जर्मन दार्शनिक फ्रेडरिक नित्सेलाई कतिले एक साहसी चिन्तक मानेका छन् किनभने उनले सन् १८८२ मा ‘द गे साइन्स्’ भन्ने कृति लेखे जसको उद्देश्य थियो मानिसले जीवनका जटिलताहरू र यसले भोग्ने अनिश्चितताहरूलाई सहजै भोग्न, स्वीकार्न सिकून्, सकून् । तीबाट आनन्द लिन सिकून् । आफ्नो ‘स्व’ लाई केन्द्रमा राखेर सिर्जनशील बन्न साहित्य रच्न थालून् । उक्त गे साइन्स् कृतिको मूल उद्देश्य ता मानिस कविता÷संगीत (साहित्य) तिर लागून् भन्ने हो । उक्त कृतिमै ‘ईश्वरको मृत्यु’ (द डेथ अव् गड) को घोषणा गरे । आजभन्दा डेढ सय वर्षअघि नै ‘ईश्वरको मृत्यु भइसक्यो’ भनेर लेख्नु, दाबी गर्नु एउटा डरलाग्दो दुस्साहस थियो ।

पछि उनको ‘दस स्पेक जराथ्रुष्ट’ (जराथ्रुष्टले यसो भने) भन्ने कृतिमा पनि त्यसको विस्तार छ । जराथ्रुष्ट भनेका ईसापूर्वका जोरोष्ट्रियन धर्मका संस्थापक हुन् । यो प्राचीन फारसमा स्थापित एकेश्वरवादी धर्म हो । नित्सेले उनलाई गुरु माने त्यसैले नित्सेमाथि धार्मिक अनि आध्यात्मिक समाजले भयंकर आक्रमण ग¥यो । अझै पनि उनको त्यस भनाइका आलोचकहरू थुप्रै छन् । प्रत्येक प्रबुद्ध समाजमा अन्ध समर्थन र अन्ध विरोध निरन्तर चल्ने कुरा रहेछन् । प्रत्येक मानिसलाई भाषाको हतियार प्राप्त छ, यो उनै ईश्वरको हतियार मानिसलाई प्राप्त भएका हो । भुत्ते नहुन्जेल मानिस त्यो चलाइरहन्छन् । वास्तवमा ईश्वरका मृत्युको सहज कल्पना पनि गर्न नसकिने कुरा हो । यी एक अनिश्वरवादीले आँट गरेरै त्यसो भने । त्यसो त यो जगत ईश्वर मान्ने, नमान्ने र दोधारे सबैको साझा आँगन हो, तिनको समर्थन र विरोध पनि भाषाले गर्ने हो ।

त्यही भाषिक हतियार चलाएर मानिस–मानिस फुकाल्ने र जोडनेहरू छन् । भाषाले, धर्मले, भूगोलले, जातिले जोड्ने फुकाल्नेहरू रातो दिन आफ्ना कर्ममा व्यस्त छन् । सबभन्दा बढी ता राजनीति गर्नेहरू लागेका छन् । मानिसहरूलाई विवेक शून्य बनाएर जोड्ने फुकाल्नेमा उनीहरू सदा समर्पित छन् । नेपालले नित्य यही धर्मको पालना गर्दैछ ।

विश्वमा पाँच प्रतिशत जति अनिश्वरवादी छन् भन्दछन् । उनीहरूको भनाइ छ— ईश्वरका अस्तित्वको अनुभवजन्य (इम्पिरिकल) प्रमाण कतै छैन । फेरि प्राकृतिक घटना–परिघटनाका लक्षणलाई वैज्ञानिक आधारमा व्याख्या गरेर जगतको लक्षण बताउन सकिने हुनाले ईश्वरीय व्याख्याको आवश्यकता पर्दैन । त्यसैगरी सर्वज्ञ ईश्वर एकातिर, यो पापाचार र अधर्मले भरिएको जगत अर्कातिर देखिन्छ ! ईश्वर भएको भए यस्तो ता नहुनु पर्ने हो । त्यसैले नास्तिकहरू मानवको (सभ्यताको) क्रमिक विकास अर्थात् उद्विकासमा विश्वास गर्दछन्, विवेक र तर्कले युक्त भयो भने मानवमा अनुकम्पा र नैतिकताको भाव स्वतः उत्पन्न हुन्छ, धर्मको पालना गर्नु पर्दैन, ईश्वरको आराधना गर्नु पर्दैन भन्ने तर्क प्रस्तुत गर्दछन् ।

