सेप्टेम्बर २४, २०२५ । कायरो अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुनै लाग्दा झ्यालपारि दुइटा संसार एकैसाथ खुलिरहेका थिए: एकातिर मरुभूमिको सुनौलोपन, जहाँ समय स्थिरजस्तो लाग्थ्यो; अर्कोतर्फ कायरो शहर, जहाँ जीवन धुवाँ र धुलोसँगै हतारमा बगिरहेको थियो ।
क्षेत्रफलका हिसाबले संसारका दश ठूला विमानस्थलभित्र पर्ने यो विशाल विमानस्थलमा अवतरण गरेपछि गेटसम्म पुग्न निकैबेर लाग्यो । विमानको ढोका खुल्नासाथ तातो हावाको झोँक्का भित्र छिर्यो । श्रीमती तेजस्वीले मुस्कुराउँदै भनिन्, “अन्ततः मेरो बकेट लिस्ट ।” म मौन थिएँ- तर त्यो आवाजसँगै मभित्र पनि सदियौं पुरानो सभ्यताको ढोका खुलिरहेको महसूस भयो ।
टर्मिनल–३ अस्तव्यस्त नै थियो भन्नुपर्छ । सामान लिने बेलामा ‘कन्वेयर बेल्ट’ घुमिरह्यो । एउटै रातो झोला तीन चोटि घुम्यो, तर हाम्रो सामान भने आएन । त्यो पर्खाइले अचानक त्रिभुवन विमानस्थलको एउटा घटना सम्झाइदियो । त्यो दिन पनि त्यस्तै भयो- सामान आउन निकै ढिलो । कन्वेयर बेल्ट घुमिरह्यो, हामी भने पर्खिंदा पर्खिंदा थाकिसकेका थियौं । त्यही बेला भीडबीच एक महिला उच्च स्वरमा कराउन थालिन्- “ए भाइ, सामान नहीँ आ रहा है ! क्या हो रहा है ?’’ एकैछिनमा भुइँमा यताउता हेर्दै भन्न थालिन्, “अरे बाफरे बाफ, हमारा ह्यान्ड क्यारी भी गायब होगया !”
सामान लिएर बाहिर निस्कँदा एकपछि अर्को चेकजाँच भयो । इमिग्रेसनबाट निस्कन पाएको छैन अर्को लाइन थियो । त्यहाँ एक जना उभिएर फेरि एकपल्ट पासपोर्ट चेक गर्दै थिए । त्यहाँबाट उम्किएपछि पनि राहत भएन, अर्को लामो लाइन थियो, त्योचाहिँ सामान जाँच गर्ने रहेछ ।
केही मिनेटदेखि लाइन हलचल गरेको थिएन । देब्रेपट्टिबाट आउने यात्रुहरू हाम्रो पछाडि आउन छोडेर अगाडि गएर लाइनमा मिसिँदै थिए । त्यो देखेर पछाडिबाट एउटा अधबैंसे मानिसले ठूल्ठूलो स्वरमा फलाक्दै हिजाब ओढेकी एउटी हजुरआमालाई ठेले । हजुरआमा लड्खडाइन्, कार्ट एकातिर गयो, उनी अर्कातिर । तर उनले केही पनि भनिनन् । अनुहार स्थिर- न रिस, न विस्मय । हजुरआमाको अनुहारमा एउटा विशाल देश र पुरानो सभ्यताको सहनशिलता झल्किरहेको थियो ।
एउटी वृद्ध आइमाईलाई त्यसरी ठेलेको देखेर पछाडिबाट एक यात्रुले आवाज उठाए । उनले ती अधबैंसे मान्छेलाई हप्काए र तुरुन्तै दुवैबीच बाझाबाझ सुरु भयो । हाम्रो अगाडि उभिएका दुई युवती पनि त्यस अधबैंसेको पक्ष लिएर बाझाबाझमा भाग लिए ।
हामी अघि बढ्ने नामोनिशान थिएन, भीडमा ठेलमठेल चलिरहेकै थियो ।
