आँखा बन्द गर्नुअघि म अनायासै एकपटक आफैंसँग मुस्कुराएँ र मनमनै सोचें, “म भोलि फेरि उठ्नेछु, किनभने म भोलि नउठ्ने वा उठ्नु नपर्ने कारण मलाई अहिलेसम्म थाहा भएको छैन ।”
0000
हाम्रो मानव जीवनका हरेक कदमसँग सधैँ एउटा न एउटा प्रश्न उभिन्छ— ‘कि न?’ र ‘केका लागि ?’ यिनै प्रश्नहरूको उत्तर खोज्ने यात्राले हाम्रो अस्तित्वलाई दिशा दिएको छ र हामीलाई आफैंभित्र तथा बाहिर दुवै संसारसँग जोडिदिएको छ । तर प्रकृति र हाम्रो वास्तविक व्यवहार बीच खै कसरी हो असमञ्जस्यताको खाडल बिस्तारै बढ्दै गएर प्रश्नहरूलाई उत्साहित गर्नेभन्दा निरुत्साहित गर्न हामी धेरै उद्यत बन्छौं । बच्चाले साँच्चै अज्ञानी भएर तोते बोलीले सोधेका प्रश्न हामीलाई मिठासयुक्त लाग्छन् तर ऊ जान्ने भएर तार्किक प्रश्न सोध्न थाल्यो भने हामीलाई झ्याउ लाग्छ, “केटाकेटीले धेरै बाठो हुनुहुँदैन ! जे मा पनि प्रश्न हुन्छ ?” भन्दै हप्काउँछौं । अझ ठूलाबडासँग मुखमुखे नलाग्नु, गुरुहरूसँग जे पायो त्यही नसोध्नु जस्ता मानक राखेर हाम्रो समाजले प्रश्न सोध्नेहरूलाई निरुत्साहन नै गर्छ ।
‘प्रश्न’ शब्दको उत्पत्ति संस्कृत मूल शब्द ‘प्रश्न’ बाट भएको हो, जसको शाब्दिक अर्थ ‘सोध्नु, जिज्ञासा गर्नु’ हो। ‘प्र’ (अगाडि, विशेषणको रूपमा) र ‘श्न’ (सोध्नु, क्रियाको रूपमा) को संयोजनबाट प्रश्न शब्द बनेको छ । यसरी शब्दार्थ तः ‘प्रश्न’ भनेको ज्ञान, सत्य वा उत्तरको खोजीमा उठाइएको जिज्ञासापूर्ण स्वर हो । यसमा हाम्रा पूर्वीय समाजभन्दा पश्चिमा समाज केही उदार र प्रश्न रुचाउने छन्, त्यसैले पश्चिमा समाज हाम्रो भन्दा बढी तार्किक र पारदर्शी बनेका छन् ।
यता हामी चाहिँ आफैंभित्र प्रश्नहरू गुम्स्याएर हरेक कुरालाई बिना कुनै प्रश्न र विश्लेषण स्वाभाविक मान्छौँ । हाम्रो शरीरलाई हेरौँ न ! अचम्मको मेसिनजस्तो छैन त ! यसभित्रका अलग–अलग जस्तै लाग्ने तर एक–अर्कासँग अन्योन्याश्रित प्रणालीहरू – श्वास–प्रश्वास, रक्तसञ्चार, मांसपेशी, हाडजोर्नी, स्नायु, पाचन, मानसिक, नाक–कान–घाँटी र सबैभन्दा अचम्मको त स्वर (बोली) कसरी एउटै मेसिनमा एकअर्कासँग तालमेल मिलाएर चल्छन् ? कहिल्यै एकछिन रोकिएर हामी आफूले आफैलाई सोधेका छौँ ? हामी मन, सोच, भावना, माया–प्रेम, दया–करुणा, विचार जस्ता अदृश्य र अप्रत्यक्ष कुराहरू त झन् स्वाभाविक रूपमा लिन्छौँ । किन कोही नचिनेको मानिस परैबाट देख्दा (आफूसँग बोलेको पनि छैन, कुनै अन्तरक्रिया पनि भएको छैन) त्यसै रिस उठ्छ, फेरि उस्तै अवस्थामा अर्को मानिससँग चाहिँ नजिक हुन, बोल्न, चिनजान गर्न पाए हुन्थ्यो जस्तो हुन्छ ? सोच्नुभएको छ कहिल्यै ? यिनै द्विविधालाई साथमा लिएर हामी हाम्रो जीवन बिताइरहेका छौँ, भन्छौं पनि ‘समय काटिरहेछु’ !