तर एउटा कुरा के छ भने संसारमा धर्मको अस्तित्व अपरिहार्य देखिन्छ र यसमा पनि अति विविधता छ, ईश्वरका पनि बहुरूप छन् । प्रत्येक जातिका ईश्वरीय उदयकाल र ब्रह्माण्डीय अस्तित्वका परिकल्पनाहरू पनि बेग्लाबेग्लै छन् । मानिसका कर्म अनुसार न्याय, दण्ड, पुरस्कार प्राप्त गर्ने (कल्पित) बाटा र विधि फरक फरक छन् । जसरी जसरी माने पनि नमाने पनि केही फरक परेको छैन । प्रत्येकका जगत् सृष्टिका सिद्धान्त र ब्रह्माण्डिकी (कस्मोलोजी) बेग्ला बेग्लै छन् । त्यसैले कुन मान्यता प्रामाणिक होला ? कुन व्याख्या अन्तिम वा परम सत्य होला ? कुन असत्य ? छुट्याउने आधार छैन । केवल धर्मान्धता र आ–आफ्ना शास्त्र, ग्रन्थ वा व्यावहारिक परम्पराद्वारा स्थापित विश्वास । नित्सेले मानिसलाई यही धर्मान्धताबाट जोगाउने प्रयत्न गरे तर त्यो कुरा असम्भव रहेछ किनभने मानिस सधैं नै अन्धकूपहरूमा डुबेको हुन्छ । धर्म, संस्कृति विशेषगरी राजनीतिको । त्यसो त नित्सेभन्दा २६ वर्ष जेठा कार्ल मार्क्सले अघि नै धर्मलाई ‘अफिम’ भनिसकेका थिए तर यी दुईका दार्शनिक उद्देश्यमा ठूलो भिन्नता छ ।

ईश्वरको टुङ्गो लाउन खोज्यो भने मान्छेको जीवन लीला अन्यसम्मको कुटाकुट र आफूभित्रको भ्रान्तिमै समाप्त हुन्छ । त्यसैले नित्सेले जागेर भने— ईश्वरको मृत्यु भइसकेको छ । तर यो धारणा एक्लै अडिएको छैन, यसले अनेक सूत्रहरू उक्काउँछ । उनले  विशेषगरी आफ्नै समाजलाई चलाउने परम्परागत धर्म र नैतिकताको पूरा आलोचना गरेका छन् । तिनले बहुआख्यानका मुख खोल्दछन् । उनको धारणा छ आफ्नो धर्मको (खासगरी क्रिश्चियानिटीको) नैतिकतामा खिया परिसक्यो । त्यसैले यस धर्मले व्याख्या गरेको सत्य चाहिँ आधुनिक समाजमा तर्कसंगत र टिकाउ छैन । त्यसैले उनले व्यक्तिगत स्वतन्त्रता र आफ्नो कर्तव्यमा जोड दिँदै भनेका छन्— “तिमी आफैं आफ्नो मूल्यको सिर्जना गर, आफ्नो जीवनमा सुहाउने गरी आफ्नै अर्थ लगाऊ ।”