वादविवाद शान्त भएपछि हाम्रो अगाडिका ती दुई युवतीमध्ये एकले ‘आइ होप, दिस इज नट योर फर्स्ट ट्रिप टु इजिप्ट’ भनिन् । तेजस्वीले ‘इन फ्याक्ट, इट इज’ भन्न नपाउँदै जवाफमा ती युवतीले ‘वेलकम टु इजिप्ट’ भनिन् । उनको स्वरमा व्यंग्य र आत्मीयता दुवै मिसिएका थिए ।
टर्मिनल बाहिर निस्कँदा ‘ट्याक्सी’ ‘पिरामिड’ ‘होटेल’ भन्ने आवाजहरूले कान भरिए । एकजनाले पछ्याएर छोड्दै छोडेनन् । होटेल जान कति पैसा लिन्छौ भनेर सोद्धा पचास डलर भने । ट्याक्सीमा १०-१५ डलर पर्छ भन्ने पढेको थिएँ, हामी २० डलरसम्म दिन तयार थियौं । एक घण्टा लाग्छ भन्दै बार्गेनिङ सुरु भयो । पैसा घटाएर ३५ हुँदै अन्तत: २५ मा झारे ।
हामी सामान लिएर बसी नै रहेका थियौं- ट्याक्सी स्ट्यान्ड खोज्दै । हामी मौन बसेपछि हार मानेर ‘यु क्रेजी पिपुल’ भन्दै टर्मिनलतर्फ गए । तुरुन्तै छेवैमा उभिएका अर्को एकजनाले २० डलरमा लग्छु भने, हामीले हुन्छ भन्यौं ।
कायरोको ट्राफिक, धुवाँ र धुलो छिचोल्दै करिब पैंतालीस मिनेटमा हामी होटल पुग्यौं । मेरियट मेना हाउस बुक गर्ने निर्णयमा मेरोभन्दा बढी हात थियो छोरी मेधावीको । “धेरै महँगो छैन भने मेरियट मेना हाउस बुक गर्नु है,” उनले भनेकी थिइन् । उनी पनि हामी पुगेको भोलिपल्ट बैंककबाट लामो उडान लिएर आउँदै थिइन् ।
सामान बेलब्वोयले जिम्मा लिँदा यात्राको तौल पनि हलुका भएको महसूस भयो । रिसेप्सनमा औपचारिकता सकेपछि ‘वेलकम, आइ एम एलिया’ भन्दै एउटी इन्टर्न अघि बढिन् । उनले लगाएको कालो कोट, कालै स्कर्ट, रंगीचंगी स्कार्फ, लजालु आँखा र आतिथ्यले वातावरणमा केही ताजगी थपे जस्तो लाग्यो ।
होटेलबारे जानकारी दिँदै कोठामा लगिन् । भुइँतलाको त्यो कोठा सुन्दर त थियो, तर झ्यालबाट देखिने दृश्य रूखबिरुवाले अलिक छेकेका थिए । मैले हल्का मुस्कानका साथ भनें, “खासमा मैले होटेल बुक गर्दा माथिल्लो तल्लाको कोठा अनुरोध गरेको थिएँ ।”
उनले तुरुन्तै रिसेप्सनमा फोन गरिन् र बटन थिच्दै शिष्ट स्वरमा केही भनिन् । फोन राखेपछि ‘ल अर्को कोठामा जाऊँ’ भनिन् ।
त्यो नयाँ कोठा खोल्दा थाहा भयो- हाम्रो कोठा होटेलको सबैभन्दा माथिल्लो अर्थात् चौथो तलामा रहेछ । झ्यालपारि पिरामिडको छाया टल्किरहेको थियो । त्यो दृश्यमा कुनै शब्द आवश्यक थिएन- इतिहास आफैं बोलिरहेको थियो ।
