कुरो झन्डै चार दशक पहिलेको हो । अनायासै जन्मिएको बाहिरको हल्लाले निद्रा स्वाट्टै भाग्यो । मैले ओछ्यानबाटै बाँसको कप्टेरोको भित्तोलाई अलिकति च्यातेर छाप्रोबाट बाहिरतिर चिहाएँ । त्यो छाप्रो गाउँको मूलबाटोको किनारामै चिया पसल बनेर विराजमान थियो । छाप्रो अगाडिको त्यो मूलबाटो लमतन्न पसारिएको थियो । भर्खरै मेरा कानहरू छिचोल्ने र निद्रा लखेट्ने हल्ला त्यही बाटोले ओकलेको थियो । बाहिर छताछुल्ल अँध्यारो पोखिएको भए पनि मान्छेहरूको निकै उपस्थिति रहेको मैले अनुमान गरें । धेरै मान्छे एकै पटक बोलिरहेकाले शब्दहरू छुट्याएर कुरो बुझ्न अलि मुश्किल भैरहेको थियो । आवाजको आकार र प्रकारका हिसाबले ती मान्छेहरूको रौद्र रूप प्रस्तुत भैरहेको थियो । तिनीहरूको रौद्र प्रस्तुतिले मेरो बाल मस्तिष्कमा डरको नदी बग्न थालेको थियो । कतै मेरो मुटुको धड्कन सुनेर मेरो उपस्थिति पत्ता लगाएर आक्रमण पो गर्ने हुन् कि तिनले भनेर श्वासलाई रोकेर कानलाई मात्रै तिनीहरूको नजिक पुर्‍याउने कोशिश गरिरहेको थिएँ । तब तिनले बोलेको सुन्न सकूँ, तिनीहरूको रौद्र रूपको अर्थ बुझ्न सकूँ ।

तिनीहरू निकै आक्रोशका साथ ठूलोठूलो स्वरमा बोलिरहेका थिए । यस्तो आभास हुन्थ्यो कि मानौं उनीहरू कसैलाई थर्काइरहेका थिए, कसैलाई धम्काइरहेका थिए । यता आफूलाई भने डरको ढिस्को बढ्दै गैरहेको थियो । कसैले आएर हाम्रो छाप्रोको ढोका खोलेर हाम्लाई नै पो ठटाउने हो कि ! के थाहा गल्ती हाम्रै पो थियो र उनीहरू त्यही छाप्रोको अगाडि आएर जंगे रूप प्रदर्शन गरिरहेका थिए ।

मैले डरकै मारे चिहाउन छोडें र निकै ध्यानपूर्वक बाहिरको हल्लामा कान थापिरहें, श्वासलाई ठ्याक्कै रोक्दै छोड्दै ।

मैले मेरै उमेरका दुईजनालाई उठाउन खोजें । उनीहरू मस्त निद्रामा जस्तो लाग्यो ।

“यो पोस्टर कसले च्यातेको हाम्लाई सप्पै था छ । यो पोस्टर च्यात्नेलाई कसरी ठीक लगाउनुपर्छ हाम्ले जानेको छ । त्यसको घरमै गएर पिट्ने हो । घरभित्रबाट थुतेर लेराएर आँगनमै पा पछारेझै पछार्ने हो । अनि थाहा पाउँछ अर्काको पोस्टर च्यात्नुको परिणाम !”

एउटा मान्छे मात्रै बोल्दा कसैले हामी सुतिरहेको छाप्रोतिर हेरेर च्यालेन्ज गरेको मैले स्पष्ट सुनें । त्यो सुन्ने बित्तिकै मैले सोचे कतै मैले नै पो च्यातिदिएको थिएँ तिनीहरूको पोस्टर । म त्यस्तो फटाइँ गर्ने मान्छे नभए पनि डरले मेरो मनको दैलो पनि घुरुक्कै खोल्यो । निकै बेर सम्म सोचिरहे कतै मेरो पनि संलग्नता छ त्यस दोषमा !

