वर्तमान, विश्वले अभूतपूर्व पर्यावरणीय सङ्कटको सामना गरिरहेको छ । जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको विनाश, वनविनाश र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले पृथ्वीको पारिस्थितिक प्रणालीलाई गम्भीर सङ्कटमा पारेको छ । यस चुनौतीपूर्ण समयमा, पर्यावरणीय साहित्य (परिवेश साहित्य, इको-साहित्य)ले एक महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । इको-साहित्यले प्रकृति र मानव बीचको सम्बन्धलाई अन्वेषण गर्दछ, वातावरणीय मुद्दाहरूमाथि प्रकाश छर्दछ र पाठकहरूलाई पर्यावरणीय चेतना र जिम्मेवारीको भावना जगाउन प्रेरित गर्दछ ।

इको-साहित्यले प्रकृति र भौतिक वातावरणसँग मानवको सम्बन्धलाई केन्द्रमा राख्दछ । यसले प्राकृतिक संसारलाई पृष्ठभूमि वा स्रोतको रूपमा मात्र नभई एक सक्रिय र महत्त्वपूर्ण पात्रको रूपमा प्रस्तुत गर्दछ । यसले पर्यावरणीय विनाशका कारणहरू र परिणामहरू, मानवको प्रकृतिमाथि बढ्दो हस्तक्षेप, र दिगो जीवनशैलीको आवश्यकता जस्ता विषयहरूलाई सम्बोधन गर्दछ । यसले प्रकृतिलाई श्रद्धा र सम्मानको दृष्टिकोणबाट हेर्दछ र मानवलाई पृथ्वीका अन्य जीवहरूसँगको अन्तरसम्बन्धलाई बुझ्न प्रेरित गर्दछ ।

‘परिवेश विमर्श’ अथवा इकोक्रिटिसिज्मको धारणा विश्व साहित्यमा नै नवीन धारणा हो । पर्यावरणमा भएको प्रदूषण, प्रकृतिमा देखिएको सङ्कट, पारिस्थितिकीमा आएको असन्तुलन आदि विषयहरूमा केन्द्रित रहेर अध्येताहरूले साहित्यका माध्यमबाट पनि प्रकृतिको सुरक्षा हुन सक्छ भन्ने अवधारणा अघि ल्याए । यसैलाई इकोक्रिटिसिज्म भनियो । यसलाई भारतीय नेपाली साहित्यमा ‘परिवेश विमर्श’ भन्छौं । नेपालतिर यसलाई पर्यावरणीय समालोचना, परिवृत्तीय समालोचना पनि भनिएको छ । (देवचन्द्र सुब्बा, ‘नेपाली कवितामा परिवेश’, २०२१, पृ. १०) ।

हुन त कसलाई पो थाहा नहोला र हाम्रो वातावरण बिग्रिने क्रममा छ भन्ने कुरा ? यस्ता कुराहरू पत्रपत्रिकाहरूमा लेखिन्छन्, सङ्गोष्ठीहरूमा चर्चा हुन्छन्, प्रिन्ट-इलेक्ट्रोनिक मिडियाहरूमा बाफिला शीर्षक बन्दछन्, अरू त के अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि धेरै बहस गरिन्छन्, निर्णय लिइन्छन् । धेरैजसो विषयमा विज्ञानले जतिसुकै कराए पनि कार्यन्वयन गर्ने त जनता जनार्दनले नै हो । तर पृथ्वीलाई बचाउन यस्ता विषयवस्तु साहित्यको मञ्चमा पुग्नै पऱ्यो । तब मात्र जनमानससम्म पुग्न सक्लान्, स्वरहरू उठ्दै जालान् । त्यतिबेर मात्र बिग्रँदै गरेको स्थितिमा केही सुधार आउन सक्ला ।

पूर्णयोगको प्रसङ्गमा ऋषि श्रीअरबिन्दले के भन्नुभएको छ भने कसैको पनि बाहिरी क्रियामा परिवर्तन ल्याउनुपर्छ भने उसको अन्तर्मनमा पहिल्यै परिवर्तन आइसकेको हुनुपर्छ ।

यहाँ एउटा प्रश्न खडा हुन्छ । के साहित्यले अथवा कथा, कविताले प्रकृतिको सुरक्षा गर्छ त ? वास्तवमा साहित्य भनेको मानव हृदय, चेतना वा मानव वृत्तिसँग सम्बन्धित विषय हो । जसरी धर्मशास्त्र, पुराण आदि पढेर मानवको व्यावहारिक जीवनमा सुधार ल्याउने अनुप्रेरणा जाग्छ त्यसरी नै साहित्य पढेर मानिस आफूले आफैलाई परिवर्तन गर्न सक्छ । साहित्यको मूल धर्म नै मानव चित्तमा परिवर्तन ल्याउनु, विचारधारामा रूपान्तर आउनु हो । साहित्यले समाज सुधार गर्दैन, साहित्य समाजशास्त्र पनि होइन तर साहित्यले समाजमा बस्न लायकको एउटा मान्छे तयार गर्छ । सद्भाव, सत्विचारको भएपछि ऊ जस्ता अन्य पनि हुँदै जान्छन् र उनीहरूको समूह एउटा सूत्रमा बाँधिएपछि समाज त आफै सुधारोन्मुख हुँदै जान्छ । यसैगरी इको साहित्यले मानव मन अनि चेतनालाई प्रभावित पार्नेछ र उसलाई प्रकृति र पारिस्थितिकीको सन्तुलनका लागि क्रियाशील बनाउनमा प्रेरणा प्रदान गर्ने छ (देवचन्द्र सुब्बा, ‘पर्या साहित्य सिद्धान्त र सिर्जना’, पृ. २७६ -२८२) ।

भारतीय नेपाली साहित्यमा, विशेष गरी दार्जीलिङ, सिक्किम, र असम जस्ता नेपालीभाषी बहुल क्षेत्रमा बसोबास गर्ने समुदायको साहित्यमा के कस्ता प्रकारका पर्याचेत प्रवेश गरेका छन् यस आलेखले त्यस बारेमा केही आलोक छर्ने छ । पर्यावरण साहित्य लेख्ने विषयवस्तुहरूको उल्लेख गर्दै ‘पर्या साहित्य सिद्धान्त र सिर्जना’ (विसं २०८०)ले निम्नलिखित ११ वटा विषयमा वर्गीकरण गरेको छ- इकोफेमिनिज्म, परिवृत्तीय, प्रकृति सौन्दर्यता, ग्राम्यता र अप्रदूषित परिवेश, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीसिकारी, आदिवासी र पर्यावरणबिचको अन्तरक्रिया, धर्मशास्त्र र पर्यावरणीय चेत, विकासले गर्ने वातावरणीय क्षय र पर्या राजनीति ।

भारतीय नेपाली साहित्यलाई वातावरणीय दृष्टिकोणले हेर्दा के देखिन्छ भने शुरूवातका सृजनाहरूमा पर्यावरणीय चेत त्यति सारो प्रखर रूपमा नआएर विषयहरू धार्मिक, सांस्कृतिक र सामाजिकमै केन्द्रित थिए । यिनमा कताकता प्राकृतिक सुन्दरता र ग्राम्यता पनि नझल्किएको होइन । तर साहित्यले समयसँगै पर्यावरणीय विषयलाई गम्भीरताका साथ समेट्न थालेको छ ।

* * * *

असममा पर्या-साहित्यको प्रवेश र चेतना:

काठमाडौंका प्रा.डा.गोविन्दराज भट्टराई (२००८) द्वारा प्रस्तुत ‘उत्तरआधुनिक विमर्श’ले असमका धेरै सर्जकहरूलाई पर्या-साहित्यका बारेमा जागरूक बनायो भन्दा अत्युक्ति नहोला । असमका ज्ञानबहादुर छेत्रीले पनि ‘उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू’ पुस्तक सङ्ग्रहको ‘परिवृत्तीय सिर्जना र समालोचना’ (२०२०) अध्यायमा पर्यावरण साहित्यको गहिरो मन्थन गरेका छन् । बेलायतका विजय हितानले पर्यावरण साहित्यलाई एक लामो समयदेखि दरिलो नेतृत्व दिंदैआएका छन् । उनले २०१६ बाट वर्षेनि वातावरण साहित्य गोष्ठी गरी विश्वका पर्यावरण सचेतक नेपालीभाषी साहित्यकारहरूलाई एकै मञ्चमा उभ्याई यस दिशामा काम गरिरहन ऊर्जा भर्ने गरेका छन् ।

विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेको मञ्चमा पर्यावरणविद विजय हितानको अविभावकत्वमा र नेपालका विशिष्ट साहित्यकार, समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको अध्यक्षतामा भर्चुअल माध्यमबाट सन् २०२०, जुन ५ र ६ का दिन आयोजना गरिएको पाचौं विश्व वातावरण साहित्य सम्मेलनमा विभिन्न देशमा रहेका कविहरूको कविता वाचन तथा कवितामाथि टिप्पणीसमेत गरेर कार्यक्रम समापन भएको थियो । उक्त सम्मेलनमा असमबाट वरिष्ठ समालोचक ज्ञानबहादुर छेत्री विशेष अतिथिको रूपमा थिए भने असमका कतिपय कविले त्यहाँ अनलाइन कविता वाचन गरी सबैको ध्यान आकर्षण गरेका थिए, जस्तै:  ज्ञानबहादुर छेत्री, धर्मेन्द्र उपाध्याय, डा. देवेन सापकोटा, डा. सरिता शर्मा, छत्रमान सुब्बा र नीलिमा आचार्य ।

यस सम्मेलनमा साहित्यकार धर्मेन्द्र उपाध्यायले ‘यो विश्व तिम्रो निम्ति मात्र होइन पार्थ’ कविता वाचन गरी उत्कृष्ट कविको रूपमा सम्मान प्राप्त गरी पुरस्कृत भएका थिए । उक्त कविताको केही अंश यस्ता प्रकारको छ-

‘हे पार्थ,

यो पृथ्वी, यो अन्तरिक्ष, यो ब्रह्माण्ड तिम्रो निम्ति हो

यो क्षिति, अप तेज वायु आकाश तिम्रो निम्ति,

तर तिम्रो निम्ति मात्रै होइन पार्थ, तिम्रो निम्ति मात्रै होइन’ ।…..(स्वच्छन्द सुसेलीहरू-२, पृ. ११२-११४)

यस सम्मेलनमा पठित कविताहरूलाई सङ्ग्रह गरी हितानले ‘स्वच्छन्द सुसेलीहरू २’ (वि. स. २०७७) नामले एक पुस्तक निकाले जसमा असमका तथा विभिन्न देशका कविका कविताहरू सङ्ग्रहित छन् । यस पुस्तकका भूमिकामा पर्या साहित्यबारे व्यापक चर्चा गरिएको छ ।

