अप्रिल ३० देखि मे ९ सम्म २६ औं छन्जु अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल चल्यो । यो फेस्टिभल दक्षिण कोरियाको प्रमुख फिल्म फेस्टिभलहरू मध्येमा पर्दछ । फेस्टिभलको ‘क्लोसिङ फिल्म’का रूपमा ‘इन द ल्यान्ड मेशिन्स्’ शीर्षकको ९२ मिनेट लामो डकुमेन्ट्री राखिएको थियो ।

थियो – ‘यो मेशिनको शहर हो’  । कोरियन भाषामा अनूदित कोरियामा कार्यरत नेपाली श्रमिक कविहरूको कविता संग्रहसँग सम्बन्धित डकुमेन्ट्री ।

युरेसिया कल्चरल फोरम दक्षिण कोरियाले प्रकाशन गरेको उक्त कविता संग्रहमा ३५ जना नेपाली कविहरूको ७० वटा कविता संग्रहित छन्  । कोरियामा श्रमिकका रूपमा आएका नेपालीहरूको मनोभाव समेटिएको कविता संग्रहले कोरियामा राम्रो चर्चा मात्रै कमाएन विभिन्न सम्मान सहित पुरस्कार प्राप्त गर्‍यो । संग्रहले रुसि बोल्सेभिक क्रान्तिको स्मृतिमा दक्षिण कोरियामा प्रदान गरिने सन् २०२० का लागि रेड अवार्ड तथा कोरियाका लोकप्रिय कवि स्वर्गीय ‘वाकदुजिन’को स्मृतिमा प्रदान गरिने दक्षिण कोरियाको प्रतिष्ठित पुरस्कार ‘एशिया भिजन’ सहित २५ लाख वन राशिको पुरस्कार समेत प्राप्त गरेको थियो ।

दक्षिण कोरियामा राम्रै चर्चा पाएको कवितासंग्रह दक्षिण कोरियामा करीब ४ दशक अघिदेखि चलचित्र लेखन, निर्माण तथा निर्देशन गरिरहेकी किम ओक्यङको नजरमा पर्‍यो । दक्षिण कोरियामा श्रम गर्न आउने प्रवासी श्रमिकहरूलाई केवल मजदूरका रूपमा मात्रै बुझिरहेको उनलाई नेपाली श्रमिकहरूबाट लेखिएका ती कविताहरूले चकित बनाए । त्यसपछि उनलाई ती कविताको पृष्ठभूमि, कविहरूको अवस्था र नेपालमा तिनको अनुभव जस्ता विषयहरूमा चासो बढ्यो र उनले एउटा टिम बनाएर संग्रहका कविता मध्ये विभिन्न आधारमा छनौट गर्दै ८ जना श्रमिक कविहरूको दैनिकीलाई पर्दामा उतार्ने निधो गरिन् । त्यसपछि उनले टोली बनाइन् । त्यस टोलीले कविताहरू छाने । अनि सर्जकहरूलाई सम्पर्क गर्ने र आवश्यक प्रक्रिया पूरा गर्ने काम गर्‍यो । छानिएका ८ जना कविलाई करीब २ वर्षभन्दा बढी समय लगाएर उनीहरूको कार्यस्थल, बिदाको समय, घुमफिर लगायतका सम्पूर्ण दैनिकीलाई फरक मौसम र ऋतुहरूमा निरन्तर पच्छ्याएर खिचिएको डकुमेन्ट्री नै ‘इन द ल्यान्ड अफ मेशिन्स्’ हो ।

सो कविता संग्रहका लागि अदृष्य कर्म भने कवि हुन् – पराजित पोमु । उहाँले नै ३५ कविको छनौट, कविताहरू संकलन तथा सम्पादन गरी कोरियन भाषामा अनूवाद गर्ने अनुवादकको हातसम्म पुर्‍याउनुभयो । त्यो भन्दा अघि नै निक्कै लामो समयदेखि युरेशिया कल्चरल फोरमले नेपाली कविहरूसँग मिलेर कवितासंग्रह प्रकाशन गर्ने जमर्को गरिरहे पनि त्यो सम्भव भइरहेको थिएन । फोरमबाट कवि पोमुलाई सम्पर्क गरिएपछि भने उनको सम्पर्क, सम्बन्ध तथा सक्रियतामा कविताहरू संकलन भए, सम्पादन गरिए र प्रकाशनका लागि तयार भयो ।

