इको–साहित्यले वातावरणीय मुद्दाहरूमाथि प्रकाश छर्दछ र पाठकहरूलाई पर्यावरणीय चेतना र जिम्मेवारीको भावना जगाउन प्रेरित गर्दछ । यस संग्रहमा समाविष्ट प्रायः कविताले वर्तमान समयमा मानवले प्रकृतिमाथि गरेको दमनलाई प्रस्तुत गरेको छ ।
००००
विजय हितान बेलायतमा बस्ने नेपाली साहित्यकार हुन् । उनी ब्रिटिश गोर्खा पल्टनमा सेवारत रही अवकाशप्राप्त भएका छन् । त्यसपछि उनले बेलायतको ग्रिनबिच युनिभर्सिटीबाट वातावरण विषयमा स्नातकोत्तर गरेका छन् । उनी विशेष गरेर पर्यावरण साहित्यका अभियन्ता हुन् — अर्थात् साहित्यमार्फत् वातावरण, प्रकृति, जलवायु परिवर्तन जस्ता विषय उठाउने साहित्यकार हुन् । कवि तथा पर्या अभियन्ता विजय हितानको पर्याकवितासंग्रह हो ‘मलाई आर्यघाट लगेर नजलाउनु’ (२०८२) ।
कवि हितानले कवितामा जलवायु परिवर्तन, जैविक विविधतामाथिको ह्रास, विश्वव्यापी रूपमा प्राणी वनस्पतिले भोग्नुपरिरहेको समस्यालाई समेटेका छन् । सन् २०१० देखि उनी परिवृत्तीय साहित्य सिर्जनामा समर्पित भएर लागेका हुन् अनि यो बाह्र वर्षको अवधिमा उनले पर्यावरणको थिमलाई आलम्बन गरेर पाँच वटा कृति प्रकाशित गराइसकेका छन् ।
उनका हालसम्म प्रकाशित कृतिहरूमा बाग्मती ब्लुज (कवितासंग्रह), थकित पृथ्वी (कथासंग्रह), स्वच्छन्द सुसेलीहरू भाग एक (सामूहिक कवितासंग्रह) सम्पादन, स्वच्छन्द सुसेलीहरू भाग दुई (सामूहिक कवितासंग्रह) सम्पादन, ब्लु प्लानेट (कथासंग्रह), २०७८ र ‘मलाई आर्यघाट लगेर नजलाउनु’ (२०८२) प्रकाशित भएका छन् ।
’मलाई आर्यघाट लगेर नजलाउनु’मा एकचालिस वटा पर्याकविता समावेश गरिएको छ ।

मलाई आर्यघाट लगेर नजलाउनू
वर्तमान, विश्वले अभूतपूर्व पर्यावरणीय सङ्कटको सामना गरिरहेको छ । जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको विनाश, वनविनाश र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले पृथ्वीको पारिस्थितिक प्रणालीलाई गम्भीर सङ्कटमा पारेको छ । यस चुनौतीपूर्ण समयमा, पर्यावरणीय साहित्य (परिवेश साहित्य, इको–साहित्य)ले एक महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । इको–साहित्यले प्रकृति र मानव बीचको सम्बन्धलाई अन्वेषण गर्दछ, वातावरणीय मुद्दाहरूमाथि प्रकाश छर्दछ र पाठकहरूलाई पर्यावरणीय चेतना र जिम्मेवारीको भावना जगाउन प्रेरित गर्दछ । यस संग्रहमा समाविष्ट प्राय कविताले वर्तमान समयमा मानवले प्रकृतिमाथि गरेको दमनलाई प्रस्तुत गरेको छ जसलाई कविले कविताको प्रारम्भमै ‘महामारी र फोक्सो’को कथामा मानव हुनको अस्तित्व म हुनुको भाव यसरी प्रस्तुत गरेका छन् –
मेरो सिङ्गो अस्तित्व भन्नु म उभिएको जमिन रहेछ
मेरो पूरै अस्तित्व भन्नु
मृटु कलेजो मिर्गौला र फोक्सो रहेछ (पृ.२५)