यसको अर्को वर्ष मनाइएको छैठौँ विश्व वातावरण साहित्य सम्मेलन पनि भर्चुअल माध्यमबाट सन् २०२१, जुन ५ को दिन भएको थियो । पछिल्लो वर्षको अनुरूप कार्यक्रमहरू समापन भएका थिए । त्यहाँ विशिष्ट साहित्यकार भट्टराईको बाहुलीबाट पर्यावरणविद हितान र असमका छेत्रीको उपस्थितिमा डा. सापकोटाको पर्य-कविता सङ्ग्रह ‘परिश्रान्त पृथिवी’को विमोचन भएको थियो । भट्टराईले त्यस पुस्तकको भूमिकामा भारतीय नेपाली साहित्यमा यो पहिलो पर्या काव्य कृति हो भनी किटान गरेका छन् ।

यस पछिको सातौँ विश्व वातावरण साहित्य सम्मेलन पनि विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेको मञ्चमा भर्चुअल माध्यमबाट सन् २०२२, ५ जुनका दिन भएको थियो । त्यहाँ असमबाट छ जना कविले भाग लिएका थिए, जसका नाउँ यस्ता प्रकारका छन्- डा. देवेन सापकोटा, दुलुमणि उपाध्याय, माधव उपाध्याय, दिपान्विता गजुरेल, लक्ष्मण शर्मा र रिजु देवी ।

त्यही वर्षको अक्टुबर ३१ का दिन ‘पर्यावरणीय कविता पुस्तक विमर्श कार्यक्रम’ भर्चुअल रूपमा आयोजना गरिएको थियो । आलोच्य पर्या पुस्तकद्वय ‘परिश्रान्त पृथिवी’ र ‘स्वच्छन्द सुसेली’ थिए । यसमा नेपालका वरिष्ठ साहित्यकार तथा साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला विशिष्ट अतिथिको रूपमा उपस्थित थिए भने असमका ज्ञानबहादुर छेत्री र गुवाहाटी विश्वविद्यालयबाट डा. खगेन शर्मा समीक्षकका रूपमा थिए । यस विमर्श कार्यक्रममा असमका विभिन्न ठाउँका धेरै साहित्यकारहरूले भाग लिएका थिए । सन् २०२२ अप्रेल १७ का दिन नेपाली प्रकाशन परिषद, असमको आयोजनामा गुवाहाटी प्रेस क्लबमा राखिएको अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा डा. भट्टराई र स्रष्टा हितानको उपस्थितिमा गुवाहाटीका थुप्रै नेपाली साहित्यकारहरूको सहभागीता रहेको थियो । अतिथि हितानले “पर्या साहित्यलाई गुन्जाउँदै ‘ब्लू प्लानेट’ र ‘परिश्रान्त पृथिवी’” शीर्षक विषयमा आफ्नो वक्तव्य राख्दै विश्व नेपाली साहित्यमा पर्या साहित्यको वर्तमान स्थितिबारे उजागर गरी गहन विश्लेषण राखे । यसपछि विशिष्ट अतिथि डा. भट्टराईले ‘विश्व साहित्य सन्दर्भमा नेपाली साहित्य’ शीर्षक विषयमा आफ्नो गहकिलो वक्तव्य राखेका थिए ।

सन् २०२३ जुन १० का दिन आँठौं विश्व वातावरण साहित्य सम्मेलन भौतिक रूपमा काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरिएको थियो । त्यहाँ डा. देवेन सापकोटाद्वारा सिर्जित ‘पृथिवीका सुस्केराहरू’ पर्या कथासङ्ग्रहलाई डा. भट्टराईले विमोचन गरे । यस पुस्तकको समीक्षा प्रा.डा. तारानिधि भट्टराईले गरेका थिए । यस कार्यक्रममा असमका छेत्रीको ‘भारतीय नेपाली साहित्यमा पर्या चेतना’ कार्यपत्रलाई आफ्नो शुभकामना मन्तव्यसहित प्रा.डा. जीवलाल सापकोटाले प्रस्तुत गरेका थिए ।

जुलाई ०३, २०२२ मा असमको ढेकियाजुली शहरमा भारतीय साहित्य अकादेमीद्वारा तथा असम नेपाली साहित्य सभा, शोणितपुर जिल्ला शाखाको उद्योगमा आयोजित ‘भारतीय नेपाली कविता तथा यसका विभिन्न प्रवृत्तिहरू’ बारे राखिएको सङ्गोष्ठीमा रौताका रेवती उपाध्यायले ‘भारतीय नेपाली आधुनिक कवितामा परिवेश सचेतनता’ विषयमाथि कार्यपत्र पाठ गरेका थिए । कार्यपत्र पाठ गरेपछि उपस्थित श्रोताहरूका बीचमा व्यापक अन्तरक्रिया भएको थियो र परिवेश विषयमाथि धेरै जागरूकता बढेजस्तो देखिएको थियो । यसको अर्को वर्ष अर्थात् सितम्बर ३०, २०२३ का दिन साहित्य अकादेमी, दिल्लीद्वारा तथा असम नेपाली साहित्य सभा, गुवाहाटीको उद्योगमा मालिगाउँमा राखिएको ‘नेपाली साहित्यमा पर्यावरण औ चेतना: असमको परिप्रेक्षमा’ शीर्षक सङ्गोष्ठीमा पर्यावरण साहित्यमाथि सातजना स्रोत व्यक्तिद्वारा सात वटा विभिन्न विषयमा कार्यपत्र पठन र अन्तरक्रिया भएको थियो ।

* * * *

असमबाट प्रकाशित भएका समकालीन कृतिभित्रका पर्या-सृजनाहरूलाई नियाल्दा:

क) कविता कृतिहरूका पाताका बीचमा पर्यावरण :

कार्बी आङलङका कवि डम्बर दाहालले हाम्रो दैनन्दिन जीवनमा फूलको महत्त्वलाई दर्शाएका छन् (कविता सङ्ग्रह, ‘अतीतका पाइलाहरू’, २०१२) । यस्ता फूल दुई खाले हुन्छन् । कुनै गुलाफ, सयपत्री जस्ता चमकदार, आकर्षक; सबैको आदर पाउने । तर कुनै इलामे, काँसका फूल जस्ता; अनाकर्षक, अनादृत । तर कविलाई भने यी पछिल्लाखाले फूल नै भएर फुल्न मनपर्छ जो चाहिं आफूखुशी, स्वाभिमानी मुक्त भई जङ्गलमै शोभा बढाइरहन्छन् । कसैले तिनलाई चुँडेर वृथा प्रयोग गर्दैन (‘म फूल हुँ फुल्छु’, पृ.४४) ।

गुवाहाटीका कवि प्रा.डा. जयन्तकृष्ण शर्माको ‘संसदमा आँशु बोल्छ’ कविता सङ्ग्रह (२०१२) मा धेरै कविता पर्यावरणीय रसले भिजेका छन् । त्यस भित्रको ‘फर्केर गाउँ’ कवितामा गाउँको सजीव चित्रण छ । शहरको दिक्क लाग्दो कृत्रिम जीवनभन्दा गाउँको प्राकृतिक जीवनले कविलाई आकर्षण गरेको छ । विगतका दिनलाई सम्झेर उनी नोस्टाल्जिक भएका छन् । उनकै भाषामा  ..

‘सुतेर उठेरै बिहान, सफ्टवेर डाउनलोडको

डिजिटल भाषा सुन्नभन्दा

मलाई मेरै गाउँ फर्केर जान मन छ ।……’

‘मेरा गाउँको धुलो र माटोले त

मेरो कलेजो बनिएको छ’…. (पृ. १४) ।

गमिरीपालका प्रवीण कवि गुरुप्रसाद उपाध्यायले उनको कृति ‘शताब्दीको आवाज’ (२०१२) मा ‘मैले रोपेको बिरुवा’, ‘ज्ञान कल्पद्रुम’, ‘त्यो रूख’, ‘ऐले नदीमा पानी छैन’, ‘स्वर्गतिर धाएर’, ‘पाषाणकी प्राण’ आदि कवितामा पर्या चेतना पसेको छ । उपाध्यायको कविमन प्रकृतिको दैन्यरूप देखेर त्रस्त हुन्छ, दु:खित हुन्छ । एक उद्धरण यहाँ प्रस्तुत छ—

‘माछा, कछुवा त हराए नै

मूर्ख भ्यागुता हो…..

पानी छँदा पो गीत गाउँदै डुब्दै गर्थ्यौ तर

अब कस्ले सुन्छ तिमीहरूको गीत …..(पृ. १३५) ।

प्रकृतिपूजक हामी प्रकृतिको बिल्लिबाठमा दुखित हुन्छौं । प्रवीण कवि डा. चिन्तामणि शर्मा पनि व्यथित छन् । काव्यग्रन्थ ‘म आउँदिन तिम्रो शहर’ (२०२४)मा कविले पर्यावरणप्रति गहिरो चिन्ता प्रकट गरेको पाइन्छ । स्वास्थ्य, सुन्दर वातावरणमा हुर्किएको मानिस कङ्क्रिटको उकुसमुकुस् जिन्दगीमा रम्न सक्तैन । गाउँको जस्तो भर-अभर, प्रेम-प्रीतिको सौहार्दपूर्ण वातावरण सहरमा छैन भन्ने धारणा व्यक्त गरेको पाइन्छ डा शर्माको यो कवितामा –

‘नबोलाऊ मलाई तिम्रो शहरमा !

त्यहाँ त बोटहरू सुकेका छन्

खोलाहरू नाला भई बगेकाछन् ।

ओदालगुडीका कवि इन्द्रकान्त कार्कीका कलममा पृथ्वीको माया छ, परिवेश चेत छ, दुष्टहरूप्रति विद्रोह छ र छ बाँच्ने मलिलो आशा (काव्यकृति, ‘मेरा द्वि सहश्राव्दिका कविताहरू’, २०१४) । उनको यो कृतिमा परिवेश चेत सम्बन्धित निम्न कविताहरू पाइन्छन् ; सायरन, म, माटो खोज्दै माटो, नाता मान्छे र पृथिवीको, अपभ्रंश, माटाको सत्य आदि । उनका कवितामा ग्लोवल वर्मिङको त्रास, ऊर्जाको अभावबोध, कङ्क्रिटको प्रभावले माटो हराएको गुनासो, हरियाली हराउँछ कि भन्ने डर, निर्दयी मानिसले प्रकृतिमाथि गरेको अत्याचार, प्रदूषणको समस्या, मानव आज भ्रमित बनेको सूचना, माटो नै ईश्वर हो भन्ने सोच आदि पाइन्छन् । एक उद्धरण यस्तो छ—

‘हामीले सधैँ मार्ने चेष्टा गऱ्यौँ, सुन्दर पृथिवीलाई

खनिरह्यौँ खनिरह्यौँ

मुसाले दुलो खनेसरि

पृथिवीको कोमल छातीलाई’…. (‘नाता मान्छे र पृथिवीको’, पृ. ५४) ।

मानिसले जथाभावी भवन, अट्टालिका आदि निर्माण गरेकाले या शहरीकारण गरेकाले भँगेरोको बासस्थान सङ्कटमा छ, उसको अस्तित्व नै आज जोखिममा छ । यति कुरालाई मध्येनजर राखेर हिजोआज २० मार्चका दिन ‘विश्व भँगेरो दिवस’ मनाइन्छ । यस्तै थिममा तेजपुरका वरिष्ठ कवि मोहन सुवेदीले मन छुने ‘भँगेरो’ कविता लेखेकाछन् उनको कविता सङ्कलन ‘नीलो चरो र अन्य कविता’ (२०१६) मा (पृ. ३२) ।

