आमा
चारहजारे श्मशानघाटमा मेरी आमाको मृत शरीरलाई अग्निको प्रचण्ड ज्वालाले पोलिरहेको छ । केही क्षण अगाडि आमालाई दागबत्ती दिएर अग्निलाई समर्पित गर्ने हामी चार भाइ; म, राजेश दादा, प्रदीप दादा र भाइ रमेश चिताको लगभग तीस पाइलाको दूरीमा भएको टीनसेडमा उभिरहेका छौं, साथमा छन् दिदी-बहिनी; धनमाया दिदी, लक्ष्मी दिदी, बहिनी हेमा, मीना अनि मधु एवम् चारजना भाउजू-बुहारी; जेठी भाउजू-मधु, माइँली भाउजू-सिर्जना, मेरी श्रीमती कबिता अनि भाइबुहारी-कोपिला ।
‘आगाको झिल्काधरिले पनि शरीर पोल्छ !’ यसको ज्ञान हुँदाहुँदै पनि आमाको शरीरलाई शरीर नमानेर पञ्च तत्वले बनिएको हो जो अहिले प्राणविहीन छ, मृत छ, भन्ने भाव मनमा लिएको छु । आमागमनको पीडा, दुःख, कष्ट, छिन्नभिन्न अवस्थाको हृदय लिएर एकटक चितालाई हेरिरहेको छु । समयले ‘छ’को छेउछेउ बजाएको हुनुपर्छ । अँध्यारोले छोपिसकेको छ । श्मशानघाटमा जेनेरेटर लगाएर बिजुलीको व्यवस्था गरिएको रहेछ । । सुस्तरी-सुस्तरी चल्दै गरेको हावाको सहयोगमा अग्निले आफ्नो उग्र रूप धारण गर्दै आमाको शरीरलाई खरानीमा परिणत गर्ने क्रमलाई शीघ्रता दिँदैछ । चितालाई हेर्छु, अग्नि-ज्वालाबाट निस्केका झिल्काहरू माथि पुग्छन् अनि ज्वालाबाट झण्डै पाँच-सात हातको दूरी गएपछि झ्याप्प निब्छन् । मलाई लाग्छ, यिनै झिल्काहरूको साथमा आमाका शरीरका अंशहरू टाढिँदैछन्, विलीन हुँदैछन् अनि हामीलाई जनाउँदैछन् कि आमाको शरीर जसले हामीलाई जन्म दियो, माया दियो, स्नेहको स्पर्श दियो, खेलायो, हुर्कायो, हँसायो, अँगालो, खिलायो-पिलायो अनि कति हो कति काम गरेर हामीलाई ठूलो बनायो, त्यो शरीर सदाका लागि कहिल्यै फेरि देखा नपर्नेगरी आकाशको क्षितिजबाट कता हो कता जाँदैछ । हामीले आमाको सम्झनासँग मात्र बाँच्नुपर्ने छ । यो नासिने शरीर फेरि कहिल्यै हाम्रो सामु आउनेछैन ।
साँच्चै, अब आमाको शरीर संसारमा त के र ! ब्रह्माण्डको कुनै ठाउँमा खोजे पनि भेटिँदैन । शरीर नश्वर रहेछ, यो त केही समयका लागि मात्र संसारमा जिउन अनि मायाको आधार बनिन आएको हुँदोरहेछ तर सम्झना भने कहिल्यै ननासिने अनुभव बनिन जाँदोरहेछ । यही सम्झनाको आड लिएर हामीले आफ्नो अन्तिम समयसम्म आमाको धिक मार्नुपर्ने छ ।
यही क्षण, कोही आएर सान्त्वना दिन्छन्, कोही मन भुल्याउन केही कुरा निकालेर बोल्छन्, आफू ‘हजुर ! हजुर !’ भन्दै चिताको आकार घट्ने क्रमलाई नियाल्छु । बीचबीचमा दाजुभाइले (काकाहरूका) आएर आमाको शरीर यति जल्यो, उति जल्यो भनेर सुनाउँछन् । आमालाई पोल्यो होला भनेर भावनात्मक सोच आएको छैन तर आमाको भौतिक शरीरलाई फेरि कहिल्यै भेट्न पाइँदैन भन्ने भावले मन व्याकुल छ, मर्माहत छ ।
धेरै पीडा यसमा छ कि आमाले चाँडै चौसट्ठीको उमेरमा यो लोकलाई त्यागेर परलोक सिधार्नुभयो । भनिन्छ, मनुष्य चोलाले एक न एक दिन मृत्युलाई अँगाल्नै पर्छ तर मोह-मायाको पाशले बाँधिएको मनले एक क्षण भए पनि बढी नै बाँच्न र बचाउन मन पराउँदोरहेछ तर मृत्युको अगाडि हामी नतमस्तक नभई हुँदैन । यस्ता कुरा सुन्न र अरूलाई सान्त्वना दिन मात्र राम्रो लाग्छ अन्यथा कसैको आमाले मृत्युलाई अँगाल्नुको पीडा उसका छोरा-छोरीलाई मात्र थाहा हुन्छ ।
आमालाई सीओपीडी (क्रोनिक अब्सट्रक्टिव पूलमनरी डिजिस-फोक्सो कमजोर हुँदा शरीरलाई अक्सिजन पुर्याउन नसक्ने बिमार) रोगले ग्रसित बनाएको थियो । सन् २००० यता आमालाई खोकीले साह्रो पार्न थालेको थियो । कहिलेकाहीँ खोकीले खप्न नसक्दा डाक्टरकहाँ लैजाँदा औषधी दिँदै धुवाँ र चिसोबाट बच्नु भन्थ्यो ।
धुवाँको कुरा आउँदा, साझा गर्न मन लाग्यो; आमाले चुरट पिउनु हुन्थ्यो । आमाले भन्नुहुन्थ्यो- “तिमीहरूका मामलाका हजुरबाले बिँडी खानुहुन्थ्यो । म त्यस्तै दस-बाह्र वर्षको थिएँ होला ! हजुरबाले बिँडी खाने बेला मलाई सल्काउन लगाउनु हुन्थ्यो ! बाको बिँडी सल्काउँदा-सल्काउँदै कहिले बिँडी खाने बानी बस्ययो थाहा पाइनँ ।”
आमाको आयु चालीस वर्ष छेउछाउ हुँदो हो, आमालाई खोकीले रातभरि डल्लो पार्न थाल्यो । आमाको यस्तो अवस्था देख्दा, बाबाले आमाको चुरट पिउने बानीलाई छोडाइदिुन भयो । आमालाई चुरट छोडाउने क्रममा बाबाले आफैँ पनि चुरट पिउन छोड्नुभयो । आमाले चुरट त छोड्नुभयो तर खोकीले आमलाई छोडेन । आमाले रातभरि खोकेको सुन्दा मन भत्भत् पोल्थ्यो । हामी सानै थियौँ, मेडिकलको त्यति ज्ञान थिएन, आमालाई राम्रो उपचार र औषधी दिने सक्षमता थिएन । धुवाँले फोक्सोलाई एकचोटि बिगारेपछि पुनः पहिलोसरी निको पार्न नमिल्दोरहेछ ।
यसरी खोक्दाखोक्दै २०१८ मा आमाको यो बिमारले विकराल रूप धारण गर्यो । एक महिनासम्म इम्फालको रिम्स अस्पतालमा भर्ती हुनुभयो । डाक्टरले डिस्चार्ज गर्दा भनेको थियो ‘आमालाई चिसो अनि धुवाँबाट बचाउनु । लङ्क्सको थोरै भागले मात्र अक्सिजन दिन सकेको छ । अक्सिजन नब्बेभन्दा कम हुँदा अक्सिजन घरमै राखेर दिनु । मणिपुर बाहिर राख्न मिल्छ भने कोशिश गर्नु ! यहाँको चिसो र हावाले सासको बिरामीलाई गाह्रो पार्छ ।’
‘यो अवस्थाको लङ्क्स लिएर आमा कति वर्षसम्म बाँच्नुहुन्छ ?’ होमीले सोध्दा, डाक्टले भनेको थियो- ‘धेरैभन्दा धेरै तीन-चार वर्ष बाँच्छन् यस्ता मरिज त्यही पनि प्रोपर केयर गर्दा अन्यथा गाह्रो छ ।’
डाक्टरको परामर्श र आमाको अवस्थाले हामीलाई डर देखायो । मणिपुरको चिसो हावा र गाउँ-घरको धुलोबाट बचाउन प्रदीप दादा र मैले मणिपुर बाहिर नै हाम्रो कार्यस्थलमा राख्ने निर्णय गर्यौं । उसबेला प्रदीप दादाको पोस्टिङ पुणेमा थियो । केही दिनमा प्रदीप दादाले आमालाई आफ्नो साथ पुणे लिएर गयो । प्रदीप दादा एयर फोर्समा हुनाले उसको बसाइ स्थायी हुँदैनथ्यो । त्यही कारण आमा धेरैजसो मसँग दिल्लीमा बस्नुभयो ।
आमालाई सकेसम्म उचित देखभाल, डाक्टरको परामर्श र औषधी पुर्याउने प्रयास गरियो । त्यै पनि वर्षमा खासगरी जाडोको मौसममा अस्पताल भर्ना गर्नुपर्थ्यो । औषधीको भरमै भए तापनि आमा खुशीसँग आफ्ना जीवनका पल बिताइरहनुभएको थियो ।
सन् २०२३-को दशैंको बेला आमा सिलीगुडीमा प्रदीप दादासँग हुनुहुन्थ्यो । ४ मार्च, २०२४ साइँलाकाकाकी कान्छी छोरी सीमाको विवाह थियो । आमाले जाने मन गर्नुभयो । हामीले आमालाई मणिपुर जान दिएका थिएनौं किनभने मणिपुर गइसक्दा आमाको बिमारले प्रचण्ड रूप लिनेगर्थ्यो । अर्को कुरो, आमा घर नगएको पनि दुई वर्ष हुन लागेको थियो । यसकारणले पनि आमालाई रोक्न सकिएन । सिलीगुडीबाट आमा २०२४ फरवरी महिनाको अन्ततिर घर मणिपुर जानुभयो । मणिपुर गइसक्दा बिमारले आमालाई ग्रस्त पार्न लाग्यो । गएको दश दिनमै रोगले आमालाई अस्पताल भर्ना गर्नुपर्ने बनायो । डाक्टरले डिस्चार्ज गरेर घर पठाउँछ फेरि पुनः दुईचार दिनमा अस्पताल पुर्याउनु पर्ने अवस्था हुन्छ । आमालाई दिन प्रतिदिन बिमारले साह्रै पार्न लाग्यो । पहिलेपहिले अस्पताल लाँदा अक्सिजन सपोर्टले आमालाई सामान्य हुन सहयोग पुर्याउँथ्यो तर यो चोटि अक्सिजनले मात्र फोक्सोमा गाडिएको कार्बन डाइअक्साइड निकाल्न सकेन र डाक्टरले एनआइवीको प्रयोग गर्यो । झन्डै एकहप्ता अस्पतालमा राखेपछि आमा निको हुनुभयो । आमा निको भइसक्दा प्रदीप दादा बसेको ठाउँ सिलीगुडी अनि त्यहाँबाट दिल्ली ल्याउने सल्लाह भयो ।
यसपालि आमा बिमार भएको देखेर हामी धेरै डरायौँ । २०१८-मा डाक्टरले ‘दुईतीन वर्ष बाच्छे तेरी आमा’ भनेको पनि सम्झना आयो तर एक मनले भनिरहेको थियो जाडामा अरू बेलाको जस्तो गाह्रो भएको होला, गरम मौसम आएपछि ठीक भइहाल्नु हुन्छ ।
अस्पतालबाट आमा घर आएपछि फोनमा कुरा हुँदा आमालाई भनें- ‘आमा, अब दिल्ली आउनुपर्छ, मणिपुरमा हुँदा बिमारले साह्रो पार्छ, अस्ति नै म त भन्दैथिएँ मणिपुर नजानु भनेर, गइहाल्नु भयो ।’
आमाले भन्नुभयो- ‘छोरा, अब मलाई दिल्लीविल्ली कतै नबोला, म कतै जान चाहन्नँ । मलाई घरमै मर्न दे । म सबै छोराछोरी अनि तेरा बाबाको काखमा मर्नु चाहन्छु ।’
आमाले भनेको काँ मानिन्थ्यो र ! आमालाई भनेँ- ‘जे पायो तै नबोल्नु न हौ आमा ! एकचोटि चैँ आउनु न दिल्ली, एकबार फेरि सेवा गर्ने मौका दिनु, आमासँग कति कुरा गर्नु छ, आमाको कपडा आफैँ धोइदिनु छ, अझैँ मजाले सेवा गरेको छुइनँ !’ इत्यादि भन्दै फकाएँ । कसोकसो गरेर आमा आउन राजी हुनुभयो तर आमाको भित्री मनले आउने इच्छा गरेको थिएन ।
आमाले यसरी दिल्ली जान्नँ भनेको पहिलो चोटि थिएन । योभन्दा पहिले पनि आमालाई दिल्ली बोलाउँदा आउन मान्नु हुन्न थियो । जनवरी २०२२ को कुरा हो । जाडाको मध्यान्न । हिमालतिर तुसारो पर्नाले छेउछाउका राज्यमा चिसाले आफ्नो प्रभुत्व जमाउँछ । दिल्ली राजधानी पनि यो समयमा जाडाको चपेटले अइँअइँ हुन्छ ।
कुरा ९ जनवरी आइतवारको हो । मेरो छुट्टीको दिन । मणिपुरबाट बाबा-आमाको दिल्ली आउने टिकट गर्दिएको थिएँ । दिल्ली शहरमा ओमीक्रोनको लहर चरममा पुग्दै मात्र थियो । यो सुन्नेलाई मप्रति आश्चर्य लाग्न सक्छ- किन यस्तो प्रदुषित दिल्ली एवम् महाजाडाको बेला सासको समस्या भएकी आमालाई बोलाएको होला ?