नित्सेका यस्ता धारणाले आधुनिक विचारधारामा ठूलो प्रभाव पार्‍यो जसले पाश्चात्य जगतमा (विश्वभरि) अनिश्वरवादी कोणबाट सोच्न र अस्तित्ववादमाथि चिन्तन गर्न मानिसलाई प्रेरित गर्‍यो । उनको धारणा कुनै धर्म गुरुको झैं कुनै अन्धविश्वासी वा मताग्रही नभएर प्रत्येकको व्यक्तिगत स्वतन्त्रतालाई प्रेरित गर्दै, उसैलाई त्यसको उत्तरदायित्व दिंदै मानिसले जीवनमा आफ्नै मूल्य र अर्थको निर्माण गर्न सक्षम बनाओस् भन्ने छ । मलाई पनि उनको यो पक्षले गहिरो गरी छुन्छ । यद्यपि हाम्रो तहको मानिसलाई अन्धविश्वासले बेहोश पार्ने गरी लट्याउन त सक्तैन, किनभने यो मनको अर्को सन्देहशील पाटो पनि सधैँ सजग रहन्छ । तर त्यसको छायाले यदाकदा झुक्याउने र लोकाचारको अभ्यासमा लडाएर डल्लो पार्ने मात्रै हो किनभने हामी पूरै असामाजिक बन्न पनि सक्तैनौं । सामाजिकता भित्र पस्ने बित्तिकै अनेक नैतिक बन्धन र तिनले निर्मित परिवेशले झ्याप्पै छोप्छ । जस्तै नमान्नेले होस् आधाउधी अन्धविश्वासको पालना नगरी नहुने हुन्छ । किनभने मानिस सामाजिक प्राणी हो भन्ने अन्तिम सत्यलाई कसैले प्रतिस्थापित गर्न सकेको छैन । अंग्रेजीमा एक उखान छ, “एउटा काँधमा देवदूत अर्कामा शैतान बोकेर” हामी दौडिरहेछौं ।

नित्सेकै अस्तित्ववादी दर्शनले फ्रान्सेली सार्त्र, कामु, काफ्का जस्ता चिन्तकहरू पनि प्रभावित भए । अस्तित्ववादको अमर किल्ला बनाए । नित्सेको सर्वाधिक महत्वपूर्ण सूत्र छ— विल टु पावर— “मानवले आफू भित्रको सिर्जना शक्ति र वैयक्तिकता (आत्मत्व) प्रकट गर्ने कोशिश गर्नू, त्यसमा शक्ति लगाउनू । जुन व्यक्तिले आफ्नै मूल्य अर्थात् जीवनको अर्थ सिर्जना गर्छ त्यो ‘सुपरम्यान’ हो अर्थात् एक महानायक ।” तर सबै मानिसलाई सधैं सामान्यताले निल्छ । समाजका अनेक स्वरूपमा मडारिँदै, अनेक स्वरूपका कर्ममा पस्तै निस्कँदै ती कहिल्यै नटुङ्गिने कर्मले उनीहरूलाई निल्छन् र उनीहरू टाढाको कुरालाई अर्थात् भिन्न चेतनालाई आफ्नो लक्ष नजिक ल्याउनै सक्तैनन्, सामान्य र विशेष बीच भेद गर्न सक्तैनन्, चिन्तनको पक्ष तिखारेर चम्किने पारेर राख्न सक्तैनन् । झुक्किएर कोही कोही मात्रै नत्र सबै सांसारिकताले ठोकेर भुत्ते बनाइएका हुन्छन् । भुत्ते हतियारको लागि केराको थाम र सखुवाको मूढो बराबरै हुन् ।

नित्सेले जगतलाई बाँच्ने तरिका पनि बताए— लिव् डेन्जरस्ली भनेर । जसको अर्थ हुन्छ आफ्नै पाराले खतरापूर्ण तरीकाले बाँच्न सिक । लोलोपोतोमा अविश्वसनीय कुरामा नअल्झ । जीवनका अनिश्चिततालाई अंकमाल गर्दै, संकटहरूबिरुद्ध लर्दै बाँच्न सिक तर व्यक्तिगत स्वतन्त्रता र सिर्जनात्मकताको पक्षमा लर्दै बाँच । कुनै वाह्य शक्तिमा भर नपरी परम्परागत मूल्यहरूमा अडेसा नलागी, तिनको सट्टा आफ्नो मार्ग आफ्नै विवेकले आफैं निर्माण गर्दै बाँच्न सिक ।