म बाल्कोनीमा निस्किएँ । बेलुकाको घामले पिरामिडका पर्खालहरूमा सुनौलोपन पोतिरहेको थियो । तल बगैंचामा खजुरका रूखहरू सुस्त हावासँग हल्लिरहेका थिए, बोगनभेलियाका फूलहरूले आकाशको रङसँगै आफैंलाई फिँजाइरहेका थिए । भुइँमा कार्पेट ओछ्याए जस्तो घाँस थियो । अलि पर पानीका फोहराहरू देखिन्थे । फोन हातमा लिएँ, फोटो आफैं खिचिए जस्तो लाग्यो । घाम, रूख, पानी र समय- सबै मिलेर मेरो फ्रेममा एउटा युगको मौनता उतारिरहेका थिए ।
राति सुत्दा मैले पर्दा लगाइनँ, पिरामिड मेरो छेवैमा सुतिरहेको थियो । जूनको उज्यालोले हामी दुवैलाई अझ चम्काइरहेको थियो ।
बिहान उठ्नासाथ कफी लिएर बार्दलीमा गएँ । त्यहाँबाट हेर्दा पिरामिड एउटा पहाड जस्तो लाग्यो मलाई तर त्यसमा बोटबिरुवा थिएनन्, थिए त केवल स्मृति र इतिहासका तहहरू । पहाड अगाडि उभिँदा म सानो र विनम्र महसूस गर्दछु । पहाडमा जन्मिएको म, पहाडलाई सम्मान गर्छु- देवत्वको रूपमा, पवित्र शक्तिको अवतार भनेर र प्राकृतिक सुन्दरताको अनुपम देन मानेर ।
त्यो दिन मेधावी आउने दिन । बिहानै लबीमा गएर पर्खिरहेँ । थाकेकी हुनाले उनी कोठामा आइपुग्नासाथ केहीबेर पिरामिडको आनन्द लिएर सुतिन् ।
तेजस्वी र म ब्रेकफास्ट खान गयौं । हामीले रेस्टुरेन्टको बाहिर पानीको छेउको टेबल रोज्यौं । टेबलको अर्को छेउमा हाम्रो मौन सहयात्रीझैं पिरामिड उभिएको थियो । ‘ऐश बलादी’, तामेया/इजिप्सियन फालाफेल र ताजा फलफूलले प्लेट र पेट दुवै भरियो ।
मेधावी उठेपछि त्यो दिन कायरो शहर घुम्ने योजना बनायौं । पिरामिड भने भोलिपल्ट मात्र जाने निधो भयो । हामीले चाह्यौं, मेधावीको थकान पूरै ओझेल परोस् अनि मात्र पिरामिड जाने हो जोश र जाँगरका साथ ।
त्यो दिउँसो हाम्रो पहिलो गन्तव्य ‘खान–एल–खलिलि’ बजार थियो- जहाँ सुन, मसला र इतिहास एउटै गल्लीमा बेचिन्छन् भन्ने सुनेका थियौं । त्यहाँ जान उबर बोलाउने सुरसार भयो । उबर तुरुन्तै उपलब्ध थियो, तर त्यो हामीले जाने-बुझेको उबर थिएन । न एपमा भरोसा, न भाडामा स्थिरता । चालकसँग मेसेजमा कुरा हुन थाल्यो । उनले थप पैसा मागे । मैले अर्को उबर बोलाएँ- तर उही चाल । तोलमोल हुन थाल्यो । तेस्रो उबर बोलाएँ, उनी भने केही नभनी आए । उनलाई थप पैसा दिएँ, किनकि कहिलेकाहीँ शान्त व्यवहार पनि सौदाबाजीकै एउटा रूप हुन्छ ।
उबरबाट उत्रनासाथ बजार सुरु भइहाल्यो । त्यहाँ के बेच्न राखिएको थिएन होला ? ल्याम्प, तामाका भाँडाहरु, थानका थान कपडा, थरिथरिका लुगा, मसला, सबै कुरा ।

पसलेहरू बाटोमा बसेर ग्राहक बोलाइरहेका थिए । ‘हेर मात्रै, किन्नु पर्दैन,’ एउटा पसलेले भने । अलि पर गएपछि तेजस्वीलाई ‘वेलकम ब्याक’ भने एक पसलेले । मेधावी र म मूर्छा परेर हास्यौं । अर्को पसले ‘इन्डियनलाई मात्र सस्तो छ, आज मात्र’ भन्दै थिए ।
