प्रिय सिमोन,

शायद मेरो जस्तो कथा तिम्रो नहुनु पनि सक्छ-  भिन्न भूगोल, असहज परिस्थिति र मिश्रित सामाजिक व्यवस्थाको कारण यस्तो भएको हुनसक्छ । तर म ठोकुवा गरेर चाहिँ भन्न सक्दिनँ । मेरो जस्तै पढ्ने र लेख्ने अभीष्ट तिम्रो पनि थियो होला कुनै काल खण्डमा । तर पढ्न चाहेर मात्र कहाँ हुन्छ र सिमोन ! जीवनमा यसको निम्ति सरस्वतीको जति आवश्यकता छ उति नै लक्ष्मीको पनि आवश्यकता छ । त्यस बखत लक्ष्मीपूजाको दिनमा नै जन्मिएको भए पनि मसँग लक्ष्मी कम थियो आफ्नो अभीष्ट पूरा गर्न । विशेषगरी विश्वसाहित्य अध्ययन गर्ने उत्कष्ठा उत्कर्षमा पुगे पनि अर्थ अभावले सबै मनोकाङ्क्षा खुम्चाएर राख्नु बाहेक अरू केही उपाय थिएन सिमोन ! तर समय सधैँ एक हुँदैन भन्छन् बुढापाकाले, अनि हो पनि रहेछ । मलाई सानोमा अंग्रेजी बोल्न र लेख्न खूब मन पर्ने, बाटोमा विदेशी भेट्यो कि अंग्रेजी  बोल्न परिहाल्ने । मेरो अंग्रेजी मोह देखेर टोलछिमेकी पनि छक्क पर्थे । म १२ कक्षाको जाँच दिएर फुर्सदमा बसेको बेला यस्तै २५ वर्षिय गोरो विदेशी मान्छे भेटेँ, कुरा गर्न पनि थालेँ । ऊ अमेरीकी नागरिक रहेछ नाम चाहिँ ‘जोन टाइटस’ । कृषिमा स्नातक गरेर विश्व भ्रमणमा निस्केको । हातमा थियो समरसेट ममको उपन्यास ‘द रेजर एडज’– भारत भ्रमणमा रमन महर्षिसँगको भेटपछि पूर्विय दर्शनमा आधारित लेखेको पुस्तक । एक घण्टाको कुराकानी पछि उसले मलाई त्यो पुस्तक उपहार दिए । खुशीको सिमाना रहेन ।

सिमोन, तिमी कल्पना गर न तिमीलाई मन पर्ने पुस्तक पाउँदा तिमी कति प्रफुल्लित हुन्छौ । त्यो पुस्तक बुझ्ने क्षमता थिएन त्यस बखत मसँग ।  तर लेखकको लेखन शैलीले चुम्बक जस्तै तान्यो मलाई । ममको पुस्तकहरू खोज्न थालेँ अनि फेला पारेँ ‘द मुन एण्ड सिक्सपेन्स’ जुन पुस्तक ‘द रेजर एडज’ भन्दा २५ वर्ष अगाडि सन् १९१९ मा प्रकाशित भएको थियो । कथा आंशिक रूपमा चित्रकार पल गौगुइनको जीवनमा आधारित थियो । यो पुस्तक पढ्दा म आफै इटलीको गल्लीगल्लीमा घुमेको अनुभव भयो । साह्रै जीवन्त उपन्यास ! जोन टाइटस अमेरिका फर्केको दुई महिना पछि अचानक एउटा पार्सल आयो । निकै ठूलो थियो । खोलेर हेर्दा प्रयोग गरेका १० वटा पुस्तक थियो- म दङ्ग परे । खुशीको सिमाना रहेन । मार्क ट्वाइन दुई वटा, जोन स्टेनबैकको ‘द ग्राप अफ द रथ, एउटा कविता संग्रह, जोनाथन नेथेल र सिङक्लेयर अपटनको उपन्यास । मार्क ट्वाइनको पुस्तकमा अफ्रेकीलीले बोल्ने अंग्रेजी भाषा भएकोले बुझ्न निकै कठिन भएको थियो । कविता चाहिँ नौलो शैलीमा लेखिएको थियो जसलाई ‘Spoonerism’ भनिन्छ  ।  जोन टाइटसले मलाई अंग्रेजी भाषामा लेखिएको साहित्य पढ्ने नयाँ क्षितिज खोलिदिए ।

