यो नियात्रा लेख्ने मेरो कुनै योजना थिएन । तर, कहिलेकाहीँ यात्रापछिको संवाद र प्रतिक्रिया पनि लेखनको कारण बन्दो रहेछ । त्यस्तै भयो ।
भएको के थियो भने, जब मैले मृत सागरको किनारमा पानीमाथि सुतेर, दुवै हातले नक्सा समातेर पढिरहेको फोटो मेरो फेसबुक पेजमा पोस्ट गरेँ, थरिथरिका प्रतिक्रियाहरू आउन थाले । कसैले ‘यो त प्रविधिको कमाल हो’ भने । कसैले ‘तल के राख्नुभएको थियो ?’ भनेर सोधे । अरूहरूले प्राविधिक जिज्ञासा राखे- यो कसरी सम्भव छ भनेर । कतिले ‘मैले सुनेको वा पढेको छु’ भने । अनि एक-दुई जनाले आफू पनि त्यहाँ पुगेको जानकारी गराए ।
त्यो क्षणमा मलाई लाग्यो- शायद यात्रा केवल मेरो व्यक्तिगत अनुभूति मात्र होइन, साथीभाइहरूको जिज्ञासाको संवाद पनि हो । थप प्रतिक्रियाहरू आए । काठमाडौंबाट सुजु श्रेष्ठले लेख्नुभयो, ‘पौडी खेल्न नजान्ने मजस्तालाई त खुदो हुने रहेछ ।’
त्यसैगरी, नर्थ क्यारोलाइनाबाट पेशल पोख्रेलले लेख्नुभयो- ‘समुद्रमाथि तैरिएर नक्सा केलाइरहेको दाइको तस्बिर देखेको थिएँ, कतै । त्यो अनुभूतिबारे पनि एउटा संस्मरण आवोस् दाइ, पाठकको फर्माइस ।’
नर्थ क्यारोलाइनाबाटै डा. प्रचण्ड श्रेष्ठले, ‘दाइको अर्को यात्रा संस्मरण आउँदै गरेको देखेँ मैले’ भन्नुभयो ।
साथीभाइ र पाठकका यस्ता प्रश्नहरूले मलाई भित्रसम्म घचघच्याए । केही लेख्नुपर्ने जिम्मेवारीजस्तो महसूस भयो । त्यसपछि म लेख्न बसेँ । यसरी, यो नियात्रा फेसबुकमा पोस्ट गरिएको एउटा साधारण फोटोबाट शुरू भएको जिज्ञासाको लहर हो ।
= = =
२६ सेप्टेम्बर, २०२५
श्रीमती तेजस्वी, छोरी मेधावी र म जोर्डनको राजधानी अम्मानको सानो तर व्यवस्थित ‘क्विन आलिया अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गर्यौं । हाम्रो उद्देश्य थियो- अम्मान, मृत सागर, पेट्रा घुम्ने । ट्याक्सी लिएर सोझै ‘डब्ल्यु अमान होटेल’ मा गयौं ।
होटेलको नाम र अनुभव लेख्नैपर्ने भयो किनकि खोटाङको चिमचिमामा जन्मिएर झापाको आयाबारीमा हुर्किएको मजस्तो गाउँलेको लागि त्यो होटेलको कोठा कल्पना भन्दा बाहिरको कुरा थियो । ‘यस्तो पनि हुँदो रैछ’ भन्ने भावसहित अचम्मित भएकोले लेखेको हुँ, फुर्ति देखाउन हैन ।
“तपाईंको कोठा अपग्रेड गरिएको छ । हाम्रोमा रहेका चारवटा पेन्टहाउसमध्ये एउटा तपाईंका लागि उपलब्ध गराइएको छ,” होटेलकी एक कर्मचारीले भनिन् । मैले धन्यवाद टक्र्याएँ । थाकेको हुनाले त्योबेला मलाई जस्तो कोठा भए पनि पुग्थ्यो । केवल कोठामा गएर केहीबेर आराम गर्न मन थियो । म विश्वको सबैभन्दा ठूलो होटेल चेन मेरीयट होटेलको ‘प्लाटिनम मेम्बर’ भएकोले अपग्रेड गरिएको थियो ।