धेरैलाई स्वाभाविक लाग्छ, “समय निरन्तर आउँछ–जान्छ, जीवन यसरी नै चल्दोरहेछ” – म पनि त्यस्तै सोच्छु – धेरै टाउको दुखाउनुपर्ने विषय होइन । तर भित्र कतै प्रश्नहरू गुम्सिएर बसेका छन् । केही प्रश्न म बाहिर सोध्न सक्छु, तर कतिपय प्रश्न मैले आफूलाई मात्र सोध्नुपर्छ । एउटा कुरा निश्चित छ— जीवनका सबै प्रश्नका उत्तर पाइन्छ भन्ने होइन; तर आफूलाई सोध्ने होस् या अरूलाई, सोध्ने काम चाहिँ कहिल्यै छोड्नु हुँदैन । तपाईं प्रश्न सोध्ने कि नसोध्ने भन्ने निर्णयको उत्तर पनि अन्ततः तपाईंको आफ्नै मनले दिन्छ— त्यो पनि मनलाई सोध्नुभयो भने । अचम्म लाग्दैन र ?
आउनुहोस्! म तपाईं(हरू)लाई मेरो ‘जिन्दगी काट्ने’ कि ‘म बाँचेको समय काट्ने’ भन्ने द्विविधाको सेरोफेरोमा रहेको मेरो दिनचर्याको एक छोटो भ्रमण गराउँछु । यो केवल एक प्रतिनिधिमूलक दैनिकी हो, जसमा सकेसम्म मैले आफूलाई मभित्रबाट हेर्ने प्रयास गरेको छु । यो दैनिकीमा मलाई एक्लै पाएर अलमल नपर्नु होला । म, नब्बेको उमेर कटाउनुभएका बुबा–आमा, दाज्यू अनि भाइ र परिवारहरू, दिदी–भिनाज्यू र परिवार, बहिनी–ज्वाइँ र परिवार, मेरो परिवार – श्रीमती, छोरी–ज्वाइँ र नाति–नातिनी अनि छोरा र बुहारी गरेर दुई कोरीभन्दा बढीको परिवार भएको मानिस हुँ । तर, जीवनको प्रश्न सोध्न र उत्तर खोज्न व्यक्ति एक्लो पनि त हुन सक्छ । सबैलाई साथै राखेर पनि प्रश्न सोध्नु पर्छ, के हामी सधैँ यसरी नै संसारमा रहन्छौँ ? हामीभन्दा दुई–तीन पुस्ता अगाडिका हामीजस्तै परिवारहरू को–को कहाँ होलान् ? हामी उहाँहरूलाई कसरी सम्झन्छौँ ? अनि हामीभन्दा पछिकाले हामीलाई कसरी सम्झिउन् भन्ने चाहन्छौँ ? यस्ता प्रश्न र यिनका जवाफ समूहमा खोज्नु ठिकै हो तर व्यक्तिगत रूपमा प्रश्न सोध्न र उत्तर खोज्न मजा आउँछ, तसर्थ म यो आलेखमा एक्लै प्रस्तुत भएको हुँ ।
म सुत्ने कोठाको झ्यालको खापाको चेपबाट दैनिक बिहान घामको किरण छिर्छ । म आँखा खोल्छु, तर खुल्ने कुरा केवल मेरा पलक हुन् – म होइन । रात बितिसक्छ । उज्यालो दिन शुरू हुन्छ । जस्तै मेरो दैनिकी पनि शुरू हुन्छ, तर मसँग कुनै कारण छैन र प्रश्न पनि छैन त्यसलाई स्वीकार गर्ने वा नगर्ने किनकि अहिलेसम्म जानेको र गरेको नै त्यही हो – दिन शुरू, मेरो दैनिकी पनि शुरू । केवल अस्तित्वका लागि परेको बानी जस्तो छ मेरो दैनिकी, सोच बिना दोहोरिने ।
मलाई चिया-कफी पिउन भन्दा पनि चिया-कफी बनाउँदा आउने बास्ना मनपर्छ । विद्युतीय केतलीमा पानी उम्लँदै छ । त्यो उम्लिने पानीको खट्खट् आवाजमा म आफ्नो जीवन सुन्छु – एकछिन उम्लन्छ, शान्त हुन्छ, फेरि थन्किन्छ । शायद यही नै जीवनको अर्थ हो, या अर्थको अन्तिम भ्रम ! बाल्यकाल, युवावस्था र बुढ्यौली – हामीले देखेको र भोगेको जिन्दगीको यात्रा यही त हो । तर त्यत्ति सरल उत्तर होला त जिन्दगीको ? म फेरि सोच्छु, – किन चिया-कफी बनाउन पानी र दूध भकभकी उमाल्छौं हामी ? तर पिउन चैं सेलाएर ? अझ, ठन्डा पानी र दूधको चिया-कफी झन मीठो हुन्छ ।
दैनिकी भन्नेबित्तिकै समय त आउने नै भयो, भित्ते घडी हेर्छु, साढे-सात बजेको छ । तर कसका लागि साढे-सात ? के का लागि साढे-सात ? साढे-सात त दशाको नाम पनि हैन र ? तर यी प्रश्नहरू कहिल्यै सोधिन्नन् ? समयले दौडाउँछ मात्र । बाहिर सडकमा मानिसहरू र गाडीहरू चार दिशा दौडिरहेका आवाज आइरहेका छन्, भित्ते घडी आफ्नै सुरमा दौडिरहेको छ – टीक…टीक… गर्दै देब्रेबाट दाहिनेतिर चक्र बनाएर । तर कसैलाई थाहा छैन, कुन दिशा दौडनु सही हो – पूर्व, पश्चिम, उत्तर, दक्षिण कि चक्रीय ?
