आज छुट्टीको दिन, म एउटा सानो क्याफेको कुनामा बसेर आफ्नै कथा लेखिरहेकी छु । मेरो हातमा कफी छ, घडी होइन । मेरो आँखाले ग्राहकको लाइन होइन, खुला आकाश हेर्दै आफ्नै युनिफर्मको कथालाई कागजमा पोखिरहेकी छु ।
छुट्टी बाहेक अरू दिन बिहान अपार्टमेन्टको झ्यालको पर्दाबाट छिरेको घामको पहिलो झुल्कासँगै म आँखा खोल्छु । त्यसपछि निद्रालाई हार खुवाउँदै समयलाई महत्त्व दिन थाल्छु । अफिस जाने दिन मलाई त्यो घाम खासै उज्यालो पनि लाग्दैन । बरु दिनभर आफूले सल्टाउनुपर्ने भारी जिम्मेवारीको संकेत जस्तो लाग्छ । अफिस पुग्ने बित्तिकै बेसमेन्टको कुनामा रहेको पुरानो टिनको ड्रअर खोल्छु, जहाँ वर्षौंदेखि उही अफिसको लोगो टाँसिएको युनिफर्म राखेकी छु । हातले त्यो कपडा छुन नपाउँदै मनमा एक किसिमको बिझाइ महसूस हुनथाल्छ । जसलाई म न त कुनै शब्दले आरोप लगाउन सक्छु, न त किन मनमा बिझाइरहेको छ भन्ने उत्तर नै पाउँछु । म जान्दाजान्दै पनि त्यो युनिफर्म लगाउँछु । एउटै सर्ट, एउटै प्यान्ट, एउटै जुत्ता यी सबै मलाई ‘अनुशासन’को नाममा दिइएका सिक्रीहरू झैं लाग्छन् । यी कपडामा न कुनै सुन्दरता छ, न स्वच्छता, न त आत्मसम्मान नै, यी कपडाहरू केवल मभित्रको स्वतन्त्रता बाँध्ने जन्जिरहरू नै हुन् जस्तो लाग्छ ।
तैपनि म त्यो युनिफर्म जबरजस्ती शरीरमा कोच्छु, अनि काममा लाग्छु ।युनिफर्मको कपडाले मेरो छालालाई छोएसँगै, मेरो अस्तित्वमा एउटा अदृश्य स्विच थिचिन्छ । यस्तो स्विच कि जसले मभित्रको सम्पूर्ण व्यक्तित्वलाई बन्द गर्छ । म सिर्फ एउटा मजदूर हुन्छु ।
अनि कुर्सीमा थचक्क बस्नासाथ घडीको काउन्टडाउन शुरू हुनथाल्छ । अब म न त कल्पना गर्न सक्छु, न त आफ्नै कुनै विचारमा डुब्न सक्छु । सब थोक पूर्वनिर्धारित हुन्छ । अनुशासन, समयपालन र त्यो बनावटी मुस्कान जसले दिनभरिको सेवा सजिलो देखिन्छ तर भित्रभित्रै थकाइ पनि साँचिंदै जान्छ ।
युनिफर्मले र टाँसिएको नामले मलाई म फलानी हुँ भनेर प्रष्ट चिनाउँछ तर मलाई भने दिनभर कुनै घना जङ्गलमा हराइरहे जस्तो लाग्छ । त्यो जङ्गल जहाँ मेरो आवाज छैन, कहिलेकाहीं त मेरो अस्तित्व समेत धमिलिंदै गएको महसूस हुन्छ । क्यामेरामुनि उभिएका उही सेवाग्राहीहरूका लाम माझ, म ‘म’ हुँ भन्ने अनुभूति बिस्तारै विलीन हुँदै जान्छ ।
कहिलेकाहीँ, ड्युटीको बीचमा म चूपचाप लामो सास फेर्छु । त्यो साससँगै म मनभरि थन्किएका भावना, जिम्मेवारी, अनकन्टार सोचहरू पनि फुकाल्न खोज्छु । एकछिनका लागि आँखा बन्द गर्छु, त्यो झलमल्ल प्रकाशको बीचमा, जहाँ हरेक अनुहार व्यस्त र तनावग्रस्त देखिन्छ । म एकछिनको लागि आफैंभित्र एकान्त पनि खोज्छु । मनमा लाग्छ, म यो अमेरिकामा कुनै ज्यानदार मेसिनको पाङ्ग्रा जस्तै भइसकेकी छु, चलिरहने, थकाइ नभएको जस्तो देखिने तर भित्रभित्रै शून्य हुँदै गएकी ।