कवि डिल्लीराम खनालको काव्यकृति ‘आरोह अवरोह’ (२०१७) मा पनि केही पर्यावरण चेतनाले भिजेका कविताहरू छन् । यस कृतिको; गाउँ फर्केको परदेशी साथीलाई, साउन, मेरो गाउँ, यसपाली, असार शीर्षक कविताहरूमा पर्यावरणको लागि कविको उद्गार पोखिएको पाइन्छ । उदाहरणार्थ-

‘ब्रह्मपुत्रको अतल गर्भमा,

मेरो गाउँ अहिले

निमिट्यान्नै भइसकेको छ कठै !. (‘मेरो गाउँ’, पृ. ८६) ।

ढेकियाजुलीका कवि ओमप्रकाश बस्नेतको दोस्रो कविता कृति ‘अप्रत्याशित’ (२०१८) भित्र कतिपय कवितामा प्रकृतिप्रति रहेको उनको मर्मवेदना झल्केको पाइन्छ । यस कृतिमा तिमीलाई हेर्न आएको, काग तिहार, माछा खाने माछाहरू, हरिया सुनका झर्काहरू आदि उनका पर्यावरणीय शब्दाहार हुन् । काजिरङा निकुन्जको वर्तमान अवस्था देखेर कविका मनमा पिर परेको बुझिन्छ-

एकछाती माया लिएर..

तिमीलाई भेट्न आएको काजिरङा

के तिमी सन्चै छौ ?

कहाँ गयो…..

तिम्रो त्यो गौरवशाली इतिहास ? ….(पृ. ६२) ।

विश्वनाथका हृषिकेश भारद्वाजका दुई काव्यकृति (युग्म) – ‘साथी यहाँ यस्तै छ जिन्दगी’ र ‘कसरी भनौँ कति माया गर्छु तिमीलाई’ (२०१९), मा ‘देउराली रुँदै छ’, ‘हे समय पर्ख न पर्ख बात मारौँ एकैछिन’, ‘वनको संहार नगरौँ साथी हो’, ‘एउटा वृक्षको प्रेमगाथा’ आदि कविताहरू पर्या चेतनामा समर्पित छन् । यो विश्वमा मानव स्वार्थी बन्दै गएको छ । उसले रूख काटी शहर निर्माण गर्दै छ । तर अर्कापट्टि, माटो समाउने रूख नभएर नदीमा गडालागी (भूस्खलन) बढेको छ । मानिस आफैंले सृष्टि गरेको सङ्कटमा आफै जेलिंदै ग‌एको छ । आफ्नो चिता आफै सजाउँदै छ । रूखले अक्सिजनको सृष्टि गर्छ मानवकुलको हितको लागि । तर रूख नभएपछि मानिस अक्सिजन खोज्दै भौँतारिरहेको छ । भविष्य पिँढीको लागि पनि सोचिदिने हाम्रो कर्तव्य हो भनी कविले साथीलाई ‘वनको संहार नगरौँ साथी हो’ कवितामार्फत् यसरी चेतावनी दिएका छन्…

‘हे मानव रूख काटी नाङ्गो बनायौ धरती

आफ्ना स्वार्थका निम्ति सहरको सृजना

अब के गर्ने छ तिम्रो लक्ष्य?…….” ( ‘साथी यहाँ यस्तै छ जिन्दगी’, पृ. ९६) ।

जातीय अस्मिताका कवि नव सापकोटाको काव्यग्रन्थ ‘मणिकूट’ (२०२०) मा केही पर्यावरणीय चेतले भिजेका कविताले स्थान पाएका छन् । वनको कदर छैन, आडम्बर देखाउन वनमहोत्सव गरिन्छ यो देशमा भन्दछन् कवि । जसले प्रकृतार्थमा वन सृष्टि गर्दछ, वनको सह्यार गर्दछ ऊ आडम्बरदेखि टाढा हुन्छ । रगतलाई पसिना जस्तो गरी बगाएर देशको लागि मरिमेट्ने किसानको अथक परिश्रमले राष्ट्रमा खुसियाली छाउँछ । प्रकृतिको नैसर्गिक आभामा कवि रमाउँछन् । कविले कल्पनामा वनफुलको सुगन्ध लिन्छन् । कवि सापकोटाको यस कृतिमा ‘वन महोत्सव’, ‘किसान’ गरी तिनओटा कविता पर्यावरण समर्पित छन् । दृष्टान्तमा केही हरफहरू-

‘वर्षभरी रूख काटेर बेच्ने व्यवसायीले

बिरुवा रोप्ने अभिनयको

कदर गर्दछ प्रशासनले

वनमहोत्सव सप्ताहमा?’…. (‘वनमहोत्सव’, पृ. ३२) ।

निरु शर्मा पराजुलीको ‘भोकमा कोरिएका शब्दहरू’ (२००८) कविताकृतिभित्र कतिपय कवितामा पर्यावरणीय चेत सशक्त रूपमा झल्किएका छन् । यसभित्रको ‘बनसाइ’ कविताले पर्यावरणलाई यसरी सम्बोधन गरेको छ-

‘बालककालमै जरा उखाली थिचोमिचो गरी

लसुनपुडके बनेको म हुँ एउटा पीपल ।….

मेरो पनि त हृदयमा कत्ति आशाका आँकुरा थिए

आकाश छुने रहर…’

यिनै कवयित्रीको ‘तिर्खाएको मन केही पल’ (२०२०) कविता सङ्ग्रहभित्र कतिपय कवितामा पनि पर्यावरण चेत रहेको पाइन्छ । गाउँमा ससाना नानीहरूले रङ्गीचङ्गी फूल, पुतली, मौरी, भमराका कुरा बिर्सन लागेकोमा कहिले कवयित्रीले गुनासो पोखेकी छिन् (चियाका बुटाले मासिदिंदा फूल र पुतलीका रहरहरू, पृ. ४६-४७) भने कहिले कङ्क्रिटका जङ्गलमा घर खोज्दै उनी भौँतारिरहेकी छिन् (घर, पृ. ६६) ।

पर्यावरणीय साहित्यको माध्यमबाट प्रकृतिलाई सम्मान गर्ने, रक्षा गर्ने उद्देश्यले आज असमेली साहित्यकारहरू जागरूक भएका छन् ।

त्यसै क्रममा जुन ५/२०२२, विश्व पर्यावरण दिवसको उपलक्ष्यमा देउराली साहित्य सामाजिक मञ्च, गुवाहाटी र इन्द्रेनी प्रकाशन, असमले पर्यावरणीय कविता प्रतियोगिताको घोषणा गरेका थिए । त्यहीअनुसार प्रतियोगिता समापन भयो । पुरस्कार विजेताहरूमा पहिलो स्थान – नैना अधिकारी (खेत्रीबाट); दोस्रो -भीष्म अधिकारी (लोख्राबाट) र तेस्रो (युग्म) – मनिषा दाहाल (रौताबाट) र लोकनाथ शर्मा (जागुनबाट) हुन् ।

यस प्रतियोगितामा सहभागी भएका र नभएका कविताहरूलाई समेटेर २०२३ मा ‘असमेली पर्यावरणीय कविता’ प्रकाशित भयो ।

यस पुस्तकभित्रका ७० जना कवि यस प्रकारका छन् – डा. इन्दुप्रभा देवी, मोहन सुवेदी, रुद्र बराल, लक्ष्मण अधिकारी, छबिलाल सुब्बा, छत्रमान सुब्बा, खड्गबहादुर कौशिक, कृष्णनील कार्की, बीना देवी मिश्र, अनुपमा देवी, नैना अधिकारी, हिरण्य पौडेल, अर्जुन निरौला, पूजा आचार्य, अञ्जन बाँसकोटा, भीष्म अधिकारी, अनुप शर्मा खतिवडा, नरबहादुर दर्जी, विकाश दुलाल, विमल प्रधान, अर्जुन उप्रेती “अप्रतिम”, चम्पा उपाध्याय, दिपान्विता गजुरेल, दक्षिणादेवी गजुरेल, लीला उपाध्याय, दिवाकर न्यौपाने, कल्पनादेवी आत्रेय, कमल शर्मा , दुलुमणि उपाध्याय, घनश्याम सुवेदी, हेमलाल जोशी (घिमिरे), फिराक गोर्खाली, होमा खनाल, इन्दिरा गौतम, निलीमा आचार्य, पद्मा देवी, डा जगन्नाथ उपाध्याय, जनक “राज” उपाध्याय,  माधव उपाध्याय, जयन्त आचार्य, जसोदा छेत्री, मञ्जुदेवी शर्मा, लोकनाथ शर्मा, मन्जु उपाध्याय, मनीषा दाहाल, नारायण शर्मा अधिकारी, मन्टु बराल, मिलन बोहोरा, प्रदीप शर्मा, पूजा उपाध्याय, सेवन्त पोख्रेल परदेशी, रिजु देवी, प्रियङ्का शर्मा, पूर्णकुमार खँड्का, पुरुषोत्तम उपाध्याय दाहाल, रेवतीमोहन तिम्सिना, सीता देवी, तिलक ओली, सुरज उदार तिम्सिना, लक्ष्मण खनाल, श्रीद्रोन खनाल, निरु शर्मा पराजुली, डा देवकीदेवी तिम्सिना, डा. कमल छेत्री, महिम आचार्य, बिष्णु निरौला, डा. गोमा अधिकारी, पूर्णकुमार शर्मा, अनुपमा कट्टेल अनि डा. देवेन सापकोटा ।

दृष्टान्तका रूपमा …

यस सङ्कलनको पहिलो कविताको केही हरफहरू यहाँ राखें..