केहीबेर आवाजका गोली बारुद वर्षाएर त्यो हूल पर पुगिसकेको थियो र बिस्तारै फेरि सन्नाटा ओर्लिसकेको थियो । तर म भने आफ्नो संलग्नताको सम्भावनाको विश्लेषण गरिरहें आफैभित्र – भोलि बिहानको उज्यालोसँगै कतै आतङ्कको आगमन पो हुने हो कि भनेर मनभित्र भयको बादल मडारिइरहेको थियो ।

तिनताका बिजुली थिएन हाम्रो काँठमा । मट्टितेलले बत्ती बाल्ने चलन थियो । मेडिकल औषधीको सिसीहरूलाई त्यसभित्रको औषधी प्रयोग गरिसकेपछि त्यसलाई बत्तीको रूपमा प्रयोग गरिन्थ्यो । बिर्कोमा सानो प्वाल पारिन्थ्यो र सिसीभित्र मट्टितेल हालिन्थ्यो । त्यही बिर्कोको सानो प्वालबाट भित्रतिर पुर्‍याइन्थ्यो एउटा कपडाको लुडोलाई । त्यस लुँडोको सानो भागलाई बिर्कोको प्वालबाट बाहिर निकालेर सलाईले बालिन्थ्यो । बस, त्यस्तै बत्तीमा मैले मेरो बाल्यकाल बिताएको थिएँ, त्यस्तै बत्तीमा शिक्षाको उज्यालो संसार खोस्रिएको थियो ।

राती बाहिरतिर हंड्नु पर्नेहरूले कि त ब्याट्रीबाट बाल्ने टर्च लाइट लिएर हिंड्नुपर्थ्यो कि त लालटिन वा मैन्टोल । या त त्यत्तिकै अँध्यारोमै पाइला चाल्नुपर्थ्यो । त्यो आवाजका बाहुबलीहरूको समूहसँग पनि कुनै त्यस्तो बत्ती थिएन । त्यसैले बाहिर निस्पट्ट अँध्यारो छरिएको थियो । त्यस अवस्थामा हाम्ले भित्रपट्टि पनि बत्ती बाल्ने कुरै थिएन । नत्र त बत्ती हाम्रो सिरानीसँगै थियो र सलाईको बट्टा छेवैमा ।

यसै पनि म फुच्चे, ती पहलमानहरू को थिए मैले चिनिनँ । सबैभन्दा ठूलो कुरो आफू डराएको कुरा छेउका दुईलाई देखाउनु पनि थिएन । या त निद्राको गहिराइमा त्यहाँको ठूलो आवाज पटक्कै थाहा पाइनँ भन्नुपर्थ्यो कि त म डराएकै हो भन्नुपर्‍यो । मेरा लागि पहिलो विकल्प नै लाज ढाक्ने र फुच्चे इज्जत बचाउने एक टुक्रो वस्त्र थियो ।

भोलिपल्ट बिहानैदेखि छाप्रोमा चिया पिउन आउनेहरूले कुरो कोट्याउन थाले । छलफलको रूप कानेखुसी किसिमको थियो । कोही पनि आफू अगाडि देखिन चाहँदैनथ्यो । पसले बा आफू पसलमा नभएकोले आफूलाई थाहा नभएको र पसल छाप्रोभित्र सुतेका बच्चाहरूले पसल अगाडि के भएको थियो भनेर मेसो नपाएको बताइरहेका थिए ।

म भने कुनोमा बसेर कुरोको चुरो बुझ्न खोज्दै थिएँ । पसलभित्रको चिया गफको श्रृंखला बढ्दै गएपछि थाहा भयो कि तल्लो गाउँका मान्छेहरूले माथ्लो गाउँमा आएर थर्काएर गएका रहेछन्, उनीहरूले समर्थन गरेको कुनै चुनावी उम्मेदवारको पोस्टर च्यातिदियो कसैले भनेर । त्यो छाप्रोको बाहिरपट्टि एकजना उम्मेदवारको पोस्टर टाँसिएको थियो जसलाई मैले बिहानैदेखि आधा च्यातिएको अवस्थामा देखेको थिएँ । कलहको बीउ त्यही आधा च्यातिएको पोस्टर नै रहेछ । चिया पसलको गफको निचोड थियो कि अब माथ्लो गाउँको कसैले तल्लो गाउँका मान्छेहरूबाट कुटाइ खाने पक्का भयो । को थियो पोस्टर च्यात्ने र कसले पाउनेवाला थियो सजाय भने कसैले पनि लख काट्न सकेका थिएनन् । जसलाई थाहा थियो ऊ मुख खोल्नेवाला थिएन किनकि प्रमाण पेश गर्न सक्ने हैसियत ऊसँग पनि थिएन ।

