प्राक्कथन

नेपाली कथा साहित्यको इतिहास कोट्याउने हो भने साहित्यको कालक्रमको मान्यता अनुसार १९३५  (वि.सं. १९९२) मा सीमारेखा कोरेर पहिलो आधुनिक कथा गुरुप्रसाद मैनालीको ‘नासो’ (वि.सं. १९९२) कथालाई मानिएको छ । तर वास्तविकतामा समालोचकहरू दार्जीलिङका (आप्रवास) रूपनारायण सिंहको १९२७ मा प्रकाशित ‘अन्नपुर्णा’(वि.सं. १९८४) कथालाई पहिलो आधुनिक कथा मान्नु पर्ने भनि वकालत गर्दैछन् । यसैबाट नेपाली साहित्यको इतिहासमा आप्रवासी नेपाली साहित्यकारको महत्त्वपूर्ण भूमिका रहेको वास्ताविकतालाई नकार्न सकिँदैन ।

यसरी नेपाली कथा साहित्यको आधुनिक युगको सीमा निर्धारण गर्दै आजको मितिसम्म आइपुग्दा हजारौं संख्यामा नेपाली कथासंग्रह प्रकाशित भइसकेका छन् । प्रारम्भमा आप्रवासी साहित्यकार भन्नाले भारतीय र म्यानमारका नेपाली साहित्यकार भन्ने बुझिन्थ्यो भने आजको मितिमा आप्रवासी शब्दले युरोप, अमेरिका, क्यानडा, जापान, कोरिया र खाडी मुलुकका सथै विश्वभरीका देशहरूमा रहेका नेपाली लेखकहरू भन्ने बुझिन्छ । आप्रवासको वास्तविक जीवन शैली र देशप्रेमले ओतप्रोत लेखनशैली यिनका रचनामा पाइन्छ । यस क्रममा आप्रवासमा बसेर आफ्ना अनुभव र विचारलाई कथामा बयान गर्दै लेख्ने कथाकारहरूको पंक्तिमा दिलिप पौडेल उपस्थित भएका छन् । क्यानडामा बसेर साहित्य कर्म गर्ने दिलिप पौडेलको ‘ब्लफर्स डायरी’(२०२४) कथासंग्रह प्रकाशित भएको छ ।

क्यानडामा नेपाली भाषासाहित्य र संस्कृतिप्रतिको जागरण १९९१ देखि शुरू भएको देखिन्छ । त्यस्तै १९९३ बाट शुरू भएको पत्रिका प्रकाशन लाली गुराँसको दुई अङ्कपछि दियालोबाट निरन्तरता पाउँदै गयो । दियालोको प्रकाशनसँगै क्यानडामा साहित्यिक गतिविधि शुरू हुन्छ । यसको सम्पूर्ण श्रेय किरण ढुङ्गानालाई जान्छ । उनको प्रयासबाट शुरू भएको नेपाली संस्था र पत्रिकाको प्रकाशनपछि नेपाली साहित्यकर्मीका सिर्जनाले ले पनि प्रकाशनको उज्यालो देख्ने मौका पाउन थाल्छ ।

दियालोका पुराना अङ्क पल्ट्याएर हेर्दा क्यानडामा नेपालीले लेखेको पहिलो कथा र कथाकारका रूपमा हामी शारदा ढुङ्गानालाई लिन सकिन्छ । उनको ‘हामी’ र्शीषकको कथा दियालोको अङ्क ४:१, मार्च १९९७ मा प्रकाशित भएको थियो ।  हुन त त्यसभन्दा अघि दियालोको अङ्क २:२, जुन १९९५ मा नेपालका वरिष्ठ साहित्यकार भुवन ढुङ्गानाको ‘परिचय’ लघुकथा प्रकाशित भएको देखिन्छ । तर कथाकार क्यानडाको नभएकोले शारदा ढुङ्गानालाई नै क्यानडाको पहिलो कथाकार मान्नु पर्छ । त्यसपछि यहाँबाट कथा सिर्जना गर्ने कथाकारहरूको संख्या बढ्दै गएको देखिन्छ ।