त्यो कोठा मैले सोचेको र देखेको होटेल कोठाभन्दा बेग्लै थियो । ढोकाबाट छिर्नासाथ देब्रेतर्फ सानो किचन रहेछ । किचनमा रेफ्रिजेरेटर, फ्रिजसहित खाना पकाउने र खाने सबै भाँडाकुँडाहरू तयार अवस्थामा थिए । किचन कटेर गएपछि ठूलो बेडरुम । त्यो कोठाका विशाल झ्यालहरूले गर्दा होला, ओछ्यानमा ढल्किँदा म शहरको छानामा तैरिरहेको छु जस्तो लाग्यो ।
मुख्य ढोकाबाट दाहिनेतिर जाँदा एउटा सानो पार्टी हल भेटियो । सिलिङमा झिलिमिली बल्ने बत्तीहरू जडान गरिएका थिए, जसको रङ र उज्यालो रिमोट कन्ट्रोलले बदल्न सकिन्थ्यो । बीचमा एउटा अग्लो टेबलमा फलफूल र चकलेट सुसज्जित रूपमा राखिएका थिए ।
त्यो पार्टी हल पार गरेपछि एउटा विशाल बैठक कोठा रहेछ । कोठाको दुवैतर्फ ठूला–ठूला सीसाका झ्यालहरू थिए, जसबाट शहरको उज्यालो र हलचल खुला रूपमा देखिन्थ्यो । म ती झ्यालहरूबाट बाहिर नियाल्दै सोच्दै थिएँ- पेन्टहाउसको क्षेत्रफल त एउटा सानो घर जत्तिकै रहेछ ।
खैर, यस्तो पनि हुँदो रैछ भन्ने अनुभूतिबाहेक आखिर त्यहाँ एक रात सुत्नु मात्र थियो । त्यो रात त्यो ठूलो ओछ्यानको एउटा कुनामा सुतेँ, निद्रा उही थियो, सपना उही ।
केहीबेर आराम गरेर घुमघाम पनि गर्ने डिनर पनि खाने भनेर हामी तीनै जना डाउनटाउन तर्फ लाग्यौं । डाउनटाउनको ‘अल बलाद’ भन्ने ठाउँको ‘किङ फाइजाल’ स्ट्रिटमा थुप्रै पसलहरू रहेछन् । भीडभाड चिर्दै हामी एउटा साँघुरो गल्लीमा अवस्थित सन् १९५२ मा खुलेको ‘हसिम रेस्टुरेन्ट’मा गयौं ।
त्यो रेस्टुरेन्ट हाम्रो यात्राको कथामा एउटा साधारण तर गहिरो अध्याय बन्यो । गल्लीमा राखिएका प्लास्टिकका कुर्सी र टेबलहरू, गल्लीको दायाँतर्फ थप बसेर खाने ठाउँहरू र बायाँतर्फ रहेको पकाउने, अर्डर दिने, अनि एउटा सानो पैसा तिर्ने बुथ । पहिलो नजरमा रेस्टुरेन्ट अव्यवस्थित जस्तो लाग्थ्यो, सफाइ भने अलिक नपुगे जस्तो ।
टेबलमा बस्नासाथ सित्तैंमा अचार, प्याज र टमाटरको थाल आइपुग्यो । एकैछिनमा फलाफल, हमस र फ्राइज पनि आयो । असाध्यै स्वादिष्ट खाना थियो, जिब्रो पट्काउँदै खायौं । अम्मान पुगेपछि नछुटाउने रेस्टुरेन्ट रहेछ त्यो- सादगीभित्र लुकेको स्वाद र वातावरण । अमानका राजारानीदेखि लिएर संसारभरिका सेलेब्रिटीहरूसम्म त्यहाँ आएर खाएको तस्वीरहरूले रेस्टुरेन्टका भित्ताहरू पूरै ढाकिएका रहेछन् ।
त्यो गल्लीको रेस्टुरेन्टमा चलिरहेको स्थानीय र केही पर्यटकहरूको हलचलले मलाई आत्मीयताको अनुभव गरायो । पाँचतारे होटेलको लक्जरी पेन्टहाउसबाट सोझै आएर हामीले त्यो साधारण, जीवन्त र इतिहास बोकेको रेस्टुरेन्टमा खाना खायौं । यो अनुभवले मलाई सिकायो- यात्रामा कहिलेकाहीँ ठूला दृश्यभन्दा पनि स्थानीय स्वाद र अनपेक्षित संगत नै स्थायी सम्झना बन्न पुग्छन् ।
खाइसकेर एकछिन वरिपरि चाहार्दा हामीमध्ये दुई जनालाई किनमेल नगरी नहुने भयो । उनीहरू पसलभित्र पसे, म भने बाहिर सडक छेउको एउटा बेन्चमा बसेँ र वरिपरि बगिरहेको भीडको लय नियाल्दै आफ्नै धुनमा रमाएँ ।