डकुमेन्ट्री बनाउने समूहबाट पनि सम्पादक पोमु कै खोजी भयो र उहाँले आवश्यक समन्वय र सहभागिता जनाउनुभयो । कतिपय सन्दर्भमा उहाँको प्रत्यक्ष संलग्नता समेत रह्यो । कोरोना महामारीको समयमा विभिन्न असहजताहरूका बीच खिचिएको डकुमेन्ट्री लामो समयको पर्खाइपछि फेस्टिभलमा स्क्रीनिङ भयो । तर त्यो उत्सवमा निम्तो गरिए पनि डकुमेन्ट्रीमा समावेश सबै कवि उपस्थित हुन सकेनन् कवि जीवन खत्री बाहेक, न त शुरूबाटै जोडिने पराजित पोमु नै ।

पोमु त केही वर्षअघि नै नेपाल फर्किसक्नुभएको थियो भने बाँकी कविहरूको आ-आफ्नो कम्पनीको अवस्थाले गर्दा उपस्थित हुन सकेनन् ।

यसर्थमा यदि पराजित पोमुको त्यो सक्रियता तथा नेपाली साहित्यप्रतिको त्यो खाले लगन नभएको भए न त ‘यो मेसिनको शहर’ तयार हुन सक्थ्यो न त त्यसपछिका अन्य उपलब्धि, जसले दक्षिण कोरियालीहरू माझ अलिकति भए पनि नेपाली भाषा र साहित्यको प्रचार हुने तथा नेपालीहरूको सकारात्मक परिचयलाई थप बलियो बनाउन सहयोग गरेको छ ।

सबैसँग हुने समय दैनिक २४ घण्टा नै हो । यहाँका सबै मजदूरले दैनिक १०-१२ घण्टा शारीरिक श्रम गर्नै परिहाल्छ । तर कम्पनी साहुलाई बेचिएको समयबाट अलिकति उबारेर भए पनि केही सृजनशील काम गर्ने थोरै नेपाली मात्र भेटिन्छन् । त्यसरी सिर्जनामा रमाउने नेपालीहरूको एउटा ठूलै तप्काले पराजित पोमुलाई आफ्नो सल्लाहकार ठान्यो । उहाँले पनि निरन्तर घच्घच्याउनुभयो ।

‘निरन्तर लेखिरहनुपर्छ है…’ उहाँले सधैं दोहोर्‍याउनु भएको वाक्य हो । व्यक्तिगत रूपमा भन्नुपर्दा उहाँले निरन्तर कोट्याइरहनु भएकै कारण मैले कथासंग्रह प्रकाशन गर्ने हिम्मत पनि गरेको थिएँ । उहाँबाट मैले जस्तै आड, भरोसा र हिम्मत पाउने लेखनमा रुचि हुने थुप्रै साथी छन् ।

नेपाली साहित्यमा निक्कै पछिसम्म नै आदिवासी जनजाति समुदायको सांस्कृतिक सौन्दर्य, कला, भाषा तथा ज्ञानका विषयहरू फरक धारका रूपमा अर्थ्याइए अर्थात् तिनलाई मूलधार भनिने साहित्यले आँखा तरिरह्यो । यसको प्रतिरोधमा निरन्तर लेखोटहरू आइरहेका थिए, आवाजहरू उठिरहेका थिए । यिनै पृष्ठभूमिमा दक्षिण कोरियामा ‘इतर आवाज साहित्य समाज’ नामको  संस्था स्थापना भयो र पराजित पोमुले त्यसैको नेतृत्वमा गर्दै खास गरी आदिवासी जनजाति समुदायका लेखकहरूलाई सिर्जना कर्ममा प्रेरित गरिरहनुभयो । उक्त संस्था स्थापनाको अवधारणा अनुसार विचार निर्माण गरी सृजित सिर्जनाहरू विभिन्न मञ्चहरूमा मन्थनको शीर्षक बनेका छन् ।

संस्थाको नेतृत्वकर्ताको हैसियतमा पोमु कै नेतृत्वमा सम्भवतः नेपाली कविताको इतिहासमा सबैभन्दा धेरै भाषा समेटिएको र संख्यात्मक हिसाबले पनि धेरै कवि अटाइएको कवितासंग्रह ‘इतर कविता’ संकलन तथा सम्पादन गरी प्रकाशन भयो । सो कविता संग्रहलाई नेपालका कवि, लेखक तथा विद्वत वर्गहरूले समेत विभिन्न सन्दर्भहरूमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने गरेका छन् भने त्यस बारे शोधकर्ताहरूबाट थुप्रै शोधकार्यहरू समेत भएका छन् ।

मेशिनसँगै नारिएर काम गरी लखतरान ज्यान लिएर वासस्थान फर्किएको एउटा मजदूरले यदि सामान्य आराम मात्रै गरिबसेको भए यति महत्वपूर्ण कृति नेपाली साहित्यले पाउने थिएन । यसलाई पराजित पोमुको पागलपन पनि भन्न सक्नुहुन्छ यदि ‘इतर कविता’ छुनुभएको छ भने ।