समयको दौडसँग चलेको मेरो पनि दैनिकी र व्यस्तता नै प्रमाण बनेको छ कि म बाँच्दैछु, म जिउँदैछु । हुन त जिउँदै हुनुको अर्थ मैले गहिरो गरेर खोज्न सकेको छैन । कर्म, धर्म र मोक्षलाई सन्तुलित बनाउन सक्नेहरू सही अर्थमा बाँचेका मानिन्छन् भनेर सुनेको चैं छु तर त्यसभित्र पनि ‘सन्तुलन’ भनेको के हो ? र के भयो भने सन्तुलन भएको मानिन्छ भनेर प्रश्न गर्नु पर्ने हो । यसरी हेर्दा, जीवनको साँचो अर्थ नै खोज्ने हो भने दैनिक सयौं म, मभित्रै कसैले थाहा नपाई बिना-अर्थ मर्दछन् । तर, व्यस्त मलाई ती ‘म’हरूको शोकमा झोक्राएर दुई थोपा आँसु झारेर रुने फुर्सद पनि छैन ।
बाँच्नलाई माम, मामको लागि काम – म पनि यसको अपवाद होइन । अरूलाई झैं मलाई पनि हतार छ अफिस पुग्न, हाजिरी उठाउन र ९-५ बजेको समय कटाउन । सिकेको छु आफूलाई राम्ररी व्यस्त देखाउन – तर किन ? म जस्ता हजारौं छन् अफिस नधाउने वा धाउन मौका नपाउने । उनीहरू कसरी कटाउँदा हुन् समय । फेरि सोच्छु, म को हुँ र ? यस्तो जटिल प्रश्नको जवाफ खोज्न । समय त घडीको काँटासँगै आफै १-२-३ गर्दै १२ मा पुगेर फेरि १ मा नै झर्छ । त्यही चक्र कति पटक घुम्यो भनेर गिन्ती गर्दा पनि समय त कटी नै हाल्छ नि ! तर, यही नै सही जवाफ हैन । किनकि मूल प्रश्न त समय कटाउने कि जिन्दगी कटाउने पो हो ? म आफै पनि रनभुल्ल पर्छु – समय त अलिअलि कट्दैछ, जिन्दगी पो कसरी कटाउने हो ?
दिउँसो अफिसमा, घडीले लन्चको समय बताउँछ । काँटा चम्चा प्लेटमा राखेर हातले खाँदै सबै साथीहरू हाँसिरहेका छन्, रमाइरहेका छन् – अझ मोबाइलका स्क्रिनमा आँखा, जिब्रोमा गफ, मुखमा परिकार – चलेका छन् सबैका एकसाथ । दिमाग चलाउने चालक पनि छक्क पर्दो हो ! हरेक दिन यो देखेर र सम्झेर म आफू हाँस्छु, तर त्यो हाँसो मभित्र पुग्दैन । त्यस हाँसोको बीचमा पनि एउटा मौन प्रश्न उठ्छ – “हामी किन हाँस्दैछौं ?” तर कोही सुन्दैन – किनकि प्रश्न मैले सुन्ने गरी सोधेकै छैन ।
समय त चल्दैछ, खै के को लागि हो ? मध्याह्नपछि, जब घाम ढल्कँदै जान्छ, मेरो छाया मभन्दा लामो हुँदै मेरो अगाडि लाग्छ । म त्यसलाई पछ्याउँछु- किनभने मलाई मेरो छाया मभन्दा बढी निश्चिन्त लाग्छ । कहिल्यै उसले आफ्नो स्वतन्त्र अस्तित्वबारे सोच्दैन, चिन्ता गर्दैन । गजब हैन त ! कहिले छाया अघि-पछि हिँड्छ, कहिले दायाँ–बायाँ । तर उसलाई केही फरकै परेको छैन ।
पश्चिममा घाम डुब्छ, अनि रातमा आकाश शान्त लाग्छ, सफा हुँदा आकाशगंगा देखिन्छ – सहस्र ताराहरूको तारापूञ्ज ! तर त्यतिका धेरै ताराहरू ! गन्ती कसले गरेको छ ? ताराहरू चम्किरहेका छन्, कुनै झरिरहेका पनि देखिन्छन् । झरेका ती ताराहरू कहाँ जाँदा हुन्? फेरि तारा त अटल हुन्छन् न हैन र? नझर्नु पर्ने हो – ध्रूवतारा जस्तै ! तर ताराहरू पनि केही भन्न खोज्दैनन्, केही सोध्न खोज्दैनन् । शायद उनीहरूको मौनता नै अन्तिम भाषा हो, र अर्थ – एउटा स्थायी भ्रम !