दिल्लीभन्दा पनि मणिपुरमा बिहान-राति चिसो हावाको प्रकोपले आमालाई च्याप्ने गर्छ । गाउँ-घरको रहन-सहन, खुल्ला घर, चिसो पानीले आमालाई गत केही वर्षदेखि सास फेर्न कष्ट नै पारेको थियो । पछिल्लो साल जसोतसो गरेर जाडो महिना काट्नुभयो । अघिका वर्ष मसँग यही दिल्लीमा हुने भएर त्यति गाह्रो भएन । दिल्ली जाडो ठाउँ भए तापनि घरदेखि बाहिर निस्किने कारण नहुँदा, चिसो बतास नचल्ने अनि अस्पतालको राम्रो सुविधा हुनाले आमालाई मणिपुर जति गाह्रो पर्दैन थियो ।
सन् २०२१ मा आमा मणिुपरमै हुनुहुन्थ्यो । पछिल्लो वर्ष जसरी आमाले यो जाडो पनि काट्नु हुन्छ जस्तो लाग्यो ।
‘मलाई मणिपुर मै बस्न द्याऔँ । कति बाहिर बस्नु ।’ दिल्ली आउने कुरा गर्दा आमाले सधैँ भनिरहनुहुन्थ्यो । लौ त भनी, जाडो लाग्नुअघि दिल्ली ल्याउन चासो गरिएन । महिनामा एकदुई चोटि अस्पताल धाउँदै जसोतसो आमा सञ्चै घरमा बस्नुभएको थियो ।
पुष लागेपछि आमालाई जाडाले च्याप्न थाल्यो । परिवारले अस्पताल लगे । डाक्टरले अक्सिजन दिनरात लगाउने हिदायत दियो । दुई सालदेखि आमलाई प्रायः अक्सिजनको सपोर्टमा राखिएको थियो । पुषमा च्यापेको जाडोले आमाको अक्सिजन लेबल झारेको झारै पार्न थाल्यो । राति बढी च्याप्ने । कहिलेकाहीँ बिहान अक्सिजन लेबल ५०-६० पुग्दा आमाको हालात दयनीय हुन्थ्यो । परिवारले आमालाई लिएर अस्तपाल धाइरहे । दुई-तीन घण्टा अक्सिजन लगाएर ‘बिरामी सामान्य छ घरमा अक्सिजन लगाएर राख’ डाक्टरले भनेपछि हामीसँग घर लिएर आउनु बाहेक अरू केही विकल्प नै रहेन । घर लिएर आयो, राति भएपछि तेही समस्या ।
आमालाई फोन गर्दा सधैँ एकै कुरा भन्नुभयो- ‘साइँला मलाई ठीकै छ । त्यै आधी रात भएपछि साह्रो पर्छ । छाती बेस्सेरी दुख्छ । टाउको दुखेर उठाउन सक्दिनँ । सास फेर्न कष्ट पर्छ । घाम अलिक माथि आएपछि मात्र सासमा सास आउँछ ।’
आमाको बोली र कष्ट सुन्दा कुन छोराको मन पिरोल्दैन ? घरमा सल्लाह गरेर दिल्ली ल्याउने कुरा राखेँ । नलैजा भन्ने पनि विकल्प थिएन । आमाको ज्यान बचाउनु थियो । यस्तो बेलामा दिल्ली ल्याउन पनि उति नै डरमर्दो । ओमीक्रनको डर अनि दिल्लीको जाडो ।
आमालाई पनि दिल्ली आउने कुरा राखेँ । आमाले भन्नुभयो- ‘छोरा म सक्दिनँ दिल्ली जान । मलाई टोयलेट जान त कम्ता गाह्रो पर्दैन । हवाई जहाजबाट कसरी आउन सक्छु छोरा ? मलाई आँट छैन दिल्ली आउने । पैसा खेर नफ्याँक ।’
आमालाई मनाउँदै भनें- ‘आमा केही गाह्रो हुँदैन । बसेर त आउनु पर्ने हो । तीन घण्टाको कुरा मात्र हो । यहाँ आएपछि सबै ठीक हुन्छ । साथमा बाबाको पनि टिकट गर्दिन्छु । घर बसेको पनि दुई वर्ष हुन लाग्यो ।’
आमाले नआउनका लागि तर्क दिँदै भन्नुभयो- ‘तर साइँला, दिल्लीमा कोरोना बढेको बढै छ । कसरी आउनु ?’
आमाको कुरा एक दृष्टिले सही पनि थियो तर कोरोनाभन्दा आमाको बीमार डरमर्दो ।
फेरि मनाउँदै भनेँ- ‘आमा कोरोना एकै ठाउँ कहाँ बस्छ र? आज दिल्लीमा छ, भोलि मणिपुरमा आउँछ । चिन्ता नगर्नू आमा । हजुरलाई निको पार्न नै दिल्ली ल्याउने हो ।’
धेरै गन्थन्पछि आखिरमा आमाले आउने सहमत दिनुभयो ।
जनवरी ९ को टिकट गर्दिएँ । दिनमा उड्ने जहाजको सीट फुल हुने भएर इम्फालबाट साँझ पाँच बजे उडेर दिल्लीमा राति साढे’नौ बजे झर्ने जहाज फेला पर्यो ।
दिल्ली आउने दिन आमाको अवस्था कस्तो हुने हो भनी अर्को पिर । आमा दुईदिन अघि अस्पतालबाट आउनु भएको थियो । दुईदिन पछि बिहानै आमाले मलाई कल गर्नुभयो । म निद्रैमा थिएँ । फोन उठाइसक्दा प्रश्न गरिहालें, ‘आमा कस्तो हुँदैछ ?’
आमाको बोलीले नै थाहा पाएँ आमाको नाजुक अवस्था । आमा निबुलाइजेन लिनु हुँदैथियो ।
भास्सिएको मधुरो स्वरमा भन्नुभयो- ‘साइँला म आउन सक्दिनँ । हेर्न, सास फेर्न पनि सकेको छैन । हिँड्न सक्दिनँ । मेरो ताकत छैन छोरा एयरपोर्टसम्म पुग्ने । मेरो टिकट केन्सल गर्दे । म घरमै मर्छु बरु !’
‘आमा ! कष्ट परेरै निको पार्न दिल्ली आउनु भनेको हो । बिहानको समय चिसो भएर साह्रो पारेको होला ! अक्सिजन लिइरहनु । अनि तीन घण्टाको कुरा हो, यहाँ आइसक्दा सबै ठीक हुन्छ ।’
‘आमा बहिनीलाई फोन दिनु त ?’ सम्झाएर फोन दिन लगाएँ ।
‘हेमा आमालाई साह्रै भएको छ र ?’
‘अँ दा, साह्रै भएको छ । हिजो पनि यस्तै भएको थियो । घाम बढ्न लागेपछि अलिक आराम हुन्छ ।’
‘दिल्ली आउन पनि दुईदिन छ । रमेशलाई भनेर अस्पताल लैजाऔँ न त । अलिक आराम हुन्छ कि ?’
‘ल दा भनिहेर्छु । हुन त एक्छिनमा घाम उभो लागेपछि ठीक भइहाल्नु हुन्छ ।’
आइतवार छुट्टीको दिन भनेर नै आमा-बाबाको टिकट यसै दिन काटिदिएको थिएँ । शनिवार राति पढ्दा र वेभसिरिज हेर्दा दुई बजाएँ । भोलिपल्ट बिहानै सात बजे ठुली दिदी र माइली दिदीको कल आयो । निद्रामा आकुल भएको हुनाले फोन उठाइनँ । दश बजे उठें । उठेर आमालाई भिडियो कल लगाएँ । आमा दलिया खानु हुँदैरहेछ । आमाको चखिलो आवाज सुनेर अलिक ढुक्क भएँ । सबैजना बिदा दिन आउनुभएको रहेछ ।
बहिनीलाई सोधेँ- ‘हेमा, आमालाई कसले एयरपोर्ट लिएर जान्छ ?’
‘रमेश दादाले एम्बुलेन्समै एयरपोर्टसम्म लाने रे, अक्सिजन लगाएर ।’
‘ए ! राम्रो हो । ल ल, ठीक समयमा हिँड्नु भन्नु रमेशलाई !’ भनेर फोन राखेँ ।
‘एयरपोर्टसम्म एम्बुलेन्स’ भन्दा चार साल अघिको कुराको सम्झना आयो । एम्बुलेन्स र अक्सिजनको पनि छुट्टै कथा छ आमासँग जुडिएको । सन् २०१८ अघि हामीलाई आमाको ठ्याक्कै के बिमार हो भनी थाहा पाएका थिएनौं । डाक्टरकहाँ लाँदा औषधी दिन्थ्यो । औषधी खाएको केही दिनमा सञ्च भइहाल्नुहुन्थ्यो । कुरा सामान्य थियो ।
सन् २०१८ को जनवरीमा परिवारसहित गोवा घुम्न जान टिकट, होटेल बूक गरिसकेको थिएँ । भोलिपल्ट जाने दिन थियो । राति माइली भाउजूको कल आयो ।
‘भाइ ! आमा साह्रै हुनुहुन्छ । अस्पतालमा भर्ती गरेको छ । अक्सिजन लगाएको छ ।’ भाउजूबाट खबर सुन्दा छाँगाबाट खसेजस्तो भएँ । आजभन्दा अघि परिवारमा कसैलाई अक्सिजन लगाएको थिएन ।
आत्तिँदै भाउजूलाई प्रश्न गरें- ‘के भयो र भाउजू आमालाई?’