उनको विचारमा आत्मशक्ति अर्थात् आत्म–संयमले युक्त व्यक्ति आत्म–विजय आर्जन गर्न दृढ प्रतिज्ञा हुनुपर्छ । त्यसको अर्थ मनमा सिर्जनात्मक बीज वा तिर्खा, त्यसको लागि दृढताले बलियो पारेको मन निर्द्वन्द्व भावले नित्य उम्लिरहोस् भन्ने हो । अन्य सारा बिर्सनोस्, भूल्नोस्, त्याग्नोस् ‘खतरापूर्ण बँचाइ’ सिक्नुहोस्, त्यति हो । आफ्नो जीवन निर्माण गर्ने उत्तरदायित्व लिएर त्यसैमा लाग्नु नै विल टु पावर हो, इच्छा–शक्तिलाई अविजेय तागतले भर्नु हो । लुम्रो भएर समाजले रचेका खेलमा, स्वीकृतिमा लाग्नु भयो भने जीवन कठपुतली खेलमै समाप्त हुनेछ । हेर्दा रमाइलो छ तर अर्थहीन ।

तर सबै यी अन्तरप्रेरणाका कुरा हुन् । यी सबै स्वनिर्णयका । मान्छेको हृदयलाई दोहोर्‍याएर फलाम÷इस्पात पार्नु असम्भव जत्तिकै मुश्किल छ । ऊ भीड रमाउने अन्धकूपबाट पाखा निस्कनै सक्तैन, जान्दैन । त्यसैले गर्न हुने र नहुने कर्म पनि छुट्टिंदैनन् अरूले अराएको, कराएको, सुसेलेको भरमा हामी लाठा, खुकुरी र बन्दुक भिरेर दौडेका छौं । तर यस्तो समाजमा पनि एक जीवन लागेर गरिरहँदा केही त अवश्य हुन्छ । आज म आफैंलाई सम्झिन्छु, जीवनको ससानो रुखो बारीमा उम्रेको फलको लुइरे बिरुवा रहेछु म । आफैंले आफ्नो गोडमेल गर्दै आफैंलाई खान पुग्ने बोटसम्म भएछु आज भन्ने लाग्छ । मेरा सात दशक एक तपस्यामा बिते ।

बाह्र वर्षको उमेरदेखि घर छोडेको पचास वर्ष भएर बल्ल आफ्नै घरमा बास बसेँ, आफ्नालाई बसाएँ । अट्ठाईसको उमेरमा सँगै उठ्न, भिड्न, कुद्न तत्पर जीवन–सँगिनीसँग भेट भएर हामीभित्रको विल टु पावर अलिक बौरियो अनि फुल्न, फल्न सक्यो । भाइबैनीले चतुर्दिक गति पक्रे ।  छोरीहरू वाञ्छित दिशामा आफ्नै पखेटाले उड्ने भए । सबै सफलताको लक्ष्य ताकेर उड्दैछन् । लाखौं विद्यार्थी चढ्दै छन्, कोही आफ्नै बगैँचा ताकेर, कोही ढिकुटीमा आँखा गाडेर । जीवन यही घनघोर जंगलमा उड्नु रहेछ । म धेरै फुर्किन्न तर एउटा कुरा अवश्य भन्छु— मलाई पनि नित्सेको यो उपदेशले अलिकति छोएजस्तो लाग्दैछ । उनलाई पढेका ता बीस–पच्चीस वर्ष मात्र भए तर मैले नित्से मार्ग हिँडेको कम्तीमा पचास कटेछन् जस्तो लाग्दैछ ।