दिन ढल्दै जाँदा मेरो युनिफर्म गन्ध र पसिनाले भरिन थाल्छ । यो गन्ध मेरो श्रमको गन्ध त हो तर त्यहाँ कुनै सम्मानको गन्ध छैन । पसिना, जुन मैले दिनभरि बगाएँ अरूलाई सेवा गर्न, अनि मुस्कान बाँड्न । सिर्फ कम्पनीलाई लाभ गर्नका लागि र आफ्ना सपना अझै तलतिर ओरालो झार्दै । म अति सस्तो तर आवश्यक त हुँ नि भनेर सम्झाउँछु आफैंलाई । अनि साँझतिर मलाई लाग्छ, म यो युनिफर्म होइन, यहीं बसेको श्रमको एउटा अवशेष हुँ ।फेरि भाडाको कोठामा फर्किने, बिलहरूको भारी उठाउने, अनि फेरि बिहान यस्तै दिन शुरू गर्ने । मेरो सपना अझै तलतिर ओरालो हिंडिरहेको हुन्छ र मैले बाँडेंको मुस्कान सहितको सेवा, जसको मूल्य कहिल्यै मेरो तलबमा जोडिएको हुँदैन ।अनि यहीं कतै त्यो थकानको छायामा, म आफ्नै बाल्यकाल पनि सम्झन्छु । म बाल्यकालमा कहिल्यै युनिफर्म लगाउने सौभाग्यमा परिनँ । हाम्रो गाउँको सरकारी स्कूलमा न त ड्रेस कोड थियो, न त लगाउने सक्ने हैसियत । सरकारी स्कूलमा लुगा एउटै हुनुपर्ने कुनै बाध्यता थिएन । सादा लुगा लगाएर स्कूल जान्थ्यौं । कोही पुराना कपडामा, कोही च्यातिएकै जामा सुरुवाल र फ्रकमा । कसैको सटमा टाँक नै हुँदैन थियो त कसैको पाइन्ट प्वाल परेको हुन्थ्यो । मैले युनिफर्म नलगाई ब्याग नै नभए पनि किताब, कापी र कलम बोकें । त्यो पनि त कम गर्वको कुरा होइन भन्ने मलाई लाग्छ ।
कलेज जीवनमा पनि मैले आफूसँग जे जस्तो लुगा थियो त्यहीं लगाएँ । पछि टिभीमा देखिने सफा युनिफर्म, एउटै रङका जुत्ता, बेल्ट, टाई मानौं त्यो पहिरनले उनीहरू निक्कै विशेष र अनुशासित केटाकेटीहरू होलान् जस्तो लागिरहन्थ्यो । शायद युनिफर्मले नै उनीहरूलाई उचाइ दिएको छ । जब म काठमाडौं आएँ, अनि थाहा पाएँ, निजी विद्यालयका ती अनुशासित अनुहारहरूमा त कुनै स्वतन्त्रता रहेनछ । त्यो त साँचो अनुहार ढाक्ने मास्क पो रहेछ ।
अनि म पाठ्यपुस्तक बाहिरका कुराहरू पढ्न थालें । अनि थाहा भयो, त्यो युनिफर्म त दमनको चिह्न पनि रहेछ । अंग्रेजहरूले मान्छेको पहिचान मेट्न, स्वाभाविक विविधता हटाउन, एकै रङ, एकै डिजाइन, एकै लाइनमा हिंडाउन अनि मान्छेलाई बस्तु जस्तै बाँध्नका लागि बनाएका पो रहेछन् । अंग्रेजहरूले नै भारतमा युनिफर्म ल्याएर स्कूलका बच्चाहरूलाई एउटै लाइनमा हिंडाउन, एकै रङमा, एकै सुरमा सोच्न लगाउन, स्वतन्त्र विचारको रङ उडाइदिएर ‘अनुशासन’को नाममा बस्तीलाई कारखाना जस्तो बनाएका रहेछन् भन्ने कुरा पढेपछि म चकित परेकी थिएँ । हुन पनि त्यो युनिफर्मले पहिचान दियो भनेर हामी खुशी भयौं, तर कसको पहिचान ?