‘भाइ ! आमा एक हप्तादेखि जोरो र खोकीले लखतरान हुनुहुन्थ्यो । दबाई त खाइरहनु भएको थियो । आज बिहानबाट टाउको उठाउन सक्नु भएन । सास फेर्न पूरा सारो पर्यो । हातका औँला, ओठ सबै नीला भए । हतार-हतार गरेर रिम्स अस्पताल लिएर आएका । डाक्टरले अक्सिजन लेबल धेरै कम, ३५ को छेउछाउ होला, भएको छ भन्दै थियो ।’
आमा सिकिस्त बिमार भएको वृतान्त सुन्दा सल्याक्सुल्युक भएँ । शरीरमा अक्सिजनको मात्र कति हुनुपर्छ त्यो समय मलाई साँच्चै थाहा थिएन । ‘अक्सिजनमा राखेको छ’ भनाइले आमाको अवस्था बुझ्न मलाई पुगिसरी भयो ।
म र प्रदीप दादा घरदेखि बाहिर थियौं । मैले भोलिपल्ट बिहानैको हवाइटिकट गरें । प्रदीप दादा भएको ठाउँबाट एयर कनेक्टिभिटी नभएको हुनाले पर्सिपल्ट आउने पर्यो । मेरो गोवा ट्रिप केन्सल । बाह्र बजे इम्फाल ल्यान्ड भएर सिधै रिम्स अस्पताल गएँ । जेनेरल वार्डमा भर्ती गरेको रहेछ । आमा अलि-अलि बोल्न लाग्नुभएको थियो । अक्सिजनमा भएकी आमालाई देखेर मन पिरोलियो । डाक्टरले बिमारको सटीक नब्ज थाहा पाएको थिएन । डाक्टरलाई के समस्या हो भनेर सोध्दा पनि मजाले भनेको थिएन । घर लिएर जानु भन्दै थियो ।
केन्द्रिय मन्त्रीको निजी सहायकको रूपमा काम गर्थें । मैले मन्त्रीका यहाँ काम गरेको चार वर्ष मात्र हुँदैथियो । मलाई पावरको प्रयोग गर्न आउँदैनथ्यो जसरी निजी सहायकले निर्धक्क भएर गर्छन् । तर अहिले आमाका लागि गर्नु नै पर्ने अवस्था भान लाग्यो ।
फोन घुमाएँ । रिम्सको डायरेक्टर, एम.एस. सबै आमाको अघि उभ्याइदिएँ । त्यसपछि डाक्टर तात्तिए । आमाको भनाइअनुसार टाउको दुख्ने, छाती दुख्ने, घिच्चुक दुख्ने, कफ आउने, सास फेर्ने समस्या सुनाउँदा डाक्टरले दिनैपिच्छे केही न केही जाँच गर्न थाल्यो । टी.बी. देखि लिएर एच.आइ.भी. सम्मको जाँच गर्यो । घिच्चुक दुख्ने कारण चैं थाहा पाउन सकेन । फोक्सो सत्तरी प्रतिशत खराब भएकाले शरीरमा अक्सिजन कम भएको जानकारी हामीलाई पनि दियो ।
हप्तादिनमा आमा टाठी हुनुभयो । बोली चखिलो भयो । डाक्टरले औषधी लेखिदिएर घर पठायो । ढुक्क भएर घर आइयो ।
तीन-चार दिनमै फेरि त्यही समस्या- छाती दुख्ने, टाउको दुख्ने अनि औँला-ओठ नीला हुने । अस्पताल लिएर गयौँ । डाक्टरले चेस्ट विभागमा भर्ती गर्ने सलाह दियो । पहिले मेडिसिन विभागमा भर्ती गरेको थियो । आमा चेस्ट विभागमा भर्ती हुनुभयो । आमालाई एक हप्ता राखेर औषधी-पानी चलायो ।
अन्तमा डाक्टरले सल्लाह दियो- ‘जाडोमा सी.ओ.पी.डी. बिरामीलाई साह्रो पार्छ । मणिपुरमा चिसो भएकाले अक्सिजन लेबल घटिरहन्छ । राति अक्सिजन नदिई हुँदैन । घरमा अक्सिजन राख, लेबल कम भएको बेला अक्सिजन दिनू । घरमा अक्सिजन सेलेण्डर, अक्सीमिटर अनि निबोलाइजेसन राख । धेरै गाह्रो पर्दा मात्र अस्पताल लिएर आउनू ।’
डाक्टरको सल्लाहअनुसार त्यसै गर्यौं । घरमा कोठा गरम पार्न हिटरको व्यवस्था गरियो, झ्याल-दैला बाक्ला कपडाले ढाकियो । डाक्टरले भनेको औषधीदेखि लिएर आधी मान्छे लम्बाइको अक्सिजन सिलेण्डर लिएर आयौं । आमालाई कष्ट भइरहेको थियो । जाडाले च्यापिरहेको थियो । रातभरि पालै पालो गरेर आमाको सेवामा बसिन्थ्यो ।
एक दिन बिहान आमालाई निकै गाह्रो पार्यो । अक्सिजन लगाएकाले पनि काम काटेन । अक्सिजन लेबल चैक गर्दा ६० पुगिसकेको थियो । आमा आलास-तालास पर्नुभयो । बोल्न छोड्नुभयो । अस्पताल लाने भनेर रिम्सको डायरेक्टरलाई फोन गरें, एम्बुलेन्सका लागि ।
‘यहाँ त एम्बुलेन्स छैन । यति टाढाबाट त्यहाँ गई लिएर आउने समयमा उतैबाट गाडीमा लिएर आऔँ । छिटो हुन्छ ।’ डायरेक्टरको भनाइ थियो ।
गाउँमा एम्बुलेन्स कहाँ पाउनु ? आधीले त एम्बुलेन्सको अनुहार पनि देखेका थिएनन् । भेन बोलायौं । भेनमा अक्सिजन सिलेण्डर राख्न मिलेन । आमाको अवस्था मिनट-मिनट तल झर्दै थियो । रुवाबासी हुन लाग्यो । कोहिले त गङ्गाजल पिलाइदिनु भन्न लागे । यो सुनेर थप रुवाबासी हुन लाग्यो । बाबाले त हार पनि खानु भएरै होला, मलाई भन्नुभयो- ‘छोरा अब दुःख नगरौं अस्पताल लगेर । बीस दिनसम्म पनि अस्पताल राख्दा जाती भइन ।’
बाबाको हार खाएको न्याउरो अनुहार हेर्दा अझ मुटु निमोटिएको जस्तो भयो । हुने-नहुने मनले सोच्न लाग्यो । अक्सिजन बिनाको भेनमा लिएर जौँ भने बाटोमा केही अनर्थ हुने हो कि भन्ने अर्कै ठूलो पीर । केही उपाय नलाग्दा ओटो बोलायौँ । ओटोको साइडमा पलास्टिकको दाम्लोले कसेर सेलेण्डर बाध्यौँ । आमालाई बोकेर बाहिर निकाल्दा दिदी, भाउजू, बहिनीहरूले श्मशानघाट लगे जसरी नै रोएर घर उचाले । आफूले आँसु कहाँ रोक्न सक्नु ? उकुसमुकुस भएको मनले आँखाबाट आँसु झारेर हलुङ्गो हुने प्रयास गर्दा कहाँ सकिँदोरहेछ जब छेउमा भइएकी आमा अचेत हुनुहुन्छ ? यो कष्टको समयमा ओटो र सेलेण्डरको दृष्य हाम्रो नजरमा के हुन्थ्यो ? तर अरू मान्छेलाई यो दृष्य देख्दा उदेक लागेको थियो होला । दृष्यले एक्काइसौँ शताब्दीको लाचार समाज र सरकारको दृष्य देखाइरहेको थियो । अस्पताल पुग्यौँ । एमर्जेन्सीमा लगेर राखियो । म सिधै डायरेक्टर अफिस गएर भि.आइ.पी. वार्डमा भर्ती गर्ने अनुरोध राखें । अनुरोधलाई मानेर चाहेको वार्डमा भर्ती गराइदियो । दश दिनको बसाइँमा डाक्टरले निकै निमेक लगाएर जाँच गर्दै औषधी चलायो । फोक्सोलाई दह्रो पार्ने थेरेपी चलायो । दश दिनपछि छुट्टी गर्दा आमाको अवस्था निकै सन्तोषजनक थियो । जनवरी महिना सकेर फरवरी लाग्नाले जाडाको प्रकोप सुस्ताउन थालेको थियो । आमाको स्वास्थ्यमा धेरै सुधार आयो । दशदिन पछि डाक्टरले अस्पतालबाट डिस्चार्ज गर्दियो ।
अस्पतालबाट छुट्टी भएपछि केही दिनमा आमालाई प्रदीप दादाले लोनावाला, पुणे आफ्नो कार्यस्थलमा लिएर गयो । त्यसपछि आमा मसँग बस्नुभयो । यसरी कहिले मसँग त कहिले दादासँग गरेर आमा मणिपुरमा पाहुना समान हुन लाग्नुभयो ।
एम्बुलेन्सको सन्दर्भलाई मैले बिट मारिसकेको छैन । २०२० को कोरोनाकाल समयमा मेरो अध्यक्षतामा त्रिगुण फाउण्डेशन संस्थाको पञ्जीकरण मणिपुरमा गरियो । हामीले उद्घाटन कार्यक्रममै गाउँका लागि पहिले एम्बुलेन्स सेवाको शुरूआत गर्यौं ।
जनवरी ९, आइतवार, इम्फाल एयरपोर्टसम्म यहीँ एम्बुलेन्सको सेवामा जानुभयो । निरन्तर प्रयास एवम् सत्कर्म कार्य गर्यो भने भगवानले कतै न कतैबाट सहयोग पुर्याउँदारहेछन् ।
आमालाई चार बजेतिर कल गरेँ । बोर्डिंग पास लिने क्रममा हुनुहुँदोरहेछ । एकै कुरा सोधेँ, ‘कति छ अक्सिजन लेबल आमा ?’
आमाले भर्खरै आफैँ चेक गर्नु भएकोरहेछ । आमाको साथमा औषधी र अक्सीमिटर सधैँ साथ रहन्थ्यो ।
‘कान्छाले ६५ छ भन्दैथियो ।’
मन एकचोटि त आत्तियो । तीन घण्टाको बाटो कसरी आउनुहुन्छ होला ? आमाले हेर्न भूल गर्नुभयो होला भनी भाइ रमेशलाई कल गरेँ ।
त्यही प्रश्नमा भाइले भन्यो- ‘दादा अहिले भिडियो कल गरेर आमाको अक्सिजन लेबल हेरेको, ७५ देखाएको थियो ।’
भाइको उत्तरले अलिक त ढुक्क भएँ तर त्यो ७५ लेबलदेखि तल झर्ने असवर निकै थियो । टिकट गर्नुअघि मैले रिक्स नै लिएर गरेको हो । आमालाई कष्ट हुन्छ भन्ने त अड्कल काटिसकेको थिएँ ।
मन विचलित हुन त स्वाभाविक थियो । सीटमा बसेपछि कल गरेँ । जहाज उडेको पुष्टि गर्न फ्लाइटको टेकअफ समयमा कल पुनः गरेँ । फोन अफ भन्यो । आमाबाबा उडिसक्नु भएको पुष्टि भयो ।
चालीस मिनटपछि कल गरेँ । फोन उठ्यो ।
‘हामी गुवाहटी छौँ, साइँला ।’ आमाले भन्नुभयो । आमाको बोली अलिक नरम भएको बुझेँ । आश लाग्यो, अब चाहिँ आमाले अढाई घण्टाको बाटो काट्नु हुन्छ होला !