…प्रदूषित धुँवा र आवाजतल झरेर मरेका चराहरू पन्साउँदै

बुढीआमा आँगन बढार्दै हुनुहुन्छ

दुर्गन्धको किचलोभित्र गाडिएका दुई खुट्टालाई

निकाल्न सहारा खोज्दै हुनुहुन्छ हजुरबुआ.. (‘अव्यक्त’, कवि डा. इन्दु प्रभा देवी, पृ. २२) ।

पर्यावरण विनाश भएको सन्दर्भमा विश्वनाथकी कवि अनुपमा कट्टेल केही कडा, तर यथार्थ बोल्दछिन् । ‘शब्दहरू मेरा घाम हुन्’ (२०२०) कविता सङ्ग्रहभित्र उनले यस्तो उद्गार पोखेकी छिन् …

‘…आधुनिक सभ्यताले जहाँबाट यात्रा सुरु गऱ्यो त्यहाँ अरण्य थियो

खोला थिए

चरा थिए

जनावर थिए

जनावरबाट जीवश्रेष्ठ भएको मानिस नै थियो

ऊ जनावर भइसकेको थिएन….’ (‘पर्यावरण, सेभर्न सुजुकी आदि’, पृ ६८) ।

हाम्रा निकुञ्जहरूमा पशुप्राणीको वध गर्छन् चोरी सिकारीले । त्यो चाहे काजिरङा होस् या चितवन । बिचरा निमुखा जीवजन्तुहरू मारिन्छन्, अनाहकमा । गैँडा विषयको व्यङ्ग्य कविता बुनेका छन् डा. कमल छेत्रीले उनको ‘मनका कुरा’ (२०२१) कविता सङ्ग्रहमा । कवितामा गैँडाले आफै बोल्छ यसरी…

‘… एउटा स्मार्ट फोन ल्याइदेऊ आमा म सेल्फी खिच्छु

अनि अफ्रिकामा भएका

मेरा भाइ-बहिनीसँग सेयर गर्छु

अनि हामी बिलुप्त भए पनि

तिनै तस्वीरहरूले …

स्मरण गराउने छन’ ।… (‘मनका कुरा’, पृ. ६१) ।

सन् २०२१ मा प्रकाशित डा. देवेन सापकोटाको ‘परिश्रान्त पृथिवी’ नामक कविता सङ्कलनमा मोठ ४१ ओटा पर्याकविता छन् । सँगालोमा सबै कवितामा पर्यावरणको सङ्कट र त्यसको निराकरणको बारेमा दिशा निर्देश रहेको पाइन्छ । कविले जैविक विविधता नष्ट भएकोमा खेद प्रकट गरेका छन् ।

कविको अन्तरात्मा कवितामा यसरी रोएको छ-

“राति एक्कासि जुरुक्क उठ्छ पहाड

…छिया छिया पारेको रहेछ

चिथोरी छाती

पाखण्डी क्रेनका निर्मोही नङ्ग्राले… (‘पहाडको पीडा’, पृ. ५९) ।

विश्वनाथ जिल्लाअन्तर्गत कवयित्री निलिमा आचार्यको ‘परिवर्तन र अन्य कविता’ सङ्कलन २०२१ मा प्रकाशनमा आयो । यसभित्र केही कविताले पर्या भावना व्यक्त गरे पनि ‘नयाँ युगको निर्माण कविता’मा यो अधिक प्रकट छ जसमा वृक्ष निधन गरेको कारुणिक चित्रणको यस्तो अङ्कन छ—

‘ ….आज त्यो हाम्रा गाउँको पुरानो पाख्रीको रूख पनि ढल्यो

आधुनिक मसिनले उसलाई पनि निल्यो…..

चराचुरुङ्गीको जीवन बिथोल्नु बिथोल्यो‘….(पृ ५९) ।

भारतीय साहित्य अकादमीको युवा पुरस्कार विजेता कवयित्री नैना अधिकारीको ‘घात – प्रतिघातका उद्गारहरू’ कविता सङ्कलन (२०२१) भित्रको ‘परिणाम’ कवितामा आधुनिक मानिसले उत्पादनको नशा पिएर ओइराएको कीटनाशक, फाँडेको रूख बिरुवा र वातावरण प्रदूषित पारेको कार्यकलापहरूको हताशलाग्दो वर्णन गरिएको छ (पृ. २८) ।

विकाशको हुरीमा गृहहारा भएकी भङ्गेरीको व्यथा बोलेका छन् विश्वनाथ जिल्लाका कवि मिलन बोहोराले उनको कविता सँगालो ‘तानाबाना’ (२०२१) को ‘जिजीविषा’ कवितामार्फत् (पृ. ३६) । २०२२ मा धौलाका कवि पुरुषोत्तम उपाध्याय दाहालको ‘पातको फिरफिरे’ कविता सङ्कलन प्रकाशनमा आयो । यसभित्र जीवश्रेष्ठ मानिसले पशुप्राणीमाथि गरेको दादागिरीलाई व्यङ्ग्य हानेका छन् उनले । मानिस स्वार्थी बनेको छ । आफूलाई भएको निउमोनिया रोग उपचार गर्नका लागि निर्दोष हुट्टिट्याउँको अन्डा खाने गर्छ । कवितामा हुट्टिट्याउँले यसरी बोलेको छ…

‘……निमोनियाको औषधि रे मेरो अण्डा

छोडीदिएँ मैले उत्तानो परेर सुत्न

आकाशको हैन

मान्छेको डरले…’ (‘हुट्टिट्याउँ’, पृ. ९०) ।

 

‘गँड्यौलाहरू इकोसिस्टम इन्जिनियर हुन्’ (प्याट्रिक लेवेल) । यिनीहरूले माटोलाई मलिलो पार्छन्, खाद्य उत्पादन बढाउँछन् । यस्तो सन्देश दिँदै कवि अर्जुन उप्रेती (अप्रतिम) ले ‘गँड्यौला’ शीर्षक कवितामा यसरी भावना व्यक्त गरेका छन्..

‘….म त किसानको मित्र हुँ

उर्वरताको पोषक तत्व हुँ म

बन्जरलाई पार्छु मलिलो, पार्दछु माटो खुकुलो

लहलह बाली किसानको ताली’…..(कविता सङ्ग्रह ‘घुम्तीमा नआऊ है’; २०२२; पृ. ९३) ।

सोवनशिरी उपल्लो असमको प्रभावशाली नदी हो । एक समयमा यो सलल बग्ने गर्थ्यो । चखेवाहरू खेल्ने गर्थे । यहाँ हरियाली इकोसिस्टम थियो । यस नदीसँग हाम्रो पुर्खाको इतिहास जोडिएको छ । तर यतिबेर यसको झिनो अवस्था देखेर कवि धर्मेन्द्र उपाध्यायले ‘सोवनशिरी’ (‘रामसिंह ठकुरीको भायोलिन’,  २०२२) कवितामार्फत् यसरी वेदना पोखेका छन् ।

‘ओ मेरो छातीको सलल सुनको सोवनशिरी

कसले चुस्यो तिम्रो मासु सुक्तैछ यसरी

कता बिलायो बाउ जन्मिएको गौरीघाट यहीँ थियो..’….. (‘सोवनशिरी’, पृ. ७४) ।

बाटाको छेउमा खडा वृक्षको काम के हो ? अक्सिजन र कार्बन-डाई-अक्साइड ग्याँस कसले साटासाट गर्छ ? चराहरूको आश्रय थल के हो ? थकित पाथिकलाई कसले स्वागत गर्छ ? शिवसागरकी कवयित्री कुञ्जदेवी उपाध्यायले ‘प्रकृति हत्या’ कवितामा यी सबै जानकारीप्रति पाठकको ध्यान आकर्षण गर्दै यस्तै एक गुणकारी वृक्षको कथा सुनाएकी छिन् । तर एकाबिहानै डोजर चलाएर त्यसलाई निर्मम पाराले चिर्दा बाटो र चराहरू मुटुमा गाँठो पारी रोइरहेको मार्मिक चित्रण गरेकी छिन् ‘प्रकृति हत्या’ कवितामा (‘पैतालामा अल्झिएका सपना’, २०२२; पृ. ५२) ।

‘पृथ्वी कसको हो ?’ भनी प्रश्न राख्दै यो धराको बिग्रँदो वातावरणको विकराल चित्रण गरेकी छिन् विश्वनाथकी कवयित्री पूजा आचार्यले (‘अनुहार भित्रको अनुहार’, २०२२) । मानिसले आफैलाई जीवश्रेष्ठ भनेको कुरोलाई खण्डन गर्दै उनि उद्गार पोख्छिन् यसरी —

‘.. तर पनि ऊ भन्छ –

‘पृथ्वी मेरो हो,

मेरो मात्र हो’….(‘पृथ्वी कसको हो ? पृ. ५३) ।

हाम्रा चिरबिर गीत गाउने, चराचुरुङ्गी समृद्ध कलकल खोला बगाउने पहाड वर्तमान समयका प्रहारमा परेर नाङ्गिएकाले आत्तिएका छन् विश्वनाथका कवि कृष्णनील कार्की (कविताको सिमसिमे झरी, २०२३) । यसको निवारणका लागि प्रत्येक बिहान बिरुवा रोप्दै कवि बिलौना गर्छन् यसरी…

‘बुद्धलाई मारेर सुख खोज्दै हिँड्नेका प्रहारमा

ब्युँझिन्छ

अनि आत्तिन्छ

मेरो आँखाको नानीमा बस्ने पहाड’…. (‘विवशता’, पृ. १९) ।

‘थोपो र मरुभूमि’ (२०२३) कविता सङ्कलन भित्र बड्सोलाका कवि रुद्र बरालले रूखको महत्त्व व्याख्यान गरेर यसको अस्तित्वको बारेमा बलियो वकालत गरेका छन् ।

कविको आफ्नै भाषामा…. .

‘ …रूख हुनाले

फूल छ

भमराको गीत

माहुरीको सङ्गीत छ

चराहरूको बाझाबाझ छ….

फल छ……  (‘रूख र जरा’, पृ. ४०) ।

 

हामी उभिएको धरातलको महत्त्व कत्रो छ ? माटाको ? माटो नभए हाम्रो अस्तित्व हुन्थ्यो त ? माटाको गुणगान गाउँदै कवि तीर्थराज फ‌एँलले विचारको अभिव्यक्ति यसरी पोखेका छन् उनको ‘माटो’ कवितामा….

‘…माटो एउटा विश्व हो

माटो इज्जतको घडेरी हो

माटो खुट्टा टेक्ने भर हो

माटो प्राणी बचाउने उपादान हो…’… (कवितासङ्ग्रह, ‘अग्नि’,२०२३;  पृ.५) ।

माधव उपाध्यायले आफ्नो ‘जलवायुको कथा’ (२०२३) शीर्षक कविताभित्र हाम्रा जल, स्थल र वायुमण्डल आदि सबैतिर भइरहेको प्रदूषण बारेमा मन छुनेगरी लेखेका छन् । यसभित्र कविले वनविनाश तथा तेजाब झरीको बारेमा पनि उल्लेख गरी प्रदूषण विषयमा पाठकको दृष्टि आकर्षण गरेका छन् ।

‘प्रकृति विज्ञापन भइसकेछ’ कवितामा कवयित्री प्रज्ञा दाहाल लुइँटेलले हालसाल बिग्रँदो प्रकृति देखेर यसरी उद्गार पोख्दै पाठकलाई सचेत गराएकी छिन् यसरी ..

‘ अघि बढ्ने छैन प्रकृति बिनाको विज्ञान

जिउँदो रहने छैन सभ्यताको शान

त्यसैले सबैले दिँदैछन् आज प्रकृति बचाउने स्लोगान ।  (ईन्द्रेनी, सन् २०२४, पृ: १६) ।

बिटिआर उदालगुडीकी कवयित्री दुलमणि देवी उपाध्यायको कविता सङ्कलन ‘एउटा घाम मृत्यु सहेर बाँचिरहेछ’ (२०२४) भित्रको ‘फागुन’ (पृ. ८७) कवितामा प्रकृतिलाई यसरी वर्णन गरिएको छ…

…’जाडोले ठिँगुरिएका रूखका हाँगाहरू

पाउलो फेर्न लागे

सिर्सिरे फागुने हावाले

अबिर छरिदियो….