त्यहाँ करिब एक किलोमिटर हिँडिसकेपछि हामी बाहिर निस्कियौं । केही किनेनौं ।
उबर लिनको लागि त्यो भीडभाडमा गाह्रो हुने भएकोले हिँड्दै अलि परसम्म गयौं तर भीड सकिएन । निकैबेर हिँडेपछि उबर बोलायौं । उबर चढ्दा अलिअलि अंग्रेजी बोल्ने चालकले ‘यहाँ किन आएको ? खतरा छ’ भनेर हप्काए । तेजस्वीले कारको खुला झ्यालबाट फोटो खिच्दा ‘हुँदैन, फोन लुटेर लान्छन्’ भने । बाटोमा त्यो क्षेत्रमा ‘फेरि नआउनू’ भनेर चेतावनी दिए । लाग्थ्यो- हामीभन्दा उनी बढी चिन्तित थिए ।
उनले नील नदीको किनारमा रहेको ‘सोफिटेल होटेल’अगाडि लगेर रोके । मैले होटेलको तल्लो तलामा रहेको बैंकमा गएर पैसा साटेँ । त्यसपछि हामी बाटो क्रस गरेर हिँड्दै नील नदीतर्फ गयौं ।
नदीको किनारमा हिँड्ने ठाउँ रहेछ, तर त्यहाँ जान पैसा तिर्नुपर्थ्यो । म त्यस दृश्यमा केही क्षण अडिएँ । नदी त सबको हो, तर यहाँ उसैको भएको थियो, जसले टिकट किनेको थियो । सायद भीड घटाउने बहाना थियो त्यो नियम, तर म सोच्थें- भीडभन्दा गहिरो समस्या त त्यो मौन असमानता होइन र ?
नदीको किनारमा बग्रेल्ती पसलहरु रहेछन्, खासगरी रेस्टुरेन्टहरू । नदीको पानीमा डिजेलको गन्ध आइरहेको थियो, थुप्रै डुंगाहरु ओहोरदोहोर गरिरहेका थिए ।
स्कूलमा पढेको याद आयो । नील मिस्रको जीवनरेखा हो । यसले देशका अधिकांश जनतालाई पानी, उर्वर माटो र जीविकोपार्जनको आधार प्रदान गर्छ । पाँच हजार वर्षभन्दा बढी समयदेखि यसले मरुभूमिबीच सभ्यताको जन्म र विस्तार सम्भव बनाएको छ । आर्थिक महत्वसँगै नील नदी मिस्रका लागि जीवन, पुनर्जन्म र निरन्तरताको सांस्कृतिक प्रतीक पनि हो ।
संसारका थोरै नदीहरूमा पुग्दा मात्र शिर आफैं झुक्छ । त्यो झुकाइ कुनै नियमले बाँधिएर झुकेको होइन । त्यो आत्माले महसूस गरेको विनम्रता हो,जहाँ पानी समयजस्तै बगिरहेको हुन्छ र बगिरहेको त्यो विशालताभित्र मानव सभ्यता र धर्मको पहिलो स्वर मिसिएको हुन्छ ।
नील नदी पनि शिर झुक्यो । शिर झुकाएको त्यो पलमा मैले महसूस गरेँ- प्रकृतिप्रतिको श्रद्धा धर्म मात्र होइन, मानवताको सबैभन्दा पुरानो अनुशासन हो । पानीका छालहरू लयबद्ध भएर बोलिरहेका थिए । हजारौं वर्षका साम्राज्य, प्रेम र युद्धहरूले बुनिएको कथाहरु सम्झाईरहेका थिए ।