हामी आफ्नै अनुहार भुल्यौं, हामी आफ्नै फरक स्वाद, भाषा, चालचलन समेत बिर्स्यौं । त्यो पढेको कुरा सम्झेर म मेरो शरीरको युनिफर्म बेला बेला सुमसुम्याउँछु, र यो पनि त कताकता त्यसै निरन्तरताको हिस्सा त होइन भन्ने सम्झन्छु । सधैं एउटै रङ, एउटै मुस्कान, एउटै व्यवहार ! न आफ्नो दुःख देखाउन पाउने, न आफ्नो शैलीमा बोल्न सक्ने ! मानौं, म एउटा उत्पादन हुँ, बजारको नियमले ढालिएकी अनि जहाँ आत्मा होइन, दक्षताको मूल्याङ्कन गरिन्छ।
म अमेरिका उत्रेको केही दिनमै फेरि विद्यार्थी भएकी थिएँ । नयाँ देश, नयाँ मौसम, नयाँ भाषा र नयाँ ज्ञान सिक्नुपर्ने भयो । भर्ना प्रक्रियाको अन्तिम दिन थियो । एक जना प्रशासक महिलाले फर्म हातमा लिएर भनेकी थिइन्, “टमरो, प्लिज मेक शुअ यर इन फुल युनिफर्म ।” उनको कुरा सुनेर ‘म’ आफैंसँग मुस्कुराएकी थिएँ ।
स्कूलको पहिलो दिन थियो, म मेरो साधारण लुगा नै लगाएर गेटमा पुगें । भित्र छिर्दा नै सबैका नजरहरू ममाथि टोक्न थाले जस्तो लाग्यो । जति अगाडि बढें, उति फरक महसूस । शिक्षिकाले मलाई रोकिन्, र सोधिन्, “ह्वाइ आर यु नट इन युनिफर्म ?”
त्यो प्रश्नले मलाई हावाहुरीले छोएजस्तो बनायो । केही क्षण चूपचाप उभिएँ । मैले बाल्यकालभर युनिफर्म कहिल्यै लगाएकी थिइनँ ।
काठमाडौंमा बस्दा युनिफर्मप्रति विकसित भएको मेरो आलोचनात्मक दृष्टिकोण पनि दिमागमा ताजै थियो । तर म त्यो प्रश्नको अगाडि अलमलिएकी थिएँ ।
अमेरिकामा पनि युनिफर्मले त ठूलो इतिहास नै बोकेको रहेछ । अनि युनिफर्म एउटै रङ, एउटै ढाँचामा जन्मिएको रहेनछ । यो वर्गीय भिन्नता, श्रमको मूल्य, र आवाजविहीन अनुशासनको प्रतीक रहेछ ।
कारखानामा काम गर्ने मजदूरहरू बीचमा पहिलो पटक युनिफर्म आएको रहेछ । दाग नदेखिने कपडा, सुरक्षाका लागि कडा बूट र टोपी । त्यसपछि ह्वाइट कलर वर्ग जो टाइ, सर्ट, कार्यालयको चिसो एसिमा बसेर सफा लुगा र खरर भाषाको बोली बोल्ने उच्च स्तरका प्राणी ! दागरहित सफा युनिफर्म लगाउने भएर नै होला उनीहरूको कामलाई ‘इज्जतको काम’ मानिन्थ्यो ।
अनि त्यसपछि, पिंक कलर क्षेत्रमा महिलाहरू लाममा उभिए । हातमा ट्रे बोकेर मुस्कान दिनुपर्ने सर्भिस, दिनभर स्ट्यान्डिङमा ग्राहकको ‘सरी कन अइ गेट…?’ सुन्नुपर्ने नर्सिङ, अनि ब्यूटी पार्लरमा अरूको अनुहार सुन्दर बनाउने काम जहाँ आफ्नो अनुहार भने सधैं थकित हुन्छ । ती मुस्कानहरू युनिफर्ममा बाँधिन्छन् र थकान बोकेर हल्का रङमा छोपिन्छन् ।
म कहिलेकाहीँ आफैंलाई सोध्छु, मेरो कामको रङ चाहिं के हो ? शायद त्यही कुनै रङमा हुँला पिंक र ग्रेको बीचमा कतै । जहाँ म हातले र दिमाग दुवैले काम गर्छु । बाहिर सीसाबाट हेर्दा म ह्वाइट कलर जस्तै पनि देखिन्छु कम्प्युटरमा झुकेको, रिपोर्ट भरेको, बैंक जस्तो अनुशासनमा अडिएको ।
फेरि लाग्छ, म ग्रे कलर नै हुँ ।
किनकि म निर्णयकर्ता त होइन, सधैं आदेश मान्ने अनि प्रणाली क्र्याश हुँदा समाधानका अनेक उपाय पनि खोज्छु । तर त्यही युनिफर्मभित्र आफैंले नयाँ रङको नाम दिएकी छु ‘सहने’, ‘सिक्ने’, ‘बाँचिरहने’ ! मलाई युनिफर्मले धैर्यता, कर्तव्य र काम पहिलो भन्ने संस्कार सिकाएको छ ।
त्यसैले अचेल त म भान्साको आलु प्याजको टोकरी बोकेर चूपचाप उभिंदाहोस् वा कसिङ्गर सफा गर्दा, घर पोछा लगाउँदा र खाना पकाउँदा जस्तो स्थितिमा पनि मेरो शरीरमा लतपतिएको पसिनाले मलाई सम्झाउँछ कि म अहिले कुन चाहिं श्रेणीको युनिफर्ममा छु हँ ? कुन वर्गको श्रमिक हुँ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 