आ–आफ्नो संग्रह बाहेक संयुक्त रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘अन्तरदेशीय नेपाली कथाहरू’(२०१९) र  कृष्ण कुसुम र गणेश घिमिरेको सम्पादनमा प्रकाशित ‘परदेशका कथा’(२०२०) मा क्यानडाका कथाकारहरू पनि समाविष्ट छन् ।  २०१९ मा राजमित्र प्रज्ञा प्रतिष्ठानले बोस्टनमा ‘उत्तरअमेरिका कथा वाचन’ कार्यक्रमको आयोजनामा उत्तरअमेरिकाका १५ जना कथाकारको कथा वाचन भएको थियो । यसरी अमेरिका र क्यानडामा कथा विधाको विकास र विस्तारको क्षेत्रमा केही सकारात्मक काम भएको देखिन्छ । कथा संग्रहका रूपमा क्यानडाबाट पहिलो संग्रह २०११ मा सुरेन उप्रेतीको अनन्त यात्रा प्रकाशित भएको थियो । त्यसपछि डा.गोविन्दसिंह रावतको गङ्गा (२०१४), सुरेन उप्रेतीको सगरमाथाकी छोरी (२०१७ बालकथा), प्रेयशी रोबर्ट (२०२०), केहरसिंह गुरुङ्गको विकृतिका अग्ला पर्खालहरू (२०१८), गलत पाइला (२०१९), कुसुमाकर शर्मा गौतमको हिउँको राप, (२०२३) र  दिलिप पौडेलको ‘ब्लफर्स डायरी’ (२०२५) प्रकाशित भएको देखिन्छ । पछिल्लो पटक प्रकाशित दिलिप पौडेलको ‘ब्लफर्स डायरी’ कथासंग्रहमा भएको कथाहरूलाई नियाल्ने जमर्को यहाँ गरिएको छ ।

 

शीर्षकको सार्थकता

नाममा के छ र जे छ नाममा नै छ भन्ने यी शब्दले धेरै अर्थ राखेको हुन्छ । पुस्तकको शीर्षक राख्ने काम धेरै नै महत्त्वपूर्ण हुन्छ । सबै साहित्यकार आफ्ना पुस्तकको आवरण र शीर्षक पाठकलाई आकर्षित गर्ने खालको राख्न चाहन्छन् । खोज्दै गयौं भने नेपाली साहित्यमा अङ्ग्रेजी शीर्षकमा पुस्तक प्रकाशन गर्ने साहित्यकारहरूको फेहरिस्त नै बन्न सक्छ । क्यानडाबाट यसअघि किरण ढुङ्गानाको ‘मोन्ट्रियल क्याफे’  निबन्धसंग्रह अंग्रेजी शीर्षकमा प्रकाशित भएको थियो । हुन त (२०१९), हरी शिवकोटीको ग्रीनकार्ड (उपन्यास २००५), र  कुसुम ज्ञवालीको सिएन टावर, (उपन्यास, २०२०), प्रकाशित भएको बारे सुनिए तापनि यि कृतिहरू देख्न र कृतिको कतै परीचर्चा भएको देखिएको छैन ।

नेपाली कथा साहित्यलाई (कथाहरूको अंग्रेजी अनुवाद) आप्रवासमा पहिलोपटक अंग्रेजीमा अनुवाद गरेर चिन्काउने काम माईकल हटले सन् १९६८ मा ‘नेपाली सर्ट स्टोरिज’ अंग्रेजी शीर्षकमा प्रकाशित गराएका थिए । क्यानडाका केही कथाकारहरूका कथाहरूको अंग्रेजी अनुवाद गैरआवासीय नेपाली संघको भाषासाहित्य उपसमितिबाट उत्तरअमेरिकाका कथाकारका कथाहरू अंग्रेजीमा डिस्टेन्ट रेज (२०१९) मा प्रकाशित भएको थियो । अंग्रेजीमा शीर्षक राखेर संग्रह निकाल्ने क्यानडाका पछिल्ला कथाकार दिलिप पौडेलले राजेको शीर्षक पनि आकर्षित बनेको छ ।

