारको खोजी आफैले नगरेसम्म दुःखी हुनु परेको । भौतिक संसारमा शारीरिक रूपमा आफ्नो पहिचान हुन कति आवश्यक रहेछ भन्ने कुरा उपन्यासले उजागर गरेको छ ।

दुवैका श्रीमान विदेशी हुन र उनीहरूलाई पितृसत्ताले गाँजेको  अनुभव हुन्छ । विश्वले जति पनि महिला अधिकारको कुरा गरे पनि अमेरिकामा नै दुई पटक महिला उम्मेदवारलाई त्यहाँको जनताले राष्ट्रपतिको चुनावमा हराइदिएको इतिहास आलै छ । आज यो पितृसत्ता विश्वव्यापी महामारीको रूपमा फैलिएको छ । यहीँ पितृसत्ता मिसेज शर्माको छोरी  ग्रेसमा पनि हाबी भएको छ र त्यसैको आडमा उनी आमाको सट्टा बाउको पक्षमा उभिन्छिन् ।

‘प्रहेलिका’ नेपाली साहित्यमा यौनिकता, अलैङ्गिकता र आप्रवासी जीवनको संवेदनशील पक्षलाई मुख्य विषय बनाएर लेखिएको पहिलो उपन्यास हो । यसले नेपाली समाजमा परम्परागत दृष्टिकोणको चुनौती दिन्छ र महिला स्वतन्त्रता, आत्म–पहिचान र यौनिक अधिकारको प्रश्न उठाउँछ । उपन्यासले विवाह र पारिवारिक सम्बन्धमा देखिने यौनिक असन्तोष, भावनात्मक दूरी, सामाजिक दबाब र व्यक्तिगत स्वतन्त्रता बीचको अन्तर्सम्बन्धलाई स्पष्ट गर्दछ । यसले पाठकलाई मानव व्यवहार, सम्बन्ध र यौनिकता बुझ्न सहयोग पुर्‍याउँछ । उपन्यासले दाम्पत्य जीवन, अन्तरसांस्कृतिक सम्बन्ध र यौनिकता सम्बन्धी संवेदनशील पक्षलाई उजागर गरेको छ । लेखकले पात्रहरूको मनोवैज्ञानिक द्वन्द्वलाई प्रमुखता दिएका छन्  । अनुष्काको आत्म–पहिचान र स्वतन्त्रताको खोजीमा देखिएको आन्तरिक द्वन्द्व, मायल्सको असीमित यौनेच्छा र अनुष्काको अलैङ्गिकता बीचको तनाव र मिसेज शर्माको यौनिक कष्ट र पति–पत्नीको असहमतिले सिर्जित मानसिक दबाब जस्ता मनोवैज्ञानिक पक्षहरू देखिन्छ ।

समग्रमा ‘प्रहेलिका’ उपन्यासको कथावस्तु अमेरिकी भूगोलमा बुनिएको महत्त्वाकाङ्क्षी नेपाली नारीहरूको कथा हो ।  नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्दा भोग्ने सांस्कृतिक, भावनात्मक र यौनिक चुनौतीलाई प्रकाशमा ल्याएको छ । नयाँ परिवेशमा, अमेरिकन पात्रसँग सम्बन्ध हुँदा कठिनाइ अझ थपिनु, सधैँ चुनौती सामना गर्नु पर्ने बाध्यताले उनीहरूको दैनिकीमा कतैबाट पनि सहजता छैन । तर अन्त्यमा उनीहरू नौलो बाटो रोज्न सफल बन्छन् । अमेरिकी समाजलाई कथामा राख्न खोज्दा संवादमा अंग्रेजी भाषाको बढी प्रयोग गरिएको पाइन्छ । त्यसका साथै  स्थानीय  बोलीचालीको भाषाको प्रयोग गरेर उपन्यासको विषयलाई स्वाभाविक बनाइएको छ । यहाँ अंग्रेजी भाषाका शब्द र वाक्यको प्रयोग पनि भएको छ । बढी मात्रामा सरल,  सहज र प्रवाहयुक्त भाषाकै प्रयोग गरिएको छ भने कतिपय भाषामा बिम्ब सौन्दर्य र प्रतीक सौन्दर्य पनि झल्किएको छ ।