तिनताका देशमा निर्दलीय पञ्चायती व्यवस्था भएकोले राजनीतिमा दल वा पार्टीको कुरै थिएन । केवल को को उम्मेदवार छन् आफ्‌नो गाउँ तथा जिल्लामा भन्ने मात्रै हुन्थ्यो । खासै हेक्का त थिएन तर मलाई लाग्छ कि त्यतिखेर काँठ गर्मिलो भएको थियो आसन्न कुनै पञ्चायती निकायको चुनावका कारणले ।

जहाँसम्म थर्काउने कुरा छ त्यतिखेर तलका मान्छेहरूले माथिकालाई थर्काउँथे । माथिल्लो गाउँकाले तल्लो गाउँमा गएर त्यसरी थर्काउने सम्भव थिएन । किनकि माथ्लोका मान्छे शहरतिर जाँदाआउँदा साँझबिहान तल्लो गाउँको बाटो भएर हिंड्नुपर्थ्यो । यद्यपि माथ्लो र तल्लो बीच ठूलै घट्ना घटेकै चाहिं मैले कहिल्यै थाहा पाइनँ ।

खुलाल कृष्ण बा हाम्रो वडाध्यक्ष थिए । उनी मलाई नाती भन्थे । उहिले मेरो मावलीको हजुरबा र उहाँ एउटै पल्टनमा काम गर्नुभएको भन्थे । उहाँको बारी र आँगनमा नासपती, स्याउ, आलुबखडा, र आरु जस्ता फलफूलका बोटहरू थिए । हजुरबाको साइनो जोडेर उनको घरमा पुग्थें । अनि ती फलफूलहरू खान्थें । उनकै घर पछाडि शिबे काकाको घर थियो । उनको एउटा हात थिएन । एउटा हात नभए पनि कोदालो, चाँदे र बन्चरो चलाउँथे । आफ्नो खेती आफै गर्नुका साथै अरूका मेला पर्म पनि जान्थे । उनको बारीमा पनि आलुबखडा, आरु र दारिमका रूखहरू थिए । म त्यता गैरहन्थें । राजनीति गर्नेहरूले भ्रष्टाचार गरेको, ठेकेदारसँग मिलेर कुमल्याएको भन्ने सुनिंदैनथ्यो । बिचौलियाहरूको राज चलेको भन्ने पनि कहिल्यै सुनिएन । त्यसो त विकास निर्माणका कामहरू आजभोलिको जस्तो हुँदा पनि हुँदैनथ्यो । सरकारी गहुँ वा मकैको सट्टामा गाउँलेले बाटो बनाउन श्रमदान गरेको सम्झना छ मलाई । त्यसको मतलब पैसा होइन अन्न आउँथ्यो विकासका लागि ।

हाम्रो काँठमा त्यतिखेर विकासको कुरा गर्दा विकासको साक्षी त्यही मूलबाटो थियो । त्यही बाटो पनि साधुराम काकाले भक्तपुरे जग्गाधनीहरूसँग लडेर सल्लाघारीदेखि पारी स्कूलसम्म छिचोलेको भन्ने सुनिन्थ्यो । त्यो बाटो खुलेपछि गाउँमा विकासको पहिलो पाना खुलेको अनुमान थियो । त्यो फराकिलो मूलबाटोमा बर्खामा हिंड्नु पर्दा जुत्ता झोलामा हालेर हिलोसँग खेल्दै हिंड्नुपर्थ्यो । स्कूले जीवनमा म त्यो बाटो हिलोसँग लड्दै सल्लाघारीसम्म पौने घण्टा हिंड्थें ट्र्‌लिबस भेट्टाउन । पछि त्यो बाटो ग्राभेलिङ भयो, हाम्रो काँठमा खुशीको वर्षा नै भयो ।