त्यही समय अगस्था क्रिस्टिको  जासूसी उपन्यास ‘अ मडर इज एनाउन्स’ एकै रातमा पनि सकियो । एलिस्टेयर म्याक्लिनद्वारा लिखित दोस्रो विश्वयुद्धको बारेमा १९५७ मा लेखिएको उपन्यास ‘द गन्स अफ नभारोन पनि पढियो । मारिया पुजोको ‘गड फादर’ पनि सिद्धाए । जेम्स हार्डि चेस, हारलोड रविन पढियो । तर मलाई सधैँ साहित्यिक पुस्तकले नै आकृष्ट गरे । सन् १९८२ मा ‘सारिका’ पत्रिकाले नोबेल पुरस्कार विशेषाङ्क प्रकाशित गरे दुई अंकमा । यो अंक अहिले पनि अनलाइनमा पढ्न सकिन्छ । हिन्दी पनि सहजै पढ्न सक्ने भएकोले विश्व साहित्य चहार्ने मेरो निम्ति ठूलो अवसर थियो सिमोन !

सन् १९८१ सम्म साहित्यमा नोबेल पुरस्कार पाएका साहित्यकारहरूको जीवनी र उनीहरूको कथा वा कविताको हिन्दी अनुवाद प्रकाशित भएको थियो । सारिकाका ती दुई अंकले मलाई रुडयार्ड किपलिंग, रवीन्द्रनाथ टैगोर, रोमेन रोलैंड, एनाटोल फ्रान्स, विलियम बटलर येट्स, जर्ज बर्नार्ड श, सिन्क्लेयर लुईस, पर्ल बक, गेब्रिएला मिस्ट्रल, हर्मन हेसे, थोमस स्टर्न्स इलियट, विलियम फकनर, बर्ट्रान्ड रसेल, अर्नेस्ट हेमिंग्वे, अल्बर्ट कामु, बोरिस पेस्टर्नक, जोन स्टेनबेक, जीन-पल सार्त्र, मिखाइल शोलोखोव, पाब्लो नेरुदा, साउल बेलो, आइज्याक बशिभिस  सिङ्गर,गेब्रियल गार्सिया मार्केज आदिको व्यक्तित्व र कृतित्वको केही झलक बुझ्ने मौका दियो । पहिलो अंकमा इसहाक बसेभिस सिङ्गरको अन्तर्वाता छापिएको थियो जसमा उनले अश्लील र अभद्र साहित्य मन पर्छ भनेका थिइन् ।

हातमा अलिकति पैसा आउन थाले पछि उनीहरूको पुस्तक खोजी खोजी पढ्ने रहर जागेर आयो । इलियट, नेरूदाको कविता देखि वक, कामु, हेमिंग्वे, मार्केजको उपन्यासले साहित्य कसरी लेखिँदो रहेछ भन्ने मेरो सोचाइमा ठूलो परिवर्तन आयो सिमोन ! बर्नार्ड श, हर्मन हेसे, बर्ट्रान्ड रसेल, रोमेन रोलैंडका लेखाइहरूले विचार, दर्शन, अध्यात्म घुसारेर साहित्य कसरी लेखिँदो रहेछ भनेर बुझ्ने अवसर दियो मलाई सिमोन ! यी लेखकहरू पूर्वीय साहित्यबाट निकै प्रभावित थिए । अहिले पनि केही  लेखकका केही पुस्तकहरू मसँग सुर्क्षित छ ।  ‘द रेजर एडज’ चाहिँ एउटा नेपाल थरको भाइले लगेर अदृश्य बनाइदियो । सात्रको ‘बिइङ एन्ड नोथिङ्गनेश किनेको पनि ४० वर्ष पुग्न लाग्यो तर भुत्लोभाङ बुझेको होइन । बरु हर्मन हेसेको ‘सिद्धार्थ’ उपन्यास सहज र सरल लाग्यो अनि अर्थपूर्ण पनि । सिद्धार्थ नेपालमा जन्मे पनि नेपाली भाषामा हर्मन हेसेको ‘सिद्धार्थ’ जतिको उत्कृष्ट उपन्यास सिद्धार्थलाई आधार बनाएर लेखिएको छैन । शायद भविष्यमा लेखिन्छ कि सिमोन, आशा गरौं ! त्यही समय अथर कानन डायलको सारलक होम्स पात्र केन्द्रित जासूसी कथाहरू पढेर लामो कोट र फिर्के टोपी लगाएर जासूसको अभिनय पनि गरेको थिएँ ।

