‘TOUS  les  JOURS’, न्यूयोर्कमा अवस्थित फ्रान्सेली एशियाली बेकरी क्याफे हो । गतहप्ता बिहान ९ बजे ढोका खोलेर भित्र पस्दा बिहानको हावा अझै चिसो थियो । प्राय: टेबलहरू एकपछि अर्को गर्दै  जमिसकेकोले आरामले बस्न केही चुनौती नै थियो । कफी मेसिनले न्यानो सुस्केरा फ्याँकिरहेको थियो, जसरी कहिलेकाहीँ म पनि आफ्ना नबोलिएका वाक्यहरूमा मौन सुस्केरा फ्याँकिरहन्छु ।

म हरेक हप्ता बिहान वा मध्याह्नको खाली समय यहाँ कफी पिउँदै सोचविचार गर्न वा ल्यापटप खोलेर काम गर्न पुग्ने गर्छु । त्यो दिन म दाहिने कुनाको सानो टेबलमा बसें । बीचको टेबुलमा ताजा क्रोइसन्ट र बटरको मिठासले पूरै वातावरणलाई शान्त र आकर्षक बनाएको थियो । वरपरका अरू टेबलमा ल्यापटप खोलेर आफ्नो सानो संसारमा हराइरहेका युवायुवतीहरू थिए । कोही  स्क्रीनमा काम नै गरिरहेका देखिन्थे त कोहीको मुहारमा थकान, चिन्ता र  एक्लोपन ! केवल अनुहार हेरेर पनि बाहिरबाटै नियाल्न सकिन्थ्यो ।

त्यही बेला छेउको टेबलमा मेरो आँखा पर्‍यो । एउटा चाइनिज मूलका अमेरिकन केटा र उसको सामु नर्भस मुस्कान बटुल्दै बसेकी केटी !

सम्भवतः उनीहरूको पहिलो भेट थियो । केटाको अनुहारमा शान्त र स्वरमा एक किसिमको न्यानोपन थियो । ऊ आफ्नो परिवार, आमा-बाबु, जन्मथलो र बाल्यकालका पढाइ-बढाइका कुरा यति सहज तरिकाले सुनाइरहेको थियो, मानौँ ती प्रत्येक सम्झनामा ऊ पुनः बाँचिरहेको छ ।

केटी चाख दिएर कुरा सुन्दै थिई । जसरी कफीमा दूध हाल्दा कालोपन हराउँछ त्यसरी नै केटीको ओठको फिस्स छुटेको मुस्कान पनि हराउँदै जान्थ्यो । उसका सुकिला हात र औंलाहरूले सामुन्नेको कफीको कप पूरै अँगालेका थिए ।

म आफ्नो कफीको सिप लिँदै थिएँ तर मेरा कान भने उतैको टेबुलको वार्तालापमा अडिएका थिए ।

ती दुई बैंसालु, अनजान अनुहारहरू एउटै टेबलमा बसेर कुरा गरिरहेका थिए । हेर्दा लाग्थ्यो उनीहरू कुनै डेटिङ साइटबाट भेटेर जीवनको कुनै परीक्षा दिइरहेका छन् । आज पास भएनन् भने, भोलि फेरि अर्को क्याफेमा, अर्को टेबलमा, अर्को लटको परीक्षा दिनुपर्नेछ । दुवैले एकार्कालाई प्रश्न बर्साइरहेका थिए ।

मानौँ भविष्यको ढोका खुल्ने कि बन्द हुने निर्णय यही क्षणमा निर्भर छ । बोली, हाउभाउ र आँखाको शान्तपन हेर्दा दुवै जना शिक्षित, विवेकी र शायद लामो समयदेखि आफ्नो जीवनमा एउटा ‘सही’ मान्छेको खोजीमा छन् ।