पञ्चायतकालमा साधुराम काका गाउँको बलियो राजनैतिक नेता थिए भन्ने सुनेको थिएँ मैले । बुढाहरू भन्थे –उनको जिल्लासम्म बलियो पकड छ । शायद त्यही भएरै त होला उनले त्यो मूलबाटो छिचोल्न सकेका । तल्लो गाउँका प्रधानहरूको पनि गाउँको राजनीतिमा बलियो उपस्थिति थियो पञ्चायतकाल देखि नै । बद्री प्रधान गाउँका असल प्रधानपञ्च थिए । उनले गाउँले कसैको चित्त दुखाएनन् बरु सबैलाई सकेको सहयोग गरे भनेर भन्थे बुढाहरू । उनी पछि गएर बहुदलीय व्यवस्थामा पनि निर्वाचित भएका थिए गाउँ पालिकाको नेतृत्वका लागि ।

पञ्चायत कालमा खासगरी वडाध्यक्षले नै गाउँघरका सानातिना झैंझगडाहरू मिलाउँथे । साँध सिमाना लगायतका घरायसी झैंझगडा पर्यो भने वडाध्यक्ष आउँथे । होची अर्गेली हेरेर सबैलाई चित्त बुझाएर निर्णय दिन्थे । जग्गा जमीनको किनबेच भएको त्यति सारो सुनिंदैनथ्यो । मोहियानी खुल चलेको थियो । आनाको लाखौंलाख भन्ने थिएन त्यो बेला । त्यसैले सन्धीसर्पन लिनेदिने गरेर मिल्थे । अदालतमै झैंझगडाको मुद्दा परेको भन्ने पनि सुनिएन । कुटपिटको झगडा जिल्ला प्रहरी कार्यालयसम्म पुगेपछि दुवै पक्षबीच मिलापत्र भएर टुंगिन्थ्यो । समग्रमा काँठको समाज शान्त र शालीन थियो । यसको अर्थ यो होइन कि राजनैतिक व्यवस्था राम्रो थियो र सबै कुरा राम्रो थियो, कुरो यो हो कि जग्गाजमीनको वस्तु वा साधनको रूपमा बेचबिखन हुँदैनथ्यो तिनताका । राजनैतिक व्यवस्था कस्तो थियो त्यो तपसिलको कुरो ।

अलि ठूलै भएपछि वा कलेज जीवनको शुरूमा अर्थात २०३८ २०३९ सालतिर भक्तपुर क्याम्पस पढ्दा राजनीतिको गन्ध बुझ्न थालेको थिएँ मैले । सरकारी पक्षले गाउँमै पुर्‍याएको बसमा चढेर कलेजको चुनावमा गएको तर भोट अरू नै उम्मेदवारहरूलाई हालेको सम्झना ताजै छ । त्यसो त रत्न राज्य कलेजमै बयालिस त्रिचालिस सालतिर बिए पढ्दा पनि सरकार समर्थित उम्मेदवारहरूलाई माथिबाट आएको पैसाबाट सञ्चालित भान्सामा बिहानको मासुभात र दिउँसोको खाजा बुत्याउने तर भोट अर्कैलाई हाल्ने अनुभव पनि मानसपटलबाट ओझेल परेका छैनन् । त्यस्ता धेरै विद्यार्थीहरू हुन्थे जसलाई एक महिना जति खानाको मस्ती हुन्थ्यो ।

फेरि फर्कौं हाम्रै काँठतिरको राजनैतिक गन्थनमा । मलाई त्यस समयको सम्झना छ । पञ्चायती चुनावी माहोल थियो काँठमा । अनेक उम्मेदवारहरूको पोस्टर टाँगिएका थिए बाटोका छेउका घर पसलहरूमा । चुनावमा उम्मेदवारहरूको चहलपहल त थियो नै तर धेरै व्यस्त देखिन्थे गाउँका चुनावमा भोट दिन उमेर पुगेका युवाहरू । उनीहरू निकै व्यस्त हुन्थे । बेरोजगार युवाहरूका लागि त दशैं जस्तै बनेको थियो आसन्न चुनाव । खाना र खर्चको व्यवस्थाले खुशी थिए उनीहरू ।