अन्ततः होटेल फर्किन उबर खोज्दै गर्दा पटक-पटक कोशिश गर्दा पनि चालकसँग भेट हुन सकेन । जोर्डनमा उबर वा गुगल म्याप्स जस्ता एप्सहरू कहिलेकाहीँ काम गर्न नसक्ने देखियो । जीपीएसले सही अक्षांश-देशान्तरको डेटा नदिने जस्तो लाग्यो । करीब ४५ मिनेटपछि मात्र बल्लतल्ल एउटा सवारी पाएर होटेल फर्कियौं ।
जहाँ गए पनि त्यहाँको भाषा अलिअलि सिक्ने मेरो बानी नै हो । त्यसैले ट्याक्सीमा बसेर मैले चालकलाई मुस्कुराउँदै भनेँ, “मासा अल खैर ।”
शुरूमा उनले केही बुझेनन् ।
मैले फेरि दोहोर्याएँ- “मासा अल खैर ।”
त्यो सुनेर उनले हाँस्दै भने, “ओहो, गुड इभनिङ !” मेरो उच्चारण नराम्रोसँग बिग्रिएको रहेछ- खासगरी ‘खैर’ भन्ने शब्द ।
उनले सच्च्याउँदै भने, “ख्वैर”
मैले पनि उनको नक्कल गर्दै धेरै पटक प्रयास गरेँ । अन्त्यमा उनले हाँसो रोक्नै सकेनन् ।
ती अधबैंसे चालकलाई अंग्रेजी बोल्न आउँदो रहेछ । बाटोमा अलिकति गफ पनि भयो । मैले त्यहाँका राजाबारे सोधेँ, तर उनले कुरा विस्तार गर्न चाहेनन् र भने, “यहाँ धेरै मान्छेहरू गरीब छन् । महिनाको तीन सय दिनार (४२५ अमेरिकी डलर) कमाउँछन् । बिहानै उठ्छन्, दिनभर काम गर्छन्, साँझ घर फर्किन्छन्, सुत्छन् । भोलिपल्ट फेरि त्यही दिन दोहोरिन्छ । राजनीति र बाहिरी दुनियाँसँग तिनीहरूलाई खासै मतलब हुँदैन ।”
त्यो वाक्य छोटो थियो, तर गहिरो- जसले जोर्डनको नदेखिएको अनुहार देखायो ।
एउटा चोकमा ट्याक्सी हरियो बत्ती पर्खिंदै रोकियो । त्यो मौका पाएर ती चालकले अब यसरी भन्नुस् ख्वैर भन्दै मेरो चिउँडो मुनि, घाँटीमा आफ्ना दुई औंलाले दायाँ र बायाँ थिचे । मैले उनको नक्कल गर्न खोजेर ख्व्येएर उच्चारण गरेँ । उनले हाँस्दै टाउको हल्लाए । गाडीको पछाडिको सिटमा बसेका तेजस्वी र मेधावी पनि मरिमरि हाँसे ।
भोलिपल्ट बिहानै हामीले एउटा कार रेन्ट गर्यौं र मृत सागरतर्फ लाग्यौं । बाटो करीब एक घण्टाको मात्र थियो । शहर काटिसकेपछि हाइवे सुनसान देखिन्थ्यो । गाडी हाँक्न सजिलो भयो ।
मृत सागर दाहिनेतर्फ देखियो । त्यहाँ केही होटेलहरू पनि देखिए । हामीले जाने भनेको होटेल हेर्दा अलिक पुरानो र सुरक्षित जस्तो लागेन, तसर्थ हामी अर्को अलि राम्रो होटेल खोज्नतर्फ लाग्यौं । बाटोमा केही युवाहरू हाम्रोमा आउनुस् भन्दै थिए, मुग्लिनमा युवतीहरूले खाना खान यता आउनुस् भनेर बोलाएजस्तै । एउटा होटेल छानेर भित्र जान लाग्दा गेटमै पैसा दिनुपर्ने रहेछ, डे पासको लागि । होटेलमा बसेभन्दा महँगो पर्यो डे पासलाई ।

(फोटो क्रेडिट: नासा)