प्रिय समोन, नोबेल पुरस्कार प्राप्त गर्नुभन्दा अगाडि नै मेरो मन र मस्तिष्क तानेको लेखक हुन् – भिएस नैपल अर्थात सर विद्याधर सुरजप्रसाद नैपल । त्रिनिदादमा जन्मेका भारतीय मूलका ब्रिटिश लेखक नैपल उम्दा उपन्यास र गैर-आख्यानको निम्ति सुपरिचित छन् । मैल पढेको उनको पहिलो कृति हो ‘अ हाउस फर मिस्टर बिस्वास’  ।

सन् १९६१ मा लिखित यस उपन्यासले विश्वभर प्रशंसा मात्र प्राप्त गरेनन् यसले गरीब मुलुकका जनजीवनलाई बेलायतका सम्भ्रान्त समाजसम्म पुराउन सफल भयो । यो मोहन विश्वासको कथा हो, एक हिन्दू इन्डो-त्रिनिदादियन जो निरन्तर सफलताको लागि प्रयासरत रहन्छन् र प्रायः असफल हुन्छन्, जसले प्रभावशाली तुलसी परिवारमा विवाह गर्छन् तर आफूलाई त्यस परिवारको वर्चस्वमा पाउँछन्, र अन्ततः आफ्नै घरको मालिक हुने लक्ष्य राख्छन् । यो उपन्यास उनको बुबाको संघर्षशील जीवनको प्रतिबिम्ब हो । उनको बुवा सफल लेखक र पत्रकार बन्ने धुनमा अनेकन् लेखन गरिरहे तर थोरै सफलता हासिल गरे । उनले छोरालाई भने सफल लेखक बन्न प्रोत्साहन गरिरहे तर सफलता देख्न पाएनन् । बेलायतमा बसेर पनि किन त्रिनिदादको सामान्य भारतीय परिवारको बारेमा लेखेको भनेर मलाई साह्रै खुलदुली लागिरहन्थ्यो ।

केही समय अगाडि मात्र उनको ‘लिटिरेरि अकेजनस्’ नामक आत्मपरक निबन्धहरूको सँगालो पढ्ने मौका पाएँ । यसमा धेरैजसो निबन्धहरू दृढ आत्मकथात्मक छन्, किनकि नैपलले आफ्नो लेखकीय शुरूवात र उनले सामना गरिरहेका पहिचानका निरन्तर मुद्दाहरू बताउँछन् – पहिले त्रिनिदादमा भारतीय मूलको रूपमा, र त्यसपछि इङ्गल्याण्डमा एक विदेशी (एक विशिष्ट प्रकारको) को रूपमा । लेखक बन्ने उनको असामान्य कथा हो: उनी सानै उमेरदेखि नै यो महत्त्वाकाङ्क्षाबाट प्रेरित छन्, तर उनी आफूले गर्ने काममा, विशेष गरी आफ्नो प्रारम्भिक प्रयासहरूमा, निरन्तर आत्मविश्वासको ठूलो अभाव व्यक्त गर्छन् । उनी इङ्गल्याण्डमा बेफाइदा महसूस गर्छन्, मूल निवासीहरूको सजिलो र पूर्ण परिचितता बिना, तर अन्ततः सफल हुन्छन् – ठूलो भागमा अनुकरणीय नभई उनी परिचित संसारको बारेमा लेखेर ।

जति आफ्नो परिवेशमा लेख्न सजिलो छ जतिकै ठूलो लेखक भए पनि अङ्गीकृत परिवेश र पहिचानमा उत्कृष्ट कथा वा उपन्यास लेख्न असम्भव छ भन्छन् नैपल ! उक्त पुस्तकमा नैपलले सन् २००१मा नोबेल पुरस्कार प्रदान गर्दा दिएको सम्भाषण पनि राखिएको छ जहाँ उनको नेपालसँग सम्बन्ध भएको जानकारी दिएको छन्, “हामीले भारत वा भारतमा छोडेका परिवारहरूको बारेमा कुनै सोधपुछ गरेनौं । जब हाम्रो सोच्ने तरिका परिवर्तन भयो, र हामीले जान्न चाह्यौं, धेरै ढिलो भइसकेको थियो । मलाई मेरो बुबाको पक्षका मानिसहरूको बारेमा केही थाहा छैन; मलाई थाहा छ कि तिनीहरूमध्ये केही नेपालबाट आएका थिए । दुई वर्षअघि मलाई मन पराउने एक दयालु नेपालीले मलाई सन् १८७२ को ब्रिटिश गजेटियरमा  बनारसमा प्रतिनिधित्व गरिएको हिन्दू जाति र जनजातिहरूको बारेमा लेखिएका केही पृष्ठहरूको प्रतिलिपि पठाए; सूचीबद्ध पृष्ठहरू – धेरै नामहरू मध्ये – पवित्र शहर बनारसमा नेपालीहरूको ती समूहहरू जसले नैपाल नाम बोकेका थिए । मसँग यति मात्र छ ।”