तीन दिन अघिदेखि नै मनमा कुरा खेलिरहेको थियो । आमालाई अक्सिजन नभई हुँदैन । घरको अक्सिजन कन्सन्ट्रेटर ल्याउन मिल्दैन । मेरो यहाँ छैन । सी.जी.एच.एस. संस्थानमा काम गर्ने साथीलाई अक्सिजन कन्सन्ट्रेटरका लागि भनेको थिएँ । उसले सोमवार या मङ्गलवारसम्म दिलाइदिने कुरा गरेको थियो ।
आमा आइपुग्ने दिन आइतवार, आजै हो । आइसक्दा अक्सिजन त चाहिन्छ चाहिन्छ ! के गरूँ ! मन मानेन । दुईतीन ठाउँ कुरा गरेँ । एक जनाले एस.डी.एम. अफिसबाट दिल्ली सरकारको नयाँ सरकुलरको आधारमा अक्सिजन कन्सन्ट्रेटर पाइने बाटो जनाइदियो । दुई दिन अघि एस.डी.एम. अफिसमा दुईतीन चोटि कुरा गरेको हुनाले अहिले गर्ने चासो राखिनँ ।
‘आमालाई गाह्रो त पक्कै भएको छ । झरिसक्दा अस्पताल सिधै लान्छु तर स्थिति सामान्य छ भने घर आउँदा अक्सिजन नभई हुँदैन, कसो गरूँ होला नि !’ सोच्दै मन त्यसै फट्फटी भयो ।
मन शान्त पार्न एस.डी.एम. अफिसको बाटो देखाउने मान्छेको भनाइअनुसार १०० नम्बरमा कल गरेँ । स्थानीय दिल्ली पुलिसको एस.एच.ओ. को नम्बर मागेँ तर फोन उठाउने पुलिसले एस.एच.ओ. अफिसमा नभएको जानकारी दिँदै मसँग समस्या सोध्यो । मैले सबै वृत्तान्त भनिदिएँ । अक्सिजनको सुविधा छैन बरु एम्बुलेन्स सर्बिस दिने बाटो देखाइदियो । धन्यवाद भनी फोन राखेँ ।
बेलुकाको छ बज्न लागेको थियो । आमाबाबा गुवाहटीबाट उड्ने समय । दिल्ली झर्ने समय अझै तीन घण्टा हुँदै म एयरपोर्ट जान तयार भएँ ।
पुलिसको कल आयो ।
‘आपने १०० नम्बर पर काल किया था ?’
‘जी मैंने किया था ।’
‘मैं आपके बिल्डिङ्ग के बाहर आया हूँ । आप आ जाओ बाहर ।’
म तयार भइसकेर गएँ । उसलाई मेरो समस्या बताएँ । उसले पनि अक्सिजन कन्सन्ट्रेटर नपाउने कुरा जनायो । अक्सिजन कन्सन्ट्रेटर दिलाउन असमर्थता जनाउँदै बरु अस्पतालसम्म यही पुलिस गाडीमा लगिदिने कुरा पनि राख्यो ।
‘हुन्छ केही छैन’ भन्दा पनि ‘जबसम्म ठूलो अधिकारीलाई रिपोर्ट जाँदैन तबसम्म हामीले छोड्न मिल्दैन’ भनी पुलिसले आफ्नो कर्तव्य-निष्ठा देखायो । पहिलो चोटि १०० नम्बरमा कल गरेको मूल्य थाहा पाएँ ।
केही क्षणमा फेरि एस.एच.ओ. पनि आयो । मैले पुनः सबै समस्या र अनुरोध राखिदिएँ । उसले पनि अघिका उत्तर दोहोर्यायो । सबै जानकारी लेख्यो । उसले एस.डी.एम.को नम्बर दियो । मैले एस.डी.एम. लाई कल गरिनँ । मलाई मनमा खट्पटी भएरै १०० नम्बरमा कल गरेर चान्स मात्र लिएको थिएँ । आजसम्म थाना नदेखेको मान्छेले पुलिससँग यसरी साक्षात् भेटेर आफ्नो लागि कुरा गरेको पहिलो चोटि थियो । पुलिस गए । म एयरपोर्ट जान मेट्रोतिर लागेँ ।
ओमीक्रोनले गर्दा विकेन्ड लकडाउन थियो । मेट्रोमा बस्दा बिहान सात बजे ठुली र सानी दिदीको मिस कल फिर्ता गरेँ ।
स्याँक्स्याक् रुँदै ठुली दिदीले भन्नुभयो- ‘भाइ बिहानै आमालाई कल गरेथेँ । आमाले बोल्न पनि सक्नु भएको थिएन । मलाई भन्नुहुँदैथ्यो – दिल्ली कसरी पो जानु होला छोरी ! आमाको हालात देखेर मलाई पनि लाग्यो कसरी दिल्ली पुग्न सक्नुहुन्छ आमा ? तँलाई फोन गरेर टिकट केन्सल गराउनु न आमा भन्दै आमालाई सिकाइ पनि हेरेँ तर आमाले भन्नुभयो – मान्दैन छोरी साइँलाले । अब कष्ट गरेर पनि जान्छु । तँलाई कल गरेथेँ टिकट केन्सल गर्दे भनेर । तर फोन उठाइनस् !’
सानी दिदी भन्नुहुन्छ- ‘बिहान त आमाको हालात देखेर जान सक्नु हुन्छ जस्तो लागेको थिएन । तर घाम चर्किंदै गएपछि नोर्मल हुनुभएको थियो । तँलाई कल पनि गरेँ टिकट केन्सल गर्दे भन्न तर फोन उठाइनस् । आज आमा बिदा हुँदा आँखाभरि आँसु पार्दै जानुभयो । पहिलेपहिले समय जाँदा आँसु कहिल्यै झार्नु हुँदैनथ्यो । कस्तो नराम्रो लाग्यो भने नि !’
दिदीहरूका कुरा सुनेर खट्पटी भएको मन झन् निराश भयो । म साढेसात बजे एयरपोर्ट पुगेँ । अझै फ्लाइट झर्न दुई घण्टा बाँकी नै थियो । आजको दिन दुइटा अनलाइन साहित्यिक कार्यक्रमा सहभागी हुन्छु भनी आयोजकलाई भनेको थिएँ । एउटा कार्यक्रम साहित्यकार महेश पौड्यालको ‘अपरिचित अनुहार’ कथासङ्ग्रह पुस्तकमाथि परिचर्चा अनि गोर्खा ज्योतिको ‘रचना वाचन’ कार्यक्रम ।
महेश पौड्यालको पुस्तक चर्चा सुनिरहेँ । आधा मन यता लगाए पनि मन आमासँगै जहाजमा विचरण गरिरहको थियो । आठ बजेपछि फेरि गोर्खा ज्योतिको कार्यक्रममा गएँ । पन्ध्र मिनट जति त्यहाँ रहेर फेरि यता पुस्तक परिचर्चा कार्यक्रममा आएर सुनिरहेँ । ८:४५ भएपछि मनको खटपटी शान्त गर्न आमाबाबा आउने फ्लाइटको स्टेटस चेक गरेको लेन्डिङ्ग टाइम ८:४५ कै देखायो ।
मन अलिक ढुक्क भयो । आमाको फोनमा कल हानेँ । घण्टी गयो । फोन उठेन । पाँच मिनटपछि गरेँ । फोन नोट रिचेबल भन्यो । पन्ध्र मिनटमा कल फेरि गरेँ । घण्टी गयो अनि फोन पनि उठ्यो । बाबाले कल उठाउनु भयो । बाबा कान कम सुन्ने भएर खासै फोनमा बोल्नुहुन्न । मैले अड्कल काटेँ पक्कै आमालाई सञ्च छैन ।
‘बाबा आमालाई कस्तो छ ?’
बाबाले आत्तिएको, डराएको स्वरमा उत्तर दिँदा मन चिसो भयो ।
‘आमालाई फ्लाइटमा बहुतै साह्रो पर्यो । आलास्-तालास् भएकी थिई । चेत गएको थियो । अहिले अथ्बा छे ।’
‘अनि अक्सिजन लगाएको छ बा ?’
बाबाले सुन्नुभएन मेरो प्रश्न । ती माथि डराएपछि कसरी बुझ्नु र ? तीन-चार चोटि सोध्दा पनि बुझ्नु भएन । छेउछाउको मान्छेले बाबालाई के-के सोधेको मैले सुनिरहेँ । कस्तो आत्तेस् परेको थियो होला बाबालाई ? न भाषा जान्ने, न कान सुन्ने न केहीबारे मजाले जानकरी राख्ने !
आमाको साथमा असहाय बाबाको स्थिति बुझेर मेरो भावना उर्लिरह्यो । फोन काटेर फेरि लगाएँ । उठाउनु भयो ।
‘बाबा छेउमा हुने कुनै पनि मान्छेलाई फोन दिनु न म कुरा गर्छु ।’ बाबाले सुन्नुभएन ।
छेउको मान्छेले आफैँ भनेको सुनेँ-‘तेरो मान्छेसँग म कुरा गरूँ ?’
बाबाले उसलाई फोन दिनुभयो ।
‘आप इनके कौन हो ?’
‘मैं इनका बेटा हूँ ।’
‘मैं डाक्टर हूँ । इसी फ्लाइट में था । आपकी मम्मी की तबियत बहुत खराब है । बुखार है और अक्सिजन सेचुरेसन भी कम है ।’
उसको कुराले मन झन् आत्तियो ।
‘डाक्टर साबह क्या इन्हें बिना अक्सिजन के बाहर लाया जा सकता है ?’