टन्टलापुर घाम लागेको थियो । हामीलाई होटेलको स्विमिङ पुल लगायतका सुविधा प्रयोग गर्नुपर्ने थिएन । त्यसैले स्विमिङ पुल पार गरेर ओरालो झर्दै सोझै मृत सागरको किनारामा पुग्यौं । निकै तल खाल्डोमा आएको जस्तो लागिरहेको थियो । नलागोस् पनि कसरी ! सगरमाथाको देशको मान्छे म, त्यो दिन पृथ्वीको सबैभन्दा तल्लो बिन्दुमा उभिएको थिएँ । समुद्री सतहभन्दा ४०० मिटर तल पुगेको रहेछु ।
बीच बोयले एक-एक वटा तौलिया र पानीको बोतल दिए र छातामुनि भएको आराम कुर्सीमा बस्न भने ।
एउटी राम्री र जवान युवतीको वरिपरि ५-६ जना मान्छे झुम्मिएका थिए । पछि थाहा भयो उनी रैछन् छिमेकी देश लेबननकी प्रख्यात अभिनेत्री । नाम भने थाहा भएन ।
लुगा बदलेर म पानीमा पसेँ । मलाई अझै विश्वास लागिरहेको थिएन कि कसरी पानीमा तैरिन सकिन्छ भनेर । पहिले मान्छेहरू तैरिरहेको फोटो र भिडियोहरू देखेको भए पनि मनको कुनामा अझै केही शंका बाँकी थियो । मलाई लाग्छ, जीवनमा केही कुरा आफैँ अनुभूति नगरी बुझिँदैन ।
नभन्दै हातखुट्टा नचलाई बडो सहज रूपमा पानीमा तैरिएँ । हातमा भएको म्याप हेरेँ । मेरो पछाडि थियो- प्यालेस्टाइनको वेस्ट बैंक । जब म पानीमा बिना प्रयास तैरिरहेको थिएँ, मलाई लाग्यो- म जमीन र आकाशबीच कतै हावामै तैरिरहेको छु । न पौडीको आवश्यकता, न त पानीमा डुबिएला भन्ने डर । शरीर आफैं तैरियो, मानौं पृथ्वीको गुरुत्वाकर्षणले केहीबेरका लागि विश्राम लिएको हो ।
अनि सम्झिएँ- विष्णु भगवान् शेषनागको सहारामा विश्राम गर्दै क्षीरसागरमा तैरिरहेको त्यो दृश्य । शेषनागले आरामदायी आसन बनाइदिएका थिए, देवी लक्ष्मी शान्त मुद्रामा उहाँका चरण नजिक बसेकी थिइन् ।
ती दुवै दृष्यमा कुनै ठूलो र अदृश्य शक्तिले थामिरहेको थियो- चाहे त्यो पानीको बल होस् वा दैवी सन्तुलन ।
मृत सागर वास्तवमा सागर पनि होइन, मृत पनि छैन । वास्तवमा यो सागर नभएर एउटा गहिरो ताल हो । यद्यपि, भू-वैज्ञानिक प्रमाणले परापूर्वकालमा यो मेडीटेरियन सागरमा जोडिएको थियो भन्ने प्रमाणित गरेको छ । त्यसैगरी ठूला जीवजन्तु र बोटबिरुवा छैनन् तर आँखाले देख्न नसकिने सूक्ष्म जीवहरू भने पाइन्छन् ।
मृत सागर विश्वकै सबैभन्दा नुनिलो प्राकृतिक ताल बनेको छ, जसको नूनको मात्रा समुद्रको तुलनामा करीब आठ गुणा बढी छ । यही नूनको मात्राले पानीलाई असामान्य रूपमा गह्रौं बनाउँछ । जब मानिसले आफ्नो शरीर यसमा डुबाउँछ, पानीको घनत्व शरीरको भन्दा बढी भएकाले एक प्रकारको अदृश्य शक्तिले मानिसलाई माथि धकेल्छ । आर्किमिडिजको सिद्धान्त अनुसार कुनै वस्तुमा लाग्ने ऊर्ध्व बल (buoyant force) र त्यस वस्तुको भार (weight) बराबर हुँदा त्यो वस्तु पानीमा तैरिन्छ ।
त्यसैले यहाँ कोही पनि डुब्दैन । मानिसहरू अखबार पढ्दै, मुस्कुराउँदै सहजै तैरिन्छन् । तीन–तीन पटक मृत सागर पुगिसकेका नेपालका सुप्रसिद्ध गायक शिव परियारसँग मैले सोधेको थिएँ- “त्यो पानीमा त्यसरी तैरिँदा तपाईंलाई कस्तो अनुभव भयो ?”