वास्तवमा, अमेरिकामा प्रेम अनायास भेटिने कुनै चमत्कार होइन । यो निरन्तर आफू नमरुन्जेलसम्म खोजी गरिरहने विषय हो । यहाँ धेरै शिक्षित मानिस पनि डेटिङ साइटहरूमा शब्दले नै आफूलाई परिभाषित गरिरहेका हुन्छन् । स्वयंलाई सुसज्जित, आकर्षक र योग्य देखाउने शब्दहरू जस्तै ‘सिकर अफ माइन्डफुल कनैक्शन,’, ‘लुकिङ फोर समवन इमोश्नली इन्टेलिजेन्ट,’  लेखेका भेटिन्छन् । यी वाक्यहरू चाहाना मात्रै होइनन्, आफ्नो बिक्रीका नारा पनि हुन् । आजको संसारमा प्रेम पनि एक किसिमको बजार हो । यहाँ आफैंलाई बिकाउन  पनि ‘मार्केटेबल’  बनाउनु पर्छ । तर पनि यहाँ केटाहरूको लागि बिक्न अलिक गाह्रो नै छ ।

केही केटीहरूले शपिङ गरिदिने, भान्सामा पकाउने, भाँडा माझ्ने, लन्ड्री गर्ने, बच्चा जन्मेपछि हुर्काउने, ड्राइभ गरेर अफिस पुर्‍याउने र घर ल्याउने, यी सब गुण केटामा हुनुपर्ने अनिवार्य मापदण्ड हुन् । त्यो पनि उच्च आम्दानी भएको, पढेलेखेको, मनोरञ्जन गराउन सक्ने, हँसाउन सक्ने, अनि हेन्डसम पनि । यदि यी सबै गुण एकै शरीरमा भेटिए भने मात्र केटीले ‘बिहे गर्न योग्य’ ठान्छे । नत्र उसले भनिदिन्छे, “म एक्लै बस्छु । तिमी अर्कै खोज ।”

कति विडम्बना प्रेमको खोजी गर्ने ठाउँमा मानिसहरू एक अर्कालाई रोज्नभन्दा बढी तौलन, मापन गर्न र अस्वीकृत गर्न व्यस्त र अभ्यस्त पनि छन्, जसरी जागीरका लागि बायोडाटा पढेर योग्यता र अनुभवको ‘क्राइटेरिया’ मिल्यो भने बल्ल अन्तर्वार्ता हुन्छ, त्यस्तै कसैको प्रेम पाउन, जीवनसाथी बनेर सँगै बस्न, पहिले डिजिटल प्रोफाइलका बुँदाहरू मिल्नैपर्छ ।

आफ्ना मूल्य, मान्यता , चाहना, बानी, पेशा, आफूलाई मनपर्ने रंग, किताबदेखि लिएर भविष्यको सपनासम्म सबै कुरा डिजिटल प्रोफाइलमा लेखिएको हुन्छ ।

तर त्यो खोजमा भावनाभन्दा बढी विचार, निर्णय र मनोवैज्ञानिक गणित मिसिएको हुन्छ ।

प्रेम आत्मस्फूर्त अनुभूति होइन रहेछ बरु एक योजनाबद्ध प्रक्रिया रहेछ भनेर मैले अमेरिकामा सिकिरहेकी छु । जहाँ हृदयभन्दा अघि नै दिमागले क्लिक गर्नुपर्ने रहेछ ।

ती दुई अपरिचितहरू कफीको कप वरिपरि मुस्कुराइरहेकै  थिए । मलाई लाग्यो, शायद आज उनीहरूको संवादले दुवैको मन कुनै किसिमले छोई नै रहेको छ । उनीहरूले बोलेका शब्दहरू त सामान्य नै लाग्थे  । तर आवाजमा र हाउभाउमा केही कुनै नदेखिने कुरा पनि त बगिरहेको होला नि भन्ने मलाई लाग्यो, जसरी तातो कफीको बाफमा कहिलेकाहीँ सुगन्धभन्दा बढी सम्झना मिसिरहेको हुन्छ । मलाई धेरै पटक धेरै वटा क्याफेको गहिरो सम्झना आइरहन्छ ।