‘ब्लफर्स पार्क’ क्यानडाको अन्टारियो प्रान्तको स्कारबोरो शहरमा पर्ने एउटा पार्कको नाम हो । यसको इतिहास कोट्याएर हेर्दा आजको स्कारबोरो ब्लफहरू १२,००० वर्ष पछि आएका ग्लेशियरको असरबाट बनेको मानिन्छ । फ्रेन्चहरूले यस स्थानलाई ‘लेस ग्रान्ड्स इकोरेस’ भनेका थिए । एलिजाबेथ सिम्कोले १७९६ मा यो क्षेत्रमा ‘स्कारबोरो’ नामकरण गरेकी थिइन् । १९६० मा टोरन्टो रिजन कन्जर्भेसन अथोरिटीले जमिन अधिग्रहण गरेर १९७५ मा पहिलो चरणको काम सम्पन्न गरी पार्क सञ्चालनमा ल्याइयो, जसमा समुद्र तट, हिँड्ने बाटो, दृश्यावलोकन स्थल समावेश गरियो । दोस्रो चरणमा १९८० मा याट क्लब र म्यारिनको निर्माण गराएर ब्लफर्स पार्कको वर्तमान रूप तयार पारियो । यही ब्लफर्स पार्कलाई विषयवस्तु बनाएर लेखिएका कथाहरूको संग्रहलाई यहाँ ‘ब्लफर्स डायरी’ का रूपमा प्रस्तुत गरिएको छ । यस संग्रहको लोकार्पण पनि नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा यही ब्लफर्स पार्कमा जुन ७, २०२५ मा भएको थियो । त्यहीँ लोकार्पण समारोहमा दिलिपसँग परिचयसँगै संग्रह उपहारमा पाएको थिएँ ।

 

पुस्तक चर्चा

शिखा बुक्स, काठमाडौंबाट २०२५ (विसं २०८२) मा प्रकाशित १०७ पृष्ठमा समेटिएको दिलिप पौडेलको ‘ब्लफर्स डायरी’ क्यानडाका साहित्यकर्मीहरूबाट प्रकाशित भएको यो समेत पचपन्नौ कृति हुनु पर्छ (यसमा तलमाथि होला) ।  क्यानडाका साहित्यकारको पछिल्लो कृतिका रूपमा राजेन्द्रप्रसाद प्रसाईको ‘जिन्दगीका नौरङ्गी कथाहरू’ कथासंग्रह जुलाई २०२५ मा प्रकाशित भएको देखिन्छ । दिलिप पौडेलको ‘ब्लफर्स डायरी’ मा १८ वटा कथा समेटिएको छ । देश र परदेशको परिवेशमा लेखिएका कथाहरूको संग्रह हो ‘ब्लफर्स डायरी’ । ‘ब्लफर्स डायरी’ नामको कुनै कथासंग्रहमा पाइँदैन । तर ब्लफर्स पार्कको वातावरणमा कथा सिर्जना भएको छ ।