ख) कथा कृतिहरूका धुकधुकीमा पर्यावरण:

कथा लेखनमा कविता लेखन जस्तो भर्भराउँदो छैन असमको नेपाली साहित्य । तैपनि कथाकारहरूले आ-आफ्ना सृजनामा पर्या रस मिश्रण गरेर विषयवस्तुलाई अझ प्रभावी पारेको कताकतै देख्न पाइन्छ ।

कार्बी आङलङका डम्बर दाहालको ‘यात्राक्रममा’ कथा सङ्कलन (२००८) भित्रका दुई कथा पाठकको मनभित्र स्थान खोपेर बस्ला । यी दुवै कथा, ‘परिवेशको हत्या’ (पृ. ३२) र ‘मेरा फूलहरू’ (पृ. ४४ – ४५) वर्णन गर्दा कथाकारको मन पिरोलिएको छ । पहिलो कथामा परिवेशलाई बचाउन नसक्दा उनले क्षमा मागेका छन् । दोश्रो कथामा प्रकृतिको सुन्दर सृष्टि थुँगे र केत्तुके फूलका बीचमा जातपात छुट्ट्याएर केत्तुकेलाई होच्याएकोमा कथाकार मुर्मुरिन्छन्, खट्पटिन्छन् । यस्ता कुरालाई प्रजातिवाद वा विशिष्टीकरणको रूपमा पनि लिन सकिन्छ ।

हुन त पर्यावरण चेतना हामी सबैमा बाल्यकालदेखि नै धेरथोर मात्रामा हुन्छ नै । बरु पछि लेखापढी गरी ‘ज्ञानी’ भएर पो हामी पर्यावरणप्रति वास्तै नगर्ने स्वार्थी हुन्छौं । यस्तै एक रोचक र मार्मिक कथा बुनेका छन् तेजपुरका ज्ञानबहादुर छेत्रीले ‘विकासको साक्षी’ (कथा सङ्कलन : प्रभुरामका पाहुना, २०१०) मार्फत् । गाउँको चउरमा खडा एक सेगुनको रूख सबैको प्यारो छ । खेलकुद सकेर केटाहरूको त्यो बसिबियालो मञ्च हो भने पथिकहरूको विश्राम स्थल । एकदिन त्यसलाई काटेर बेच्न खोज्ने बन्चरेहरूलाई क्रिकेटर केटाहरूले शिशुपाल खेदाएर रूखलाई बचाउँछन् । तर तिनै केटाहरूभित्रको एउटाले लेखापढी गरी ठूलो भएर पैसाको लोभमा परेर त्यस रूखलाई बेचिदिन्छ । बाँचिरहन्छ केवल त्यो सेगुनको ठुटो, बिच चहुरमा ‘विकास’को साक्षी भएर ।

तिनसुकिया-जागुनका साहित्यकार भीम धमालाले आफ्नो कथासङ्ग्रह ‘बिटुलो रगत’ (२०१४) मा कतिपय पर्यावरणीय कथा घतलाग्दो प्रकारले सजाएका छन् । ‘माया’ (पृ.२५) मा चन्द्रकलाले सङ्कटमा परेका ढुकुरका बचेरा दुइटालाई आफ्नै सन्तान जसो गरी माया गरेर हुर्काउँछिन् । पखेटा लागिसकेका ती दुई बचेरा मानौं अब उडेर जङ्गल जाँदैनन्, घरै बस्छन् ।

‘सिनो पनि मिठो गह्नाउँदा’ कथामा एउटा विशालकाय बुढो बरको वृक्ष र त्यहाँ वंशानुक्रमले सपरिवार बसोबास गरिआएको बुढो गिद्धबीच रूख ढाल्ने विषय लिएर मार्मिक संलाप छ । यी वार्तालाप सुनिसकेपछि कथाकार आफैले त्यो वृक्षलाई रक्षणावेक्ष‌ण दिने निर्णय लिनु पर्यावरण जोगाउनका लागि अनुकरणीय छ ।

विश्वमा वन्यजन्तु चोरीसिकारलाई सबैभन्दा लाभकारी व्यवसाय भनिन्छ । यो व्यवसायबाट प्रतिवर्ष प्राय: १९१५ सय करोड रुपियाँसम्मको सौदा हुन्छ भनी गुगलले आँकडा दिएको छ । यस्तै विषयलाई मियोमा राखी व्यङ्ग्य कथा रचेका छन् विश्वनाथका वरिष्ठ कथाकार अर्जुन निरौलाले । ‘खुच्चिङ् पऱ्यो जङ्गले, आफ्नै ढङ्गले’ (‘चित्रगुप्तको गुप्तचित्र’, पृ. ५८, २०१७) कथामा कथाकारले गैंडा खागको, बाघ छालाको  र हात्ती दाँतको तस्करी व्यापार हुन्छ भनी उल्लेख गर्नुका साथै निकुञ्ज एक पर्याप्त अक्सिजन पाइने प्रदूषण मुक्त क्षेत्र हो भनेका छन् । तर यहाँ धेरै दिन सम्म रूख पनि टिकेर रहने छैनन् भन्ने विद्रुप सङ्केत गरेका छन् ।

‘अँध्यारो भित्र उज्यालो’ कथामा कवयित्री इन्दुप्रभा देवीले (पुस्तक: रुद्ध अनिरुद्ध, सन् २०१९) खरेल्नी आमैको दैनिकीसँग प्रकृतिलाई जोड्दै यसरी वर्णन गरेकी छिन्… फुलबारी खोस्रिइन् । बिरुवा यताउति सारिन् ।… अनि फुलका कोपिलासित बात मारिन्- ‘… पर्सिसम्ममा फुल्नू । मेरो नाती आउँदैछ । उसले देख्न पाउँछ तिमीहरू झपक्क फुलेको ।’

‘मिलन’ कथामा ओदालगुडीकी कथाकार इन्दिरा गौतमले अबोध शिशुको पंक्षीप्रति जन्मेको मधुर प्रेमको हृदयस्पर्शी वर्णन गरेकी छिन् (‘उमङ्ग’, पृ. ६६, २०२२) । यहाँ हुन्डरीमा बिछोडिएको ढुकुरको बचेरालाई दिपुले आफैसँग राखी मायाले खुवाई पियाई हुर्काई पुनः उसको आमाको हुलसँग मिसाइदिँदा अनुभव गरेको भौतिक आनन्दको जीवन्त चित्रण कोरिएको छ । ‘कुकुर रुँदै थियो’ कथामार्फत् तेजपुरका छेत्रीले हामीलाई पर्यावरणको पक्षमा एक स्पष्ट सन्देश दिन खोजेका छन् । यो पृथ्वी सबैको हो, न केवल मानिसको । तर मानिसले घमण्डको बाइपङ्खी घोडामा चढी विकासको नाउँमा कङ्क्रिटको महल बनाएर निर्बोध कुकुरको बिजोग पारेका छन् । ‘कुकुर रुँदै थियो’ कथामा लगातार पानी परिरहेको बेलामा वर्षापीडित एक कुकुरको मार्मिक दुखेसो वर्णन छ । मानिसले उसको दु:खको मर्म नबुझी निर्मम व्यवहार गरेको सजीव चित्रण छ कथामा (‘विज्ञापन’, पृ. ३५; २०२३) ।

‘लोहितकिनारका गोठ र गोठालाहरू’ कथासङ्ग्रह (२०२३, कथाकार पुरुषोत्तम उपाध्याय दाहाल)मा १७ वटा कथा छन् । कथाहरूमा पर्या रस पसेको पाइए पनि ‘मिरीछपडीको बाघघोली/ तिताखोरी बिल’ चाहिँ पर्या रसले सम्पूर्ण भिजेको छ (पृ. ७०-७३) । मानिस, हावा, पानी, शब्द आदि कतैतिरबाट पनि प्रदूषित नभएको त्यो तिताखोरी बिल (तलाउ) मा गएर पाठकलाई कञ्चन निलो पानी आफ्नै हातले स्पर्श गर्न मन लाग्ने । चारैतिरबाट घना जङ्गलले घेरिएको त्यो विशाल सरोवरमा गएर एकैपटक भ‌एपनि नौका विहार गर्न मन लाग्ने । मस्तीमा गीत गाइरहेका चराहरूलाई अवलोकन गर्न मन लाग्ने । तर पुस्तकको उपसंहार परिच्छेदमा त्यहाँको वास्तविक चित्र सम्पूर्ण विपरीत देखाइएको छ । मानवले दानवको रूप लिएर अतिक्रमण गरेकाले त्यो वनजङ्गल सबै सफा भएर उराठिलो भएको छ अरे । नदी विशाक्त भएर त्यहाँ कुनै जलप्राणी नै छैनन् अरे । परिस्थिति यस्तो सङ्कटपूर्ण भएकाले कथाकारको मनले हाहाकार गरेको बुझिन्छ ।

छत्रमान सुब्बाका ‘माङ्गेना’ कथा सँगालो (२०२३) का १६ वटा कथाभित्रमा तीन वटामा पर्यावरण चेत प्रबल देखिन्छ । ‘शरणार्थी शहरको खोजी’ कथामा वर्तमानको आधुनिक जीवन शैलीले वनजङ्गल ध्वंश, जलवायु परिवर्तन, बाढीको प्रकोप वृद्धि, सुखाग्रस्तता जस्ता नयाँ समस्याहरू खडा भएको कुरो चर्चा गरेका छन् । ‘समयको प्रतिबिम्ब’ कथाभित्र पर्यावरण सृजना गर्नु र यसै अनुरूप इको सिस्टम कायम राख्नुमा रूखको महत्त्वपूर्ण भूमिकाको बारेमा उल्लेख गरेका छन् भने ‘आश्रय’ कथामा अन्धविश्वासे मानसिकतामा चुर्लुम्म डुबेर धामीको कुरा पत्याउँदै लाटोकोसेरोले आश्रय लिने रूख कसरी काटिएको छ यसको हृदयग्राही वर्णन छ । यही वर्ष (सन् २०२३) डा. देवेन सापकोटाको ‘पृथिवीका सुस्केराहरू’ कथासङ्ग्रह प्रकाशमा आएको कुरो माथि उल्लेख गरिएकै छ ।