केहीबेर नदी किनारको त्यो मान्छेमात्र हिँड्ने चिल्लो बाटोमा हिँड्यौं । छेउछेउमा बत्तीहरू पानीमा परावर्तित भएर नाचिरहेका थिए । अनि, एउटा यात्रुवाहक डुंगामा चढेर आधा घण्टा नदीमा घुम्यौं । नदीको दुवैतर्फ, होटेलहरू, अपार्टमेन्ट बिल्डिङ, अफिसहरू र घरहरू देखिए । शहरको झिलिमिली बत्ती देखियो ।

डुंगाको म्युजिक बिस्तारै तेज हुँदै गयो र नाच शुरु भयो । महिला यात्रु भए पनि पुरुष मात्र नाचिरहेका थिए । अचानक एकजनाले मेरो हात समाते । म पहिले त झस्किएँ, तर उनको मुस्कानले ढाडस दियो । ‘कम माई फ्रेन्ड !’ उनले तान्दै भने । म उनीहरूको घेराभित्र परेँ । म्युजिकको तालसँगै शरीर आफैं हल्लियो- नाच सिकाउने होइन, साझा लयमा बाँध्ने प्रयास थियो त्यो ।
फोटो र भिडियो खिचिए । तर तस्वीरमा कैद भएको केवल हामी थिएनौं, पानीमाथि बगिरहेको जीवनको उमंग पनि थियो ।
त्यहाँबाट निस्किँदा रात पूरै नील नदीमाथि फैलिसकेको थियो । हामी नदी छेउको एउटा सानो रेस्टुरेन्टतिर लाग्यौं । कोसरी दाल जुन पास्ता, भात, गोलभेंडाको सस, केराउ, र प्याजले बनेको हुन्छ, खायौं । हाम्रो वरिपरि खाना खाने भन्दा हुक्का तान्नेहरु बढी थिए । सबै मज्जाले बसेका थिए कुनै हतारबिना ।
खाना खाइसकेर एउटा ट्याक्सी लिएर होटेलतर्फ लाग्यौं । चालकले ट्याक्सी यसरी चलाए कि त्यो दिन अन्तिम दिन नै हो रहेछ जस्तो लाग्यो । होटेल आइपुगेपछि लामो सास फेर्यौं ।
भोलिपल्ट बिहान ठ्याक्कै आठ बज्दा हामी होटेलको लबीमा भेला भयौं । त्यहाँ अरू पनि मानिसहरू थिए । घाम ताजै थियो- हावामा बिहानको चमक मिसिएको । अनुहारहरूमा त्यो उत्साह झल्किएको थियो, जस्तो कुनै पुरानो सपना पूरा हुन लागेको होस् । ह्याट, गगल्स, ब्याकप्याक र त्यसभित्र पानीको बोतल- सब तयार थिए ।
एउटा ठूलो बस आएर हामी सबैजनालाई सँगै लैजान्छन् होला भनेर सोचेको थिएँ, तर भयो त उल्टो । हामी तीन जनालाई एउटा गल्फ कार्टमा हालेर होटेलका एकजना स्टाफले पिरामिडको ब्याक डोरतर्फ लगे । गेस्टहरूलाई त्यो गेटबाट प्रवेश गराउन होटेलले विशेष अनुमति लिएको रहेछ । अन्ततः हामीलाई पिरामिडको उत्तरतर्फको गेटमा लगेर छोडिदिए ।
त्यो बेला त्यो गेटमा हामी मात्र थियौं, ग्रेट पिरामिड ढाडमा थियो । फोटोमा देखेको र आफूले कल्पना गरेको भन्दा ठूलो रहेछ । पिरामिड देखेर उत्साह र खुशीको सीमा रहेन । गीजाको पिरामिड कुनै ठाउँ मात्र होइन रहेछ, एक अनुभूतिको रूपान्तरण हो रहेछ- समय र इतिहासको चमत्कार ।