बिहानैदेखि विभिन्न उम्मेदवारहरूको दैलो चहार्नु उनीहरूको दैनिकी थियो । बिहानै उठेर गयो फलानो नेता कर्णेलको घरमा, उसैको घरमा चिया नास्ता गर्‍यो, पोस्टर बोक्यो, पोस्टर टाँस्न भनेर खर्च असुल्यो र बाटो लाग्यो । खाना खाने बेला पारेर पुग्यो अर्को नेताको घरमा अर्थात फलानो हाडाको घरमा । त्यहाँ पुग्नु पहिल्यै कर्णेल साबको पर्चा पोस्टर कुनै झाडीमा फ्याँकिन्थ्यो रे । हाडाको घरमा खाना खायो, खाना नभ्याए खाना खाने पैसा बटुल्यो, एक बिटो पर्चा र पोस्टर बोक्यो र निक्ल्यो त्यहाँबाट ।

त्यसपछि पुग्यो खाजा खाने बेला पारेर फलानो शाहको घरमा । त्यहाँ पनि त्यही प्रक्रिया दोहोरायो । लाष्टाँ पुग्यो फलानो साहीको घरमा । खानापिना सबै व्यवस्था हुन्छ रे साहीको घरमा बिहानैदेखि । पेट भर्यो खाना र पिना दुवैले । पैसा, पर्चा र पोस्टर बोक्यो, लाग्यो फाँटको बाटो, हल्लिंदै हल्लिंदै गयो घर, पुग्यो आधा रातमा । सबै युवाको उम्मेदवारहरूलाई एउटै हुन्थ्यो जवाफ “सब ठीक छ हजुर” । ठीक चाहिं के थियो र के थिएन ती जवाफ दिने युवाहरूलाई नै थाहा हुँदैनथ्यो ।

कोहीकोही युवा भने कुनै नेताको भान्सासम्मै पनि पुग्थे र उनीहरू खुलेरै कुनै नेताको पक्षमा लागेका पनि थिए । अरूलाई चाहिं दही च्युरे भन्थे, अर्थात जता खान पायो त्यतै लाग्ने, आज यता भोलि कता भने जस्तो । चुनावमा उठ्नेको राम्रै खर्च हुन्छ भन्ने सुनिन्थ्यो । अझ घरकै परिवारले चिया खाजा बनाउने काम पनि चलाएका छन् भने तिनलाई कति सकस हुँदो हो बिहानदेखि बेलुकासम्म म अनुमानसम्म गर्न सक्थे । किनकि त्यतिखेर जमघट हुने भनेकै उम्मेदवारहरूको घरमा थियो ।

 

फलानो नेता फलानो नेताको मान्छे हो भनेर जिल्लाको नेतालाई उता राष्ट्रिय पञ्चायतको नेता र सरकारी मन्त्री प्रधानमन्त्रीसँग जोड्थे । औलामा गन्न सकिने नामहरू थिए त्यतिखेरका स्थानीय नेताहरूको । अहिलेको जस्तो झन्डैझन्डै एक घर एक नेता, नेता नभए कम्तीमा पनि कार्यकर्ता भन्ने थिएन त्यसबेला । त्यही प्रक्रिया कलेजको चुनावसँग जोडिन्थ्यो । यी सबै २०४६ साल पहिलेका कुरा थिए । राजनैतिक गफ त्यत्ति सारो सुनिंदैनथ्यो । धेरै मान्छेहरू राजनैतिक विषयमा खुलेर बोल्न नचाहेको वा नबोलेको जस्तो लाग्थ्यो मलाई । राजनैतिक पार्टी बिनाको राजनीति अनौठो लाग्छ अहिले सम्झिंदा पनि । पञ्चायतकै पनि नेताहरू थोरै हुन्थे । राजनैतिक व्यवस्था र सरकारको विरोध खुल्ला रूपमा गर्न नसकिने भएपछि एक प्रकारले राजनैतिक शून्यता महसूस हुन्थ्यो ।