अप्रवासी नेपाली कथा साहित्यको विषय निकै महत्त्वपूर्ण हुने गर्दछ । यसमा नेपालको सीमाभन्दा बाहिर गएर बसोबास गर्ने नेपालीहरूको जीवन संघर्ष, भोगाइएका पीडा, आप्रवासको अनुभव, पहिचानको संकट, जन्मभूमिको सम्झना, नयाँ परिवेशमा देखा परेका चुनौती, दूरदेशमा रहेका परिवारप्रतिको आफ्नोपन, संघर्षमय आप्रवासी जीवनयात्रा, प्ररम्भमा हुने–गरिने आर्थिक कठिनाइ, कहिलेकाहीँ देखिने–भोगिने कानूनी जटिलता र असुरक्षाका अनुभूति, विदेशको चमक–धमकले लोभ्याउने वातावरण आदिका साथै भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्न तात्पर्यताको मनोवैज्ञानिक प्रभाव र सांस्कृतिक द्वन्द्वसँगै आत्मसमर्पण र संघर्षका कथाहरूमा केन्द्रित हुने गर्दछ । आप्रवासी कथाहरूमा मूलतः आफू बसेको विदेशी भूमीको सामाजिक यथार्थतालाई उजागर गर्दै त्यहाँ देखिने र अनुभव गर्ने सांस्कृतिक द्वन्द्व र स्वतन्त्रताको अनुभूतिहरूलाई समेटिएको हुन्छ भने त्यसैमा आप्रवासी जीवनमा देखा पर्ने दुखद र सुखद क्षण अनि पहिचानको संकटमाथि पनि अनुत्तरित चर्चा गरिएको हुन्छ । यस्तै आप्रवासी परिवेशलाई विषयवस्तु बनाएर ‘ब्लफर्स डायरी’ कथासंग्रह  प्रकाशित भएको छ ।

दिलिपको क्यानडा आगमन पहिला एडमन्टनमा रहेको र पछि स्कारबोरो (टोरन्टो) मा बसाइसराइ गरेको देखिन्छ । अंग्रेजीको प्राध्यापनबाट  क्यानडा भित्रिएका दिलिपले यहाँ फिजियोथ्योरोपीको अध्ययन गरेपछि आफ्नो सीपलाई व्यवसाय बनाएर सेवा प्रदान गर्दै आएका छन् । उनको यो पहिलो कथासंग्रह हो । यसमा आप्रवाससँगै नेपालका तीतामीठा र कठोर अनुभवलाई अठार वटा कथामा यसरी उतारेका छन् :

पहिलो कथाले पाठकलाई नेपालमा २०५२ सालपछि देखा परेको एउटा कालो युगतिर लिएर जान्छ । त्यस बेलाको परिस्थिति र अवस्थाको बयान यस कथाले गरेको छ । नागरिक अधिकारभन्दा नागरिक सुरक्षाको धेरै प्रश्नहरू यस कथाले उब्जाएको छ । लोग्ने मान्छेको मन ठूलो हुन्छ । त्यसैले बसमा सहयात्री बनेकी महिला (युवती) को लागि आफ्नो छातीलाई ओछ्यान बनाएर टाउको बिसाउन दिएर आफूले आनन्दानुभूति लिएको परिणामको राम्रो प्रस्तुति यस कथामा भएको छ । अर्को कथामा पनि कथाकार पुरुषको चञ्चल मनलाई देखाएर विदेशको पृष्ठभूमिमा दाम्पत्य जीवनको अङ्कगणितको प्रतिफल निकाल्ने प्रयास गरेका छन् । तेस्रो कथामा पनि कथाकारको रोमान्टिक प्रवृति छचल्किएको छ । विदेशमा प्रेमको परिभाषा नै यौन हो कि भन्ने भ्रमको राम्रो चिरफार गरेका छन् । चौथो कथाले नेपालबाट शिक्षा आर्जन गर्न विदेशको भूमिमा आएका युवतीहरूको जीवन शैलीमाथि प्रकाश पारेको छ । अभिभावकको अधीनमा रहनु र अधीनहीन भएपछिको परिणामलाई राम्ररी देखाएका छन् ।

पाँचौं कथाले विदेशको सकस पारिवारिक जीवन शैली र सन्तान नहुर्केसम्मको घरायसी पीडालाई देखाइएको छ । छैटौं कथाले कुकुरलाई मुख्य पात्र बनाएको छ । पार्कमा मिलेर वनभोज (पटलग) गर्दा गल्तीले कुकुरको पार्कमा पुगेको रोमाञ्चित कथालाई विगतका कुकुरका प्रसङ्गहरूले अझ रोमाञ्चित बनाइदिएको छ । सातौं कथाले एकल युवतीको संघर्षसँगै विदेशको तमकझमकमा रुमल्लिएर नेपाली युवतीहरू अपराधिक गतिविधितिर बढ्दै जान थालेका पाइलाहरूलाई सचेत गराउने प्रयास भएको छ । आठौं कथाले दाम्पत्य जीवनमा सुखको छहारी ल्याउन सम्बन्धमा एकअर्का बीचको बुझाइ र सम्मानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने सन्देश छोडेको छ ।