संसारका पुराना सात आश्चर्यमध्ये ६ वटा ढलिसकेका छन्, चारवटा भुइँचालोले र दुईवटा आगोले । तर पिरामिड बाँचेको छ । अझै कति समयसम्म बाँच्छ, टुंगो छैन । संसारको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’ बढीमा डेढ सय वर्ष टिक्ने अनुमान गरिएको छ, तर पिरामिड चार हजार पाँच सय वर्ष बाँचिसकेको छ । संसारका नयाँ सात आश्चर्यमा पिरामिड समावेश छैन । सन् २००७ मा भएको अनलाइन मतदान सूचीमा यसलाई राखिएको थिएन, किनकि यो पहिले नै प्राचीन विश्वका सात आश्चर्यमध्ये एक थियो । यद्यपि यसको अनुपम ऐतिहासिक महत्त्वलाई सम्मान गर्न ‘सम्मानार्थ (honorary) उम्मेदवार- आठौं आश्चर्य’ भनेर मान्यता दिइएको थियो । यो उपाधिले पिरामिडलाई अन्य सबै आश्चर्य भन्दा पृथक बनाउँछ- आश्चर्य भन्दा पनि आश्चर्यको रूपमा ।
चित्रमा हेर्ने र ढुंगाको कल्पना गर्ने कुरा अलग हुन्छ; तर त्यहाँ गएर हेर्नु र छुनु भने बिल्कुलै अर्को अनुभव रहेछ । मैले सोचेभन्दा ढुंगा धेरै ठूला थिए- कुनैकुनै त हात्ती जत्तिकै गह्रुँगा । एउटा घामले तातेको ढुंगालाई छोएँ । त्यो ढुंगालाई मजस्तै हजारौं-लाखौं मान्छेले छोएका होलान् । त्यो ढुंगाले मलाई सम्झिँदैन, तर म भने उसलाई सम्झिरहन्छु जीवनभर ।
ती ढुंगाहरूलाई साढे चार हजार वर्षअघि कसरी लम्बाइ, चौडाइ र उचाइ मिलाएर काटियो होला ? कसरी मिलाएर त्रिकोणात्मक आकार दिइयो होला ? भनिन्छ, ती ढुंगाहरूको बीचमा एउटा रेजर ब्लेड पनि छिर्न सक्दैन । कसरी त्यति गह्रौं ढुंगाहरूलाई उचालेर १३९ मिटर अग्लो उचाइसम्म लान सकियो ? कसरी पूर्व-पश्चिम उत्तर-दक्षिण मिलाएर राखियो ? दिशा यति सटिक छ कि अहिले अत्याधुनिक प्रविधि प्रयोग गरेर पनि त्यति ‘एक्युरेट’ बनाउन सकिन्न । त्यस बेलामा पनि खगोलशास्त्र त्यति धेरै विकास भइसकेको रहेछ ।
कसै-कसैले एलियनले बनाएको पनि भन्दा रहेछन् । उत्तर कहीँ कतै लेखिएको छैन, पिरामिड मात्र प्रमाण छ, त्यसकै आधारमा अनुमान गर्ने हो ।
खुफु राजाको चिहान राख्न ग्रेट पिरामिड बनाइएको रहेछ । त्यो बेला कात्रोमा गोजी हुँदोरहेछ । मरेपछि चाहिन्छ भनेर खरखजाना, जुहारत, हातहतियार, खाना, रक्सी, ओढ्ने ओछ्याउने र फर्निचर आदि पनि लाशसँगै गाड्ने चलन रहेछ ।
प्रवेश गर्ने एउटा टिकट र पिरामिडभित्र जाने अर्को टिकट हातमा थियो । भित्र जाने द्वार हाम्रै सामु थियो । हामी केही खुट्किला माथि चढेर भित्र पस्यौं । त्यो क्षणमा लाग्यो- हामी केवल पिरामिडभित्र पसेका होइनौं, समयकै गर्भभित्र छिरेका थियौं ।
कहीँ उठेर हिँड्नुपर्ने, कहीँ निहुरिएर हिँड्नुपर्ने र कहीँ बसेर बामे सर्नुपर्ने रहेछ । कहीँ ठाडै उकालो भर्याङ चढ्नुपर्ने थियो । घुँडा र ढाडको समस्या हुने अनि क्लस्ट्रोफोबिक मान्छेलाई जान गाह्रो हुने रहेछ ।