विसं २०४६ मा देशमा आएको राजनैतिक परिवर्तन पछि व्यक्तिहरूको राजनैतिक कित्ताकाट भयो । देश बहुदलीय बन्यो । काँठको राजनीतिमा पनि कोही कम्युनिस्ट बने त कोही काँग्रेस । कोही अन्य पार्टीहरूमा पनि लागे । कम्युनिस्टहरू पनि फरक फरक पार्टीहरूमा बाँडिए । बहुदलीय राजनैतिक व्यवस्थामा को कुन पार्टीमा लाग्यो भन्ने सवालमा आआफ्नै आधारहरू थिए । पहिलो आधार त राजनैतिक आस्था नै थियो । पहिले लुकीछिपी पार्टीगत कार्यक्रमहरूमा भाग लिनेहरू अब खुलेरै बाहिर आए । बाँकी अरू कोही यो पार्टीमा लागे त कोही त्यो पार्टीमा लागे ।

राजनैतिक आन्दोलनका कार्यक्रमहरू करीबकरीब सकिएपछि र दलगत सक्रियता कम भएपछि पद तथा जिम्मेवारी नपाउनेहरू जग्गा प्लटिङतिर लागेको पनि देखियो । पैसावालले पैसा हाल्यो, आइडिया हुनेले आइडिया लगायो, स्थानीय टाठाबाठाहरूले जग्गावालाहरूलाई फकाए । केही वर्षपछि काँठका जग्गाहरू रुमाले आकारमा खण्डित भए । भकारीमा भाग्य भर्ने काँठका जग्गाहरू प्लटिङका टुक्रा बनेर बेचिन थाले लाखौंलाखमा । राजनैतिक पार्टीका नेता तथा टाठाबाठा कार्यकर्ताहरू कोही प्लटिङ पाटर्नर बने त कोही बिचौलिया । हेपेर वा होच्याउने हिसाबले तिनलाई ‘जद’ वा ‘जग्गा दलाल’ भनेर तिनका पिठ्यूँपछि नाम राख्थे । अगाडि भेट्दा भने तिनकै गुनगान गाएर फोकटको चिया पिउँथे । देश सशस्त्र आन्दोलनमा होमिएको बेलामा त यो धन्दा मज्जैले फस्टायो हाम्रो काँठतिर ।

सामाजिक हिसाबले हेर्दा अनौठो परिवर्तन मैले के देखें भने २०४६ सालको राजनैतिक परिवर्तनपछि हाम्रो काँठमा मान्छेहरू राजनैतिक पार्टीमा लागेका कारण छुट्टिन थाले । साँध सिमाना, कुखुरा बाख्रा र करेसाका झगडाले बोलचाल बन्द भएका छिमेकीहरूले फरक फरक राजनैतिक पार्टीसँग आफ्नो परिचय जोडे भलै उनीहरू राजनीतिमा सक्रिय नै थिएनन् भने पनि । एउटा पार्टीको मान्छे वा परिवारले आयोजना गरेको उसको घरको सामाजिक र सांस्कारिक कार्यक्रमहरूमा आफ्‌नै १३ दिने सम्बन्ध भएका बाहेक अरू आमन्त्रित नहुने वा आमन्त्रित भए पनि उपस्थिति नदेखिने जस्ता गैरसामाजिक दृश्यहरू पनि देखिए । काँठका चिया पसलहरूमा पनि कुन पसलमा कुन पार्टीका मान्छेहरू हाजिर हुने वा कुन पार्टीका मान्छेहरूको बाहुल्यता हुने र बोल्ने भनेर स्पष्ट छुट्टिएको देखिन्थ्यो । देश विदेशका गुड्डी हाँक्ने गफका विषयहरू बिस्तारै राजनैतिक बन्दै गए । नेता तथा दलहरूको विश्लेषण हुन थाले चिया पसलहरूमा ।