नवौं कथाले पाठकलाई नेपाल पुर्‍याउँछ । कोभिद्को भयावह स्थिति र त्यसबाट उब्जिएको पारिवारिक कठिनाइ र राज्य प्रणालीको कमीकमजोरीहरू माथि प्रकाश पारिएको छ । दशौं कथाले विदेशमा देखिने र हुने गरेको एक्ली आमाको कथा–व्यथा र संघर्षलाई देखाउन खोजिएको छ । घटना र दुर्घटनाले उब्जाएको महिलाको जीवन देखा पर्ने अपत्यारिलो उतार चढाऊँ लाई उतार्ने प्रयास गरेको छ ।

एघारौं कथाले दाम्पत्य जीवनका एउटा गलतफहमीले घरगृहस्थी नै सखाप पार्न सक्छ भन्ने सन्देश कथाले दिएको छ । विदेशमा (क्यानडा) आएपछि सरकारबाट नागरिकले धेरै प्रकारका सुविधाहरू पाउने गर्छन् । गभर्मेन्ट विल गिभ यु गुड मनीको आशमा सरकारबाट सुविधा पाइन्छ भनेर धेरै सन्तान जन्माउने (१८ वर्षसम्म सरकारले बाल भत्ता दिन्छ), बच्चा जन्माएर श्रीमान छोडी एकल आमा बनेर बस्ने जस्ता विसङ्गतिमाथि प्रकाश पारेको छ । बाह्रौं कथाले पाठकलाई फेरी नेपाल पुर्‍याएर जनयुद्धको वास्तविकता स्मरण गराउँछ । देशमा जनयुद्धले भित्र्याएको अराजकता र युवाहरूको पलायनको इतिहास कोरिएको छ । युवाहरू भर्ती भएर पलायन हुँदै जानु एउटा अध्याय बनेको छ भने अर्को अध्यायमा माओवादीको जनयुद्धपछि गाउँबाट भाग्न बाध्य युवाहरूको कथाव्यथाको इतिहास समेटिएको छ । कथाले नेपालमा माओवादीले कसरी जनवादी र बुर्जुवा शिक्षा भनेर शिक्षाको वर्गीकरण गरेर समाज बाँड्ने काम गरेको अनि आफ्ना सन्तानलाई विदेशी शिक्षा दिएको वास्तविकता कसैबाट नलुकेको वास्तविकता देखाएको छ । कथाले त्यस बेलाको नेपालको ग्रामीण समाजको दयनीय वास्तविकतालाई उजागर गरिदिएको  छ ।

तेह्रौं कथाले पाठकलाई टोरन्टोको सडकमा पुर्‍याउँछ । कथाले यहाँको घरविहीन (होमलेस) मानिसको कथालाई समात्ने प्रयास गरेको छ । होमलेस हुनु पर्ने कारणभित्र लुकेको यथार्थतालाई देखाउने प्रयास प्रस्तुत कथाले गरेको छ । चौधौं कथाले पाठकलाई युगाण्डा पुर्‍याएर त्यहाँको सामाजिक जीवनमा महिलामाथि हुने गरेको घरेलु हिंसा र सामाजिक कुदृष्टिबाट बच्दै आप्रवासमा नयाँ जीवन पाएकी एउटी महिलाको कारुणिक व्यथालाई कथाका पस्केको छ । कथाका माध्यमबाट कथाकारले आप्रवासमा समेत महिला हिंसाको घटनालाई देखाएर महिलाप्रतिको ज्यादतीमाथि प्रकाश पारेका छन् । पन्ध्रौं कथामा पाठक फेरि एकपटक नेपाल पुग्छन् । पुरुषको चारित्रिक पतनले उब्जाएको ग्रामीण समस्यालाई कथाले देखाउन खोजेको देखिन्छ ।