‘बिल्कुल नहीं । अभी फ्लाइट का इमर्जेन्सी अक्सिजन लगा हुआ है । बाहर ले जाने के लिए एम्बुलेन्स या अक्सिजन की आवश्यता होगी ।’
यति भनेर कल काट्यो । के गरूँ के गरूँ भनी मन आत्तियो । अघि १०० नम्बरमा कल गरेको याद आयो । फेरि १०२ मा कल गरेर एम्बुलेन्स मगाएँ । दश मिनटमा पुग्ने पुष्टि दियो ।
बाबालाई पुनः कल गरेँ तर उठाउनु भएन । फोन गर्दा पनि बाबा आत्तिनुहुन्छ होला, एक मनले सोच्यो । तर आमाको पीरले मन मानेन । फेरि कल गरेँ । कल उठाउनु भयो । बाबालाई छेउको मान्छेलाई फोन दिनु भनेँ । यो चोटि कल गर्दा बाबाको छेउमा अर्कै मान्छे रहेछ ।
‘अक्सिजन सेलेण्डर के साथ लेकर आ रहे है ।’ उसले भन्यो ।
‘मैं एराइबल गेट नम्बर १ में हूँ । एम्बुलेन्स भी यही खडी है ।’ मैले उसलाई जानकारी दिएँ ।
‘दस मिनट में लेके आ रहे है ।’
उसको जवाफले मन अलिक शान्त भयो । दश मिनट काट्न पनि सजिलो परेन । भित्र पस्न सुरक्षाकर्मीलाई अनुरोध गरेँ । उसले एकजना सुरक्षाकर्मी साथ लिएर जाने अनुमति दिँदै मात्र थियो आमालाई अक्सिजन सिलेण्डरसहित विलचेयरमा लिएर आएको देखेँ । आमालाई देखेउपरान्त मन ढुक्क भयो । आमाको गोडा ढोगेर एम्बुलेन्सतिर लिएर हिँडेँ । आमालाई एम्बुलेन्समा चढाइयो । एम्बुलेन्सकर्मीले अक्सिजन लगाइदियो । जसले विलचेयरसहित आक्सिजनमा आमालाई लिएर आएको थियो त्यो मेदान्त अस्पतालको रहेछ । उसले तीन हजारको बिल फाडेर दियो ।
एम्बुलेन्स आर्मी बेस अस्पतालतिर गुड्न लाग्यो । बाबाले पुनः फ्लाइटको वृत्तान्त सुनाउनु भयो । आमालाई सिटमाथि भएको ए.सी.-को हावाले पिरोलेको रहेछ । केबिन क्रूलाई निभाइदेन पनि भन्नुभएको रहेछ तर भाषा नबुझेर होला ए.सी. को डायरेक्सन आमातिर पार्दिछे । ए.सी. को हावाले आमाको फोक्सो च्याप्न समय लगाएनछ ।
अँ, म फरवरी, २०२४ मा आमा सीमा बहिनीको बिहेमा मणिपुर गएपछि बिमार भएको अनि अस्पतालबाट डिस्चार्जउपरान्त दिल्ली आउनका लागि आमालाई मनाउँदै गरेको सन्दर्भमा थिएँ । आमा सिलीगुडी अनि त्यहाँबाट फेरि दिल्ली आउने कुरामा राजी हुनुभयो । आमालाई एम्बुलेन्समा एनआइवी लगाएरै सिलीगुडी ल्याइयो । आमाको स्वास्थ्य पहिलेकोभन्दा राम्रो भयो । एनआइवीको थेरेपीले आमाको अक्सिजन लेवल पनि बढ्यो । प्रदीप दादाको ससुराली इलाम अनि आमाकी पुखौ, मणिपुर हुँदाकी प्रिय साथीको घर बुधवारे जाने इच्छा राख्नुभयो । वहाँलाई हामी खत्रिनी आमा भन्थ्यौँ । प्रदीप दादाले आमाको स्वास्थ्य राम्रो देखेर नेपाल भ्रमणमा लिएर गयो । तीनचार दिनको भ्रमणपछि घर आउँदा पनि आमाको स्वास्थ्य बिग्रिएन ।
एक महिना पछि जुनको ७ तारिकमा दादा प्रदीपले आमा-बाबा अनि दादाका सास-ससुरासहित परिवालाई दिल्ली लिएर आयो । आमाबाबा एकसाथ आएको बेला अयोध्या धाम प्रभु श्रीरामको नवनिर्मित मन्दिरको दर्शन गर्ने योजना आउँदै भएको थियो ।
जुन १३ मा अयोध्या पुगियो । प्रभु श्रीरामको राम्रोसँग दशर्न भयो । हामी खुशी भयौं । आमाको भाग्य कति राम्रो रहेछ, हिजोअस्ति सिकिस्त बिमार हुनुभएको अहिले अयोध्या धाममा दर्शन गर्न आइपुग्नुभयो । यो सम्भव भएको प्रभु श्रीरामको आशीर्वादले हो भनेर हामीले कुरा पनि गर्यौं । भगवानलाई मुरीमुरी धन्यवाद दिएँ । दर्शन गरेर दिल्ली आइयो । आमालाई छ्यास्स केही पनि भएन; न खोकी लाग्यो, न ज्वरो न थकाइ लाग्यो । आमाको स्वस्थ्य ठीक थियो ।
दिल्ली गइसक्दा निको भइहाल्नु हुन्छ, मणिपुर नफाप्नेरहेछ भनेर घरगाउँतिर सबैले कुरा गरिरहे । आमा सिकिस्त भएको देखेर सिलीगुडी आउँदा सबैले रुँवाबासी गरेर बिदा दिएका थिए तर अहिले दिल्ली आई तीर्थधाम गरेको देखेर सबै अचम्मित थिए अनि खुशी पनि ।
आमा पहिले दिल्लीबाट मणिपुर गइसक्दा फोनमा कुरा गर्न मन लागिरहन्थ्यो । आमा साथ नहुँदा शून्य लाग्थ्यो तर आमा दिल्ली आइसक्दा सामान्य । धेरै कुरा गर्छु, यो भन्छु त्यो सोध्छु भनेर सोचेका कुरा बिर्सिहाल्थेँ । तर यो चोटि दिल्ली आउनका लागि आमालाई फकाउँदा भनेका कुराहरू मेरो दिमाखमा चलिरहेका थिए ।
आमा आएको केही समयमा मैले एकदिन रातिको खानापछि आमासँग धेरैबेर कुरा गर्ने ठानेँ । आमाले पुराना आफ्ना दुःख-सुखका कुरा गहिरो भावमा निकाल्नुहुन्छ भनेर आमालाई सोध्ने तरीकामा गम्भीर भाव मिश्रण गरेर सोधेँ-
‘आमाले पहिले सत्कुरी हुँदाको समयमा, नरन भइसक्दा, घरमा काम गर्ने म नै हुँ भनी अरूलाई देखाउनका लागि, धेरै हौसिएर खोलामा लुगा धुन, घाँस काट्न, धान रोप्न जानु भयो, काम काम अनि काम मात्र गर्नु भयो; त्यही कारणले गर्दा अहिले बिमारले मजाले च्यापेको छ, दिनरात दबाई खानु परेको छ, अस्पताल धाइरहनु पर्छ, सुइँ घोचिरहनु पर्छ, कति कष्ट भएको छ आमालाई, दिनरात दबाई खान आमालाई कति साह्रो परेको छ, वाक्कै हुनभएको छ !’
हामी साना हुँदा, आमाले पहिले-पहिले सुत्केरी हुँदा काम गरेका कुरा सुनाइरहनुहुन्थ्यो । ती नै कुरा सम्झेर अहिले आमालाई प्रश्न गरेको थिएँ ।
मेरा प्रश्नले आमा गम्भीर हुनुभयो । आमाको अनुहारको भावचिन्ह यस्तो प्रतीत भयो मानौँ मैले आमालाई गाली गरिरहेको छु । आमाको गम्भीर भएको देखेर मन चिसो भयो अनि प्रश्नको भाव फेरेर भनेँ-
‘हैन आमा, सुत्केरी हुँदा चैँ काम नगरेको भए, आमालाई चाँडै चिसो लाग्ने बिमार हुने थिएन, अहिले कष्ट पाउनु हुनेथिएन,…भनेको पो त, आमा !’
आमाले अति कोमल अनि स्वयम्लाई बिचारा भएको भावसँग भन्नुभयो- ‘के गर्नु छोरा, काम नगरी हुँदैनथ्यो !’
‘अनि हजुरआमा, काकाहरू, अनि भाञ्जी दिदी सुनिता दिदी र बिमला दिदी पनि त हुनुहुन्थ्यो ?’
‘हजुरआमाले त्यही सुत्केरी हुँदा खाना पकाएर दिनुहुन्थ्यो । सासुआमालाई बाहिरको काम बाबा-काकाहरूले गर्न दिनुहुन्नथ्यो अनि भाञ्जीहरूलाई आमाले नदिने ।’
‘अनि काकीहरू ?’
‘काकाहरूले बिहे गरिसक्दा छुट्टिहाले ।’
‘घरमा हुने काकाले काम सघाउनु हुन्नथ्यो ?’
‘का सघाउनुहुन्थ्यो र ! धान कुट्नधरि आफैँ डलिनुपर्थ्यो । तँ, प्रदीप वर्षदिनको नहुँदै डढेलोमा चेपेर राति ढिँकीमा धान कुट्नु पर्थ्यो । रमेश र हेमाको पालामा चैँ ठुली र सानी ठूला भएका थिए र भाइबिना हेर्दिए । दिनभरि मेलापात जानु पर्ने हो कि, गाईबस्तुको घाँस काट्नु पर्ने हो कि या दाउरा काट्नु पर्ने हो, ती सबै काम सकेर बेलुका घर आएर कोक्राको नानीलाई दूध दियो, गिलो भात पकाएर ख्वायो अनि खाना खाएर धान कुट्न जानु पर्थ्यो ! छाती दुखेर खप्न नसक्ने हुन्थेँ तर गर्दिनँ भन्न मिलेन ।’
आमाका कष्टका दिन सुनेर मन कस्तो अँध्यारो भयो । सम्झेँ, आमा पछिसम्म छाती दुख्यो भन्नुहुन्थ्यो, हामीलाई बोकेर ढिँकी कुटेर रहेछ !
फेरि मैले सोधेँ- ‘अनि सुत्केरी हुँदाको बेला, ढिँकी कुट्न बाबाले सघानु हुँदैनथ्यो र ?’
‘खोइँ ! कहिल्यै सघाउनु भएन । कहिलेकाहीँ चैँ अन्तरे देवरले सघाउँथे । यो त के र ! नानी जन्मिँदा खुन लागेका लुगा पनि आफैँ घर मुन्तिरको खोलामा गएर धुन्थेँ । नरन सकेका भोलिपल्ट नै खेतमा धान रोप्न जानु पर्थ्यो ।’
‘खइँ ! के गर्नु आमा, अब माइत जानुहुन्थ्यो भने पनि आमा सानै हुँदा हजुरबा हजुरआमा खस्नुभयो । हामीले पनि हजुरबाआमालाई देख्न पाइएन । एउटा भएको काका असममा हुनुहुन्थ्यो । माइती, आफन्त कोही थिएनन् । सबै हुन्थे भने सुत्केरी स्यार्न, खुवाउन लैजान्थे होला ! एकजना भएका मामा इम्फालमा कता हो कता ! इम्फालबाट गाउँबाट आइजाइ गर्न गाह्रै हुन्थ्यो होला ।’
‘खोइँ ! के गर्नु छोरा !’
यसरी नै आमाले हामी साना छँदाका धेरै कुरा गर्नुभयो । सुनिरहेँ, आमाको दुःखले भरिएको जीवन सुनेर मन पोल्यो । यसरी सुनेको पहिलो चोटि थिएन, पहिले पनि आमाले बीचबीचमा कुरा गर्नुहुन्थ्यो तर यो पालि मैले सोधेको हुनाले मलैसित भन्नुभयो । सुनेको मात्रै काँ हो र ? आफूले पनि देखेकै हो आमाबाबाको संघर्षको जीवन । अहिले गएर, हामीले आमाबाबालाई भरसक सुख दिने प्रयास गरिँदै थियो तर सोचे जस्तो हुँदोरहेन, खाने र डुल्ने सहुलियतको समय आउँदा बिमारले च्याप्दोरहेछ । शायद यही होला जीवनको तीतो सत्य ।
आमासँग हुँदै गरेका कुरा मोबाइलमा कैद गर्दै थिएँ, आमाले बुझ्नुभएछ, भन्नुभयो- ‘यो साइँलो त बिड्यो पो बनाउँदै रछ । फैम्ली ग्रुपमा चैँ न हाल है, काकाहरू रिसाउँछन् । तँ त हालिपो हाल्छस् !’