माथि पुग्दा एउटा ठूलो ग्यालरी रहेछ । ग्यालरीको भित्तामा कुनै चित्र अंकित गरिएको रहेनछ, केवल ढुंगा मात्र । एक छेउमा टुम्ब थियो । त्यो खाली थियो । राजाको शरीर र सबै सामान पहिले नै लुटिएको भन्ने मान्यता रहेछ । त्यहाँ एउटा दुलो थियो- त्यो खुफु राजाको आत्मा जाने बाटो रहेछ ।
गर्मीले हपहप बनायो । फोटो खिचेर फर्कियौं ।
त्यहाँबाट ग्रेट पिरामिडलाई देब्रे पार्दै हामी दोस्रो ठूलो पिरामिडतर्फ अघि बढ्यौं । बाटोभरि मेरा आँखाहरूले ग्रेट पिरामिडलाई हेर्न छोडेका थिएनन् । त्यहाँ फेददेखि टुप्पोसम्म चारैतिर मैले बोटबिरुवा वा चराचुरुंगी केही देखिनँ । आकाशबाट झरेका चराचुरुंगीहरूको फोहोर सफा गर्नेदेखि अन्य संरक्षण र सम्वर्द्धनका कामहरू गरिएको रहेछ । पानी कम पर्ने मरुभूमि भए पनि भू-क्षयका कारण पिरामिडको उचाइ केही घटेको रहेछ ।
दोस्रो ठूलो पिरामिड खुफु राजाको छोरा ‘खाफ्रे’को रहेछ । त्यहाँ गएर केहीबेर रमायौं । तेस्रो चाहिँ खुफु राजाको नातिको रहेछ । त्यो दोस्रोभन्दा अझै सानो थियो । इजिप्टमा करिब ११८ वटा पिरामिड रहेछन् ।
खाफ्रे राजाको पिरामिडको ठीक अगाडि बस स्टप थियो । वरिपरि घुम्न नि:शुल्क शटल बसको व्यवस्था रहेछ । मरुभूमिको त्यो टन्टलापुर घाममा हिँड्नुपरेको भए साँच्चै ‘बाउको बिहे’ देखिन्थ्यो होला ।
हामी बस लिएर स्फिङ्क्स गयौं । मरुभूमिको अर्को छेउमा, पिरामिडको मौन छायामा, एउटा अदृश्य प्रहरी उभिएको छ- स्फिङ्क्स । सिंहको शरीर र मानिसको अनुहार लिएर समयसँग संवाद गरिरहेको त्यो मूर्ति, घाम-छायाको खेलमा कहिले सुनौलो, कहिले गम्भीर देखिन्छ । त्यहाँ त्यो बेलाका राजालाई शक्ति र ज्ञानको प्रतीकको रुपमा चिनाउन खोजिएको रहेछ ।
बाटोमा पसलहरू छिचोल्दै जानुपर्ने थियो । पसल मात्र हैन हात-हातमा सामान लिएर बेच्नेहरु पनि प्रशस्तै थिए । ‘उपहार किन्नुस्’ भन्दै थिए उनीहरू । नकिन्दा अलिक रिसाउने पनि रहेछन् । त्यो प्रचण्ड गर्मीमा हातमा सामान लिएर घण्टौं कुर्दा पनि कसैले नकिनी दिँदा अलिअलि रिस त सबैलाई उठ्छ होला । एकजनाले निकै पछ्याए, अनि सामान नकिन्दा ‘यु क्रेजी टुरिस्ट’ भदै रिसाए ।
हजारौं वर्षको हावाले स्फिङ्क्सको अनुहार छोपिसकेको छ, तर दृष्टि अझै टल्किरहेको छ- न आकाशमा, न पृथ्वीमा, केवल अनन्तमा । ढुंगाको ओठमा कुनै शब्द छैन, तर प्रश्नहरू छन्- मानव र देवत्वबीचको रेखा कता हो? त्यो मौनता आफैं एउटा भाषा बनेर, पिरामिडभन्दा पनि पुरानो कथा सुनाइरहेछ ।