सोह्रौं कथाले पाठकलाई नयाँ स्वाद चखाउन विदेशको नग्न क्लब (स्ट्रिप क्लब) को प्रत्यक्ष प्रसारण गरेको छ । कथाले लोग्ने र स्वास्नीका बीचको सम्बन्ध केलाउँदै सामाजिक र पारिवारिक विसङ्गतिमाथि कडक व्यंग्य कसेका छन् । कथाले मोटरको प्रयोगको सान्दर्भिकतालाई  मिलाउन नसकेकोले पाठक अलमलिन सक्छन् । सत्रौं कथाले पाठकलाई पुनः नेपाल पुर्‍याउँछ । यस कथामा एकातिर आमाको वात्सल्यतालाई देखाएको छ भने अर्कोतिर बुवाको कर्तव्यबोध । आजको समयमा छोराछोरीमा देखिएको पलायनवाद र त्यसबाट उब्जिएको पारिवारिक कथा–व्यथामा सन्तानको कर्तव्यबोध देखाउँदै यहीँ परिधिमा रहेर कथाकारले नेपालको स्वास्थ्य प्रणलीमा देखा परेको व्यापारीकरण, राजमार्गमा गाडी हँकाइमा देखिने लापरबाही र नियमविपरितका काम कारबाहीमाथि प्रकाश पारेका छन् । फ्ल्यासब्याक शैलीमा आएको प्रस्तुत कथाले पाठकको नजरमा  कथाकारको प्रस्तुति शैलीलाई तारिफ गर्न बाध्य बनाएको छ ।

संग्रहको अन्तिम अठारौं कथाले असफल प्रेमलाई प्रष्ट्याउने प्रयास गरेको छ । नेपालको रूढीवादी समाजमा अहिलेसम्म पनि जातिवादी र चिनो मिलाउने जस्ता परम्परागत प्रचलनले उब्जाएको अमानवीय व्यवहारले गर्दा अब त प्रेम गर्दा पनि चिनो देखाउनु पर्ने जस्ता हाँस्यात्मक प्रसङ्ग कोट्याएर व्यंग्य कसेका छन् । प्रत्येक कथाले कथाकारको प्रस्तुति शैलीको वैशिष्ट्यता देखाएको छ ।

मातृभूमि र विदेशको परिवेशमा कथासंग्रह उभिएको छ । यसमा बाह्र वटा कथामा क्यानडाको परिवेश र समाजको सेरोफेरोका विषयवस्तु समेटिएका छन्  भने छ वटा कथाले नेपालको स्थिति परिस्थिति चलन–व्यवहार, रूढीवादी परम्परा र अशिक्षाले निम्त्याएको देशको रुग्ण अवस्था र त्यसमा देखिएको राजनैतिक अराजकताको प्रतिफल देखाएका छन् ।

यसका साथै यस संग्रहमा नेपालको जनयुद्धले उब्जाएको नागरिक उत्पीडन र कोरोनाले मच्चाएको विश्वतान्डवमा देखिएका, भोगिएका र अनुभव गरिएका मानवीय संवेदनाका कथाहरू पाइन्छ । उनको प्रत्येक कथाले पाठकमा कौतुहलता उब्जाएर पाठकलाई नै समाधान र निष्कर्ष सोच्न लगाएर टुङ्गिएको छ । यसलाई उनमा रहेको आख्यानात्मक विशेषता मान्नु पर्छ । यसलाई उनको प्रस्तुतिको शैली मान्न सकिन्छ । कथा लेख्नु भनेको घटनाबाट पाठकलाई समातिराख्नु हो । त्यसो गर्न सक्नुमा कथा प्रस्तुतिमा परिपक्वता हुनु जरूरी मानिन्छ । त्यो परिपक्वता उनको लेखाइमा पाइन्छ । अझ भनौं उनको लेखाइले उनमा रहेको पटकथा लेखनको क्षमता देखाउँछ ।