उपन्यासको विषय र कथ्यलाई उपन्यासकार बाहिरै बसेर तृतीय पुरुष दृष्टिविन्दु मार्फत प्रस्तुत गरेका छन् । विषय आवश्यकताका आधारमा संक्षेप एवं दृश्यात्मक दुवै पद्धतिमा रचिएको प्रस्तुत उपन्यास भाषाशैलीगत आप्रवास शैलीमा (अमेरिका) विशिष्ट रहेको देखिन्छ ।

यस उपन्यासको सफलता भनेको पुस्तकको अंग्रेजी अनुवाद  ‘हर इनोसेन्स डिस्कभर्ड’ शीर्षकमा डा.  बलराम अधिकारीको अनुवादमा प्रकाशित भएको छ ।  लेखकले अंग्रेजी संवाद, स्थानीय बोली र प्रतीकात्मक भाषा प्रयोग गरेर कथालाई स्वाभाविक बनाएका छन् । पात्रहरूको आन्तरिक

००००

शीर्षकको सार्थकता

उपन्यासको शीर्षक ‘प्रहेलिका’ पढ्नासाथ पाठकलाई शब्दकोश हेर्न बाध्य गराउँछ । शाब्दिक अर्थ ‘प्रहेलिका’ भनेको यस्तो कुरा जुन सोच्नुपर्ने र बुझ्न कठिन हुने भन्ने बुझिन्छ । अर्थात् कुराको सिधै उत्तर नबुझिने भन्ने अर्थमा आउँछ । अझ भनौं  अर्थ बुझ्न गाह्रो कुरा, शाब्दिक कुटखेल वा पहेली भन्ने बुझिन्छ । शीर्षकको लाक्षणिक अर्थ खोज्यौ भने अरूलाई आफ्नोतिर आकर्षित गर्ने, फसाउने वा बाँध्ने व्यक्ति वा वस्तु भन्ने बुझाउँछ । कुनै व्यक्ति वा वस्तुको आकर्षित व्यवहार भनेर पनि बुझ्न सकिन्छ । अझ सोझै अर्थमा भन्नु पर्दा प्रहेलिकाले माखेसाङ्लो भन्ने पनि बुझाउँछ ।

निष्कर्ष

‘प्रहेलिका’ उपन्यास नेपाली आप्रवासी महिलाको जीवन, यौनिकता, दाम्पत्य द्वन्द्व, आत्म–पहिचान र स्वतन्त्रताको गहिरो अध्ययन हो । अनुष्का र मिसेज शर्माको अनुभवले नेपाली समाजमा र बाहिरका चुनौतीहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्छ । उपन्यासले वैवाहिक जीवन, अन्तर सांस्कृतिक सम्बन्ध र महिला अधिकारको संवेदनशील पक्षलाई कलात्मक र मनोवैज्ञानिक दृष्टिले उजागर गरेको छ ।  उपन्यासले भूगोल, जातीय संरचना र भाषिक विविधतामार्फत बहुसांस्कृतिक समाजको गहिरो सन्देश दिएको छ । अमेरिकामा नेपाली भाषी समुदायले विभिन्न जातीय समूहसँग सहअस्तित्वका बीच अधिकार र अस्तित्वका लागि गरेको प्रतिरोधलाई दाहालले यथार्थपरक रूपमा प्रस्तुत गरेका छन् । यसरी उपन्यास आप्रवासी नेपाली समाजको संस्कृति र जीवनअनुभूतिको महत्त्वपूर्ण सामाजिक दस्ताबेज बनेको छ ।

साथै, महिला चेतनाको सशक्त उपस्थिति यस कृतिको प्रमुख विशेषता हो, जहाँ महिलालाई पीडित वा आश्रित होइन, चेतनशील, निर्णयक्षम र आत्मनिर्भर रूपमा चित्रित गरिएको छ, जसले पितृसत्तात्मक संरचनाको आलोचना गर्दै आधुनिक नारीचेतनालाई उजागर गर्दछ ।

क्यानडा