संसारभर कोरोना महामारी शुरू भयो । यही बीचमा एउटा संस्था निर्माण भयो, ‘नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ’ । शुरूवातमा यसको शाखा नेपालको सातै प्रदेश तथा विदेशमा समेत बिस्तार गर्ने तयारी र आह्वान गरियो । सोही अनुसार दक्षिण कोरियामा पनि यसको शाखा बन्यो जसको नेतृत्व पोमुले नै लिनुपर्‍यो । उहाँकै नेतृत्वमा बनेको महासंघले अनलाइन मार्फत बहुभाषिक कविता महोत्सवको आयोजना गर्‍यो । करीब डेढ दर्जन नेपाली राष्ट्रिय भाषाका ५० जना कविहरूले कविता वाचन गरेको सो महोत्सवमा वाचित सम्पूर्ण कविताहरू पुनः सम्पादन गरी पोमु कै नेतृत्वमा ‘भुइँ मान्छेका आवाज’ शीर्षकमा संग्रह प्रकाशन गरियो । सो संग्रहले पनि नेपाली साहित्यलाई बहुभाषिक, बहुसांस्कृतिक आयाम दिन एउटा ईंटाको काम गरेको छ ।

दक्षिण कोरियामा नेपाली साहित्य कर्मसँग सम्बन्धित संघ संस्थाहरू नभएका होइनन् त्यसो त । तर तिनले बेला बेलामा सामान्य जमघट, भेटघाट, कविता वा मुक्तक वाचन जस्ता कार्यक्रम गर्नु बाहेक खास देखिने काम गरेको पाइन्न । नेपाली साहित्यको फैलावट र आयामका बारे छलफल गर्ने, विमर्श गर्ने जस्ता कामहरू भएको देखिन्न । तर पोमु र उहाँ आबद्ध संस्थाहरूले देखिने कामहरू गरे, कोरियामा नेपाली साहित्यका लागि एउटा बेन्च माक बनाइदिनुभयो ।

‘इतर आवाज साहित्य समाज दक्षिण कोरिया’ले नेपालका प्रसिद्ध कविहरू प्रगती राई, बिना थिङ्, राजन मुकारुङ, उपेन्द्र सुब्बा, स्वप्निल स्मृती जस्ता सिद्धहस्त व्यक्तिहरूलाई दक्षिण कोरियामा ल्याई साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । साहित्यिक कार्यक्रमहरू मूलतः नाफा रहित हुन्छन्, बरु आयोजकहरू आफ्नै खल्तीबाट पैसा निकालेर यस्ता गतिविधिहरू गरिरहेका हुन्छन् । अर्थात् कोरियामा साहित्यिक कार्यक्रम गर्नु कुनै नाफा वा फाइदाका लागि नभएर विशुद्ध सिर्जना र सिर्जना गर्नेहरूका प्रतिको सम्मान हो ।

तर सन् २०२३ को फेब्रुअरी तेस्रो साता कोरियाको दशक लामो श्रमिक जिन्दगीलाई छाडेर नेपाल फर्किनुभयो पोमु । त्यसपछि उहाँको अनुपस्थिति देखिने गरी नै महसूस भइरहन्छ । समय समयमा उहाँको नेतृत्वमा साहित्यिक जमघटहरू हुने गर्दथे फरक आयाममा । ती कार्यक्रमहरू अर्थपूर्ण रहन्थे, दीर्घकालसम्मका लागि सम्झिरहने कार्यक्रमहरू बन्दथे । खास गरेर नेपाली साहित्यिक लेखनलाई दक्षिण कोरियाका नेपालीहरू माझ स्थापित गर्न, लेख्न चाहनेहरूलाई प्रेरित गर्न शायद पोमुले जति लागिपर्ने त्यो पुस्ताका लेखकहरू कमै होलान् यतिखेर । त्यही भएर पनि उहाँको अभाव महसूस हुने गर्दछ ।

कोरिया बसाइँको उत्तरार्द्धमा एकल सिर्जनाका रूपमा ‘म द्वारा मेरो निर्माण’ नामको कवितासंग्रह प्रकाशन गर्नुभयो भने त्यसअघि उहाँको ‘लेप्मुहाङ्को डुङ्गा’ शीर्षकको कवितासंग्रह प्रकाशित भइसकेको थियो । विशेषत: आदिवासी सौन्दर्य, याक्थुङ् संस्कृति तथा मुन्धुमी दर्शन उहाँका सिर्जनाका केन्द्र हुन् । यिनै आधारमा आफ्ना विचारहरू सम्प्रेषण गरिरहनुहुने पोमुलाई आगामी सिर्जनात्मक यात्रा अझै फैलोस्, हार्दिक शुभकामना !

हाल, दक्षिण कोरिया ।