मैले १८ वर्षको उमेरदेखि शिक्षणा पेशामा पाइला टेकें, त्यसको मार्ग चल्दै ४५ वर्षपछि त्रिवि प्राध्यापक पदबाट निवृत्त भएँ–छु । धन्य संयोगले, भाग्यले, लेखान्तले म शिक्षक पेशामा प्रवेश गरेछु । कर्मचारीमा नियुक्त भएको भए अहंकारले, अभिमानले मातेको धनासुर हुन्थें होला । मेरा साथी÷विद्यार्थी धेरै त्यस्तै छन् । धन्य राजनीतिमा लागिनछु, लागेको भए धूर्त, निर्लज्ज र पैसाको पलङमाथि सुत्ने सदा अतृप्त राक्षस बन्थें होला । मेरा कति मित्र त्यस्तै छन् । कति नयाँ पुस्ताका युवा युवतीलाई आशा देखाएर पछि लाएर झोले बनाएर तिनको जीवन समाप्त गर्ने एक अपराधी बन्थें होला । तर जीवन रोजेर नहुने मार्गमा चल्नु रहेछ, माथिबाट हाम्फाल्दा छालले जता हुत्त्याएर बगाउँछ । जहाँ पुगिन्छ, दोस्रोपल्ट उठेर अर्को नयाँ मार्ग लिने समय रहँदैन ।

सबैभन्दा घिनलाग्दो र त्यज्य जीवन ता राजनीति क्षेत्रमा नै देख्छु । त्यहाँ सबैथोक छ, चरित्र छैन, नैतिकता छैन । देशको कुराजनीतिले गर्दा नै यो जीवन डरैडरले बिताइयो, मेरा कति देशवासी पनि डरैडरमा सकिए । अघि २०१८ सालदेखिका अत्याचारहरू सुनेँ, देखेँ पनि । कुनै एक विचार ग्रहण गरेको अपराधमा च्याङ्थापूका देवी पाठकलाई ईवाँ खोलाको पुलछेउ खाडल खन्न लाए र त्यसभित्र पस्न लगाई सेनाले गोली ठोकेर मारे । यस्ता क्रूरता, जेलनेल, निष्काशन, सर्वश्वहरण हालसम्म देख्यौं, सुन्यौं । पर्नेहरू सबै हाम्रा छिमेकी आफन्त छन् । २०४८ साल पछिको १४ वर्षमा जीउ धनको कत्रो विनाश, नृशंश हत्या हिंसा, लुटपाटको, गोलीको । त्यो रोकिएको बीस वर्षपछि त्यसैको अवशेष त्यसैको प्रेत जस्तो रूपमा पुनरजागृत भयो जाग्यो जेन्जी रूपमा । किनभने अघि दश–बाह्र वर्षका हत्या हिंसा आगजनी र विध्वंशहरू नागरिकले आफै खप्नु प र्‍यो, राष्ट्रले खपेर पचाउनु पर्‍यो । त्यसको न्याय निसाफ भएन । अहिले व्यवस्था विरुद्धको आक्रोशमा जेन्जीले त्यही गरे । यो त्यस्तै पूरा भएन । सय जना जति अबोध युवा पुस्ताको नृशंश हत्या, सयौं आवास, हजारौँ कार्यालय, कति गौरवशाली दरबार खरानी, अनि हजारौं टन राष्ट्रिय सम्पदा डकुमेन्ट खरानी । देशका मूल्यवान् शरीर र आत्मा दुवै जले । के यो परिवर्तन प्रक्रिया राम्रो भयो त !