म एकछिन हाँसेँ ।
यसरी नै, म आमाका भिडियो बनाइरहन्थेँ । परिवारसँग साझा गरिरहन्थेँ । त्यै कारण आमाले त्यसो भन्नुमा नयाँ कुरा थिएन ।
आमाको कुरामा जवाफ फर्काउँदै भनेँ- ‘हो त, म ग्रुपमा हाल्दिन्छु, काकाहरूलाई थाह होस् कि भाउजूलाई किन काम नसघाउनु भएछ ।’
‘नहाल है !’ भन्दै आमा पनि हाँस्नुभयो ।
आफन्तसँग जति कुरा गरे पनि मन कहिल्यै भरिँदोरहेन । जब आमाको कुरा आउँछ मन कसरी भरिन्छ र ! छेउमा हुँदा यादै नभएर पनि आमा टाढा हुँदा कति कुरा गर्न मन हुन्छ त्यसको भावलाई शब्दमा वर्णन गर्न सकिँदैन अनि जब आमाले सधैँका लागि छोडेर जानुहुन्छ त्यसपछिको त कल्पना पनि गर्न सकिँदैन ।
म, आमाको सम्झनामा कता हो कता अल्मलिएछु । म, आमाको चिता जल्दै गरेको श्मशान घाटमा थिएँ । झण्डै तीन घण्टामा आमाको शरीर अग्निमा विलीन भएर खरानीको रूपमा परिणत भयो । पुरेत र ठुलाठालाले अह्राएअनुसार पुत्रकर्म गर्ने क्रममा नुहाएर सेतो वस्त्र धारण गरेपछि घरतिर लागियो ।
आमा बिदा हुनुभयो । बिदा भन्दा सम्झना आयो आमा बिमार हुँदाको समय । फेरि आमाको सम्झनामा अल्मलिन्छु ल ? कुरा १९ डिसम्बर, २०२४ को हो । मलाई एक हप्ता ज्वरो आएर भर्खरै जाती मात्र हुँदै थिएँ । घडीले बिहानको नौ बजाउँदै होला । म सुतिरहेको थिएँ । मेरो ज्वरो ओर्लिसकेको थियो तर एक हप्ताको ज्वरोले शरीर कमजोर, त्यहीमाथि जाडाले गर्दा कम्मल हल्लाउन पनि मन भएको थिएन ।
‘साइँला, म गए है !’ आमाले भन्नुभयो ।
आमालाई तीन-चार दिनदेखि टाउको दुख्ने, अक्सिजन कम हुने अनि अनुहार सुनिएर असञ्चो हुनुहुन्थ्यो । एक हप्ताअघि नै बहिनी मधु र मैले आर्मी बेस अस्पताल, दिल्ली केन्टमा देखाएर ल्याएका थियौँ । औषधी चलिरहेको थियो, समय समयमा अक्सिजन दिइरहेको थिएँ । म साथै दुइटै नानी पनि ज्वरोले लखतरान भएका थिए । मधु बहिनी नीलू-नीरज (काकाका छोरा-छोरी)को साथमा बसेको चार-पाँच महिना भइसकेको थियो । म बिमार भएकाले झट्टै अस्पताल लिएर जान सकिनँ । हिजोबाट चैँ आमालाई अलिक गाह्रो भएको लाग्यो र अस्पताल नलगी हुँदैन भनेर बेलुका फोन गरेर मधुलाई बोलाएँ । मधु राति नै घर आई । भोलिपल्ट आमालाई बिहानै अस्पातल लिएर जा, भनेँ ।
भोलिपल्ट बिहान नौ बजे मधुले आमालाई लिएर जान लागी । आमाले अस्पताल जान मसँग बिदा माग्नु भएको थियो । मैले उठेर, आमाको छेउमा गएर अँगालो मारेर बिदा गरिनँ । मलाई के थाहा र आमाले सधैँभरिका लागि जाने बिदा माग्नु भएको हो !
अलिकति मुन्टो उठाएँ, आमाले पातलो कम्मल ओड्नुभएको थियो । आमाको शरीर हेर्दा, पूरै गलेको, सिकिस्त बिमार भएको जस्तो देखिनु भएको थियो । मधुले आमालाई समातेकी थिई । मेरो आँखामा चेश्मा नहुनाले यही दृश्य पनि मधुरो देखेँ ।
‘ल त, आमा चाँडै जाती भएर आउनू ।’ मैले यति भन्नुमा पनि त्यही दुई-तीन सकेण्ड लाग्यो होला ।
‘ल ! ल !’ भन्दै आमा जानुभयो ।
दिनमा बाह्र बजेतिर बहिनीलाई कल गरेर आमाको स्वास्थ्यबारे सोधेँ ।
बहिनीले भनी- ‘आमालाई एमर्जेन्सीबाट अहिले वार्डमा भर्ती गरेको छ । आमा यहाँ आइसक्दा ठीक हुनुभयो ।’
अस्पताल गइसक्दा ठीक हुनुहुन्छ भन्ने थाहा थियो । सातसालदेखि आमालाई अस्पताल लगेको अनि ठीक भएको देखिआएका थियौँ । जाडो महिनमा सात-आठ दिन भर्ना नगरी हुँदैनथ्यो । आमा अस्पताल जानु, ठीक हुनु अनि घर आउनु हाम्रा लागि सामान्य कुरा भइसकेको थियो ।
अस्पतालबाट बेलुका बहिनी आई । आर्मी अस्पतालमा बिमारीसँग बस्न पाइँदैन । बिरामीको ख्याल राख्नेदेखि लिएर खानेपिउने सबै व्यवस्था त्यहीँ रहन्छ ।
‘आमालाई कस्तो छ अहिले ?’ बहिनी घर पसिसक्दा सोधेँ ।
‘ए ! आमा त अहिले टाठी हुनु भ । आवाज चखिलो अनि अनुहार उज्यालो भएको छ ।’
बहिनीले खुशी हुँदै भनी । म पनि खुशी भएँ । सोचेँ, अब चार-पाँच दिनमा आमा जाती भएर घर आउनुहुन्छ ।
‘अनि एनआइवी लगाएको छ ?’
‘अ, लगाइदिएको छ ।’
‘आमाले खाना खानुभयो ?’
‘अ खिलाएर आएँ । भोलि जाँदा चिकानसुप बनाएर लगिदिनु रे !’
‘ए ! ए ! लगिदे न !’
‘नर्सले मलाई भन्दै थिई कि तुम्हारी माता को अच्छे से समझा देना, फोन पर बहुत बात करती है !’
‘अनि भनिस् होला नि त आमालाई, धेरै नबोल्नु भनेर ।’
‘आमा का मान्नुहुन्छ र !’
‘हो हुन त !’
आमाले फोनमा धेरै बोल्नुहुन्छ भनेर त्यहाँका नर्सले पनि थाह पाएका थिए । त्यहीँ वार्डमा पछिल्लो सातवर्षमा धेरैचोटि भर्ना भइसक्नुभएको थियो ।
सन् २०१८ यता आमा बिमार भएपछि आमा चाहे मणिपुर बस्नुभयो या मणिपुरबाहिर कामले आमालाई बिदा दियो । बलको काम गर्नका लागि आमासँग ताकत रहेन । आमासँग प्रशस्त समय नै समय । यही वर्ष होला, आमालाई एनरोयड फोन हात लगाइयो । बिस्तारै-बिस्तारै आमाले फोन लगाउन, फेसबूक-युट्युब-व्हाट्सअप-भिडियोकल इत्यादि गर्न सिक्नुभयो । घर र गाउँबाट टाढा भएपछि शहरको कोठाभित्र बस्ने परम्परादेखि आमाको मन भुलिने उपाय, भनौँ आमाको प्रिय साथी भने, मोबाइल थियो । दनभरि छोरा-छोरी, काका-काकी, मामा-माइजू, सानीआमा अनि सबै आफन्तसँग गफिनुहुन्थ्यो । आमाबाट मणिपुर, असम, अरूणाचलदेखि नेपालमा हुने सबै आफन्तको खबर सुन्न पाइन्थ्यो । आमा कसैको फोन मिस गर्नुहुन्नथ्यो । आमाको टाउको दुखेको समयमा पनि फोन बज्यो भने दिक्क नमानी कल उठानुहुन्थ्यो । फोनमा कुरा नगरेका बेला नेपाली कमेडी भिडियो, भजन, दोहरी गीत, नेपाली फिल्म, सिरेल नियमित सुन्ने, हेर्ने । कहिलेकाहीँ छेउमा आएर यो गीत सुन त साइँला भन्नुहुन्थ्यो । आफूलाई दोहरी गीत सुन्न त्यति मन लाग्दैन, आमाको मन राख्न भए पनि एकछिन सुनिदियो । अलिकति सुनेकाले आमाले भन्नुहुन्थ्यो ‘एक्छिन त सुन, कति मजाको छ’ । भन्दा, ‘पछि सुनौंला न आमा’ भन्थेँ ।
आमाले फोनमा धेर बोलेको सुनेर कराउथेँ- ‘आमा टाउको दुखेको बेला धेरै फोनमा नबोल्नु न, झन् टाउको दुख्छ । एउटै मान्छेलाई दिनै कल नगर्नु, महिनामा एक चोटि गरे हुन्छ !’
तर आमाले कहाँ मान्नुहुन्थ्यो ? आमा फेसबूकमा पनि कति वर्षदेखि नबोलेका, टाढा गएका छिमेकीसँग बोलिरहुनुहुन्थ्यो । हामीलाई आमाले बोलेको धेरै लाग्थ्यो तर आमाले यसरी सबैसँग बोलेर इष्टमित्र धेरै पाल्नुभएको रहेछ ।
बहिनीबाट नर्सले आमाका लागि फोनबारे दिएको हिदायत सुनेर होला आमालाई फोन गर्ने चासो राखिनँ । अरू बेला आमा भर्ती भएको बेला पनि फोन गर्दा दुई कुरा गरेर फोन राख्थेँ । अस्पताल जाँदा छेउछाउकाले ‘तुम्हारी माँ फोन में ज्यादा बातें कर सबको डिस्टर्ब करती है, कम बातें करने को बोलो’ भनेर सिकायत गर्थे ।
आमालाई मैले फोन गरिनँ ।
भोलिपल्ट पनि म अबेला उठेँ । शरीरमा त्यति ताकत आइसकेको थिएन । अफिस जाने हिम्मत आएन । म उठ्दा बहिनी अस्पताल गइसकेकी थिई । बाह्र बजे उठेर, खाना अनि दबाई खाएर फेरि सुतेँ ।
अपराह्न तीन बजे उठेँ । फोन साइलेन्ट गरेर सुतेको थिएँ । उठेर फोन हेरेको बहिनीका तीनवटा मिसकल रहेछन् । आत्तिएँ । तुरन्तै कल हानेँ ।
‘फोन गरेकी रछेस्, के भयो मधु ?’
‘दा आउन सक्नुहुन्छ होस्पिटल?’
‘ला ! के भयो र ?’ मन आत्तियो !
‘आमालाई आईसीयूमा लग्यो ?’
‘ला ! आईसीयूमा किन लग्यो र ?’
‘खइँ ! एनआइवीले पनि कार्बन डाइअक्साइडको लेबल कम भएन रे नि !’
‘ल ! ल ! म हिँडेँ । आइहाल्छु ।’
मेरो ज्वरो, ज्वरो पछिको कमजोरी सबै एकै छिनमा बिलायो ।
साढे चार बजेतिर अस्पताल पुगेँ । आमालाई आइसीयूमा राखेको रहेछ । मुखमा एनआइवी, डाइपर, मुत्रथैली झुण्डाएको, हातमा केन्डुला । यी यन्त्र आमाको शरीरमा देखेको पहिलोचोटि थिएन तर डाइपर र मुत्रथैली लगाएको पहिलोचोटि थियो । आमाको अवस्था योचोटि गम्भीर लाग्यो तर मन विश्वस्त छ, आमा दुईतीन दिनमा ठीक भइहाल्नु हुन्छ ।
‘आमा, के भयो हौ ? साह्रो बनायो त यो पालि त ?’
‘खइँ !’
‘चिन्ता गर्नु पर्दैन, दुई दिन जति यो एनआइवी अक्सिजन लगाएपछि जाती भइहाल्नु हुन्छ पोरको साल जाति भए जसरी !’
‘तँलाई ज्वरो त आएको छैन नि ?’
आमाले एनआइवीबाट बोल्दा आवाज मजाले आएको थिएन तर कुरा बुझिराखेको थिएँ । आमालाई मरणासन्नमा हुँदा पनि आफ्नै छोराछोरीको पीर हुँदोरहेछ । आमाले प्रमाण दिनुहुँदैथ्यो ।
‘म ठीक भएँ । आमा, मधु भन्दै थिई बिहान वार्डमा हुँदा बाथरुममा बिहोस् हुनु भ रे ?’
आमाले सरापेको जस्तो देब्रे हात उज्याउँदै भन्नुभयो- ‘त्यो पड्के आयाले, बाथरूममा लगेर छोडिदिई अनि लिन नै आइन । निकैबेर बाथरूममा बसेँ नि ! मधु आएपछि ऊसँग आएँ ।’
आमालाई एनआइवीबाट बोल्न सारो परिरहेको थियो । त्यही क्षण नर्स आएर एनआइवी मजाले सेट गर्दै भनी- ‘अम्मा, ठीक से श्वास लो नहीं तो आप को वेन्टीलेटर में डालना पडे़गा ?’