उनले भनेका थिए, “आफूले कुनै बल प्रयोग नगरी पानीमा तैरिँदा एउटा अत्यन्तै रोचक पल बाँचेको अनुभव भयो ।”
कसो कसो गर्दा मुखमा पानी पस्यो । तीतोपन यति प्रचण्ड थियो कि झन् उल्टी आयो । सम्झनुस्, दालमा हामीले हाल्ने नूनभन्दा पैंतीस गुणा बढी नून हालियो भने कस्तो स्वाद आउला ? ठीक त्यही स्वादको झट्का मृत सागरको पानीले जिब्रोमा दिएको थियो ।
आँखामा पर्ला कि भनेर त्राहीत्राही भएको थियो । बिहान दाह्री नकाट्नू भन्ने सल्लाह अनुसार म नकाटी गएको थिएँ । भन्छन्, दाह्री काटेर गएमा अनुहार पोल्छ रे । केहीबेर पानीमा तैरिएँ, तर खै किन हो, मलाई रिङ्गटा लाग्न थाल्यो । त्यसपछि पानीबाट बाहिर निस्किएँ ।
मेधावी र तेजस्वी भने रमाइरहेका थिए । मेधावी त झन् परपर डोरीले घेरेको क्षेत्रसम्म तैरिँदै गइन् । निर्धारित क्षेत्रभन्दा पर जान निषेध रहेछ ।
किनारमा एउटा खाल्डोमा कालो माटो रखिएको रहेछ । त्यो खनिज र सल्फरयुक्त लेदो माटो छालाका समस्याहरूको लागि औषधि समान मानिन्छ । मैले पनि कालो लेदो शरीरभरि लगाएर घाममा सुक्न दिएँ । सुकिसकेपछि पानीमा गएर धोएँ । जीउ झन्डै झन्डै तेल लगाएजस्तो चिल्लो भयो । बीच बोयले सफा पानीमा नुहाउनुपर्छ भने, मैले तेसै गरेँ ।
परापूर्वकालदेखि नै त्यो माटो छालाका रोगहरू निको पार्न उपयोगी हुन्छ भन्ने विश्वास गरिन्थ्यो । सन् २०१२ मा प्रकाशित एक अनुसन्धानले त्यो माटोले ‘सोराएसिस’ भन्ने छालाको रोग निको पार्छ भन्ने देखाएको छ । छालाको सुन्दरता र उपचारका लागि यसको प्रभावकारिता यति चर्चित रहेछ कि विमानस्थलका ड्युटी–फ्री पसलहरूमा पनि यो माटो आकर्षक डिब्बामा सजाएर बेचिँदो रहेछ । त्यस अर्थमा मृत सागर केवल भूगोलको चमत्कार मात्र होइन, प्रकृतिको चिकित्सालय पनि हो- जहाँ विज्ञान, सौन्दर्य र आध्यात्मिकता एकैसाथ भेटिन्छन् ।
म आराम कुर्सीमा ढल्किएर आकाश हेर्दै थिएँ । अचानक ‘हेल्प ! हेल्प !’ भन्ने आवाज आयो । हेर्दा करीब २०-२५ वर्षकी युवती पानीमा पस्दै गर्दा तैरिन नसकेर हातखुट्टा हल्लाउँदै रहिछन् । नुनिलो पानी निलिछन् । सुरक्षा गार्ड तुरुन्त उनीतिर दौडिए, युवतीलाई समाते र किनारमा निकाले । सबैका आँखा केहीबेर उनीतिर केन्द्रित भए र मुटु केहीबेर तीव्र गतिमा धड्कियो ।
केहीबेर आराम गरेपछि ती युवती फेरि उठिन् । बिस्तारै पानीतिर गइन् र यसपटक मज्जाले तैरिइन् । कति टाढाबाट, कति पैसा र समय खर्च गरेर आएकी थिइन् होला, मृत सागरमा नतैरी फर्किने उनको इच्छा थिएन ।
त्यहाँ केही घण्टा बिताएर हामीले होटेलकै एउटा रेस्टुरेन्टमा लन्च खायौं र त्यसपछि मृत सागरको किनारै किनार दक्षिणतर्फ लाग्यौं । बाटोमा दायाँपट्टि नीलो-हरियो, नुनिलो पानी र बायाँपट्टि सुनौलो मरुभूमि तन्किएको थियो- मानौं दुई युगबीचको सीमारेखा ।