मरिगाउँ-जागीरोडका वरिष्ठ साहित्यकार कृष्णलाल शर्माले ‘रहस्य’ लघुकथा सँगालो (२०२४) भित्र हाम्रा पर्यावरणीय समस्याहरूका बारेमा रोचक कथा बुनेका छन् । ती भित्रमा ‘पर्यावरण’ (पृ. २६), ‘बाँदर’ (पृ. ६२) र ‘असन्तुलन’ (पृ. ८४) कथामा जङ्गली जनावरको उपद्रो र मानिसले तिनीहरूमाथि गरेको आक्रमणलाई चर्चा गर्दै दुईखुट्टे नै बाँदर र ढेडुको प्रतिरूप हुन भनी विद्रुप गरेका छन् । शिवसागर-डिमौकी कथाकार कुञ्जदेवी उपाध्यायले उनका लघुकथा सँगालो ‘भावनाको झाँकी’ (२०२४) भित्र कतिपय नारी-पर्यावरणीय कथा बुनेकी छिन् । यसभित्रमा ‘छोरी’ (पृ. ४९) र ‘सन्तान’ (पृ. ५०) उल्लेखनीय हुन् जहाँ उनले छोरीहरू छोराभन्दा कुनै गुना कम छैनन् भन्ने खालको तर्क मात्र राखेकी छैनन् भरोसा पनि दिलाएकी छिन् ।

 

ग) उपन्यासका बीचैबीच विचरण गर्दा पर्यावरण :

‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासमा (१९८६) पद्मश्री सम्मानले सुशोभित, साहित्य अकादमी नयाँदिल्लीको पुरस्कार प्रापक लीलबहादुर छेत्रीले धेरै ठाउँमा पर्यावरणको मनमोहक चित्रण गरेकाछन्, त्यो चाहे ब्रह्मपुत्रको बगर या टापु होस् या त्यहाँको कुनै भैँसी गोठ नै । पुस्तक पढ्दा पाठक प्राकृतिक रूपले सजिएको अरुणाचल प्रदेश, त्यसैको रमणीय फेदी, ब्रह्मपुत्रको टापु या गोठ अथवा सुन्दर गाउँको बिचैबिच भ्रमण गरिरहन्छ । ब्रह्मपुत्रलाई छातीमा बगाउँदै असमका गाँउहरू व्यस्त रहन्छन् आफ्ना दैनिकी सम्हाल्नमा । कछुगाउँ यस्तै एक क्षेत्र हो । तर यसको हालत यतिबेला सङ्कटमय छ । गढा हान्दै ब्रह्मपुत्र यस भित्र पसिसक्यो । मानिस जोगिनु कि भैँसी जोगाउनु ? सबै कि‌ङ्कर्तव्यविमूढमा परेका छन् । आफ्नो प्यारो गाउँ बचाउनमा पट्टल बाँधी बसेका छन् धार्मिक आस्थामा अटल पण्डित गेहनाथ एउटा सानो मण्डप तयार पारी महायज्ञ समापन गर्दै । तत्स्थानिक अवस्था मै भूकटाउ भएर उनी एक्कासि गर्ल्यामगुर्लुम झर्छन् अनि ब्रह्मपुत्रको भेलमा बग्न लाग्छन् । उनलाई माटोको गन्धले कि मातृभूमिको मोहले अन्धो पारेको थियो होला (पृ. ४६-४८) ?

इन्दुप्रभा देवीले आफ्नो उपन्यास ‘अनुहार भित्रको आकाश’ (२०२०)मा हुन्डरी आएर पुराना आँपको बोट उखेलिएको प्रसङ्ग तान्दै रूख र मानिसका बीचमा रहेको गहिरो सम्बन्धलाई उजागर गरेकी छिन् । घरबाट टाढा रहेको छोराले त्यो आँपको बोटसँग बिताएका स्वर्णिम पलहरू सम्झेर एकपल्ट भएपनि त्यसलाई स्पर्श गर्न व्याकुल हुन्छ । रूखका गिँड भएपनि जोगाई राखिदिन बाबुलाई फोनमार्फत् आग्रह गर्छ । भावविह्वल भएर उसले ट्विटरमा सोधिपठाउँछ-  ‘एउटा परिचित बुढो बोट ढल्नु भनेको के हो ?’ नेटिजनहरूले यस्ता प्रकारका जवाफ दिन्छन्… ‘चिरबिराउने चराहरूका प्रिय गुँड खोसिनु हो, बच्चाहरूको आधार मासिनु हो ।’ ‘बोट ढल्नु भनेको प्रदूषणका नङ्ग्रा अझ लामा हुनु हो ।’

हामीले मनाइने माङ्‌गलिक कार्यहरूले घरको तगारो नाघिसके । आजभोलि यिनलाई होटल-रेस्तोराँमा धूमधामले मनाइन्छ । सोशल मिडियामा धमास लगाएर देखाइन्छ । यो शायद समयकै माग होला । तर समानान्तर रूपमा यस्ता कार्यहरूमा अरू सामान जसरी रूखको बिरुवा उपाहार दिएमा कस्तो होला ?

यही सन्देशको सङ्केत गर्दै उपन्यासकार मनिषा दाहालले उनको कृति ‘मैले बोल्दा मान्छे रिसाउँछन्’ (२०२२)मा लेख्छिन्- ‘केही पनि विशेष दिन मनाउने बुबाको अनौठो तारिका ‘वृक्षरोपण’ थियो । आफ्नो जन्मदिन होस् वा भानु जयन्ती, पर्यावरण दिवस होस् अथवा गणतन्त्र दिवस बुबाले एउटा रूखको विरुता रोपेर मनाउनुहुन्थ्यो ।’

नारायण शर्मा अधिकारी (२०२४)ले ‘छहारी’ नाउँको बाल उपन्यासमा हाम्रा बिग्रँदो पर्यावरणका कारणहरू केलाउँदै वनविनाश, सुक्दै गरेको माटो, खेतीबालीमा अन्धाधुन्ध रसायनिक पदार्थको प्रयोग, पानीको अभावले सुक्दै गरेको नदी आदिको उल्लेख गरेका छन् । अनाहकमा रूख काट्दा त्यहाँ शरण लिएका चराचुरुङ्गीमा आइपरेको अस्तित्व सङ्कट तथा छेउछाउमा आश्रित जङ्गली जनावर बिचमा आइपरेको त्रासको सन्दर्भको अवतारण गरी पर्यावरणमा सुधार ल्याउनमा बाल पाठकहरूलाई अनुप्रेरित गरेका छन् ।

 

घ) पत्र-पत्रिकाका पन्ना खोतल्दा पर्यावरण:

असममा पत्र-पत्रिकाहरूको अवस्थिति अत्यन्त थोर छ । तैपनि दुईवटा पत्रिकाले जसोतसो आफ्ना अस्तित्व कायम राख्दै गरेको भाषा-साहित्यको सेवा सराहनीय छ । बेदेती, विश्वनाथ, असमबाट प्रकाशित पूर्वोदय पत्रिकाले वातावरण विषयलाई धेरै महत्त्व दिएको बुझिन्छ । यसको वर्ष १, अङ्क २ (२०२२) मा लगातार ३ वटा यस प्रसङ्गका लेख छापिएका छन् ।

ती हुन्, डा. देवेन सापकोटाको ‘वातावरण साहित्य: आजको परिप्रेक्ष्यमा यसको आवश्यकता’ (पृ.७ -१०); डा संजीव उपाध्यायको ‘शब्द प्रदूषण’(पृ. ११- १२) र कुलप्रसाद उपाध्यायको ‘काजिरङा र यसको सेरोफेरो’ (पृ. १३ -१५) ।

यी सारगर्भित लेखहरूले पर्यावरणको आवश्यकतातर्फ पाठकको ध्यान निश्चय आकर्षण गर्न सकेकाछन् । यही पत्रिकाको वर्ष २, पूर्णाङ्क ७, मई – जुलाई २०२३ मा कवि माधव उपाध्यायले ‘जलवायुको कथा’ कवितामार्फत् मानवकृत आचरण र कार्यकलापले वातावरणमा भएको कुप्रभावको बारेमा छर्लङ्ग पार्दै दुखेसो पोखेका छन् (पृ. १८) । यसै पूर्णाङ्कको पृ. ३६-३७ मा ‘विषमुक्त कृषि अवलम्बन गरौँ- जैविक मल र कीटनाशक आफै उत्पादन गरौँ’ शीर्षक लेखमा डा. शरणकुमार रिजालले प्रदूषणको दुष्प्रभावले हाम्रो वातावरणलाई क्षति पुऱ्याएको भूमिका तान्दै यिनका असरवाट मुक्त हुने उपाय र विकल्पको बारेमा विस्तृत जानकारी दिएका छन् । डिग्बोई, असमबाट प्रकाशित हुने ‘मुहान’ पत्रिकाले डा देवेन सापकोटाको ‘पर्यावरण साहित्यको अवधारणा र आवश्यकता’ लेख प्रकाशित गरेर (पूर्णाङ्क २१, पृ. ५४-६०, २०२३) उपल्लो असमका धेरै पाठकलाई यस विषयको महत्त्व सम्झाएर घच्घच्याएको छ ।

 

ङ) नाटकका पर्दालाई नियाल्दा पर्यावरण:

विश्वनाथका पूर्णकुमार शर्माको ‘मुटुको खिया’ एकाङ्की सङ्ग्रह (२०२१) भित्र ‘नीर अधीर धरणी’ (पृ. ५३- ६४) एक पर्यावरण समर्पित नाटक छ । यसभित्र हाम्रो परिवेशलाई अन्धाधुन्ध विनष्ट पारिंदै गरेको विषयवस्तु निक्खर छ । वनजङ्गल काटेर, पहाड भत्काएर अवैज्ञानिक तरिकाले निर्माण कार्य हुँदै छ । कल-कारखानाबाट निस्केका धुँवाले वातावरण प्रदूषित पारेको छ । गोलकीय उष्णता बढाएको छ । समस्त चराचर जीवकुलको अवस्था दयनीय भएको छ । तसर्थ समय छँदै हामीले वातावरण जोगाऔँ, यसको लागि वृक्षरोपण गरी पृथिवीलाई बचाऔँ । यिनै नाट्यकारको सन् २०२३मा प्रकाशित ‘नयाँ बाटो’ नाट्य पुस्तकमा दुईवटा पर्याचेत भएका  नाटक पाइन्छन् । ती हुन्: ‘पहेँला सपना हरियो बिपना’ (पृ. ८- १४) र ‘बिबिटीको हरित गृह’ (पृ. ३५-४१) ।

लखिमपुर निवासी पद्मा देवी (सन् २०२३) को एकाङ्की ‘शम्भुका त्रिनेत्र’ पर्यावरण विषय प्रखर बोलेको छ । असमका गाउँमा तिनपल्टसम्म र असमव्यापी एकाङ्की नाटक प्रतियोगिता उपलक्ष्यमा यो नाटक मञ्चस्थ भएको हो । यस एकाङ्कीले हाम्रा समाजमा चलिआएका अन्धविश्वास विरुद्ध कडा बोल्नुको साथै परिवेश प्रदूषण, वैश्विक तापक्रम वृद्धि, वनविनाश आदि कुप्रभावलाई सरल र मनोग्राही रूपमा व्याख्या गरी दर्शकलाई वन संरक्षणतर्फ प्रेरणा दिएको छ ।