त्यस्तै ‘नाङ्गिनु र नङ्ग्याउनु’ शीर्षक कवितामा कविले प्रकृति मास्नु क्षम्य होइन भन्ने भाव यसरी प्रस्तुत गरेका छन्–
हो म मान्दछु मान्छे
नाङ्गै यो धरतीमा झर्नु र
नाङ्गै चितामाथि चढ्नु
प्रकृतिको नियम हो
जस्तो कि
एउटा रुखमा वसन्तको आगमनसँगै पालुवा लगाउँछ
शरदको अन्त्यसँगै पात झरेर स्वतः नाङ्गिन्छ ।
तर त्यो सत्य हो भन्दैमा
एउटा हरियो वनलाई
बस्ती बसाउने र खेत खन्ने नाउँमा
जथाभाबी फडानी गरेर नङ्ग्याउनु प्रकृतिको नियम होइन ।(पृ.७२)
पर्या कविता साहित्यले प्रकृति र भौतिक वातावरणसँग मानवको सम्बन्धलाई केन्द्रमा राख्दछ । यसले प्राकृतिक संसारलाई पृष्ठभूमि वा स्रोतको रूपमा मात्र नभई एक सक्रिय र महत्त्वपूर्ण पात्रको रूपमा प्रस्तुत गर्दछ । यसले पर्यावरणीय विनाशका कारणहरू र परिणामहरू, मानवको प्रकृतिमाथि बढ्दो हस्तक्षेप, र दिगो जीवनशैलीको आवश्यकता जस्ता विषयहरूलाई सम्बोधन गर्दछ । यसले प्रकृतिलाई श्रद्धा र सम्मानको दृष्टिकोणबाट हेर्दछ र मानवलाई पृथ्वीका अन्य जीवहरूसँगको अन्तरसम्बन्धलाई बुझ्न प्रेरित गर्दछ । यस संग्रहमा इको प्रेमपत्रमा हिमालको सौन्दर्य र प्रेमलाई यसरी प्रस्तुत गरिएको छ–
मेरो आँखामा सहजै झुल्केको देख्न सक्नेछौ हिमाल
मेरै आँखाको कौशीबाट हरदिन मुस्कुराइरहन्छ चोमोलोङ्गमा
मेरो कानको नजिकै आएर
तिमी प्रेमील सुसेलीहरू हाल्न सक्नेछौ
म तिम्रा सङ्गीतसरी कानेखुसीहरू
सुनिरहने फुर्सदमा छु ।(पृ.७५)
वास्तवमा, पर्यावरण भनेको जीव मात्रले श्वास फेर्ने वायुजस्तो सर्वव्यापी तत्त्व हो । यसमा हरेक व्यक्तिको समान अधिकार छ, कर्तव्य र दायित्व पनि कसैको कम छैन । त्यसैले यो विषयलाई कवि हितानले पनि आफ्ना सिर्जनामा यसरी समेटेका छन् –
शिरमा हिमाल फुलाउँदै
बेंसीमा गण्डकी बगाउँदै
सन्तुलित पर्यावरण कायम राख्न
शिशिर, हिउँद र वसन्तसँग
हर क्षण संवर्द्धनका सहकार्यहरू गर्दै आएको छु ।
तिमी भने
कुन दिशाबाट यता बसाइँसराइ सर्यौ
फाँड्यौ हरियो वनजङ्गल
गुँडविहीन बनाउँदै मैना,
सुगा र मुनालहरूलाई
डढेलो सल्कायौ
जिउँदो मान्छे जस्तो यी रुखहरूमा ।( पृ.७९)
यसरी प्रकृति र जीवनलाई परिपूरक मानेर मान्छेले प्रकृतिलाई जोगाउने सत्प्रेरणाका यिनै कोटीमा विजय हितानको एउटा अर्को कृति पर्याकवितासंग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ थपिएको छ । प्रकृतिकै शीर्षकै रूपमा रहको कविता मलाई आर्यघाट लगेर नजलाउनुलाई संग्रहमा यसरी प्रस्तुत गरिएको छ–
म मरेँ भने
मलाई आर्यघाट लगेर नजलाउनू
किनकि मलाई जलाउने दाउराको चिताबाट
हावामा उत्सर्जन हुनसक्ने विषालु कार्बनले
म तिम्रो फोक्सो जलाउन चाहन्नँ
मेरो मृत्युमा
तिमी बाँच्नेहरूलाई अक्सिजन दिने रुखहरूको पनि
म मृत्यु देख्न चाहन्नँ
म बाँचुन्जेल
मेरा दुर्व्यवहारले तिम्रो मन कति धमिलिए होला !