म आज त्यो टेबुलमा बसेर कुनै ‘क्लिक’ हुने क्षणको प्रतीक्षामा थिएँ । त्यो डिजिटल भेटजस्तो छिट्टै हराउने प्रेम नहोस्, कुनै यथार्थ सम्बन्धमा रूपान्तरण हुनसक्ने संकेत चाँडै मिलोस् भनेर मनमनै कामना गर्दै थिएँ ।

केटीले भन्दै थिई, “पहिले पनि व्यस्तताका बाबजूद दुई–चार जनासँग भेटेकी थिएँ । क्लिक भएन ।”

म मुस्कुराएँ ।

शायद, यो भेटमा केटीको केही न केही क्लिक हुन्छ र भइरहेको छ । त्यो क्षण मलाई लाग्यो कति जटिल रहेछ यो अन्तरवार्ता ! प्रेमको अर्थ बुझाउनुभन्दा प्रमाणित गर्नुपर्ने देशमा प्रेम खोज्नु कति कठिन रहेछ । कति जटिल छ यो संवाद, जहाँ हरेक मुस्कानभित्र तर्क मिसिएको छ, र हरेक आशाभित्र शंका ।

प्रेम र डेटिङ केवल मानिसबीचको भेट मात्र रहेनछन्; दुई जीवनबीच भविष्यको सम्भावना तौलिने एक मौन परीक्षा पनि रहेछन् भनेर मैले त्यही दिन बुझेँ ।

त्यहाँ प्रश्नहरू प्रेमभन्दा बढी व्यवहारका थिए, “तिमी भविष्यमा कहाँ बस्ने सोचमा छौ ?”

“कति बच्चा चाहन्छौ ?”

“कस्तो करियर योजना बनाउँदै छौ ?”

हुन पनि २० देखि ३० वर्षका  झन्डै ६८% अमेरिकन महिलाहरूले भनेका छन्, “आइ डोन्ट निड समवन टु कम्प्लिट मी, बट समवन हु क्यान अन्डरस्ट्यान्ड मी ।”

मेरो कफी बिस्तारै चिसिँदै गइरहेको थियो । कपको न्यानोपन हराएपछि कफी पिउन मज्जा पनि आउँदैन । तर अर्को टेबुलको संवादले भने मलाई अनायासै न्यानोपन दिइरहेको थियो । आज त पक्कै प्रेम यतै कतै जन्मिँदैछ । प्रसव वेदनामा अल्झिएको जस्तो म भित्रैदेखि महसूस गरिरहेकी थिएँ । ती दुईबीच केही त न्यानो बन्दै गएको जस्तो लाग्यो ।

तर त्यो कठिन अन्तरवार्ता, ती सोचेर बोलेका वाक्यहरू र त्यो सावधानीपूर्वक मापन गरिएको हाँसो सबै सकियो । र अन्त्यमा, केही पनि जन्मेन । हाँसो, शब्द, सावधानी सबै एकैसाथ त्यहीँ रोकिए । कफीका कपहरू खाली भए ।

ती दुई मन पनि अझै रित्तिएको जस्तै महसूस गरेँ । केटाले मुस्कुराउँदै भन्यो, “आजको बिहान तिमीसँग भेटेर साह्रै रमाइलो भयो ।”

केटीले हल्का टाउको हल्लाउँदै उत्तर दिई, “हजुर, कफीको लागि धन्यवाद… मलाई पनि ।”

त्यो “मलाई पनि” भित्र न पूर्णता थियो, न वाचा । बस्, एउटा सभ्य टोन मात्रै जसरी नजिकिने हर प्रयासपछि पनि मानिसहरू दूरीको अर्थ बुझ्छन् ।