आफ्नो सम्भाषणमा नेपालको बारे यति भनेका थिए । तर यो विषयमा आधिकारिक रूपमा नेपाल सरकार, संघ-संस्थानले खोजी गर्ने काम गरेनन् । यो हाम्रो ठूलो दुर्भाग्यको कुरा हो सिमोन ! नेपालीले पनि नोबेल पुरस्कार प्राप्त गरेका थिए भन्ने अवसर गुमेर गयो ।

प्रिय सिमोन, नैपल भारतीय मूलको भए पनि तत्कालीन भारतको गरीबी, अशिक्षा, राजनीतिको कट्टर विश्लेषक थिए । यही विषयमा तीन वटा त पुस्तक नै प्रकाशित गरे । तर उनको रुचिले उनको अध्ययन र अनुभवको क्षितिज बढाइदियो । उनले कसरी केही मुलुकहरू मान्छेहरू धर्म परिवर्तन भएर मुसलमान भए भन्ने विषयमा स्थलगत अध्ययन र अनुसन्धान गरे । यही सिलसिलामा लेखिएको पहिलो पुस्तक हो, “एमङ्ग द बिलिभरस: एन इस्लामिक जर्नी’ । सन् १९८१ मा प्रकाशित यस पुस्तकमा इरानी क्रान्ति पछि एसियाली महादेशभरि छ महिनाको यात्रा वर्णनले भरिएको छ ।  नैपलले इस्लामिक कट्टरपन्थीता बढ्दै गएको देशहरूमा संस्कृति र विस्फोटक अवस्थाको अन्वेषण गर्छन् । उनको यात्रा इरानबाट शुरू हुन्छ, पाकिस्तान, मलेसिया र इन्डोनेसियामा समाप्त हुन्छ । त्यस पछि सन्१९९८ मा प्रकाशित हुन्छ ‘बिवेन्ड बिलिफः इस्लामिक एक्सकरसनस एमोङ द कनभरटेट पिपल ।’

सन् १९९५ मा नैपलले चार मुस्लिम देशहरू: इन्डोनेसिया, इरान, पाकिस्तान र मलेसियाको पुनः भ्रमण गर्छन् पाँच महिना सम्म र यसमा त्यसको यात्राको वर्णन छ ।  नैपलले स्थानीय संस्कृतिहरूको चलिरहेको इस्लामीकरणको पनि दस्तावेजीकरण गर्छन्: इन्डोनेसिया र मलेसियाको कथाहरूको केन्द्रबिन्दु इस्लामिक कट्टरपन्थीहरूको उपस्थिति हो जसले स्थानीय संस्कृतिहरू, जस्तै तिनीहरूको रीतिरिवाज, आत्मामा विश्वास र वर्जितहरूबाट बाँकी रहेका कुराहरू हटाउन खोजिरहेका छन् भनेर लेख्छन् । यो पुस्तक प्रकाशित भएको तीन वर्ष पछि उनले साहित्यमा नोबेल पुरस्कार पाउँछन् ।

नैपलका आधिकारिक जीवनी लेखक पेट्रिक फ्रेन्च सन २००८ मा प्रकाशित नैपलको जीवनी ‘द बल्ड इज वाट इज इट’ लेख्छन्, “उल्लेख गरिएको धर्म परिवर्तन सातौँ शताब्दीदेखि एघारौँ शताब्दीको बीचमा भएको भए पनि, नैपलको अतीतप्रतिको दृष्टिकोण यति गहिरो र तीव्र छ कि उनले तिनलाई आफ्नै मौलिक धर्मको अस्वीकारकर्ताको रूपमा देख्छन्—इतिहासको ‘भयानक विकृति’मा संलग्न, र त्यसबाट उत्पन्न ‘मानसिक असन्तुलन’ले पीडित ।”

उनका लागि इस्लाममा धर्मान्तरण र त्यसपछि विदेशी पवित्र स्थानप्रतिको जोड ‘सबैभन्दा कठोर किसिमको साम्राज्यवाद’ हो ।
उनी यो सम्भावनाको विचार गर्दैनन् कि इस्लाम शताब्दीयौंदेखि कुनै देश वा क्षेत्रको मौलिक धर्म बनिसकेको हुन सक्छ, र उनको यो दाबी — “अरब होइन तर मुस्लिम भएको हरेक व्यक्ति धर्मान्तरित हो । त्यही तर्क ख्रीष्टियन धर्ममा पनि लागू हुन सक्छ ।”