माओवादी हिंसा जस्तै हो । नगरपालिकाहरू सूचना निकाल्दै छन्— लालपूर्जा, रसीद, नागरिकता… एघार प्रकारका कागजका प्रतिलिपि ल्याउनुहोस् । यसको परिणाम के हुन्छ ? कति दुःख शोक र चिन्ता थपियो अवोधहरूमा— यस पालि गाउँ जाँदा देश देखेँ— नेपालका ७० लाख घरमा कतिले फारम भर्नुपर्ने भो होला । विरोध गरौं, नराम्रो गर्‍यौं भनूँ भने राँको र पेट्रोल सँग कुद्दैछन् बाटामा । डरले पनि बहुत राम्रो गर्‍यौ, अझै पुगेन भन्नु पर्‍यो ।

लिव् डेन्जरस्ली भन्छन्, “नित्से, तर खतरा चालले बाँच्नै गारो । सिर्जनामा लागेर आफ्नो शक्ति आर्जन गर भन्छन् नित्से तर त्यो बाटो देख्नै गारो । यस्तो बाटो देखाइदिनसक्ने कोही जन्मेन पूर्वमा । उताको सन्देश पढेर बुझ्दा मान्छे बूढो भइसक्छ ।”

नेपालको जीवन व्यर्थ बनाउने शक्ति त सबै राजनीतिक पाटी हो । उनीहरू भोटरको घर संख्या गन्ने मात्र हुन् । पाटीमा लागेर देशलाई निरंकुशताबाट मुक्त गर्ने पनि यिनीहरू हुन् तर त्यसपछि त्यो निरङ्कुशतन्त्रको सत्ता आफ्नै हातमा लिनु र अनेक भाइ र बहिनी एउटै गाँठो भएर देशलाई चुस्नु, लुट्नु, बोल्न सक्ने युवा जतिलाई देश निष्काशन गर्नु र अरू झुन्ड झुन्ड बनाएर मूर्खहरूले झोला भिराउनु अत्यन्तै निम्नस्तरको कुरा थियो । त्यही भइरहेछ जीवन, कताको लिव् डेन्जरस्ली ?

मेरो मूल उद्देश्य, लक्ष्य, अभिप्राय ता नित्सेले जस्तै निजानन्दको लागि सिर्जना मात्रै हो । त्यसैले होला यो त्रासद वर्तमानमा २०३१ मा मुगलानको रचनापछि म कहिल्यै रोकिइनँ । कहिल्यै कुनै पार्टीको प्रशंसामा लेख्न भ्याइनँ । निन्दा गरौँ, प्राण खुस्काउन तत्परहरू  घुमिरहेका हुन्छन् । २०५२ पछिको कम्तीमा पनि एक दशक ता हामी बौद्धिक कर्म गर्नेले, सिर्जनामा लाग्नेले भयमै बितायौं । यो देशमा निर्भीकतापूर्वक सत्य बोल्न सकिने दिन कहिल्यै आएन । आनन्दको जीवन कस्तो हुन्छ अनुभव भएन । तर मैले लेखिरहें छापिरहें । एउटा लेखकले बाँच्ने ससानो ‘स्पेश’ त्यही सिर्जनाको पल र कर्म मात्र रहेछ । आफ्नो स्वतन्त्रतालाई सिर्जनात्मकताले निर्माण गर भनेका थिए नित्सेले । त्यसैले भूकम्प कालभरि घरैमा घोप्टिएँ एउटा कवितासंग्रह छापियो । भूकम्प डायरी छ ५७० पृष्ठको । आउने दिन पर्खिरहेको । मेरा अप्रकाशित शिलाङ तेजपुर गुवाहाटी, भूकम्प डायरी, नाकाबन्दी, चाइना, रसिया, कोरिया, अफ्रिका आदि ११ यात्रा साथै वर्षभरि चल्ने भ्रष्टाचार काण्ड सबै अक्षरमा चढेका छन्, एकदिन सूर्योदय देख्लान् ।

तीन दशकको ‘बहुदल’ देखिने खोल मात्र भयो । सारमा सधै निरङ्कुशताको उत्पात । सत्ताका कर्म कुकर्मलाई कसैले छुन नसक्ने बनाएका छन् सत्ताले । लेखे पनि बोले पनि नसुनिने । जता पनि झम्टिने प्रत्येक दलका नाजी सेना तयार छन् । नेपालका पत्रकारको जुनी पनि कति दिक्क लाग्दो नित्य भयमै बित्यो । सत्य प्रकाश पार्न नसकिने निरंकुशताले दलेको ।