खै किन हो समय त अझै चल्दैछ । मैले ओछ्यानमा पल्टेर सोचें । एक क्षणका लागि मलाई लाग्छ – बिहान उठ्यो, दिनभर यताउता गर्यो, बेलुका सुत्यो- शायद जीवनको यो भन्दा अरू केही पनि अर्थ छैन । तर के थाह ? त्यही ‘अर्थ नहुनु’ नै जीवनको ‘साँचो अर्थ’ हो कि ? हरेक बिहान घडीको सुईसँगै शुरु हुने मेरो जीवन, साँझ फेरि त्यसैमा हराउँथ्यो । तर दिनभरि कटाएको समय घटाएर जिन्दगी बचत कति रह्यो – त्यो गणना न कसैले गर्यो, न मैले गर्न सकें । प्रश्न त यहाँ पनि छ – जीवन कुनै गणितको प्रश्न हो र ? के समय र अङ्कहरूको जोड, घटाउ, गुणन र भाग गरेर जीवनका सह-योगफल, योगफल अनि सञ्चित बचत निकालिन्छ ? मेरो भित्री मनले भन्छ, “जीवन त निरन्तर प्रवाह हो, जहाँ समय गणना होइन, आजको अनुभव बाँचिन्छ । जसले धेरै हिसाब गर्न खोज्छ, उसले वर्तमान क्षण गुमाउँछ । तर जो वर्तमान क्षणमा बाँच्छ, उसले वास्तविक जीवन बाँच्दछ ।”
रातको नीरवतामा अरू निदाए जस्तै म पनि निदाउँछु । तर निदाए पनि सुख त कहाँ मिल्छ र ? पुराना अनुत्तरित प्रश्नको फेहरिस्त र नयाँ प्रश्नसहित कहिलेको ऐँठन, कहिलेको सपना ! मेरो एक हूल सेतै कपाल र दाह्री फुलेका आमा बुबाहरूसँग भेट भयो । सबै जना ज्ञानी र असलजस्ता देखिने, मैले निहुरेर सबैलाई एकमुष्ठ अभिवादन गरें । अचम्म भयो ! खै कसरी हो मेरो गन्थन र प्रश्नहरू सम्बन्धी कथन वहाँहरूले सुन्नु भएको रहेछ । सबैले एक स्वरमा भन्नुभयो, “‘यो तिम्रो कुनै निष्कर्ष होइन – केवल तिम्रो एक अनुभूति हो । हामी सबै हाम्रो जीवनको अर्थ खोज्दै हिँडिरहेका छौं, तर प्रश्न मात्र हैन उत्तरहरू पनि प्रायः मौनतामै हराउँछन् । त्यो मौन स्वीकृति नै हाम्रो मानव अस्तित्वको प्रमाण हो र शायद त्यही नै हो मानव जीवनको अर्थसँग सम्बन्धित सर्वाधिक सजीव र समीपको उत्तर ।”
सपना र कुराहरू मीठो लागे मलाई, तर आखिर सपना नै त थियो । मेरा प्रश्न र तिनका उत्तरहरूको खोज सकिएकै थिएन – मलाई त्यस्तै लाग्यो । फेरि निदाउन आँखा बन्द गर्नुअघि म अनायासै एकपटक आफैंसँग मुस्कुराएँ र मनमनै सोचें, “म भोलि फेरि उठ्नेछु, किनभने म भोलि नउठ्ने वा उठ्नु नपर्ने कारण मलाई अहिलेसम्म थाहा भएको छैन ।”
सधैं जस्तो, भोलिपल्ट फेरि घामको किरण झ्यालको खापाको चेपबाट छिर्यो, आँखाको पलक खोलेर भित्ते घडीमा हेरें – साढे-सात बजेको रहेछ ।
हाल – ब्रिसवेन, अस्ट्रेलिया



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