भिएस नैपलको कृति सँगसँगै मेरो परिचय भयो उनको कान्छा भाइ शिव नैपलको पुस्तकसँग । सन् १९८७ मा शिवको पुस्तक ‘बिवेन्ड द ड्रागनस माउथः स्टोरिस एन्ड पिसेस’ आख्यान र गैरआख्यान लेखहरू संग्रह काठमाडौंको ब्रिटिश काउसिलबाट लिएर पढेको थिएँ । यो पुस्तक पढ्दा उनी बितेको २ वर्ष भइसकेको रहेछ । त्यो पनि ४० वर्षको उमेरमा । दाजु भन्दा १३ वर्ष कान्छो शिवको लेखाइ पनि निकै तिख्कर र रोमान्चक थियो । दाजुले जस्तै भारत र अफ्रिकी मुलुकमा भएको बेतिथि, अराजकता, राजनैतिक अस्थिरता, दण्डहीनताको विरोधमा कलम चलाएर उनले पनि भारतीय र अफ्रिकीहरूबाट खप्की खानु परेको थियो । कलिलो उमेरमा नै ३ वटा उपन्यास, ३ वटा गैरआख्यान र २ वटा विविध संग्रह प्रकाशित गरिसेका थिए उनले । दाजुको पुस्तक सर्वत्र उपलब्ध भए पनि भाइ शिवको भने नेपाल र भारतमा अप्राप्य । उनको पुस्तक प्राप्तिको निम्ति धेरैसँग अनुनय विनय गरेँ, तर सधैँ हातमा लागे शून्य । अन्तमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा इन्जिनिरिङमा विद्यावारिधि गरिरहेका मेरा साली रक्षा श्रेष्ठले त्यहीबाट शिवको तीन वटा पुस्तक उपहार ल्याइदिए । अनि सन्चोको सास फेरेँ ।

एकपल्ट यसरी नै डम मोरेको ‘गन अवे’  पुस्तक पनि साहित्यकार एलबी छेत्रीले अस्ट्रिलियाबाट ल्याइदिनु भएको थियो मेरो अनुरोध स्वीकार गरी ५ वर्ष पहिले । सन् १९६०मा प्रकाशित यो पुस्तक त्यस बेलासम्म दोस्रो संस्करण प्रकाशित भएकै थिएन । यो पुस्तकमा डमले महाकवि देवकोटालाई अन्तिम क्षणमा आर्यघाटमा भेटेको विवरण लेखेको थियो । त्यो पुस्तक बेलायतबाट प्रकाशित भएको थियो ।

जोन टाइटसले मलाई अमेरिकी अंग्रेजी साहित्यमा रुचि जगाए भने ‘सारिका’ हिन्दी पत्रिकाले नोबेल पुरस्कार विजेताहरूको कृतित्व र व्यक्तित्व बारेमा अभिरुचि वृद्धि गराउन मद्दत गरे । जोनसँग  सम्पर्क टुटेको पनि ४० वर्ष हुन लाग्यो अनि ‘सारिका’ अहिले बन्द भइसक्यो होला । त्यस बेलाको राम्रो हिन्दी पत्रिका: धर्मयुग, दिनमान, कादम्बिनी, नवनीत, मुक्ता, सरिता अहिले कता गयो कता गयो ।

अंग्रेजीमा लेखिएको विश्वसाहित्य पढ्नुको फाइदा के हो भने यसले घरमा नै बसीबसी संसार देख्न र बुझ्न पाइन्छ, लेखनको विविधता देख्न पाइन्छ, रोचक शैलीको रसास्वादन गर्न पाइन्छ । बेफाइदा त छँदै छैन- तर एउटा छ, त्यो के हो भने ती साहित्यसँग नेपाली साहित्यको तुलना गर्दा निराश हुनुपर्छ । विश्वसाहित्य समय सापेक्ष हुन्छ तर नेपाली साहित्यको उपन्यास, कथाले समय र परिस्थितिलाई प्रतिनिधित्व कम गरेको पाउछौँ । तर अबको यो साइबर युगमा नेपाली साहित्य पनि विश्व साहित्यसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने छ भन्ने आशा गर्न सकिन्छ तर लेखक महोदयहरू मलाई गाली नर्गनु होला, भरोसा त अझै पनि गर्न सक्ने अवस्था छैन ।