नेपाली भूमिबाट निस्किएर ९० दिनको हुलाकीय संघर्षपछि मेरो हातमा आइपुगेको पुस्तक थियो — भवानी खतिवडाको कृति ‘प्रणाम सगरमाथा’ । यस बीचमा पुस्तकले नेदरल्याण्ड र जर्मनीका भन्सारमा कति पटक रोकावट भोग्यो, त्यो कष्टमय यात्रा नै एउटा पृथक पुस्तकको विषय बन्न सक्ने जस्तो लाग्छ । अन्ततः ४२ किलो पुस्तकहरूको समूहभित्र यो ‘प्रणाम सगरमाथा’ मेरो पुस्तकालयमा अन्नझैँ भोक मेटाउने आहार बनेर आइपुग्यो ।
शायद देश नफर्केको चौध वर्षको अन्तरालले हो, वा हरेक विदेशीले ‘एभरेष्ट’ उच्चारण गर्दा मनभित्र बज्ने राष्ट्रिय भावनाले, यो पुस्तक मेरो हृदयमा विशेष स्थान ओगट्न सफल भयो । गत वर्ष एक फ्रेन्च युट्युबरले सगरमाथाको नाममा गरेको असम्मानजनक प्रस्तुतिले मनमा बनेको पीडा पनि शायद यही कारणले यस पुस्तकसँग गहिरो सम्बन्ध गाँसिन पुग्यो ।
अचेल मसँग पुस्तकहरू यात्रामा निस्किन्छन् -कहिले पेरिसको सेन नदी किनारमा, कहिले आइफेल टावर अगाडि, कहिले भर्सेल दरबारको प्राङ्गणमा ।
‘प्रणाम सगरमाथा’ पनि मेरो यात्राको स्थायी साथी भयो — कहिले सिरानीमा, कहिले रेल यात्रामा, कहिले चियाको सुगन्धमा मिसिँदै ।
= = =
पुस्तकको संरचना र विषयवस्तु
यो पुस्तक राजधानी काठमाडौँबाट सगरमाथा आधार शिविरसम्मको यात्राको विस्तृत वृत्तान्त हो । लुक्ला, फाक्दिङ्ग, नाम्चे, तोपडाँडा, खुम्जुङ, थामे, छुकुङ हुँदै आधार शिविरसम्मको प्रत्येक पाइला लेखकले यति सजीव रूपमा लेखेका छन् कि पाठक स्वयंले पनि ४०–५० हजार खर्च नगरी त्यो कठिन यात्रा पूरा गरेको अनुभूति गर्छ ।
प्रकृतिको रङ्गीन बयान, बाढीले भत्काएको पुलको पीडा, पर्यावरणीय चेतना, र यात्रामा भेटिएका पात्रहरूको संवेदना — यी सबैले पुस्तकलाई यात्रावृतान्तभन्दा माथि उठाएर मानवीय संवेदना र काव्यिक गहिराइले भरिएको साहित्यिक दस्तावेज बनाएको छ ।
लेखकको कलमले केवल दृश्यको वर्णन गरेको छैन, त्यो नेपालको पहिचान, नेपालीको आत्मा, र श्रमजीवी जनताको कथा पनि उतार्छ । भारी बोक्ने घाइते खच्चडदेखि खाना बनाउने दिदीसम्म सबै पात्रहरूमा लेखकको सहानुभूति झल्किन्छ ।
लेखकीय शैली र मानवीय चेतना
भवानी खतिवडाको लेखन शैली सरल, सजीव र आत्मीय छ । सरकारी उच्च पदमा रहेर पनि लेखकले साधारण पात्रहरूसँग संवाद गर्छन्, उनीहरूको पीडा महसूस गर्छन्, अनि आफ्नो यात्रामा भेटिएका प्रत्येक मानवप्रति आदर व्यक्त गर्छन् ।
विशेष रूपमा, उनले यात्राको अन्त्यमा एक भरियालाई ज्यालासँगै थप दश हजार रुपियाँ बच्चाको शिक्षाका लागि सुम्पिएको प्रसङ्ग अत्यन्त मार्मिक छ — यो प्रसङ्गले लेखकको मानवीय संवेदनशीलता र निष्ठा प्रस्ट पार्छ ।
भाषा र काव्यिकता
यद्यपि यो यात्रावृतान्त हो, पुस्तकको भाषा कविताजस्तै बगेको छ । ’अक्सिजन हराएको कथा’, ‘३०० रुपियाँ तिरेर यतिको टाउको हेर्ने कथा’, ‘४५ दिन आगो बाल्न नपाइने कथा’ — यी सबै अंशहरूमा काव्यिक लय र प्रतीकात्मकता मिसिएको छ ।
= = =
निष्कर्ष
दश हजार किलोमिटर टाढाबाट पनि ‘प्रणाम सगरमाथा’ले मलाई आधार शिविरसम्म पुर्यायो — शारीरिक रूपमा होइन, भावनात्मक रूपमा । यो पुस्तक पढ्ने जो–कोहीलाई नेपाल, प्रकृति र मानवीय मूल्यप्रति नयाँ दृष्टिकोण दिन्छ ।
भवानी खतिवडा केवल लेखक होइनन्, मानवता र मातृभूमिप्रति समर्पित यात्री हुन् । उनको कलमले सगरमाथालाई केवल हिमशिखर होइन, आत्मा र गौरवको प्रतीक बनाएको छ ।
नेपाली साहित्यको जय होस्, नेपाल आमाको जय होस्, प्रणाम सगरमाथाले ब्रह्माण्ड घुमोस् र ‘प्रणाम सगरमाथा’का लेखक भवानी खतिवडाप्रति हार्दिक प्रणाम!
प्रशान्त उप्रेती ‘भुइँमान्छे’,
पेरिस, फ्रान्स



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