पौडेलका प्रत्येक कथाले वातावरण बनाएर पात्र र परिस्थितिको बयान गर्ने गर्छ भने पात्र परिचयमा पनि पात्रको वास्तविक पहिचान देखाएर रोचकता ल्याएका छन् । अझ महिलाप्रति पुरुषको सोचलाई रोमान्टिक शैलीमा प्रस्तुत गरेर पाठकमा कौतुहलता ब्युँताएर बाँधिराख्न सफल भएका केही उदाहरणहरू हेर्न यहाँ प्रस्तुत छन्  ।

“…विस्तारै मेरा हातहरूले उनको शरीरका विभिन्न भागमा अतिक्रमण गर्न थाले ।…बसभित्र सुनसान थियो । अधिकांश यात्रु निदाइसकेका थिए । सीमाहरू भत्किने क्रम जारी थियो । … सिमाना काटेर केन्द्रमै हमला गर्दा समेत … मलाई त्यो अतिक्रमणमा विजय  अनुभव मिलेन ।” (पृष्ठ २१)

“… उसले टिसर्ट उचालेर मलाई देखाई । छातीको खोचमा एक डलरको सिक्का जत्रो दाग … मेरो आँखा खोचभन्दा बढी टाकुरातिर बढी तानिए ।” (पृष्ठ ४३)

यस्ता रमाइला र उत्तेजना निम्त्याउने वाक्यहरूको प्रयोग पात्रानुरूप र वातावरणानुरूप भएकोले त्यसमा अश्लीलताभन्दा बढी कौतुहलता र रोचकता आएको छ ।

अधिकांश कथाहरू यथार्थपरक र नेपाली समाजभित्रै भएका र हुने गरेका काल्पनिक विषयवस्तु समेटिएका छन् । केही कथा भने स्वकल्पनाका आधारमा पनि लेखिएका छन् । पहिलो कृति भए पनि यो कथासंग्रह अनुभवी साहित्यकारहरूकै तुलनामा रहेको छ । यस संग्रहका सबैजसो कथाहरू पढ्न थालेपछि नछिचोलुन्जेल किताब छोडेर हिँडिहाल्ने वा दिक्क लाग्ने खालका छैनन् ।  कथाकारको कथ्य वर्णन शैलीको आफ्नै विशेषता रहेको छ । कथावस्तुमा चित्रण गरिएको सांस्कृतिक परिप्रेक्ष्यलाई त्यस क्षेत्रको वातावरणअनुसार प्रस्तुत गरिएको हुँदा पाठकले उक्त शहरको यथार्थपरक चित्र आफ्नो मनमा निर्माण गर्न सक्षम भएका छन् । उनका कथाहरूमा उनी आफै उपस्थित भएका हुन्छन् । त्यसैले उनका कथाहरूले पाठकलाई कहिले हँसाउँछ भने कहिले रुवाउने गर्छ । कहिले लोभ्याउँछ भने कहिले पछुताउने बनाउँछ । उनको अर्को विशेषता भनेको कथाभित्र उपकथाको सिर्जना गर्नु हो । धेरै कथामा यो प्रवृत्ति देख्न पाइन्छ । उनको लेखनको विशेषता भनेको महिला वर्णन । अर्थात् उनका कथामा महिला पात्रको परिचय दिनमा उनले रोमान्टिक र रोमाञ्चित शब्दहरूको प्रयोग गरेका छन् ।

“… कालो चिल्लो अनुहारमा मोतीजस्ता दन्तेलहर टिलिक्क टल्किए । सलक्क परेको जीउडाल, घुम्रिएको कपाल, कलिला तिघ्रा हेर्दा झन्डै ३० वर्ष हाराहारीकी जस्तो देखिने ती अपरिचित केटीमा के जादू थियो कुन्नि । …” (पृष्ठ ३७)