आज त्यो पुरानो काँठ त छैन तर पनि राजनैतिक विचारको ध्रुवीकरण भने स्पष्ट देखिन्छ । राजनीतिमा पदीय जिम्मेवारीका हिसाबले हेर्दा काँठका नेता कार्यकर्ताहरू कि त वडामै हराएका छन्, हैन भने ज्यादै थोरै नगर र जिल्लासम्म पुग्छन् । केन्द्रमै पुग्नेहरू एकदमै न्यून छन्, छैनन् चाहिं नभनौं । वडा सदस्य लड्नेले कहिले गएर उसको जीवनकालमा वडाध्यक्षको टिकट भेट्टाउला भनेर अनुमान नै गर्न सकिन्न । उसले वडाध्यक्षको टिकट पाउने आधारहरू के के हुन पनि स्पष्ट छैन, त्यो भन्दा माथि जाने कुरै छोडौं । स्थानीय स्तरमा बलियो देखिने पार्टीदेखि बाहेकका राजनैतिक पार्टीबाट काँठका उम्मेदवार संसदमा पुगेको औलामै गन्न सकिन्छ । पुगिहाल्नेले पनि मन्त्रिपरिषद्मा प्रवेश पाएको विरलै देखिन्छ ।

पछिल्लो समय राजनैतिक पार्टीहरूबीच केन्द्रीय स्तरमै गठबन्धन गर्ने प्रक्रिया बढ्न थालेपछि र एउटा पार्टीमा आबद्ध जनता वा कार्यकर्ताहरूलाई अर्को पार्टीको नेतालाई भोट हाल्नुपर्ने अनौठो खाले राजनैतिक अवस्था सिर्जना भएपछि आंशिक रूपमा सम्बन्धका दूरीहरू कम हुँदै गएको पनि देखिन्छ । वर्षौंदेखि खास किसिमको राजनैतिक आस्था बोकेर राजनीति गर्नेहरूलाई फरक पार्टी वा विचार बोकेको उम्मेदवारलाई भोट हाल्नुपर्ने बाध्यताहरू सहज होइनन् सकसै होला भन्ठान्छु म । आखिर सत्ता र सरकारमै पुग्नु सबै कुरा होइन । तर पनि काँठका नेता, कार्यकर्ता, तथा समर्थक जनताहरूबीच स्थानीय स्तरमा कस्तो र कति दूरी कायम हुने भन्ने कुरा अब उता तीनका पार्टीको केन्द्रमा हुने गठबन्धनका निर्णयहरूले तय गर्छ होला भन्ठान्नु अत्युक्ति होइन ।

पछिल्लो समय राजनैतिक सक्रियता सँगसँगै स्थानीय राजनैतिक कार्यकर्ताहरूको विकास बजेटमा दृष्टि बढेको देखिन्छ । जेष्ठ नागरिकहरूले घरमै वा घर छेउमै भत्ता पाउँछन् । वडाका नेता तथा कार्यकर्ताहरू जेष्ठ नागरिकहरूलाई लिएर तीर्थ जान पनि थालेका छन् । त्यस्ता तीर्थयात्राहरूले समाजमा कसरी फाइदा पुर्‍याउला त्यो फरक कुरा हो । स्थानीय सरकारहरूले स्थानीय विकासमा महत्त्वपूर्ण स्थान पाएपछि काँठका गोरेटाहरू फराकिला भैरहेका छन् र बाटोहरू ढलान गर्ने प्रक्रिया तीव्र रूपले बढेको छ । यसो गर्दा स्थानीय जनता तथा जद सबैको कल्याण भएको देखिन्छ । जग्गाको भाउ अकासिंदै छ भलै पछिल्लो समय जग्गा कारोबारमा मन्दी देखिएको छ । समग्रमा काँठको राजनीति भलै गाउँ, नगर र जिल्लामै सीमित रहे पनि स्थानीय नेता तथा कार्यकर्ताहरू यतैको खुशीमा मस्त देखिएको मेरो अनुमान छ ।