नारायण शर्मा अधिकारी (२०२४)को एकाङ्की ‘वृक्ष ढलेपछि’मा हामीले वृक्षरोपणका साथै पर्यावरण सुरक्षा गर्नुपर्ने चेतना स्पष्ट झल्केको छ । यी बाहेक समकालीन असमेली नेपाली साहित्यमा पर्यावरणीय कविता, कथा र निबन्धहरू हामीले सोसियल मेडिया, विशेषगरी फेसबुकमा पढ्न पाइरहेका छौँ ।

 

च) अनुवादमा पर्यावरण:

अनुवाद कार्यले दुई भाषाका बीचमा साँघुको काम गर्ने गर्छ । एक भाषामा सृजना नभएको कृति वा विषयलाई अर्कोबाट भाषान्तर गरी ल्याएर माहुरीको काम गर्ने गर्छ । असमबासी नेपालीको छेवैको भाषा हो असमीया भाषा । दुई भाषाबीच परस्परमा अनुवादहरू भइरहे पनि पछिल्लो समयमा दुईवटा उल्लेखयोग्य पर्यावरणीय कृति एक अर्कामा भाषान्तर भएका छन् । सन् २०२१ मा ‘इयात एखन अरण्य आसिल’ शीर्षक पर्यावरणीय उपन्यासले भारतको गरिमामय साहित्य अकादमी पुरस्कार प्राप्त गरेको छ । गुवाहाटी महानगरलाई घेरिएको हरियो पहाडमा कस्ता प्रकारले वनजङ्गल विनाश गरिएको छ यसमाथि गुथिएको रोचक कहानी यसको थिम हो । यसलाई कवयित्री पूजा आचार्यले सन् २०२४ मा ‘यहाँ एउटा जङ्गल थियो’ शीर्षक नेपाली भाषामा अनुवाद गरेकी छिन् ।

यसअघि निरु शर्मा पराजुलीले डा देवेन सापकोटाको पर्यावरणीय कविताकृति ‘परिश्रान्त पृथिवीलाई यही नाउँले असमिया भाषामा अनुवाद गरेकी थिइन् जसलाई असम सरकारको ‘असम प्रकाशन परिषद्’ले सन् २०२३ मा प्रकाशित गऱ्यो । यो पुस्तकको दोस्रो संस्करण सन् २०२४ मा आइसकेको छ ।

सन् २०२३ मा १५ वटा पर्यावरणीय कथा बोकेर डा. देवेन सापकोटाको ‘पृथिवीका सुस्केराहरू’ कथासङ्ग्रह प्रकाशमा आउँछ । यसभित्रको ‘चोरी सिकारी र कमलजङ्गको सङ्ग्राम’ कथालाई ‘नर्थ इस्टर्न हिल युनिभर्सिटी’, सिलाङको स्नातकोत्तर कक्षाको पाठ्यक्रममा राखिएको छ ।

* * * *

असमबाहिर प्रकाशित भएका समकालीन कृतिभित्रका पर्यासृजनालाई नियाल्दा:

सन् २०२४ को साहित्य अकादमी पुरस्कार प्रापक सिक्किमका युवा बरालको ‘छिचिमिरा’ कथासङ्ग्रह (२०१८) भित्रको ‘मूलघर’ कथा (पृ. १२३) मा लेखकले हाम्रो बदल्दै गएको समाज-संस्कृतिको चेपारोमा परेर एउटा परिवारको पुरानो मूलघरले कसरी बलिदानमा चढ्नुपर्छ त्यसको करुण चित्रण गरिएको छ ।

खरसाङका प्रवीण कवि राजु प्रधान ‘हिमांशु’को ‘तिरस्कारहरू ! बहिष्कारहरू !’ कविता सङ्ग्रह (२०२१) भित्रको ‘खडेरी परेर जमिनहरू’ (पृ. ५९) कविताले पर्याव‌रण चेत जन्माउँदै यसरी बोलेको छ-

…’यो जमिन तिम्रा पुर्खाका हड्डीहरूको आवास हो

तिम्रा पुर्खाको शोक मेटाउने

तिम्रो परिवारको भोक हटाउने

अन्न-बालीहरू लहलह हुने…

दार्जीलिङका वरिष्ठ कवि तथा साहित्य अकादमी पुरस्कार प्रापक मनप्रसाद सुब्बाका कविताहरूमा जलवायु परिवर्तन, वन विनाश, जल प्रदूषण, र जैविक विविधताको लोप जस्ता समसामयिक पर्यावरण मुद्दाहरूलाई प्रतीकात्मक र मार्मिक ढङ्गले उठाइएको पाइन्छ । विकासको नाममा भइरहेको अविवेकी प्रकृति दोहनप्रति उनको तीव्र असन्तुष्टि व्यक्त हुन्छ । उदाहरणका लागि, उनको कविता ‘खेतमाथि आक्रमण केही भिडियो क्लिपिङ’ले यस्तो बोल्छ—

माटोलाई माटोबाटै छुट्याउन

मेफिस्टोफिलिसका एजेन्टहरू आउँछन् ।

अनि छिनभरमै

खेतको काख रगताम्य हुन्छ ।

रजस्वला होइन यो

तर रजस्वला सुकाइदिने यौटा अपरेसन… (‘भुइँफुट्टा शब्दहरू’ कविता सङ्ग्रह, २०१३, पृ. १३) ।

मनप्रसाद सुब्बाको ‘मिसाम’ कथा सङ्ग्रह (२०२४) मा पारिस्थितिकी चिन्तनको गहिरो प्रभाव देखिन्छ । सङ्ग्रहका कथाहरूमा शहरीकरण, भूमण्डलीकरण र पारिस्थितिकी तन्त्रको विनाशका विषयमा सचेतना व्यक्त गरिएको छ । उदाहरणका लागि, ‘मिसाम’ (पृ. ३९-५०) शीर्षककै कथामा प्रकृति र मानवता बिचको सम्बन्धलाई चित्रित गरिएको छ, जसले पारिस्थितिकी सङ्कटप्रति सचेत गराउँछ । यसरी, ‘मिसाम’ले पारिस्थितिकी र मानव अस्तित्वको सम्बन्धलाई उजागर गर्दै समकालीन नेपाली साहित्यमा पारिस्थितिकी चिन्तनको महत्त्वलाई प्रस्तुत गरेको छl

कालेबुङका प्रख्यात कवि राजेन्द्र भण्डारीका कविताले सामाजिक, आध्यात्मिक र पर्यावरणीय विषयलाई समेट्छ, जसमा प्रकृतिको सौन्दर्य र संरक्षणको आवश्यकता प्रखर रूपमा झल्किन्छ । उनका कविताहरूले प्रकृति र मानवबिचको सम्बन्ध, प्रकृतिमाथि भइरहेको दोहन र त्यसको परिणाम, तथा पर्यावरण संरक्षणको आवश्यकतालाई सशक्त रूपमा बोलेका हुन्छन् । कविताहरूमा हिमालयको सुन्दरता, वनजङ्गलको महत्त्व, नदीनालाको पवित्रता र पर्यावरणको सन्तुलन बिग्रँदा मानव जीवनमा पर्ने नकारात्मक असरलाई मार्मिक ढङ्गले चित्रण गरिएका हुन्छन् ।

‘यो तेरो कविता हो’ कवितामा कवि यसरी उद्गार पोख्छन् –

….’एउटा निरीह जङ्गल मास्न

तैँले के के गरिनस् ?

तैँले विष छर्किस् ।

हुलका हुल आरा पठाइस् ।

डढेलो सल्काइस् ।…’ (‘इतिहासको बाडुली’ कविता सङ्ग्रह, २०१८, पृ. ३२) ।

 

कवि भण्डारीका तिन-हरफे कविताहरू पनि उत्तिकै प्रभावी हुन्छन् । जस्तै..

‘लुटिदैछे, लुटिदैछे,

धरती – आफ्नै सन्तानहरूबाट

माउकुकुर – आफ्नै छाउराहरूबाट’ । ….(कविता: ‘धरती’, पुस्तक: ‘यी शब्दहरू:यी हरफहरू’, २०१८, पृ. ५०)

 

‘बास माग्ने पो हो कि ?

हेर त को रूँदैछ अँध्यारोमा ?

ए, पृथ्वी पो?’ ….(कविता: ‘पृथ्वी’, पुस्तक: ‘क्षर\अक्षर’, २०१८, पृ. ५९) ।

दार्जीलिङका उम्दा कवि राजा पुनियानीको कविता सङ्ग्रह ‘तङसिङ’ (२०२२) भारतीय नेपाली साहित्यमा पर्यावरणीय आलोचनाको एक सशक्त प्रतिबिम्ब हो । यसका कविताहरूले प्रकृतिप्रतिको गहिरो प्रेम, पर्यावरण विनाशप्रतिको चिन्ता र मानव–प्रकृति सम्बन्धको जटिलतालाई मार्मिक ढङ्गले प्रस्तुत गर्दछन् । पुस्तकभित्रको ‘पृथ्वीलाई प्रेमपत्र’ कविताले यसरी बोलेको छ…

….‘पृथ्वी बाँचे

म बाँच्नेछु

तिमी बाँचेको हुनेछौ

कविता पनि बाँचेको हुनेछ (पृ. ४२) ।

 

‘चिन्ता सल्केको पहाड़’ उपन्यास (२०२२)मा ग्रन्थकार प्रेम प्रधानले आजभन्दा २०-२५ वर्षअघिको हरियालीले ढाकेको प्रदूषणमुक्त सुन्दर स्वच्छ दार्जीलिङ सहरको वर्णन गर्दै यतिबेला दिनौदिन बढ्दै गइरहेको प्रदूषित वातावरणले कुरूप बनिइरहेको कुरा उल्लेख गरेका छन् ।

* * * *

पर्या साहित्यका चुनौती तथा अवसरहरू:

पर्या साहित्य सृजना गर्नुअघि सर्जकले पर्यावरण क्षयका कारक र परिणामको सिद्धान्त, यसको व्यवहारिक पक्ष र महत्त्व, सुधारका उपाय बुझ्न जरूरी छ । यो एक विज्ञानसम्मत विषय भएकाले लेखकमा वैज्ञानिक ज्ञान भएमा अति उत्तम हुन्छ । विज्ञानको सम्मिश्रणले गर्दा पर्यावरण साहित्य नेपाली मूलधारको साहित्यमा भनेजति अँगाल्न नसकिएको हुनसक्छ । वातावरणीय समस्यालाई कवितामा अभिव्यक्त गर्नु निकै चुनौतिपूर्ण हुनुका साथै अभ्यासको आवश्यकता पर्छ नै । तैपनि आजभोलि निस्केका पुस्तकहरूमा कतै-न-कतै धेरथोर मात्रामा पर्यावरणको चेत पसेको पाइन्छ र यो शुभ लक्षण हो ।