उनका प्रत्येक कथाका महिला पात्रले परिचयमा यो मौका पाएका छन् । चाहे त्यो बसमा भेटिएकी छापामार युवती हुन् (पृष्ठ १७), वा जोसना (पृष्ठ ३७), अप्सरा हुन् (पृष्ठ ४८) वा मञ्जिता (पृष्ठ ७८) । त्यस्तै फेबा (पृष्ठ ९२), सानुमाया (पृष्ठ ९७), मिरेम्बा (पृष्ठ १५५), गोरी केटी (पृष्ठ १७६), रुबीना (पृष्ठ १९८) आदि सबैको परिचयको शैली रोमाञ्चित छ । उनको कथामा पाइने अर्को विशेषता हो ‘सपना’ । धेरै कथाले सपना देखाएर कथाले गतिमयता पाएको देखिन्छ । फ्रायडको सिद्धान्तअनुरूप चेतन मनले भन्न नचाहेको कुरा अवचेतन मनले उद्गार गराइएको हुन्छ । अझ कुकुरको कथामा त उनले नेपाललाई अरू देशभन्दा महान् बनाएका छन् । किनभने हामी कुकुरलाई पनि तिहारमा सम्मान गर्छौं ।

कथालाई चलायमान बनाउन उनले चलचित्र शैली अर्थात् पटकथा शैली बढी प्रयोग गरेका छन् । त्यसैले उनको कथानक बग्दै जान थालेपछि पाठकलाई घटनाको दृश्यालोकन हुन थाल्छ । उनमा विशेषतासँगै केही कमजोरीहरू पनि नदेखिएका हैनन् । कथाको अन्त्य पाठकले अनुमान गरेको भन्दा बेग्लै नाटकीय बनाउने (पहिलो कथा), समयावधिको सही आकलन नहुनु (दोस्रो कथा),  कतै अपत्यारिलो तरिकाबाट कथाको अन्त्य भएको छ (छैंटौं कथा),  कतै कथात्मकताको कमी (पन्ध्र), कतै कथाबीचको तारताम्यता नमिलेको (सोहें) । त्यति हुँदाहुँदै पनि उनले कथाका माध्यमबाट धेरै कुराहरूको जानकारी पाठकलाई दिँदै गएका छन् । यसबाट कथाकार पुस्तकका राम्रा अध्येता रहेको थाहा पाउन सकिन्छ । यसका साथै कथाकार हिन्दी चलचित्रका सोखिन रहेको प्रमाण उनका कथामा प्रसङ्गवश आएका गीत र संवादबाट थाहा पाउन सकिन्छ ।

भाषा प्रयोगमा उनले चलनचल्तीका भाषालाई प्राथमिकता दिएका छन् । यसका साथै कथाले ल्याएको वातावरण अनुसार उनले स्थानीय भाषालाई पनि प्राथमिकताका साथ कथामा ल्याएको जुठेको सपना  कथामा देख्न पाइन्छ । अझ भनौं उनले आफ्ना केही कथामा आञ्चलिकता पनि निर्वाह गरेका छन् । आफ्ना प्रत्येक कथामा कथाकार कतै प्रत्यक्ष त कतै अप्रत्यक्ष रूपमा उपस्थित भएका छन् । धेरै ठाउँमा कथाकार आफैले भोगेका र आफू नै उपस्थित भएर घटेका घटनाका रूपमा उतारेका छन् । यसलाई उनको कथा लेखनको विशेषता मान्न सकिन्छ ।

केही सीमा र कमजोरीका बाबजुद पनि   आफ्नो जीवन भोगाइको क्रममा देखिएको र भोगिएका घटनाक्रम, र भोगाइलाई कथाकारले  इमानदारीपूर्वक संग्रहमा कथाका रूपमा राखेका छन् ।  विभिन्न कालखण्डमा लेखिएका कथाहरू समेटेर तयार पारिएको पहिलो कृतिका रूपमा सो संग्रह भएता पनि पाठकले यो पहिलो कृति भएको खल्लो अनुभव गर्नु पर्दैन । संग्रहका सबै कथा पढ्न शुर गरेपछि सलल बग्दै गएको छ । त्यसैले यो संग्रह । पठनीय बनेको छ ।

टोरन्टो