केटाले पहिले कुर्सीमा राखेको आफ्नो ज्याकेट हातमा समात्यो । फोनमा केही चेक गर्‍यो, फेरि काउन्टरतिर फर्केर भन्यो, “आइल टेक्स्ट यू लेटर ।”

त्यो ‘लेटर’ शब्दको अर्थ दुवैले राम्ररी बुझेका थिए । मैले पनि बुझें, त्यो शायद कहिल्यै पनि आउँदैन ।

केटी पनि उठी ।

टेबुलमा दुवै  कफी कप खाली थिए ।

बाहिर निस्कन ढोका तान्दा माथिको घण्टी टररर बज्यो । त्यो घण्टीको आवाजले कुनै नजन्मिएको प्रेमको बिदाइको टोन बजाइरहेको थियो ।

केटा सडकको बायाँ मोडतिर लाग्यो, केटी दायाँ ।दु वै आफ्नो दिशामा हराउँदै गए र विलीन भए । अब म पनि त्यहाँ बसिरहनुको औचित्य थिएन । प्रेम कहिलेकाहीँ त्यही ठाउँमा नउम्रिने रहेछ जहाँ हामीले धेरै अपेक्षा गरेका हुन्छौं भन्ने कुरा सोच्दै त्यहाँबाट उठें ।

म त्यो मध्याह्न  कफी पसलबाट बाहिर निस्कँदा बाहिरको हावा झन् चिसो लाग्यो । मेरो मनमा पनि हल्का खालीपन थियो, जस्तो कुनै कुरा लगभग बन्न लागेको थियो तर बनेन जस्तो खल्लो ।

म सडकको भीडमा हराउँदै सोच्दै गएँ, शायद प्रेम पनि त्यही हो, जुन धेरै खोज्दा हराउँछ  । अर्को मनले  सोच्यो प्रेम पनि इन्टरनेट जस्तै कहिले कनेक्शन बलियो, कहिले सिग्नल हराउने पो रहेछ । म एक्लै हाँसें । मानिस जब भावनालाई शब्दमा, प्रोफाइलका बुँदामा र फोटोका फिल्टरमा खोज्न थाल्छन्, भावनाको न्यानोपन नै हराउने रहेछ ।

त्यो रात पनि म प्रेमको परिभाषा खोज्दै र सोच्दै सुतें । प्रेममा ‘आराम’ खोज्ने, न्यूयोर्क जस्तो मान्छेको मन र समयको तालमेल नजोडिने अस्तव्यस्त शहरमा भावनात्मक न्यानोपन खोज्न शायद सम्भव नै छैन कि जस्तो पनि लाग्यो । न्यूयोर्क र अरू राज्य वा क्षेत्रअनुसार मान्छेका फरक फरक चाहनाहरू रहेको कुरा धेरै सामाजिक सर्वेक्षण र विश्लेषणहरूले जनाएका पनि छन् ।

अनि निष्कर्ष निकालेँ प्रेम कुनै आकस्मिक भेट होइन रहेछ र कुनै चमत्कार पनि होइन रहेछ । यो त प्रयास र असफलताको निरन्तर पुनरावृत्ति रहेछ । डिजिटल प्रोफाइलले धेरै मान्छेसँग भेट त गराउँछ । प्रत्येक भेटले, डेटले केही न केही सिकाउँछ पनि तर प्रेम आफैं जन्मिँदैन । शायद, जब हामी खोज्न बन्द गर्छौं अनि त्यो शान्त कोणबाट बिना प्रोफाइल, बिना क्लिक एउटै नजरबाट प्रेम आफैं जन्मिन्छ । जीवनमा योजना बिग्रिएर भताभुङ्ग भएको क्षणमा पनि प्रेम जन्मिएका उदाहरण धेरै छन् । शायद प्रेम पनि कफी जस्तै हो तातो हुँदा सुगन्धित तर धेरै बेर ढिलाइ गर्दा चिसो र बेस्वादको ।