सत्तामा एकदम अयोग्य बसे, क्रूर पसे, धूर्तहरूले घेरे, केवल चाकडीले छेके भो । के खुल्छ कुनै आशाको दैलो कुनै दिन ? के दण्डित होलान् कोही कुनै दिन ? उठ्न लागेको गरीब मुलुक ध्वस्त भो उठ्न नसक्नेगरी । भ्रष्टाचारले निलेको, युवाहरू रित्तिएको । मैले यिनै कुरा लेखें मेरो हाल प्रकाशित नयाँ मुगलान उपन्यासमा । लेख्नु मात्रै गर्न, केही नसकिने पारिएको छ यो जीवन । यसलाई ‘डिस्टोपिक नोभेल’ भनेको छु । यो विश्व आख्यानको एक प्रकृति हो । भ्रष्ट सरकारले नछोड्नु, राज्य आतंकले दलेर जनता पेलिरहनु, गुण्डाहरूलाई नित्य हरियो घाँस दिइरहनु, आफू मादक पदार्थ पिइरहनु र आतङ्कित जीवन मौन रहनु पर्ने स्थिति हो । डिस्टोपिया शब्दका दुईवटा अर्थ— विध्वंशक भविष्य अर्थात् दुर्भावी जगत ।

शास्त्रमा नच मूर्ख सत्तान्नपि भनिएको छ, सय मूर्ख जन्मिनुभन्दा एकै जना सज्जन सन्तान हुनु राम्रो भनिएको छ तर हाम्रो देशमा शास्त्र उल्टियो— एकै मूर्खले आआफ्ना पार्टी र राष्ट्र समेत ध्वस्त पार्न सक्तो रहेछ, त्यत्रा धेरै निर्दोषहरू एकै छिनमा मार्न सक्तोरहेछ । त्यसो त हिटलरहरू कतिजना थिए र ? अझै पनि हामीले गाउनुपर्छ जय रक्तपिपासु । वास्तवमा जेन्जीले गरेको कर्म देशलाई भ्रष्टाचारको दलदलबाट मुक्ति दिलाउन सकिन्छ कि भन्ने हो, निरन्तरको शोषण, अन्याय र अत्याचारबाट मुक्ति दिलाउन सकिन्छ कि भन्ने हो । यो आक्रोश, पीडा, क्रोध र संवेगको झोक्का थियो । एकैदिन सय जति अबोध आवेगिक योद्धाको बलिदान सानो छैन । यो अविष्मरणीय पीडादायी इतिहास ! यतिखेर म गीतामा कृष्ण भगवान्ले गर्नुभएको प्रतिज्ञा संभवामि युगे युगे को अर्थ लगाउन थालेको छु— बाढी, पहिरो, भूकम्प, नाकाबन्दी, कोरोना, सारा ध्वंश चित्रहरू मानव नियन्त्रण बाहिर थिए । तर राजनीतिक दलले प्रयोग गरेका आन्दोलनहरू ? यस पालि पनि एक नेताले घोषणा गरिदिए— “जेन्जीको र हाम्रो पाटीको उद्देश्य एउटै हो ।”

यत्रो बलिदान बिर्सेर आज दुवैतिर गरिएका कर्महरू मानिसले होइन एआईले गरेका थिए भनिदिनु पर्ने दिन आएको छ । भयले नित्य आक्रान्त इतिहासका पात्र हामी ! धन्य खतरापूर्ण तरीकाले बाँच्न सिकेरै यतिसम्म बाँचिएछ । तर नित्सेले भने झैँ स्वविवेकले रोजेको खतरापूर्ण बँचाइ होइन, यो त आफ्नै राष्ट्रका सत्ताधारीहरूले अक्षुण्ण राखेको विद्रोह, ध्वंसयुक्त भय र असुरक्षाबीचको लिव् डेन्जरस्ली ।

 

२५ असोज, २०८२

कीर्तिपुर