घाम तीखो थियो, आकाश धुलोले भरिएको र सडक प्रायः सुनसान । बालुवाको रंग बदलिँदै गइरहेको थियो- कहीं रातो, कहीं सुनौलो, कहीं सेतो । बाटोमा कतै–कतै नूनले ढाकिएका ढिस्काहरू देखिन्थे, जसले सूर्यको किरण परावर्तित गर्दा सागर र आकाशबीचको रेखा हराएको जस्तो लाग्थ्यो ।

मृत सागरको भू-भाग वास्तवमा ग्रेट रिफ्ट भ्यालीको अङ्ग हो । त्यो विशाल भू-वैज्ञानिक फाँट जहाँ अरब र अफ्रिकी प्लेटहरू एकअर्काबाट अलगिँदै छन् । यही कारण यो क्षेत्र क्रमशः तल झर्दै गएको छ र आज पृथ्वीको सबैभन्दा न्यून बिन्दु बनेको छ । सडकको दायाँपट्टि देखिएका दरारहरू, ढुंगाका तहहरू र सेडिमेन्टका फाँटहरू त्यो अदृश्य भूगर्भीय शक्तिको साक्षी हुन् । मलाई यो भू–संगठनले केन्याको सम्झना गरायो । केही वर्षअघि नैरोबीबाट लेक नकुरु जाँदै गर्दा मैले ग्रेट रिफ्ट भ्यालीको विशाल फाँट देखेको थिएँ । त्यतिबेला पनि लागेको थियो, पृथ्वीको मुटु यहीँ कतै चिरिएको छ र त्यसैको नशा हजारौँ किलोमिटर पर मृत सागरको छेउमा पनि धड्किरहेको छ ।
दक्षिणतिर झर्दै जाँदा सागर साँघुरिँदै गयो र नूनका तहहरू बाक्लिँदै गए । बालुवाका ढिस्काहरू बीचबीचमा सुक्खा खोल्सीहरूसँग मिसिँदै थिए, जहाँ कहिलेकाहीँ वर्षाको पानी केही घण्टामात्र बगेर हराउँछ । त्यो क्षणिक बाढी र दीर्घकालीन शुष्कताको द्वन्द्वमा मरुभूमिको सौन्दर्य झल्किन्छ । साँझ पर्दा सूर्यको उज्यालो रक्तिम हुँदै गयो र लाग्यो- यो यात्रा केवल भौगोलिक होइन, समयको यात्रा पनि हो । मृत सागर सुक्दैछ, तर यसका किनाराहरूले अझै पृथ्वीको पुरानो कथा सुनाइरहेका छन्- जहाँ पानी, नून र मौनता मिलेर समयको नक्सा कोर्छन् ।
गाडीको पेट्रोल सकिन लागिरहेको थियो, तर बाटोभरि कुनै पेट्रोल पम्प देखिएन । मन आत्तियो- कहीँ बीच बाटोमै अलपत्र परिने त होइन ? धन्न ! धेरैबेर गुडेपछि एउटा सानो पम्प भेटियो । पेट्रोल भरेपछि मात्र मन ढुक्क भयो ।
अन्ततः हामी मृत सागरको पुछारमा पुगेका थियौं । त्यहीबेला फोन टिङ्ग गर्यो । मेसेज आएको रहेछ । लेखिएको थियो ‘वेलकम टु इजरायल ।’ त्यो ठाउँ जोर्डन र इजरायलको सिमानासँगै थियो । त्यहाँबाट गाजाको दूरी मात्र करीब ८५ किलोमिटर थियो, जहाँ पछिल्ला दुई वर्षदेखि इजरायलले निरन्तर विस्फोटक बमहरू खसाइरहेको थियो । मैले आकाशतिर हेरेँ- नीलो आकाश सफा र चिल्लो थियो भर्खरै पानीले धोएझैं ।
सूर्यास्त हुन लागिसकेको थियो । हामी त्यहाँबाट देब्रे मोडियौं र जोर्डनको अर्को गन्तव्य पेट्रातर्फ लाग्यौं ।
(लेखक अमेरिकी वातावरण मन्त्रालयको अनुसन्धान तथा विकास विभागका वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयका एडजन्क्ट प्रोफेसर हुन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