नर्सको कुरा सुनेर झसङ्ग भएँ । सोचेँ ‘यसले किन यस्तो भनेकी होली ! आमालाई डर देखाएर मजाले सास फेर्नका लागि हो कि या यसले आमाको स्थिति बुझेर भनेकी हो ! यसै भनेकी होली भनेर मनलाई ढुक्क बनाएँ ।’
आमासँग धेर बोल्न उचित लागेन । एनआइवीबाट बोल्न गाह्रो भइरहेको थियो ती माथि ट्रीटमेन्ट प्रकिया चलिरहेको थियो ।
बाहिर आएँ । घरतिर दाजुभाइ आफन्तलाई आमा आइसीयूमा भएको खबर दिएँ । आमा आइसीयूमा भर्ना हुनुभएको पहिलो चोटि थियो ।
घडीले छ बजाएको छेउछाउ हुँदा, म र बहिनी घर आयौँ । आमालाई आज कल गर्न चाहेर पनि गर्न सकिँदैनथ्यो । आमालाई आइसीयूमा छोडेर आइएको छ । आमाको फोन मधुको साथमा छ । आज आइसीयूमा आमासँग बोलेको अन्तिम रहेछ ।
भोलिपल्ट, २१ डिसेम्बर, शनिवारको दिन । मधु बिहानै अस्पताल गई । म दश बजेतिर जान्छु भनेर बिस्तरा छोडेको थिइनँ । आइसीयूमा बिरामीलाई भेट्ने समय एघार बजे राखेको छ । नौ बजेको थियो । प्रदीप दादाको फोन बज्यो ।
‘हर्के काँ छस् ?’
‘घरमा छु । अब एक्छिन्मा अस्पताल जान्छु ।’
‘डाक्टरको कल आएको थियो, कार्बन डाइअक्साइड लेबल नघटेकाले अझै सिचुएसन खराब नहोस् भनेर वेन्टीलेटरमा राख्नुपर्छ भन्दै थियो । गएर बुझिहेर त ।’
‘ला ! के भयो हौ यो पालि त आमालाई !
‘त्यै त ! मलाई त पोर आमा बिमार भएको देखेर नै आमाको शरीर सारै कमजोर लागेको थियो । आमा हिम्मतै वाला हुनुहुन्छ, यति सालदेखि कष्ट खपिरहनु भएको छ ।’
‘त्यै त ! कष्ट त खपिरहनु भएको छ । आमालाई केही हुँदैन होला ! म मधुलाई कल गरिहेर्छु, बिहान गएकी छे । अब म पनि गइहाल्छु ।’
जुरुक्क उठेँ । छेउमै श्रीमती थिइन् ।
‘आमालाई वेन्टीलेटर लगाउने कुरा गर्दै छ रे डाक्टरले । म गएको होस्पिटल !’
‘म पनि जान्छु तपाईंसँग ।’
‘त्यसो भने छिटो रेडी हौ, हामी जानुभन्दा अघि नै वेन्टीलेटरमा हालिदियो भने आमासँग बोल्न पनि पाइँदैन ।’
हामी हतारहतार तयार भयौँ । दुई दिनअघि पोखरादेखि सासुआमा आउनु भएको थियो । दुवै नानीलाई आमाको साथ छोडेर हामी अस्पताल लाग्यौँ ।
मधु आइसीयूको बाहिर बसिरहेकी थिई ।
‘अघि आइछेस् त ? सँगै आउँदा हुन्थ्यो !’ मधुलाई भनेँ ।
भनी- ‘मन लागेन अनि सात बजे नै आएँ ।’
आइसीयूभित्र दुवै पस्यौँ । आमालाई वेन्टीलेटरमा हालिसकेको रहेछ । मुखबाट, नाकबाट पाइप । आँखा बन्द । वेन्टीलेटरमा राख्दा मरीजलाई सेडेसन (बिहोसी)मा राख्दा रहेछन् । गाह्रो परेर होला पाइपलाई चबाउने प्रयास गरिरहनु भएको थियो । यस्तो अवस्थामा आमालाई देख्दा छोराको कति मन आत्तिन्छ त्यसको कल्पना गर्न पनि गाह्रो हुन्छ ।
‘आमा ! आमा !’ मैले बोलाएँ ।
अलिअलि आँखा खोल्नु भयो । आमालाई बोल्न मन भए पनि मुखमा पाइप भएकाले कसरी बोल्नु हुन्थ्यो होला र !
मैले बोलाएको थाह पाएर हातले इशारा गर्दै बाहर जाने सङ्केत गर्नुभयो । शायद आमालाई लागेको थियो होला कि, म अब बाँच्दिनँ !
हामीले अड्कल काट्यौँ, छेउमा छोरा-बुहारी आउँदा मन थाम्न नसकेर बाहिर जानका लागि इशारा गर्नुभएको होला ।
केही समयमा हामी बाहिर आयौँ ।
मधुले पनि आमालाई हेरेर आई । उसका आँखामा आँसु थिए । उसका आँखामा आँसु चाँडै आउनु पनि उसका लागि अनेक कारण थिए । हामी नौजना छोराछोरीको मध्य मधुको छोडेर आमाले सबैको बिहे देखिसक्नु भएको थियो, आशीर्वाद दिनुभएको थियो । कान्छी छोरीको बिहे भएको, घरबार बसेको हेर्ने कति उत्कट इच्छा थियो होला ! कान्छी छोरीको विशेष चिन्ता पनि गर्नुहुन्थ्यो । यसै पनि बिमारले ग्रसित पारेपछि अविवाहित छोराछोरीको आमाबाबालाई बढी चिन्ता लाग्ने गर्छ । मर्नुअघि सबै छोराछोरीको जीवन शान्तिपूर्वक चलेको हेर्न मन लाग्छ । मधुका आँसुले भन्दै थिए होला, आमालाई केही भयो भने म कति अभागी रहेछु, मेरो विवाहमा आमाको आशीर्वाद पाउने छुइनँ । म सबैभन्दा कान्छी, आमासँग अरू दाजुदिदीहरूको जसरी आमासँग लामो समय बिताउन पाउने रहेनछु ।
मधुका आँसुले धेरै कुरा भनिरहेका थिए ।
मनमा अब शङ्का पलाउन थाल्यो, अब चाहिँ हामी आमाविहीन हुनेरहेछौँ ।
आजकै राति प्रदीप दादा असमबाट छुट्टी लिएर आयो ।
दिनदिनै आमाको स्वास्थ्य झर्दै गयो । हामी यहाँ दिल्लीमा हुने परिवार; म, मेरी श्रीमती कबिता, मधु, नीलू, नीरज, सुनीता दिदी, अनिल भेना, विशाल भान्जा, कृपा भाञ्जी, प्रिया भाञ्जी, सासुआमा, आमाका नातिनतिना रेयांश-विधिको भक्कानो बिस्तारै फुट्दै जान लाग्यो ।
आमाको स्वास्थ्य प्रतिदिन झर्दै गरेको देखेर आमाको अन्तिम समयमा बाबा साथ हुनुहुन्छ भनेर बाबालाई दिल्ली बोलाइयो । आमा वेन्टीलेटरमा पसेको तीन दिनपछि २४ डिसेम्बरमा मणिपुरबाट बाबा अनि माइँली दिदी आउनुभयो । अब, आमाले आँखा पनि खोल्न छोड्नुभएको थियो । डाक्टरलाई सोध्दा, भन्थ्यो- ‘माता जी को सेडेसेन में रखा है इसलिए आँखा नहीं खोल रही लेकिन वो सब सुन रही है ।’
डाक्टरले हामीलाई सान्त्वना दिएको थियो या यथार्थमा आमाको होस थियो, त्यो त आमालाई मात्र थाहा थियो जो बोल्ने अवस्थामा हुनुहुन्थ्यो । दिनै, यता दिल्ली अनि मणिपुरमा रुँवाबासी भइरह्यो ।
आमा जाती हुनुहुन्छ भन्ने आशामा बसिरहेका थियौँ । आफ्नी आमा भएर होला, पक्कै जाती हुनुहुन्छ भन्ने आशा मनमा थियो नत्र अरू मान्छे वेन्टीलेटरमा भएको बुझ्दा त्यसको निष्कर्ष निकाल्न समय लाग्दैन थियो ।
वेन्टीलेटर लगाएको छटौँ दिनमा डाक्टरले किड्नी ‘एलमोस्ट फेलर’ भन्दियो । आमालाई बचाउन सकिन्छ भन्ने आशा अब चाहिँ निराशामा बद्लिन गयो ।
आमा वेन्टीलेरटमा पसेको दिनबाट ‘साइँला ! म गएँ ल !’ भनेको मेरा कानमा गुञ्जिन लाग्यो । आफैँलाई जति बेला पनि कोसिरहेन्थेँ; कास ! म त्यो दिन आमाले बिदा मागेको बेला उठेर आमालाई मजाले हेरेर आमाको खुट्टा छोई आशीर्वाद लिएको भए हुनेरहेछ, मनमा धोको बस्ने थिएन होला ! मान्छेलाई अर्को क्षणमा के हुन्छ भनेर थाहा हुन्थ्यो भने कति सजिलो हुन्थ्यो होला कमसेकम उसका धोका अपूर्ण हुने थिएनन् ! मृत्युको खबर अगाडि नै थाह लाग्नु भने शायद आफन्त र मर्ने मान्छेका मनका चाहना र गर्ने इच्छाहरूको सूचि रहँदैनथ्यो होला !
एक क्षणका लागि पनि शङ्का लागेको भए, कि आमाले सधैँभरिका लागि जानलाई बिदा माग्नु भएको हो; आमाको अन्तिम बिदाइमा धिक मर्नेगरी बोल्थेँ, आमालाई हेर्थेँ, अन्तिम चोटि काखमा सुत्थेँ !
आमालाई पनि त थाह थिएन नि म सधैँभरिका लागि श्रीमान, छोरा-छोरी, र संसार छोडेर जाँदैछु । आमालाई अझै कति खुशीका साथमा जीवन जिउने इच्छा थियो ।
आमा ! मायाले भरिएको संसार यस्तै हुँदोरहेछ, तपाईंले मेरा लागि अन्तिम पुकारेको यही रहेछ ‘साइँला ! म गएँ है !’