त्यहाँबाट ठूलो पिरामिड मज्जाले देखिने हुनाले टिकटकवाला केटीहरू व्यस्त देखिए । उनीहरू लुगा फेरीफेरी टिकटक बनाइरहेका थिए ।
त्यो घुमेर हामी बस चढेर अवलोकन केन्द्र गयौं । त्यहाँ पुग्दा पाँच हजार वर्षको इतिहास छोडेर आजको आधुनिक युगमा उत्रेजस्तो लग्यो । आधुनिक घरहरूमा अत्याधुनिक क्याफे र पसलहरू थिए । पैसा तिरेर प्रयोग गर्ने शौचालयमा लामो लाइन थियो । कफी पिएर हामी त्यही परिसरमा भौतारिन थाल्यौं ।
अलि परको डाँडाबाट एकातिर तीनवटै पिरामिड देखिए भने अर्कोतर्फ ऊँटमा घुमिरहेका दर्जनौं मानिसहरू टाढा-टाढासम्म देखिए । ऊँटका मालिकहरू हामीलाई ऊँट चढ्न आग्रह गरिरहेका थिए । ‘यहाँबाट फोटो खिच्दा राम्रो देखिन्छ, म खिचिदिन्छु, तल आउनुस्’ भन्दै थिए उनीहरू । त्यहाँबाट धेरै जना उँट वा घोडाको बग्गी चढेर मरुभूमि घुम्न जाँदा रहेछन् ।
अब हामी सबैभन्दा पहिले चढेको बस स्टपमा गयौं । त्यहाँ पनि ऊँट चढेर घुम्न सकिने रहेछ । तेजस्वीले ‘जनावरको दुरुपयोग’ भन्दै चढ्न मानिनन् । ‘ऊँटहरू राम्रोसँग खुवाइएका छन्,’ मालिकले भने । म र मेधावी ऊँटमा चढेर घुम्न गयौं- पाँच/पाँच मिनेटका लागि ।
मध्याह्न टर्दै जाँदा घाम र मरुभूमि मिलेर राज गरिसकेका थिए । घुमेको साढे चार घण्टा भइसकेको रहेछ, हामी थाकिसकेका थियौं । त्यहाँबाट उही ग्रेट पिरामिडको छेउ हुँदै बिहान आएको गेटतर्फ गयौं । फोन गरेर गल्फ कार्ट बोलायौं र होटल फर्कियौं । हिँडेरै फर्केको भए पनि मुस्किलले पाँच मिनेटको बाटो थियो ।
होटलमा फर्कंदा भोलिपल्ट हुने बिहेको तयारी हुँदै थियो । स्टेज बनाउने काम चलिरहेको थियो । बेहुला-बेहुली रिहर्सल गरिरहेका थिए ।
हाम्रो भने फोटो र टिकटक खिच्न बाँकी थियो, त्यसमा व्यस्त भयौं । बेलुका रेस्टुरेन्ट बाहिर बसेर खाना खायौं ।
भोलिपल्ट बिहानै उठेर एयरपोर्ट गयौं । सुरक्षा जाँच नै तीन पटक भयो । मनमनै सोचें- इजरायलमा भन्दा त कमै हो ।
जब हामी उड्यौं, कायरो सानो हुँदै गयो । त्यसको मतलब त्यो शहर कम भएको थिएन । प्लेनका बत्ती निभे । मैले आँखा चिम्लेँ र सम्झेँ- खुला बजारमा भएका ल्याम्पहरू, पिरामिड र नील नदी । लाग्यो- मैले पिरामिडको पुस्तक आधासम्म मात्र पढेको छु र बाँकी पाना पछि पढ्ने भनेर बीचमा औंला राखेर बसेको छु । कुनै दिन, जब हावा सही दिशामा चल्नेछ, त्यो पुस्तक फेरि पल्टाउँछु र पढ्न थाल्नेछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