म मरेँ भने
मेरो खरानी बाग्मतीमा बगाएर
भो, तिमीले पिउने पानीलाई धमिलो पार्न म चाहन्नँ
म बाँचुन्जेल
कार र प्लेन चढेर
वायुमण्डलको अक्सिजनमा यति धेरै कार्बन घोलेँ हुला कि
ऋणमुक्त बनेर मर्न देऊ मलाई
म कार्बन न्युट्रल भएर स्वर्ग जान चाहन्छु
त्यसैले भन्द्याछु–
म मरेँ भने
सफा ऊर्जाद्वारा संचालित इन्सिनरेटरभित्र हालेर
जलाइदिनु मलाई
मेरो कार्बन फूटप्रिन्ट घटाएर मर्न चाहन्छु
होइन भने,
मेरै बारीमा लगेर गाडिदिनू
ताकि, गड्यौंलाहरूको एक छाक आहारा बन्न सकूँ
र उर्वर माटोमा अर्को वर्ष राम्रो फसल लाग्न सकोस्
तर, मलाई आर्यघाट लगेर नजलाउनू –(पृ.६१–६२)
आफ्नो मृत शरीरलाई नजलाउन आग्रह गरेका छन् ।
साहित्यका थुप्रै पाटा हुन्छन्, तीमध्ये वातावरण साहित्य पनि एक हो । यसलाई अङ्ग्रेजीमा ‘इको लिटरेचर’ भनिन्छ । नेपाली साहित्यमा प्रायः जसो सामाजिक तथा राजनैतिक जस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ तर वातावरणसम्बन्धी कथावस्तुलाई खासै महत्त्व दिइएको हुँदैन । यद्यपि वातावरण साहित्यले सिङ्गो पृथ्वी र पृथ्वीमा रहेका हरेक वस्तु (सजीव तथा निर्जीव) र तिनीहरूको अन्तरसम्बन्धको व्याख्या गर्ने गर्दछ ।
नेपाली साहित्यमा प्राकृतिक सुन्दरताको वर्णन खुबै गरिएको पाइन्छ । यो वातावरण साहित्यको एक सानो अंश मात्रै हो । जसरी हाम्रो परम्परागत साहित्यले मानव सभ्यता विकासमा ठूलो योगदान पुर्याएको छ, त्यसरी नै वातावरण साहित्यले वातावरणीय क्षयबाट मानव अस्तित्व जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब वातावरण साहित्यको बिरुवा रोपेर मलजल गर्दै झाङ्गिलो वृक्ष बनाउन पर्ने आजका साहित्यकारहरूको दायित्व भएको छ । तर साहित्यको यस नवीनतम फाँटमा शयर गर्नुअघि वातावरण के हो ? बुझ्न आवश्यक छ भन्ने सार यस कवितासंग्रहले अभिव्यक्त गरेको छ ।
यस पुस्तकलाई इन्डिगो इन्क प्रा.ली. ले बजारमा ल्याएको हो । ४१ ओटा कविता र १०७ पृष्ठमा सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ४९ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 