‘आमा !’ अहिले पनि सम्झेर आँसु आए ।
मनमा कुरा खेल्दै छन्, स्वयम्लाई धिक्कार्दैछु, आमाले दुई-तीन चोटि आमालाई मन परेको दोहरी गीत बसेर सुनौँ भनेर मेरा कानमा एयरफोन राखेको बेला आमासँग पुरै गीत सुनेको भए हुनेरहेछ । आमाले फोनमा धेरै कुरा गरेको देखेर मैले मात्र कहाँ र घरमा अरू दाजुभाइ, दिदी-बिहिनी सबैले कराइरहन्थे । अहिले गएर सबै भन्दैछन्, ‘आमाको फोन आएको बेला काममा व्यस्त हुँदा धेरै बोलिँदैनथ्यो, अहिले आमाको फोन नआएकाले मन पिरोल्छ ।’
सम्झेर मन खल्लो हुन्छ; आमा अस्पतालमा पहिलो दिन भर्ती भएको दिन नर्सले आमालाई फोनमा धेर नबोल्ने हिदायत दिएको अनि आमाका छेउमा भर्ती भएकाले के सोच्छन्, के भन्छन् ती कुनै कुरा नसोची आमालाई फोन गरेर बोलेको भए, आमासँग अन्तिम समयमा बोलेका केही कुरा जीवनपर्यन्त याद रहने थिए ।
लेखनको बकेट लिस्टमा लेखेर राखेको थिएँ; आमा हुँदै, आमाले पाएका सबै दुःख-सुखका कुरा लेख्छु अनि आमालाई सुनाउँछु तर साँचेर मात्र राखियो । अहिले आमाको अनुपस्थितिमा लेख्दैछु । यही अन्तर रहेछ चिताको काम गरिहाल्नु र साँचेर राख्नुमा ।
आफ्ना आमाबाबाका लागि मनमा केही गर्छु, बोल्छु, तीर्थ घुमाउँछु भन्ने जस्ता केही इच्छा या विचार मात्र पनि आयो भने किन्तु-परन्तु केही नसोची संसाधन हुँदा गरिहाल्नु नत्र समयको प्रवाहलाई कसैले अड्कल काट्न सकिँदोरहेन ।
यस्ता उकुसमुकुस भएका कुरा सानी दिदीलाई सुनाएँ । सानी दिदीले के गर्न सक्थी र ! आँसु झार्नु र सान्त्वना दिनु बाहेक ।
हाम्रो मनमा उकुसमुकुसिएका कुरा साझा गर्न र मन अरूतिर भुल्याउन विकल्प थिए तर आमाले योभन्दा बढी यस्ता उकुस्मुकुसिएका कुरा लिँदै वेन्टीलेटरमा संघर्ष गरेको अठारह दिन भइसकेको थियो । यही दिन आमाको अन्तिम दिन रहेछ । ८ जनवरी २०२५, बुधवारका दिन आमाले अन्तिम सास फेर्नुभयो । हामीलाई मनभरि सम्झनाको पोको भिराइदिएर आमा परलोक जानुभयो । आमाविहीन हुने क्षण कति भारी र कष्टदायक हुन्छ यसको कल्पना मात्रले मुटु चिरिन खोज्छ । आमा हुँदाको भन्दा आमा गएपछिको आमाको र आमाको उपस्थितिको मूल्य कल्पनाभन्दा बाहिरको हुँदोरहेछ ।
आमाले सधैँ भनेको सम्झना आयो- ‘म मणिपुर मेरो घरमै, छोराछोरी, आफन्तको बीचमा मर्न चाहन्छु । मलाई दिल्ली न बोला साइँला ।’
आमाको मणिपुरमा मर्ने इच्छा पूरा गर्न सकिएन । यही धोको रह्यो आमाको । मर्नुअघि आमाका इच्छा, हाम्रा लागि अन्तिम उपदेश, अर्तिबुद्धिका सन्देश सुन्न पाइएन । आमाले भन्न चाहेका कुराहरू केही त मनमा थिए होला तर भाग्य विधाताको खेलको अगाडि केही लाग्दो रहेन, आमाका मनमा आएका सबै इच्छा, विचार, उपदेश, अर्ति चितामै स्वाह भए ।
आमाले अर्को ठूलो इच्छा राख्नुभएको थियो । आमाबाबाको विवाहको पचासौँ वर्षगाँठ मनाउने । दाजुभाइ, दिदीबहिनीले बाबाआमाको पचासौँ वर्षगाँठ मनाउने भनेर पछिल्लो वर्षबाट नै तरखर गर्दै थियौँ । स्वयम् आमा र बाबासँग विवाहको गते सोधें । आउने २०८२ को फागुन १८ गतेमा पचासौँ वर्षगाँठ परेको थियो । बाहिर हुने सबै छोराछोरीले आफ्नो-आफ्नो छुट्टीको व्यवस्था मिलाउने कुरा गरियो । आमाले अन्तरी काकी, बहिनी मधु, हेमा, मीना, नीलूलाई भन्नुहुन्थ्यो अरे, ‘छोराहरूले बिहे गरेको ५० सालको प्रोग्राम गर्दे भने म यस्तो खालको सारी लाउँछु, मेन्दी लगाउँछु अनि अन्तरी तिमीले मलाई श्रृङ्गार गर्दिनु ल !’ तर नियतिको खेलले अर्कै योजना बनाएको हुँदोरहेछ ।
भगवानले एकै वर्ष अधिक आमालाई बचाइदिएको भए आमाको यो इच्छा पूर्ण हुन्थ्यो । आमाले एकै त इच्छा राख्नुभएको थियो जीवनमा ।
आमाले बचपनैबाट दुःखलाई चिन्नुभयो । घरमा सुख सुविधाको अभाव थियो । भनौँ, परिवार गरीब थियो । सानै छँदा एक-दुई वर्षको अन्तरालमा मामलाका हजुरमा हजुरआमा बित्नुभयो । आमाबाबाको माया पाउनु भएन । एउटा दाजु र एउटी बहिनी, तीनैजना टुहुरा हुनुभयो । सानीआमा असममा हुने मामाघर जानुभयो । उतै बिहे भयो । मामा गाउँघरमा गरी खान नसकेर इम्फाल शहर पस्न रुचाउनु भयो । आमाको न बाबाआमा र धेरै माइँती । १५ वर्षको काँचै उमेरमा हजुरबा मर्नु एक वर्ष अगाडि बिहे भयो । बिहे भएको घरमा पनि सुख सुविधाको अभाव थियो । आमालाई कामले थिच्यो । दश जना सन्तान जन्माउनु कुनै चानचुने कुरा होइन । दश जनामा एउटी छोरीको जन्मेको केही दिनमा निधन भयो । आमाले सुत्केरी हुँदा र काम गरेको कष्ट त अघि भनिहालेँ । आमाका दाजु, हाम्रा मामाले एउटा अभिभावकको रूपमा दरिलो भएर उभिन सक्नु भएन । बहिनीलाई दिने माया, माइँतीले दिने आड, दिन सक्नु भएन । वर्षमा त्यही भाइटीका लगाउन झुल्किनुहुन्थो । शहरमा बस्ने भएर पनि होला गाउँ-घर आउने त्यति सजिलो नभएको । आमा यतिमै सन्तुष्ट हुनुहुन्थ्यो तर बिचमै क्रिस्तानी लाग्ने भएर बर्सेनी भाइटीकाका दिन आमाले आँसु झार्नु पर्यो ।
गाउँघरमा सानादेखि लिएर अस्सी वर्ष पुगेकाले पनि आमालाई ‘ठुली भाउजू’ भनेर बोलाउँथे । ‘ठुली भाउजू ’ सबैले मायाले भनेको आमाको उपनाम । आमाले बिरलै कसैको मन दुःखाउनु भयो होला । कसैसँग कहिल्यै ठूलो स्वरमा बाजेको त के, बोलेको पनि सुनिएन । आमाले सधैँ सबैसँग संस्कारित र सभ्य व्यवहार गर्नुभयो । आमा सिधा व्यवहारको हुनुहुन्थ्यो । त्यही भएर पनि सबैले आमालाई थुप्रै थुप्रै स्नेह गर्थे । ।
आमाको सबैभन्दा ठूलो प्रतिभालाई यहाँ उल्लेख नगरी आमाको लेख पूर्ण हुँदैन । आमा धेरै सिधा र सोझी चरित्रको भए पनि आमाको स्मरण शक्ति, त्यै मेमोरी पावर बेजोडको थियो । खासगरी सबैको जन्म, मृत्य र बिहेको गते, बार, वर्ष ठ्याक्ठ्याकी याद राख्नुहुन्थ्यो । आफ्नो परिवार, आफन्तको मात्र नभएर गाउँघरमा परिचित परिवारको पनि कुण्डली आमाको मेमोरीमा एकुरेट्ली सेभ रहन्थ्यो । कसैलाई आफ्नो जन्मदिन, उमेर जान्नु पर्दा आमालाई याद गर्थे । आमाको यो भगवानले दिएको एउटा विशेष गुण थियो । आमाको यो गुण देखेर सबै तीनछक्क पर्थे ।
आमाले जीवनमा पाएका कष्ट हामीले जानेका थियौँ, देखेका थियौँ । सानैबाट छोराछोरीले जति हुन सक्छ आमाको कामलाई हलुका बनाउन प्रयास गरियो । हामीले आफ्नै खुट्टामा उभिन लागेपछि आमाले इच्छा व्यक्त नगरी खुसी दिने भरसक प्रयास गरियो । जहाँ गइयो त्यहा घुमाइयोः दिल्ली, मथुरा, वृन्दावन, ताज महल, मुम्बई, लोनावाला, प्रयागसंगम, काठमाडौँको पशुपतिनाथ मंदिर, पोखरा, ईलाम, सिलीगुडी, हामीले नघुमेका ठाउँमा पनि आमा जानुभयो ।
आमाले जीवनभर कामको चटारोले आफ्ना इच्छाहरू प्रकट गरेको बुझिएन । कामबाहेक अरू केही गर्नुभएन । जब बिमार भएर हामीसँग बाहिर बस्न लाग्नुभयो तब आमाका भित्र गुम्सिएर बसेका कला अनि इच्छाहरू निस्किन लागे । आमालाई नाच्न, गाउन, घुम्न, सबैसँग मेलमिलाप गर्न, हाँस्न जस्ता कति हो कति इच्छा रहेछन् । आमाले सबै इच्छा पूरा गर्न थाल्नुभयो । इच्छा त इच्छा भइहाले, बाबालाई फोन चलाउन, कलमा मायाका कुरा गर्न, हाँस्न सिकाउनु भयो । हामीले पनि आमालाई यी गर्नमा बाधा लगाइदिएनौँ, उल्टै खुशी लाग्थ्यो । भनौँ, आमाले जीवनका अन्तिम दिनहरू खुशीसँग बिताउनु भयो । आमालाई अझैँ कति खुशीका दिनहरू देख्ने, भोग्ने इच्छा थियो होला तर भावीले लेखेको कसैले मेटाउन सकिँदोरहेन । यसलाई स्वीकार्नै पर्दोरहेछ ।
आमाको सबैको सामु मर्छु भन्ने इच्छा, इच्छा मात्र रह्यो । हामी दुई भाई, म र प्रदीप दादा, बाबा, कान्छी बहिनी मधु, काकाकी छोरी नीलू, सुनीता दिदी, अनिल भेना, विशाल भाञ्जा बाहेक आमाको अन्तिम समयमा कोही हुन पाएनन् । सानी दिदी आएको केही दिनमा मणिपुर जानुभएको थियो ।
आमाले सबैको सामु मर्ने अवसर गुमाए पनि मृत शरीरलाई आमाले रगत पसीना बगाएको माटोमा दाहसंस्कार र श्राद्धकर्म गर्ने विकल्प हामीसँग थियो । यसलाई हामीले उम्किन दिइनौँ । मणिपुर लिएर जानका लागि अस्पताल र कार्गोको प्रक्रिया पूर्ण गर्दा एक दिन लाग्यो । आमाले परलोक सिधारेको दुई दनिपछि, १० जनवरीका दिन आमाको पार्थिव शरीर लिएर घर पुगियो ।
अब म पनि आमाको सम्झनामा लेखेको लेखको बिट मार्नतिर जान्छु जसरी आमाले आफ्नो जीवनको बिट मार्नुभयो ।
श्मशानघाटमा एक सर्को सेतो वस्त्र धारण गरियो । खुट्टामा चप्पल-जुत्ता छैन । घर जाने बाटोमा रोडा र शीत लागेका झार छन् । अहिले रोडाले बिजाउँदा ‘आमा’ भन्ने आमालाई अग्निमा समर्पित भर्खरै गरियो ।
अघिबाट सुनिरहेका थियौँ, ‘ठुली भाउजू’-ले आफन्त र इष्टमित्र मजाले कमाउनु भएको रहेछ । यति मलामी त फलानाकामा पनि आएका थिएनन् । यस्तो सुन्दा सम्झेँ, दाजुदिदी बहिनीहरूले पनि सम्झे होला, आमाले कम-से-कम कतै जान नसके पनि सबै आफन्त इष्टमित्रलाई फोनमा कुरा गरेको भरमा परिवारसँग गाँस्नु भएको रहेछ । साँच्चै नै, आमाले धनभन्दा माया र इष्टमित्र कमाउनु भएछ ।
खुट्टामा बिज्दै गरेका रोडा र चिसो शीतको पीडालाई आमाले हामीलाई पाउँदा र हुर्काउँदा पाएको पीडा सम्झिँदै घर आइयो ।
चारहजारे, मणिपुर
हाल नयाँ दिल्ली



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