तर पर्यावरणलाई गम्भीर रूपले लिएर साहित्य साधन गर्नलाई कविताको मार्ग छान्दा कतिपय चुनौतीहरू खडा हुन्छन् । ‘पर्या साहित्य मुख्य धाराको साहित्य जस्तो स्वादिलो र रसिलो हुँदैन, यसमा शिल्प कला पक्ष कमजोर हुन्छ’ भन्ने पाठकहरूको गुनासो कता कता सुन्न पाइन्छ । हुन पनि हो । ओजोन, माइक्रोप्लास्टिक, कार्बन फुट्प्रिन्ट, कार्बन-डाइ-अक्साइड, नाइट्रस अक्साइड, ग्रिन हाउस् ग्याँस, मिथेन, रिसाइकल, कन्क्रिट, इकोसिस्टम, प्रदूषण, ग्लोबल वर्मिङ आदि जस्ता शब्दाहारले रसिलो कविता बुन्नु खडेरीमा सुकेका पातमाथि पहिलो वर्षा झर्दामा मधुर सङ्गीतको आशा गरे जस्तो हो । यी अनौठा शब्दहरूलाई बारम्बार प्रयोग गरी हाम्रा आफन्त र घरेलु नपारेसम्म या कर्णप्रिय नहुन्जेलसम्म सायद हामीले यस्तै परिस्थिति भोगिरहनु पर्ला ।

सामान्यतः पर्या कविता लेख्दा हाम्रा विषयवस्तु यस्ता प्रकारका भएको देखिन्छ.. काटिएको रूख, सुकेको नदी, हराएको गाउँ, विवश पहाड आदि । तर पर्यावरण बिग्रँदै गरेका कारणहरू या यसका परिणामहरू त्यतिमै सीमित भइरहेका छैनन् । गहन, अनन्त, अथाह छन् । हात्तीको वास्तविकता ठम्याउनलाई पाँचजना अन्धाले आआफ्नै तरिकाले छामेर भिन्ना भिन्नै मन्तव्य दिएको कथा जस्तो हो । यो पृथ्वीमा पर्यावरणका सबै सदस्य प्रत्यक्ष्य या परोक्ष रूपमा नै भएपनि एक-अर्कासँग जोडिएका हुन्छन् । त्यो चाहे समुद्र सतहको माछा होस् या भूमिभित्रको ढुसी या बादलभित्रको जलकण या सगरमाथाको जीवाणु या विशालकाय वृक्ष या जनावर नै नहोस् किन । यसलाई गहन पर्यावरण (Deep ecology) को सूत्रले अर्थ्याएका छ ।

मानव-सिर्जित कुकृतिले गर्दा समुद्रको अम्लीकरण बढेकाले खोलधारी प्राणीको शरीरलाई छोपेको चुनबोक्रे आवरण मन्दमन्द पग्लिँदै छ । प्राणीलाई भन्दा पनि बरु कविको शरीरलाई पो भत्भती पोलेको भान हुन्छ । चढ्दो जलवायु परिवर्तनले गर्दा समशीतोष्ण अञ्चलका वृक्षमा प्रकाश-संश्लेषण घट्दै छ । तापक्रम वृद्धि चरमसीमामा पुगेपछि पत्र झरेर रूखहरू खुइलिन थाल्छन् । तब पृथ्वीमा खाद्यान्न उत्पादन बन्द होला । यतिबेर परिस्थिति वैश्विक तापक्रम वृद्धिबाट वैश्विक उबाल (global boiling) सम्म पुग्न लागेको छ । यी सब कुरा अध्ययन गरेर कवि आत्तिएको छ । त्यसैले यस धरालाई केही पलको लागि भए पनि बचाइराख्न कविलाई खटपटी छ । जबकि पर्या साहित्य मनन गर्नुमा भन्दा कार्यान्वायन गर्नुमा प्रतिबद्ध छ, उसलाई तथ्यका साथ यी सबै कुरा चाँडोभन्दा चाँडो पाठक समक्ष पुऱ्याउने हतार छ । विषय तथ्यपरक भएकाले त्यसलाई पत्यारिलो पार्नजाँदा सन्देश या वार्ताको बोझ गह्रौँ भएको हुनसक्छ । त्यसैले कविताहरू काव्यात्मकताभन्दा विषयवस्तुको भारले थिचिएका जस्ता हुन सक्छन् ।

अर्को दृष्टिकोणले हेर्दा वर्तमानको समय नै पर्या साहित्यको लागि एक चुनौती बनेको छ । गत प्रायः १३ वर्ष यता हाम्रो सामाजिक व्यवस्थामा द्रुत परिवर्तन आउन लागेको छ । सन् २०१० पछि जन्मेका पिँढीलाई ‘जेनेरेसन अल्फा’ (Generation Alpha) भनिन्छ । यिनीहरू डिजिटल संसारमा हुर्कन लागे; किनभने मोबाइल फोन दैनिकीमा पसिसकेको थियो । तिही माथि २०१९ मा कोभिड भाइरसको प्रादुर्भावले गर्दा यिनीहरू लक्डाउनका सिकार भए । पढाइहरू अनलाइनमा चल्न लागे । फलस्वरूप सामाजिक जीवनमा भौतिकीभन्दा भर्चुअल जगतका चिजहरूले बढी प्रभाव पार्न लाग्यो । समानान्तर रूपमा पुस्तान्तर (पुस्ताबिचको अन्तर) दिन प्रतिदिन बढ्दै गयो । पूर्वका पुस्ताले देखेको कुरो उत्तरको पुस्ताले नदेख्न सक्ने भए । जस्तै; अघिल्लो पुस्ताले कुवावाट पानी ओसारेको थियो, जुनकिरी देखेको थियो, खरको घरमा बसेको थियो, हलो जोतेर खेति गरेको थियो, ढिकी कुटेर चामल तयार गरेको थियो तर पछिल्लो पुस्ताले नल खोलेर पानी पाउँछ, जुनकिरी देखेकै छैन, कङ्क्रिटको घरमा बस्छ, ट्‌याक्टर गुडाएर खेती गर्छ, मसिन चलाएर चामल तयार गर्छ इत्यादि । हुनसक्छ नयाँ पुस्ताले यी सबै कुरा भर्चुअल रूपले मात्र देखेको छ । जस्तै: वृक्षलाई छुनु, गर्मीमा त्यसको सिर्सिर बतास उपभोग गर्नु, यसमा फलेको फल चुँडेर खानु आदि भौतिक रूपले गर्नुमा र भर्चुवेल रूपले गर्नुमा धेरै फरक पर्छ । यसैले, भर्चुवेल परिवेशमा हुर्केका हाम्रा ‘जेनेरेसन अल्फा’ले यस्ता चिजप्रति त्यतिसारो चासो नराख्न सक्छन् ।  त्यसैले समग्रतामा हेर्दा पर्या साहित्यलाई भिन्ना भिन्नै पुस्ताले अलगअलग रूपमा अपनाउनेछन् । स्रष्टाले जस्तो कल्पना गरेर सृजना गऱ्यो उत्तर पुस्ताले त्यही रूपले हृदयङ्गम गर्न नसक्लान् ।

तर पर्यावरण साहित्यलाई आम पाठकले मुख्यधाराको गतानुगतिक साहित्यभन्दा पनि अलिक भिन्नै रूपमा लिनुपर्छ । नयाँ पुस्ताले यसलाई जिम्मेवारीको रूपमा लिनुपर्छ । । यसको आफ्नै सुगन्ध र स्वाद छ । परम्परागत साहित्यको भन्दा यसको अनौठो सुवास र मिठास छ । देख्नमा एकैनासे भएपनि हामीले खाने बाबरको र पिज्जाको स्वाद आआफ्नै किसिमका हुन्छन् । त्यस्तै, एकै परिवारका खाद्यान्न भए तापनि चाम्रेको स्वाद पुलाउमा कहाँ हुन्छ र? पर्यावरण साहित्य पढ्ने पाठकले यो कुरोलाई राम्ररि बुझिदिए बेस होला । निचोडमा भन्नु पर्दा पर्यावरण हामी सबैको धरोहर हो । यसलाई सही तरिकाले जोगाएर राख्नलाई जनचेतना र जनजागरणको आवश्यकता पर्न जान्छ । यसका लागि हामी सबैले साहित्य चर्चा गर्दा, विशेष गरी कविता लेख्दा धेरैभन्दा धेरै वृक्ष, पशु, प्राणी, आदि पर्यावरणीय तत्वहरूलाई विम्बको रूपमा प्रयोग गर्नुपर्छ । यसो गर्दा पाठकलाई पर्यावरण प्रति सचेतनता बढाउँछ ।

* * * *

निस्कर्ष:

पृथ्वी एक सुन्दर बगैंचा हो, मानिस यसका रखवाला । तर यतिबेर बगैँचामा फूलहरू फुल्न र भमराहरू झुल्न छोडेका छन् । त्यसैकारणले बगैँचाको सुन्दरता तथा प्राकृतिक रूप कायम राख्ने उत्तरदायित्व पनि मानिसकै हो । आज विश्वले सङ्कटपूर्ण पारिस्थिति झेलिरहेको छ । अमेरिका, युरोप जस्ता शीतोष्ण देशहरू गर्मीले तात्तिएका छन् । हाम्रो केही खण्ड कहिले बाढ त कहिले भूस्खलनको चपेटमा छन् । कतै बेमौसमको अतिवृष्टि या अनावृष्टि चल्छ त कतै पहाड-पर्वतमा आगलागी हुन्छन् । हाम्रो यो अञ्चलमा चाहिं यस्तो विकट परिस्थिति नआओस् भनेर धेरै साहित्यिकहरू शङ्कित र चिन्तित भ‌एका छन् तर साथमा सजग पनि छन्; आफू साथै अरूहरू पनि सचेत रहून् भन्ने मनसायले पर्या साहित्य चर्चामा लागिपरेका छन् । यो सराहनीय परिवर्तन हो । यस्ता पर्यावरण चेतका साहित्यको व्यापक रूपमा सृजना हुनुपर्छ, त्यहीबमोजिम हाम्रा सङ्गोष्ठीहरूमा व्यापक रूपमा पढिनुपर्छ, साहित्यमाथि निरन्तर अन्तर्क्रिया हुनुपर्छ । कार्यपत्रहरूमा पनि यस खाले विषयले अझ ठाउँ पाउनुपर्छ । बिहे, जन्मोत्सव आदिहरूमा बिरुवा उपहार स्वरूप दिने चलन ल्याउनुपर्छ । यसरी नै जनजागरण आउनेछ । यो एक शुभ सङ्केत हो । हाम्रा पर्यावरण चेत साहित्यका कृतिहरू अझ मौलाऊन्, मानिसका बिचमा पर्यावरण प्रति जागरूकता बढोस् । पृथ्वीमाथि आइलागेको सङ्कट मोचन हवोस् । पृथ्वी अझ हराभरा बनोस् ।

उपसंहार:

यो आलेख तयार पार्दा प्रकाशित धेरै पुस्तक,पत्र-पत्रिका आदि छुटेका हुनसक्छन् । यस्तो भएको खण्डमा प्राज्ञ पाठकले लेखकलाई व्हाट्सएप वा इमेलमार्फत् जानकारी दिनलाई अनुरोध गरिन्छ ।

गुवाहाटी, असम